‘बजार घटबढ भयो भन्दैमा सेयर सप्लाइ रोक्नु हुँदैन’

काठमाडौं । पछिल्लो समय पुँजी बजारमा सप्लाइ बढेको भन्दै सेयर निष्काशन प्रक्रिया केही समय रोक्नु पर्ने माग लगानीकर्ताहरूले उठाउँदै आएका छन् । नियामकले धमाधम सेयर सप्लाइ बढाउने काम गरेको भन्दै यसलाई ढिलासुस्ती गर्नु पर्ने उनीहरूको माग छ । साथै, प्रिमियम मूल्यमा आईपीओ जारी गर्दा लगानीकर्ताहरूमा निराशा बढाएको भन्दै केही समयका लागि रोक्नु पर्ने लगानीकर्ताहरूकाे तर्क छ । त्यसैलाई मलजल गर्दै नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष रमेशकुमार हमाल पनि आईपीओ निष्काशन प्रक्रिया नियन्त्रण गर्ने व्यवस्था खोजिरहेको बताउँछन् । आईपीओ प्रणाली धेरै छिटो भएर अफ्ठ्यारो भयो भनेर गुनासाे आएकाले नियन्त्रण गर्ने तयारी भइरहेको उनको भनाइ छ । ‘अहिले बोर्डले केही समयका लागि आईपीओ, हकप्रद, एफपीओ, प्रिमियमका आईपीओहरूको निष्काशन कन्ट्रोल (नियन्त्रण)गर्ने व्यवस्था खोजिरहेको छ, कानुनी व्यवस्था नभए पनि लगानीकर्ताहरूको गुनासो सुनुवाई गर्न नियन्त्रण गर्ने प्रयास भइरहेको छ,’ अध्यक्ष हमालले भने । तर, सेयर सप्लाइ घटाउने विभिन्न उपायहररू भएकाले प्रणाली नै बन्द गर्नु उचित निर्णय नहुने सेयर विश्लेषक दिनेश आचार्य बताउँछन् । सेयर निष्काशन प्रक्रिया प्रणालीको हिस्सा भएकाले रोक्नु भनेको सिस्टम नै बन्द गर्नु सरह हुने उनको बुझाइ छ । ‘टाउकोमा जुम्रा पर्याे भने टाउको काट्ने होइन, जुम्रा मार्ने उपाय खोज्नु पर्‍यो, आईपीओ, एफपीओलगायत सेयर सप्लाइ सिस्टमको हिस्सा हुन्, यो रोक्नु भनेको सिस्टम बन्द गर्नुजस्तै हो, सेयर प्रक्रिया रोक्दा कानुनी रूपमा कम्पनीको अधिकार हनन् हुन्छ, लगानीकर्ताको अधिकार पनि हनन् हुन्छ,’ उनले भने । सेयर निष्काशन गरेर संकलन भएको पुँजीबाट नयाँ प्रोजेक्ट बनाउने योजना कम्पनीको हुने भएकाले त्यसमा ठेस पुर्याउनुमात्रै हुने उनको बुझाइ छ । साथै, सेबोनमा गएर विरोध गरेर रोक्नुभन्दा कम्पनीको साधारणसभामा एजेण्डा फेल गराउनु उपयुक्त हुने उनकाे सुझाव छ । ‘कुनै एउटा कम्पनीले आईपीओ जारी गरेर नयाँ प्रोजेक्ट अघि बढाउने योजना बनाएकाे हुन्छ, उक्त योजनालाई रोक्नु हुँदैन, साथै एफपीओ, हकप्रद सेयर ल्याउने/नल्याउने विषय कम्पनीको साधारणसभाको सर्वाेच्च अधिकार हो,’ उनले भने, ‘सेयरधनीहरु साधारणसभामा पुँजी बढाउन पैसा हाल्छौं भनेर हकप्रद जारी गर्ने एजेण्डा पारित गर्छन् भने पाउँदैनस् भनेर राज्यले रोक्न मिल्दैन, लगानीकर्ताहरू सेबोनमा गएर धर्ना दिनुभन्दा साधारणसभामा गएर ऐजेण्डा फेल गराए भैगो नी ।’ उनका अनुसार लगानीकर्ताहरूले बोल्ने ठाउँ साधारणसभा भएकाले साधारणसभाले पारित गरेको एजेण्डा रोक्नु भनेको सेयधरनीहरूको सम्पत्तिको अधिकारको हनन् हुन्छ । साथै, इकोनोमिक साइकललाई रोक्न नमिल्ने उनले बताए । ‘कतिपय कम्पनीले यति वर्षभित्र आईपीओ, एफपीओ, हकप्रद ल्याउने र बिजनेश टार्गेट पुरा गर्ने योजना बनाएका हुन्छन्, उनीहरूको बिजनेशलाई ह्याम्पर गर्नु भनेको अर्थतन्त्रको चक्रलाई नै ह्याम्पर गर्नु हो, हकप्रद ल्याएर नयाँ बिजनेश बढाउँछ भने भोलिका दिनमा उसले रोजगारी पनि बढाउन सक्छ साथै, नयाँ प्रोजेक्ट पनि रोकिन्छ, त्यसैले केही सीमित मान्छे कराएको भरमा नीतिहरु तर्जुमा हुनु हुँदैन,’ उनले भने । कुनै बेला बजार धेरै घट्दा नेप्से नै बन्द गरौं भन्ने माग आएको अनुभव सुनाउँदै उनले भने, ‘यसअघि बजार १८ सयबाट ११ अंकमा झर्दा नेपालमा विज्ञ भन्नेहरू (जो सेयरको तालिम चलाउँछन्)ले तीन महिनाको लागि बजार बन्द गरौं भन्ने क्याम्पेन नै चलाए, बङ्गलादेशमा अर्थतन्त्र संकटमा पर्दा त्यहाँको स्टक एक्सचेञ्ज तीन महिना बन्द गरेको थियो, त्यसैलाई आधार मानेर नेप्से पनि तीन महिना बन्द गर्न माग गरेका थिए तर, बन्द गर्नु नै सबै उपाय होइन ।’ कुमारी क्यापिटलका सीईओ पुष्प शर्मा स-सानो पुँजीलाई एकत्रित गरेर रकम संकलन माध्यम भएको बताउँछन् । सोही माध्यम नै बन्द गर्ने हो भने कम्पनीले तयार पारेका योजनाहरू असफल हुने उनको भनाइ छ । लगानीकर्ताहरूले आईपीओ खुल्यो भन्दैमा आवेदन दिनै पर्छ भन्ने नरहेको उनले बताए । ‘प्रमोटर ग्रुपले ७५ प्रतिशत आफै लगानी गरेर २५ प्रतिशत सर्वसाधारणबाट पुँजी संकलन गरेर प्रोजेक्ट पुरा गर्ने योजना बनाएको हुन सक्छन्, त्यो पार्टबाट हेर्ने हो भने प्रत्यक्ष असर गर्छ, कि त प्रमोटरहरु आफैंले लगानी थप्नु पर्याे कि सेयर निष्काशन प्रक्रिया बढाएर त्यसलाई पुर्ती गर्नु पर्‍याे,’ उनले भने, ‘लगानीकर्ताहरूले आईपीओ आयो भन्दैमा जुनसुकै कम्पनीमा पनि आवेदन दिनै पर्छ भन्ने छैन, १ हजार रुपैयाँ लगानी गरेको छ भने सूचीकृत भएपछि ३/४ हजार हुन्छ भन्ने लोभको आधारमा अहिले बजार चलिरहेको छ, जस्तो कम्पनीमा लगानी गरेपनि दोब्बर भइहाल्छ भन्ने हिसाबल लगानी गरिरहेका छन् ।’ प्रक्रिया नै रोक्यो भने कम्पनीले गरेको योजना अन्तिम चरणमा पुग्न नसक्ने उनको भनाइ छ । साथै, कम्पनीको लागत बढ्दै जाने र समयमा प्रोजेक्ट पुरा नभएपछि प्रमोटरहरू डुब्न सक्ने उनले बताए । हिमालयन क्यापिटलका सीईओ प्रमेश्वर पन्त घटबढ हुनु पुँजी बजारको नेचर भएकाले सप्लाइ नै बन्द गर्नु उपयुक्त नहुने बताउँछन् । सेयर सप्लाइलाई निरन्तर प्रक्रियामा जान दिनु पर्ने उनको भनाइ छ । बजार घटेको बेला सेयर निष्काशन प्रक्रिया रोक्ने र बढेको बेलामा ल्याउनु पर्छ भन्ने कानुनी रूपमा सही नहुने उनले बताए । ‘बजारमा तरलता छैन, लगानीकर्ताहरुको सहभागीता छैन भने बजार तल झर्ने हो, जब बजारमा लगानी बढ्दै गयो र लगानीकर्ताहरूको सहभागिता बढ्यो भने बजार माथि जाने हो, त्यसलाई प्याक गरेर सेयर सप्लाइ प्रक्रिया रोक्ने भन्दा पनि निरन्तर हुन दिनु पर्छ, आफ्नै फ्लोमा जान दिनु पर्छ, ट्रयाक गर्नु हुँदैन,’ उनले भने, ‘बजार घटेको बेला सेयर निष्काशन प्रक्रिया रोक्ने र बढेको बेलामा ल्याउने भन्ने हुँदैन, त्यो नियमसम्मत पनि हुँदैन, प्रक्रियागत रूपमा आउने हो, बजार घटबढ जे भएको बेला पनि आउन सक्छ ।’ यदि बिक्री भएन भने अण्डराइटरले लिनु पर्ने उनले बताए । धितोपत्र बोर्डले पनि घटेको बेला रोक्ने एंगलबाट हेर्न नहुने उनको राय छ ।

दशकपछि स्ट्याण्डर्ड चार्टर्ड बैंकको पुनरागमन, फर्कायो ताज

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक पुँजी बजारको बैंकिङ समूहमा सेयर मूल्यका आधारमा फेरि नम्बर वान बनेको छ । नबिल बैंकको सेयर मूल्यलाई पछि पार्दै एक दशकपछि स्ट्याण्डर्ड चार्टर्ड बैंक नम्बर वान बनेको हो । कुनै बेला स्ट्याण्डर्ड चार्टर्ड बैंक पुँजी बजारको ‘हटकेक’का रूपमा लिइन्थ्यो । कुनैबेला दोस्रो बजारमा सबैभन्दा बढी सेयर मूल्य भएको कम्पनी स्टयाण्डर्ड चार्टर्ड बैंक नै थियो । विगतमा बैंकको सेयर मूल्य प्रतिकित्ता ९ हजार रुपैयाँसम्म पुगेको थियो । तर, पछिल्लो समय बैंकिङ क्षेत्रले विभिन्न गतिविधि सामना गर्दा प्रत्यक्ष प्रभाव सेयर मूल्यमा पर्‍यो । बैंकहरूको चुक्ता पुँजी न्यूनतम २ अर्ब हुँदा बैंकिङ समूहको सबैभन्दा उच्च सेयर मूल्य भएको बैंकमा स्ट्याण्डर्ड चार्टर्ड थियो । तर, राष्ट्र बैंकले बैंकहरूको चुक्ता पुँजी न्यूनतम ८ अर्ब पुर्याउन निर्देशन दिएपछि भने विस्तारै बैंकको सेयर मूल्य ओरालो लाग्याे । सो व्यवस्था गरेपछि बैंकका विदेशी लगानीकर्ताले नेपाल छोड्ने चेतावनीसमेत दिएका थिए । तर, नेपाल राष्ट्र बैंकले एफपीओ जारी गरेर पुँजी पुर्याउन सुझाएपछि बैंकको चुक्ता