एनपीएलको भीडमा त्रिविको पहिचान जाँच, प्राध्यापकदेखि विद्यार्थीसम्मलाई परिचयपत्र अनिवार्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) का कारण त्रिभुवन विश्वविद्यालय परिसरमा भीडभाड बढ्ने अनुमानसँगै विश्वविद्यालयले आफ्ना प्राध्यापक, कर्मचारी र विद्यार्थीलाई खेल सकिने अवधिसम्म परिचयपत्र अनिवार्य रूपमा साथमा राख्न निर्देशन दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कात्तिक ९ गतेदेखि एनपीएलको तेस्रो संस्करण सुरु हुन लागेपछि विश्वविद्यालयले यस्तो निर्देशन दिएको हो । विश्वविद्यालयले सूचना जारी गर्दै कात्तिक ९ देखि मंसिर ५ गतेसम्म प्राध्यापक, कर्मचारी तथा विद्यार्थीलाई आफ्नो परिचयपत्र साथमै राख्न आग्रह गरेको छ ।

एनपीएलका खेल हेर्न ठूलो संख्यामा दर्शक कीर्तिपुर आउने भएकाले उक्त अवधिमा त्रिवि परिसरमा मानिसको आवागमन र भीडभाड बढ्ने अनुमान गरिएको छ । यस्तो अवस्थामा विश्वविद्यालयसँग सम्बन्धित व्यक्ति र बाहिरबाट आउने दर्शकबीच पहिचान छुट्याउन तथा परिसरको आवागमन व्यवस्थापन गर्न परिचयपत्र साथमा राख्न आग्रह गरिएको हो ।

एनपीएलको उद्घाटन खेलमा कात्तिक ९ गते सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ । प्रतियोगिता मंसिर ५ गतेसम्म सञ्चालन हुनेछ । खेल अवधिभर त्रिवि परिसरमा हुने चहलपहललाई ध्यानमा राख्दै विश्वविद्यालयले प्राध्यापक, कर्मचारी र विद्यार्थीलाई परिचयपत्र साथमा राख्न भनेको छ ।

Share News