शाखा प्रमुख र अभिकर्ताको सेटिङ : नक्कली कागजात बनाएर कर्जा स्वीकृत

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पाेरेशन (एलआईसी नेपाल)को विरगञ्ज शाखा कार्यालयमा कार्यरत बिपिन कुमार साह ५ वर्षअघि रौतहटको गौर शाखा प्रमुख भएर सरुवा भए । एलआईसी नेपालमा एक दशकदेखि कार्यरत साहले गौर शाखामा करिब २ वर्ष काम गरे । गौर शाखामा अभिकर्ताको रुपमा विगत १९ वर्षदेखि कार्यरत थिए, सत्येन्द्र पाण्डे । सफल अभिकर्ताका रुपमा चिनिएका पाण्डे र शाखा प्रबन्धक साहको सम्बन्ध बलियो बन्दै गयो । अभिकर्ता पाण्डे बीमा सम्बन्धि कारोबारका लागि गौर शाखा धाइरहन्थे । कारोबारकै शिलशिलामा अभिकर्ता पाण्डे र शाखा प्रमुख साहको सम्बन्ध थप मजबुत बन्दै गयो । उनीहरु एकदमै मिल्ने साथी बने । नातेदार भने होइनन् । दुवै जना एक अर्काको कुरालाई नकार्न सक्दैनथे । आन्तरिक कुराहरु एक आपसमा साटासाट हुन थाले । शाखा प्रमुख साह र अभिकर्ता पाण्डे आफ्नो लक्ष्य पुरा गर्न रातदिन खटेर काम गर्न थाले । ‘शाखा प्रमुख साहलाई कम्पनीले दिएको विजनेश टार्गेट पुरा गर्न र अभिकर्ता पाण्डेलाई स्कीम अनुसारको कमिसन पाउन पर्ने कडा मेहेनत गर्थे,’ स्रोतले भन्यो, ‘दुवै जनाले आफ्नो लक्ष्य पुरा गर्न ग्राहकको नाममा कर्जा लिने काम गर्न थाले, डकुमेन्टको काम अभिकर्ता पाण्डेले मिलाउँथे भने कम्पनीको सिस्टममा ठिक्क पार्ने काम प्रमुख साहले गर्थे ।’ कम्पनीबाट कर्जा लिएर नयाँ बीमा लेख जारी गर्न थाले । सो अवधिमा ४३ वटा बीमा लेख जारी गरेको कम्पनी स्रोतको भनाइ छ । सो समयमा कम्पनीले ल्याएको करोडपति योजना तिनै अभिकर्ता पाण्डेले जिते । गौर शाखाले गरेको बिजनेसको प्रगति देखेर कम्पनीलाई पनि आशंका नलागेको होइन । सोही आशंकाले २ वर्षपछि प्रमुख साहको सरुवा तौलिहवा शाखामा भयो । अब दुई मिल्ने साथी साह र पाण्डेबीचको सम्बन्धमा दरार आउन थाल्यो । गौर शाखामा नेतृत्व गरेका साहले तौलिहवा शाखामा राम्रो पफर्मेन्स देखाउन सकेनन् । कर्जा नलिएका बीमितहरु समस्यामा परेको भन्दै गुनासो गर्न थाले । आफूहरुले कर्जा नलिएको भन्दै उनीहरुले हारगुहार गर्न थाले । यो बिचमा पाण्डे र साहको सम्बन्धमा दरार सिर्जना हुन थाल्यो । कम्पनीले अनुसन्धान अगाडि बढायो । प्रमुख साह र अभिकर्ता पाण्डेले नक्कली कागजहरु बनाएर बीमितहरुको नाममा कम्पनीबाट कर्जा लिएको प्रारम्भिक अनुसन्धानबाट खुल्यो । व्यवसायिक र वित्तीय स्वार्थ बाँझिने गरी दुवै जनाको मिलेमतोमा कर्जा लिएर आफ्नो फाइदा उठाएको कम्पनीको अनुसन्धानले देखायो । उनीहरुको मिलोमतोमा नक्कली कागजात बनाई बीमितको नाममा कर्जा लिएर रकम आफुले प्रयोग गर्ने गरेको भेटिएको कम्पनीको भनाइ छ । ‘यदि साहले स्वीकृत नगरेको भए यो समस्या आउने थिएन तर, कर्जा स्वीकृत गरेर शाखा प्रमुख साहले ठूलो गल्ति गरे, स्वार्थ बाँझिने गरी दुवै जनाले गलत काम गरेको देखिएको छ,’ कम्पनी स्रोतले भन्यो, ‘बिना डकुमेन्टेसन कर्जा स्वीकृत गरेको हुँदा प्रमुख साहको ठूलो गल्ति देखिन्छ ।’ स्रोतका अनुसार उक्त कर्जा रकम अभिकर्ता पाण्डेको नाममा ट्रान्सफर भएको हुँदा स्वार्थ देखिन्छ । तर, पाण्डे प्रमाणका आधारमा बलियो देखिन्छन् । किनभने उक्त कर्जा ग्राहकको नामबाट स्वीकृत गराएर पाण्डे आफूले चलाउने गरेको भेटिएको स्रोतको कम्पनी स्रोतको दावी छ । सो घटना बाहिरिएपछि प्रमुख साह र अभिकर्ता पाण्डेबीच उक्त समस्या समाधान गर्न पटक–पटक छलफल पनि भयो । दुवै जनाबीच सम्झौता भएर ग्राहकको रकम तिरेर पोलिसी निरन्तर गरेको भेटिएको कम्पनी स्रोतको दावी । ‘ग्राहकको समस्या समाधान भएपनि दुवै जनाले वित्तीय स्वार्थ हुने गरी ठगी गरेका छन्, प्रमुख साहको जागिर जाने सम्भावना छ, वित्तीय संस्थामा काम गर्ने ब्यक्तिले कसैको पैसा निकाल्नु सामान्य विषय होइन, अर्काको पैसा निकालेर अवैधानिक हिसाबले चलाउनु भनेको ठूलो वित्तीय ठगी हो,’ उनले भने । बिना कागजात शाखा प्रमुखले कर्जा स्वीकृत गरेको र सो घटनामा आफ्नो संलग्नता नरहेको अभिकर्ता सत्येन्द्र पाण्डे बताउँछन् । उक्त वर्ष आफ्नो १ करोड २४ लाख रुपैयाँ हिनामिना भएको उनको भनाइ छ । जसमध्ये ५० लाख रुपैयाँको प्रमाण आफूसँग सुरक्षित रहेको उनले बताए । उनका अनुसार आफू जस्तै ५० जना अभिकर्ता र ५ सय भन्दा बढी बीमाधारी पीडित छन् । बिपिनकुमार साहसँग कार्यालयमा काम गर्ने बाहेक अन्य सम्बन्ध नरहेको उनको प्रष्टिकरण छ । ‘कम्पनीले मलाई २०२१ मा करोडपति अवार्डबाट सम्मानित गरेको थियो, वर्षैपिच्छे प्रमाणहरु दिँदै आएको छ,’ उनले भने, ‘मेरो सम्बन्ध सबैसँग राम्रो छ । तर, सिस्टम र नियम खिलाप गरेकाले मैले आवाज उठाएको हो, कम्पनीले विश्वसनियता भङ्ग गर्याे भनेर मलाई कारवाही भयो ।’ उनले वार्षिक ३ करोड रुपैयाँ बराबरको कारोबार गरिरहेको धारणा राखे । उनी गौरस्थित आँखा अस्पतालमा काम गर्छन् । पार्ट टाइमको रुपमा बीमा अभिकर्ता भएर काम गरिरहेको उनको भनाइ छ । कम्पनीले सोमबार सूचना जारी गर्दै गौर शाखामा अभिकर्ताको रुपमा कार्यरत सत्येन्द्र पाण्डे र कर्मचारी (शाखा प्रबन्धक)विपीन कुमार साहलाई निलम्बन गरेको जानकारी दिएको छ । साथै, थप कानुनी कारवाहीको प्रक्रिया अघि बढिरहेको एलआईसी नेपालले बीमा प्राधिकरणलाई जानकारी गराएको छ । गैर–जम्मेवारपूर्ण रुपमा काम गरेको भन्दै