लप्सीफेदी सबस्टेसन निर्माणमा स्थानीयको अवरोध, हटाउन विद्युत प्राधिकरण र प्रशासनको पहल
काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिका–३ लप्सीफेदीमा स्थानीयले तीन वर्षदेखि सबस्टेसन निर्माणमा अवरोध गरिरहेका छन् । अवरोधका कारण तामाकोसी–काठमाडौं ४०० केभी प्रसारण लाइनको ५ वटा टावर निर्माण हुन सकिरहेको छैन । लप्सीफेदी सबस्टेसन निर्माणका लागि करिब ७० जग्गाधनीहरुको एक सय ७० रोपनी जग्गा अधिग्रहणका लागि २०७४ माघमा मुआब्जा तथा क्षतिपूर्ति रकम निर्धारण गरिएको थियो । एउटा कित्ताका जग्गाधनी बाहेक अन्य सबैले मुआब्जा तथा क्षतिपूर्तिक रकम बुझिसकेका छन् । तर, मानवबस्तीमा सबस्टेसन निर्माण गर्न नहुने र यसलाई अरु नै ठाउँमा सार्नु पर्ने माग राख्दै केही स्थानीयले सबस्टेसन निर्माणमा अवरोध गरिरहेका छन् । सबस्टेसन निर्माणको जिम्मा पाएको ठेकेदार कम्पनीको कार्यसम्पादन सन्तोषजनक नभएपछि नेपाल विद्युत प्राधिकरणले ठेक्का तोडी नयाँ ठेकेदार छनौट गरेको थियो । सुरुमा काम गर्न दिएका स्थानीयले नयाँ ठेकेदार आएपछि काम गर्न अवरोध गरेका छन् । त्यसैले करिब २ वर्षबाट स्थानीयको अबरोधका कारण सबस्टेसन निर्माणको काम नै सुरु हुन सकेको छैन । तामाकोसी र सुनकोसी नदी जलाधार क्षेत्रमा निर्माण भएका जलविद्युत आयोजनाको विद्युत मुख्य रुपमा काठमाडौं उपत्यकामा वितरणका लागि लप्सीफेदीमा ४००, २२० र १३२ केभीका सबस्टेसन निर्माण गर्न लागिएको हो । रामेछाप, दोलखा, सिन्धुपाल्चोकलगायतका जिल्लामा उत्पादित विद्युत काठमाडौं उपत्यकामा प्रवाह गर्न तामाकोसी–काठमाडौं ४०० केभी प्रसारण लाइन निर्माणाधीन छ । यसैगरी, लप्सीफेदी सबस्टेसनबाट उपत्यकामा विद्युत छिराउन चाँगुनारायण सबस्टेसनसम्म १३२ केभी प्रसारण लाइन निर्माण हुँदैछ । चाँगुनारायणमा १३२ केभी सबस्टेसन निर्माणाधीन छ । चाँगुनाराण सबस्टेसनकै प्याकेजमा लप्सीफेदी सबस्टेसन राखिएको छ । तर, अधिग्रहण गरिएको जग्गामा समेत अवरोध हुँदा लप्सीफेदी सबस्टेसनको निर्माण अघि बढ्न सकेको छैन । काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय,प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, शंखरापुर नगरपालिका मेयर रमेश नापितलगायत सम्मिलित टोलीले बिहीबार सबस्टेसन निर्माणस्थलको स्थलगत अवलोकन गरेको छ । टोलीले वडाध्यक्षहरु, प्रभावित, सरोकार समितिका पदाधिकारीहरु र स्थानीय बासिन्दासँग छलफल गरी रणनीतिक महत्वको प्रसारण लाइन तथा सबस्टेसन निर्माणमा अवरोध नगर्न आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी उपाध्यायले निर्माणका कारण स्थानीयलाई पर्ने मर्कालाई न्यूनिकरण गर्दै विकास आयोजनाहरुलाई अगाडि बढाइने बताए । ‘यस आयोजनाले नकारात्मक प्रभाव पार्छ मात्रै पार्छ भन्ने छैन, निर्माणले थप नयाँ अवसरहरु सिर्जना गर्न सक्छ, यस भेगलाई नयाँ पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सकिन्छ कि ? यस विषयमा पनि छलफल गरौं, प्राधिकरण र प्रभावितबीच द्धन्द्ध बढाउनेभन्दा पनि वार्ता र छलफलबाट समस्या समाधान गरौं’, उनले स्थानीय आग्रह गर्दै भने, ‘प्राधिकरणले पेश गर्ने मुआब्जा तथा क्षतिपूर्ति प्रस्तावमा निर्णय गर्दा स्थानीयको मर्कालाई सम्बोधन गर्ने गरी लचकता अपनाइने छ, स्थानीयको संवेदनशीलतालाई ख्याल गरिने छ ।’ बस्तीकोबीचमा सबस्टेसन निर्माण गरिंदा मानवबस्ती नै नष्ट हुन्छ भन्ने बुझाइ गलत भएको प्रष्ट पार्दै प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले सबस्टेसनको निर्माणबाट त्यस क्षेत्रको विद्युत आपूर्ति विश्वसनीय तथा भरपर्दो हुने र उद्योग कलकारखाना स्थापनाको नयाँ अवसर सिर्जना हुने बताए । काठमाडौं उपत्यकामा ११ वटाभन्दा बढी सबस्टेसन घनाबस्तीकैबीचमा रहेको तर त्यसबाट अहिलेसम्म कुनै मानवीय क्षति नभएको घिसिङले प्रष्ट पारे । सबस्टेसन निर्माणमा राजनीतिकरण नगर्न आग्रह गर्दै घिसिङले भन्नुभयो, ‘जनतालाई गोली ठोकेर, मर्कामा पारेर सबस्टेसन निर्माण गर्न पक्षमा छैनौं, संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत यस क्षेत्रको विकासका लागि विद्यालय, सडक, स्वास्थ्यलगायतका क्षेत्रमा लगानी गर्न तयार छौं, समुदाय विकासलाई गम्भीर भएर सोचौं, छलफल गरौं, रोजगारी, निर्माण कार्यलगायतमा स्थानीयलाई अधिकतम फाइदा हुने गरी सबस्टेसन निर्माण गर्ने छौं ।’ सबस्टेसन कुनै एउटा निश्चित क्षेत्रमा बन्ने भएकोले यसलाई सुन्दर बनाएर पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सकिने उल्लेख गर्दै उनले वार्ता र छलफलबाटै समस्या समाधान गर्न सकिने बताए । शंखरापुर नगरपालिका मेयर रमेश नापितले स्थानीयले राखेको मागलाई सम्बोधन गरेर विकास आयोजनाहरु बनाइनु पर्नेमा जोड दिए । ‘स्थानीयले सबस्टेसन सार्न माग गरेका छन्, ठाउँ छ भने विकल्प खोज्नु पर्छ, सबै विषयलाई छलफलबाट निश्कर्षमा पुर्याउन सकिन्छ’, उनले भने । छलफलमा सहभागीहरुबाट आयोजनाबाट त्यस क्षेत्रमा वातावरणीय, सामाजिक, आर्थिक र सांस्कृतिक प्रभाव पर्ने भएकोले सबस्टेसन तथा प्रसारण लाइनलाई अन्यत्र सार्न माग गरिएको थियो । काठमाडौं उपत्यकाको विद्युत आपूर्तिलाई भरपर्दो र विश्वसनीय बनाउन र प्रसारण सञ्जाल विस्तारका लागि एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा आयोजना सुरु गरिएको हो । आयोजना अन्तर्गत नै भक्तपुरको चाँगुनारायणमा १३२/११ केभी सबस्टेसन निर्माणाधीन छ । स्थानीयको अवरोधका कारण लप्सीफेदी सबस्टेसन भने निर्माण हुन सकिरहेको छैन । रामेछापको खिम्तीमा रहेको न्यू खिम्ती सबस्टेसनबाट बाह्रबिसै हुँदै लप्सीफेदीसम्मको ४०० केभीको डबल सर्किट तामाकोसी–काठमाडौं प्रसारण लाइन आयोजना निर्माणाधीन छ । आयोजना अन्तर्गत लप्सीफेदीका स्थानीयको अवरोधका कारण ५ वटा टावर निर्माण हुन सकिरहेको छैन ।
बेगनास–रुपा पम्प जलासययुक्त जलविद्युत् आयोजना सम्पन्न गर्न २० अर्ब लाग्ने
