काठमाडौं । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरुलाई काउन्टर साइक्लिकल बफर ०.५ प्रतिशत कायम गर्नु पर्ने व्यवस्था गरेको छ । राष्ट्र बैंकले बिहीबार एकीकृत निर्देशन जारी गर्दै आगामी असार मसान्तसम्म ०.५ प्रतिशत काउन्टर साइक्लिकल बफर कायम गर्नु पर्ने बताएको हो ।
उक्त व्यवस्थाअनुसार अब बैंकहरुले प्राथमिक पुँजीकोष (टायर वान) ९ प्रतिशत कायम गर्नु पर्नेछ । यसअघि ८.५ प्रतिशत कायम गर्नु पर्ने व्यवस्था थियो । यो व्यवस्थाले करिब आधा दर्जन वाणिज्य बैंकलाई प्रभाव पर्न सक्ने बुझिएको छ ।
हाल तीन वटा बैंकको टायर वान ९ प्रतिशतभन्दा कम छ भने आधा दर्जन भन्दा बढी बैंककाे टायर वान ९ प्रतिशतको हाराहारीमा छ । राष्ट्र बैंकको यो व्यवस्थाले यस वर्ष करिब एक दर्जन वाणिज्य बैंक समस्यामा पर्ने देखिन्छ भने बिजनेस विस्तारमा पनि ती बैंकहरुलाई ठूलो प्रभाव पर्नेछ ।
राष्ट्र बैंकको यो व्यवस्थाले हिमालयन, कुमारी, प्रभु, एनआईसी एशिया, सानिमा, माछापुच्छ्रे, लक्ष्मी सनराइज, सिद्धार्थ, नेपाल एसविआई र सिटिजन्स बैंक बढी समस्यामा पर्ने देखिन्छ ।