तरकारी, फलफूल र मासुमा पनि १३ प्रतिशत भ्याट लागू, बजेटपछि दोब्बरले बढ्यो भान्सा
काठमाडौं । सरकारले आलु, प्याज, स्याउदेखि मासु आयातमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाएपछि सर्बसाधारणको भान्छा महँगो भएको छ । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा.प्रकाशशरण महतले यसअघि दिदैँ ६०० प्रकारका बस्तुमा मूल्य अभिवृद्धि कर वा अन्तशुल्क छुट खारेज गरिएको घोषणा गरेका थिए । ‘सरकारले छुट तथा सहुलियत व्यवस्थामा पुनरावलोकन गरी करका आधार विस्तार गर्ने उद्देश्यले मूल्य अभिवृद्धि करका १७० र अन्तःशुल्कका ३४० छुटका दर खारेज गरेको छु,’ बजेट वक्तव्यमा उल्लेख छ । यसअघि तरकारी तथा फलफूलसहित १७० वस्तुको आयातमा सरकारले मूल्य अभिवृद्धि कर छुट दिएको थियो । यसअघि दिईएको छुट खारेज गरेर सरकारले बजेट मार्फत १ सय ७० वस्तुहरुमा १३ प्रतिशत भ्याट लगाउने घोषणा गरेअनुसार दैनिक उपभोग्य बस्तुको मूल्य बढ्न थालेको हो । सरकारको घोषणा अनुसार अब प्याज, केराउ, फ्रोजन सागपात, आलु, कोसे तरकारी, केराउ (छोडाएको वा नछोडाएको), बोडी (सिमी), पालुंगो, न्युजिल्यान्ड पालुंगोसमेत, गुलियो वा स्वादिलो मकै, अन्य सागपात र मिश्रित सागपातमा कर लगाइएको हो । एभोकाडो, स्याउ, श्रीफल (क्विन्स), खुर्पानी (एप्रिकोट), अमिलो चेरी, अन्य, स्ट्रबेरी, रेस्पबेरी र क्रेनबेरी, बिलबेरी, किबी फ्रुट, हलुवावेदलगायत फलफूलमा मूल्य अभिवृद्धि कर लागेको छ । कपास, ऊन, फ्रोजन खसीबोका, भेडा, चौपाया, कुखुरा, टर्की र हाँसको मासुमा पनि कर लगाइएको छ । सरकारले हवाईजहाजका पार्टपुर्जामा पनि कर लगाएको छ । यसरी भ्याट लगाउँदा आयात हुने वस्तु १३ प्रतिशत महँगिने भएको छ । अर्थमन्त्रालय अन्तरगतको राजस्व महाशाखाका प्रमुख रितेश शाक्य सरकारले उक्त वस्तुमा भ्याट लगाउने घोषणा गरेको भन्दै उनले न्यूनतम सीमा निर्धारण गरिएको बताए । ‘सरकारले ५० लाख रुपैयाँभन्दा बढीको आयातमा भ्याट लगाएको हो, उक्त सीमाभन्दा कम आयात गर्नेलाई भ्याट लाग्दैन’, उनले भने । मूल्य अभिवृद्धि कर नियमावली, ०५३ अनुसार वस्तुको हकमा ५० लाख रुपैयाँसम्म र वस्तु तथा सेवाको हकमा २० लाख रुपैयाँ भ्याटको सीमा तोकिएको उनको भनाइ छ । भन्सार विभागको तथ्यांक अनुसार नेपालमा बर्षेनी ३ खर्ब बढी रुपैयाँको कृषिउपज वस्तु र २८ अर्ब रुपैयाँ बरावरको तरकारी तथा फलफुल आयात हुने गरेको छ । गत आर्थिक वर्षमा ७१ करोडको स्याउ र ८ करोड ६७ लाख रुपैयाँभन्दा बढीको आलु आयात भएको तथ्यांक छ । सरकारको घोषणा अनुसार आलु, प्याज, स्याउ लगायतका वस्तुको उपभोग्य मूल्य बढ्न थालेको उपभोक्ता अधिकार मञ्चका अध्यक्ष माधव तिमिल्सिना बताउँछन् । उनका अनुसार आयातमै निर्भर हुनुपर्ने दैनिक उपभोग्य वस्तुमाथि सरकारले कर लगाउँदा त्यसको