माइक्रो रेल बनाउने योजनामा प्राधिकरण, १० रुपैयाँमै यात्रा गर्न सकिने
काठमाडौं । काठमाडौं उपत्यका विकास प्राधिकरणले करिडोर क्षेत्रमा माइक्रो रेल (पोड वे) बनाउने योजना बनाएको छ । सरकार र निजी क्षेत्रसँग सहकार्य गरी प्राधिकरणले ‘पोड वे’ बनाउने योजना बनाएको हो । उपत्यकाको अस्तव्यस्त सवारीलाई व्यवस्थित गर्न र सार्वजनिक यातायातलाई सहज तथा छरितो बनाउने उद्देश्यले प्राधिकरणले पोड वे बनाउने योजना बनाएको काठमाडौं उपत्यका विकास प्राधिकरणकी विकास आयुक्त जानुका ढकालले बताइन् । काठमाडौं पोड वे कम्पनीले माइक्रो रेल सञ्चालन सम्बन्धी योजना सुनाएपछि प्राधिकरणले यस विषयमा चासो देखाएको उनको भनाइ छ । सम्पूर्ण प्रक्रिया पुरा गरी माइक्रो रेल बनाउने भएको खण्डमा काठमाडौं पोड वे कम्पनीले नै सम्पूर्ण खर्च व्यहोर्न सक्ने योजना प्राधिकरणलाई सुनाएको छ । गत असोज ११ गते सहरी विकास मन्त्रालयले काठमाडौं उपत्यका भित्र ट्राफिक व्यवस्थापन गर्न विभिन्न स्थानमा माइक्रो रेल अर्थात् स्ट्रिङ (तार) प्रविधिमा आधारित कम्प्युटर नियन्त्रित यातायात निर्माणको अध्ययनका लागि अर्थ मन्त्रालयसँग बजेटको माग गरेको थियो । अर्थ मन्त्रालयसँग सहरी विकास मन्त्रालयले माइक्रो रेल निर्माणको अध्ययनका लागि ३१ करोड रुपैयाँ बजेट माग गरेको थियो । करिडोर क्षेत्रमा सो रेलको निर्माण गरी सञ्चालन गर्ने सोच बनाइ अहिले छलफल भइरहेको ढकालले जानकारी दिइन् । ‘पोड वे कम्पनीले माइक्रो रेल सञ्चालनको योजना सुनाएपछि सहरी क्षेत्रमा सहज आवागमन हुने महसुस गरेर माइक्रो रेल सञ्चालन गर्ने सोच बनाएका हौं, करिडोर क्षेत्रमा यो रेल उपयुक्त हुन्छ हुँदैन, त्यस विषयमा पनि अध्ययन गरिरहेका छौं, अहिले नै कुन ठाउँदेखि कहाँसम्म सञ्चालन गर्ने भन्ने विषयको टुङ्गो भइसकेको छैन,’ उनले योजना सुनाइन् । निजी लगानीमा बन्ने सो रेललाई ३० वर्षसम्म निर्माण गर्ने कम्पनीले नै सञ्चालन गर्नेछ । ३० वर्षपछि भने सो कम्पनीले सरकारलाई हस्तान्तरण गर्नेछ । पहिलो चरणमा बागमती करिडोर क्षेत्रमा पोड वे निर्माण गर्न सकिने उनको भनाइ छ । ‘अध्ययन गरी आगामी आर्थिक वर्षमा बजेट विनियोजन गरेर डीपीआर बनाउने तयारी छ, निर्माण सुरु भएको २ वर्षभित्र काम सकिन्छ, हामीले प्रारम्भिक रुपमा काम गरिरहेका छौं,’ उनले भनिन् । बढ्दो ट्राफिक समस्या र सहरीकरणलाई मध्यनजर गर्दै यो परियोजना अगाडि बढाउन लागिएको हो । केही वर्ष अगाडि गोकर्णेश्वर नगरपालिकाले पनि पोड वे बनाउने योजना