म्याग्दी र मुस्ताङलाई जोड्ने नयाँ पदमार्गको सम्भाव्यता अध्ययन
बेनी । म्याग्दी र मुस्ताङलाई जोड्ने नयाँ पदमार्गको सम्भाव्यता अध्ययन गरिएको छ । धौलागिरि आइसफल पदमार्गअन्तर्गत रहेका सेञ्चुरी पदमार्ग, रिखार पदमार्ग र कालीबराह पदमार्गलाई जोड्ने गरी ‘रिसेका’ रिखार, सेञ्चुरी, कालीबराह पदमार्गको सम्भाव्यता अध्ययन गरिएको हो । कालीगण्डकी र भेरी नदी जोड्ने गरी परिकल्पना गरिएको ग्रेट धौलागिरि पदमार्गका अभियन्ता मनबहादुर खत्रीको टोलीले ‘रिसेका’ पदमार्गकोसमेत अध्ययन गरेको हो । भदौ अन्तिम सातादेखि असोज ३ गतेसम्म म्याग्दीको चिमखोला, कुइनेमङ्गले हुँदै मुस्ताङको कालापानीसम्मको रिसेका पदमार्गको सम्भाव्यता अध्ययन गरिएको मोहनबहादुर खत्रीले बताए । उनका अनुसार, धौलागिरि हिमालको दक्षिण आधार शिविर जाने सेञ्चुरी पदमार्ग, कुइनेमङ्गलेमा अवस्थित प्रसिद्ध धार्मिक पर्यटकीयस्थल रिखार र चिमखोलाको कालीबराह ताल क्षेत्र र मुस्ताङको लेते जोड्ने गरी नयाँ पदमार्गको खोजी गरिएको हो । यस पदमार्गअन्तर्गत कुइनेमङ्गलको पात्लेखर्कबाट पदमार्ग सुरु गरी रिखार–रुरुचौर–मानापाथि आधार शिविर–धौलागिरि दक्षिण आधार शिविर–आइसफल भ्यु पोइन्ट–कालिबराह ताल र त्यहाँबाट मुस्ताङको कालापानी निस्कन सकिने गरी पदमार्गको पहिचान गरिएको खत्रीले बताए । बेनीबाट एक साताको पदयात्रा गर्न सकिने गरी पदमार्गको पहिचान गरिएको र यसलाई नक्साङ्कनको तयारी गरिएको उनको भनाइ छ । यस पदमार्गमा धौलागिरि आइसफल पदमार्गका साथै धौलागिरि पदमार्गको सिङ्कोसबगर, मल्कबाङको च्यामलीडाँडा, चौरवन हुँदै रिखार जोड्ने परम्परागत भेडीगोठ मार्ग र कालीबराहदेखि पहेलीबराह, ठूलीमेला, मुली, घ्वाङ्खर्क, खल्मी, टकसार हुँदै मुस्ताङको कोवाङ जोड्ने परम्परागत चौरी मार्गसमेत जोडिन्छन् । हिमाली भूगोललाई समेटिएको यो पदमार्ग अन्य पदमार्गको तुलनामा शाहसिक हुने पर्यटनविद् बताउँछन् । पदमार्गअन्तर्गत सबैभन्दा अग्लो स्थान चार हजार नौ सय मिटर उचाइको बाँझोखर्क, भ्यु–पोइन्टबाट लोभलाग्दो दृष्यको अवलोकन गर्न सकिन्छ । धौलागिरि र अन्नपूर्ण रेञ्जका हिमालको अवलोकनका साथै हिमाली भेगमा रहेका भेडा र चौँरीका गोठ, वन्यजन्यु, चराचुरुङ्गी, जडीबुटी, हिमाली भूगोल पर्यटकका लागि थप आकर्षणका रुपमा रहेका छन् । धौलागिरि आइसफल र सेञ्चुरी पदमार्गको विस्तृत परियोजना प्रतिवेदन डिपिआर नै तयार गरिएको अवस्थामा दुवै पदमार्गलाई समेट्दै छुटेका गन्तव्यलाई समेत समेट्ने रिसेका पदमार्गले यस क्षेत्रको पर्यटन विकासमा रचनात्मक भूमिका खेल्ने अपेक्षा गरिएको रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले जानकारी दिए । रासस
महाकालीमा पक्की पुलले विकास र पर्यटक बढ्ने आशा
