श्रमिकलाई पनि सेयर दिने माथिल्लो तमोरको योजना, ५५ अर्बको लागतसहित मंसिरदेखि निर्माण थाल्ने

<p>काठमाडौं । ताप्लेजुङमा निर्माण हुन लागेको २५५.२८१ मेगावाटको माथिल्लो तमोर जलविद्युत आयोजना मंसिरदेखि निर्माणको चरणमा प्रवेश गर्न लागेको हो । निजी क्षेत्रको सानिमा हाइड्रो समूहले निर्माण गर्न लागेको उक्त जलविद्युत आयोजनाले मंसिरदेखि निर्माणको प्रक्रिया थाल्ने जनाएको हो । तमोर सानिमा इनर्जीका अध्यक्ष पुष्पज्योति ढुङ्गानाले मंसिरदेखि निर्माणको चरणमा जाने र समयमै निर्माण सम्पन्न गर्ने बताए । [&hellip;]</p>

काठमाडौं । ताप्लेजुङमा निर्माण हुन लागेको २५५.२८१ मेगावाटको माथिल्लो तमोर जलविद्युत आयोजना मंसिरदेखि निर्माणको चरणमा प्रवेश गर्न लागेको हो । निजी क्षेत्रको सानिमा हाइड्रो समूहले निर्माण गर्न लागेको उक्त जलविद्युत आयोजनाले मंसिरदेखि निर्माणको प्रक्रिया थाल्ने जनाएको हो ।

तमोर सानिमा इनर्जीका अध्यक्ष पुष्पज्योति ढुङ्गानाले मंसिरदेखि निर्माणको चरणमा जाने र समयमै निर्माण सम्पन्न गर्ने बताए । उनले विद्युत खरिदबिक्री सम्झौता (पिपिए) हुने बित्तीकै काम सुरु गर्ने बताए ।  यो आयोजना ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका र फुङ्लिङ गाउँपालिको बीचमा रहेको छ ।

प्राधिकरणले यो आयोजनाबाट उत्पादित विद्युत खरिदका लागि बर्खायाममा प्रतियुनिट ४.८ रुपैयाँ, सुक्खायाममा पिकिङ अवधिका लागि प्रतियुनिट १०.५५ रुपैयाँ र ननपिकिङ अवधिका लागि प्रतियुनिट ८.४ रुपैयाँ निर्धारण गरेको छ ।

बिहीबार सो आयाेजनाकाे विद्युत खरिद बिक्री दर सम्बन्धमा सरोकारवालाहरुबाट सुझाव पनि लिइएको छ । कार्यक्रममा बोल्दै अध्यक्ष ढुङ्गानाले यो आयोजनाबाट कुल उत्पादित विद्युतीय ऊर्जा १४७९.८८ गिगावाट घन्टा रहेको छ । आयोजनाको अनुमानित कुल लागत ५५ अर्ब १५ करोड (कर्जाको ब्याजसहित) रुपैयाँ छ ।

अध्यक्ष ढुङ्गानाका अनुसार आयोजना निर्माणका लागि ७५ प्रतिशत बैंकबाट ऋण लिइनेछ । ऋणका लागि विभिन्न बैंकसँग प्रस्ताव गरिएको उनको भनाइ छ ।

यस्तै, उनले सो आयोजनाबाट सर्वसधारणलाईसँगै श्रमिकलाई पनि सेयर दिने धारणा राखे । ‘हामीले निर्माणका लागि जुट्ने श्रमिकलाई पनि सेयर दिन्छौं, सबैलाई जलविद्युत विकासमा लाग्न अनुरोध गर्छु, स्थानीयलाई त सेयर दिन्छौं नै फिल्डमा काम गर्नेले पनि सेयर हाल्छु भन्नुभयो भने उहाँहरुको काम गरेकाे रकम अनुसारकाे सेयर पाउनुहुन्छ, उहाँहरुले चाहनु भयो भने काम गरेवाफत् पाउने रकम उहाँहरुको सेयरका रुपमा रहन्छ,’ उनले भने । उनले आगामी ५ वर्षभित्र सो आयोजनाको निर्माण सक्ने योजना रहेको बताए ।

आयोजनाका जनरल म्यानेजर प्रकृतिराज तिमिल्सिनाले आयोजनाको रिटर्न अन इक्विटी (आरओआर) १५.९२ प्रतिशत हुने अनुमान गरिएको बताए । पिकिङ रन अफ दि रिभरमा आधारित यो आयोजनाले स्थानीय स्तरमा विकाससँगै देशको समग्र जलविद्युत क्षेत्रमा ठूलो योगदान पुर्याउने तिमिल्सिनाको भनाइ छ । यस आयोजनामा ४ सयभन्दा बढी प्रमोटर सेयरका रुपमा आवद्ध भएका छन् ।

यस्तै, कार्यक्रममा विद्युत नियमन आयोगका अध्यक्ष दिल्ली बहादुर सिंहले विद्युत विकासमा निजी क्षेत्रको योगदान महत्वपूर्ण रहेको धारणा राखे । उनले नेपाल विद्युत प्राधिकरणले मात्रै आयोजना निर्माण नगरी निजी क्षेत्रलाई पनि सक्रिय रुपमा सहभागी गराउनु पर्ने बताए ।

उनले छोटो अवधिमा पनि आयोगले धेरै काम गरेको बताए । उनले जनशक्तिको अभावका बिचपनि आयोगले महत्वपूर्ण काम गरेको जानकारी दिए । उनले आयोगले नियमनभन्दा पनि सकेसम्म सहजीकरणको काम गरिरहेको धारणा राखे ।

उनले विद्युत महसुल दुइपटक निर्धारण भइसकेको बताउँदै विद्युत खरिदबिक्री दर निर्धारण गर्ने काम पनि सक्रिय रुपमा काम गरिरहेको धारणा राखे ।

कार्यक्रममा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अब पिकिङ रन अफ दि रिभर आयोजना निर्माणमा ध्यान दिनु पर्ने बताए । उनले अहिले अधिकांश आयोजना रन अफ दि रिभरमा आधारित भएर निर्माण भएको बताउँदै मािथल्लो तमोरले पनि बिद्युत विकासमा महतवपूर्ण योगदान गर्ने बताए ।

यस्तै, उनले १०० मेगावाटभन्दा बढीको खरिदबिक्री दर निर्धारण विद्युत नियमन आयोगले गर्दै आएको बताउँदै ती आयोजनाहरुको आरओआर १७ प्रतिशतभन्दा बढी हुन नपाइने नीतिगत व्यवस्था रहेको धारणा राखे । यस्तै, उनले माथिल्लो तमोर अबको ६ वर्षभित्र निर्माण हुनेमा आफु विश्वस्त रहेको पनि धारणा राखे ।

Share News