पुँजी ८ अर्ब पुगेको थियो । तत्कालीन समयमा बैंकले प्रतिकित्ता १ हजार २९० रुपैयाँमा २५ लाख ५८ हजार १४० कित्ता सेयर एफपीओ जारी गरेर पुँजी वृद्धि गरेको देखिन्छ । बिहीबार स्ट्याण्डर्ड चार्टर्ड बैंकले नबिललाई पछि पारेसँगै एक दशपछि पुनः वाणिज्य बैंकहरूमा सबैभन्दा उच्च सेयर मूल्य भएको बैंकका रुपमा पहिलो नम्बरमा उक्लिएको हो । बिहीबार बैंकको सेयर मूल्य प्रतिकित्ता २.६२ प्रतिशत अर्थात् १४.१० रुपैयाँले घटेर ५२४.९० रुपैयाँमा अन्तिम कारोबार भएको नेप्सेकाे तथ्यांकमा उल्लेख छ । बिहीबार बैंकको सेयर २३ हजार ६५५ कित्ता सेयर १९३ पटक खरिदबिक्री हुँदा १ करोड २३ लाख ६९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । थोरै शाखा कार्यालयमार्फत् उल्लेख्य नाफा कमाइरहेको यस बैंकको पुँजी पनि अन्य बैंकको भन्दा कम छ । कम पुँजीमा पनि उल्लेख्य व्यवसाय गरेर उच्च लाभांश वितरण गरिरहेकाले बैंक लगानीकर्ताको रोजाइमा पर्न थालेको छ । गत वर्षको नाफाबाट स्ट्याण्डर्ड चार्टर्ड बैंकले सेयरधनीहरुलाई १९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । केही वर्षअघि वाणिज्य बैंकहरूमा सबैभन्दा बढी सेयर मूल्य भएको बैंकको ताज नबिल बैंकले खोसेको थियो । तर, आज त्यही ताज खोस्दै स्टयाण्डर्ड चार्टर्ड बैंक पहिलो बनेको हो । सेयरधनीहरूले ३६औं वार्षिक साधारणसभामा बोल्दै बैंकलाई पुरानै अवस्थामा फर्काउन सञ्चालक समिति र व्यवस्थापन समूहलाई आग्रह गरेका थिए । पछिल्लो समय वाणिज्य बैंकहरुको पुच्छारमा रहेको भन्दै बैंकलाई पुरानै अवस्थामा फर्काउन सेयरधनीहरुले आग्रह गरेका थिए । नभन्दै एकवर्ष पछि सबैभन्दा बढी सेयर मूल्य भएको बैंकको रुपमा उक्लिएको हो । नबिल बैंकको सेयर मूल्य प्रतिकित्ता ८.२० प्रतिशत अर्थात् ४६ रुपैयाँ घटेर ५१५ रुपैयाँमा अन्तिम कारोबार भएको छ । आज बैंकको सेयर प्रतिकित्ता ५६१ रुपैयाँमा कारोबार खुलेको थियो । बैंकको २ लाख ५४ हजार ९७९ कित्ता सेयर २ हजार ८४३ पटक खरिद बिक्री हुँदा १३ करोड १० लाख ७६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । यसअघि नम्बर वान पुगेर तेस्रो स्थानमा झरेको एनआईसी एशिया बैंकको सेयर मूल्य प्रतिकित्ता १.२० प्रतिशत बढेर ५०४ रुपैयाँ रहेको छ । बैंकले वितरण गरेको २९ प्रतिशत बोनस सेयर मूल्यमा समायोजन भएपछि नम्बर वानबाट झरेको थियो ।

दाजुभाइको दोस्ती, सरकारको तक्मा