प्रत्यक्ष असर उपभोक्ताको भान्सामा परेको छ । ‘सरकारलाई देखाउँदै अहिले अधिकांश वस्तुको मूल्य बढाउन सुरु भैसक्यो, बजार अनुगमन गर्ने सरकारी निकाय वेखबर छ’, उनले भने । उनले पछिल्लो समय उपभोक्ताको क्रय शक्तिमा ह्राश आएको बेलामा बजारलाई चलायमान बनाउने सरकारको काम भएतापनि भ्याट थप गरेर बजारलाई महँगीतिर धकेलेको उनको भनाइ छ । उनका अनुसार सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेट उपभोक्ता केन्द्रित छैन । बजार अनुगमनका निकायमा जनशक्ति व्यवस्थापन, प्रयोगशाला निर्माण तथा बजार अनुगमनका लागि केन्द्रित गर्न सरकारको बजेटमा केही उल्लेख नभएको उनले बताए । उनले सरकारले आयातीत वस्तुको यकिन तथ्यांक नै ननिकालेर राजश्व संकलनका लागि मात्रै दैनिक उपभोग्य वस्तुमा सरकारले कर लगाएको बताए । ‘दैनिक उपभोग्य वस्तुको करमा कृषि, तथा पशुपन्छी विकास मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय मुख्य जिम्मेवार हुनुपर्छ, दुई मन्त्रालयसँग नेपाली उत्पादन कति छ, त्यसले कति समयको माग पूरा गर्छ, थप आयात कति गर्नुपर्छ यकिन तथ्यांक नै छैन, बीना जानकारी दैनिक उपभोग्य वस्तुमा मूल्य अभिबृद्धि कर थपियो’, उनले भने । उनले नेपाली उत्पादन बढाउन नयाँ कार्यक्रम नल्याई आयातीत वस्तुमा भन्सार थप गरिएको बताए । ‘नेपाली उत्पादनले बजार मागको १० प्रतिशत पनि माग धान्दैन, बाँकी ९० प्रतिशत आयातीत वस्तुको भर पर्नु पर्नेमा आयातीत दैनिक उपभोग्य वस्तुमै १३ प्रतिशत भ्याट लागु गर्दा त्यसको प्रत्यक्ष असर भन्सामा पर्ने उनको भनाई छ । दाल, चामल, तरकारी, आलु, माछामासु नेपाली उत्पादनले नपुगेर नै आयात गरिएको हो, राजश्व संकलनकै लागि सरकारले यस्तो वस्तुमा कर लगाएको उनले आरोप लगाए । ‘हाम्रो अत्पादन पर्यात छ भने आयातमा कर थप गर्नु एकदमै राम्रो हो, तर बजारको अध्ययन बीनै आयातकै भर पर्नुपर्ने वस्तुमा कर थप्नु भनेकै रावश्व बढाउनु हो’, उनले भने । सरकारले कर लगाएपछि अधिकांश वस्तुको मूल्य दोब्बर भएको छ । यसअघि ३५ रुपैयाँ पर्ने प्याज सोमबार ६० रुपैयाँ पुगेको छ । यस्तै, आलूको मूल्य पनि आइतबारको तुलनामा बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठ तरकरीमा १३ प्रतिशत भ्याट लगाइएको असर मूल्यमा परेको बताउँछन् । ‘बजेटकै कारण प्याज, आलु लगायतका तरकारी मूल्य बढेको हो, भारतीय बजारबाट आयात गरेका अधिकांश वस्तुको मूल्य बढ्छ’, उनले भने । उनले बजारमा आलु तथा प्याजकोे मौज्दात नहुँदा मूल्य बढेको हुन सक्ने अनुमान गरिएको बताए ।
जसले करोड खर्च गरेर पनि जागिर पाएनन्