अभिकर्ता पाण्डे र शाखा प्रबन्धक साहलाई तत्काल निलम्बन गरिएको र थप कानुनी कारवाहीका लागि नेपाल बीमा प्राधिकरणलाई जानकारी गराएको एलआईसी नेपालका सूचना अधिकारी सुदर्शन गिरीले बताए । गिरीका अनुसार गौर शाखामा अभिकर्ताको रुपमा कार्यरत पाण्डे र कर्मचारी कुमार साह दुवै जनाले मिलेमतोमा गैर–जिम्मेवारपूर्ण कार्यमा दोषी देखिएकाले निलम्बन गरिएको हो । ‘दुवै जनालाई गैर–जिम्मेवारपूर्ण कार्यमा प्रथम दृष्टीमै दोषी पाइएकोले निलम्बन गरिएको हो, थप कानूनी कारवाहीको लागि प्राधिकरणलाई जानकारी गराएका छौं,’ उनले भने । साथै, अभिकर्ता पाण्डेसँग आगामी दिनमा अभिकर्ताको हैसियतमा कुनै पनि कारोबार नगर्न कम्पनीले सबैलाई आग्रह गरेको छ । बीमा प्राधिकरण लगायत अन्य नियामकीय तथा नीति नियम र निर्देशिकाबाट सञ्चालित हुँदै आएको एलआईसी नेपालले बीमितहरुको बीमा रकम शतप्रतिशत सुरक्षित रहेको सूचना अधिकारी गिरीले बताए । ‘एलआईसी नेपालको नाममा चेक बनाएर ठगी गर्ने काम गरे, एलआईसीको नाममा चेक भएपछि अरुको पनि बीमा गर्न पाउँछन्, सो चेकबाट फरक–फरक ब्यक्तिहरुको बीमा गर्ने काम गरे,’ उनले भने, ‘त्यसबाट उनीहरुले कमिसन खाने काम, विदेश भ्रमण गर्ने काम गरे ।’ नेपाल बीमा प्राधिकरणका गुनासो व्यवस्थापन अधिकृत तथा उपनिर्देशक विरोध भट्टका अनुसार सो विषयमा प्राधिकरण राम्रोसँग जानकार छ । बीमितले कर्जा नमागेको भएपनि गलत प्रमाण जुटाएर कर्जा लिने काम अभिकर्ता पाण्डे र शाखा प्रबन्धक साहले गरेको आधारमा निलम्बन गरेको उनको भनाइ छ । नक्कली कागजकै भरमा शाखा प्रबन्धक साहले कम्पनीको प्रणालीमा कर्जा लिएको देखाउने गरेका थिए । एलआईसी नेपालको नाममा चेक बनाएर ठगी गरेको पुष्टि भएको उनको भनाइ छ । ‘यो मुद्दा अनुसन्धानकै क्रममा छ, बीमितको पैसा फिर्ता गरेर कर्मचारी र अभिकर्तालाई मुद्दा हालेर रकम असुल गर्नुस् भनेका छौं, अहिले बिमितको रकम फिर्ता गरिसकेको छ,’ उनले भने, ‘केही दिनभित्र सो मुद्दा किनारा लाग्छ, एलआईसीले अनुसन्धान प्रतिवेदन पेश गरेपछि प्राधिकरणले थप कारवाही गर्छ ।’

प्रिमियममा सानिमा रिलायन्स र सिटिजनबीच टक्कर, नेपाल लाइफको दोब्बर वृद्धि

काठमाडौं । जीवन बीमा व्यवसाय सञ्चालन गर्दै आएका कम्पनीले गत भदौसम्ममा २९ अर्ब १२ करोड ९८ लाख रुपैयाँ संकलन गरेका छन् । जुन गत वर्षको तुलनामा ११.८५ प्रतिशतले बढी हो । कम्पनीहरुले २०७९ भदौसम्ममा २६ अर्ब ४ करोड ३३ लाख रुपैयाँ संकलन गरेका थिए । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्कअनुसार समीक्षा अवधि अर्थात एक वर्षको अवधिमा जीवन बीमा क्षेत्रबाट ३ अर्ब ८ करोड ६५ लाख रुपैयाँ बढी प्रिमियम संकलन भएको छ । सञ्चालित १४ कम्पनीमध्ये सबैभन्दा बढी प्रिमियम नेपाल लाइफ इन्स्योरेन्सले संकलन गरेको छ । कम्पनीले २०८० भदौसम्ममा ८ अर्ब एक करोड रुपैयाँ प्रिमियम संकलन गरेको छ । जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४.९२ प्रतिशतले बढी हो । र, बढी प्रिमियम संकलन गर्नेको दोश्रो स्थानमा रहेका राष्ट्रिय बीमा संस्थानको तुलनामा दुई गुणा बढी हो । राष्ट्रिय बीमा संस्थान बिजनेसमा आक्रामक देखिएको छ । २०७९ भदौमा ८३ करोड ८८ लाख रुपैयाँ बराबरको प्रिमियम संकलन गरेको संस्थानले २०८० भदौसम्ममा ३ अर्ब ५६ करोड रुपैयाँ बराबरको प्रिमियम उठाएको छ । जुन प्रतिशतको आधारमा ३२५.३९ प्रतिशतले बढी हो । यता सानिमा रिलायन्स र सिटिजन लाइफ इन्स्योरेन्सबीच बीमाशुल्कमा कडा प्रतिस्पर्धा देखिएको छ । दुई कम्पनी मर्जभएर बनेको सानिमा रिलायन्सले एक अर्ब एक करोड ५९ लाख रुपैयाँ प्रिमियम संकलन गरेको छ भने सिटिजन लाइफले मर्ज बिनै एक अर्ब एक करोड १० लाख रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेको छ । प्रतिशतको आधारमा भने सानिमा रिलायन्सको बिजनेस १२.५५ प्रतिशतले बढेको छ भने सिटिजन लाइफको बिजनेस गत वर्षको तुलनामा ५.०५ प्रतिशतले खस्किएको छ । सर्वाधिक प्रिमियम संकलन गर्नेको सूचीमा भने यी दुई कम्पनी क्रमशः आठौं र नवौं स्थानमा छन् । संकलित प्रिमियमको आधारमा हिमालयन र नेशनल लाइफबीच पनि प्रतिस्पर्धा देखिएको छ । तीन कम्पनी मर्ज भइ बनेको हिमालयनले २ अर्ब ९५ करोड ७९ लाख रुपैयाँ प्रिमियम संकलन गर्दा मर्जरमा नगएको नेशनल लाइफले २ अर्ब ९० करोड ७७ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । सूचीको आधारमा हेर्ने हो भने हिमालयन लाइफ सर्वाधिक प्रिमियम संकलन गर्नेको तेश्रो स्थानमा छ भने नेशनल लाइफ चौथो स्थानमा देखिन्छ । समीक्षा अवधिमा अधिकांश कम्पनीको बिजनेस बढेको छ भने केही कम्पनीको खस्किएको छ । गत वर्षको तुलनामा बिजनेस खस्किएको सूचीमा लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल), नेशनल लाइफ, सूर्यज्योति, सिटिजन, मेट र सन नेपाल लाइफ रहेका छन् । यी कम्पनीको बिजनेस अधिकतम १० प्रतिशतसम्मले घटेको छ । यीमध्ये पनि सन नेपाल लाइफले सबैभन्दा कम बीमाशुल्क आर्जन गरेको छ । समीक्षा अवधिमा कम्पनीले ६३ करोड ७४ लाख रुपैयाँ बराबरको प्रिमियम संकलन गरेको छ । सञ्चालनमा रहेका १४ कम्पनीमध्ये ९ कम्पनीले एक अर्ब बढी प्रिमियम संकलन गरेर अर्बको क्लबमा प्रवेश गरेका छन् भने बाँकी ५ कम्पनी करोडको क्लबमा सीमित छन् । करोडको क्लबमा हुनेमा मेट लाइफ, प्रभु महालक्ष्मी, आइएमई, रिलायबल नेपाल र सन नेपाल लाइफ रहेका छन् ।