लेखनाथ । नेपाल विद्युत् प्रधिकरण, इञ्जीनियरिङ सेवा निर्देशनालय आयोजना विकास विभागले पोखराको लेखनाथस्थित बेगनास–रुपा पम्प जलासययुक्त जलविद्युत् आयोजना सञ्चालन गर्नका लागि हालसम्म गरिएको वातावरण तथा सामाजिक अध्ययन प्रगति विवरण सार्वजनिक गरेको छ । विभागले वातावरण तथा सामाजिक क्षेत्रमा हालसम्म भएका अध्ययन प्रगतिका बारेमा बुधबार पोखरामा सरोकारवालासँग अन्तक्र्रियात्मक कार्यक्रम गरी सार्वजनिक गरेको हो । नेपालमै पहिलो प्रयोगमा बेगनास–रुपा पम्प जलासययुक्त जलविद्युत् आयोजना सञ्चालन गर्नका लागि प्राधिकरणको रु २० अर्ब खर्च लाग्ने प्राधिकरणका उपनिर्देशक रामजी भण्डारीले जानकारी दिए । उक्त जलासययुक्त आयोजनाबाट एक सय ५० मेगावाट जलविद्युत् उत्पादन हुने जानकारी सो अवसरमा दिइएको थियो । विसं २०७४ मा सरकारबाट सर्वेक्षण अनुमतिपत्र प्राप्त गरी प्राधिकरणले जलविद्युत् सञ्चालन गर्न वातावरणीय तथा सामाजिक अध्ययन कार्य अगाडि बढाएको थियो । बेगनास तालमा भइरहेको पानीको सतहलाई एक मिटर बढाइ सङ्कलित गरिएको पानीलाई एक किलोमिटर सुरुङ मार्गमार्फत रुपातालको छेउमा विद्युत्गृह निर्माण गरी गृहबाट निस्केको पानी रुपातालमा लगेर खसाल्ने र पुनः रुपातालको पानी पम्पमार्फत बेगनासमा नै ल्याइने योजनाका साथ प्राधिकरण निर्माणमा अगाडि बढेको छ । उक्त आयोजनाबाट ‘पिकआवर’ अर्थात साँझको समयमा दैनिक चार घण्टा विद्युत् निकाल्न सकिन्छ, यसले पिकआवरमा हुने विद्युत् अभावलाई केही मात्रामा सहयोग पु¥याउने जानकारी प्राधिकरणका प्राविधिक प्रकाश गौडेलले जानकारी दिए । बेगनास तालभन्दा रुपातालमा रहेको पानीको सतह ६८ मिटर गहिराइमा भएकाले रुपातालमा विद्युत्गृह सञ्चालन गर्न सजिलो भएको छ । दैनिक अधिकतम साँझ ५ बजेदेखि ९ बजेसम्म विद्युत् उत्पादन गर्न सकिने र यस समयमा बेगनासको पानीको सतह एक मिटरले कम हुने छ राति १२ देखि भोलिपल्ट बिहान ४ बजेसम्म रुपातालमा जम्मा भएको पानी पुनः बेगनासतालमा पम्पमार्फत तानिने छ । बेगनास भन्दा रुपाताल सानो भएकाले बेगनासको पानीको सतहभन्दा एक मिटरमाथिको पानी रुपामा अहिले भइरहेको पानीको सतहभन्दा तीन मिटर उचाइमा पुग्ने छ । अन्तक्र्रिया कार्यक्रममा सहभागी अधिकांश सरोकारवाला निकायका व्यक्तिले वातावरणीय तथा सामाजिक प्रभाव नहुने गरी जलविद्युत् आयोजना सञ्चालनमा ल्याउन आग्रह गरेका थिए । स्थानीय सरकोकारवाला समेत रहेका पूर्व स्वास्थ्य तथा गृहमन्त्री खगराज अधिकारीले जलचरमा पर्ने असरलाई कम गर्दै तालबाट हुने सिँचाइ, डुङ्गा व्यवसायी तथा स्थानीयवासीलाई असर नपुग्ने गरी आयोजना सञ्चालन गर्नुपर्नेमा जोड दिए । प्राधिकरणले आफ्नो स्वार्थभन्दा पनि स्थानीयवासीको स्वार्थलाई मध्यनजर गर्दै आयोजना अगाडि बढाउनुपर्ने र प्राधिकरणले ठाउँठाउँमा पानीको फोहरा राखेर बेगनासमा पर्यटकलाई एक रात बिताउने गरी संरचना पनि खडा गरिदिनुपर्नेमा उनले जोड दिए । गण्डकी प्रदेश सरकारका पर्यटन, उद्योग तथा