काठमाडौं । धेरै खर्च गरेर पढ्ने विषयको अग्रस्थानमा पर्छ पाइलट । पाइलट कोर्ष पढ्नुलाई धेरैले प्रतिष्ठाको विषय मान्छन् । नेपालमा पढाई नहुने भएपछि पाइलट कोर्ष पढ्नका लागि नेपाली विद्यार्थीहरु अमेरिका, अष्ट्रेलियादेखि साउथ अर्फिकासम्म पुग्छन् । ८० लाख रुपैयाँदेखि एक करोड रुपैयाँसम्म खर्च गरेर वर्षेनी धेरै नेपालीहरु पाइलट कोर्स पूरा गरेर नेपाल फर्कन्छन् । तर, विडम्वना करोड खर्चर अर्बौं कमाउने चाहना भएका धेरै पाइलटहरु अहिले बेरोजगार छन् । लाखौँ खर्च गरेर विदेशको पढाई पूरा गरेर नेपाल फर्केकाहरु नेपालमा रोजगारी पाइरहेका छैनन् । पछिल्लो तथ्यांक अनुसार नेपालमा दुई सयभन्दा बढी पाइलटहरु बेरोजगार बस्न बाध्य छन् । नेपाल वायुसेवा निगमका पूर्व महानिर्देशक सुगतरत्न कंशाकार राष्ट्रिय ध्वाजाबाहकले जहाज नथप्दासम्म बेरोजगार पाइटलको संख्या बढ्ने बताउँछन् । ‘गएको ३५ वर्षमा ४ वटा जहाज खरिद गर्याे, मेरै पालामा मेरो नै जोडबलले निगमले २ वटा जहाज खरिद गरेको थियो, त्यसपछि थप २ वटा मात्रै जहाज खरिद गरेको छ’, उनले भने, ‘निजी वायुसेवा कम्पनीको तुलनामा सरकारी वायुसेवा कम्पनीको भूमिका धेरै हुनुपर्ने हो, त्यो भएको छैन, परिणामस्वरुप दक्ष जनशक्ति बेरोजगार बस्नु परेको छ ।’ जहाज थपिएसँगै पाइलटसहित अन्य कर्मचारीले समेत रोजगारी पाउने भन्दै उनले तत्काल निगमले जहाज खरिद नगर्नदासम्म बेरोजगार पाइलट थपिने क्रम बढ्ने बताए । ‘हामी पर्यटन उद्योगको खानी भएको देश, विश्वका अन्य देशमा भन्दा नेपाल पर्यटन उद्योगका लागि आवश्यक कच्चा पदार्थ धेरै भएको देशमा पर्छ’, उनले भने, ‘इथियोपिया जस्तो देश (सरकारी स्वामित्वमा इथियोपियन एयरलाइन्स सञ्चालन छ ) त्यहाँ पनि सरकारी स्वामित्वकै कम्पनीले १३५ भन्दा बढी जहाज खरिद गरेर उडान गर्दै आएको छ, तर हामीले ४ वटा जहाजबाट मात्रै उडान गरिरहेका छौं ।’ निजी क्षेत्रभन्दा पनि राष्ट्रिय ध्वजाबाहक कम्पनीले जहाज खरिद नर्गदासम्म यो समस्या समाधान नहुने उनको भनाइ छ । निगमले अन्तर्राष्ट्रिय उडानका लागि ८ र आन्तरिक उडानका लागि ६ वटा जहाज खरिद गर्नु पर्ने उनको भनाइ छ । कतिले लिए इजाजत ? नेपाल नागरिक उडड्यन प्राधिकरणबाट लाइसेन्स प्राप्त गर्ने पाइलटको संख्या ५८२ छ । जसमा ५४ महिला र ५२८ पुरुष छन् । प्राधिकरणका अनुसार १५६ जना पाइलटको लाइसेन्स मात्र नवीकरण छ भने ४२६ जनाको अनुमतिपत्र नै नवीकरण भएको छैन । प्राधिकरणको तथ्यांक अनुसार हालसम्म एयर ट्रान्सपोर्ट पाइलट लाइसेन्स (एटीपीएल) को ४०२ जनाले लिएका छन् । जसमा २७ महिला र ३७५ पुरुष छन् भने १८४ जनाको मात्र लाइसेन्स मान्यताप्राप्त छ । एटीपीएल हेलिकप्टर तर्फ ३३ जना पाइलटले लाइसेन्स लिएकोमा ८ जनाले मात्रै नवीकरण गरेका छन् भने सीपीएल हेलिकप्टरका लागि ७५ जनाले अनुमति लिएकोमा १९ जनाको मात्रै नवीकरण भएको छ । पाइलटले ६÷६ महिनामा लाइसेन्स रि–भ्यालिडेसन गर्नुपर्ने, २ वर्षमा टाइप रेटिङ गर्नुपर्ने र ५ वर्षसम्म बिमान नउडाएको अवस्थामा