बैंकबाट ऋण लिन बिचौलियाको प्रयोग, बैंकले नमान्दा फस्टायो मिटरब्याज
काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुमा लगानीयोग्य पुँजीको अभाव भइरहेको बेला बैंकबाट ऋण पाउन सकसको अवस्था छ । यो अवस्थामा ग्राहकहरुले बैंकबाट ऋण लिनका लागि बिचौलियाको नै प्रयोग गर्नु परेको देखिएको छ । मिटरब्याज अपराध नियन्त्रण सिफारिसस कार्यदलले बैंकबाट ऋण लिन बिचौलियाको प्रयोग गर्नु पर्ने बाध्यता रहेको देखाएको हो । गृहमन्त्रालयका सह–सचिव डा. भिष्मकुमार भुसाल संयोजक रहेको कार्यदलले बैंकले ऋण चुकाउन आधार नगर्दासम्म ऋण नदिने र ऋण नदिएपछि बैंकमा आउाँ बिचौलिया लिएर आउने अभ्यास देखिएको प्रतिवेदनमा उल्लेख गरेको छ । सो प्रतिवेदनमा ऋणको केही अंश तिनै बिचौलियाहरुले नै लैजाने गरेको पनि उल्लेख गरेको छ । यस्तै, कार्यदलको प्रतिवेदनले सहकारीभित्र पनि ठूलो बदमाशी भइरहेको देखाएको छ । ‘बैंक वित्तीय संस्थामा लागानी गर्ने पैसा छैन, थप्रै सहकारी दर्ता नै नभइ काम गरेका छन् जसको नियमन र कारवाही हुन सकेको छैन, बैंकमा बिचौलिया लिएर ऋण लिनु पर्ने अवस्था छ, ऋणको आधा अंश बिचौलियाले नै लैजान्छन्,’ प्रतिवेदनमा उल्लेख छ । अध्ययनबाट मिटरब्याजलाई विद्यमान कानुननले मुलुकी देवानी संहिता–२०७४ अनुसार ब्याख्या गरेको देखिएको हुनाले सो कानुनबाट पीडितले न्याय नपाउने पनि ठहर गरेको छ । कार्यदलले वैदेशिक रोजगारीमा जानको लागि लाग्ने खर्च व्यवस्थापन गर्न, बिरामी हुँदा उपचार गर्न, छोराछोरीको विवाह, ब्रतबन्ध, किरिया खर्च, चाडवाड खर्च लगायत सामाजिक संस्कारको कार्य गर्न, छोरा छोरीहरूको पढाईको खर्च तिर्न, दैनिक घर खर्च चलाउन, जग्गा जमिन किन्न, व्यापार व्यवसाय गर्न, खेतीको लागि आवश्यक मल बिऊ किन्न र बैंक तथा वित्तीय संस्थाहरूबाट लिएको ऋणको सावाँ ब्याज भुक्तानी गर्न, लगायत काम गर्न मिटबरब्याजमा ऋण लिने गरेको देखाएको छ । यस्तै, मानिसहरुले व्यवसाय गर्न, घर बनाउन, प्रशासनिक खर्चका लागि पनि मिटरब्याजमा ऋण लिने गरेका छन् । [pdf id=352066]
सरकारी कर्मचारीलाई दशैं भत्ता : कुन तहका कर्मचारीले कति पाउँछन् ?
