तनहुँ जलविद्युत आयोजना समयमा सम्पन्न गर्न निर्देशन
तनहुँ । एसियाली विकास बैंक (एडिबी) र नेपाल विद्युत प्राधिकरणको उच्चस्तरीय टोलीले तनहुँमा निर्माणाधीन १४० मेगावाट जडित क्षमताको तनहुँ जलविद्युत आयोजनाको स्थलगत अनुगमन भ्रमण गरेको छ । एडिबीको नेपाल आवासीय नियोगका निर्देशक आर्नो कुश्वा, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलगायतको उच्चस्तरीय टोलीले सोमबार र मंगलबार आयोजनाका बाँध, भूमिगत विद्युतगृह, मुख्य सुरुङलगायतका संरचनहरुको निर्माण कार्यको अनुगमन गरेको हो । टोलीले आयोजनाको प्याकेज–१ (बाँध तथा हेडवक्रस), दोस्रो प्याकेज–२ (विद्युतगृह, मुख्य सुरुङ तथा सम्बन्धित उपकरणहरु) र तेस्रो प्याकेज (दमौली–भरतपुर २२० केभी प्रसारण लाइन) निर्माणमा संलग्न आयोजना व्यवस्थापन, निर्माण व्यवसायी, परामर्शदाताहरुसँग छलफल गरी निर्माण प्रगति, निर्माणमा देखिएका समस्यालगायतका विषयमा विस्तृत रुपमा छलफल गरेको थियो । निर्माणमा देखिएका समस्या समाधान गर्न आफ्नोतर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउँदै टोलीले आयोजनालाई तोकिएकै समयमा सम्पन्न गर्न निर्देशन दिएको छ । आयोजनाको समग्र निर्माण २०८३ जेठभित्र सक्ने लक्ष्य राखिएको छ । आयोजनाको सहुलितपूर्ण ऋण प्रवाह गरेको एडिबीको नेपाल आवासीय नियोग निर्देशक कुश्वाले आयोजनालाई तोकिएकै समयमा सम्पन्न गर्नु पर्ने बताए । ‘मुख्य रुपमा प्याकेज–१ को निर्माण महत्वपूर्ण तथा चुनौतीपूर्ण देखिएकोले निर्माण विधिमा ध्यान दिई उपकरण तथा जनशक्ति थप गर्नु पर्ने आवश्यकता देखिन्छ’, उनले भने । प्राधिकरणका कार्यकारी निर्देशक एवम् आयोजनाको प्रवद्र्धक तनहुँ हाइड्रोपावर लि।का अध्यक्ष घिसिङले आयोजनाको निर्माण सम्पन्न गर्न हाल तय गरिएको तालिका नै अन्तिम भएकोले सोही लक्ष्यलाई पूरा गर्ने गरी काम गर्न निर्देशन दिए । ‘बाँध निर्माणका लागि नदी फर्काउने तथा स्लोप कटान चुनौतीपूर्ण देखिन्छ, यसका लागि दक्ष जनशक्ति र उपकणहरु थप गरी कामलाई तिब्रताकासाथ अगाडि बढाउनु पर्छ, आयोजनकातर्फबाट गर्नु पर्ने सहयोग र सहजीकरणमा हामी सँधै तयार छौं ।’ तनहुँ हाइड्रोपावरका प्रबन्ध–सञ्चालक किरण कुमार श्रेष्ठले निर्माण कार्यमा भइरहेको प्रगतिबारे जानकारी गराएका थिए । आयोजनाको प्याकेज–१ अन्तर्गत १४० मिटर अग्लो बाँध निर्माण कार्य सोङ्ग दा कर्पोरेसन, भियतनाम–कालिका कन्सट्रक्सन नेपाल जेभीले गरिरहेको छ । जसअन्तर्गत अहिले मुख्य बाँध निर्माणका लागि नदी फर्काउनका लागि आवश्यक दुई वटा डाइभर्सन सुरुङ, बाँधको दायाँ तथा बायाँतर्फबाट स्लोप कटानलगायतका निर्माण कार्यहरु भइरहेका छन् । ५३८.५ मिटर लम्बाइको डाइभर्सन सुरुङ–१ र ६२२.