पुनः तालिम लिनु पर्ने हुन्छ । नियमित रूपमा लिइरहनु पर्ने तालिमका कारण पनि पाइलट अध्ययन र त्यसपछि पाइने अवसर महँगो भएको पाइलटहरु बताउँछन् । विदेशीने क्रम बढ्यो नेपालमै रोजगारी नपाएपछि रोजगारीका लागि विदेशिने पाइटलहरुको संख्या पनि बढ्दै गएको छ । क्यानको तथ्यांक अनुसार सात वर्षको अबधिमा ४ सयभन्दा बढी पाइलट विदेशिएका छन् । नेपालमा रोजगारी नभएकै कारण पाइलट अध्ययन गर्न विदेशिनेमध्ये आधाभन्दा बढी उतै सेटल हुने गरेको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूल बताउँछन् । प्राधिकरणको तथ्यांक अनुसार सन् २०१७ देखि सन् २०२३ सम्म नेपालबाट ६०९ जना पाइलट अध्ययन गर्न विदेशिएका छन् । जसमध्ये २०५ जना मात्रै स्वदेश फर्किएका छन् । सात वर्षको अवधिमा (सन् २०१७ देखि सन् २०२३ (हालसम्ममा) ४८४ पुरुष र १२५ महिला पाइलट अध्ययनका लागि बाहिरिएका थिए । यसमध्ये फिक्स विङ्ग्स विमानका १९५ र हेलिकप्टरका १४ जना पाइलट मात्र अध्ययन सकेर फर्किएका उनकोे भनाइ छ । यती एयरकी पाइलट आङतेमी शेर्पा पछिल्लो समय विभिन्न देशबाट अध्ययन सकेर नेपाल फर्कने पाइलटहरु बढ्दो क्रममा रहेको बताउँछिन् । ‘आजभन्दा १०/११ वर्षअघिको तुलनामा हाल डलरको रेट र हवाई इन्धनको मूल्य बढ्दा १ करोड रुपैयाँभन्दा बढी खर्च लाग्छ, १ करोडभन्दा बढी खर्च गरेर पढ्दा पनि तत्काल जागिर पाइने सम्भावना न्यून छ’, उनले भनिन, ‘साउथ अर्फिकामा मात्रै अहिले २० जना अध्ययनरत रहेको मैले जानकारी पाएको छु, अरु देशमा पनि अध्ययनकै क्रममा होलान्, तर पढेर सक्नासाथ जागिर पाइने सम्भावना न्यून छ ।’ उनले बीचमा रोजगारी पाइने क्रममा बृृद्धि भएकोमा कोरोना महामारीपछि आफूले अध्ययन गरेकै समयजस्तो भएको बताइन् । उनले समेत पाइटलको कोर्ष पूरा गरेर नेपाल फर्किएको साढे ३ वर्षपछि मात्रै जागिर पाएकी थिइन् । नेपालबाट बाहिर अध्ययन गर्न जाने पाइलटले अनिवार्य रूपमा प्राधिकरणबाट ‘नो अब्जेक्सन’ लेटर लिनुपर्छ । नेपालमा उडान अनुमति पाउन प्राधिकरणले तोकेकै संस्थाबाट तालिम लिएर आउनुपर्ने व्यवस्था छ । प्राधिकरणले दक्षिण अफ्रिका, फिलिपिन्स, अमेरिका, क्यानडा, माल्टा, न्युजिल्यान्ड, अस्ट्रेलिया, अर्जेन्टिना, थाइल्यान्डसहितका मुलुकमा जान अनुमति दिएको छ । ती देशहरुमध्ये पछिल्लो समय फिलिपिन्स, साउथ अफ्रिका र अमेरिका नेपालीको रोजाइमा पर्ने गरेको छ ।
आध्यात्मिक सीएको सेयर बजार यात्रा, ‘ध्यानले धन र जोखिम लिने क्षमता बढाउँछ’
