हलभित्र मारवाडी समूदायमाथि हमला, हलबाहिर दुर्गा प्रसाईंमाथि आक्रमण (भिडियोसहित)

काठमाडौं । विवादास्पद व्यवसायी दुर्गा प्रसाईंमाथि कालोमोसो दलिएको छ । सोमबार काठमाडौंस्थित एलोप्यागोडा होटलमा केही युवाले प्रसाईंमाथि कालोमोसो दलेका हुन् । प्रसाईंले होटलको हलभित्र यूट्युवर सम्मेलन गरी मारवाडी समूदायलाई हिलो छ्याप्ने काम गरेका थिए । त्यसपछि बाहिर निस्कँदै गर्दा केही युवाहरुले उनीमाथि कालोमोसो दलेका थिए । प्रसाईंले यूट्युवर सम्मेलनमा विशाल ग्रुप, त्रिवेणी ग्रुप, गोयल ग्रुपमाथि विभिन्न आरोप लगाएका थिए । विशाल ग्रुप, त्रिवेणी ग्रुप, गोयल ग्रुपले व्यापारको नाममा तस्करी गर्दै आएको, राज्यलाई कर नतिर्ने गरेको, बालमन्दिर, पशुपति विकास क्षेत्र लगायतको सार्वजनिक सम्पत्ति हडपेको, व्यवसायिक साझेदारसँग विवाद गरेर उनीहरुको सम्पत्ति कब्जा गरेको जस्ता आरोप लगाएका थिए । उक्त सम्मेलनमा प्रसाईंलाई साथ दिन राकेश अडुकिया, बैद्यनाथ अग्रवाल, रमेश अग्रवालले मञ्चमा बसेका थिए । कार्यक्रममा विशाल ग्रुप, त्रिवेणी ग्रुप, गोयल ग्रुपका मुख्य पात्रहरुको फोटोहरुसहित विभिन्न आरोप पेपर प्रस्तुत गरेका थिए । उक्त कार्यक्रम सकेर निस्केका प्रसाईं होटल परिसरबाट निस्कनै लाग्दा कालोमोसो दलिएको थियो । कालोमोसो दल्ने युवाहरुले प्रसाईं मेडिकल माफिया रहेको र मारवाडी समुदायमाथि धावा बोलेकोले कालोमोसो दलेको बताउँदै थिए । साथै, युवाहरुले दुर्गा प्रसाईं मुर्दावाद भन्दै नारा समेत लगाएका थिए । दुर्गा प्रसाईले बैंकबाट लिएको अर्बौं ऋण नतिरेको, दुवाईबाट सुन तस्करी गर्ने गरेको आरोप उनीहरुले लगाएका छन् । कालोमोसो दलिएपछि प्रसाईं सर्ट खोलेर भित्रि वस्त्रमा अनुहार छोप्दै होटलभित्र प्रवेश गरेका थिए । प्रसाईं आफैंले विगतमा बैंक तथा वित्तीय संस्था र लघुवित्त संस्थाका कर्मचारीलाई कालोमोसो दल्ने भनेर ‘कालोमोसो दस्ता’ घोषणा गरेका थिए । र, विभिन्न जिल्लामा बैंकका कर्मचारीमाथि कालोमोसो दलेका थिए । प्रसाईंले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कार र नागरिक बचाउ महाअभियान घोषणा गरेर विभिन्न व्यवसायीहरुलाई लक्षित गर्दै विवादास्पद अभिव्यक्ति दिँदै आएका छन् । साथै, उनले मारवाडी समुदायलाई लक्षित गर्दै सामाजिक सद्भाव भड्काउने गरी आपत्तिजनक शब्द बोल्दै आएका छन् ।प्रसाइले सामाजिक सद्भाव भड्काउने गरी आपत्तिजनक विचार व्यक्त गर्दै गर्दा त्यसलाई यूट्युवरहरूले उच्च प्राथमिकता दिने गरेका छन् ।