काठमाडौं । नेपाल सरकार अन्तर्गत विभिन्न सेवामा जागिर खाने कर्मचारीहरुले वर्षको १ पटक चाडपर्व खर्च पाउने गर्छन् । यस्तो चाडपर्व खर्च नेपाल सरकारको राज्यकोषमार्फत पारिश्रमिक बुझ्ने शिक्षक, निजामती कर्मचारी, नेपाली सेना, जनपथ प्रहरी, ससस्त्र प्रहरी, जनस्वास्थ्य, विभिन्न संस्थान, बोर्ड र समिति लगायत कम्पनीहरुमा कार्यरत कर्मचारीहरुले पाउँछन् । कार्यरत कर्मचारी मात्रै नभएर जागिरबाट अवकाश भएर पेन्सन बुझ्दै आएका व्यक्तिहरुलाई पनि सरकारले चाडपर्व खर्च दिने गरेको छ । कर्मचारीहरुले प्राप्त गर्ने दशैंभत्ता बापत उनीहरुले बुझ्दै आएको मासिक तलब र ग्रेड अनुसार थप हुन आउने एकमुस्ट बापतको रकम प्राप्त गर्दछन् । कर्मचारीहरुले मासिक रुपमा तलब बुझ्दा सञ्चय कोष, बीमा र लगानी बोर्डमा जम्मा गर्नुपर्ने कट्टी गरेर हुन आएको रकम बुझ्छन । तर, दशैंमा प्राप्त गर्ने चाडपर्व खर्चमा भने सरकारले कर बाहेक कुनै शिर्षकमा रकम कट्टी नगरी उपलब्ध गराउने गर्दछ । सरकारी कर्मचारीहरुले यसरी राज्यकोषबाट वर्षको एकपटक प्राप्त गर्ने चाडपर्व खर्च उनीहरुको पदीय जिम्मेवारी अनुसार कायम भएको तलब र निर्धारण गरिएको ग्रेड अनुसार फरक–फरक हुन्छ । चालु आर्थिक वर्ष ०७९/८० मा मुख्य सचिवको लागि सरकारले ७७,२११ रुपैयाँ शुरु तलब स्केल कायम गरेको छ भने २ ग्रेडको व्यवस्था गरेको छ । मुख्य सचिवको प्रतिग्रेड २५७४ रुपैयाँ कायम गरिएको छ । जसअनुसार मुख्यसचिवले दशैंमा शुरुको तलबमा उनको कायम भएको ग्रेडअनुसार हुन आउने रकम जोडेर चाडपर्व खर्च प्राप्त गर्छन् । त्यस्तै, सरकारले चालु आर्थिक वर्षमा कार्यालय सहयोगी प्रथम स्तरको लागि शुरु तलब स्केल २४,७०२ रुपैयाँ कायम गरेको छ भने २ ग्रेडको व्यवस्था गरेको छ । कार्यालय सहयोगी प्रथमस्तरको प्रतिग्रेड ८२३ रुपैयाँ व्यवस्था गरेको छ । जसअनुसार अहिलेको दशैंमा कार्यालय सहयोगी प्रथम स्तरमा कार्यरत कर्मचारीले चाडपर्व खर्च स्वरुप शुरु तलब स्केल २४,७०२ मा थपिन आउने ग्रेड बराबरको रकम प्राप्त गर्छन् । सरकारले कर्मचारीहरुको विभिन्न तहअनुसार ग्रेडको व्यवस्था गरेको छ । सोही अनुसार नै उनीहरुको पारिश्रमिक सुविधा निर्धारण हुने गर्दछ । कर्मचारी कुनै तहमा नियुक्ति भएपछि पहिलो एकवर्ष सम्म उसको तलबमा ग्रेड नजोडिने व्यवस्था रहेको छ । जसअनुसार कुनै तहको सेवामा प्रवेश गरेको कर्मचारीको यो दशैंमा एक वर्ष समय पूरा भएको छैन भने उसले आफुले बुझ्दै आएको शुरु तलब स्केल बराबर मात्रै चाडपर्व खर्च प्राप्त गर्छ । सरकारले करारमा नियुक्ति भएका कर्मचारीहरुलाई पनि वर्षमा एकपटक चाडपर्व खर्च उपलब्ध गराउने गरेको छ । करारमा काम गरेका कर्मचारीहरुलाई ग्रेडको व्यवस्था नहुने भएकाले उनीहरुले भने मासिक रुपमा प्राप्त गर्दै आएको तलब अनुसार नै चाडपर्व खर्च प्राप्त गर्छन् ।कुनै कार्यालयमा काम सुरु गरेको ६ महिना अवधि पुगेको छ भने उसले यो सुविधा प्राप्त गर्ने नियममा उल्लेख छ।
मर्जरमा ग्लोबल बैंक अब्बल, २० बैंकमा ६७ संस्था बिलय, कुन बैंकले कसलाई गाभ्यो ?
