तनहुँ जलविद्युत् आयोजनाद्वारा किसानलाई कृषि सामग्री वितरण, जीविकोपार्जन सुधारमा जोड
डुम्रे । तनहुँ जलविद्युत् आयोजनाबाट प्रभावित क्षेत्रका किसानलाई आर्थिक रूपमा सक्षम बनाउन तालिमसँगै कृषि सामग्री पनि वितरण गरिएको छ । विद्युत् आयोजनाले ऋषिङ–८ पल्ट्याङका मस्टो लाफा भेजा (महिला समूह)का सदस्यलाई लक्षित गरी मगर समुदायका २० जनालाई बेमौसमी तरकारीखेती तथा वित्तीय साक्षरता तालिम प्रदान दिएको हो । आयोजना प्रमुख श्यामजी भण्डारीका अनुसार प्रशिक्षणमा सहभागी किसानलाई हाते ट्याक्टर, बीउबिजन, हजारी तथा ‘टनेल’ खेतीका लागि आवश्यक उपकरण प्रदान गरिएको छ । आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई यसअघि पनि ‘प्लम्बिङ, इलेक्ट्रिसियन, सिलाइ–बुनाइ, बाख्रापालन, तरकारीखेती तथा वित्तीय साक्षर तालिम दिइएको थियो । हालसम्म यस्तो तालिम ३३९ पुरुष र २७९ जना महिलाले लिइसकेका छन् । प्रशिक्षणको मुख्य उद्देश्य जीविकोपार्जन सुधारमा जोड दिनु हो ।
इन्धन संकटको मार : काँकडभिट्टा–लौकही सडक सुस्त
काठमाडौं । पेट्रोलिय पदार्थ अभावले निर्माणाधिन काँकडभिट्टा–लौकही सडक निर्माण सुस्ताएको छ । मध्यपूर्वमा देखिएको तनावले पर्याप्त सडक कालोपत्र गर्न आवश्यक बिटुमिन अभाव भएको निर्माण कम्पनी इभ्रास्कन कालिका जे.भी.का प्रोजेक्ट म्यानेजर उज्वल प्रसाईंले जानकारी दिए । काँकडभिट्टा लौकही सडकखण्ड अन्तर्गत पूर्वी खण्डमा इभ्रास्कन कालिका जे.भी.ले स्तोन्नतिको काम गरिरहेको छ । सडक कालोपत्र गर्ने मुख्य सिजनमा कम्पनीले स्टकमा राखेको बिटुमिनले १०–१५ दिन पुग्ने कम्पनीका प्रोजेक्ट म्यानेजर प्रसाईं बताउँछन् । वर्षाअघि पहिलो लेयरको कालोपत्र गर्न २२ किलोमिटर सडकमा बेस बिछ्यायर तयार पारिएको कम्पनीका प्रतिनिधि प्रसाईं बताउँछन् । बेस बिछ्याइएको क्षेत्रमा कालोपत्रे गर्न आवश्यक बिटुमिन महङ्गो मूल्यमा खरिद गरिएको भएपनि पर्याप्त नरहेको प्रसाइले जानकारी दिए । नेपाल आयाल निगमले डिजलमा लगाएको कोटा प्रणालीले आयोजनामा पर्याप्त डिजेल उपलब्ध नगराउँदा काम रोकिने अवस्थामा पुगेको प्रसाईं बताउँछन् । निर्माण कम्पनीसँग स्टकमा रहेको बिटुमिनले मात्रै कालोपत्रे गर्ने अवस्था रहेको काँकडभिट्टा लौकही सडक योजना पूर्वीखण्डका योजना प्रमुख सिडिई सुनिलबाबु पन्तले बताए । मध्यपूर्वमा देखिएको तनावले पेट्रोलियम पदार्थको मूल्य बढेर काम गर्न नसक्ने अवस्थाको जानकारी निर्माण पक्षले आयोजनालाई गराएको सिडिई पन्तले बताए । निर्माण व्यवसायीले बिटुमीन आयात गर्न खोलेको एलसी समेत फिर्ता भएको जानकारी आयोजनालाई गराएको सिडिई पन्तले बताए । यो सडक आयोजनामा पेट्रोलिय पदार्थको संकटसँगै मौसमले पनि साथ नदिएको आयोजना प्रमुख पन्तले जानकारी दिए । मध्यपूर्वको तनाव नरोकिए यो सडक योजनाको काम हप्ता दश दिनमै रोकिने अवस्था रहेको आयोजना प्रमुख पन्त बताउँछन् । पूर्वीखण्ड अन्तर्गत काकडभिट्टा सीतापुरीसम्म ४५ किलोमिटर लम्बाई रहेको यो सडक १० अर्ब ६ करोड ९४ लाख रुपैयाँ लागतमा स्तरोन्नति भइरहेको छ ।
व्यास नगरपालिकास्थित मादी नदीको निमार्णाधिन पुलको काम ७५ प्रतिशत सकियो
काठमाडौं । मुग्लिङ–पोखरा सडकखण्ड अन्तर्गत तनुहँको व्यास नगरपालिका ४ र ५ मादी नदीमाथि निमार्णाधिन पुलको काम ७५ प्रतिशत सकिएको छ । पुल निर्माण गरिरहेको अनक कन्ट्रक्शनका प्रतिनिधि दिनेशकुमार श्रेष्ठकाअनुसार पुलको मुख्य काम जेठ महिनाभित्र सकिनेछ । अन्य सामान्य काम मात्र बाँकी रहने उनले बताए । विभिन्न विवादमा कारणले पनि पुल निर्माण ढिलाई भएको उनको भनाइ छ । २०७९ साउन २६ मा निर्माण सम्पन्न भएको पुलको काम २०८२ भदौ २१ गतेभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । काम सम्पन्न नभएपछि २०८३ असार १९ गते सम्म म्याद थपिएको ए.डी. बीका आयोजना निर्देशक चुडाराज ढकालले जानकारी दिए । ६ वटा स्पानको उक्त पुल ३ सय १५ मिटर लामो हुनेछ । पुल निर्माणका लागि एक अर्ब २१ करोडमा ठेक्का सम्झौता भएको थियो । पृथ्वी राजमार्गको सबैभन्दा आर्क डिजाइनको उक्त पुल चार लेनको हुनेछ । विगतमा निर्वाचन लगायतका कारणले निर्माण ढिलाई भएपनि अब कामले गति लिन विश्वास निर्माण कम्पनीको छ ।