१० अर्बमा निर्माण भयो सुपरदोर्दी ‘ख’ आयोजना

लमजुङ । पिपुल हाइड्रोपावर कम्पनीद्वारा दोर्दी गाउँपालिका–६ ढोडेनीमा निर्माण गरेको सुपरदोर्दी ‘ख’ आयोजनाको निर्माण सम्पन्न भएको छ । कूल ५४ मेगावाट क्षेमताको यस आयोजनाको सबै काम केही दिनअघि सम्पन्न गरेर यतिबेला डिसेन्टरमा पानी जम्मा गर्ने कार्य भइरहेको आयोजनाका साइट इन्चार्ज रमेश सिग्देलले बताए । निर्माण सम्पन्नपश्चात् आयोजनाको इन्टेक र डिसेन्टरमा पानी राखेर परीक्षण भइरहेको छ । परीक्षण यही माघ २७ गतेसम्म गरिने र २८ गतेदेखि आयोजनाको मुख्य सुरुङमा पानी हालेर परीक्षण गरिनेछ । मुख्य सुरुङको २०/२२ दिन परीक्षण गरेपछि बिजुली उत्पादन परीक्षण थालिनेछ । पावर हाउसको मेसिन जडानको काम र केबलिङको काम लगायतको बाँकी काम सम्पन्न गर्दै सम्पूर्ण निर्माण सम्पन्न गरेको यस आयोजनाको पाँच दशमलव एक किलोमिटर मुख्य सुरुङ छ । सबै गरेर १० दशमलव तीन सय ५० किलोमिटर सुरुङ मार्ग छ । आयोजनाका अनुसार भारतले गरेको नाकाबन्दी, दोर्दी खोलामा आएको बाढी पहिरो, कोरोना सङ्क्रमण, लकडाउनलगायत कारणले निर्माण अवधि लम्बिएको थियो । आयोजना कूल आठ अर्ब ८० करोड रुपैयाँको लगानीमा निर्माण कार्य अघि बढे पनि अवधि लम्बिँदा अनुमानित १० अर्ब ३९ करोड देखि ५० करोड रुपैयाँसम्म पुगेको छ । आयोजनामा सानिमासहित नौ बैंकले ऋण लगानी गरेका छन् । सत्तरी प्रतिशत ऋण लगानी र बाँकी प्रवद्र्धन लगानीमा निर्माण हुँदै आएको छ । आयोजनामा प्रभावित क्षेत्रका जिल्लावासीको मात्र २७ करोड रुपैयाँ लगानी छ । विसं २०७१ मा विद्युत् खरिद सम्झौता पिपिए गरी विसं २०७२ असोजबाट निर्माण थालनी गरेको यस आयोजनाले सम्झौताअनुसार विसं २०७५ मा निर्माण सम्पन्न गरिसक्नुपर्ने थियो । सो निर्धारित समयमा आयोजना सम्पन्न नभएपछि समय थप गर्दै विसं २०७७ असारसम्मको सम्झौता गरिएको थियो । सो अवधिमा समेत निर्माण कार्यमा ढिलाइ भएपछि विसं २०७८ असारसम्म निर्माण सक्ने सम्झौता रहेको थियो । उक्त समय राख्दै पटक पटक म्याद थप्दै गत पुसभित्रै बिजुली उत्पादन गर्ने आयोजनाको लक्ष्य थियो । पानीको बहावमा आधारित यो आयोजनाको कूल ग्रस हेड छ सय ४० मिटर रहनेछ भने वार्षिक करिब ३१ करोड ५० लाख युनिट विद्युत् उत्पादन हुने आयोजनाले जनाएको छ । आयोजनाले सुक्खायाममा आठ रुपैयाँ ४० पैसा र बर्खायाममा चार रुपैयाँ ८० पैसामा विद्युत् खरिद गर्ने पिपिए सम्झौता गरिएको छ । रासस