एलपी भानु शर्मा अध्यात्म गुरु हुनुहुन्छ । शिक्षाले चार्टर्ड एकाउन्टेन्ट बन्नु भएका शर्माले पुँजी बजारसँगै शिक्षण पेशामा लामो समय बिताउनु भयो । पछिल्लो समय अध्यात्मिक जागरण फैलाउने संस्था जीवन विज्ञानमार्फत आध्यात्मिक शिक्षा फैलाउने क्रममा उहाँलाई धेरैले चिनेका छन् । योगाभ्यास, प्राणायाम र ध्यानमा मानिसहरुलाई अभ्यस्त गराउने जीवन विज्ञानको जागरण अभियान विश्वभर ४० भन्दा बढी देशमा फैलिएको र ३० लाखभन्दा बढी मानिसहरु यसमा अभ्यस्त भैसकेका छन् । प्रभु क्यापिटल लिमिटेडका अध्यक्ष समेत रहनु भएका शर्मासँग विकासन्युजका लागि सीआर भण्डारीले पुँजी बजार र अध्यात्म शिक्षाबारे कुराकानी गरेका छन् । मर्चेन्ट बैंकलाई पूँजी बजारको अंगका रुपमा लिइन्छ । तपाईं प्रभु क्यापिटलको अध्यक्ष हुनुहुन्छ । आध्यात्मिक चिन्तनमा लागेको ब्यक्ति कसरी पूँजी बजारमा जोडिनु भयो ? म शिक्षाले चार्टर्ड एकाउन्टेन्ट हुँ । वित्तीय क्षेत्रमा मैले लामो समय काम गरेको अनुभव छ । यो क्षेत्रमा रुची पनि छ । मान्छेको जीवनमा २ वटा कुरा आवश्यक पर्छ । मोटरमा ब्रेक र एक्सलेटर दुवै हुन्छ । एक्सलेटर मात्रै छ तर ब्रेक छैन वा ब्रेक मात्रै छ र एक्सलेटर छैन भने त्यो काम लाग्दैन । मान्छे पनि गतिशिल र शान्त दुवै हुन सक्नु पर्छ । एक्सलेटरमा गतिशिलता हुन्छ । अर्थतन्त्रका विभिन्न पाटाहरु गतिशिल हुन् । र, अध्यात्म शान्त, स्थीर रहने कला हो । यी दुवै अनिवार्य आवश्यक पर्छ । पूँजी बजारमा उतारचढाव हुन्छ । त्यो उतारचढावको बीमा हुँदैन । जो ब्यक्ति उतारचढावको मज्जा लिएर नाफा मात्रै गर्छु भनेर बजारमा प्रवेश गरेको हुन्छ, उसले दुःख पाउनु र मानसिक पीडा भोग्नु स्वभाविक हो । किनभने बजार उसको शैलीमा चल्दैन । हामी पनि प्रभु क्यापिटलमा संलग्न भएर बजारका लागि महत्वपूर्ण योगदान गर्दै आएका छौं । केवल धन कमाउने उद्देश्यले मात्रै नभइ मान्छेको जीवन परिवर्तन गर्न योगदान गर्न सकिन्छ भन्ने इच्छा वा सोच हो । आध्यात्मिक चेत शान्त र स्थीर हुन्छ भन्नुभयो, पूँजी बजार बारम्बार उथलपुथल हुने क्षेत्र हो । बजारमा उथलपुथल भएको बेला एउटा लगानीकर्ता कसरी शान्त रहन सक्छ ? आजको आजै सन्तुलन गर्न सकिँदैन । स्थीरता र शान्तको अभ्यास गर्नुपर्छ । यसलाई ध्यान भनिन्छ । जीवन विज्ञानमा गरिने सबै ध्यान शान्तिको अभ्यास हो । अभ्यास गरेर शान्तिको केन्द्र पत्ता लगायो भने उथलपुथलबाट प्रभावित हुँदैन । पूँजी बजारमा मात्रै नभएर हरेक क्षेत्रमा उथलपुथल भइरहेको हुन्छ । यदि सवारी चलयाएर कतै जानु हुन्छ भने कुनै ठाउँमा दुर्घटना हुनसक्छ । बाटोमा हिँड्दा कतै लड्न सकिन्छ । खाना खाँदाखेरी ढुंगा पर्न सक्छ । त्यसैले जोखिम जहाँ त्यही छ । गतिशिलता जीवनका हरेक अंगमा छ । गतिशिलताको एउटा नियम हुन्छ, त्यो हो जोखिम । अध्यात्मले ब्यक्तिलाई जब शान्त बनाउन सिकाउँछ तब ब्यक्तिको जोखिम लिने क्षमता पनि बढ्दै जान्छ । जो ब्यक्ति शान्त छ उसले बढी जोखिम लिन सक्छ । उदाहरणको रुपमा बिलगेट्सलाई लिन सकिन्छ । यदि ती ब्यक्ति शान्त हुँदैनथे भने यति धेरै काम गर्न सक्ने थिएनन् । जो ब्यक्ति धेरै