कर्मचारीलाई तलब खुवाउनै सकेन सरकारले, २० अर्ब ऋण उठाउँदै
काठमाडौं । कर्मचारीलाई तलब खुवाउन नसकेपछि सरकारले आन्तरिक ऋण उठाउने भएको छ । सरकारले नेपाल राष्ट्र बैंक मार्फत कर्मचारीलाई तबल खुवाउनका लागि २० अर्ब आन्तरिक ऋण उठाउन लागेको हो । यस्तै, तत्काल भुक्तानी गर्न नसक्ने भएपछि सरकारले ८ अर्ब ६० करोड रुपैयाँ बराबरको पुरानो ऋणको समेत नवीकरण गर्ने तयारी गरेको छ । सरकारले २८ दिने ट्रेजरी बिलमार्फत ५ अर्ब रुपैयाँ, ९१ दिनेमार्फत ५ अर्ब, १८२ दिनेमार्फत ६ अर्ब र ३६४ दिनेमार्फत ४ अर्ब रुपैयाँ उठाउने छ । २८ दिने अवधिको ५ अर्ब र ९१ दिने अवधिको ३ अर्ब ६० करोड रुपैयाँ भने नवीकरण गर्नेछ । चालु खर्चधान्न नसकेपछि सरकारले धमाधम ऋण उठाइरहेको छ । सरकारसँग पैसा नभएपछि यसअघि नै अर्थमन्त्रालयले सेवा निवृत्त कर्मचारीको पेन्सन रोकेको थियो । चैत अन्तिम सातादेखि सरकारले असार मसान्तसम्मका लागि भन्दै पेन्सन पाकेका कर्मचारीको उपदान, औषधि उपचार खर्च र सञ्चित बिदाको रकम समेत रोकेको थियो । लक्ष्य अनुसारको राजश्व संकलन हुन नसकेका कारण सरकारी खातामा दबाब बढेको भन्दै महालेखा नियन्त्रक कार्यालयले तीन शिर्षकको रकम रोक्का गरेको थियो । मन्त्रालयले उपदान शीर्षकमा २ अर्ब, बजेट उपशीर्षकको १४ अर्ब र बिदाको १६ अर्ब रकम रोक्का गरेको थियो । अर्थ मन्त्रालयको निर्देशन अनुुसार महालेखाले सरकारी खातामा सुधार नआएपछि तीन शिर्षकको बजेट २०८० साल असार २० गतेसम्म भुक्तानी दिन कोष तथा लेखा नियन्त्रक कार्यालयहरुलाई पत्राचार गरिसकेको छ । राजश्व संकलन घटेको भन्दै अर्थसचिव तोयम रायले गत चैत १२ गते प्रदेश र स्थानीय तहमा जाने सशर्त अनुदानको २ खर्ब ४० अर्ब ८९ करोड रुपियाँ रोक्का गर्ने निर्णय गरिसकेको थिए ।
नयाँ स्टकका लागि व्यवसायिक घरानाबीच प्रतिस्पार्धा, यी हुन् नेशनल स्टक एक्सचेञ्जका सेयरधनी
काठमार्डौं । नयाँ स्टक एक्सचेञ्जका लागि व्यवसायिक घरानाहरुबीच प्रतिस्पर्धा देखिएको छ । हिमालयन स्टक एक्सचेञ्जपछि नेशनल स्टक एक्सचेन्जको पनि नेपाल धितोपत्र बोर्डमा आवेदन परेको छ । धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालका अनुसार आइतबार नेशनल स्टक एक्सचेन्जको आइतबार आवेदन परेको हो । ‘अहिलेसम्म दुइटा कम्पनीको मात्रै आवेदन परेको छ, समय साँझ पाँच बजेसम्म छ,’ हमालले विकासन्युजसँग भने । देशका ठूला उद्योगी व्यवसायीहरु हिमालयन स्टक एक्सचेजमा आवद्ध भएका छन् भने नेशनल स्टक एक्सचेन्जमा पनि ठूला व्यवसायिक घरानहरुको आवद्धता रहेको छ । यस स्टककमा बैंक र बीमा क्षेत्रका लगानीकर्ताहरुसागै अधिकांश गैर आवासीय नेपालीहरु लगानीकर्ताका रुपमा रहेका छन् । हिमालयन स्टक एक्सचेञ्जमा शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल, पशुपति मुरारका, शेखर गोल्छा, भवानी राणा, राजेन्द्र खेतान, अमित मोर, सौरभ ज्योति, जुनी गुरुङ, आशिष श्रेष्ठ, शशिकान्त