कता हराए पूर्व अर्थमन्त्री डा. युवराज खतिवडा ?
काठमाडौं । पूर्व अर्थमन्त्री डा. युवराज खतिवडालाई नेकपा एकालेका अध्यक्ष केपी शर्मा ओलीको प्रिय पात्रका रुपमा चिन्ने धेरै छन् । डा. खतिवडामा शक्तिकेन्द्रलाई प्रभावित पार्न सक्ने खुबी र क्षमता भएको व्यक्तिका रुपमा पनि धेरैले चिन्छन् । त्यसैले पनि उनले धेरै संघर्ष गर्नु पर्दैन । संघर्ष यस मानेमा कि उनले अन्यको जस्तो फिल्डमा मरिमेटी काम गर्नु पर्दैन । उनले चाहेको काम वा पद पाउनकै लागि सम्बन्धित निकाय वा व्यक्तिलाई मोहनी लगाउन सक्ने उनमा क्षमता रहेको उनी निकटहरु बताउँछन् । माथिका विषयकाे पुष्टि उनले पाएको पद र संघर्षको तुलना गर्दा पनि प्रष्ट पार्छ । राष्ट्रिय योजना आयोगको उपाध्यक्ष, नेपाल राष्ट्र बैंकको गभर्नर, नेपाल सरकारको अर्थमन्त्री हुनुले पनि उनको शक्तिकेन्द्रलाई प्रभावित फार्न सक्ने खुवी प्रष्ट हुन्छ । उनको राजनीतिक यात्रा त्यति धेरै लामो छैन । तर, उनले संघर्ष र राजनीतिक हानथापविनै अर्थमन्त्रालय जस्तो महत्वपूर्ण मन्त्रालय हाँक्ने सुवर्ण अवसर पाए । वि.स. २०६६ सालमा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको सरकारले खतिवडालाई राष्ट्रिय योजना आयोगको उपाध्यक्ष पदमा नियुक्ती गरेको थियो । योजना आयोगको उपाध्यक्षको भूमिका निर्वाह गर्दागर्दै खतिवडा नेपाल राष्ट्र बैंकको गभर्नर बने । गभर्नरको पदावधी सकिएको केही समयपछि नै खतिवडालाई ०७२ सालमा ओली नेतृत्वको सरकारले पुनः राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बनायो । बामगठबन्धनको तर्फबाट ओलीको नेतृत्वमा सरकार बनेपछि तिनै खतिवडालाई पहिला अर्थमन्त्रीमा नियुक्ति गरेर पछि राष्ट्रपतिमार्फत् राष्ट्रिय सभा सदस्यको सपथ ग्रहण गराइयो । राजनीतिक पृष्ठभूमी नभएको व्यक्ति नेपाल सरकारको अर्थमन्त्री भएपछि तत्कालिन नेपाल कम्युनिष्ट पार्टी भित्र एक किसिमको मतभेद पनि सिर्जना भएको थियो । तर, उनी ओलीले रुचाइएको पात्र भएकै कारण पदमा टिकिरहे । पछि संवैधानिक रुपमा अर्थमन्त्रीमा रहिरहन नसक्ने अवस्था भएपछि तत्कालीन प्रधानमन्त्री ओलीले आफ्नो आर्थिक सल्लाहकार बनाए । त्यसलगत्तै उनलाई फेरि अमेरिकाको राजदुत बनाए । नेपाल सरकारको अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री भई ७औं मर्यादा क्रममा रहेर काम गरिसकेका खतिवडा १२ औं मर्यादा क्रमको राजदूूतमा सिफारिस हुँदा धेरैले आश्चर्य मात्र मानेन् डा. खतिवडा पदकै लागि जे र जस्तो पनि गर्न सक्ने रहेछन् भन्ने स्वयम् उनैले पुष्टि गरे । हुनत त्यस अघि पनि उनी पदकै लागि कुनै मर्यादा क्रम नहेर्ने व्यक्तिका रुपमा परिचित भइसकेका थिए । नेपाल सरकारको अर्थमन्त्रीबाट बाहिरिएको १० दिनमै उनी मन्त्रीसरहको सेवा र सुविधा पाउने गरी प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष आर्थिक सल्लाहाकार नियुक्त हुँदा मात्र होइन ८ औं मर्यादा क्रममा रहेको राष्ट्रिय योजना आयोगको उपाध्यक्ष भइसकेकोे व्यक्ति नेपाल राष्ट्रबैंकको ११ औं मर्यादा क्रममा नियुक्त भएर काम गर्नुले पनि उनी पदकै लागि कतिसम्म गर्छन् भन्ने