पेट्रोलियम पाइपलाइन संचालनपछि नेपालको १ अर्ब १६ करोड ढुवानी खर्च बचत हुने
काठमाडौं । दक्षिण एसियाकै पहिलो क्रस बोर्डर पेट्रोलियम पाइपलाइन मंगलबार उद्घाटन भएको छ । उक्त पेट्रोलियम पाइपलाइन प्रयोगमा आएपछि वार्षिक १ अर्ब १६ करोड ढुवानी खर्च बचत हुने बताइएको छ । नेपाल र भारत दुबै देशको उच्च प्रथामिकतामा परेको पाइपलाइन नेपालका प्रधानमन्त्री केपीशर्मा ओली र भारतिय प्रधानमन्त्री नरेन्द्र मोदिले संयुक्त रुपमा डिजिटल प्रविधिका माध्यमबाट उद्घाटन गरेका थिए । प्रधानमन्त्री ओलीले काठमाडौंको सिंहदरबारबाट र मोदीले नयाँ दिल्लीको हैदराबाद हाउसबाट संयुक्त रुपमा उद्घाटन गरेपछि अम्लेखगञ्ज डिपोमा पाइपलाइनबाट तेल आएको छ । यसअघि गत साउन २ गते पहिलो चरणमा ३१ लाख लिटर डिजेल पठाएर सफल रूपमा परीक्षण गरिएको थियो । सुरुमा भारतले २ अर्ब भारु र नेपालले ७५ करोड रुपैयाँ खर्च गर्ने सम्झौता भएपनि अहिलेसम्म भारतले मात्रै खर्च गरेको छ । पाइपलाइन विच्छ्याउने उक्त आयोजना विस्तारमा भारत सरकारले ३ अर्ब २४ करोड भारतीय रुपैयाँ खर्चिएको छ । कुल ६९.७ किलोमिटर लम्बाई रहेको मोतिहारी–अमलेखगञ्ज पाइपलाइन विस्तारमा मोतियारीबाट रक्सौलसम्म ३३.५ र रक्सौलदेखि अमलेखगञ्जसम्म ३६.२ किलोमिटर दुरी छ । नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र कुमार पौड्यालले ३० महिना परियोजना १८ महिनामै सम्पन्न भएको जानकारी दिए । पाइपलाइनको काम अहिलेसम्म भएका परियोजनाको तुलनामा सबैभन्दा छिटो सकिएको उनले बताए । उनले भने ‘अब नेपालमा जति चाहियो त्यति, जहिले चाहियो त्यहिले र जस्तो पठायो त्यस्तै पेट्रोलियम पदार्थ आउने छ ।’ नेपालमा डिजलको माग धेरै भएकोले पाइपलाइनबाट सुरुमा डिजेल मात्रै आएको छ । पाइपलाइनबाट घन्टामा २ लाख लिटल डिजेल र २ लाख लिटर नै पेट्रोल संरचना तयार भएको छ । अहिले अमलेखगञ्जमा दैनिक २० लाख लिटर डिजेलको माग भएकाले अन्य नाकाबाट तेल लिन भारत जाने ट्यांकरले पनि अमलेखगञ्जबाटै डिजल लैजान सक्ने डिपो प्रमुख प्रदिप यादवले जानकारी बताए । पाइपलाइनमार्फत तेल आएपछि ४ सय ट्यांकर विस्थापित भएको उनले बताए । पाइपलाइनबाट १ वर्षसम्म डिजेल मात्र आयात गर्ने निगम र इन्डियन आयल कर्पोरेशन (आईओसी) अधिकारीबीच समझदारी भएको छ । पाइपमार्फत आएको तेल भण्डारण गर्न ४१ लाख लिटर क्षमताका २ वटा र ३९ लाख लिटर क्षमताका २ वटा गरी १ करोड ६० लाख लिटर अट्ने ट्यांकी निर्माण भएका छन् । उक्त भण्डारण ट्यांकीमा सुरक्षाका सबै उपकरण पनि जडान गरिएको छ । पाइपलाइनमार्फत आउने तेल कन्ट्रोल, नाप र जाँचका लागि अत्याधुनिक कम्युटर कन्ट्रोल भहिरहेको छ । जमीनमुनि साढे दुई मिटर तल तथा पौने ११ इञ्चको माइल स्टिल भन्ने कालो रङको पाइप राखिएकाले यसमा खिया भने लाग्दैन । पाइपमार्फत तेल आउन थालेपछि डिजल, पेट्रोल र मट्टितेलको २ रुपैयाँ मूल्य घटेको थियो । यो प्रोजेक्ट सञ्चालमा आएपछि नेपाल–भारतको नाका रक्सौलमा जामको समस्या हट्नुका साथै पेट्रोलियम पदार्थमा हुने चोरी र अनियमितता हटेर जाने विश्वास लिइएको छ । निगम र भारतीय आयल कर्पोरेशनबीच अन्तरदेशीय पेट्रोलियम पाइपलाइन परियोजना निर्माणका लागि सन् २००६ मा सम्झौता भएको थियो । सो परियोजना विविध कारणले एक दशकभन्दा बढी समय रोकिएर रह्यो ।