सरकारको निमन्त्रणामा अध्यक्ष बनें, ३० वर्षसम्म नभएका काम २० महिनामा भए

विश्व लगानीकर्ता सप्ताह कार्यक्रममा बजारसँग सम्बन्धित बैंकर संघ, ब्रोकर एशोसिएसन, नेपाल स्टक एक्सचेञ्ज (नेप्से), सिडिएस एण्ड क्लियरिङ्ग लगायतको उत्साहजनक सहभागी रह्यो । सामाजिक सञ्जालमा लेखिएका प्रतिक्रिया (कमेन्ट)हरु अध्ययन गर्दा हामीकहाँ वित्तीय साक्षरताको कमी रहेको प्रष्ट पारेको छ । नेपालको पूँजी बजारलाई फण्डामेन्टल अवधारणामा अन्तर्राष्ट्रियस्तरको बनाउन जरुरी छ । जुनसुकै नियामक निकायमा बस्ने अधिकारीहरुको सीमा र दायरा तोकिएको हुन्छ । देशको विद्यमान ऐन, नियमावली, निर्देशिका र कार्यविधि अन्तर्गत रहेर काम गर्नु पर्ने हुन्छ । पूँजी बजारको इकोसिस्टममा तथ्यमा एकरुपता हुनु पर्छ । म अध्यक्ष बनेदेखि मैले बुक बिल्डिङलाई प्राथमिकतामा राखेको छु । बुक बिल्डिङ अन्तर्राष्ट्रिय रुपमा स्थापित प्रणाली हो । ६ महिनाअगाडि सामूहिक रुपमा सम्बन्धित इस्यू कम्पनी, इस्यू म्यानेजर, नेप्से, सिडिएससी र सेबोनका पदाधिकारीको छलफलमा बुक बिल्डिङ्गमा के समस्या र किन अगाडि बढ्न सकिरहेका छैनौं भनेर छलफल गरेका थियौं । २ महिनाको समय दिएको भएपनि ६ महिना पुगेको छ । ४ महिना ढिला भइसकेको छ । ४ महिना ढिला भएपनि दुईवटा कम्पनीको प्रक्रिया अघि बढेको छ । बुक बिल्डिङ प्रक्रियालाई अन्तिम चरणमा पुर्याउने तयारी भइरहेको छ । बुक बिल्डिङ विश्वव्यापी मान्यता र सिस्टम हो भन्दैमा सबै समस्या समाधान हुँदैनन् । यदि मन मष्तिस्कमा गभर्नेन्स कन्सिसडेन्ट्ली छैन भने त्यसले पनि काम गर्न सक्दैन । नेपालमा कागजमा बलियो देखिएपछि सबै बलियो हुन्छ भन्ने बुझाइ छ । तर, हामी पूँजी बजारमा सम्बन्धित ब्यक्तिहरुले त्यसलाई अप्लाई गर्दैनौं । प्रिमियम विधि संसारमा छैन, फ्रि प्राइसिङ मात्रै छ । प्रिमियम भन्ने शब्द आफैंमा गलत हो । र, प्रिमियमा अनुमति दिने जुन निर्देशिका र कार्यविधि छ, त्यसअन्तर्गत कार्य अगाडि बढिरहेको छ । म पहिलो ब्यक्ति हुँ ! अहिले भएको प्रणालीले प्रिमियमा उठेका गुनासोलाई समाधान गर्न सकेन भनेर धितोपत्र बोर्डको सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने चार्टर्ड एकाउन्टेन्हरुको संस्था आइक्यानका उपाध्यक्षको संयोजकत्वमा समिति गठन गरिएको छ । जुन समितिले मूल्याङ्कन र प्रमणीकरण गर्ने प्रणाली लागू गरेका छौं । म आएपछि त्यो व्यवस्था लागू भएको हो । प्रिमियममा आईपीओ जारी गर्ने कम्पनीको