काम गर्न सक्छ, उसको केन्द्र बिन्दुमा स्थीरता छ । तर, हामी गतिशिल मात्रै हुन खोज्छौं, स्थीर हुन खोज्दैनौं । यदि ब्यक्तिको भित्र मन शान्ति छ भने सन्तुलन आफै आउँछ । ब्यक्तिभित्रको शान्तिले कति जोखिम लिने र कति जोखिम नलिने भनेर टुंंगो लगाउन सक्छ । उतारचढावमा पनि धेरै प्रभावित नभइकन आफ्नो आधार रेखामा बस्नुपर्छ । मलाई यत्ति भए ठिक छ भनेर आधार रेखा निर्धारण गर्नु पर्ने हुन्छ । सन्तुलित हुने प्रयास गर्नु पर्दैन । अध्यात्मले ब्यक्ति भित्रको सन्तुलनलाई जागृत गरिदिन्छ । सन्तुलतको केन्द्र ब्यक्ति भित्र नै हुन्छ । पुँजी बजारमा लागेका मान्छेको ध्यान पैसामा केन्द्रीत हुन्छ । पैसा र अध्यात्म बीचको सम्बन्धलाई कसरी जोड्नुहुन्छ ? यी एक अर्काका परिपूरक छन् । मान्छेले बिना धन दैनिक जीवन यापन गर्न सक्दैन । यदि धन नै छैन भने के खाने ? अध्यात्म नगरेको मान्छे जहिल्यै पनि तनाव, हतार, आत्तिएको र असुरक्षाको गहिरो पीडामा रहन्छ । ध्यानले धन आर्जन गर्ने क्षमता बढाउँछ तर धनले ध्यान बढाउँदैन । त्यसकारण ब्यक्तिले ध्यान आर्जन गर्ने क्षमता बढाउँदा मात्रै धन आर्जन गर्न सिक्नुपर्छ । ध्यान र धन दुईटैलाई सँगसँगै लिनु पर्छ । पूँजी बजारमा दैनिक उतार चढाव हुँदा लगानीकर्ताहरु तनावमा हुन्छन् । लगानीकर्ताहरु शान्त जीवनमा बस्नका लागि आधात्मिक क्षेत्रबाट कस्तो सुझाव दिनु हुन्छ ? घाटा होस् या नाफा स्वस्थ शरीर चाहिन्छ । नाफा र घाटाले शरीरलाई असर गर्न थाल्यो भने धेरै समय टिक्न सकिँदैन । त्यो मान्छेले दीर्घकालसम्म काम गर्न सक्दैन । संसारिक जीवनमा उथलपुथलले कम प्रभाव पर्न सक्ने बन्नुपर्छ । पहिला आफ्नो स्वास्थ्यको रक्षा गर्नुपर्छ । स्वास्थ्यको रक्षा पैसा वा पूँजी बजारले गर्दैन । घाटा नाफा जेसुकै भएपनि हरेक दिन योगाभ्यास वा व्यायाम गर्नुपर्छ । स्वस्थ शरीर भएर मात्रै काम गर्न सकिन्छ । शरीरलाई स्वस्थ अरु कसैले पनि गर्दैन । धन आर्जन गर्नु पर्छ तर, स्वास्थ्यलाई बिगारेर वा गुमाएर होइन । जीवन विज्ञानले प्रत्येक दिन निश्चित तालिका र विधि दिन्छ । त्यो तालिका र विधिमा ब्यक्तिको स्वास्थ्य आफै राम्रो हुन्छ । व्यायाम गर्ने मान्छेको जीवनमा अनुशासन पनि हुन्छ । दीर्घकाल टिक्नका लागि अनुशासन आवश्यक पर्छ । स्थायी भएर काम गर्नु छ, अस्थायी होइन । रातारात केही पनि हुँदैन । जसरी शरीरको स्वास्थ्यका लागि योगाभ्यास गर्नु हुन्छ, त्यसैगरी मनको स्वास्थका लागि प्राणायाम गर्नुपर्छ । स्वास प्रस्वासका बिधिलाई प्राणायाम भनिन्छ । र, जीवन विज्ञानका प्राणायमका विधिहरु आधुनिक मनुष्यलाई लक्षित गरेर निर्माण गरिएका छन् । ५ मिनेट प्राणायाम गर्नुभयो भने तुरुन्तै आफ्नो तनाव फाल्न सकिन्छ । अध्यात्म मरेपछि स्वर्ग जाने होइन, जीवनलाई स्वर्ग बनाउने विज्ञान