अरुण ३ जलविद्युत परियोजनाको उच्चस्तरीय भ्रमण, ६१.२ प्रतिशत काम सम्पन्न

काठमाडौं । नेपाल भ्रमणमा रहेकी बेलायतकी फरेन, कमनवेल्थ एन्ड डेभलपमेन्ट मिनिस्टर अफ स्टेट (इन्डो–प्यासिफिक) एने–म्यारी ट्रेवेलियनले अरुण ३ जलविद्युत परियोजनाको अनुगमन गरेकी छिन् । संखुवासभामा निर्माणाधीन ९ सय मेगावाटको परियोजनाको विद्युत गृह स्थल तथा ट्रान्सफर्मर वेको अवलोकन गरेकी हुन् । उनले नेपालले स्वच्छ र नवीकरणीय ऊर्जा उत्पादनका क्षेत्रमा अभूतपूर्व उपलब्धी हासिल गर्नेतर्फ मुखरित रहेको भन्दै खुसी व्यक्त गरिन् । उनले नेपालले जलविद्युत उत्पादनमा नेपालको तुलनात्मक र प्रतिस्पर्धी लाभको चर्चा गर्दै स्वच्छ र नवीकरणीय ऊर्जाको क्षेत्रीय व्यापारबाट कार्बन उत्सर्जन न्यूनीकरणमा नेपालको महत्वपूर्ण भूमिका रहेकोमा प्रसंशा गरिन् । अरुण–३ जलविद्युत परियोजना भारतीय विकासकर्ता कम्पनी एसजेभीएनको मुख्य स्वामित्वमा स्थापित एसजेभीएन अरुण ३ पावर डेभलपमेन्ट कम्पनीमार्फत विकास भइरहेको छ । परियोजनाको उत्पादन तर्फको हालसम्म भौतिक प्रगति करिब ६१.२ प्रतिशत सम्पन्न भएको छ । विकासकर्ता स्वयंले परियोजना विद्युत गृहदेखि भारतको सीतामढीसम्म ४ सय केभी क्षमताको कुल २५३ किमी लामो अन्तरदेशीय प्रसारण लाइन निर्माण गरिरहेको छ । सन् २०२३ भित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको छ । राष्ट्रिय महत्वका पूर्वाधार परियोजनामा सार्वजनिक–निजी साझेदारीमा लगानी जुटाउने तथा विकास गर्ने नोडल एजेन्सीको रूपमा रहेको लगानी बोर्डको क्षमता विकास र संस्थागत सुदृढीकरणमा विगत लामो समयदेखि सहयोग उपलब्ध गराउँदै आएको बेलायत सरकारले प्राविधिक सहयोगलाई निरन्तरता दिने उल्लेख गरेको छ । लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले अरुण–३ जलिवद्युत परियोजना नेपालको ऊर्जा क्षेत्रमा महत्वपूर्ण कोशेढुंगा रहेको बताए । लगानी बोर्डले कोभिड १९ महामारीको कठिन समयमा पनि परियोजना कार्यान्वयन जारी राख्न आवश्यक सबै सहजीकरण गरेको उनको भनाइ छ । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका सहसचिव मधुप्रसाद भेटुवालले नेपालमा निर्माणाधीन र निर्माणका लागि गृहकार्य अघि बढाइएका ठूला जलविद्युत परियोजनाहरूले विद्युतको माग सम्बोधन हुने बताए । साथै, उनले क्षेत्रीय विद्युत व्यापारलाई सार्थक बनाउन दक्षिण एसियाली देशहरूबीच अन्तरदेशीय प्रसारणलाइन निर्माणलाई तीव्रता दिनुपर्ने आवश्यकता औंल्याए ।