हरेक फाइल त्यो समितिमा पठाइन्छ । त्यो समितिले मूल्याङ्कन र प्रमाणीकरण नगरेसम्म सेबोनले प्रक्रिया अघि बढाउँदैन । बुक बिल्डिङमा क्रस होल्डिङको चुनौति देखिएको छ । कहिलेकाहीँ नेपालमा क्रस होल्डिङ देखिँदैनन् । तर, क्रस होल्डिङ भएको हुन्छ । क्रस होल्डिङलाई कसरी समाधान गर्ने ? भनेर हामीले अध्ययन गरिरहेका छौं । यदि बुक बिल्डिङ पनि सुरु गर्याैं भने क्रस होल्डिङ किन नहेरेको भनेर विवाद निकालिन्छ । अरुको खुट्टा तान्नमा हामी धेरै अगाडि छौं । अर्थसमितिमा सांसदहरुसँग आँखामा आँखा जुधाएर आफूले हेर्ने ऐनामा आफ्नो अनुहार हेर्ने कोसिस गर्नुहोस्, रमेश हमालको अनुहार देखिँदैन । तपाईंले हेर्ने ऐनामा मेरो अनुहार देख्ने चेष्टा गर्नु भनेको मिसकन्सेप्सन हो । मेरो अनुहार त्यहाँ देखिँदैन । कसैले गोबर खान्छन् भने म पनि गोबर खान्छु भनेर सोच्नु पनि मिसकन्सेप्सन हो भनेर जवाफ दिएको थिएँ । हरेक विषयमा हाम्रा विचारहरु अलग-अलग हुन्छन् । कुनै पनि अर्थनीति आफैंमा पूर्ण हुँदैन । मलाई राम्रो लागेको अर्थनीति तथा फण्डामेन्टल अर्काे ब्यक्तिलाई राम्रो नलाग्न सक्छ । किताबमा लेखेकै कुरा हुनु पर्छ भन्ने हुँदैन । ४० वर्षदेखि खुला बजार नीति अपनाउँदा पनि देशको हालत यो अवस्थामा छ । हामी एकआपसमा अल्झिन व्यस्त छौं । सुधार वा रिफर्मका लागि बैज्ञानिक, तथ्यगत छलफल जरुरी हुन्छ । आलोचना गर्नकै लागि आलोचना गर्नु हुँदैन । सकरात्मक कुरा हेर्न जरुरी छ । सबै रोगहरु एकैदिनमा समाधान हुँदैन । म सेबोनको अध्यक्ष आफ्नो सोख र इच्छाले बनेको होइन । सरकारको निमन्त्रणामा सेबोनको अध्यक्ष बनेको हुँ । जुन कार्यदिशा सरकारलाई पेश गरेको थिँए, त्यतिखेरको कार्यदिशा सार्वजनिक गर्न तयार छु । त्यतिखेर मैले पेश गरको अर्थतन्त्रको खाकाको आकारमा जाने हो भने मेरो कार्यकालमा २ सय कम्पनीबाट ४ सय पब्लिक कम्पनी पुर्याउनु पर्छ । जबसम्म ठूला कम्पनी पब्लिकमा जाँदैनन् तबसम्म गभर्ननेन्स, राज्यको कर संकलन, नाफा लगायतकाे सुनिश्चित हुँदैन । कम्पनीहरु पनि पब्लिकमा गएपछि रिलायवल हुन्छन् । आज आईपीओ निष्काशन गर्न छिटो अनुमति दियो भनेर विरोध भइरहेको छ । विश्वका केही देशमा आईपीओ जारी गर्दा कर छुट दिने व्यवस्था छ । आईपीओका फाइलहरु दुई/तीन वर्षसम्म अड्किन्थे । मर्जर एश्विजिशनमा पनि २ वर्ष फाइल रोकिएका उदाहरण छन् । म अध्यक्ष भएपछि तीन दिनभित्र फाइल पास गर्ने की फेल गर्ने भन्ने प्रणाली लागू गरेको छु । विद्यमान