विजयपुर खोलामा ‘गिर्डर लन्चिङ’ सुरु, पृथ्वीराजमार्ग ४ घण्टा बन्द
काठमाडौं । पृथ्वीराजमार्गमा पर्ने पोखराको विजयपुर खोलामाथि निर्माणाधीन पुलमा आजदेखि ‘गिर्डर लन्चिङ’ (पुललाई अड्याउन प्रयोग गरिने निदाल) सुरु भएको छ । मुग्लिन-पोखरा सडक आयोजना पश्चिम खण्डले राजमार्ग स्तरोन्नतिको काम गर्दै आएको छ । सोही आयोजनाअन्तर्गत विजयपुर खोलामा पक्की मोटरेबल पुल निर्माण भइरहेको हो । उक्त आयोजनाका प्रमुख कृष्णबहादुर कुँवरले सोमबारदेखि पुल क्षेत्र बाहिर तयार पारिएका गिर्डरलाई पुलमाथि राख्ने कार्य (गिर्डर लन्चिङ) सुरु भएको जानकारी दिए । उनका अनुसार बिहान ६ बजेदेखि ८ बजेसम्म र दिउँसो १२ देखि २ बजेसम्म दैनिक ४ घण्टा सडक बन्द गरेर काम भइरहेको हो । आयोजना प्रमुख कुँवरले भने, ‘पहिलो दिन एउटा गिर्डर राखिएको छ । मङ्सिर ११ गतेसम्म १५ वटा राख्ने योजना अुनसार आजदेखि काम हुनेछ । सकभर कम ट्राफिक जाम होस् भनेर दैनिक चार घण्टा सडक बाटो बन्द गरेर काम भइरहेको छ ।’ विजयपुर खोलाको पुल अबको २ महिनाभित्रमा निर्माण सम्पन्न हुने आयोजना कार्यालयले जनाएको छ । ‘गिर्डर राखेपछि पुलको स्लाब ढलान र दुवैतिरको सडक ढलान बाँकी छ । २ महिनाभित्रमा सबै काम सकिन्छ,’ कुँवरले भने । एसियाली विकास बैंकको ऋण सहयोगमा पोखरा-मुग्लिङ सडक आयोजनाको पश्चिम खण्डमा पोखराको सेती नदी र विजयपुर खोलामाथि कङ्क्रिट र फलाम प्रयोग गरेर पुल निर्माणको चरणमा छ । आयोजना प्रमुख कुँवरले राजमार्गमा सवारीसाधनको चापले पुलको काममा कठिनाइ हुने भएकाले पृथ्वी राजमार्ग हुँदै पोखरा भित्रिने र बाहिरिने सवारीसाधनलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको जानकारी दिए । मुग्लिन-पोखरा सडक आयोजनाले दुई पाङ्ग्रे तथा साना सवारीसाधनका लागि बूढी बजारबाट बेल चौतारा हुँदै चाउथे आउने र जाने दुईतर्फी वैकल्पिक व्यवस्था गरिएको जनाएको छ । यसैगरी ठूला सवारीका लागि लेखनाको पावरहाउस चोकदेखि बागमारा हुँदै बिरौट आउने/जाने दुईतर्फी रुट प्रयोग गर्न आग्रह गरिएको छ । उक्त आयोजनाअन्तर्गत पश्चिम खण्डको पोखराबाट तनहुँको जामुनेसम्मको पश्चिम खण्डमा हालसम्म ५९.७६ प्रतिशत भौतिक प्रगति भएको प्रमुख कुँवरले जानकारी दिए ।
सोलु हाइड्रोपावरको आईपीओ बिक्री खुला, क-कसले आवेदन दिन पाउँछन् ?
