हिमालयन रिको सीईओ बन्दै उपासना पौडेल

काठमाडौं । हिमालयन रि इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा उपासना पौडेल नियुक्त हुने भएकी छिन् । गत साता बसेको कम्पनी सञ्चालक समितिको बैठकले पौडेललाई सीईओमा नियुक्त गर्न सिफारिस गरेको हो । उक्त सिफारिस स्वीकृतिको लागि नेपाल बीमा प्राधिकरणमा पठाइएको तर हालसम्म प्राधिकरणबाट स्वीकृति आइनसकेको कम्पनीले स्रोतले बताएको छ । ‘सीईओ चन्द्रशेखरनको राजीनामा स्वीकृत गरेको बैठकले पौडेललाई सीईओमा नियुक्त गर्ने प्रस्ताव गरेको छ, प्रस्तावलाई स्वीकृत गराउन प्राधिकरणमा समेत पेश गरिएको छ, हालसम्म स्वीकृति भने आईसकेको छैन,’ कम्पनी स्रोतले विकासन्युजसँग भन्यो । पौडेलले पनि सञ्चालक समितिको बैठकले आफूलाई सीईओमा नियुक्त गरेको स्वीकार्दै प्राधिकरणको एप्रुभल भने आउन बाँकी रहेको विकासन्युजलाई जानकारी गराएकी छिन् । यसअघि हिमालयन रिको सीईओमा भारतीय नागरिक चन्द्रशेखरन रामामुर्थी थिए । उनले गत साता राजिनामा दिएका र सोही साता बसेको सञ्चालक समितिको बैठकले उनको राजिनामा स्वीकृत गरेको हो । र, सोही बैठकले नयाँ सीईओमा पौडेललाई नियुक्त गर्ने निर्णय गरेको हो । सञ्चालक समितिको उक्त निर्णयलाई प्राधिकरणले स्वीकृति दिएपछि मात्रै पौडेलले कम्पनीको सीईओ कार्यभार सम्हाल्ने छिन् । पौडेल हाल सोही कम्पनीको नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) को रुपमा कार्यरत छिन् । करिब ३ वर्ष निर्जीवन बीमा क्षेत्रमा काम गरेकी पौडेल गत २०७९ मंसिरमा पुनर्बीमा क्षेत्र अर्थात हिमालयन रिमा डीसीईओको रुपमा प्रवेश गरेकी हुन्। त्यसअघि उनी तत्कालिन युनाईटेड इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत थिइन् । पौडेल नेपालको बीमा क्षेत्रको इतिहासकै पहिलो महिला सीईओ हुन् । उनीसँग बीमा क्षेत्रको विगत एक दशकभन्दा बढी कार्यानुभव रहेको छ । भारतको दिल्ली विश्वविद्यालयको फ्याकल्टी अफ म्यानेजमेन्ट स्टडिज (एफएमएस) बाट एमबीएसम्मको अध्ययन पुरा गरेकी उनी भारतमा नै बीमा व्यवसायको क्षेत्रमा प्रवेश गरेकी हुन् ।

