तीन वर्षमा विदेशी कम्पनीले लगे ६६ अर्ब लाभांश, सबैभन्दा बढी सूचना प्रविधिबाट, कुन क्षेत्रबाट कति बाहिरियो ?

काठमाडौं । आर्थिक वर्ष २०७७/७८ मा नेपालमा लगानी गरेवापत् विदेशी कम्पनीहरुले २६ अर्ब ७ करोड ६० लाख रुपैयाँ लाभांश फिर्ता लिएका छन् । नेपाल राष्ट्र बैंकले नेपालमा प्रत्यक्ष विदेशी लगानी सम्बन्धि गरेको एक सर्वेक्षणका अनुसार विदेशी कम्पनीहरुले आर्थिक वर्ष २०७७/७८ मा सो रकम लाभांशका रुपमा विदेश लिएका हुन् । आर्थिक वर्ष २०७७/७८ मा सूचना प्रविधिमा लगानी गरेवापत बढी लाभांश फिर्ता लिएको देखिएको छ । विदेशी कम्पनीहरुले नेपालमा लगानी गरेवापत् सूचना प्रविधि क्षेत्रबाट १३ अर्ब ९८ करोड ४० लाख रुपैयाँ लाभांशका रुपमा फिर्ता लिएका हुन् । सोही वर्ष उत्पादनमुलक क्षेत्रमा लगानी गरेवापत ६ अर्ब ७४ करोड ७० लाख, विद्युतीय उपकरणमा लगानी गरेवापत् ३ अर्ब ८१ करोड ६० लाख, बैंक तथा बीमा क्षेत्रमा लगानी गरेवापत् ८६ करोड ८० लाख, शिक्षा क्षेत्रमार्फत् ३० करोड ३० लाख र अन्य क्षेत्रबाट ३५ करोड ७० लाख रुपैयाँ लाभांश फिर्ता लिएको देखिएको हो । यस्तै, आर्थिक वर्ष २०७६/७७ मा नेपालमा लगानी गरेका विदेशी कम्पनीहरुले कुल १२ अर्ब ९० करोड ६० लाख रुपैयाँ लाभांश फिर्ता लिएका छन् । सो वर्ष सबैभन्दा उत्पादलनमुलक क्षेत्रबाट लाभांश बढी बाहिरिएको छ । उत्पादनमुलक क्षेत्रमार्फत् सो वर्ष ७ अर्ब ५२ करोड ७० लाख रुपैयाँ बाहिरिएको छ । सोही वर्ष बैंक तथा बीमा क्षेत्रमार्फत् ४ अर्ब ७९ करोड ९० लाख रुपैयाँ, शिक्षामार्फत् ३४ करोड ७० लाख, विद्युतीय उपकरणमार्फत ३ करोड २० लाख, निर्माण क्षेत्रमार्फत् ५ करोड, खाद्य सेवामार्फत् ४ करोड २० लाख र अन्य क्षेत्रमार्फत् ९ करोड ७० लाख रुपैयाँ लाभांश विदेशिएको छ । आर्थिक वर्ष २०७५/७६ मा २७ अर्ब ७८ करोड ३० लाख रुपैयाँ लाभांश बाहिरिएको राष्ट्र बैंकको सर्वेक्षणले देखाएको छ । सो आर्थिक वर्षमा पनि सबैभन्दा बढी सूचना प्रविधिको क्षेत्रमा लगानी गरेवापत बढी लाभांश विदेश फिर्ता भएको छ । सो वर्ष सूचना प्रविधिमा लगानी गरेवापत मात्रै १२ अर्ब ५४ करोड १० लाख रुपैयाँ लाभांश विदेशी कम्पनीहरुले फिर्ता लिएका छन् । सोही आर्थिक वर्ष उत्पादनमुलक क्षेत्रमा लगानी गरेवापत् पनि ९ अर्ब ७७ करोड ९० लाख रुपैयाँ लाभांश विदेशी कम्पनीले फिर्ता लिएका छन् । तीन आर्थिक वर्षको गणना गर्दा विदेशी लगानीका कम्पपनीहरुले कुल ६६ अर्ब ७६ करोड २० लाख रुपैयाँ लाभांश फिर्ता लिएका छन् । यो अवधिमा सबैभन्दा बढी सूचना प्रविधि क्षेत्रबाट बढी पैसा बाहिरिएको छ । सम्बन्धित सामग्री : एनसेलपछि धेरै लाभांश विदेश लानेमा सूर्य नेपाल, कुन कम्पनीले कति लगे ?

साउनमा गरिमा र ज्योति विकास बैंकबीच प्रतिस्पर्धा, १४ बैंकको नाफा पौने ७५ करोड

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो महिना अर्थात साउनमा विकास बैंकहरुले कुल ७४ करोड रुपैयाँ नाफा गरेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार १४ वटा विकास बैंकले कुल ७४ करोड ७० लाख ३४ हजार रुपैयाँ खुद नाफा गरेका हुन् । तथ्यांक अनुसार सबैभन्दा बढी नाफा गरिमा विकास बैंकले गरेको छ । गरिमा विकास बैंकले कुल १५ करोड ७० लाख ३६ हजार रुपैयाँ खुद नाफा गरेको छ भने दोस्रोमा ज्योति विकास बैंकले १३ करोड ५० लाख ४८ हजार रुपैयाँ खुद नाफा गरेको हो । यस्तै, साइन रेसुङ्गा बैंकले ९ करोड २० लाख, कामना सेवा विकास बैंकले ५ करोड, महालक्ष्मी विकास बैंकले ७ करोड २० लाख, सांग्रिला विकास बैंक ६ करोड ५० लाख, लम्बिनी विकास बैंकले ५ करोड ४० लाख र ग्रिन डेभलपमेन्ट बैंकले ५ करोड ३० लाख रुपैयाँ खुद नाफा गरेको छ । यस्तै, मितेरी विकास बैंकले ९० लाख, सप्तकोसी विकास बैंकले ५० लाख, सिन्धु विकास बैंकले ४० लाख, कर्पोरेट विकास बैंकले ३० लाख, सालपा विकास बैंकले २० लाख, गरिमा विकास बैंकले १० लाख रुपैयाँ खुद नाफा गरेको छ ।

बीमामा चाडपर्व लक्षित योजना किन बन्दैनन् ?

