वाग्मती नदीलाई सफा बनाउन धाप बाँधले सहयोग गर्छ : उपप्रम लिङ्देन

काठमाडौं । उपप्रधान, ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री राजेन्द्रप्रसाद लिङ्देनले शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको बीचमा बनेको धाप बाँधबाट छोडेको पानीले सभ्यताको स्रोत वाग्मती नदीलाई सफा बनाउन सहयोग गर्ने विश्वास व्यक्त गरेका छन् । गोकर्णेश्वर नगरपालिका-१ स्थित निकुञ्जभित्र आज धाप बाँधबाट पानी छाड्न आयोजित कार्यक्रममा उनले यो बाँधले वाग्मतीलाई पुरानै स्वरुपमा फर्काउन सहयोग पुग्ने बताए । धाप बाँधभन्दा मुनि नागमती बाँध बनाउन हालैको मन्त्रिपरिषद् बैठकले जग्गा व्यवस्थापनको निर्णय गरेको जानकारी पनि उपप्रधानमन्त्री लिङ्देनले दिए । आजदेखि प्रतिसेकेण्ड चार सय लिटर पानी वाग्मतीमा पठाइएको छ । महाशिवरात्रिको अवसर पारेर वाग्मतीमा स्वच्छ पानी बगाउन धाप बाँधबाट पानी छाडिएको हो । आजै बाँधस्थलमा शिलालेख पनि अनावरण गरिएको छ । नागमती बाँध बनेपछि भने वाग्मती नदीमा सोचेअनुरुपको सुधार हुने विश्वास गरिएको छ । नेपाल विश्वमै जाति, भाषा, धर्म, संस्कृतिमा विविधताबीचको एकता भएको देशका रूपमा परिचित रहेको उल्लेख गर्नुहुँदै उहाँले जैविक विविधता उत्तिकै रहेको जानकारी गराए । ‘धाप बाँधस्थल जैविक विविधताका कारण पनि पर्यटकीय महत्व बोकेको स्थलका रूपमा परिचित छ, तर यो ठाउँमा ओहोरदोहोर गर्ने स्थानीयवासीले पनि निकुञ्जलाई शुल्क तिर्नुपर्ने नियम गलत छ, यस विषयमा आजैको मन्त्रिपरिषद्मा कुरा उठाउँछु, यस्तो विषय अरुले सुन्दा पनि यो लाजमर्दो हुन्छ, यहाँको उकालो र घुम्ती सडकमा कालोपत्र गर्न दिएर वन्यजन्तुलाई क्षति पुग्दैन, कानुनको त्यान्द्रो समातेर जनतालाई दुःख दिने काम बन्द गरिनुपर्छ,’ उपप्रधानमन्त्री लिङ्देनले भने । साढे चार दशकअघि बनेको सडकलाई कालोपत्र हुन नदिँदा यहाँका बोटबिरुवाको सौन्दर्यमा असर गरेको उनले सुनाए । सहरी विकासमन्त्री विक्रम पाण्डेले निकुञ्ज भएकै कारण आफ्नै गाउँमा जाँदा पनि शुल्क तिर्नुपर्ने अवस्था चितवनको माडीमा पनि रहेको उल्लेख गर्दै आफू वनमन्त्री हुँदा त्यो समस्या समाधान गरेकाले शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज क्षेत्रमा पनि यो समस्या समाधान गर्न लागिपर्ने बताए । ‘सडक खुलेको ४६ वर्षसम्म पनि कालोपत्र नहुनु अन्याय हो, यस विषयमा सरोकार भएका निकायबीच बैठक गरी समस्या समाधान गर्न प्रयास गर्छौँ, निकुञ्जबीचको सडक कालोपत्र नहुँदा जङ्गली जनावर र पक्षीले धुलो खान बाध्य हुनु कति न्यायोचित छ,’ उनले भने। धाप बाँधको वरिपरि वायो इञ्जीनियरिङ नगरे समयअघि नै यसको दुर्गति हुने भएकाले पनि यसतर्फ बेलैमा ध्यान दिनुपर्ने मन्त्री पाण्डेको भनाइ थियो । नागमती बाँधलाई एसियाली विकास बैंकले पनि विश्वकै आठौँ नम्वरको परामर्शदाता खटाएर सहयोग गरेको उनले बताए । ‘डिजाइनिङ’ र ‘सुपरभिजन’ गलत गर्ने इञ्जीनियरलाई कानुनअनुसार कारबाही गर्ने चेतावनी मन्त्री पाण्डेले दिए । यो बाँधले निकुञ्ज क्षेत्रमा अरु बाँधका लागि वातावरण बनाउने विश्वाससमेत उनले व्यक्त गरे । काठमाडौं क्षेत्र नं ३ का सांसद सन्तोष चालिसेले सुक्खा रहने हिउँदमा वाग्मतीलाई सफा राख्न धाप बाँधले सहयोग गर्ने बताए । करिब आधा दर्जन स्थानमा वाग्मती ढल हालिएको बताउँदै उनले त्यसलाई व्यवस्थापन गर्न अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिको ध्यानाकर्षण गराए । ‘जैविक विविधतालाई जोगाउँदै निकुञ्ज क्षेत्रमा पूर्वाधार विकास गरिनुपर्छ, यहाँका जनताले शुल्क तिर्नुपर्ने अवस्था अन्त्य गरिनुपर्छ, धाप बाँधमा स्टिमर चलाउन गोकर्णेश्वर नगरपालिकालाई दिनुपर्छ, यसबाट वार्षिक रु २५ करोड आम्दानी हुन्छ,’ सांसद चालिसेले भने । गोकर्णेश्वर नगरपालिकाका प्रमुख दीपककुमार रिसालले जलविद्युत्सहित नागमती बाँध बनाउन पनि स्थानीय सरकारका तर्फबाट सहयोग गरिने प्रतिबद्धता व्यक्त गरे । नगरपालिकाको वडा नं १ देखि ४ सम्म ढल व्यवस्थापन गर्न लागिएको जानकारी पनि उनले दिए । एसियाली विकास बैंकका देशीय निर्देशक आर्नो कुसुवाले सभ्यताको स्रोत वाग्मतीलाई शुद्ध बनाउन सहयोग निरन्तर जारी राखिने बताए । कार्यक्रममा जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक सुशीलचन्द्र आचार्य, सिँचाइ एकाइ प्रमुख कृष्णप्रसाद रिजाल, अधिकारसम्पन्न वाग्मती समितिका अध्यक्ष उद्धवप्रसाद तिमल्सिनालगायतले वाग्मती नदीमा स्वच्छ पानी बगाउन भइरहेका गतिविधिका बारेमा प्रकाश पारेका थिए । रासस