हुलाकी राजमार्ग अन्तर्गत बाँकेमा तीन वटा सडक बन्दै

खजुरा । हुलाकी राजमार्ग अन्तर्गत बाँके जिल्लामा तीन वटा सडक निर्माणाधीन अवस्थामा छन् । बाँकेको राप्ती पूल पूर्व २१ किलोमिटर सडक, नेपालगञ्जदेखि बर्दियाको गुलरियासम्म २७ दशमलव ४६ किलोमिटर र नेपालगञ्ज बसपार्कदेखि राप्तीपुलसम्म किलोमिटर सडक निर्माणाधीन अवस्थामा रहेको हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगञ्जले जनाएको छ । नेपालगञ्ज–गुलरिया सडकखण्डमा बाँके खण्ड ११ दशमलव ६ किलोमिटर छ । बाँकेमा चालु आर्थिक वर्षमा हुलाकी लोकमार्गका तीन योजना अन्तर्गत ४१ किलोमिटर सडक निमार्ण भइरहेको छ । राप्तीपुल पूर्व नारायणपुरदेखि कुण्डासम्म २१ किलोमिटर सडक ६८ करोड सात लाखको लागतमा अस्फाल्ट कालोपत्र सुरु गरिएको हो । राप्तीसोनारी गाउँपालिकामा पर्ने राजमार्गको २१ किलोमिटर खण्डमा अक्सफाल्ट प्रविधिद्वारा कालोपत्र गर्न सुरु गरिएको हो । खड्का कृष्ण कन्स्ट्रक्सनले हुलाकी लोकमार्गको अस्फाल्ट प्रविधिवाट सडक कालोपत्र गर्ने बोलपत्र प्रक्रियाद्वारा सम्झौता गरेको थियो । आव २०७५/७६ मा सुरु भएको योजना २०८० साल कात्तिकमा सक्ने सम्झौता रहेको छ । नेपालगञ्ज–गुलरिया सडकखण्ड दुई अर्ब ७८ करोड २९ लाख ४१ हजार आठ सय ३६ मा निर्माणका लागि यसै वर्ष मङ्सिर २८ गते शर्मा एण्ड कम्पनीसँग सम्झौता भएको थियो । अस्फाल्ट क्रङ्क्रिट सडक निर्माणको काम अगाडि बढिसकेको छ । सडकको बाँके खण्डमा ५ दशमलव ४ किलोमिटर चार लेन र ६ दशमलव ३६ किलोमिटर दुई लेन बनाइने हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगञ्जका सूचना अधिकारी इञ्जिनीयर कृष्णप्रसाद पाण्डेले बताए । उनका अनुसार बर्दियातर्फ भने ६ दलशमलव २ किलोमिटर चार लेन र नौ दशमलव ६६ किलोमिटर दुई लेन बन्नेछ । उक्त सडक खण्ड चौडा पर्ने र अस्फाल्ट कालोपत्र गर्ने योजनाको काम सुरु भएको हो । उक्त योजना २०८२ मङ्सिर २७ गते सम्पन्न गर्ने सम्झौता निर्माण कम्पनीसँग भएको छ । इञ्जिनीयर पाण्डेले बसपार्कदेखि राप्तीपुतसम्म सडक चौडा पार्ने योजना कार्यान्वयनमा रहेको भन्दै उनले राप्तीपुलसम्मको नौ किलोमिटर सडक चौडा पार्ने सम्झौता भई निर्माण सुरु भएको बताए । यसैवर्ष कात्तिक ६ गते सरु भएको योजना २०८० कात्तिकमा सक्ने सम्झौता छ । रासस