काठमाडौं । नेपालको बैंकिङ्ग इतिहास लामो छ । यसअवधिमा बैंक तथा वित्तीय संस्थाको संख्या २७१ पुगेको छ । २०४० को दशक अघि नेपालमा बैंकिङ्ग अभ्यास न्यून थियो । तर, २०४० को दशकमा सरकारले वित्तीय उदारिकरणको नीति अबलम्वन गरेपछि बैंकिङ्ग क्षेत्रमा निजी क्षेत्रले प्रवेश पायो । र, एकपछि अर्काे बैंक खुल्ने क्रम बढ्यो । २०४० को दशकदेखि वि.सं. २०७४ सालसम्म २७१ बैंक तथा वित्तीय संस्था पुगे । सो अवधिमा ३२ वटा वाणिज्य बैंक, ९५ वटा विकास बैंक, ८७ वटा वित्त कम्पनी र ५७ वटा लघुवित्त वित्तीय संस्थाहरुले राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त गरे । तर, बैंक तथा वित्तीय संस्थाहरुको संख्या धेरै हुँदा राष्ट्र बैंकलाई नियमन तथा सुवरीवेक्षण गर्न कठिनाइ परेपछि संख्या घटाउन तर्फ राष्ट्र बैंक अग्रसर बन्यो । यसबीचमा राष्ट्र बैंकले संख्या घटाउनका लागि विभिन्न उपकरणहरु अगाडि बढायो । निजी क्षेत्रको लगानीमा बैंक तथा वित्तीय संस्थाहरुको स्थापना हुने क्रम बढ्न गई संख्या बढेपछि अस्वस्थ प्रतिस्पर्धा र संस्थागत सुशासनको अभावमा कतिपय संस्थाहरु समस्याग्रस्त हुने, इजाजतपत्र नै खारेज गर्नुपर्ने तथा सम्बद्ध पदाधिकारीहरुलाई समेत कारवाही गर्नुपर्ने अवस्था आउन थालेको भन्दै राष्ट्र बैंक संख्या घटाउन तर्फ लाग्यो । यस्ता गतिविधि रोक्न र नियन्त्रण गर्न राष्ट्र बैंकले पूँजी बढाउन लगाएर सक्षम र थोरै बैंक तथा वित्तीय संस्थाको आवश्यकता महसुस गर्यो र गाभ्ने/गाभिने तथा प्राप्तिको प्रक्रियाको नीति अगाडि सार्यो । राष्ट्र बैंकले चाहेअनुसार नै बैंक तथा वित्तीय संस्थाको संख्या ह्वात्तै घटाएर हाल १२६ वटा बैंक तथा वित्तीय संस्था मात्रै सञ्चालनमा छन् । राष्ट्र बैंकको तथ्याङ्क अनुसार २६ वटा वाणिज्य बैंक, १७ वटा विकास बैंक, १७ वटा वित्त कम्पनी र ६५ वटा लघुवित्त वित्तीय संस्थाहरु सञ्चालनमा छन् । यो संख्या अझै घट्ने देखिन्छ । संख्या घटाउन मर्जर तथा एक्विजीशनमा जाने संस्थालाई सहुलियतको व्यवस्था समेत राष्ट्र बैंकले गरेको छ । राष्ट्र बैंक अहिले वाणिज्य बैंक र लघुवित्तको संख्या घटाउनमा जोड दिइरहेको छ । कुनै समयमा ३२ वटा वाणिज्य बैंक पुगेपनि हाल २६ वटामा सीमित छन् । केही बैंकहरु मर्जर तथा प्राप्तिको प्रक्रियामा रहेकाले यो संख्या अझै घट्ने निश्चित छ । हालसम्म २० वटा वाणिज्य बैंक मर्जर तथा प्राप्तिमा सहभागी भएका छन् । यी बैंकहरुले विभिन्न ६७ वटा बैंक तथा वित्तीय संस्थालाई मर्जर तथा प्राप्ति गरेको राष्ट्र बैंकले जनाएको छ । सेञ्चुरी कमर्सियल बैंक सेञ्चुरी बैंकले हालसम्म विभिन्न पाँच वटा बैंक तथा वित्तीय संस्थालाई प्राप्ति गरेको छ । बैंकले अल्पाइन डेभलपमेन्ट बैंक र सेती फाइनान्सलाई वि.स. २०७४ मंसिर २२ गते एकैदिन प्राप्ति गरेको थियो । त्यसअघि बैंकले सगरमाथा फाइनान्सलाई वि.