हुलाकी सडकमा पर्ने तीन पुलको निर्माण सकियो, ५ अन्तिम चरणमा

झापा । पूर्व–पश्चिम राजमार्गको विकल्पका रुपमा निर्माण गरिएको हुलाकी राजमार्गमा पर्ने आठ पुलमध्ये हालसम्म तीनको मात्र निर्माण काम सम्पन्न भएको छ । बाँकी निर्माणको काम अन्तिम चरणमा पुगेको छ । राष्ट्रिय गौरवको योजनाका रुपमा रहेको राजमार्गको झापा खण्ड ४८ किलोमिटर छ भने यहाँ ठूलासाना नदीमा पुल निर्माणाधीन छन् । तीमध्ये कमल, किस्ने र मेचीपुलको निर्माणको काम सम्पन्न भइसकेको हुलाकी राजमार्ग योजना कार्यालय इटहरीका इञ्जिनीयर प्रमोद खतिवडाले जानकारी दिए । उनले झापा खण्डमा पर्ने हुलाकी सडकको निर्माण सम्पन्न भए पनि पुलको निर्माण समयमै हुन नसक्दा सडक सञ्चालनमा आउन नसकेको बताए । उनले बन्दै गरेका अधिकांश पुलको ६० देखि ९६ प्रतिशत भौतिक प्रगति भइसकेको बताए । उनका अनुसार विसं २०६८ देखि २०७६ सम्ममा ठेक्का लागेका सबै पुलको निर्माणको काम आगामी २०८० साल असार मसान्तभित्र सम्पन्न गर्ने गरी काम भइरहेको छ । हुलाकी सडकमा पर्ने विरिङ पुल विसं २०६८ मा लामा मैनाचुली जेभीले ठेक्का लिएर काम सुरु गरेको थियो । ठेकेदारको लापरवाही, कोराना महामारी र मुलुकमा राजनीतिक अस्थिरताका कारण सो पुल निर्माणमा ढिलाइ भएको थियो । पटकपटक म्याद थप गरी हाल सो पुलको भौतिक प्रगति ८० प्रतिशत भइसकेको उनको भनाइ छ । उनले तीव्ररुपमा निर्माण भइरहेको विरिङ पुलको तीन महिनाभित्रमा निर्माण सकिने बताए । हुलाकी सडकमा पर्ने भुतेनी खोलाको भौतिक प्रगति ८८ प्रतिशत लेहराको ६८ प्रतिशत, सानोमाईको ९० प्रतिशत भइसकेको उनले जानकारी दिए । यसैगरी लामो समय अलपत्र परेको झापा–मोरङ जोड्ने रतुवा खोलाको पुल निर्माणसमेत सुरु भइसकेको छ । भद्रपुरको मेची पुलदेखि मोरङको सिमानामा रहेको रतुवा खोलासम्मको करिब ४८ किलोमिटर कालोपत्रसहितको सडक निर्माण सकिएको इञ्जिनीयर खतिवडालेले बताए । सडक दुई लेनको बनेको छ । उनले बस्ती नभएको स्थानमा सात मिटर चौडाइ भएको र बाक्लो बस्ती भएको बजार क्षेत्रमा दुवै सडकको किनारमा नालीसहित १२ मिटरको सडक निर्माण भएको बताए । मेचीपुलदेखि राजगढको जनता बजारसम्मको २० किमी सडकको ठेक्का आशिष याक्थुमहाङ जेभी र जनता बजारदेखि रतुवा खोलासम्मको करिब २८ किलोमिटर पिएस गजुरमुखी मोतिदान जेभीले लिएका थिए । पूर्वमेचीदेखि पश्चिम महाकालीको दोधारा–चाँदनी पुलसम्म एक हजार छ सय मिटरको हुलाकी बाटो निर्माणपछि तराई–मधेसका सर्वसाधारणको जीवनस्तर उकास्न मद्दत बताइन्छ । त्यसैगरी हुलाकी सडकअन्तर्गतकै चारआली केचनासम्मको सडकको निर्माणको काम अन्तिम चरणमा पुगेको छ । करिब ४० किमी सडकमध्ये ३९ किमी सडकको निर्माण सकिएको छ । रासस