वाणिज्यमन्त्री मणिभद्र शर्मा कँडेलले स्थानीय जनताको सहमति र उनीहरूलाई नै रोजगारीमा सहभागी गराई आयोजना सञ्चालन गर्न आग्रह गरे । गण्डकी प्रदेशका ऊर्जा सचिव डा सन्तोष कैनीले ‘पीक आवर’का समयमा विद्युत् उत्पादन गर्नका लागि भनेर आयोजनाले घाटाको योजना सञ्चालन गर्न नहुने बताए । स्थानीयवासी तथा रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले विद्युत् आयोजनाका नाउँमा बस्ती नै डुब्ने सिञ्चाइ नै बन्द हुने किसिमबाट आयोजना सञ्चालन हुन नुहने बताए । साथै उनले वातावरणीय असर केही पनि नहुने किसिमबाट योजना सञ्चालन गर्नुपर्नेमा जोड दिए । स्थानीय सरोकारबाला तथा बेगनास सिञ्चाइ सरोकार समितिका पूर्व अध्यक्ष पुष्पराज भण्डारीले बेगनास तालको पानीले आठ सय ८० हेक्टर जमिन सिँचाइ भएको र विद्युत् आयोजना सञ्चालन हुँदा स्थानीय उपभोक्ता सिँचाइबाट बञ्चित हुन नहुने बताए । रासस
१३ दिनपछि संचालनमा आयो अवरुद्ध पासाङल्हामु मार्ग
रसुवा । पहिराका कारण गत साउन २५ गतेदेखि अवरुद्ध पासाङल्हामु राजमार्ग पुनः सञ्चालनमा आएको छ । रसुवा जिल्लाको उत्तरगया गाउँपालिका–५ स्थित बनुवा घुम्ती नजिकै करिब ७० मिटर सडक क्षतिहुँदा सो मार्ग अवरुद्ध भएको थियो । सो स्थानमा पुनः ग्याबिन पर्खाल निर्माण गरेर सडक सञ्चालनमा ल्याएको डिभिजन सडक कार्यालय नुवाकोटले जनाएको छ । पासाङल्हामु मार्ग खुल्ला भएसँगै चीनबाट आयात भएका सामग्री रसुवाको टिमुरेदेखि काठमाडौँ लैजान, जिल्लामा सञ्चालित विकास निर्माणका सामग्री भित्र्याउन, खाद्य सामग्री ढुवानी गराउन, काठमाडौँ – रसुवा सिधा बससेवा सञ्चालन गराउन सहज भएको छ । सुरूमा त्रिशूली– सोम्दाङ सडकको नामाकरणबाट निर्माण भएको सो मार्ग अन्तर्गत बनुवा घुम्तीको क्षतिग्रस्त सडक विसं २०४० मा निर्माण गरिएको थियो । तर उक्त स्थानमा नालीको भलपानीलाई सही खालको निकास दिन नसक्दा साउन २४ गते रातिको भीषण वर्षाले विकराल रूप सडक क्षति भएको थियो । यसबाट धानखेतसमेत नोक्सान भएको स्थानीय बासिन्दाले बताएका छन् । सडक क्षति पश्चात् तत्कालीन समयमा सम्पन्न गोसाइँकुण्डको विशेष धार्मिक मेलाका यात्रु समेत प्रभावित बन्न पुगेको थिए । बनुवा घुम्तीको पहिरोस्थलमा ग्याबिन पर्खाल लगाई सतहको पुरै भागमा अनेत्रबाट ल्याइएको ढुङ्गा माटोले पुरेर सडक प्रारूप तयार गराई सञ्चालनमा ल्याइएको हो । सो कार्यालय प्रमुख डिभिजनल इञ्जिनीयर अमृतमणि रिमालले आजदेखि बनुवा धुम्ती क्षेत्रको पासाङल्हामु सडक पूर्णरूपमा सञ्चालनमा आएको जानकारी दिए । उनका अनुसार त्रिशूली, बेत्रावति, धुञ्चे, स्याफ्रु रसुवागढी क्षेत्रमा आजैदेखि सिधा यातायात सञ्जाल जोडिएको छ ।क्षतिग्रस्त सडक ४४ दिनको अह्रोरात्र प्रयासले ग्याबिन पर्खाल लगाइएको जनाइएको छ । निर्माणमा संलग्न ठेकेदार कम्पनी सुन्धरादेवी निर्माण सेवाका प्रबन्ध निर्देशक रवीन्द्र बुढाथोकीले हिलो सडक व्यवस्थापन गर्न केही समय लाग्ने जानकारी दिए । रासस