काठमाडौं । नेपालमा चाडपर्वको समयमा विभिन्न क्षेत्रले विभिन्न किसिमका अफरहरु ल्याउने गर्छन् । दशैं, तिहार छठ लगायतका चाडपर्वको अवसरमा बैंक लगायत अधिकांश कर्पोरेट अफिसहरुले आफ्ना क्षेत्रअनुसारका अफर ल्याउने गर्छन् । ग्राहकलाई आकर्षित गर्नको लागि पनि कम्पनीहरुले विभिन्न अफरहरु ल्याउने अभ्यास बढ्दै गएको छ । यो समयमा बजारमा पैसाको प्रवाह बढ्ने भएकाले पनि ग्राहकहरु विभिन्न क्षेत्रका अफरहरुमा आकर्षित हुने गर्छन् । बैंक, अटो लगायत विभिन्न क्षेत्रले विभिन्न स्कीम ल्याइरहँदा बीमा क्षेत्रले भने हालसम्म चाडपर्वलाई लक्षित गरेर कुनै पनि प्रकारको स्कीम ल्याएको पाइँदैन । बीमाले कम्पनीहरुलाई बीमा समितिको नीतिले नै यस्ता स्कीमहरु ल्याउन रोकेको जीवन बीमक संघका उपाध्यक्ष पोषकराज पौडेल बताउँछन् । बीमा कम्पनीहरुले दीर्घकालिन समयमा काम गर्ने भएकाले चाडपर्वमा ल्याउने अल्पकालिन योजनाहरु बीमाले नल्याएको उनको भनाइ छ । ‘ग्राहकले पनि चाडपर्व हेरेर बीमाको प्रडक्ट किन्ने पनि होइन, उनीहरुले त्यसमा भएका विशेषताहरु हेरेर किन्ने हो, बैंकले मासिक प्रडक्ट बनाउँछ, मासिक व्याजदरहरु निकाल्छ, त्यसैले मासिक प्रडक्टहरु पनि भिन्न हुन्छन्, तर बीमाको हकमा त्यस्तो हुँदैन, बीमाले एक पटक बनाएपछि २०औं वर्षसम्म बेच्ने हो, एकपटक बजारमा ल्याइसकेपछि लामो समयसम्म बिक्री गर्ने हो,’ सिटिजन लाइफका सीईओ समेत रहेका पौडेलले विकासन्युजसँग भने । बीमालाई यो समयमा यस्ता प्रडक्ट बेच्छु भन्ने सहजता नहुने भएकाले पनि बीमाले प्रकृतिअनुसारका प्रडक्ट ल्याउन नसक्ने उनको भनाइ छ । तर, बीमा कम्पनीहरुले चाडपर्वको अवसरमा अभिकर्ताहरुलाई कमिसन तथा इन्सेन्टिभको लोभ देखाएर पोलिसी बेच्ने गरेको पाइएको छ । राष्ट्रिय बीमा संस्थानका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कवि पाठक पनि बीमा कम्पनीहरुले चाडपर्वमा प्रडक्ट लक्षितभन्दा पनि एजेन्ट लक्षित स्कीमहरु ल्याउने गरेको बताउँछन् । ‘बैंकहरुले जस्तो ग्राहकलाई यति छुट दिने भन्ने किसिमका योजना बीमाले ल्याउन पाउँदैनन्, बीमा समितिले नै सिलिङ् तोकिदिएको छ, त्योभन्दा बाहिर गएर बिजनेस गर्न पाइँदैन,’ उनले भने । बीमक संघका अध्यक्ष चंकी क्षेत्री पनि बैंकहरुले जस्तो बीमा कम्पनीहरुले चाडपर्व लक्षित स्कीम ल्याउनै नमिल्ने बताउँछन् । ‘चाडपर्वको समयमा कम्पनीहरुले नयाँ प्रडक्ट निकाले मात्रै हो, बैंक तथा कर्पोरेट हाउसले जसरी छुट दिने भन्ने बीमामा हुँदैन र मिल्दा पनि मिल्दैन,’ सगरमाथा इन्स्योरेन्सका सीईओसमेत रहेको क्षेत्रीले विकासन्युजसँग भने । कुनै व्यक्तिले अभिकर्ता मार्फत् नगई सिधै कम्पनीमा गएर बीमा गर्यो भने उसले कमिसन छुट पाउँछ । तर, त्योभन्दा बढी छुट बीमा क्षेत्रमा नहुने क्षेत्री बताउँछन् । बीमा कम्पनीले कुनै व्यक्ति तथा सम्पत्तिको जोखिम बहन गर्ने भएकाले पनि कुनै प्रकारको स्कीम ल्याउन नमिल्ने पनि उनको भनाई छ । यता नेपाल इन्स्योरेन्सका नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) ईश्वर पोखरेल आफूलाई बीमा गर्नुपर्छ भन्ने अनुभव नभई मान्छेले बीमाको प्रडक्ट नकिन्ने बताउँछन् ।