नाग्म–गमगढी सडक कालोपत्र गरिने

मुगु । नेपालकै आकर्षक पर्यटकीय गन्तव्य राराताल जाने पर्यटकीय मार्ग नाग्म–गमगढी सडक कालोपत्र गरिने भएको छ । चालु आर्थिक वर्षभित्रै साढे छ किलोमिटर लामो उक्त सडकखण्ड कालोपत्र गर्न लागिएको हो । त्रियान्नब्बे ९३ किलोमिटर दूरी रहेको नाग्म–गमगढी सडकको पहिलो चरणमा कनकासुन्दरीको रोकायाबाडादेखि हाँटसिंजासम्म साढे छ किमी सडक कालोपत्र गर्न लागिएको सडक डिभिजन कार्यालय जुम्लाका सूचना अधिकारी चित्र चौलागाईंले बताए । हाँटसिंजा गुठिज्युलादेखि मालिकाबोतासम्म नाला निर्माण, कङ्क्रिट ढलान, पर्खाल निर्माणलगायत काम गर्न लागिएको छ । चौलागाईंले भने, ‘पहिलो चरणमा साढे छ किलोमिटर सडक कालोपत्र हुनेछ । बोलपत्र आह्वान भएर कार्यालयबाट सम्बन्धित निर्माण व्यवसायीलाई कार्यादेशसमेत भइसकेको छ । फागुन पहिलो हप्ताबाट कालोपत्रको काम सुरु हुनेछ ।’ थोदुङ वाचन जेभी कम्पन्नीले कालोपत्रको ठेक्का पाएको छ । निर्माण कम्पन्नीले असार मसान्तभित्र कालोपत्र सक्ने प्रतिबद्धता जनाएको सूचना अधिकारी चौलागाईंले जानकारी दिए । नाली निर्माण, पक्की पर्खाल निर्माण, कङ्क्रिट ढलानका साथै कालोपत्रको काम हुनेछ । नाग्म–गमगढी सडक कालोपत्र गर्न ४० करोड खर्च हुने भएको छ । कालोपत्रसँगै अन्य नाला निर्माण, कङ्क्रिट ढलान, पर्खाल निर्माणलगायतका काम हुनेछन् । समग्र ९३ किमी सडक नै कालोपत्रका लागि बजेट व्यवस्थापनमा जुटेको सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख राजीव श्रेष्ठले बताए । उनले भने, ‘नाग्म–गमगढी सडक ग्राभेल गरिएको छ । गुठिज्युला राराताल प्रवेशद्वार भएकाले पनि कालोपत्रपछि पर्यटकलाई राहत हुने अपेक्षा गरिएको छ ।’ सडककै कारण रारा आउने पर्यटकको सङ्ख्यामा गिरावट आएको छ । कर्णाली राजमार्ग स्तरवृद्धिसँगै नाग्म–गमगढी सडक कालोपत्रको खबरले रारा आउने पर्यटक उत्साहित भएको रारा राष्ट्रिय निकुञ्जका प्रमुख विश्वबाबु श्रेष्ठले बताए । रासस

सर्लाहीको चुरे फेदमा फनपार्क निर्माण तीव्र

सर्लाही । सर्लाहीको चुरे भावर क्षेत्रस्थित हरिवन नगरपालिका–१, कैलाशपुरीमा फनपार्क निर्माण गरिँदैछ । पूर्व–पश्चिम राजमार्गको हरिवन बजारबाट तीन किलोमिटर उत्तरमा उक्त उद्यान निर्माण भइरहेको छ । हरिवन नगरपालिकाका प्रमुख कमल बुढाथोकीका अनुसार उद्यानमा ठूलो कदको बुद्घको मूर्ति स्थापना गर्ने तयारी छ । वनभोजस्थल, सेल्फीसेट, जङ्गल पुल तथा चमेनागृहसमेत निर्माण गरिँदै छ । चार करोड ९७ लाख रुपैयाँको लागतमा उद्यान निर्माण भइरहेको प्रमुख बुढाथोकीले जानकारी दिए । ‘पर्यटन मन्त्रालयले ६५ र हरिवनले ३५ प्रतिशत रकम बेहोर्नेछ’, उनले भने, ‘थप रकम नगरपालिकाले विनियोजन गर्नेछ ।’ उद्यान निर्माणको ठेक्का गोपिनीगङ्गा कन्स्ट्रक्सन, काठमाडौँले लिएको छ । हाल सो कार्यमा ३०  कामदार कार्यरत छन् । उद्यान दुई वर्षभित्र निर्माण सम्पन्न हुने बताइएको छ । रासस