बैंकिङ क्षेत्रले गुमाउँदैछ भेट्रान बैंकर, एक वर्षको अवधिमा आधा दर्जनले छाडे जागिर

काठमाडौं । एक वर्षको अवधिमा नेपाली बैंकिङ क्षेत्रबाट लामो समय काम गरेका अनुभवी बैंकरहरु बाहिरिएका छन् । तल्लो तहबाट बैंकिङ्ग करिअर सुरु गर्दै वर्षौंसम्म बैंकिङ क्षेत्रमै बिताएर बैंकको नेतृत्व नै गरेका अधिकांश प्रमुख कार्यकारी अधिकृतहरु यस वर्ष बैंकिङबाट बाहिरिरिएका छन् । कतिपय बैंकरहरु उमेरहदका कारण बैंकबाट बाहिरिए, कतिपय मर्जरको चपेटामा परे भने कतिपयलाई बैंक सञ्चालक समितिले दोहोर्याउन नचाहेर बैंकबाट अलग भएका हुन् । पछिल्लो एक वर्षको अवधिमा आधा दर्जन अनुभवी बैंकरहरु बैंकिङ क्षेत्रबाट बाहिरिएका हुन् । अनुभवी बैंकरहरु धमाधम बैंकिङ क्षेत्रबाट बाहिरिनु यो क्षेत्रको विकास र विस्तारमा पक्कै पनि प्रभाव पार्छ । हामीले एक वर्षको अवधिमा बैंकिङबाट बाहिरिएका बैंकरको विषयमा सामग्री तयार पारेका छौं । नारायण दास मानन्धर नेपाली बैंकिङ क्षेत्रमा नारायण दास मानन्धरको योगदान, भूमिका र सक्रियता महत्वपूर्ण छ । ८० वर्षको उमेरसम्म बैंकिङमा सक्रिय भएर काम गरेका मानन्धर गत साउनमा प्राइम कमर्सियल बैंकबाट विदा भए । बैंकिङ्ग क्षेत्रमा साढे ५ दशक काम गरेका उनले उमेरको उत्तराद्र्धमा बैंक छाडे । प्राइम बैंकको स्थापना कालदेखि सीईओ रहेका मानन्धर २०२५ सालमा बैंकिङ्ग क्षेत्रमा प्रवेश गरेका थिए । मानन्धरले ५५ वर्षसम्म बैंकमा काम गरेर ८० वर्षको उमेरसम्म सक्रिय सीईओका रुपमा आफुलाई चिनाए । मानन्धरले विश्व खाद्य संगठनमा २ बर्ष, धान चामल निर्यात कम्पनीमा ४ बर्ष, राष्ट्रिय चामल कारखानामा २ बर्ष र भुमि सुधार कार्यालयमा २ बर्ष काम गरेका थिए । कृषि विकास बैंकको स्थापनाकालमा ११ वर्ष काम गरेका मानन्धरले राष्ट्रिय वाणिज्य बैकमा ५ बर्ष, लुम्विनी बैकमा २ बर्ष, नेपाल बंगलादेश बैकमा १ बर्ष र प्राइम बैंकमा १६ वर्ष सीईओको भूमिमा रहेर काम गरे । मानन्धरले एमकमसम्मको अध्ययन पुरा गरेका छन् । नेपाली बैंकिङ उद्योगमा उनको योगदान सधैं स्मरणयोग्य रहनेछ । कृष्णबहादुर अधिकारी नेपालको जेठो बैंकका रुपमा सञ्चालन हुँदै आएको नेपाल बैंकबाट सीईओका रुपमा काम गर्दै आएका कृष्णबहादुर अधिकारी सोमबार (असोज १५ गते) बैंकबाट विदा भए । वि.सं.