५ मिटर लम्बाइ भएको डाइभर्सन सुरुङ–२को वारपार गरी (क थ्रू) कंक्रिट लाइनिङको काम भइरहेको छ । प्योकेज–२ अन्तर्गत सिनो हाइड्रो कर्पोरेसन, चीनले भूमिगत विद्युतगृह, मुख्य सुरुङ, र हाइड्रोमेकालिन तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालन लगायतका कार्यहरु गरिरहेको छ । विद्युतगृह खन्ने कार्य सम्पन्न गरी कंक्रिटिङ कार्य गरिरहेको छ । टेलरेस सुरुङ निर्माण अन्तिम चरणमा छ । पेनस्टक पाइप जडान तथा सर्ज ट्याङ्क निर्माण कार्य जारी रहेको छ । १४५६ मिटर मुख्य सुरुङमध्ये ७९० मिटर खन्ने कार्य सम्पन्न भएको छ । प्याकेज–३ अन्तर्गत केइसी इन्टरनेसनल, भारतले दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभीको ३६ किलोमिटर डबल सर्किट प्रसारण लाइन निर्माण कार्य गरिरहेको छ । प्रसारण लाइनका ९४ वटा टावरमध्ये ५१ वटा टावरको जग हालिएको छ । साथै, ३२ वटा टावर जडान कार्य, ०।९८८३ कि।मि। तार तान्ने र ८ वटा टावरको जग संरक्षण कार्य सम्पन्न भएको छ । एक स्थानमा टावर जडान, दुई स्थानमा संरक्षण कार्य र ६ स्थानमा जग हाल्ने कार्य भइरहेका छन् । आयोजनाको कुल लागत ९प्रसारण लाइन, ग्रामिण विद्युतीकरण तथा निर्माण अवधिको व्याज समेत० ५० करोड ५० लाख अमेरिकी डलरको लागि एडीबीले १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाईका)ले १८ करोड ४० लाख, युरोपियन लगानी बैंकले ८ करोड ५० लाख र नेपाल सरकार/नेपाल विद्युत प्राधिकरणले ८ करोड ६० लाख डलर व्यहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ ।
डिपिआरमै अल्झियो उत्तरगङ्गा जलाशययुक्त आयोजना
गलकोट । नेपालकै सस्तो र नमुना जलविद्युत् आयोजनाका रुपमा चर्चा कमाएको उत्तरगङ्गा जलाशययुक्त जलविद्युत् आयोजनाको विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर)मै अल्झिएको छ । उत्तरगङ्गा जलशययुक्त जलविद्युत् आयोजना निकै चर्चा पाएको आयोजना भए पनि अध्यानमै सीमित भएको छ । आयोजनाको निर्माणको चर्चा विसं २०६१ देखि भए पनि बल्ल आएर डिपिआर थालिएको थियो । डिपिआर बनाउने विदेशी कम्पनीले काम नगरेपछि अहिले ठेक्का सम्झौता तोडिँदा आयोजना निर्माणमा थप अन्योल भएको हो । सम्भाव्यता अध्ययन सम्पन्नपश्चात् डिपिआरको काममा उत्तरगङ्गा पावर कम्पनीले इरानी कन्सल्टेन्सी शहीद, बहीद डास्ग्रेडी तेहरानलाई सम्झौता गरेर पनि उक्त कम्पनी फिल्ड नआएका कारण ठेक्का सम्झौता तोडिएको उत्तरगङ्गा जलविद्युत् आयोजनाका प्रमुख अम्बिकेश झाले जानकारी दिए । ‘गत असोजदेखि डिपिआरको काम थालेको कन्सल्टेन्सीले स्थलगत रुपमा काम खटिन रुस र युक्रेन युद्धका कारण असमर्थ जनाएकाले ठेक्का सम्झौता तोडिएको हो, अब नयाँ ठेक्का लगाउने विषयमा ऊर्जा मन्त्रालयसँग छलफल भइरहेको छ’, झाले भने, ‘आयोजना निकै ठूलो र नमुना भएका कारण निर्माणमा ढिलाइ भए पनि उत्तरगङ्गा जस्तो आयोजना निर्माण नगरेर सरकारलाई सुखै छैन, हाम्रो जस्तो देशमा यस्ता बहुआयामिक आयोजना कम मात्रै छन्, ढिलो होला तर अवश्यक आयोजना बन्नेछ ।’ आयोजनाको वातावराणीय प्रभाव मूल्याङ्कनसमेत एक वर्षदेखि वन मन्त्रालयमा थन्किएको छ भने डिपिआरका लागि सम्झौता गरेको विदेशी कम्पनीले काम नगर्दा ठेक्का सम्झौता भङ्ग गरिएको झाले जानकारी दिए । ‘डिपिआरका लागि परामर्शदाता छनोट गरेर काममा खटाएका थियौँ, रुस र युक्रेनको युद्धका कारण विदेशी कम्पनी आएन, एक वर्षदेखि काम नभएपछि ठेक्का रद्द गरेका छौँ’, आयोजना प्रमुख झाले भने, ‘अब नयाँ परामर्शदाताका लागि ठेक्का खुलाउने विषयमा निर्णय हुन बाँकी छ, नेपालकै नयाँ र नमुना आयोजनामा ढिलाइ भएको स्वीकार गर्छु, राजनीतिकरुपमा यो आयोजना सफल पार्न दबाब हुनुपर्दछ ।’ ढोरपाटन उपत्यकामा जम्मा गरेको पानी निसीखोलामा खसाल्ने या रुकुमपश्चिमममा खसाल्ने राजनीतिक विवादका कारण आयोजना अध्ययनमै सीमित भइरहेको छ । तर आयोजनाका प्राविधिकले निसीखोलामै पानी खसाल्दा मात्रै आयोजना सम्पन्न हुने बताउँदै आएका छन् । झाका अनुसार आयोजनाले उत्तरगङ्गा पावर कम्पनीमार्फत निरन्तररुपमा आयोजनाको काम गरिरहेको र ठूलो आयोजना भएकाले समय बढी खर्च भइरहेको बताए । उनले बाहिर आयोजना निर्माणमा भएको ढिलाइ नभएर निरन्तररुपमा आयोजनाको प्रक्रियागत काम भने भइरहेको छ । बागलुङको ढोरपाटनबाट बग्ने उत्तरगङ्गा नदी उपत्यकामा बाँध बानेर हिउँद बर्खामा समान विद्युत् उत्पादन गर्ने लक्ष्य रहेको छ । हिउँद र बर्खामासमेत आठ सय २८ मेगावाट क्षमताको विद्युत् उत्पादन हुने प्रारम्भिक सर्वेक्षण रिपोर्टले बताएको छ । बागलुङमा बगिरहेको उत्तरगङ्गा नदी रुकुमको सानीभेरीमा मिसिँदै आएको छ । तर विद्युत् उत्पादन गर्न उक्त नदीको पानीलाई निसीखोलामा झार्ने आयोजनाको लक्ष्य रहेको छ । आयोजनाको पानी रुकम र बागलुङको निसीखोला कता खसाल्ने भन्नेमा नेताको द्विविधाका कारण आयोजनाले गति नलिएको स्थानीय रामबहादुर घर्तीमगरको भनाइ छ । नेपालकै महत्वपूर्ण आयोजनाका रुपमा सरकारले लिँदै आएको उत्तरगङ्गाप्रति जनताको धारणा दुईथरी रहेको छ । बाँध बन्दा ढोरपाटन उपत्यका पुरिने भन्दै आयोजना बनाउन समस्या हुने केही स्थानीयको भनाइ छ भने केहीले हाम्रो व्यवस्थापन भएमा आयोजनाले यहाँको आर्थिक विकासमा सहयोग पु¥याउने भन्दै सकारात्मक धारणा राख्दै आएको घर्तीमगरको भनाइ छ । विसं २०६१ देखि आयोजनाको प्रारम्भिक सर्वेक्षण सुरु गरे पनि वातावरणीय प्रभाव मूल्याङ्कनको काम भने तीर्न वर्षअघि मात्रै सम्पन्न भएको थियो । ढोरपाटनको उत्तरगङ्गा नदीमा दुई सय मिटर अग्लो बाँध बाँधेर जम्मा गरेको पानीलाई ढोरपाटनको नवीदेखि सुरुङ माग हुँदै एक हजार छ सय ३४ मिटर तल खसालेर निसीखोलामा झार्ने सम्भाव्यता अध्ययनमा उल्लेख गरिएको छ ।
सेवा विस्तार गर्दै रामपुर अस्पताल, साढे १८ करोडको लागतमा ५० श्ययाको भवन बन्ने
