सुपर मादी हाइड्रोपावरको ५.२६ प्रतिशत लाभांश घोषणा
काठमाडौं । सुपर मादी हाइड्रोपावर कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको मंसिर ४ गते बसेको बैठकले ५.२६ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । कम्पनीले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजी २ अर्ब २० करोड ५० लाख रुपैयाँको ५ प्रतिशतका दरले ११ करोड २ लाख ५० हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनका लागि ०.२६ प्रतिशतका दरले ५८ लाख २ हजार रुपैयाँ नगद गरी कुल ५.२६ प्रतिशत अर्थात् ११ करोड ६० लाख ५२ हजार रुपैयाँ लाभांश प्रस्ताव गरेको हो । कम्पनीले प्रस्ताव गरेको उक्त लाभांश आगामी १६औँ वार्षिक साधारण सभाले पारित गरेपश्चात् सेयरधनीहरुलाई वितरण गरिने कम्पनी सचिव निश्चल खरेलले जानकारी दिए ।
अन्तर्देशीय प्रसारण लाइन निर्माणमा ३ अर्ब लगानी गर्दै नेपाल
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले २ अन्तर्देशीय प्रसारण लाइन निर्माणका लागि स्थापना हुने संयुक्त कम्पनीमा कुल ३ अर्ब रुपैयाँ लगानी गर्ने भएको छ । प्राधिकरण र भारतको पावर ग्रीड कर्पोरेसन अफ इन्डिया लिमिटेडको संयुक्त कम्पनीमा लगानीको स्रोत सुनिश्चित गरिएको ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ । मन्त्रालयका सचिव चिरञ्जीवी चटौतका अनुसार प्राधिकरणले नेपालमा स्थापना हुने संयुक्त कम्पनीमा १ अर्ब रुपैयाँ र भारतमा स्थापना हुने संयुक्त कम्पनीमा २ अर्ब रुपैयाँ बराबरको स्वपुँजी लगानी हुनेछ । इनरुवा-पूर्णिया र दोदोधारा-बेरेली ४/४ केभी क्षमताका अन्तर्देशीय प्रसारण लाइन निर्माणका लागि संयुक्त कम्पनी स्थापना गर्ने सहमति २ देशका उच्च सरकारी अधिकारीका बीचमा यसअघि नै भइसकेको छ । विद्युत् आदानप्रदानका लागि महत्त्वपूर्ण मानिएका ती अन्तर्देशीय प्रसारण लाइन सन् २०३० सम्म निर्माण हुनेछन् । प्रसारण लाइन निर्माणका लागि नेपालतर्फ स्थापना हुने कम्पनीमा प्राधिकरणको ५१ प्रतिशत र भारतीय कम्पनी पावर ग्रीड कर्पोरेसन अफ इन्डिया लिमिटेडको ४९ प्रतिशत सेयर रहनेछ । यस्तै, भारतमा स्थापना हुने कम्पनीमा भारतीय कम्पनीको ५१ प्रतिशत र प्राधिकरणको ४९ प्रतिशत सेयर रहनेछ । नेपालमा स्थापना हुने संयुक्त कम्पनीमा प्राधिकरणको आन्तरिक स्रोतबाट स्वपुँजी लगानी गरिनेछ । विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने ऐन, २०२१ को दफा ३ को उपदफा २ बमोजिम भारतमा स्थापना हुने संयुक्त कम्पनीको लगानीमा छुट दिइनेछ । ऊर्जा मन्त्रालयका सचिव चटौतका अनुसार मन्त्रिपरिषद्को निर्णय बमोजिम आवश्यक सूचना राजपत्रमा प्रकाशित गरी जानकारी दिइएको छ ।
भारतको राहत सहयोग जारी, नेपालले पायो थप १० बेलीब्रिज
हेटौंडा । भारतले नेपाललाई थप १० वटा बेलीब्रिज (फलामे पुल) अनुदानमा दिएको छ । भारी वर्षाबाट आएको बाढी पहिरोका कारण क्षति पुगेका सडक सञ्जाललाई नियमित रूपमा सञ्चालनका लागि भारतले यस वर्ष नेपाललाई अनुदानमा थप १० वटा बेली ब्रिज दिएको हो । नेपाल सरकारको अनुरोधमा भारत सरकारले बेलीब्रिज अनुदानमा उपलब्ध गराएको हो । गत वर्ष भारतले १० वटा बेलीब्रिज नेपाललाई दिएको थियो । भारतले उपलब्ध गराउने १० वटामध्ये एकवटा बेलीब्रिज बिहीबार नेपाललाई हस्तान्तरण गरिएको छ । नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले बिहीबार हेटौंडामा ऊर्जा जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङलाई बेलीब्रिज हस्तान्तरण गरे । भारतले उपलब्ध गराएको बेलीब्रिजको लम्बाइ ७० मिटर रहेको छ । पुलको चौडाइ सिंगल लेन ४.२५ मिटर रहेको छ । पुलको भार बहन क्षमता ३८ मेट्रिक टन रहेको छ । पुल हस्तान्तरण समारोहमा मन्त्री घिसिङले नेपाल प्राकृतिक विपद्को संकटमा रहेका वेला भारतले उपलब्ध गराएको सहायताले क्षति पुगेका पूर्वाधार शीघ्र पुनःस्थापना गरी सडक सञ्जाल सहज बनाउन महत्त्वपूर्ण रहेको बताए । नेपालका लागि भारतीय राजदूत श्रीवास्तवले नेपालको कठिन समयमा सहयोग गर्न सधैं तयार रहेको बताए । बाँकी नौवटा बेलीब्रिज एक हप्ताभित्र नेपाल आइपुग्ने जनाइएको छ ।