२०७६ असोज १४ गते नेपाल बैंकको सीईओमा नियुक्त भएका अधिकारीलाई बैंक सञ्चालक समितिले दोस्रो कार्यकालका लागि नदोहोर्याएपछि उनी बैंकबाट बाहिरिन बाध्य भएका हुन् । नेपाल बैंकमा विभिन्न जिम्मेवारीमा रही दुई दशक बढी कार्य अनुभव हासिल गरेका अधिकारीले एमबिए र ईएमबिएसम्मको अध्ययन पुरा गरेका छन् । सीईओ अधिकारीको कार्यकालमा नेपाल बैंक अधिकांश सूचकमा अब्बल रह्यो । उनी सीईओ हुनुअघि लाभांश नपाएका सेयरधनीले उनी सीईओ बनेपछि लाभांश पाए । बैंकका कर्मचारीको सेवा सुविधा पनि उनी सीईओ बनेपछि नै थपिए । कर्मचारी र सेयरधनीका लागि अधिकारीको कार्यकाल नेपाल बैंकका लागि सम्झन लायक हुनेछ । सुमन शर्मा बैंकिङ क्षेत्रमा साढे ३ दशकको अनुभव भएका सुमन शर्मा एक कुशल बैंकर रुपमा परिचित छन् । तत्कालीन सनराइज बैंकको सीईओ भएर काम गरेका उनले सनराइज लक्ष्मीसँग मर्ज भएपछि बैंकबाट बाहिरिए । लक्ष्मी सनराइज बैंकको डीसीईओ बनाउने बैंक सञ्चालकको प्रस्तावलाई अस्वीकार गर्दै उनले गत असारमा बैंक छाडेका थिए । वि.सं. २०७७ माघमा साविक सनराइज बैंकको सीईओमा नियुक्त भएका शर्मा मर्जपछि बाहिरिएका हुन् । उनी त्यसअघि माछापुच्छ्रे बैंकमा २१ महिना सीईओ भएर सनराइज प्रवेश गरेका थिए । सन् १९९७ मा नेपाल एसबीआई बैंकबाट बैंकिङ्ग करियर सुरु गरेका शर्माले त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्र तथा भौतिकशास्त्रमा स्नातकोत्तर गरेका छन् । सन् २००५ मा नेदरल्याण्डको मास्ट्रिक्ट स्कूल अफ म्यानेजमेन्टबाट एमबिए स्नात्तकोत्तर हासिल गरेका शर्मा अर्थशास्त्र र एमबिए ईन फाईनान्समा स्वर्ण पदक विजेता समेत हुन् । नेपाल फर्केपछि शर्माले एनएमबी बैंकमा १० वर्ष, माछापुच्छे बैंकमा ३ वर्ष र ग्लोबल आईएमई बैंकमा ६ महिना काम गरेका थिए । अनिलकुमार उपाध्याय कृषि विकास बैंकमा ४ वर्षे सीईओको कार्यकाल सकिएपछि अनिलकुमार उपाध्याय गत पुस १० गते बैंकबाट बाहिरिए । वि.सं. २०७५ पुस १० गते बैंकको सीईओका रुपमा नियुक्त भएका उनी दोस्रो कार्यकालका लागि नदोहोरिएपछि बैंकबाट बाहिरिनु परेको हो । वि.सं. २०४३ जेठ १ गतेदेखि कृषि विकास बैंकमा लेखा अधिकृतबाट बैंकिङ्ग करियर सुरु गरेका उपाध्याय सो बैंकको विभिन्न पदमा रही काम गरेका थिए । उनले बैंकमा शाखा प्रमुख, विभागीय प्रमुख, कायमुकायम मुख्य निर्देशक, उपमहाप्रबन्धक हुँदै बैंकको सीईओ बनेका थिए । उपाध्यायको स्नातकोत्तरसम्मको शैक्षिक योग्यता रहेका छ । करिब ४ दशक लामो बैंकिङ्ग अनुभव हासिल गरेका उपाध्याय नेपाल बैंकर्स संघको अध्यक्ष समेत भएर काम गरेका थिए । श्रवणलाल मास्के साविक बैंक अफ काठमाण्डूमा सीईओ भएर काम गरिसकेका श्रवणलाल मास्के ग्लोबल आइएमई बैंकसँग मर्ज भएपछि वरिष्ठ डीसीईओ बनेका थिए । तर, ग्लोबल आइएमई बैंकमा प्रवेश गरेको ७ महिनामै उनी बैंकबाट विदा भए । स्वास्थ्य समस्या देखाउँदै बैंकबाट बाहिरिएका मास्केले बैंकिङ्ग क्षेत्रमा साढे ३ दशकको अनुभव छ । मास्केले नबिल बैंकबाट बैंकिङ्ग करियर सुरु गरेका हुन् । उनले नबिल बैंकमा २१ वर्ष, लुम्बिनी बैंकमा १० वर्ष र बैंक अफ काठमाण्डू (हाल ग्लोबल आइएमई बैंक)मा ७ वर्ष काम गरेर बैंकिङ्गबाट बाहिरिएका हुन् । मास्केले बिकमसम्मको अध्ययन पुरा गरेका छन् । सुनिल पोखरेल सिभिल बैंक हिमालयन बैंकमा गाभिएपछि सीईओ सुनिल पोखरेल नेपाली बैंकिङ्ग क्षेत्रबाटै बाहिरिए । हाल पपुवा न्यूगिनीको दि टिचर सेभिङ्ग एण्ड लोन सोसाइटी (टिसा) बैंकको सीईओ भएर काम गरिरहेका पोखरेलले सन् १९९१ बाट बैंकिङ करिअर सुरु गरेका हुन् । २० वर्ष तत्कालिन ग्रिण्डलेज (स्ट्यान्डर्ड चार्टर्ड) बैंकमा काम गरेका उनले एनआईसी एसिया बैंकमा करिब ५ वर्ष काम गरे । नबिल बैंकमा पनि काम गरेको अनुभव उनीसँग छ । पोखरेलसँग ३० वर्ष बढीको बैंकिङ्ग अनुभव छ । म्यानमारको युनाइटेड अमरा बैंक र एजीडी बैंकमा काम गरेका उनलाई धेरैले विदेशी बैंकिङ्ग सम्बन्धि राम्रो ज्ञान तथा अनुभव भएको बैंकरका रूपमा चिन्छन् । सिभिल बैंक हिमालयनमा गाभिएपछि उनलाई हिमालयन बैंकमा डीसीईओ बनाउने सम्झौता भएपनि उनले डीसीईओ बन्न अस्वीकार गरे । पूर्व बैंकर पर्शुराम कुवँर क्षेत्री पूराना बैंकर बाहिरिनु र नयाँ प्रवेश गर्नु ‘बगेको खोलाको संज्ञा’ दिन्छन् । उनले नयाँ पुस्ता बैंकिङको नेतृत्व लिएर पुराना बैंकर बाहिरिनु स्वभाविक भएको तर्क दिन्छन् । ‘यसलाई म एउटा चक्रका रुपमा लिन्छु, कुनै पनि क्षेत्र ‘पानीको पोखरी भन्दा पनि बगेको खोला’ जस्तै हुनु पर्छ, अनुभवी व्यक्तिको अनुपस्थितिले केही प्रभाव पारे पनि ठूलो असर गर्छ जस्तो मलाई लाग्दैन,’ उनले भने । पूर्व बैंकर अनलराज भट्टराई पनि यसलाई सकारात्मक रुपमा लिन्छन् । बैंकिङमा सीईओसँगै तल्लो तहका कर्मचारीहरु पनि अनुभवी हुने भएकोले त्यसले कुनै नकारात्मक प्रभाव नपर्ने उनको भनाइ छ । ‘बैंकिङ क्षेत्रमा सेकेण्ड म्यान पनि हुन्छ, बैंकको संरचना बलियो हुन्छ, तल्लो तहमा पनि अनुभवी बैैंकरण् हुन्छन्, सधैं सोही सीईओ बस्नु पर्छ भन्ने हुँदैन, पुराना बाहिरिँदा नयाँले अवसर पाउँछन्,’ उनले भने । कुनैबेला बैंकको संख्या बढी हुँदा धेरै अनुभव नभएकोले पनि छिट्टै बढुवा पाएको तर अहिले त्यस्तो अवस्था नभएको उनको भनाइ छ । ‘कुनै बेला छोटो समयमै उच्च तहमा पुग्ने अवस्था थियो, अहिले त्यस्तो अवस्था नभएकोले दोस्रो तेस्रो तहका कर्मचारी पनि अनुभवी नै हुन्छन्,’ उनले थपे, पुराना बैंकर बाहिरिए पनि उहाँहरुले बाहिरबाट सहयोग गरिरहेका हुन्छन्, उहाँहरुको अनुभव अन्य क्षेत्रमा पनि प्रयोग हुन्छ, जसको सकारात्मक प्रभाव देशको अर्थतन्त्रमै पुर्याउँछ ।’