ऐन, नियमावली, निर्देशिका, कार्यविधि अन्तर्गत तजबिजी हटाउनु पर्छ । कोही मान्छेले भेटेर फाइल पास हुने र नभेटे फाइल पास नहुने प्रणाली बन्द भएको छ । मान्छेको टाउको र अनुहार नहेरि फाइल पास हुने प्रणाली लागू भएको छ । यसलाई समग्र प्रगति भन्ने की १०/२० जनालाई चित्त दुख्यो भनेर विरोध गर्ने ? सेयर धितो कर्जालाई ब्यक्ति र संस्थालाई एउटैमा गाभिएको थियो । राष्ट्र बैंकका गभर्नरलाई भेटेर बैज्ञानिक रुपमा यसलाई छुट्याउनु पर्छ भनेर सुझाव दिएँ । ब्यक्तिगत र संस्थागत एउटै होइन । संस्थागतलाई खुला छोड्नु पर्छ भनेर सुझाएँ । तर, पुरै समाधान नभएपनि केही रकम बढेर आएको छ । राष्ट्र बैंकले पूँजी बजारलाई सकारात्मक प्रभाव पार्ने व्यवस्था पनि गरेको छ । एक घण्टाको बैठकमा राष्ट्र बैंकले प्राइभेट इक्विटी तथा भेञ्चर क्यापिटलको व्यवस्था गरेको छ । यसले नेपालको अर्थतन्त्रमा बहुआयामिक सकारात्मक प्रभाव पार्ने काम अघि बढेको छ । बैंकहरुलाई इक्विटी पनि लगानी गर्न दिने बाटो खुला गरेको छ । यसले लघु, मझौला तथा साना उद्यमीहरु र एसएमई स्टार्टअपलाई ठूलो टेवा पुग्नेछ । मार्जिन लेण्डिङ्ग, इन्ट्रा-डे ट्रेडिङ र अक्सनका लागि कार्यविधिको समितिले ६० प्रतिशत काम सम्पन्न भएको छ । दशैं अगाडि नै कार्यविधि तयार पार्ने लक्ष्य छ । अहिले बजारमा तरलता अभावको अवस्था छ, त्यसलाई यसले समाधान गर्नेछ । तरलताको समस्या समाधान गर्न गैर आवासीय नेपाली एनआरएनएलाई पूँजी बजारमा प्रवेशका लागि ठोस अध्ययन गरेर बोर्डमा पेश गरेका छौं । र, आजका दिनमा हामी कार्यान्वयनको चरणमा गइरहेको छाैं । त्यसका लागि विदेशी लगानीसम्बन्धी ऐन (फिता) नै संशोधन गर्नु पर्ने अवस्था छ । मन्त्रीपरिषदको निर्णय गरेर भएपनि अवरोधहरुलाई खुलाउने तयारी छ । जलविद्युत कम्पनीको सुधारमा धेरै काम भएका छन् । जलविद्युत क्षेत्रमा भएको केही चुनौतिलाई चिर्नलाई पहिलो पटक लकिङ प्रावधानलाई बैज्ञानिक बनाइएका छौं । नयाँ पुराना सबै लगानीकर्ताहरुलाई आईपीओ भर्ने/नभर्ने बारे पनि सिकाउनु परेको छ । सबैले आईपीओ भर्नु पर्दैन । सबैले दोस्रो बजारमा सेयर खरिद गर्नु पर्छ भन्ने छैन । खरिदबिक्री गर्नु भनेको विश्लेषण गर्नु हो । अनिवार्य कारोबार गर्नु पर्छ भन्ने हुँदैन । तर, १०/२० जनाको आवाजको भरमा देशको आर्थिक प्रणालीलाई नै चेतावनी दिन खोजिरहेका छन् । ३० वर्षसम्म नभएका कारवाहीहरु २० महिनामा गरेर देखायौं । बजारमा म्यानुपुलेसन, इनसाइडर ट्रेडिङका आशंका लगायतका