काठमाडौं । बिहीबार सरकारले सबैभन्दा बढी कर तिरेको भन्दै १६ वटा व्यक्ति तथा संस्थालाई सम्मान गर्‍यो। सम्मानित हुनेमा ढकाल दाजुभाइ पनि परे । बैंकिङ क्षेत्रतर्फ सबैभन्दा बढी कर तिरेको भन्दै सरकारले ग्लोबल आइएमई बैंकलाई सम्मानित गर्यो भने रेमिट्यान्स क्षेत्रतर्फ बढी कर तिरेको भन्दै आईएमई रेमिटलाई सम्मान गर्‍यो । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष समेत रहेका चन्द्रप्रसाद ढकालले ग्लोबल आईएमई बैंकको नेतृत्व गरिरहेका छन् भने नेपाल उद्योग परिसंघका उपाध्यक्ष समेत रहेका हेमराज ढकाल आइएमई रेमिटका सञ्चालक तथा को-फाउण्डर हुन् । उनीहरू दुवै दाजुभाइले सँगै सम्मान थापेका छन् । ग्लोबल आइएमई बैंकले आर्थिक वर्ष २०७८/७९ मा ३ अर्ब २० करोड रुपैयाँ कर दाखिला गरेको छ । आइएमई ग्रुपका अध्यक्ष चन्द्र ढकाल र ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकाल दाजुभाइ हुन् । नेपाली उद्योग व्यवसायी क्षेत्रमा एउटा नयाँ उदाहरण बनेका ढकाल दाजुभाइले सरकारलाई उच्च कर तिरेर नयाँ उदाहरण पस्केका छन् । सम्भवतः बढी कर तिरेर सरकारबाट सँगै सम्मानित हुने दाजुभाइमा ढकाल दाजुभाइ नै पहिलो हुनुपर्छ । व्यावसायिक जीवनमा एकपछि अर्को सफलता हासिल गरिरहेको ढकाल दाजुभाइले आइएमई ग्रुपमार्फत् व्यवसाय विस्तार गरिरहेको छ । एउटा सामान्य किसानको छोराबाट सुरु भएको ढकाल दाजुभाइको व्यवसाय अहिले देशभर फैलिएको छ । दुवै दाजुभाइ नेपाल स्टक एक्सचेञ्जमा सूचिकृत आधा दर्जनभन्दा बढी कम्पनीको संस्थापक छन् भने अन्य धेरै कम्पनीहरूमा उनीहरूको लगानी छ । बाग्लुङको अमलाचौरमा जन्मिएका ढकाल दाजुभाइको व्यवसायिक सुरुवात भने वि.स २०४८ सालबाट भएको हो । अध्यक्ष ढकालले वि.स २०४८ सालमा कोल्ड स्टोर स्थापना गरेपछि उनको परिवारको व्यवसाय सुरु भयो । उनले त्यसपछि कार्गो व्यवसायमा हात हाले । चन्द्र ढकालभन्दा उमेरले १० वर्ष कान्छा हेमराज उनका व्यवसायका सारथी हुन् । ‘सानैदेखि सँगै काम गर्याैं, धेरै मिहिनेत गर्‍यौं, अहिले ठूलो टिम बनेको छ, मभन्दा बढी मिहिनेत मेरो टिमले गर्छ,’ ढकालले यसअघि विकासन्युजसँग भनेका थिए, ‘मेरो सफलतामा मेरो टिमको भूमिका महत्वपूर्ण छ ।’ ढकाल दाजुभाइ अहिले देशको एक सफल र अग्रणी व्यवसायीको सूचीमा पर्छन् । उनीहरूले रेमिट्यान्स, बैंक, बीमा, जलविद्युत, उद्योग, होटल, अटो, पर्यटन, सूचना प्रविधिलगायतका क्षेत्रमा लगानी गरेका छन् । जुन कम्पनीमा लगानी गर्‍यो, त्यसमा उनीहरू सफल बनिरहेका छन् । आइएमई समूह संलग्न जलविद्युत क्षेत्रतर्फ दुइटा कम्पनी हिमालयन पावर पाटर्नर र माउन्टेन इनर्जी कम्पनी सञ्चालनमा छन् । हिमालयनले लमजुङमा २७ मेगावाटको दोर्दी खोला जलविद्युत आयोजना निर्माण गरेर बिजुली उत्पादन गरिरहेको छ भने माउन्टेन इनर्जीले पनि म्याग्दीमा ४२ मेगावाटको मिस्त्री खोला जलविद्युत आयोजना सञ्चालनमा ल्याइसकेको छ । वित्तीय क्षेत्रतर्फ ८ वटा कम्पनी छन् । आइएमई रेमिट, ग्लोबल आइएमई बैंक, आइएमई पे, आइएमई जनरल इन्स्योरेन्स, आइएमई लाइफ इन्स्यारेन्स, हाथवे इन्भेष्टमेन्ट र ग्लोबल आइएमई क्यापिटलमा आइएमई समूहको लगानी छ । यी कम्पनीहरूको संस्थापक नै ढकाल दाजुभाइ हुन् । यस्तै, हस्पिटालिटीतर्फ चन्द्रागिरि हिल्स, बेस्ट रिसोर्ट प्रा.लि. र आइएमई ट्राभल, प्रविधि क्षेत्रतर्फ स्वीफ्ट टेक्नोलोजी, अटोमोबाइल्स क्षेत्रमा आइएमई अटोमोबाइल्स र आइएमई मोटर्स, रिटेल्समा माई मार्ट नेपाल र सिएम ट्रेडिङ इन्टरप्राइजेज र सूचना तथा मनोरञ्जन क्षेत्रतर्फ यो समूहको डिसहोममा पनि संलग्नता छ । अन्य धेरै कम्पनीमा आइएमई ग्रुपको लगानी छ । यी कम्पनीहरूमा आइएमईले अर्बौंको लगानी गरेको छ । कम्पनीले नेपाल पूर्वाधार बैङ्कमा पनि लगानी गरेको छ । जसको पुँजी मात्रै साढे २१ अर्बको छ । सेयर बजारमा सूचिकृत भएका आधा दर्जन कम्पनीहरूको पुँजी ३० अर्ब बढीको छ । आइएमई समूहले सुरु गरेको अर्को नयाँ प्रोजेक्ट चन्द्रागिरि हिल्स हो । अहिले चन्द्रागिरि काठमाडौं उपत्यका नजिकैको सबैभन्दा उत्कृष्ट गन्तव्यका रूपमा परिचित छ । जसको नेतृत्व हेमराज ढकालले गरिरहेका छन् । ढकाल दाजुभाइलाई नचिन्ने मान्छेले पनि चन्द्रागिरि चिन्छन् । यस्तै, अहिले आइएमई ग्रुपले पेपर उत्पादनमा पनि हात हालेको छ । व्यावसायिक जीवनमा सफल भएसँगै ढकाल दाजुभाइ व्यवसायीहरूको छाता संस्थाको नेताको पनि अग्रपंत्तिमा छन् । दाजु चन्द्र हाल महासंघको नेतृत्व गरिरहेका छन् भने भाइ हेमराज नेपाल उद्योग परिसंघको नेतृत्वको लाइनमा छन् । आइएमई ग्रुपले सुरु गरेको व्यवसायले त्यो क्षेत्रकै नेतृत्व गरिरहेको छ । बैंकिङ क्षेत्रमा ग्लोबल आइएमई बैंकले नेतृत्व गरिरहेको छ । ग्लोबल आइएमईले हाल सबैभन्दा ठूलो बैंकको परिचय बनाएको छ भने रेमिट क्षेत्रमा आइएमई रेमिट विश्वासिलो रेमिट्यान्स कम्पनीको रूपमा उदाएको छ । पर्यटनतर्फ चन्द्रागिरि हिल्स प्रख्यात छ । व्यवसायमा पारदर्शिता मन पराउने ढकाल अहिले अर्बपतिको लाइनमा रहेको बुझाइ धेरैको छ ।