काठमाडौं । सोलु हाइड्रोपावरले आज मंसिर ७ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई सेयर निष्काशन गरेको हो । कम्पनीले जारी पुँजी १० अर्ब रुपैयाँको २० प्रतिशत अर्थात् २ अर्ब रुपैयाँको २ करोड कित्ता सेयर जारी गरेको हो । जसमध्ये १ अर्ब रुपैयाँको अंकित मूल्य १ सय रुपैयाँका दरले १ करोड कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीयलाई बिक्री गरेको हो । स्थानीयलाई छुट्याएको सेयरमध्ये आयोजना अति प्रभावित क्षेत्र सोलु दूधकुण्ड नगरपालिका-७, ११ र थुलुङ दूधकोसी गाउँपालिका-१ का बासिन्दालाई ४० लाख कित्ता र ६० लाख कित्ता आयोजना अति प्रभावित वडा बाहेक अन्य वडामा बस्ने स्थानीयलाई बिक्री गरिने कम्पनीले जनाएको छ । साथै, सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको सेयरको १० प्रतिशत अर्थात् १० करोड रुपैयाँको १० लाख कित्ता नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरिरहेका नेपालीहरूलाई बिक्री गरिने कम्पनीले जनाएको छ । कम्पनीको आईपीओमा न्यूनतम् १० कित्तादेखि अधिकतामा १ लाख कित्ता सेयरसम्म आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओमा स्थानीयले मंसिर २१ गतेसम्म आवेदन दिनुपर्नेछ । यदि सो अवधिमा पूर्ण आवेदन नपरेमा पुस ७ गतेसम्म आवेदन दिने सम लम्बिने कम्पनीले जनाएको छ । यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीले भने छिटोमा मंसिर १० गते र ढिलोमा मंसिर २१ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग रहेको छ । स्थानीयले ग्लोबल आइएमई बैंकको सल्लेरी, सोलुखुम्बु शाखा, लक्ष्मी सनराइज बैंकको नेले, सोलुखुम्बु शाखा र आयोजनास्थल तिङ्गला, सोलुखुम्बुबाट आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीले भने सिआस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर एपमार्फत आवेदन दिन सक्नेछन् । इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई आइआरएन डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।
खोटाङमा १७ करोडमा पक्की पुल निर्माण, जनजीवनमा सहजता
खोटाङ । जन्तेढुङ्गा र बराहपोखरी गाउँपालिकाको सिमाना पर्ने बुवाखोलामा मोटरेबल पक्की पुल सञ्चालनमा आएसँगै दक्षिणी क्षेत्रका बासिन्दालाई प्रदेश राजधानी विराटनगरलगायत पूर्वी तराईका विभिन्न जिल्ला आवतजावतमा सहज भएको छ । कोशी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालयको १७ करोड ५८ लाख ६९ हजार ७२९ लागतमा बनेको १४८ मिटर लामो मोटरेबल पक्की पुल हालसम्म खोटाङमा बनाइएका पक्की पुलमध्ये सबैभन्दा लामो पुल हो । जन्तेढुङ्गा गाउँपालिका–१ देवीस्थान र बराहपोखरी गाउँपालिका–५ को पौवसेराको बीचमा रहेको बुवाखोलामा मोटरेबल पक्की पुल निर्धारित समयभन्दा पहिले सम्पन्न भएर सञ्चालनमा आएपछि स्थानीयले सहज र सुरक्षित आवागमनको अनुभूति गरेका छन् । मोटरेबल पक्की पुल निर्माण सम्पन्न भएपछि खोटाङका दक्षिणी क्षेत्रमा पर्ने जन्तेढुङ्गा, बराहपोखरी, खोटेहाङ, साकेला र दिप्रुङ चुइचुम्मा गाउँपालिकाको जनजीवनमा ठूलो परिवर्तन आउने अपेक्षा गरिएको छ । बुवाखोलाको मोटरेबल पुल सञ्चालनमा आएपछि खोटाङका