खलङ्गा । दार्चुलामा नेपाल–भारत जोड्ने पक्की पुल निर्माण कार्य अघि बढेको छ । हालै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडू र भारतको उत्तराखण्ड राज्यका मुख्यमन्त्री पुष्करसिंह धामीले एकसाथ उक्त पुलको शिलान्यास गरे । दार्चुलाको महाकाली नगरपालिका–८ असिगडा र भारततर्फ पिथौरागढ जिल्लाको धार्चुला बलुवाकोट नजिकको मल्ला छारछुम जोड्ने गरी महाकालीमा मोटरेबल पुल बन्न लागेको हो । सुदूर पहाडमा पहिलोपटक नेपाल–भारत जोड्ने मोटरेवल पुल बन्न लागेको हो । यसअघि सुदूरपश्चिमको तराई क्षेत्रमा कैलाली र कञ्चनपुरमा मात्र मोटरेवल पुल रहेका छन् । दार्चुला त्रिदेशीय सीमा जोडिएको जिल्ला हो । त्यसैले त्रिदेशीय नेपाल–भारत–चीन व्यापारको समेत ढोका खुल्ने स्थानीयको भनाइ छ । महाकाली नदीमा पक्की पुल निर्माण दुई देशको सम्बन्ध झन मजबुत हुनुका साथै दार्चुलाको स्थानीय कृषि उत्पादन, जडीबुटी, धातु र कच्चा पदार्थको अन्तर्राष्ट्रिय व्यापारमा वृद्धि हुने जिल्ला समन्वय समितिका प्रमुख महादेव बडूले बताए । दार्चुलामा नेपाल–भारत जोड्ने मोटरबेल पुल निर्माणको पहल २०४८ सालदेखि नै गरिएको मन्त्री बडूले बताए । ‘यो पुलले नेपालको सुदूरपश्चिम प्रदेश र भारतको उत्तराखण्ड राज्यबीचको सीमापार सम्बन्ध बलियो बनाउने विश्वास छ’, उनले भने । भारतीय पक्षले निर्माण गर्ने मोटरबेल पुलको कुल लम्बाइ एक सय १० मिटर रहेको छ । पुल निर्माणपछि दार्चुला, बैतडी, डडेल्धुरा, बझाङलगायत सुदूरपश्चिमका पहाडी जिल्लाका साथै भारत र चीनसम्मको व्यापार दार्चुलाको नाकाबाट हुने महाकाली नगरपालिकाका प्रमुख नरसिंह चैसिर बताउँछन् । ‘सीमा नाकामा बन्ने पक्की पुल दुवै देशको आर्थिक, सामाजिक, धार्मिक सम्बन्ध मजबुत बनाउनसमेत महत्वपूर्ण हुनेछ । उक्त पुलले सुदूरपश्चिमका पहाडी जिल्लामा रहेका प्रमुख धार्मिकस्थलमा पर्यटकको आगमन बढ्ने देखिन्छ’, उनले भने । सुदूरपश्चिमका पहाडी जिल्लामा रहेका प्रमुख धार्मिकस्थल दार्चुलाको मालिकार्जुन, तपोवन तीर्थस्थल, ब्यास गुफा, बैतडीको त्रिपुरासुन्दरी र निङ्गलासैनी, बझाङको सुर्मासरोवर, बाजुराको बडिमालिका, डडेलधुराको उग्रतारा मन्दिर, अमरगढी किल्लालगायतमा भारतीय पर्यटकको आगमन बढ्ने उनी बताउँछन् । त्यस्तै अछाममा रामारोसन, वैजनाथ र विनायकपञ्च प्रमुख धार्मिक पर्यटकीयस्थलका रूपमा चिनिन्छन् । त्यस्तै डोटीको शैलेश्वरी मन्दिर प्रमुख धार्मिकस्थल हुन् । नेपाल–भारत जोड्ने पक्की पुलले दार्चुलामा रहेको अपी हिमाल र बझाङमा रहेको साइपाल हिमाल अवलोकन गर्न पर्यटकको आगमन हुने सम्भावना छ । प्रमुख पर्यटकीय धार्मिकस्थल कैलाश मानसरोवरसम्म पर्यटकलाई आवतजावत गर्न