मन्त्री घिसिङले रूग्ण आयोजनाको ठेक्का धमाधम रद्द गर्न थालेपछि व्यवसायी त्रसित

काठमाडौं । सरकारले लामो समयदेखि अलपत्र परेका र प्रगति नभएका देशभरका दुई सयभन्दा बढी रूग्ण ठेक्काहरू तोड्ने प्रक्रिया अघि बढाएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले विभिन्न समयमा सूचना जारी गर्दै ठेक्का तोड्ने अभियानलाई तीव्रता दिएको हो ।  मन्त्रालयले मंगलबार मात्रै सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको बाँध (हेडवर्क्स), विद्युतगृह लगायतका सिभिल संरचना, गेट तथा हाइड्रो–मेकानिकल उपकरण आपूर्ति र जडानका लागि निर्माण व्यवसायी पटेल रमण जेभी, जनकपुर–९ धनुषासँगको ठेक्का सम्झौता तोड्ने प्रक्रिया अघि बढाएको हो ।  यसअघि सिँचाइ आयोजना अन्तर्गतका १८ र पुल तथा सडक आयोजना अन्तर्गतका २०८ ठेक्का सम्झौता तोड्ने तयारीका लागि सूचना जारी भइसकेका छन् । मन्त्रालयले म्याद पुनः थप गरेर पनि काम अघि नबढाएका ठेकेदारहरूविरुद्ध कारबाही गर्ने चेतावनी दिएको छ ।  भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले रूग्ण ठेक्का रद्द गर्ने अभियान अघि बढाएपछि जनताले यसलाई स्वागतयोग्य काम भने पनि निर्माण व्यवसायीहरू भने यसका दीर्घकालीन परिणाम गम्भीर हुन सक्ने चेतावनी दिइरहेका छन् ।  ‘मन्त्री घिसिङ एक कुशल व्यवस्थापक हुन्, जसले लोडसेडिङको अन्त्य गर्न भूमिका खेले,’ निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह भन्छन्, ‘तर उनले मन्त्री बनेपछि एक्कासि लिइएका निर्णयले दुर्भाग्यपूर्ण परिणाम निम्त्याउन सक्छ ।’ उनका अनुसार ठेक्का रद्द गर्दा त्यसले लागत वृद्धि, निर्माण अवधिमा ढिलाइ, कानुनी जटिलता, न्यायालयमा मुद्दाको चाप वृद्धि र सिमेन्ट–डन्डीजस्ता आपूर्तिमा नकारात्मक असर पार्न सक्छ । सिंहले भने, ‘८/९ वर्ष पुगिसकेको टेकु पुल वा कोटेश्वरको पुल जस्ता उदाहरणहरूमा निर्माण कम्पनीको कमजोरी भए पनि काम दिने निकायले समयमै विवेकपूर्ण निर्णय गर्न नसक्दा जनताले लामो समयसम्म सुविधा पाएका छैनन्, जिम्मेवारी दुबै पक्षको हो ।’ उनका अनुसार गोरखाको चार वर्षदेखि सञ्चालनमा आएको अस्पतालको ठेक्का बजेट अभावका कारण अन्तिम भुक्तानी नहुँदा रद्दको सूचना आउनु विरोधाभासपूर्ण छ । ‘यो जटिल समस्या हो, जसको समाधानका लागि सरकार, निर्माण व्यवसायी र सरोकारवाला सबैको एकीकृत प्रयास आवश्यक छ,’ सिंहले भने ।  महासंघले सार्वजनिक खरिद ऐनका अव्यावहारिक प्रावधानकै कारण रूग्ण ठेक्का व्यवस्थापन असम्भव बनेको दाबी गरेको छ । सिंहका अनुसार सार्वजनिक खरिद ऐनको दफा ५९ को उपदफा ३ र ८ मा रहेको व्यवस्था नै रूग्ण ठेक्का व्यवस्थापनको मुख्य बाधक हो ।  