स २०७४ असार ३१ गतेका दिन प्राप्ति गरेको थियो । बैंकले शुरुमा दुइटा बैंक इनोभेटिभ डेभलपमेन्ट बैंक र अरनीको डेभलपमेन्ट बैंकलाई सोही वर्ष जेठ २८ गते प्राप्ति गरेको थियो । राष्ट्रिय वाणिज्य बैंक सरकारको पूर्ण स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैंकले २०७५ बैशाख १९ गतेका दिन एनआइडीसी डेभलपमेन्ट बैंकलाई प्राप्ति गरेको छ । यसअघि यस बैंकलाई पनि मर्जर गराएर अन्य बैंकमा गाभ्नु पर्ने आवाज उठेपनि पछिल्लो समय भने वाणिज्य बैंकहरुमा नाफा आर्जन गर्नेमा एक नम्बरको बैंक बनेको छ । बैंक अहिले निजी क्षेत्रका वाणिज्य बैंकसँग प्रतिस्र्धाको दौरानमा छ । मेगा बैंक नेपाल हाल नेपाल इन्भेष्टमेन्ट बैंकसँग गाभ्ने÷गाभिने तथा प्राप्तिका लागि सम्झौता गरेको मेगा बैंकले पनि विभिन्न तीन वटा विकास बैंकलाई प्राप्ति गरेको छ । बैंकले २०७३ बैशाख १३ गतेका दिन पश्चिामाञ्चल डेभलपमेन्ट बैंकसँग मर्जर गरी एकिकृत कारोबार गरेको थियो । यस्तै, बैंकले २०७५ वैशाख ३० गते टुरिजम डेभलपमेन्ट बैंक र २०७७ असार २१ गते गण्डकी विकास बैंकलाई प्राप्ति गरेको थियो । ग्लोबल आइएमई बैंक हाल बैंक अफ काठमाण्डूसँग मर्जरको प्रक्रियामा रहेको ग्लोबल आइएमई बैंकले सबैभन्दा धेरै बैंक तथा वित्तीय संस्थालाई प्राप्ति गरेको छ । यस बैंकले पहिलो पटक २०६९ असार २५ गते लर्ड बुद्ध फाइनान्स र आइएमई फाइनान्सियल संस्थासँग मर्जर गरी एकीकृत कारोबार गरेको थियो । यस्तै, कमर्स एण्ड ट्रष्ट बैंकसँग २०७० चैत २६ गते, सोसियल डेभलपमेन्ट बैंक र गुल्मी विकास बैंकसँग २०७० असार ३० गते मर्जर गरेको थियो । यस्तै, २०७३ फागुन १ गते प्यासिफिक डेभलपमेन्ट बैंक, २०७४ असार २५ गते रिलायबल डेभलपमेन्ट बैंक र २०७६ भदौ १८ गते हाथवे फाइनान्सलाई प्राप्ति गरी एकीकृत कारोबार गरेको थियो । पछिल्लो पटक भने बैंकले जनता बैंकसँग २०७६ पौष ४ गते एकीकृत कारोबार गरेको थियो । जुन वाणिज्य बैंकहरुमा बिग मर्जरको संज्ञा दिइएको थियो । प्राइम कमर्सियल बैंक यस बैंकले हालसम्म विभिन्न ४ वटा बैंकलाई प्राप्ति गरिसकेको छ । जसमध्ये कन्ट्री देव र विराटलक्ष्मी विकास बैंकलाई २०७४ बैशाख १७ गते, कंकाई विकास बैंकलाई २०७६ भदौ २९ गते र कैलाश विकास बैंकलाई २०७६ चैत ७ गते प्राप्ति गरेको थियो । एनएमबि बैंक यस बैंकले विभिन्न ६ वटा वित्तीय संस्थालाई प्राप्ति गरिसकेको छ । जसमध्ये बैंकले पाथिभरा विकास बैंक, क्लिन इनर्जी डेभलपमेन्ट बैंक, भृकुटी डेभलपमेन्ट बैंक र प्रुडेन्सियल फाइनान्ससँग २०७२ साल कात्तिक १ गते एकीकृत कारोबार गरेको थियो । यस्तै, बैंकले ओम डेभलपमेन्ट बैंकलाई मर्जर गरी २०७६ असोज ११ गते र कन्चन डेभलपमेन्ट बैंकलाई प्राप्ति गरी २०७७ भदौ ७ गते एकीकृत कारोबार गरेको थियो । सिटिजन्स बैंक यस बैंकले हालसम्म विभिन्न बैंक तथा वित्तीय संस्था गरी कूल ६ वटालाई प्राप्ति गरेको छ । बैंकले पिपुल्स फाइनान्स र नेपाल हाउजिङ एण्ड मर्चेन्ट फाइनान्सलाई २०७२ बैशाख २५ गते, प्रिमियर फाइनान्सलाई २०७३ साउन २ गते, सहयोगी विकास बैंकलाई २०७७ असार २० गते, तिनाउ मिसन डेभलपमेन्ट बैंकलाई २०७७ चैत १४ गते र श्रृजना फाइनान्सलाई २०७८ असार २६ गते एकीकृत कारोबार गरेको थियो । कुमारी बैंक यस बैंकले पनि विभिन्न ५ वटा विकास बैंक र वित्त कम्पनीलाई प्राप्ति गरेको छ । बैंकले काँक्रेविहार विकास बैंक, पश्चिामाञ्चल फाइनान्स, महाकाली विकास बैंक र काष्ठमान्डप डेभलपमेन्ट बैंकलाई २०७४ असार १२ गते र देव विकास बैंकलाई २०७७ असार २८ गतेका दिन प्राप्ति गरी एकीकृत कारोबार गरेको हो । सानिमा बैंक बैंकले बागमति डेभलपमेन्ट बैंकलाई प्राप्ति गरी २०७३ पौष १९ गतेका दिन एकीकृत कारोबार गरेको हो । नेपाल इन्भेष्टमेन्ट बैंक हाल मेगा बैंकसँग मर्जरको प्रक्रियामा रहेको यस बैंकले विभिन्न कालखण्डमा ३ वटा संस्थालाई प्राप्ति गरेको छ । बैंकले एस डेभलपमेन्ट बैंकलाई २०७४ असार २९ गते, जेबिल्स फाइनान्सलाई २०७६ असार ३० गते र सिटी एक्सप्रेस फाइनान्सलाई २०७७ माघ १२ गते प्राप्ति गरी एकीकृत कारोबार गरेको थियो । एनआईसी एशिया बैंक बैंक अफ एशिया नेपाललाई प्राप्ति गरी २०७० असार ६ गतेका दिन एकीकृत कारोबार गरेको थियो । सिद्धार्थ बैंक बैंकले विजनेश यूनिभर्सल डेभलपमेन्ट बैंकलाई प्राप्ति गरी २०७३ असार ७ गते एकीकृत कारोबार गरेको थियो । बैंक अफ काठमाण्डू ग्लोबल आइएमई बैंकसँग मर्जर सम्झौता गरेको यस बैंकले लुम्बिनी बैंकसँग मर्जर गरी २०७३ असार ३० गते एकीकृत कारोबार गरेको थियो । सनराइज बैंक सनराइज बैंकले नारायणी नेशनल फाइनान्सलाई २०७३ असार ३० गते र एनआईडीसी क्यापिटल मार्केटलाई २०७३ माघ २८ गते एकीकृत कारोबार गरेको थियो । प्रभु बैंक प्रभु विकास बैंक, प्रभु फाइनान्स र वैभव फाइनान्सबीच २०७० असार ३० गते एकीकृत कारोबारपश्चात् प्रभु विकास बैंक सञ्चालनमा आएको थियो । साथै सो बैंकले २०७१ मंसिर ५ गते जेनिथ फाइनान्स, गौरीशंकर डेभलपमेन्ट बैंक र किस्ट बैंकलाई प्राप्ति गरेको थियो । यस्तै, प्रभु बैंक २०७३ माघ २ गते ग्राण्ड बैंक नेपालसँग मर्जर भएको थियो । माछापुच्छ्रे बैंक बैंकले स्ट्याण्र्डड फाइनान्ससँग मर्जर गरेर २०६९ असार २५ गते एकीकृत कारोबार गरेको थियो । एनसीसी बैंक बैंकले इन्फ्रास्ट्रक्चर, एपेक्स, सुप्रिम र इन्टरनेशनल डेभलपमेन्ट बैंकसँग मर्जर गरेर २०७३ पुष १७ गते एकीकृत कारोबार गरेको थियो । सिभिल बैंक हाल हिमालयन बैंकसँग मर्जर सम्झौता गरेको यस बैंकले यसअघि विभिन्न बैंकलाई प्राप्ति गरिसकेको छ । बैंकले सिभिलम मर्चेन्ट वित्तीय संस्था र इन्टरनेशनल लिजिङ एण्ड फाइनान्ससँग २०७३ कात्र्तिक १ गते, हामा मर्चेन्ट एण्ड फाइनान्स र यूनिक फाइनान्ससँग २०७४ असार १८ गते एकीकृत कारोबार गरेको थियो । लक्ष्मी बैंक यस बैंकले प्रोफेसनल दियालो विकास बैंकलाई प्राप्ति गरी २०७३ माघ २ गते एकीकृत कारोबार गरेको थियो । नबिल बैंक आफूलाई नम्बर एक दाबी गर्ने नबिल बैंकले पनि २ वटा संस्थालाई गाभिसकेको छ । यस बैंकले नेपाल बङ्गलादेश बैंकसँग २०७९ असार २७ गते र यूनाइटेड फाइनान्ससँग २०७८ असार २७ गते एकीकृत कारोबार गरेको हो ।