नेपालमा लगानी किन गर्ने ? अर्थमन्त्री खतिवडाको जवाफ-‘काम गर्न सरल छ’
काठमाडौं । बुधबारदेखि राजधानीमा शुरु भएको पूर्वाधार सम्मेलनको पहिलो दिनमा विभिन्न क्षेत्र र विषयसँग सम्वन्धित विषशेज्ञहरुले आ-आफ्ना तर्क, भोगाइ र गुनासाहरु राखे । धेरैले नेपालको पूर्वाधार विकासमा नीजि क्षेत्रको आकर्षण, यसको चुनौती र सरलता विषयमा खण्डन गरे । तर, कोरिया विश्वविद्यालयका प्रोफेसर तथा एसियाली विकास बैंकका पूर्व क्लाइमेट चेन्ज प्रिन्सिपलका प्रोफेसर डा. ताई योङ जङले समिटमा सहभागीहरुलाई एउटा प्रश्न गरे । नेपालमा विदेशी लगानीकर्ताहरुले किन लगानी गर्ने ? अन्य विकसित राष्ट्र छाडेर नेपालमा लगानी गर्न किन आउने ? त्यसपछि बोल्ने पालो आयो अर्थमन्त्री डा.युवराज खतिवडाको । उनले प्रोफेसर योङजङको प्रश्नलाई दोहो¥याउँदै उत्तर दिए-‘नेपालमा विदेशी लगानीकर्ताहरुलाई लगानी गर्न सरल र सुरक्षित सहुलियत छ ।’ लगानीकर्ताहरुले अन्य देशमा लगानी गर्दा १० प्रतिशत मात्रै प्रतिफल पाउने गरेको बताउँदै उनले नेपालमा भने २५ प्रतिशत प्रतिफल पाउने गारेन्टी गरे । नेपालमा यो स्तरको मुनाफा उठाउन सकिने बताउँदै उनले विदेशी लगानीकर्ताहरुलाई नेपालमा लगानी गर्न आग्रह समेत गरे । त्यो प्रसंग मै अर्को कुरा थप्दै उनले भने, ‘लगानीकर्ता र सरकार मिलेर बराबर व्यवसाय गरौं । यसरी लगानी गरेपनि सरकार सधैं घाटामा जाने गरेको छ भने नीजि क्षेत्रले मुनाफा गर्ने चलन छ, । तर यो परिपाटी अब दोहोरिनु हुन्न ।’ उनले नेपालमा ऋणमा रुपमा नभई इक्विटीका रुपमा विदेशी लगानी भित्र्याउन खोजेको बताए । मन्त्री खतिवडाले विदेशी लगानीकर्ताहरुलाई नेपालको कानुनले काम गर्न सहज वातावरण सिर्जना गरेको बताउँदै कुनै त्यस्ता कानुनी जटिलताहरु भएपनि उनीहरुसँग सहकार्य र सुझाव सल्लाहहरू लिएर अगाडी बढ्ने बताए । उनले नेपालमा हाल लगानी गर्नको लागि ऊर्जा र पर्यटन क्षेत्र महत्वपूर्ण रहेको बताउँदै यी क्षेत्रहरुमा लगानी गर्न आग्रह गरे । नेपाल उद्योग परिसघंले आयोजना गरेको कार्यक्रममा बोल्दै वल्र्ड बैंकका भाइस प्रेसिडेण्ट जिङडङ हुआले लगानी गर्न नेपाल उचित राष्ट्र भएको बताए । उनले केहि गरिव देशहरु विदेशी लगानीकै कारण छोटै समयमा माथि उक्लिएको उदाहरण दिँदै नेपालले लिएको ‘समृद्ध नेपाल शुखी नेपाली’ लक्ष्य पुरा गर्न विदेशी लगानी आवश्यक भएको बताए । भिरक कन्सल्टिङका प्रमुख कार्यकारी अधिकृत राधेश पन्तले तीनै तहका सरकार भएको हालकोे समय काममा खर्च गर्नुपर्ने बताए । उनले पब्लिक प्राइभेट पार्टनरसिप (पीपीपी) मोडललाई आत्मसाथ गरेर सरकार र निजी लगानीकर्ताले सहकार्य र समन्वय गर्नुपर्ने बताए । उनले हाल नेपालको आर्थिक बृद्धिदर बढ्दै गएको बताउँदै अब कुरामात्र नगरेर काम गर्ने बेला आएको उल्लेख गरे । कार्यक्रममा विभिन्न वक्ताहरूले पछिल्लो समय नेपालमा लगानीको वातावरण, लगानीकर्ताको आकर्षण र आगामी दिनमा गर्नु पर्ने सुधारहरुका बारेमा आफ्ना धारणा राखेका थिए । समिट बिहिवारसम्म रहनेछ ।