कूरा पनि विगतका विभिन्न घटना क्रमहरूले पनि उनलाई प्रष्ट्याइसकेको थियो । अर्थमन्त्रीबाट राजीनामा दिएको २७ दिनपछि उनी फेरि अमेरिकाकोे राजदुुतमा सिफारिस भए । जुन नेपाल सरकारको मर्यादाक्रममा १२औं नम्बरमा पर्छ । जुन उनी नेतृतवमा रहेको मर्यादा क्रमको हालसम्मको तलको मर्यादाक्रम हो । अध्यक्ष ओलीका विश्वासपात्र हुनु नै खतिवडाका लागि एकपछि अर्को महत्वपूर्ण पद सुरक्षित हुने आधार भएको धेरैको बुझाइ छ । अहिले देश चुनावी माहोलमा होमिएको छ । नेताहरु जनताको घरदैलोमा व्यस्त छन् । जित आफ्नो पक्षमा पार्नका लागि नेताहरुले आफ्नो एजेण्डा लिएर जनतामाझ जान थालिसकेका छन् । तर, अर्थमन्त्री समेत भइसकेका एमालेका नेता डा.खतिवडा अहिले गुपचुप छन् । एमालेले प्रतिनिधिसभा र प्रदेशसभाका लागि प्रत्यक्ष र समानुपातिकमा सिट बाँडफाँड पनि गरिसकेको छ । एमालेमा कतिपय चर्चित अनुहारले पनि टिकट पाएका छैनन् भने कतिपय समानुपातिकमा परेका छन् । तर, पूर्व अर्थमन्त्री खतिवडाको नाम न प्रत्यक्षमा नत समानुपातिकमा । निर्वाचनमा आम जनतामा जाने, चुनौती मोल्ने र संघर्ष गर्ने विषय बिना नै लाभको पद पाउने शुनिश्चित भएपछि खतिवडाले उम्मेद्वारीको रुपमा आफूलाई अगाडि बढाउन नखोजेको एमाले स्रोत बताउँछ । एमालेले प्रतिनिधिसभाको समानुपातिकतर्फ ११० जनाको बन्द सूची निर्वाचन आयोगमा पेस गरेको छ । त्यस्तै एमालेले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १३९ स्थानमा उम्मेद्वारी दिएको छ । लामो समयदेखि राज्यको विभिन्न निकायको उच्च तहमा एमालेको तर्फबाट नियुक्ति भएर लाभ लिँदै आएका खतिवडा आगामी प्रतिनिधिसभाको निर्वाचनमा उम्मेद्वार हुन चाहेनन् वा उनलाई एमालेले उम्मेद्वार बनाएन ? उनी न कुनै नेताको उम्मेदवारी दर्तामा देखिएका छन् नत कुनै जनताको घरदैलोमा व्यस्त देखिन्छन् । आखिर कता हराए डा. युवराज खतिवडा ?
के अब सेयर बजार उकालो लागेको हो ? यस्तो भन्छन् लगानीकर्ता
काठमाडौं । दशैंअघिसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १८५३.७६ अकंमा थियो । तर, दशैंपछिको पहिलो दिन अर्थात् आइतबार ४४.६२ अंक बढेर १८९८.३८ अंकमा बन्द भयो । कारोबार रकम पनि रकम पनि दशैं अघिभन्दा केही बढी नै भएको छ । दशैंपछि खुलेको बजारमा हरियाली छाउँदा लगानीकर्तामा उत्साह छाएको छ । दशैं अघिसम्म ओरालो लाग्दै आएको सेयर बजार दशैं पछि भने बढ्ने अपेक्षा गरिएको छ । पछिल्लो सयम अर्थतन्त्र चलायमान र सूचकहरु बलियो बन्दै गएपछि सेयर बजार पनि बढ्ने अपेक्षा लगानीकर्ताहरुले गरेका हुन् । प्रदेश तथा प्रतिनिधि सभा निर्वाचन २०७९ को रौनक पनि जनतामाझ बढेको हुँदा सेयर बजार आगामी दिनमा बढ्ने सेयर विश्लेषकहरु बताउँछन् । बजारलाई अन्तराष्ट्रिय र राष्ट्रिय घटनाहरुले पनि प्रभाव पार्ने भएकाले विश्व अर्थतन्त्र चलायनमान भइरहेकाले सेयर बजार बढ्ने धारणा उनीहरुको छ । एक जना सेयर विश्लेषकका अनुसार दशैं पछिको सेयर बजार तरलताका आधारमा घटबढ हुन सक्ने बताउँछन् । हाल तरलता सहज भइरहेकाले सेयर बजार पनि माथि जाने उनको बुझाइ छ । आफ्नो नाम उल्लेख नगर्ने