मुग्लिन-पोखरा पश्चिम खण्डमा दैनिक ६ सयलाई रोजगारी
दमौली । मुग्लिन-पोखरा सडक आयोजना (पश्चिम खण्ड) मा सडक स्तरोन्नति भइरहेकाले दैनिक ६ सय जनाले रोजगारी पाएका छन् । तनहुँको जामुनेबाट पोखराको सेती पुलसम्मको पश्चिम खण्डमा सडक तथा पुल निर्माण, कलोपत्रलगायत कामका लागि दैनिक ६ सय जना मजदुर खटिएका हुन् । आयोजना प्रमुख कृष्णबहादुर कुँवरका अनुसार उक्त खण्डमा दैनिक छ सयका दरले मासिक १८ हजार मजदुरले रोजगारी पाएका छन् । उनले यस खण्डमा २० जनाले परामर्शदाताका रूपमा काम गरिरहेका जानकारी दिए । पश्चिम खण्डमा हालसम्म ५९ दशमलव ७६ प्रतिशत भौतिक र ४७ दशमलव ८० प्रतिशत वित्तीय प्रगति भएको कुँवरले उल्लेख गरे । उनका अनुसार ३८ दशमलव ८८ किलोमिटर दूरीको उक्त खण्डमा हालसम्म ३७ दशमलव चार किमीमा एकतर्फी रूपमा पहिलो तहको कालोपत्र सकिएको छ । त्यसमध्ये २९ दशमलव ६१ किमी खण्डमा चार लेन र सात दशमलव ७९ किमीमा दुई लेन कालोपत्र सम्पन्न भएको छ । उक्त खण्डमा १२ मध्ये ११ पुल निर्माण सम्पन्न भइसकेका जनाउँदै आयोजना प्रमुख कुँवरले सेती नदीमा पुल निर्माणाधीन अवस्थामा रहेको बताए । उक्त पुलमा ४७ दशमलव ५२ प्रतिशत भौतिक र ४७ दशमलव नौ प्रतिशत वित्तीय प्रगति भएको उनको भनाइ छ । उनले हालसबै सबै चार वटा पाइलक्याप, एक सय २० वटा पाइल निर्माण सम्पन्न भएका जानकारी दिए । पश्चिम खण्डमा गत आर्थिक वर्षमा २५ किलोमिटर चार लेन सडक स्तरोन्नति गर्ने लक्ष्य राखिएकामा २३ दशमलव शून्य छ किमी कालोपत्र सम्पन्न भएको छ । यहाँ ११ पुल निर्माण गर्ने लक्ष्य राखिएकामा लक्ष्यबमोजिम सम्पन्न भइसकेका छन् । कुँवरका अनुसार ६६ कल्भर्ट निर्माण गर्ने लक्ष्य राखिएकामा एउछा बाँकी छ भने ५१ दशमलव पाँच किमी नाला निर्माण गर्ने लक्ष्य राखिएकामा ४५ दशमलव दुई किमी सम्पन्न भएको छ । विसं २०७८ जेठ ३ गते सम्झौता भएको यो खण्डको काम गर्ने म्याद आगामी पुस १६ गतेसम्म रहेको छ ।
बरूण हाइड्रोको ५ प्रतिशत लाभांश घोषणा, मंसिर २६ गते डाक्यो सेयरधनी भेला
काठमाडौं । बरूण हाइड्रोपावर कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको मंसिर ३ गते बसेको बैठकले ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले गत आर्थिक वर्ष २०८१/८२ को नाफाबाट हाल कायम चुक्ता पुँजी १ अर्ब ७ करोड १६ लाख ३० हजार रुपैयाँको ४.७५ प्रतिशतका दरले ५ करोड ९ लाख २ हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनका लागि ०.२५ प्रतिशतका दरले २६ लाख ७९ हजार रुपैयाँ नगद गरी कुल ५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । लाभांश प्रस्ताव पारित गर्न कम्पनीले २२औँ वार्षिक साधारण सभा मंसिर २६ गते स्मार्ट दरबार शंखपार्क काठमाडौंमा बिहान साढे बजे बोलाएको छ । कम्पनीको सभाले बोनस सेयर वितरणपश्चात् पुँजी वृद्धि गर्ने, प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्नेछ । यस्तै, गत आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, चालु आव २०८२/८३ को लागि लेखापरीक्षण कार्य गर्न लेखापरीक्षक नियुक्ती गर्ने तथा निजको पारिश्रमिक तोक्ने, संस्थागत सुशासन सम्बन्धी प्रतिवेदन स्वीकृत गर्ने, सञ्चालकको नियुक्ति अनुमोदन गर्नेछ । लाभांश तथा साधारण सभा प्रयोजनार्थ कम्पनीले मंसिर १४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले अघिल्लो दिनसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भइ कायम सेयरधनीहरूले कम्पनीको सभामा सहभागिता जनाई लाभांश प्राप्त गर्न सक्नेछन् ।
नारायणघाट-बुटवल: नारायणी नदि पुल क्षेत्रमा २ दिन राति सडक बन्द
काठमाडौं । पूर्व पश्चिम राजमार्ग अन्तर्गत नारायणघाट बुटवल खण्डको नवलपुर र चितवन जोड्ने नारायणी नदी क्षेत्रमा २ दिन रातिमा सडक बन्द गरिने भएको छ । उक्त खण्डको नारायणी नदी पुलदेखि पश्चिमतर्फको भागमा सडक कालोपत्र गर्न रातिमा ५ घण्टा सडक बन्द गर्न लागिएको हो । नारायणघाट बुटवल सडक योजना पूर्वी खण्डका योजना प्रमुख इन्जिनियर ईश्वर बहादुर रिजालले मङ्सिर ५ गते र ६ गते राति ११ देखि भोलिपल्ट बिहान ४ बजेसम्म राजमार्ग बन्द गर्न लागिएको जानकारी दिए । ‘निर्माणाधीन नारायणघाट–बुटवल सडक खण्डको नारायणी पुल गैँडाकोटतर्फको एप्रोच सडकको भागमा कालोपत्र गर्ने प्रयोजनार्थ राति सडक बन्द गर्ने निर्णय गरिएको हो,’ उनले भने, ‘उक्त स्थानमा सवारीसाधन सञ्चालनमा रोक लगाएर काम गर्नुपर्ने भएकाले रातिमा सडक बन्द गर्न लागिएको हो ।’ रातिको समयमा सडक बन्द गरिँदा पूर्वतर्फ जाने सवारी साधन नवलपुरका विभिन्न स्थानमा र पश्चिमतर्फ आउने सवारी साधन चितवनका विभिन्न स्थानमा रोकिने रिजालले जानकारी दिए । रातिको समयमा ६ घण्टा सडक बन्द हुने भएकाले तोकिएको ठाउँमा सवारी साधन रोकेर पालो पर्खेर जान वा वैकल्पिक सडक प्रयोग गर्न उनले आग्रह गरे । बुटवलबाट नवलपुर हुँदै पूर्वतर्फ जाने सवारीसाधनमध्ये बस, मिनीबस, माइक्रो बस, साना चार पाङ्ग्रेसहितका सवारी साधन थुम्सीदेखि पश्चिमतर्फ रोकिने छन् । यस्तै, ट्रक, ट्रेलर, कन्टेनर, लहरी जस्ता ठूला माल वाहक सवारीसाधन बेल्डिहादेखि पश्चिमतर्फ रोकिने छन् । यसैगरी नवलपुर हुँदै पश्चिम जान पूर्वतर्फबाट आएका सवारीसाधन नवलपुर नपुग्दै चितवनमा रोकिने छन् । बस, मिनीबस, माइक्रो बस, साना चारपाङ्ग्रे सवारीसाधन मुग्लिन नारायणघाट सडकको रामनगरदेखि जुगेडीसम्म र पूर्वपश्चिम राजमार्गको केन्द्रीय बसपार्कदेखि गोन्द्राङसम्म रोकिने रिजालले जानकारी दिए । यस्तै, ट्रक, ट्रेलर, कन्टेनर, लहरी जस्ता मालवाहक सवारी साधनहरू भने जुगेडीदेखि दासढुङ्गासम्म र गोन्द्राङदेखि टिकौलीसम्म रोकिने छन् । सडक बिस्तार सुरु भएदेखि नै यस खण्डमा भएका खाल्डा खुल्डीका कारण यात्रुले दुःख पाउँदै आएका छन् । नारायणी नदीको पुलदेखि पश्चिमतर्फ १७० मिटर सडक कालोपत्र भएपछि नारायणघाट बुटवल खण्डको दाउन्नेसम्म करिब ६० किलोमिटर सडक कालोपत्रले जोडिनेछ ।