ओली र माेदीद्वारा पेट्रोलियम पाइप लाइन परियोजनाको उद्घाटन
काठमाडौं । बहुप्रतिक्षित अन्तरदेशीय पेट्रोलियम पाइप लाइन परियोजनाको आज अपराह्न उद्घाटन गरिएको छ । भारतको मोतिहारीबाट अमलेखगञ्जसम्म बिछ्याइएको सो पाइप लाइन परियोजनाको नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रूपमा आ–आफ्नो मुलुकबाट ‘स्वीच’ थिचेर उद्घाटन गरेका हुन् । नेपालको तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारबाट र भारतको तर्फबाट प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँदिल्लीस्थित हैदरावाद हाउसबाट ‘भिडियो कन्फरेन्स’मार्फत एकैसाथ स्वीच थिचेर सो परियोजनाको उद्घाटन गरेका हुन् । उद्घाटनसँगै मोतिहारीबाट अमलेखगञ्जसम्म पाइपलाइनमार्फत पेट्रोलियम पदार्थ भित्रिएको छ । यो पाइपलाइन दक्षिण एशियाकै पहिलो ‘क्रस बोर्डर’ परियोजना हो । पहिलो चरणमा पाइप लाइनबाट डिजेल ल्याइनेछ । त्यसपछि क्रमशः पेट्रोल र मट्टितेल ल्याइनेछ । मोतिहारी–अमलेखगञ्ज पाइप लाइनको दूरी ६९.२ किलोमिटर रहेको छ । जसमा नेपालतर्फ ३६.२ र भारततर्फ ३३ किलोमिटर रहेको छ । पाइप लाइनबाट दैनिक झण्डै चार हजार किलोलिटर पेट्रोलियम पदार्थ ल्याउन सकिने परियोजनाले जनाएको छ । सो परियोजनाबाट पेट्रोलियम पदार्थ भित्रन थालेपछि वार्षिक अर्बौ ढुवानी खर्च जोगिने बताइएको छ । पाइप लाइनबाट पेट्रोलियम पदार्थ ल्याउँदा वार्षिक दुई अर्बभन्दा बढी ढुवानी खर्च बचत हुनेछ । पाइपलाइन सञ्चालनमा आएसँगै इन्धन ढुवानी लागतको न्यूनीकरणले पेट्रोलियम पदार्थको उपभोक्ता मूल्यसमेत घटेको छ । आजै मध्याह्नदेखि निगमले डिजेल, पेट्रोल र मट्टितेलमा प्रतिलिटर दुई–दुई रुपैयाँ घटाएको छ । देशभित्र खपत हुने डिजेलमध्ये ७० प्रतिशत अमलेखगञ्जबाट आपूर्ति हुँदै आएको निगमले जनाएको हो । परियोजनाको उद्घाटनका क्रममा निगमका कार्यकारी निर्देशकसहितको उच्च प्राविधिक टोली अमलेखगञ्जमा रहेको छ । निगम र भारतीय आयल कर्पोरेशनबीच अन्तरदेशीय पेट्रोलियम पाइप लाइन परियोजना निर्माणका लागि सन् २००४ मा सम्झौता भएको थियो । सो परियोजना विविध कारणले एक दशकभन्दा बढी समय रोकिरहेका थियो । सन् २०१५ को अगष्टमा तत्कालीन वाणिज्य तथा आपूर्तिमन्त्री सुनिलबहादुर थापा र उनका भारतीय समकक्षी धर्मेन्द्र प्रधानले हस्ताक्षर गरेसँगै परियोजना निर्माण शुरु भएको हो । सो परियोजना निर्माणमा नेपाल र भारत सरकारले अत्यन्त चासो व्यक्त गरेका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका क्रममा नयाँ दिल्लीबाट प्रधानमन्त्री ओली र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त रूपमा पाइप लाइन परियोजनाको शिलान्यास गरेका थिए । परियोजनाको लागत दुई अर्ब ७५ करोड भारतीय रुपैयाँ रहेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित सो कार्यक्रममा मन्त्रिपरिषद्का सदस्य, विभिन्न मन्त्रालयका सचिवलगायत नेपाल सरकरका उच्चपदस्थ अधिकारीको सहभागिता रहेको थियो ।