सहज हुने छ । भारत सरकारको लगानीमा बन्ने पुल र महाकाली करिडोरले पर्यटन प्रवद्र्धनमा सघाउ पुग्ने विश्वास गरिएको छ । नेपाल–भारत–चीनसँगको त्रिदेशीय नाका तिङ्करसम्म व्यापार विस्तारका लागि महाकाली करिडोर निर्माण गरिँदै छ । विसं २०६६ देखि उक्त करिडोर निर्माण थालिएको हो । कञ्चनपुरको ब्रह्मदेवबाट डडेल्धुरा, बैतडी र दार्चुलाको तिङ्करसम्म सडक खुलाउने उक्त योजनाअन्तर्गत चार सय १३ किलोमिटर सडक निर्माण हुँदैछ । कञ्चनपुरको ब्रह्मदेवबाट डडेल्लधुरा, बैतडी हुँदै दार्चुलाको तिङ्करसम्मको करिडोरको लम्बाइ चार सय २५ किलोमिटर छ । महाकाली करिडोरअन्तर्गत व्यास गाउँपालिका–२ कोठेधारबाट तिङ्करसम्मको ८७ किलोमिटर सडक खण्ड निर्माणको जिम्मा नेपाली सेनालाई दिइएको छ । रासस
जलविद्युत् र पर्यटनमा इन्डोनेशियाको लगानी भित्र्याउन प्रधानमन्त्रीको आग्रह
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको जलविद्युत, पर्यटन र अन्य सम्भावित क्षेत्रमा इन्डोनेशियाको लगानी भित्र्याउने काममा सहजीकरण गर्न नेपालका लागि इन्डोनेशियाका राजदूतलाई आग्रह गरेका छन् । आज प्रधानमन्त्री देउवासँग शिष्टाचार भेट गर्न प्रधानमन्त्री निवास बालुवाटार पुगेका नेपालका लागि इन्डोनेशियाका राजदूत हेरु हारतान्तो सुबोलोसँगको भेटमा प्रधानमन्त्री देउवाले सो आग्रह गरेका हुन् । ‘प्रधानमन्त्रीज्यूले पर्यटन, जलविद्युत् तथा अन्य सम्भावित व्यवसायमा इन्डोनेशियाको लगानी भित्र्याउन र नेपालको हिमाली पर्यटनलाई इन्डोनेशियाका पर्यटकबीच प्रवद्र्धन गर्न आग्रह गरे’, प्रधानमन्त्रीलाई उद्धृत गर्दै सो भेटमा सहभागी नेपालका लागि इन्डोनेशियाका अवैतनिक वाणिज्यदूत एवं नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले बताए । सो अवसरमा प्रधानमन्त्री देउवाले नेपालमा गणतन्त्र इन्डोनेशियाको आवासीय दूतावास स्थापनाका लागि इन्डोनेशियाको सरकारलाई आग्रह पनि गरे । प्रधानमन्त्री देउवाले शान्तिका अग्रदूत गौतम बुद्धको जन्मभूमि नेपाल भ्रमणका लागि राजदूत सुबोलोमार्फत इन्डोेनेशियाली जनतालाई आग्रह गरेका ढकालले जानकारी दिए । उक्त भेटमा नेपालका लागि गणतन्त्र इन्डोनेशियाका राजदूत सुबोलोले नेपालमा आवासीय दूतावास स्थापनाका लागि आफू सकारात्मक रहेको र प्रधानमन्त्रीको यो सन्देश इन्डोनेशियाली सरकारसमक्ष पु¥याउने बताए । राजदूत सुबोलोले कूटनीतिक तथा सरकारी राहदानीबाहकलाई भिसा सहजीकरणका लागि दुई देशबीच छिट्टै सम्झौता हुने बताए । आगामी अक्टोबरमा इन्डोनेशियामा आयोजना हुने ‘ट्रेड एक्स्पो’ प्रवद्र्धनका क्रममा राजदूत सुबोलोले नेपाल र इन्डोनेशियाबीच द्विपक्षीय व्यापार तथा लगानीका लागि भूमिका निर्वाह गर्ने बताए । रासस