नेपाल निर्माण व्यवसायी महासंघले सार्वजनिक खरिद ऐन, नियमावली र निर्माण व्यवसाय ऐनलाई समयसापेक्ष र व्यवहारिक बनाउन संशोधन गर्नुपर्ने माग गरेको छ । महासंघले दफा ५९ का उपदफा ३ र ८ का प्रावधान खारेज गर्न, बजेट विनियोजनबिना ठेक्का लगाउने प्रवृत्ति बन्द गर्न र न्यून दरमा टेन्डर हाल्ने प्रवृत्ति रोक्न माग गरेको छ । त्यसका लागि अनुमानित लागतको १०/१५ प्रतिशतभन्दा कममा बिड स्वीकार नगर्ने वा ‘मिड–भ्यालु प्रणाली’ अपनाउने सुझाव पनि महासंघले दिएको छ । साथै आयोजना रूग्ण हुनुका कारण पहिचान गरी दोषीलाई दण्डित गर्ने प्रणाली विकास गर्न र यसमा कार्यालय प्रमुखदेखि राजनीतिक नेतृत्वसम्म सबैलाई जिम्मेवार बनाउनु पर्ने भनिएको छ । महासंघले राष्ट्र बैंक, अख्तियार, महालेखा परीक्षक कार्यालय लगायत निकायसँग समन्वय गरी जेभी खाता सञ्चालन र बेरुजुको व्यावहारिक समाधानका विषयमा सहजीकरण गर्न माग गरेको छ । ‘रूग्ण आयोजनाहरूमध्ये सम्पन्न हुन सक्ने परियोजनालाई सरकारले आवश्यक सहजीकरण, नगद प्रवाह र सहुलियत दिएर सम्पन्न गराउनुपर्छ,’ सिंहले भने ।  कुनै बेला नेपालको कुल ग्राहस्थ उत्पादनमा ११/१२ प्रतिशत योगदान दिने निर्माण क्षेत्र अहिले ६ प्रतिशतभन्दा तल झरेको छ । यसले अर्थतन्त्र र विकास दुवैमा ‘ब्रेक’  लागेको स्पष्ट संकेत गरेको महासंघको भनाइ छ ।  अव्यावहारिक ऐनको असर सार्वजनिक खरिद ऐन (२०६३-६४) र निर्माण व्यवसाय ऐन (२०५५) लामो समयदेखि संशोधनविहीन छन्। महासंघका अनुसार यी ऐनहरू समयसापेक्ष नहुँदा निर्माण क्षेत्र अस्वस्थ बनेको छ ।  महासंघले २०७६ वैशाख ३० गते ल्याइएको कुनै पनि निर्माण कार्यको शतप्रतिशतभन्दा बढी म्याद थप गरिने छैन भन्ने प्रावधानलाई अव्यावहारिक ठहर गरेको छ । त्यसका कारण ४ खर्ब बराबरका ७२ आयोजना ११ महिनासम्म ठप्प भएको महासंघको दाबी छ । नवौं संशोधनले प्रावधान सच्याए पनि कोभिड–१९ महामारीका कारण थपिएको म्यादको अर्थ गुमेको र एउटा त्रुटि सच्याउन ६ वर्षमा १४ पटक संशोधन गर्नुपर्ने अवस्था आएको महासंघको भनाइ छ । सार्वजनिक खरिद ऐनको दफा ५९ को उपदफा ३ र ८ ले ठेक्का तोडिएपछि बाँकी कामको सम्पूर्ण लागत ठेकेदारबाट असुल्ने व्यवस्था गरेको छ । महासंघका अनुसार, यो ‘ब्रुटल’ व्यवस्था संसारका अन्य कुनै मुलुकमा छैन, जसले ठेक्का तोड्न निकायहरू हिच्किचाउने र आयोजनाहरू थप रूग्ण बन्ने अवस्था आएको छ ।  सडक विभागका सूचना अधिकारी तथा सहायक प्रवक्ता शुभाञ्जन दाहालका अनुसार लामो समयदेखि प्रगतिहीन ठेक्काहरूले राज्यलाई आर्थिक भार पारिरहेकाले कठोर निर्णय गर्नुपरेको हो ।  उनले भने, ‘दशौं वर्षदेखि लागेका ठेक्काहरूमा निर्माण व्यवसायी सम्पर्कमै नआउने वा अपेक्षित प्रगति हासिल गर्न नसकेपछि राज्यलाई सधैंको दायित्व हुने भयो ।’  दाहालका अनुसार ठेक्का तोड्ने निर्णय निर्माण व्यवसायीको कार्यसम्पादनको आधारमा हुनेछ । ‘यदि काम हुन नसक्नुको कारण निर्माण व्यवसायीको कमजोरी, सम्पर्कविहीनता वा शर्तअनुसार काम नगर्नु हो भने त्यस्ता ठेक्का तोडिन्छ,’ उनले भने, ‘तर कार्यालयको कमजोरी, जस्तै साइट उपलब्ध गराउन नसक्नु, बजेट विनियोजनमा समस्या हुनु वा अन्य सरकारी कारण भए छुट्टै विधिबाट समाधान खोजिन्छ ।’  ‘ठेक्का तोड्ने भनिसकेपछि निर्माण व्यवसायीका कारण र अवस्थाबारे कुरा राख्ने मौका दिइन्छ । त्यसपछि मात्रै अन्तिम निर्णय गरिन्छ, ’ उनले थपे ।  सडक विभागका अनुसार ठेक्का तोडिएपछि ती आयोजनाहरू पुनः अगाडि बढाउन नयाँ प्रक्रिया अपनाइनेछ । निर्माण व्यवसायीबाट असुल्नुपर्ने रकम वा कारबाही पूरा भएपछि बजेट विनियोजनको अवस्थाका आधारमा नयाँ टेन्डर आह्वान गरिनेछ । तर, कतिपय अवस्थामा सोही साइटमा अन्य निकायले काम गरिरहेको वा लामो समय बितिसकेका कारण नयाँ टेन्डर आवश्यक नपर्न पनि सक्छ । कुलमान घिसिङको रुग्ण ठेक्का तोड्ने अभियानले निर्माण क्षेत्रमा गतिशीलता ल्याउने सम्भावना देखिए पनि त्यसका परिणामहरू बारे व्यवसायीहरू चिन्तित छन् । सरकारले रुग्ण ठेक्का रद्द गर्न थालेको यो अभियान दीर्घकालमा देशको निर्माण नीतिको दिशानिर्देश बन्न सक्ने धारणा उनीहरूको छ ।

‘भारतले नेपालबाट थप बिजुली लैजान खोज्दैछ, उत्पादनमा लागौं’

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादक संघ (इप्पान) का अध्यक्ष गणेश कार्कीले नेपाल र भारतबीच ट्रान्समिसन लाइन निर्माणका लागि पछिल्ला दिनमा भइरहेका प्रयासहरू सकारात्मक रहेको बताउँदै यसबाट भारतले थप बिजुली लैजान खोजेको बताएका छन् । भारत सरकारले नेपालसँग प्रशारण सञ्जाल विस्तार गर्न चासो देखाउनु, भविष्यमा नेपालबाट बिजुली आयात गर्न तयार हुँदै गएको संकेतका रुपमा उनले अथ्र्याएका छन्  । भारतले दीर्घकालिन रुपमा आफूलाई चाहिने बिजुली व्यवस्थापन गर्न लागेको बताउँदै उनले नेपालले पनि बिजुली उत्पादनमा अब अलमल गर्न नहुने बताए । कार्कीकाअनुसार भारतलाई नेपालको बिजुली चाहिन्छ भन्ने बुझाइ बनेको छ । ५–१० वर्षपछि कुनै दिन बिजुली चाहिन्छ र त्यो नेपालबाट नै ल्याउनुपर्छ भन्ने अवस्था भारतले देखेको छ । नत्र भने उसले यति ठूलो लगानी गरेर ट्रान्समिशन लाइन बनाउनुपर्ने कुनै कारण नरहेको कार्कीको बुझाइ छ । कार्कीकाअनुसार भारत बिजुली खरिदका लागि पूर्वतयारी गरिरहेको छ । तर नेपालले विद्युत उत्पादन बढाउन सकेको छैन् । अब भारत बिजुली खरिदमा तयार हुँदै गर्दा नेपाल बिजुली उत्पादनका हिसावले तयार भएर सोही अनुसारको वातावरण तयार गर्नुपर्ने उनको भनाइ छ ।  राजधानीमा आयोजित एक कार्यक्रममा इप्पान अध्यक्ष कार्की भने–‘नेपाल सरकारले भारत सरकारसँग ट्रासमिसन लाइन बनाउने कुरा आयो । मलाइ के लाग्छ भने भारत सरकारलाई कहिन कहिँ नेपालको बिजुली चाहिन्छ है भनेर किन्न तयार हुन खोजेको देखियो । ५–१० वर्षपछि कुनै दिन बिजुली चाहिन्छ, र त्यो नेपालबाट नै आयात गर्नुपर्छ भन्ने भारतलाई परेको छ । तर त्यो सँगसँगै हामी नेपाली बिजुली उत्पादनका लागि तयार छौं छैनौँ, त्यसले अर्थराख्छ । त्यो तयार हुनुका लागि हामीले पनि त्यही अनुसारको तयारी गरेर बिजुली उत्पादन सुरु गर्नुपर्ने हो ।’ कार्कीले एमसीसी परियोजनाको प्रशारण लाइन र अन्य ट्रान्समिशन लाइनहरू निर्माणको चरणमा छन् । यी सञ्जालहरू बनेपछि अझ बढी बिजुलीको माग बढ्नेछ । कार्कीका अनुसार अब सरकारले जलविद्युत्को क्षेत्रमा स्पष्ट नीति ल्याउनुपर्छ होइन भने उर्जा उत्पादकलाई सरकारले भारत र बंगलादेशलाई बिजुली चाहियो भने उनीहरूले आफैं लगानी गरेर बनाएर लैजाने बताइदिनुपर्छ ।  कार्कीकाअनुसार नेपालले प्रसारणमा प्रगति गरेपनि विद्युत् उत्पादन नबढाए भविष्यमा ठूलो अवसर गुमाउने जोखिम छ । हाल नेपाल विद्युत प्राधिकरणले २८३ मेगावाट विद्युत भारतमा निर्यात अनुमति पाएको छ ।  नेपालका विभिन्न आठ जलविद्युत आयोजनाबाट उत्पादित २८३ मेगावाट विद्युत निर्यात लागि दिएको स्वीकृतिलाई भारतीय पक्षले नविकरण गरिदिएको छ । विद्युत् प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स)को डेअहेड तथा रियल टाइम मार्केटमा प्रतिष्पर्धी दरमा र द्विपक्षीय मध्यकालीन विद्युत विक्री सम्झौता बमोजिम हरियाणा र बिहार राज्यमा विक्री गरिरहेको छ ।  भारतको प्रशारण संरचनाको प्रयोग गरी बंगलादेशमा पनि विद्युत निर्यात भइरहेको छ । अघिल्लो साता भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स) मार्केटमा प्रतिस्पर्धी दरमा विद्युत विक्री गर्न स्वीकृत पाएका ४ आयोजनाको नवीकरण भएको थियो । उक्त आयोजनाबाट उत्पादित १०३ मेगावाट विद्युत आइएक्समा विक्रीका लागि पाएको स्वीकृति विभिन्न मितिमा सकिएको थियो । सबै आयोजनाको निर्यात करिव एक वर्षका लागि नवीकरण स्वीकृति भएसँगै  आगामी दिनमा समेत भारतमा बिजुली विक्री गर्न सहज भएको छ । त्यसैगरी, द्विपक्षीय सम्झौता बमोजिम हरियाणा राज्यलाई ४ आयोजनाबाट उत्पादित करिव १८० विद्युत विक्री भइरहेको छ ।   

कालीगण्डकी कोरिडोर: लस्ती-बेनी खण्ड कालोपत्र गरिँदै

काठमाडौं । कालीगण्डकी कोरिडोर अन्तर्गत लस्ती-बेनी खण्डमा कालोपत्र गर्न थालिएको छ । यो मालढुङ्गा–बेनी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने मुख्य सडक हो । बेनी-जोमसोम-कोरला सडक योजनाका सूचना अधिकारी इन्जिनियर विष्णु चापागाईका अनुसार आज फर्सेदेखि बेनीतर्फको बाटो कालोपत्र गरिने छ ।  ‘१३ किलोमिटर लामो मालढुङ्गा-बेनी सडकको पहिरो प्रभावित क्षेत्रमा २ किलोमिटर ढलान भइसकेको छ,’ उनले भने । यसअघि मालढुङ्गा-बेनी सडक अन्तर्गत पर्वतको कुश्मा नगरपालिका-१ मालढुङ्गादेखि जलजला गाउँपालिका-८ नाग्लीवाङको फर्सेसम्म पाँच किलोमिटर कालोपत्र भएको थियो । मालढुङ्गा-बेनी सडकलाई ११ मिटर फराकिलो बनाएर अस्फाल्ट प्रविधिको कालोपत्र र ढलान गर्न २०७७ साल चैतमा ५२ करोड ८६ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको थियो ।