त्रिशूली-१ को सुरुङभित्र एक जनाको शव भेटियो

काठमाडौं । माथिल्लो त्रिशूली-१ आयोजनाको सुरुङमा एकजनाको शव भेटिएको छ । शुक्रबार माथिल्लो त्रिशूली-१ आयोजनामा एकजनाको शव भेटिएको नेपाली सेनाले जानकारी दिएको हो । 

सेनाका उच्च अधिकारीले सुरुमा उक्त क्षेत्रमा ३०० जना मानिस रहेको भनिए पनि अहिले १५१ जना मात्र सम्पर्कमा रहेका बताए । बाँकी मानिसहरू सुरक्षित स्थानमा भागेको हुन सक्ने अनुमान गरिएको उनको भनाइ छ । 

यस्तै, टनेलको बीच भागमा अक्सिजनको आपूर्ति बन्द नभएकाले त्यहाँ थुनिएकाहरू जीवितै हुन सक्ने झिनो आशा अझै बाँकी रहेको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का वरिष्ठ उपाध्यक्ष उत्तम भ्लोन लामाले जानकारी दिए । 

त्रिशूली ३-ए र लाङटाङ आयोजना त्रिशूली ३-ए मा ४२ जना मानिसहरू रहेको आशंका गरिए पनि हालसम्म दुईजना जीवित र एकजनाको शव गरी जम्मा तीनजना मात्र फेला परेका छन । 

त्यस्तै, लाङटाङमा सुरुङभित्र दुईजनाको मृत्यु भएको पुष्टि भइसकेको छ । लाङटाङको  पावर हाउस पुरिएकाले त्यसलाई उत्खनन गर्नुपर्ने अवस्था छ ।

वरिष्ठ उपाध्यक्ष लामाले हाल भारततर्फ करिब ६०० मेगावाट विद्युत निर्यात भइरहेको र बंगलादेशतर्फको निर्यात पनि सुचारु रहेको जानकारी दिए । 

यद्यपि, यस वर्ष १२ देखि १६ सय मेगावाटसम्म विद्युत निर्यात गरेर करिब ५० अर्ब रुपैयाँ आम्दानी गर्ने लक्ष्य राखिएकोमा आयोजनाहरूमा भएको क्षतिका कारण उक्त लक्ष्य पुरा नहुने देखिएको छ ।

आयोजनाहरूमा क्षति पुगे पनि र हिउँदमा केही थप विद्युत आयात गर्नुपर्ने स्थिति आए पनि तत्काल लोडसेडिङ भइहाल्ने र सर्वसाधारण डराउनुपर्ने अवस्था नरहेको लामाले स्पष्ट पारे ।

Share News