काठमाडौं । पहिरोले सडक भासिएपछि अवरुद्ध बनेको पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीर खण्डमा निर्माण सामग्री तथा उपकरण लैजान खोलिएको नयाँ ट्र्याक फराकिलो बनाउने काम तीव्र पारिएको छ ।
सडकको माथिल्लो भागमा रुख कटान र झाडी फाँडेर डाँडामाथिबाट दुवैतर्फ करिब चार मिटर चौडाइको ट्र्याक खोलिसकिएको छ ।
नौबिसे–मुग्लिन सडक आयोजना (पश्चिम खण्ड) का इन्जिनियर सचेन्द्र मिश्रका अनुसार उक्त ट्र्याक हाल निर्माणमा संलग्न कामदार, उपकरण तथा इन्धन ओसारपसारका लागि प्रयोग भइरहेको छ ।
निर्माण कम्पनी शर्मा–जेडआइभी जेभीले मुख्य सडकभन्दा करिब २० मिटर अग्लो र ३५० मिटर लामो यो वैकल्पिक ट्र्याक तयार पारेको हो ।
हाल खुलाइएको ट्र्याक निर्माण प्रयोजनका लागि मात्र भएकाले सर्वसाधारणका सवारी साधन सञ्चालन हुन अझै केही समय लाग्नेछ ।
भित्ता काट्ने, बाटो चौडा गर्ने, ग्राभेलिङ र ग्रेडिङ मिलाउने तथा स्लोप कटिङका कामहरू बाँकी नै रहेकाले आगामी भदौ मसान्तसम्ममा मात्र सर्वसाधारणका गाडी चलाउन मिल्ने गरी काम अघि बढाइएको छ ।
यद्यपि आपत्कालीन अवस्थामा सर्वसाधारण हिँडेर वारपार गर्न सक्ने स्थिति भने बनेको छ । कामलाई तीव्रता दिन आजैदेखि दुईवटा एक्साभेटर थप गरी सात पुर्याइएको छ भने जेसिबी, लोडर र बुल्डोजरसमेत परिचालन गरेर डिजाइनअनुसार मुख्य सडक पुनर्निर्माणको काम तीव्र पारिएको छ ।