विकासमा सबैको साथ सहयोग आवश्यक छ : अध्यक्ष दाहाल

काठमाडौं। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबैको साथ सहयोग र सहकार्यले विकास सम्भव हुने बताएका छन् । निर्माणव्यवसायी संगठनले सोमबाराजधानीमाअायोजना गरिएको भौतिक पूर्वाधारको विकास र नेपाली निर्माणमा व्यवसायीको अवस्था विषयक अन्तर्किया तथा छलफल कार्यक्रममा बोल्दै उनले विकासमा सबैको साथ  हुने बताएका हुन् । उनले निर्माण व्यवसायीलाई इमान्दारिताका साथ विकास निर्माणको काममा जुट्न पनि आग्रह गरे । अध्यक्ष प्रचण्डले जनता र राष्ट्रको पक्षको विकास निर्माणको कामलाई अघि बढाउने अवसर आएको उल्लेख गर्दै सो अवसर सदुपयोग गर्न पनि निर्माण व्यवसायीहरुलाई सचेत गराए । उनले समयमै गुणस्तरीय काम नगर्ने निर्माण व्यवसायी कार्वाहीको भागीदार हुने चेतावनी पनि दिए । दाहालले मुलुकमा निरंकुशता र अराजकतावादीहरुको कुनै स्थान नरहेको उल्लेख गर्दै सरकार र निर्माण व्यवसायीहरुले मिलेर मुलुक निर्माणको अभियानलाई तीव्रता दिनुपर्ने पनि स्पष्ट पारे । उनले सरकारलेे काम गर्ने यो महत्त्वपूर्ण समय भएको बताउँदै सरकारका लागि यो अग्नि परीक्षा भएको उल्लेेखगरे  ।

काष्ठमण्डप पुनःनिर्माणको आधा काम सम्पन्न, अनुमानित लागत १९ करोड

काठमाडौं । काष्ठमण्डप पुनःनिर्माणको काम हालसम्म ५० प्रतिशत सम्पन्न भएको छ । लक्ष्यअनुरुप नै काम भइरहेकाले तोकिएकै समयमा काम सक्ने जनाइएको छ । निर्माणअन्तर्गत अहिले मुख्य चारवटा थाम राखी बीचमा गारो लगाउने काम सकिएको काष्ठमण्डप पुनःनिर्माण समितिका अध्यक्ष राजेश शाक्यले बताएका छन् । निर्माणमा अहिले दैनिक ३० जना कामदारले नियमित रुपमा काम गरिरहेका छन् । शुरुको समयमा निर्माणका लागि काठ, इँटाजस्ता निर्माण सामग्री समयमा उपलब्ध गराउन नसक्दा पनि ढिला भएको थियो अब त्यो अवस्था आउँदैन अध्यक्ष शाक्यले भने । विसं २०७२ को भूकम्पले पूर्णरूपमा क्षति पुगेको ऐतिहासिक काष्ठमण्डप पुनःनिर्माणका लागि अघिल्लो वैशाख ३१ गते क्षमापूजा गरिएको थियो । गत कात्तिक २२ गते शुभारम्भ पूजा गरेर विधिवत् रुपमा यस सम्पदाको पुनःनिर्माण शुरु भएको हो । तीन वर्षभित्र पुनःनिर्माण सक्ने लक्ष्यका साथ काष्ठमण्डप पुनःनिर्माणले गति लिएको छ । चार वर्षभित्र निर्माण कार्य सक्ने गरी सातौँ शताब्दीको काष्ठमण्डप पुनःनिर्माणको काम भइरहेको छ । नेपालको राजधानी काठमाडौँको नाम ‘काष्ठमण्डप’बाट नै रहेको इतिहासमा उल्लेख छ । प्रयोग गरिएका चारवटा थाममध्ये तीन वटा नयाँ प्रयोग गरिएको हो भने एउटा थाम पुरानै प्रयोग गरिएको समितिले जानकारी दिएको छ । बिसेत नामका मानिसले कल्पतरुलाई चिनेर नियन्त्रणमा लिई एउटा रूख उपलब्ध गराउने वाचा गराएर छाडेपछि कल्पतरुले सालको काठ दिएको, सातौँ शताब्दीमा राजा लक्ष्मीनरसिंह मल्लले त्यसैबाट मूर्तिविहीन मरुसतः बनाएको र पछि यसैलाई काष्ठमण्डप भन्न थालिएको हो । अध्यक्ष शाक्यले भने, “२०७६ सालको असार मसान्तसम्ममा भुइँ तलाको कार्य सम्पन्न गर्ने लक्ष्य रहेको थियो सोहीअनुरुप काम अघि बढेको छ त्यसैले तोकिएको समयमानै काम हुनेमा कुनै आशङ्का गर्नुपदैन ।” यस ऐतिहासिक सम्पदा पुनःनिर्माणको लागि रु १९ करोड खर्च लाग्ने अनुमान गरिएकोमा काठमाडौँ महानगरपालिकाले पुनःनिर्माण समितिलाई रु पाँच करोड ५० लाख सहयोग प्रदान गरिसकेको छ । थोरै यसअघिकै पुराना काठको प्रयोग भए पनि नयाँ काठ भने टिम्बर कर्पोरेशन अफ नेपालसँग लिखित सम्झौता गरी आवश्यकता अनुरुप ल्याइएको छ । रासस

