वर्षाले देशभर सडक सञ्जाल अस्तव्यस्त, यी राजमार्ग पूर्ण रूपमा बन्द

काठमाडौं । अविरल वर्षा, पहिरो तथा बाढीका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्ग तथा सडक खण्डमा सवारी आवागमन प्रभावित भएको छ ।

नेपाल प्रहरीले आज बिहान ६ बजेसम्मको विवरण सार्वजनिक गर्दै केही सडक पूर्ण रूपमा अवरुद्ध भएका र केही सडकमा राति सवारीसाधन सञ्चालनमा प्रतिबन्ध लगाइएको जनाएको छ ।

काभ्रेपलाञ्चोक र सिन्धुली जोड्ने बीपी राजमार्ग अन्तर्गत खुर्कोट-नेपालथोक-कटुन्जेबेँसी सडक खण्डमा सम्भावित बाढीको जोखिमलाई दृष्टिगत गरी बेलुका ६ देखि बिहान ४ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।

यसैगरी, कान्तिलोकपथमा पनि बेलुका ५ देखि बिहान ५ बजेसम्म सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ ।

इलाम नगरपालिका-९ मेची राजमार्गमा वर्षाका कारण सडक हिलाम्मे भएपछि सवारी आवागमन पूर्ण रूपमा बन्द भएको छ ।

सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकास्थित अरनिको राजमार्गका जिरोकिलो र कोदारी क्षेत्रमा पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।

दोलखाको तामाकोशी गाउँपालिका-५ किर्नेटारस्थित लामासाँघु-रामेछाप सडक खण्डमा सामाकोशी खोलाको बहावले सडक कटान गरेपछि उक्त सडक पनि अवरुद्ध भएको छ ।

रसुवाको उत्तरगया गाउँपालिका-५ खाल्टेस्थित पासाङ ल्हामु सडक खण्डमा त्रिशूली नदीले कटान गरेकाले उक्त सडक पनि पूर्ण रूपमा अवरुद्ध भएको छ ।

ललितपुरको बागमती गाउँपालिका-३ कान्तिलोकपथमा सुक्खा पहिरो खसेकाले सो सडक पनि पूर्ण रूपमा बन्द भएको छ । यसैगरी, इन्द्रसरोवर गाउँपालिका-४ महालक्ष्मी खोला नजिक पहिरो खस्दा भीमफेदी-कुलेखानी-काठमाडौं सडक पूर्ण रुपमा अवरुद्ध भएको छ । 

नेपाल प्रहरीका अनुसार जाजरकोट-डोल्पा सडक अन्तर्गत मूलपानी खोला बाढीले सडक कटान गर्दा सवारी आवागमन पूर्ण रूपमा अवरुद्ध भएको छ भने बेनी-जोमसोम सडक खण्डअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका-३ सुकेबगर र रघुगङ्गा गाउँपालिका-२ मा आज बिहान खरेको पहिरोले यो सडक पनि बन्द भएको छ ।

प्रहरीले वर्षायाममा पहिरो, बाढी तथा सडक कटानको जोखिम उच्च रहेकाले यात्रा गर्नुअघि सम्बन्धित निकायबाट सडकको अवस्थाबारे जानकारी लिन तथा आवश्यक सतर्कता अपनाउन सबैलाई अनुरोध गरेको छ ।

Share News