अग्रवाल, रोहित गुप्ता, विवेक दुगड लगायतको लगानी छ । शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल प्रमुख लगानीकर्ताका रुपमा देखिएका छन् । उनको १५ प्रतिशत सेयर रहेको बुझिएको छ । यो स्टक एक्सचेञ्जमा दीपक भट्ट पनि जोडिएका छन् । यसमा भट्टको पनि १५ प्रतिशत लगानी छ । उनी इन्फिनिटी होल्डिङसमा आवद्ध छन् । नेशनल स्टक एक्सचेञ्जमा गैरआवासीय नेपाली संघका पूर्व अध्यक्ष कुमार पन्त, संस्थापक अध्यक्ष उपेन्द्र महतो, पूर्वअध्यक्ष जिवा लामिछाने, पूर्व अध्यक्ष कुल आचार्य लगायत एनआरएनको लगानी छ । यस्तै, यो स्टकमा केडिया ग्रुप, अग्नि ग्रुपका प्रबन्ध निर्देशक क्याविनेट श्रेष्ठ र सिद्धार्थ बैंकका अध्यक्ष मनोज केडिया लगायतको लगानी रहेको पनि बुझिएको छ ।
मर्जरमा गएका बैंकहरुको हालत खराब
काठमाडौं । राष्ट्र बैंकको बिग मर्जरको नीति अनुसार गत वर्ष एक दर्जन वाणिज्य बैंक मर्ज भए । बैंक तथा वित्तीय संस्थाहरुको संख्या बढी भएका कारण अस्वस्थ प्रतिस्पर्धा बढेको भन्दै मर्जरका लागि राष्ट्र बैंकले जोड दियो । जसको कारण गत वर्ष १२ वटा बैंक मर्जर प्रक्रियामा सामेल भएर ६ बैंकमा सीमित भए । गत वर्ष नबिल र नेपाल बङ्गलादेश बैंक, नेपाल इन्भेष्टमेन्ट र मेगा बैंक, ग्लोबल आइएमई र बैंक अफ काठमाण्डू (बिओके), हिमालयन र सिभिल बैंक, प्रभु र सेञ्चुरी बैंक र कुमारी र एनसीसी बैंकबीच मर्ज सम्पन्न भयो । हाल लक्ष्मी र सनराइज बैंक मर्जर प्रक्रियामा छन् । मर्जर पश्चात् बैंकहरुको बिजनेश ग्रोथमा फड्को मार्ने अपेक्षा गरिएको थियो । मर्जरले सिनर्जी सिर्जना गर्ने धेरैको धारणा थियो । तर, मर्जर पश्चात् पनि बैंकहरुको सिनर्जीमा खासै प्रगति नभएको जानकारहरु बताउँछन् । बिग मर्जरमा सामेल भएका बैंकहरुलाई मर्जर बिनै अन्य बैंकले पनि टक्कर दिन थालेको देखिन्छ । बैंकरहरु पनि मर्जर पश्चात् बैंकको बिजनेश ग्रोथ नभएको बताउँछन् । मर्जरमा गएर पूँजीमा अब्बल बनेको बताइरहने बैंकहरु अन्य सूचकमा भने कमजोर बनेका छन् । पूर्व बैंकर पर्शराम कुँवर मर्जरमा गएका बैंकहरुको सिनर्जी आजको भोलि नै नआउने बताउँछन् । मर्जरमा गएका बैंकहरुको लागत उच्च हुने भएकाले वित्तीय विवरण उत्साहजनक आउन अझै समय लाग्ने उनको भनाइ छ । ‘मर्जरमा गएका बैंकहरुको सिनर्जी तत्कालै आउँदैन, आजको भोलि नै उत्साहजन वित्तीय प्रतिवेदन आउँदैन, बैंकको सिस्टम राइट गर्नुपर्ने, मर्जरमा भएको खर्च व्यवस्थापन गर्नुपर्छ, मर्जरको सिनर्जी आउन १÷२ वर्ष अझै लाग्छ तर, सिनर्जी आउने गरी बैंकहरुले लय समातेका छैनन्,’ उनले भने । उनका अनुसार मर्जरमा गएका बैंकहरुले तथ्याङ्क तोडमोड गरेर सार्वजनिक गरेका छन् । हालै सार्वजनिक गरेको चालू आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरणमा मर्जरबाट आएका दुइटै बैंकको तथ्याङ्क भएपनि गत वर्षको तथ्याङ्कमा भने एउटै बैंकको मात्रै उल्लेख गरेको उनको भनाइ छ । ‘अहिले केही बैंकहरबीच सिनर्जी आउने किसिमको मर्ज भएको देखिँदैन, खराब खराब बैंक मर्ज हुँदा महाखराब हुन सक्छन्,’ उनले भने । राष्ट्र बैंकका कार्यकारी निर्देशक देव कुमार ढकाल मर्जरमा गएका बैंकहरुको वित्तीय विवरण उत्साहजन आयो वा आएन भन्दा पनि समग्रमा हेर्नु पर्ने बताउँछन् । अहिले मर्जरमा मात्रै नभएर मर्जरमा नगएका बैंकहरुको वित्तीय प्रतिवेदन खासै उत्साहजनक नभएको उनी पनि बताउँछन् । समग्र अर्थतन्त्रमा परेको प्रभाव वित्तीय प्रतिवेदनमा परेको उनको भनाइ छ । ‘बैंकिङ्ग क्षेत्र चुनौतिपूर्ण अवस्थामा भन्न मिल्दैन, पूँजी लगायतका सूचक हेर्ने हो भने बैंक तथा वित्तीय संस्थाहरु अब्बल नै छन्, बैंकको खराब कर्जा दर टाइट भएपनि त्यो पनि असहज अवस्था होइन, बैंक तथा वित्तीय संस्थाहरु कुनै असर गरेके छैन, राम्रा छन्, पछिल्लो समय अर्थतन्त्रमा देखिएको मन्दीको प्रभाव बैंकिङ्ग क्षेत्रमा देखिएको हो,’ उनले भने । उनले बैंकहरुको बिजनेश ग्रोथ, कर्जा विस्तार लगायतका हिसावमा विस्तारै सिनर्जी आउने बताए । कुनको अवस्था कस्तो ? नबिल बैंक गत असारमा नेपाल बङ्गलादेश बैंकलाई गाभेको नबिल बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा ५ अर्ब भन्दा बढी नाफा कमाएर बैंकिङ्ग क्षेत्रमा नम्बर वान बनेको छ । बैंकले सार्वजनिक गरेको वित्तीय विवण अनुसार चैत मसान्तसम्म ५२.६२ प्रतिशत नाफा बढाएर ५ अर्ब ११ करोड ६१ लाख रुपैयाँ आर्जन गरेको हो ।गत वर्षको सोही अवधिमा बैंकले ३ अर्ब ३५ करोड २० लाख रुपैयाँ मात्रै नाफा कमाएको थियो । समीक्षा अवधिमा बैंकको निक्षेप संकलन ११.४२ प्रतिशत बढेर ३ खर्ब ६३ अर्ब ४८ करोड र कर्जा प्रवाह ७.७६ प्रतिशत बढेर ३ खर्ब २३ अर्ब ५१ करोड रुपैयाँ पुगेको छ । बैंकको चुक्ता पूँजी २७ अर्ब ५ करोड रुपैयाँ पुगेको छ भने जगेडा कोष २५ अर्ब ५७ करोड रुपैयाँ रहेको छ । बैंकको तथ्याङ्क अनुसार वितणयोग्य नाफा १ अर्ब७७ करोड २० लाख रुपैयाँ रहेको छ ।९ महिनाको अवधिमा बैंकको प्रतिसेयर आम्दानी २५.२१ रुपैयाँ रहेको छ ।चैत मसान्तसम्म बैंकको खराब कर्जा दर बढेर २.७३ प्रतिशत बढेर ३.८७ प्रतिशत पुगेको जनाएको छ । ९ महिनाको अवधिमा बैंकको खुद ब्याज आम्दानी ८४ प्रतिशत बढेर १२ अर्ब १० करोड ११ लाख रुपैयाँ आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले ६ अर्ब ५९ करोड २ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक मेगा बैंकसँग मर्जर गरेको नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको तेस्रो त्रैमासमा २३ प्रतिशत नाफा बढाएर३ अर्ब ४ करोड रुपैयाँ आर्जन गरेको छ । गत आवको सोही अवधिमा बैंकले २ अर्ब ४७ करोड रुपैयाँ नाफा गरेको थियो । बैंकले ७ अर्ब ७९ करोड रुपैयाँ ब्याज आम्दानी गरेको छ । गत आवको सोही अवधिमा ३ अर्ब ९० करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । यो अवधिमा बैंकले ३ खर्ब ५० अर्ब निक्षेप संकलन गरेको छ भने ३ खर्ब ११ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ । गत आवको सोही अवधिमा १ खर्ब ८४ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको थियो भने १ खर्ब ५३ अर्ब रुपैयाँ कर्जा लगानी गरेको थियो । बैंकले मेगा बैंकसँग मर्ज गरेपछि हरेक सूचकमा सुधार आएको देखिएको छ । तर, सिनर्जी नै सिर्जना भने भएको देखिँदैन । बैंकको खराब कर्जा ३.