सूचनालाई ठाउँको ठाउँ कारवाही गर्याैं । सामाजिक सञ्जालमा फेक पेज चलाएर बजारलाई प्रभावित पार्ने गतिविधि भइरहेका छन् । त्यस्ता गतिविधिलाई पनि हामीले कारवाही प्रक्रिया अगाडि बढाएका छौं । सिस्टमेटिक रुपमा हकप्रद सेयर जारी गर्दा आफूलाई अग्रज भन्ने ब्यक्तिहरुले सूचना मागे । यो पहिलो देश हो, जहाँ राइट सेयर जारी गर्दा सेयर मूल्य बढ्छ । किन सेयर मूल्य बढ्यो भनेर त्यसको पनि अनुसन्धान भइरहेको छ । कम्बोडियामा पूँजी बजार आएको १० वर्ष मात्रै भयो । त्यहाँ विदेशी लगानीकर्ताहरुलाई बिना बाधा प्रवेश गर्न दिइन्छ । केवाइसी अपडेट गर्याे भने विदेशी लगानीकर्ता सहज रुपमा प्रवेश गर्न पाउँछन् । कम्बोडियाको पूँजी बजारमा १६ प्रतिशत लगानीकर्ता विदेशी छन् । नेपालको पूँजी बजार ३० वर्ष भयो । तर, विदेशीलाई प्रवेशमा रोक छ । अब विदेशीलाई पनि लगानी गर्नका लागि बाटो खुला हुँदैछ । अब पुराना ब्रोकर कम्पनीलाई पनि दीर्घकालिन बनाउनु पर्नेछ । अब एकनएक दिन नेपालको पूँजी बजारलाई अन्तर्राष्ट्रिय बनाउनै पर्छ । (हमाल नेपाल धितोपत्र बोर्डका अध्यक्ष हुन् ।)

मलाई बैंकले पत्याएनन्, काठमाडौं भ्यू टावरको काम तत्काल अगाडि बढ्दैन-भेटवाल

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर २८ पुरानो बसपार्कमा निर्माणाधीन काठमाडौं भ्यू टावरको काम अगाडि बढाउन निर्माण कम्पनीलाई सकस परेको छ । निर्माण कम्पनीलाई आर्थिक अभाव भएपछि निर्माणाधीन भ्यू टावरको काम अगाडि बढाउन मुस्किल परेको हो । जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्स प्रालिका अध्यक्ष मनोज कुमार भेटवालले पुँजी जुटाउन नसकेपछि काम अगाडि बढाउन समस्या भएको बताएका छन् । ‘अहिले भ्यू टावरको काम पैसा नभएका कारण रोकिएको छ, बैंकहरुले पनि लगानी गर्न मान्दैनन्, पैसा नभएपछि परियोजना अगाडि बढाउन समस्या भइरहेको छ,’ उनले भने । काठमाडौं महानगरले २०६८ सालमा पुरानो बसपार्क हटाएर सार्वजनिक-निजी साझेदारी मोडलमा बहुपयोगी व्यावसायिक कम्प्लेक्स बनाउने योजना अघि सारेको थियो । सोही अनुसार टावर निर्माण र सञ्चालनको ठेक्का जलेश्वर स्वच्छन्द बिकोई बिल्डर्स प्रालिले पाएको थियो । काठमाडौं महानगरसँग निर्माण कम्पनीले सम्झौता गरेपछि २०७२ कार्तिकबाट उक्त भ्यूटावर निर्माणको काम सुरु भएको थियो । भ्यू टावर निर्माण सुरु गरेको ८ वर्ष बितिसकेको छ । भवन निर्माणको लागि कुनै पनि बैंकले निर्माण कम्पनीलाई कर्जा नदिएपछि निर्माण कार्य अस्तव्यस्त