रामपुर । सामान्य उपचारका लागि पाल्पाको तानसेन, स्याङ्जाको वालिङ, बुटवल जाने स्थानीय सडक सुविधा जोडिएपछि पछिल्लो समय रामपुर अस्पतालमै जानेक्रम बाक्लिँदो छ । अस्पतालले बिरामीको स्वास्थ्योपचारलाई मध्यनजर गर्दै सेवा क्षेत्र थप गरिरहेको छ । यस क्षेत्रका नागरिकलाई आफ्नै गाउँमै सहज सेवा दिलाउन कम साधन स्रोत, जनशक्ति अभावका बीच सेवालाई फराकिलो बनाउँदै गएको छ । सदरमुकाम तानसेनदेखि करिब ६५ किलोमिटर पूर्वमा रहेको यस अस्पतालमा हाल प्रसुति, एपेन्डिसाइटिस, हर्निया, हाइड्रोसिललगायतको शल्यक्रियामार्फत उपचार हुन थालेपछि स्थानीयवासीलाई ठूलो राहत पुगेको निस्दी गाउँपालिका-१ का देउबहादुर ढेंगा बताउँछन् । ‘रामपुर अस्पतालमा शल्यक्रियामार्फत सेवा दिन थालेपछि हामीजस्ता विपन्न नागरिकलाई धेरै राहत मिलेको छ, अन्यत्र अस्पतालमा लैजाँदा बाटोमा नै बिरामीको ज्यान जाने हो कि भन्ने समस्या, अर्कोतर्फ आर्थिक समस्याले निकै पिरोल्ने गरेको थियो,’ उनले भने । अस्पतालमा गत चैत ३० गते राति ३० वर्षीया महिलाको एक्टोपिक गर्भावस्थाको जटिल प्रकृतिको शल्यक्रिया गरियो । आठ हप्ताको गर्भवतीको पाठेघरभन्दा बाहिर अण्डबाहिनी नलीमा बसेको भ्रुरण फुटेर पेटमा रगत फैलिएको थियो । सो समस्याको यस अस्पतालमा शल्यक्रिया गर्न सहज थिएन । तैपनि तत्काल अन्यत्र पठाउन नजिक सुविधासम्पन्न अस्पताल नहुनु, अर्कोतर्फ बिरामीको परिवारको आर्थिक अवस्था नाजुक भएकाले यहाँका स्वास्थ्यकर्मीले जोखिम मोलेर सफल शल्यक्रिया गरी बिरामीको ज्यान मृत्यु हुनबाट बचाएका छन् । अस्पतालमा भिडियो एक्स-रेमार्फत हेर्दा उहाँको पाठेघर बाहिर रहेको अण्डबाहिनी नलीमा भ्रुण बसेको हुँदा सो भु्रण असुरिक्षत गर्भनिरोधक औषधि सेवनको असरले फुटेर पेटमा रगत फैलिएको अवस्थामा अस्पतालमा ल्याइएको चिकित्सक सुनिलकुमार दासले बताए । स्थानीय मेडिकल सञ्चालकले अन्धाधुन्ध गर्भनिरोधक औषधि वितरणको असरले यस्तो समस्या बल्झिएको हो । बिरामी महिलाले रामपुर बेझाडको एक स्थानीय मेडिकल पसलबाट गर्भनिरोधक औषधि सेवन गरेको परिवारले बताएको छ । उनले आठ हप्ताको गर्भ निरोधक औषधि मेडिकलमा कार्यरत स्वास्थ्यकर्मीको सल्लाहमा सेवन गरिन् । ती महिलाले गत चैत २८ गतेदेखि औषधि सेवन गरेपछि उनमा समस्या देखिन थाल्यो । चैत २९ गते साँझ दोस्रोपटक औषधि सेवन गरेपछि झन् उनमा समस्या थपियो । औषधिको असरले कष्टसँग दुखाइ सहेर बसे । चैत ३० गते झन् समस्या बढ्न थालेपछि उनलाई अस्पताल लगियो । भिडियो एक्स-रेमार्फत हेर्दा भ्रुण फुटेर पेटभित्र रगत फैलिएको थियो । तुरुन्तै स्वास्थ्यकर्मीले करिब दुई घन्टा लगाएर शल्यक्रिया गर्न सफल भए । उनको पेटमा रगत मिसिएको साढे तीन लिटर झोल पदार्थ र डेढ किलो रगतको चोक्टा भेटिएको थियो । रगतको