९४ प्रतिशत पुगेको छ भने सीडी रेसियो ८७.०५ प्रतिशत कायम भएको छ । गत आवको सोही अवधिमा २.२० प्रतिशत खराब कर्जा थियो भने ९२.४३ प्रतिशत थियो । यो अवधिमा बैंकको वितरणयोग्य नाफा १ अर्ब २१ करोड रुपैयाँ रहेको छ ।यस्तै, बैंकको प्रतिसेयर आम्दानी १५.२० रुपैयाँ रहेको छ । ग्लोबल आइएमई बैंक ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू मर्जर भई बनेको ग्लोबल आइएमई बैंकको चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा१७ प्रतिशतनाफा वृद्धि भएर ४ अर्ब ३५ करोड रुपैयाँ गरेको छ । बैंकले गत आर्थिक वर्षको सोही अवधिमा ३ अर्ब ७२ करोड रुपैयाँ नाफा गरेको थियो । बैंकको निक्षेपसंकलन ४ खर्ब ९ अर्ब र कर्जा प्रवाह ३ खर्ब ६२ अर्ब रुपैयाँ गरेको छ । गत वर्षकोसोही अवधिमा बैंकले २ खर्ब ७६ अर्ब निक्षेप र२ खर्ब ५८ अर्ब कर्जा लगानी गरेको थियो । बैंकको हाल ३.९६ प्रतिशत खराब कर्जा पुगेको छ । गत वर्षको सोही समयमा बैंकको खराब कर्जा १.४५ प्रतिशत थियो । समीक्षा अवधिमा बैंकको वितरणयोग्य नाफा ९६ करोड २६ लाख रुपैयाँ रहेको छ । हिमालयन बैंक सिभिल बैंकलाई गाभे पश्चात् हिमालयन बैंकको खुद नाफा२४.४६ प्रतिशत बढेर १ अर्ब ७३ करोड रुपैयाँ गरेको छ । गत आवको सोही त्रैमासमा बैंकले१ अर्ब ३९ करोड रुपैयाँ खुद नाफा गरेको देखिन्छ । बैंकको यसअवधिमा निक्षेप संकलन ५६.५४ प्रतिशत बढेर २ खर्ब ६३ अर्ब रुपैयाँ रकर्जा प्रवाह ६१ प्रतिशत बढेर २ खर्ब ३७ अर्ब रुपैयाँ गरेको छ । बैंकको खराब कर्जा ४.५६ प्रतिशत पुगेको छ । गत आवको सोही अवधिमा ०.९९ प्रतिशत खराब कर्जा थियो । प्रभु बैंक सेञ्चुरी बैंकलाई गाभेको प्रभु बैंकको १ अर्ब ९५ करोड रुपैयाँ खुद नाफा गरेको छ । गत वर्षको सोही अवधिमा बैंकले १ अर्ब ७५ करोड रुपैयाँ नाफा कमाएको थियो । बैंकले तेस्रो त्रैमासमा २ खर्ब ७७ अर्ब रुपैयाँ निक्षेप संकलन र २ खर्ब ४५ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ । यस्तै, यो अवधिमा बैंकको खराब कर्जा ३.४८ प्रतिशत पुगेको छ । कुमारी बैंक नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकसँग मर्जर गरेको कुमारी बैंकले१ अर्ब ८२ करोड रुपैयाँ खुद नाफा गरेको छ । बैंकले गत वर्षको सोही अवधिमा १ अर्ब ८० करोड रुपैयाँ खुद नाफा गरेको थियो । बैंकले यस अवधिमा ३ खर्ब १० अर्ब रुपैयाँ निक्षेप संकलन र २ खर्र्ब ८५ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकको खराब कर्जा ३.९ प्रतिशत पुगेको छ ।