हुन पुगेको बताइएको छ । उनी बैंकको कालोसूचीमा परेकोले उनलाई बैंकले कर्जा दिन मानिरहेका छैनन् । उनी धेरै पटक कर्जा सूचना केन्द्रको कालोसूचीमा परिसकेका छन् । कामपा वडा नम्बर २८ का वडा अध्यक्ष भाइराम खड्गीले भ्यू टावरको काम भेटवालले पैसा भएको बेला गर्ने र नभएको बेला रोक्ने प्रवृति देखिएको बताए । ‘अहिले भ्यू टावरको काम रोकिएको छ, काम नभएको धेरै समय भइसक्यो, महानगरले जग्गा निश्चित अवधिको लागि उपलब्ध गराएको छ, त्यसैले समयमै काम सकेर सञ्चालनमा ल्याउँदा उहाँलाई नै फाइदा पुग्छ,’ उनले भने । पैसा छैन, तला थप्ने होडबाजी निर्माणाधी भ्यू टावरका लागि लगानीको अभाव भइरहेको बेला भुेटवालले तला थप्ने योजना सुनाइरहेका छन् । उनले काठमाडौं भ्यू टावरमा १२ देखि १४ सम्म तला थप्ने तयारी भइरहेको बताए । हालसम्म मा १२ तलाको काम सम्पन्न भइसकेको छ । १२औं तला निर्माणबारे प्राविधिक जाँचका लागि पुल्चोक इञ्जिनियरिङ क्याम्पसले अध्ययन गरी प्रतिवेदन कामपालाई बुझाइ सकेको छ । अहिले १२ तलालाई बढाएर २४ देखि २६ तलासम्म बनाउने तयारी भइरहेको र नक्सा पास गर्ने तयारीमा महानगर रहेको कामपाका सूचना प्रविधि विभाग निर्देशक तथा भ्यू टावरका फोकल पर्सन महेश कुमार काफ्लेले बताए । उनका अनुसार केही हप्ताभित्रै महानगरले नक्सा पास गरिसक्नेछ । काफ्लेका अनुसार कामपाको प्राविधिक टोलीले प्रतिवेदन अध्ययन गरेपछि कति तला थप्नेबारे यकिन गर्नेछ । भ्यु टावर २३ रोपनी पाँच आना जग्गा छुट्याइएको छ । भेटवालले ३२ तलाको भ्यू टावर बनाउने उद्देश्य सहित यो आयोजनाको काम अगाडि बढाएका थिए । प्रमुख काफ्लेका अनुसार भूकम्प जानुअघि २९ तला नै बनाउने योजना थियो । भूकम्प गएसँगै तला घटाएर १२ बनाउने भन्दै सोहीअनुसार निर्माणको काम अघि बढाइएको हो । ‘उहाँले सम्झौता अनुसारको समयावधिमा काम सक्नुपर्छ, बिचमा छोड्न पनि पाउनु हुन्न, महानगरले समय पनि थप्दैन,’ उनले भने । बस टर्मिनल सञ्चालनमा समस्या निर्माण कम्पनीले काठमाडौं महानगरपालिकालाई ६ महिनाभित्र बस टर्मिनल सञ्चालनमा ल्याउने गत वर्ष नै सम्झौता भएको थियो । तर, अहिले पनि बस टर्मिनल भने सञ्चालनमा आउन सकेको छैन । बस टर्मिनलको काम पूरा नभइ सकेकोले सञ्चालनमा नआएको काफ्लेले बताए । सो भ्यु टावरको बेसमेन्टमा गत वैशाख २२ गतेदेखि निजी सवारी साधनहरु पार्किङको काम सुरु गरिएको छ । अहिले ४ पाङ्ग्रे साना सवारी साधन र २ पाङ्ग्रे सवारी साधनहरु उक्त स्थानमा राख्ने गरिएको छ ।