धमाधम जागिर छोडेर विदेश जाँदै प्रहरी पनि, ५ वर्षमा ७ हजारले छाडे काम

काठमाडौं । पछिल्लो समय विभिन्न पेशा व्यवसाय छोडेर विदेश जाने अभ्यास बढिरहेको बेला त्यो अभ्यास नेपाल प्रहरीमा पनि देखिएको छ ।नेपाल प्रहरीमा जागिर खान भर्ती भएर अवधि पूरा नगरी वार्षिक रुपमा सयौं प्रहरीले जागिर छाड्ने गरेका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार  पछिल्लो पाँच वर्षमा ६ हजार ९ सय ८३ जना प्रहरीले सेवा अवधिको बीचमा नै राजीनामा दिएर जागिर छाडेका छन् । यसरी जागिर छाड्नेहरुमा कतिपयको पेन्सन अवधि पुगेको छ भने कतिपयले पेन्सन अवधि पुगेको छैन । नेपाल प्रहरीले केन्द्रीय कार्यालयले विकासन्युजलाई उपलब्ध गराएको सूचना अनुसार आर्थिक वर्ष २०७५/७६ र ०७६/७७ मा मात्रै ५ हजार एक सय ५० जना प्रहरीले जागिर छाडेका छन् । सो अवधिमा एकजना प्रहरी नायव महानिरिक्षक, ४ जना प्रहरी उपरिक्षक, ९ जना प्रहरी नायब उपरिक्षक र २६ जना प्रहरी निरिक्षकले जागिर छाडेका छन् । सो अवधिमा प्रहरी नायब निरिक्षक २ सय २८ जना, प्रहरी सहायक निरिक्षक ६ सय ८० जना र सबैभन्दा धेरै प्रहरी हवल्दार ३ हजार ४ सय ९ जनाले जागिर छाडेकाे तथ्रयांकमा उल्लेख छ । ६ सय ६३ जना प्रहरी जवानले सो अवधिमा प्रहरीको जागिर छाडेको विकासन्युजलाई प्राप्त सूचनामा उल्लेख छ । आर्थिक वर्ष २०७५/७६ र ०७६/७७ को तुलनामा त्यसपछिका आर्थिक वर्षमा भने प्रहरीले जागिर छाड्ने क्रममा केही कमि आएको देखिन्छ । आर्थिक वर्ष ०७७/७८ मा सबै पदमा कार्यरत ७ सय तीन जना, ०७८/७९ मा ४ सय ९८ जना र आर्थिक वर्ष ०७९/८० मा ६ सय ३२ जनाले जागिर छाडेको सूचनामा उल्लेख छ । जागरि छोड्नेमा हवल्दार बढी प्रहरी कार्यालयबाट प्राप्त सूचनाअनुसार नेपाल प्रहरीमा सेवा प्रवेश गरेर बीच अवधिमा सबैभन्दा धेरै जागिर हवल्दारहरुले छाड्ने गरेको देखिन्छ । पछिल्लो पाँच वर्षमा ६ हजार ९ सय ८३ जनाले जागिर छाड्दा प्रहरी हवल्दार मात्रै ३ हजार ९ सय ८६ जनाले जागिर छाडेका छन् । त्यसपछि धेरै जागिर छाड्नेमा प्रहरी सहायक निरिक्षक १ हजार ९९ र प्रहरी जवान ९ सय ८० जना रहेका छन् । झण्डै बाँकी १४ वर्ष सेवा अवधि कायम नै रहँदा ती प्रहरी हवल्दारहरुले जागिर छाडेका हुन् । तथ्यांक स्रोत : नेपाल प्रहरी केन्द्रीय कार्यालय किन छाड्छन् प्रहरीले जागिर ? प्रहरी प्रधान कार्यालयका अनुसार प्रहरीहरुले थप राम्रो अवसर र वैदेशिक रोजगारीमा जानका लागि जागिर छाड्ने गरेका छन् । नेपाल प्रहरीका प्रवक्ता कुबेर कडायतले प्रहरीको जागिरमा भन्दा राम्रो अवसर देखेर सेवा अवधि नपुग्दै जागिर छाड्ने गरेको बताउँछन् । उनले  वैदेशिक रोजगारी र घरायसी कारण देखाउँदै प्रहरीले जागिर छाड्ने गरेको प्रतिक्रिया दिए । ‘सबैभन्दा बढी जागिर छाड्नेहरु वैदेशिक रोजगारमा जान्छन्, थप अवसरकाे कारणले पनि काम छाड्छन्, पारिवारिक कारण पनि देखाउँछन्’, उनले भने, ‘पहिले पेन्सन १६ वर्षको थियो, पछि परिवर्तन भएर २० वर्ष भयो, १६ वर्षमा नै पेन्सन पाकेकाहरु किन अब २० वर्ष कुर्नु भनेर राजीनामा दिएका हुन् ।’ प्रवक्ता कडायतका अनुसार हवल्दार भन्दा तलको पदीय जिम्मेवारीमा रहेकाले भने सेवा अवधि नपुगिकन पेन्सन नपाउने हुँदा राम्रो अवसर पाएको हुँदा त्यसै छाडेको बताए । निजामती कर्मचारी, शिक्षक लगायतका पेसामा आबद्ध हुनेहरुको उमेर हदको अन्तिम सम्म जागिरमा नै मोह हुने गरेकोमा प्रहरीमा भने बीचमा नै जागिर छाड्नेहरुको संख्या ठूलो देखिएको छ । जुन श्रम र समय अनुसारको सेवा सुविधा नभएको कारणले हुने गरेको धेरैको तर्क छ ।