बासिन्दालाई पूर्वी तराईका जिल्ला आवतजावतकै गर्न लामो बाटो र जोखिमपूर्ण नदी पार गर्नुपर्ने बाध्यतासमेत अन्त्य भएको जन्तेढुङ्गा गाउँपालिकाका नेपाली कम्युनिष्ट पार्टीका नेता वीरबल किरातीले बताए । नेता किरातीका अनुसार यो पुल बनेपछि स्थानीयहरू उदयपुरको बेलटार हुँदै धरान, विराटनगर, इटहरी, सुनसरी, मोरङ र झापा छोटो दुरीमै पुग्न सक्नेछन् । भौतिक पूर्वाधार विकास मन्त्रालयसँग विसं २०८१ वैशाख ३० गते भएको सम्झौतामा बुँवाखोला मोटरेबल पक्की पुल निर्माण सम्पन्न गर्ने अन्तिम विसं २०८३ कात्तिक २१ गतेसम्म तोकिएको थियो । निर्माण कम्पनी जय बागेश्वरी–रेग्मी–चुलिया जेभीले बुवाखोला मोटरेबल पक्की पुल यसअघि नै सम्पूर्ण निर्माणको काम पूरा गरेर प्रदेश सरकारलाई हस्तान्तरण गरिसकेको छ । कच्ची अवस्थामा सञ्चालन हुँदै आएको बङ्शिलाघाट–देवीस्थान–चिसापानी सडकखण्डमा पर्ने बुवाखोलामा मोटरेबल पक्की पुल बनेपछि साना–ठूला सवारी सहजै गुड्न थालेपछि दैनिक जीवन, बजार आपूर्ति र सेवा सुविधामा ठूलो सहजता भएको छ । प्रदेश सरकारअन्तर्गत यो आयोजना पूर्वाधार विस्तारको महत्वपूर्ण उपलब्धि मानिएको छ । बुवाखोला मोटरेबल पक्की पुलमार्फत पालिकालाई प्रदेश राजधानी विराटनगरसँगको आर्थिक तथा प्रशासनिक केन्द्रहरूसँग जोड्ने योजना पूरा भएको जन्तेढुङ्गा गाउँपालिका प्रमुख अरुणादेवी राई ‘दिक्षा’ ले बताइन् । ‘पुल बनेपछि स्थानीय किसान, व्यापारी, विद्यार्थी र बिरामी सबैका लागि दैनिक जीवनमा ठूलो सहजता आउने अपेक्षा गरिएको छ । कृषि उत्पादन छिटो तराईका बजारमा पुर्याउन सकिने, विद्यार्थी तथा रोजगार खोज्ने युवालाई यात्रा छोटो र सहज हुने, बिरामीलाई आपतकालीन अवस्थामा धरान वा विराटनगरका अस्पतालमा पुर्याउन सहज भएको छ’, उनले भने, ‘यो पुल हाम्रो गाउँपालिकाको समृद्धिको ढोका हो । तोकिएको समयभन्दा अगाडि नै पुल सञ्चालनमा आएपछि त्यो समृद्धिको ढोका खुलेको छ ।’ जिल्लाको दक्षिणी क्षेत्रमा क्रियाशील स्थानीय राजनीतिक नेतृत्व बुवाखोला पुल निर्माणप्रति सकारात्मक बनेका छन् । नेपाली कांग्रेस जन्तेढुङ्गा गाउँपालिका सभापति बाजिन्द्र विष्टले पक्की पुल निर्माणसँगै बङ्शिलाघाटमा बन्ने बेलिब्रिज सञ्चालनमा आएपछि दक्षिणी क्षेत्रका बासिन्दालाई सहज भएको जानकारी दिनुभएको छ । बुवाखोला मोटरेबल पक्की पुल निर्माणका लागि सम्झौता गरेको सात महिनापछि विसं २०८१ मङ्सिर–६ गते कोशी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास एवं स्वास्थ्यमन्त्री भूपेन्द्र राईले शिलान्यास गरेका थिए । तोकिएको समयभन्दा वर्षदिन अघि नै निर्माण सम्पन्न भएको यो मोटरेबल पुल आज मन्त्री राईले नै औपचारिक उद्घाटन गर्ने कार्यक्रम राखिएको पूर्वाधार विकास कार्यालय खोटाङका प्रमुख इञ्जिनियर विनम दाहालले जानकारी दिए । नेपालमा निर्माण व्यवसायीका विरुद्ध ‘जिम्मा लिएको काममा ढिलाइ गर्ने, काम अलपत्र पार्ने’ भन्ने आलोचना सामान्य छ । बुवाखोला मोटरेबल पुल निर्माण कम्पनीका प्रतिनिधि महेश रेग्मीको टिमले तोकिएको अवधिभन्दा वर्ष दिनअघि नै सम्पन्न गरेर उदाहरणीय काम गरेका छन् । स्थानीयले यो कामको प्रशंसा गरेका छन् । रासस