मेलम्चीका श्रमिक र मन्त्रालयबीच वार्ता, आन्दोलनका कार्यक्रम स्थगित

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको पूर्व ठेकेदार कम्पनी सीएमसी दि रेभेनाबाट पीडित नेपाली श्रमिक, स्थानीय भेण्डर तथा सप्लायर्स कम्पनीका प्रतिनिधिहरु र खानेपानी मन्त्रालयका पदाधिकारीहरुबीच भएको वार्ताले आन्दोलनका सबै कार्यक्रम स्थगित गर्ने सहमति गरेको छ । मेलम्ची आयोजनामा देखिएको अन्यौलता अन्त्य गर्न आज आइतबार भएको वार्तामा आन्दोलनका सबै कार्यक्रमहरु स्थगित गर्ने सहमति भएको हो । मन्त्रालयका सचिव माधव बेल्बासेको नेतृत्वमा भएको वार्तामा नेपाली श्रमिकहरुलाई दिईने राहत स्वरुपको रकममा अन्य कुनै शीर्षकको रकम छुटेको भए श्रमिकहरुले प्रमाण स्वरुप एकमुष्ट रुपमा प्राविधिक समितिमा निवेदन दिने र उक्त समितिले छानविन गरी श्रमिकको श्रेणी अनुसार सिद्धान्त तय गरी मेलम्ची खानेपानी विकास समितिलाई सिफारिश सहित प्रतिवेदन दिने सहमति भएको छ । यो कार्य निवेदन दिएको दुई महिनाभित्र सम्पन्न गर्ने सम्झौतामा उल्लेख छ । सम्झौतामा नेपाली श्रमिकहरुलाई दिईने राहत स्वरुपको रकममा दाबी गरेका ८ सय २८ श्रमिक मध्येबाट छुटेका श्रमिकहरुले पाउनुपर्ने रकमको प्रमाण सहित प्राविधिक समितिमा एकमुष्ट निवेदन दिने र उक्त समितिले छानविन गरी भुक्तानीका लागि मेलम्ची खानेपानी विकास समितिमा सिफारिश सहित प्रतिवेदन पेश गर्ने उल्लेख छ । निवेदन दिएको २ महिनाभित्र रकम उपलब्ध गराउन सरकारलाई सिफारिश गर्ने सम्झौता भएको छ । त्यस्तै श्रमिकहरुले गरेको विरोध प्रदर्शनमा घाइते भएका श्रमिकहरुको निशुल्क उपचारको व्यवस्था सरकारले मिलाउने र मेलम्ची आयोजना सञ्चालन गर्न सहयोग गर्ने । यसको लागि जारी बन्द, हड्ताल, नारा जुलुस आदि कार्य आजैदेखि स्थगित गर्ने सम्झौतामा लेखिएको छ । यसैबीच, भेण्डर तथा सामान सप्लायर्स कम्पनीहरुको समस्या वार्ताद्धारा समाधान गर्न प्रक्रिया अघि बढाउने र भेण्डर तथा सप्लायर्सहरुको तर्फबाट पनि आन्दोलन र विरोधका कार्यक्रम सबै स्थगित गर्ने समझदारी भएको छ । वार्तामा मन्त्रालयको तर्फबाट सचिव बेल्बासे, उपसचिव गुणराज श्रेष्ठ, प्राविधिक समितिका तर्फबाट सदस्य सचिव कमलराज श्रेष्ठ, सिएमसी भेण्डर तथा सप्लायर्स संघर्ष समितिका संयोजक विष्णुमणि आचार्य, सदस्य किरण थापा, श्रमिकहरुका तर्फबाट देवीरमण अधिकारी, रमेश नेपाल, विष्णु रायमाझी, टिकाजंग रायमाझी र गुणाकर न्यौपाने रहेका थिए । वार्तामा सहजीकरणको भूमिका ह्योल्मो सिन्धु मेलम्ची उपत्यका सामाजिक उत्थान कार्यक्रम सञ्चालन समितिका अध्यक्ष उपेन्द्र तामाङ र उपाध्यक्ष चिरन तामाङले गर्नुभएको थियो । मन्त्रालयका महाशाखा प्रमुखको नेतृत्वमा केही दिन अघि ६ सदस्यीय प्राविधिक समिति गठन भएको थियो ।