हो । परिवारलाई पनि स्वर्ग बनाउँछ । मान्छेलाई शान्ति र स्थीरता चाहिन्छ । यसको लागि ध्यान गर्नुपर्छ । योगाभ्यास, प्राणायाम र ध्यान हरेक दिन गर्नु भयो भने संसारमा सबैभन्दा ठूलो बीमा खरिद गरे सरह नै हुन्छ । बीमाले स्वास्थ र औषधि दिन सक्छ । धनले औषधि मात्रै दिन्छ । तर, स्वस्थ शरीर व्यायामले मात्रै दिन्छ । स्वस्थ शरीर दिने क्षमता ब्रम्हाण्डमा कसैको पनि छैन । ब्यक्तिको मनलाई शान्ति पनि कसैले गर्न सक्दैन । मनले खोजेको कुरा पैसाले किन्न सक्नुहुन्छ । तर, भएको कुरालाई उपभोग गर्न मन शान्त चाहिन्छ । जस्तो घरमा मिष्ठान्न भोजन पकाएको छ । तर, कोही मान्छे बिरामी छ भने मिष्ठान्नको फाइदा लिन सकिँदैन । योगाभ्यास, प्राणायाम र ध्यानलाई दैनिक जीवनको अंग बनाउनु पर्छ । यसलाई खाना खाए जस्तै बनाउनु पर्छ । यसलाई खाना भन्दा पनि बढी महत्व दिनुपर्छ । एक दिन खाना खानु भएन भने केही फरक पर्दैन, बरु व्रत नै हुन्छ । शरीर राम्रो हुन्छ । तर, एक दिन पनि योगाभ्यास, प्राणायाम र ध्यान गर्नु भएन भने समस्या आउँछ । त्यो समस्या बुढेशकालमा झनै देखिन्छ । तनावले मानिसहरुमा हानिकारक हर्माेनहरु उत्पादन हुन्छ । सेयर बजार दैनिक उथलपुथल हुँदा लगानीकर्ताले नचाहेर पनि तनाव लिएका हुन्छन् । लगानीकर्ताले यो कठिन जीवनबाट कसरी शान्त जीवन बनाउने ? यदि कोही मान्छे मोटरसाइकल चलाउँदै छ भने हेलमेट लगाउँदा दुर्घटना हुने सम्भावना कम हुन्छ । हेलमेट नलगाएर मोटर चलाएको छ भने दुर्घटना हुँदा असर बढी हुन्छ । जसरी हेलमेटले सुरक्षा गर्छ, त्यसैगरी आध्यात्मले भित्री सुरक्षा दिन्छ । आध्यात्मको पाठ सिकेको छ भने मान्छे ढुक्क हुन्छ । आफ्नो बलमा भरोसा धेरै गर्न सकिन्छ । जुन दिन आत्मबलमा भरोसा गरिन्छ, त्यो बेला बजार घटेपनि केही छैन, फेरी उठिहाल्छु भन्ने मान्यता राख्छ । मान्छेमा गहिरो आत्मविश्सास जन्मन्छ । जीवन विज्ञानको कार्यक्रमहरुले मान्छेको आत्मविश्वास जगाएर शान्त र स्वस्थ बनाउँछ । तनावको बेलामा कर्केश्वर हर्माेन जन्मिन्छ । जुन हर्माेनले सबै कुराहरु बिगार्छ । योगाभ्यास, प्राणायाम र ध्यान गर्नुभयो भने खराब तत्वहरु उत्पादन हुँदैनन् । शरीरमा नकारात्मक असरलाई हटाउन, मनलाई शान्त बनाउन योगाभ्यास, प्राणायाम र ध्यान गर्याे भने सकारात्मक हर्माेन उत्पादन हुन्छन् । तनावमा भएका लगानीकर्ताहरुले जीवन विज्ञानका योगाभ्यास, प्राणायाम र ध्यान गर्नुपर्छ । धेरै जना लगानीकर्ता, उद्योगपति जीवन विज्ञानमा आएर योगाभ्यास, प्राणायाम र ध्यान गरिरहनु भएको छ । जीवन विज्ञान मार्फत २० लाख मान्छेले फाइदा लिएका छन् । जीवन विज्ञानले ३० हजारभन्दा बढीलाई डिप्रेशनबाट जोगाएका छौं । नियमित रुपमा जीवन विज्ञानका कार्य गर्नु हुन्छ भने जीवनमा डिप्रेशन आउने कुरा शुन्य हुन्छ । जस्तो