मात्रा बिरामीको शरीरमा घट्दै गएपछि अस्पतालकै स्वाथ्यकर्मीबाट रगत व्यवस्थापन गरेर बिरामीलाई स्वास्थ्योपचार सेवा दिएपछि अहिले अवस्था निको हुँदै गएको छ । पर्याप्त साधन स्रोत र जनशक्ति अभावका बीच पनि स्वास्थ्योपचार सेवालाई प्राथमिकता दिएर जटिल प्रकृतिका शल्यक्रिया सेवा दिन थालेको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा विजय परियार बताउँछन् । चालु आर्थिक वर्षको हालसम्म एक सय नौ जनाले सुरक्षित गर्भपतन सेवा लिएको पाइएको छ । उनका अनुसार गर्भपतन सेवा अनुमति नभएका स्थानीय स्वास्थ्य संस्थामा गर्भनिरोधक औषधि सेवन गरेका चारदेखि छ जनासम्म यस अस्पतालमा हरेक महिना थप उपचारका लागि आउने गर्दछन् । रामपुर नगरपालिकाभित्र रामपुर अस्पताल, गाँडाकोट र गेझा स्वास्थ्यचौकीमा मात्र सुरक्षित गर्भपतन सेवा उपलब्ध छ । स्थानीय मेडिकल पसलमा गर्भपतनको औषधि सेवन गर्ने तर पछि स्वास्थ्यमा समस्या आएपछि मात्रै अस्पतालमा जाने प्रचलन छ । स्थानीयस्तरमा फार्मेसी खुल्ने क्रम बढिरहेको छ । मनपरी तरिकाले औषधि प्रयोग गर्ने र गराउने कार्यले मानव स्वास्थ्य जोखिममा परेको छ । अन्तिम अवस्थामा जीवन नै धरापमा पर्न थालेपछि मात्रै अस्पतालमा बिरामी पुग्दछन् । मान्यता प्राप्त स्वास्थ्य संस्थाबाटै मात्रै सुरक्षित गर्भपतन गराउनुपर्ने भनिए तापनि स्थानीय मेडिकलले खुलेआम विभिन्न सञ्चारमाध्यममा सुरक्षित गर्भपतन सेवाका सूचना प्रवाह गर्ने, कानुनविपरीत मानव स्वास्थ्य नै जोखिममा पर्नेगरी स्वास्थ्योपचार गर्दा जोखिममा घटना निम्तने गरेका छन् । यसमा स्थानीय सरकारले गम्भीररुपमा चासो नदिँदा पनि मेडिकलले मनपरी ढङ्गले आफ्ना ग्राहकलाई प्रलोभनमा पारी सेवा दिइरहेको स्थानीयको भनाइ छ । पाल्पाको पूर्वी भेगमा रहेको यस अस्पतालको सेवा क्षेत्र ठूलो रहेकाले यहाँका नागरिकलाई अस्पतालमा कतिपय साधन स्रोत कम र जनशक्ति अभावका बाबजुद पनि प्रभावकारी सेवा प्रवाह भइरहेको अस्पताल विकास समितिक अध्यक्ष रामप्रसाद ढकालले बताए । यहाँ दैनिकजसो तीन सय बढी बिरामी उपचारमा आउने गर्दछन् । अस्पतालको पचास श्ययाको भवन निर्माण सम्पन्न भई हस्तान्तरण गरिएपछि नयाँ भवनबाट विशेषज्ञसहितको सेवा दिने अस्पतालले जनाएको छ । वि.सं. २०५२ मा प्राथमिक स्वास्थ्य केन्द्रका रुपमा स्थापना भई रामपुरमा स्वास्थ्य उपचार सेवा सञ्चालनमा ल्याइएको हो । सेवाको क्षेत्रलाई विस्तार गरी २०६७ मा १५ श्ययामा स्तरोन्नति भई सेवा दिँदै आएको यस अस्पताल २०७२ मा ५० श्ययामा स्तरोन्नति भई हाल अस्पतालका रुपमा सञ्चालन हुँदै आएको छ । करिब साढे १८ करोड रुपैयाँको लागतमा नयाँ भवन निर्माण थालनी भएको छ । नयाँ भवन हस्तान्तरणपश्चात विशेषज्ञ सेवाका लागि अहिले विभिन्न उपकरण जडान गरी सेवा विस्तार गर्ने अस्पतालले जनाएको छ । रासस