बागलुङको निसीखोलामा थपिँदै ८ झोलुङ्गे पुल

बागलुङ । बागलुङको निसीखोला गाउँपालिकामा चालू आर्थिक वर्ष २०७९/८० मा आठ झोलुङ्गे पुल बन्दै छन् । अघिल्लो वर्ष मात्रै यहाँका विभिन्न खोलामा सात झोलुङ्गे पुल निर्माण गरिएका थिए । सङ्घीय सरकारको ८७ तथा निसीखोलाको १३ प्रतिशत लगानीमा आठ पुल निर्माण गर्न लागिएको गाउँपालिकाका इन्जिनियर समुन्द्र शाहीले जानकारी दिए । उनी भन्छन्, ‘आगामी असार मसान्तसम्म सबै पुल निर्माण सम्पन्न हुनेछन् ।’ वडा नं १ को सेलाखेतघाट र आठबारेघाट, वडा नं ७ को खनिबास–राजकुट कुँडुला जोड्ने, वडा नं ४ र ५ जोड्ने कारीखोला, वडा नं ५ को यारीखोला, वडा नं ६ मगरघाटखोला, वडा नं ३ को गतारेघाट तथा वडा नं २ र ३ जोड्ने गरी खग्रेनीघाटमा पुल निर्माण गरिँदै छ । स्थानीय प्रेमबहादुर कुँवरले पुल नहुँदा स्थानीयले समस्या भोग्नुपरेको बताए । पुल बनेपछि जोखिम मोलेर खोला वारपार गर्नुपर्ने बाध्यता अन्त्य हुने छ । ‘स्कूल पारी छ, खोला नतरेसम्म त्यहाँ पुग्न सकिन्न, केटाकेटीलाई स्कूल पठाउनै डर छ’, उनले भने । अघिल्लो वर्ष निसीखोलाको–६ को सेबाङघाट, सरिटारघाट, चुसाङघाट र वडा नं ७ को कुतखोलाघाट, वडा नं ३ र ४ जोड्ने ढुवाँखोरघाट पुल, वडा नं १ को माराघाट तथा वडा नं २ धौलेघाटमा पुल निर्माण गरिएको थियो । दुई करोड पाँच लाख रुपैयाँको लागतमा ती पुल निर्माण गरिएका गाउँपालिकाका सूचना अधिकारी पुरुषोत्तम गौतमले बताए । यस वर्ष तीन करोड ६४ लाख रुपैयाँको लागतमा आठ पुल निर्माण भइरहेका छन् । रासस