शर्तमा उनले दशैं पछि सेयर बजार लो लिक्वीडिटीमा अघि बढ्ने भएकाले कम भोलुममा चलखेल हुन सक्ने बताए । ग्लोबल रेसियो हेर्दा अर्थतन्त्रमा ठूलो प्रभाव पार्ने किसिमका गतिविधि भइरहेकाले सेयर बजार घट्न सक्ने उनको बुझाइ छ । ‘दशैं पछि माहोल हेर्दा सेयर बजार लो लिक्वीडिटीमा अगाडि बढ्छ, लो लिक्वीडिटीमा अगाडि बढ्दा कारोबार रकम कम हुने भएकाले चलखेल गर्ने सम्भावना बढी हुन्छ, कारोबार रकम तन्केर अघि बढ्छ तर, बजार बढेपछि बुलिसमा गयो भनेर निष्कार्ष निकाल्नु भने हुँदैन,’ उनले भने, ‘ग्लोबल रेसियो हेर्दा लास्ट टाइममा बजारमा प्रभाव परेको थियो, ताइवान र चाइना, रुस र यूक्रेनको युद्ध चलिरहेको छ, अमेरिकाले ताइवानलाई सहयोग गरेका कारण चाइनासँग पनि अमेरिकाको मनमुटाव छ, विश्व गतिविधि हेर्दा विश्व युद्ध नै नहोला भन्न सकिन्न ।’ अबको एक महिनाभित्र सेयर बजार २ हजार माथि जान सक्दैन भने बजारमा गाह्रो अवस्था आउन सक्ने उनको बुझाइ छ । अहिलेको अवस्थामा गाह्रो नपर्दा सम्म सेयर बिक्री नगर्ने सोच लगानीकर्तामा हुनु पर्ने उनले बताए । ‘सेयर बजार १६ सय इण्डेक्समा आएपनि खरिद गर्ने अवसरका रुपमा लिनुपर्छ, ३२ सयबाट धेरै ठूलो अंक तल झरिसकेको छ, २८ सयमा झर्दा बिक्री गर्नै पर्छ भन्ने थियो, गुजारा चलाउन गाह्रो भएको छ भने मात्रै बिक्री गर्ने हो तर बिक्री गर्नुपर्ने जरुरी छैन भने लगानीकर्ताले सेयर होल्ड गरेर बस्नुपर्छ, बजार अझै तल झरेको बेलामा खरिद गर्ने मुडमा हुनुपर्छ,’ उनले भने, ‘ट्रेडरले अहिलेको सिनारियोमा बजार घट्यो भने किन्ने र बजार बढेको छ भने बिक्री गर्नुपर्ने हुन्छ, टे«डरको काम भने बजारमा लिक्वीडिटी प्रोभाइड गर्ने हो ।’ लगानीकर्ता राधा पोखरेल बजारमा तरलता सहज हुँदै गएकाले बढ्ने अपेक्षा गरेको बताउँछिन् । अहिले लाभांश वितरणको सिजन पनि चलिरहेकाले पनि सेयर बजार सकारात्म रुपमा अघि बढ्ने उनको भनाइ छ । ‘बजारमा तरलता सहज अवस्थामा आयो भने सेयर बजार सकारात्मक रुपमा अघि बढ्न सक्छ, अहिले तरलता सहज अवस्थामा नै रहेकाले बढ्ने अपेक्षा छ, लाभांश वितरण गर्न सिजन पनि हो, बैंकहरुले नगद दिइरहेका छन्, यदि बैंकहरुले बोनस सेयर दियो ने सकारात्मक हुन्थ्यो तर बैंकहरुले नगदमा जोड दिएका छन्,’ उनले भने, ‘चुनाव पनि नजिक आइरहेको छ, यी सबै कुराहरु हेर्दा बजार बढ्ने अपेक्षा छ तर तरलता असहज भयो भने बढ्न नसक्न पनि सक्छ ।’ लगानीकर्ता विष्णु अग्रावल बजार अहिलेदेखि नै बढ्ने तर्क गर्छन् । यदि अहिले बजार नबढे मंसिरमा बढ्ने उनको धारणा छ । ब्याजदर किक आउट र तरलता सहज अवस्थामा रहेकाले सेयर बजार बढ्ने उनको अनुमान छ । ‘आइतबार बजार बढ्दा आगामी दिनमा पनि बढ्छ, ब्याजदर पनि किक आउट भइसकेको छ, ब्याजदर योभन्दा माथि बढ्न सक्ने अवस्था छैन, बरु अर्काे महिनादेखि ब्याजदर घट्ने सम्भावना छ, तरलता अभाव पनि पहिला जस्तो चर्काे छैन,’ उनले भने, ‘केही कुरमा तलमाथि भएपछि छुट्टै कुरा हो नत्र बजार बढ्छ, कि अहिलेदेखि बजार बढ्न सुरु गर्छ, होइन भने मंसिरको चुनावपछि बजार बढ्छ नै ।’ अहिले लाभांश सिजन र चुनाव पनि नजिक आइरहेकाले बजार बढ्ने उनको बुझाइ छ । अन्तराष्ट्रि अर्थतन्त्र हेर्दा केही दिनसम्म तल रहेपनि सबै ठिक अवस्थामा आउने उनले बताए ।