कम्प्युटरमा पहिला नै एन्टि भाइरस राख्यो भने कम्प्युटर ह्याक हुने सम्भावना न्यून हुन्छ । त्यसैले डिप्रेशनमा जानु भन्दा अघि नै योगाभ्यास, प्राणायाम र ध्यान गर्नु पर्छ । पूँजी बजारमा आज लगानी गरेर भोलि नै नाफा खोजिन्छ । तर, आध्यात्मले त्यस्तो भन्दैन । तपाईंले प्रवाह गर्नु भएको विचारसँग मेल खाँदैनन् नी ? पूँजी बजार, फलाम बजार, इट्टा बजार, आइटी बजार लगायत सबै बजार बिगार्ने भनेको लोभीपापीले हो । जसको मनमा अत्याधिक लोभ छ, उसले बजारलाई बिगार्छ । जो दीर्घकालिन रुपमा बजारमा प्रवेश गरेको छ, उसले बजारलाई पनि मद्दत हुने गरी काम गरेको हुन्छ । रातारात कमाउन खोज्ने मान्छेको हृदयभित्र धेरै लोभ हुँदा लोभले खान्छ । त्यो लोभ मनबाट उत्पन्न भएको हो । लोभ र पाप मनमा छ भने त्यसले कसैलाई पनि हित गर्दैन । त्यसैले दिगो काम गर्न चाहनु हुन्छ भने मनमा रहेको पापलाई फाल्नु पर्छ । लामो दौडको घोडा जस्तै बन्नुपर्छ । आजको भोलि कमाउन खोज्ने वा मनमा लोभपाप भएका ब्यक्तिलाई एक÷दुई वर्ष पछि फलफूल बोकेर अस्पतालमा भेट्न जानु पर्छ । आध्यात्मले दीगो काम गर्न सिकाउँछ । दीगो जीवन यापन गर्न सिकाउँछ । मर्चेन्ट बैंकरलाई उकास्नका लागि नियामक निकायले के गर्नुपर्छ ? नियामक निकायले अध्ययन र अनुसन्धानमा खर्च गर्नुपर्छ । एउटा स्थीर बजारले लाखौं ब्यक्तिको आम्दानी र रोजगारी सिर्जना गर्छ । बजार कल्पवृक्ष हो । बजार कामधेन हो । थीर बजार निर्माण गर्नका लागि अध्ययनशील ब्यक्ति चाहिन्छ । नियामक निकायले अध्ययन र अनुसन्धानमा लगानी गर्न जरुरी छ । मानव संशाधनको विकासमा लगानी गर्नुपर्छ । एउटा टिममा भिजन बनाएर काम गर्नुपर्छ । पूँजी बजारमा सूचना, सरोकारवालाहरुको जानकारी र शिक्षाको एकदमै ठूलो अभाव छ । लगानीकर्ता र बजारमा रहेका खेलाडीहरुको शिक्षालाई महत्वपूर्ण मानिन्छ । त्यो शिक्षामा नियामक निकायले आध्यात्मिक शिक्षामा जोड्नु पर्छ । पूँजी बजार विकास नहुनुमा राम्रा संस्थाहरु बजारमा नआउनु हो । राम्रा संस्थालाई बजारमा आउन प्रेरित गर्नु पर्छ । र, बजारमा आउने व्यवस्था मर्चेन्ट बैंकरहरुले गर्छन् । संस्थाहरुको भ्यालू डिस्कोभरी गर्ने कामका लागि मर्चेन्ट बैंकलाई तालिम दिनुपर्छ । लुकेर बसेका राम्रा संस्थाहरु आए भने बजारमा स्थीरता र दीगोपना आउँछ । नियामक निकायहरुमाथि आम जनताको धेरै ठूलो भरोसा हुन्छ । यदि सेबोनमाथि आम जनताको भरोसा रहेन भने कसैले पनि लगानी गर्दैन । त्यसकराण यी संस्थाहरु आफैं आध्यात्मिक बन्दै जानुपर्छ । ताकी लगानीकर्ताको यी संथाहरुमा विश्वास बढोस् । संस्थाहरु पनि आध्यात्मिक बन्नुपर्छ । यदि संस्थाहरु लोभ र पापमा छैनन भने लगानीकर्ताहरुको विश्वास पनि बढ्छ । नियामकको बारेमा एउटा पनि नराम्रो कुरा आयो भने त्यसले पुरै बजारलाई असर गर्छ ।