सेयरभन्दा घरजग्गा किन्न सस्तो

काठमाडौं । नेपालमा बैंक तथा वित्तीय संस्थासँगै उद्योगी व्यवसायीले पनि लगानी गर्न रुचाउने क्षेत्र हुन् घरजग्गा र सेयर बजार । पछिल्लो केही वर्षयता यी दुवै क्षेत्रमा ठूलो समस्या सिर्जना भएपछि अर्थतन्त्रमै त्यसको प्रभाव पर्यो । अर्थतन्त्र सुस्त बन्यो । बैंक तथा वित्तीय संस्थाहरुले कर्जा लगानी गर्न सकेनन् भने उद्योगी व्यवसायीले पनि बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएर नयाँ व्यवसाय तथा भएका व्यवसाय पनि विस्तार गर्न चाहेनन् । तर, पछिल्लो केही महिना यता भने बैंकहरुमार्फत् ऋण लिएर व्यवसाय गर्ने अवस्थामा व्यवसायी देखिएका छन् । विशेष गरेर गत असारसम्म घरजग्गा र सेयर बजारमा कमै मात्र कर्जा लगानी गरेका बैंकहरुले साउन महिना लागेसँगै कर्जाको भोलुम बढाएर कम ब्याजमै ऋण लगानी गरेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार बैंकहरुले सेयरधितो कर्जाको तुलनामा घरजग्गा क्षेत्रमा सस्तो ब्याजमा कर्जा लगानी गरेका छन् । राष्ट्र बैंकले सार्वजनिक गरेको साउनको तथ्यांक अनुसार बैंकहरुले घरजग्गामा औसत १२.४७ प्रतिशत ब्याजमा लगानी गरेका छन् भने सेयरधितो कर्जामा १२.९७ प्रतिशत ब्याजमा लगानी गरेका छन् । कुनै लगानीकर्ताले सेयरधितो राखेर १ करोड रुपैयाँ कर्जा लिन चाहन्छ भने उसले १ करोड कर्जाको वार्षिक १२ लाख ९७ हजार रुपैयाँ ब्याज रकम नै तिर्नु पर्ने हुन्छ । तर, लगानीकर्ताले सेयर नकिनेर १ करोडको कर्जा लिएर घरजग्गामा लगानी गर्छ भने उसलाई बैंकहरुले १२.४७ प्रतिशत मात्रै ब्याज लिएको देखिन्छ । त्यो भनेको १ करोड रुपैयाँ कर्जाको वार्षिक १२ लाख ४७ हजार रुपैयाँ हुन जान्छ । यहाँ व्यवसायीलाई सेयरभन्दा घरजग्गा क्षेत्रमा लगानी गर्नका लागि ५० हजार रुपैयाँ सस्तो पर्न जान्छ । गत आर्थिक वर्षको साउन महिनामा वाणिज्य बैंकहरुले १२.८९ प्रतिशत ब्याजमा ६१ अर्ब ५६ करोड ३० लाख रुपैयाँ सेयरधितो कर्जा लगानी गरेका थिए । गत बैशाखसम्म औसत १४ प्रतिशतको हाराहारीमा रहेको सेयर धितो कर्जाको ब्याज जेठ र असारमा १३ प्रतिशतको हाराहारीमा कायम भएको थियो । तर, साउनमा ब्याज घटेर १२ प्रतिशतको हाराहारीमा झरेको हो । बैंकरहरुका अनुसार पछिल्लो समय ठूलो रकमको सेयर धितो कर्जाको माग बढ्न थालेको छ । राष्ट्र बैंकले ५० लाखसम्मको सेयर धितो कर्जाको जोखिम भार १५० प्रतिशतबाट घटाएर १०० प्रतिशतमा झारेपछि सेयरधितो कर्जाको माग बढेको एक बैंकरले बताए । यस्तै, विगत एक वर्षको तथ्यांक हेर्दा सेयर कर्जाभन्दा घरजग्गा कर्जाको ब्याज सस्तो नै देखिन्छ । गत आर्थिक वर्षको साउनमा घरजग्गा कर्जामा बैंकहरुले औसत १२.४१ प्रतिशत ब्याजमा कर्जा लगानी गरेका थिए । गत वर्षको भदौमा औसत ११.८५ प्रतिशत, असोजमा १२.५ प्रतिशत ब्याजमा बैंकहरुले घरजग्गा कर्जा लगानी गरेको देखिन्छ । बैसाखयता घरजग्गा कर्जाको ब्याज निरन्तर घट्दै गइरहेको छ । ब्याज घटाएसँगै कर्जा रकम पनि बढ्न थाले राष्ट्र बैंकको तथ्यांकले देखाउँछ । साउनमा बैंकहरुले २ खर्ब ८ अर्ब रुपैयाँ घरजग्गा कर्जा प्रवाह गरेको देखिन्छ भने असारमा २ खर्ब २ अर्ब, जेठमा २ खर्ब १४ अर्ब, बैशाखमा २ खर्ब ११ अर्ब रुपैयाँ घरजग्गा क्षेत्रमा कर्जा लगानी गरेको देखिन्छ । कतिपयले भने घरजग्गा र सेयर बजारलाई बन्देज गर्ने किसिमका नीति बनाउन नहुने बताउँछन् । केही दिनअघि काठमाडौंमा आयोजित एक कार्यक्रममा सेयर लगानीकर्ता अम्बिका पौडेलले सेयर बजार र घरजग्गा क्षेत्रलाई बन्देजको नीति अघि सार्दा समस्या भएको धारणा राखेका थिए । ‘सरकार तथा नेपाल राष्ट्र बैंकले नीति निमार्ण गर्दा आफ्नो परिवेशको कमजोर मूल्याड्ढन र वाह्य परिवेशको अधिक मूल्याड्ढन पनि अहिलेको समस्याको कारण हो, हाम्रो अर्थतन्त्रको स्रोत रेमिटेन्स र रेमिटेन्सको लगानी घरजग्गा तथा सेयर अनि पछिल्लो समयमा सबैभन्दा प्रहार पनि त्यही क्षेत्रमा भइरहेको छ, घरजग्गा र सेयर कर्जामा पनि सधँै उदार हुनुपर्दछ भन्ने होइन तर अर्को क्षेत्रले प्रतिस्थापन गर्ने वातावरण नहुँदासम्म पूर्ण बन्देजको नीति पनि अर्थतन्त्र संकुचनको कारण हो,’ पौडेलले भनेका थिए ।