बनाएको थियो । उक्त पोड वे निर्माणको लागि लगभग २ करोड बजेट छुट्याएको थियो । तर, पछि पोड वे निर्माणको काम अगाडि बढाउन नगरपालिकालाई सकस पर्यो । दुई पालिकाबीच समन्वय हुन नसक्दा काम अगाडि बढ्न सकेको थिएन । काठमाडौं पोड वे कम्पनीका उपाध्यक्ष निल भट्टराई मेट्रोको क्षमता बराबरमा पोड वेले ‘मास ट्रान्सपोर्टेशन’ दिन सक्ने बताउँछन् । उनका अनुसार काठमाडौंमा ४२ सिटे क्षमताको पोड वे सञ्चालन गर्ने योजना छ । ‘हामीसँग लगानी गर्न पुँजीको अभाव छैन, हामीले विदेशी लगानीबाट पोड वे सञ्चालन गर्न खाजेका हौं, यसमा हामीले लगानी सुनिश्चित सहितको ग्यारेन्टी दिएर आएका छौं,’ उनले भने । युरोपियन स्तरको पोडवे निर्माण गर्न प्रतिकिलोमिटर ४० कराेड रुपैयाँ लागत लाग्ने उनको भनाइ छ । प्राधिकरणसँगको साझेदारीमा निर्माण हुने पोडवे २५ किलोमिटर बनाउन सकिने प्रारम्भिक छलफल भइरहेको छ । तर, प्रस्ताव १०० किलोमिटरको छ । उनका अनुसार पोडवेको लागत केबलकारको भन्दा पनि कम लाग्छ । नेपाली निर्माण सामाग्रीको पनि धेरै प्रयोग हुने भएकाले अन्य पूर्वाधारको तुलनामा कम लागत लाग्ने उनको भनाइ छ । प्रतिकिलोमिटर भाडा १० रुपैयाँ पोड वे नेपालमा निर्माण भएको छैन । पोड वे निर्माणका लागि सरकारले ऐन पनि निर्माण गर्नु पर्ने हुन्छ । यो कम्पनीले अहिले सरकारी निकायसँग सहकार्य गरी निर्माण गर्ने तयारीमा छ । पोड वे एक किसिमको तारमा गुड्ने रेल हो । हेर्दा केबलकार जस्तै देखिन्छ पोड वे । तर, केबलकारको केबल घुम्छ भने पोड वेमा केबलका कार घुम्ने भट्टराईले जानकारी दिए । विद्युतबाट चल्ने पोड वे मा विद्युत खपत कम हुने भएकाले सञ्चालन खर्च पनि कम हुने बताइएको छ । यसमा सकारले पनि चासो देखाउनु पर्ने भट्टराई बताउँछन् । अन्डर ग्राउन्ड मेट्रो रेल बनाउने लागतको ४ प्रतिशत मात्रै पोड वे निर्माणमा लाग्ने उनको भनाइ छ । यसमा एकचोटी ४२ जनाले यात्रा गर्न सक्छन् । यसमा यात्रुलाई भाडा पनि कम लाग्ने बताइएको छ । यात्रुले प्रतिकिलोमिटर यात्राका लागि १० रुपैयाँ मात्रै तिर्न सक्ने उनले बताए । पोड वे १ सय ५० किलोमिटर प्रतिघण्टा गुड्छ । चल्दा चल्दै बिजुली गएमा पनि एक सय किलाेमिटरसम्म ब्याट्रीबाट गुड्न सक्ने भट्टराईको भनाइ छ ।
कर्णालीमा १ हजार साना सडक निर्माण गरिँदै