आर्थिक क्षेत्रका अगुवाहरु प्रतिनिधिसभा सदस्य बन्ने दौडमा
काठमाडौं । आगामी मंशिर ४ गते हुने संघीय र प्रदेश तहको लागि हुने निर्वाचनमा आर्थिक क्षेत्रका अगुवा तथा उद्योगी व्यवसायीहरुले उम्मेद्वारी दिने भएका छन् । उद्योगी व्यवसायीहरुले उम्मेद्वारीको लागि मुख्यतः ठूला राजनीतिक दललाई रोजेका छन् । अर्बपति बिनोद चौधरी नेपाली कांग्रेशको तर्फबाट नवरपरासी पश्चिम १ बाट प्रतिनिधिसभाको सदस्यका लागि उम्मेद्वार हुने भएका छन् । चौधरीलाई नेपाली कांग्रेशले नवलपरासी पश्चिम १ बाट उम्मेदवार बनाउने निर्णय गरेकाले उनी सो क्षेत्रबाट प्रतिनिधिसभाको उम्मेद्वार बन्ने भएका हुन् । चौधरी पछिल्लोपटक नेपाली कांग्रेशको तर्फबाट प्रतिनिधिसभामा समानुपातिक सदस्य रहेका थिए भने २०६४ मा नेकपा (एमाले)को तर्फबाट संविधानसभाको समानुपातिक सदस्य बनेका थिए । चौधरी पहिलोपटक प्रत्यक्ष प्रकृयाबाट निर्वाचन उठ्न लागेका हुन् । शिक्षा तथा स्वास्थ्य क्षेत्रमा ठूलो लगानी गरेका व्यवसायी उमेश श्रेष्ठ नेपाली कांग्रेशको तर्फबाट उम्मेद्वार बन्ने भएका छन् । अहिले प्रधानमन्त्री कार्यालयमा राज्यमन्त्रीको रुपमा रहेका व्यवसायी श्रेष्ठ नेपाली कांग्रेशको तर्फबाट चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यको लागि उम्मेद्वार बन्ने भएका हुन् । श्रेष्ठको प्रतिस्पर्धा नेकपा (एमाले)का कृष्णभक्त पोख्रेल र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग हुनेछ । प्रभु ग्रुपका पूर्व अध्यक्ष देवीप्रसाद भट्टचन प्रतिनिधिसभा सदस्य बन्नको लागि नेकपा (एमाले)को तर्फबाट समानुपातिक सूचीमा परेका छन् । एमाले पार्टीले उनलाई प्रतिनिधि सभा तर्फको समानुपातिक उम्मेदवारमा आदिवासी जनजाती समूहबाट सिफारिस गरेको हो । यसअघि उनी नेपाली कांग्रेसको संगठन विभाग उपप्रमुख पदमा थिए । उनी ललितपुर जिल्लाबाट सिफारिस भएका हुन् । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्व पौडेल नेपाली कांग्रेशको तर्फबाट चितवन निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यको लागि उम्मेदवार बन्ने भएका छन् । डा. पौडेलसँग अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)को आर्थिक सल्लाहकारको रुपमा काम गरेको अनुभव छ । पौडेल काठमाडौं विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टका ‘एसोसिएट प्रोफेसर’ थिए । उनीसँग यसअघि एक निजी बैंकमा निर्देशकका रुपमा काम गरेको अनुभव छ । मेडिकल कलेजका सञ्चालक तथा व्यवसायी डा. सुनिल शर्मा नेपाली कांग्रेशको तर्फबाट मोरङ क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यको लागि उम्मेद्वार बन्ने भएका छन् । बिराटनगरको नोबेल मेडिकल कलेज र काठमाडौंको काठमाडौं मेडिकल कलेजको सञ्चालक समेत रहेका छन् । ०७४ सालमा भएको प्रतिनिधिसभाको निर्वाचनमा शर्मा मोरङ क्षेत्र नम्बर ३ मा एमालेका भानुभक्त ढकालसँग पराजित भएका थिए । यसपटक पनि शर्माको प्रतिस्पर्धा नेता ढकालसँग नै हुनेछ ।