कालीगण्डकी करिडोर : मालढुङ्गा–कोरला सडक अन्तिम चरणमा

काठमाडौं । राष्ट्रिय गौरबको कालीगण्डकी करिडोरको मालढुङ्गा–कोरला खण्डको काम जारी रहेको छ । हालसम्म लक्षित कार्यक्रममध्ये कतिपय सकिएको र निर्माणाधीन ठेक्कामा पनि प्रगति अपेक्षाअनुसार पाइएको हो । मालढुङ्गाबाट बेनी हुँदै कोरला खण्डमा मालढुङ्गाबाट २०२ किलोमिटरममध्ये एक सय किमीमा कालोपत्रको ठेक्का भएको कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरोला सडक योजनाले जनाएको छ । आव २०७३/७४ जेठमा ७० किमी सडक कालोपत्रका लागि ठेक्का भएकामा ३० किमी कालोपत्र भइसकेको छ । गत आवमा २६ किमी सडक कालोपत्र गर्ने गरी ठेक्का भएको योजनाका प्रमुख जगत प्रजापतिले जानकारी दिए । उनले भने, ‘अघिल्लो वर्ष ठेक्का लगाएको दुई ठेक्कामा पनि काम भइरहेको छ ।’ मालढुङ्गा–कोरला सडकमा जोमसोम –कोरलासम्मको सडकमा कालोपत्र नगरेर ग्राभेल गर्ने सडक विभागको योजना रहेको छ । यसमा थोरै बाहेक अधिकांस काम सकिएको प्रमुख उनले बताए । स्थामनीयवासी बाहेक बाहिरबाट आउने अधिकांश पर्यटकको गन्तव्य मुक्तिनाथ रहेकामा त्यहाँको सडकमा ३० किमी कालोपत्र भइसकेको योजनाले जनाएको छ । मुक्तिनाथभन्दा माथिल्लो खण्डमा ५० प्रतिशत खण्ड जोमसोम–कोरला खण्ड रहेको छ । उनले भने, ‘जोमसोम कोरलामा अहिलेसम्मको लक्ष्यका आधारमा ९५ प्रतिशत प्रगति रहेको छ ।’ मुक्तिनाथसम्मको खण्डमा हेर्दा म्याग्दी खण्डमा अहिलेसम्म झण्डै छ किमी मात्रै कालोपत्र सकिएको छ । मुस्ताङ खण्डमा कालोपत्र गर्ने लक्ष्य लिइएको खण्डमा काम भइसकेको उनले जानकारी दिए । जोमसोम–कोरला खण्डमा अहिलेको लक्ष्य ग्राभेल मात्रै भएकाले सम्पन्न भइसकेको र आगामी दिनमा कालोपत्रको योजना बनाएमा नयाँ ठेक्काबाट गरिने प्रमुख प्रजापतिले बताए । माथिल्लो खण्डमा पानी नपर्ने हुँदा ग्राभेलले नै काम गरिरहेको उनको भनाइ छ । म्याग्दी खण्डमा यो असारसम्ममा प्रगति हुने देखिएको प्रमुख प्रजापतिले बताए । यसअघि संरचनाका काम भइरहेकाले प्रगति कम देखिएको भए पनि अब कालोपत्रको काम गर्दा प्रगित देखिने उनले बताए । योजनाले ठाउँठाउँमा पानी पर्ने र माथिबाट खोलाजस्तै बग्ने ठाउँमा ढलानको काम सुरु गरेको छ । सडक कालोपत्र गर्ने भनिएको खण्डमा कालोपत्रका लागि सबै खण्ड ठेक्कामा गइसकेको योजनाले जनाएको छ । एक सय किमी कालोपत्र र एक सय दुई किमीको ग्राभेल गर्ने योजनाअनुसार अहिलेसम्म लक्ष्यअनुसार काम गर्न ठेक्का सम्झौता भइसकेको उनले बताए । उनले भने, ‘ग्राभेल गर्ने खण्डमा एउटा खण्डमा थोरै काम मात्रै बाँकी छ ।’ पहिलेभन्दा थप भएका काम भने ठेक्कामार्फत अघि बढाउँदै जाने प्रमुख प्रजापतिले जानकारी दिए । भीरकाटेमा सुरुङ निर्माणका लागि अध्ययन भइरहेकामा त्यो सकिएपछि ठेक्का लगाइने योजना रहेको छ । म्याग्दी खण्डमा पहिलेको अध्ययनमा नदेखिएका ठूलाठूला पहिरो विकास भएकाले त्यहाँ पनि थप काम गर्नुपर्ने आवश्यक देखिएको छ । विसं २०७७ असोजमा काभ्रेमा ठूलो बाढी आएको थियो भने रुप्से र त्यसभन्दा माथिल्लो भागमा सडक नै नहरने गरी पहिरोसहितको बाढी आएको थियो । उनले भने, ‘ठाउँठाउँमा पहिरो भएकाले त्यसको अध्ययन भइरहेको छ ।’ हाल सडकको पाँच ठेक्का र पुलका आठ ठेक्का सञ्चालनमा रहेको योजनाले जनाएको छ । आव २०७३/७४ को तीन वटा ठेक्का सञ्चालनमा रहेका छन् । नयाँ दुई ठेक्कामा पनि काम अघि बढिरहेको छ । आठ पुलको ठेक्का सञ्चालनमा रहेकामा सबैको प्रगति ६० प्रतिशत माथि रहेको योजनाले जनाएको छ । रासस