सुर्खेत/भेरीगङ्गा । कर्णाली प्रदेश सरकारले यस वर्षमात्रै एक हजार साना सडक निर्माण गरिरहेको छ । पहुँचभन्दा बाहिर रहेका नागरिकलाई सडकको पहुँचमा पू¥याउनका लागि प्रदेश सरकारले कर्णालीका बस्तीमा ती सडक निर्माण गर्दै आएको छ । कर्णालीका अधिकांश नागरिक विकासको महत्वपूर्ण पूर्वाधार सडकको पहुँचभन्दा बाहिर रहेकाले प्रदेश सरकारले यसमा जोड दिएको हो । भौगोलिक हिसाबले सबैभन्दा ठूलो प्रदेश कर्णालीभरि यस वर्ष नयाँ र क्रमागत गरी करिब एक हजार सडक निर्माणका क्रममा छन् । प्रदेश सरकारले ३० लाखभन्दा कमका योजना नबनाउने निर्णय गरेपछि यस वर्ष विगतमा भन्दा धेरै स–साना टुक्रे योजना र सडक निर्माणका योजना कम भएको मन्त्रालयका सूचना अधिकारी भीमबहादुर कार्कीले बताए । भौतिक पूर्वाधार, ऊर्जा तथा जलस्रोत मन्त्रालयले भौतिक पूर्वाधार सडक र पुल निमार्णमा गरी आठ अर्ब विनियोजन गरेको छ । भौतिक पूर्वाधार निर्माणका लागि पर्याप्त जनशक्तिको अभाव रहेको छ । दश जिल्लामध्ये सात जिल्लामा अहिले पनि निमित्तका भरमा काम गर्नुपर्ने बाध्यता छ । दुई सय २१ दरबन्दी रहेको मन्त्रालयलमा हालसम्म प्राविधिकतर्फ ६० प्रतिशत जनशक्ति रिक्त छ । रिक्त रहेको दरबन्दी पतपूर्तिका लागि लोकसेवा आयोगसँग माग गरिएको कार्कीले बताए । दरबन्दी अनुसारका जनशक्ति नहुँदा सबैभन्दा धेरैजसो भौतिक पूर्वाधार निर्माणका काममा जनशक्तिको अभाव देखिएको उनको भनाइ छ । बर्सेनि सडक निर्माण हुने तर स्तरोन्नति हुन नसक्दा वातावरणमा प्रभाव परेको नागरिकले गुनासो गर्दै आएका छन् । रासस
हुलाकी सडक निर्माणलाई गति दिन प्रमुखको निर्देशन
काठमाडौं । विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले विराटनगर–५ स्थित हुलाकी सडक निर्माणलाई गति दिन निर्माण कम्पनीलाई निर्देशन दिएका छन् । निर्माण कम्पनीका प्रतिनिधिलाई महानगरमै बोलाएर उनले स्थानीयवासीले धेरै सास्ती व्यहोर्नुपरेकाले छिटो निर्माण गर्न निर्देशन दिएका हुन् । विराटनगर–५ स्थित गणेशचोकबाट केशलिया पुलसम्मको ३.१९५ किलोमिटर हुलाकी सडक निर्माणमा देखिएको समस्याका विषयमा निर्माण कम्पनीका प्रतिनिधिसित कोइरालाले छलफल गरे । स्थानीय जनताको समस्यालाई बुझेर छिटोभन्दा छिटो सडक निर्माण सम्पन्न गर्न कोइरालाले निर्माण कम्पनीलाई निर्देशन दिनुभएको उनका प्रेस सल्लाहकार मीनकुमार नवोदितले जानकारी दिए । विं.सं २०८० साउनभित्र हुलाकी सडक निर्माण सम्पन्न गर्ने गरी भूमि कन्स्ट्रक्सनले ठेक्का लिएको थियो । उक्त कम्पनीले काम नगरेपछि देव एण्ड सायर कन्स्ट्रक्सनलाई निर्माणको जिम्मा दिएको हुलाकी राजमार्ग योजना कार्यालय इटहरीका इञ्जीनियर दीपेन्द्र चौधरीले जानकारी दिए ।