इन्स्पेक्टर बन्न सोर्स लगाउन गएका लाला सीए बनेपछि…

<p>काठमाडौं । एउटा विकट हिमाली क्षेत्र, जहाँका नागरिकलाई आफ्नै सदरमुकाम पुग्न भारतको बाटो हुँदै दुई तीन दिन समय लाग्छ । अहिलेसम्म पनि सदरमुकाम पुग्ने बाटो बनेको छैन । त्यस्तो गाउँको केटोको सपना के होला ? धेरैसम्म भए पढेर सरकारी जागिर खाने, नभए भारत गएर मजदुर गरी सुविधा सम्पन्न ठाउँमा घर बनाइ बस्ने, यही त होला [&hellip;]</p>

काठमाडौं । एउटा विकट हिमाली क्षेत्र, जहाँका नागरिकलाई आफ्नै सदरमुकाम पुग्न भारतको बाटो हुँदै दुई तीन दिन समय लाग्छ । अहिलेसम्म पनि सदरमुकाम पुग्ने बाटो बनेको छैन । त्यस्तो गाउँको केटोको सपना के होला ?

धेरैसम्म भए पढेर सरकारी जागिर खाने, नभए भारत गएर मजदुर गरी सुविधा सम्पन्न ठाउँमा घर बनाइ बस्ने, यही त होला । तर, भास्करको संघर्ष भने यत्तिमै सीमित भएन । उनीे अहिले चार्टर्ड एकाउन्टेन्ट (सीए) बनेर फर्ममा काम गर्ने भएका छन् ।

नेपाल र भारतको सीमा पर्ने दार्चुलाको व्यास गाउँपालिकाको छाङरु सबैभन्दा विकट ठाउँ हो । कालापानी, लिपुलेक सीमा विावादमा जति नाम प्रचलित छ, त्यति त्यो ठाउँ राज्यको नजरमा न कहिल्यै पर्‍यो न त अझै पर्न सकेको छ । त्यही ठाउँमा जन्मेका हुन् सीए भास्कर सिंह लाला ।

ठाउँ विकट भए पनि चेतना भने त्यहाँका नागरिकमा धेरै थियो र छ नै । भारतसँगको सीमा र व्यापारिक केन्द्र चीन भएकाले पनि पढ्नुपर्छ, केही गर्नुपर्छ भन्ने सोच पहिल्यैदेखि त्यहाँका नागरिकमा थियो । भास्करका बुबा पनि छोराछोरी पढाउनुपर्छ भन्नेमा नै जोड दिन्थे । भास्कर गाउँकै विद्यालयमा कक्षा ५ सम्म पढे । त्यसपछिको उनको पढाइ भने सुविधा सम्पन्न शहर काठमाडौंमा भयो । उनका बुवाले छाङरुबाट उनका दाजुभाइको यात्रा काठमाडौँमा डो¥याइदिए । त्यसपछि सुरु भयो उनको सहरको पढाइ ।

सहरको पढाइ

भास्कर काठमाडौँ आएर कीर्तिपुरमा रहेको ल्याब्रोटरी स्कूलमा पढ्न थाले । एक वर्ष त्यहाँ पढिसकेपछि त्रिभुवन आदर्श मावि फर्पिङमा उनको पढाइ सुरु भयो । त्यही स्कुलबाट २०३७ सालमा एसएलसी (हालको एसईई) पास गरे भास्करले । एसएलसी पास गरिसकेपछि उनी मिनभवनमा रहेको नेपाल कमर्स क्याम्पस (एनसीसी)मा आइकम अध्ययन गर्न थाले । कलेजमा पढाइ राम्रो थिएन । त्यो बेला देशमा राजनीतिक उथलपुथल थियो । कहिले परीक्षाको मिति सर्ने, कहिले परीक्षा नै नहुने भयो । उनलाई आइकम पास गर्न ४ वर्ष लाग्यो ।

आइकम पास गरेपछि उनले बीकमको पढाई शंकरदेव कलेजमा सुरु गरे । वि.सं २०४६ सालमा बीकम पनि पूरा गरे । ‘मलाई पढ्नुपर्छ भन्ने त थियो । तर, यही पढ्छु, यस्तै गर्छु र यही बन्छु भन्ने थिएन,’ विगत स्मरण गर्दै भास्करले भने ।

ग्रेजुएट भइसकेपछि भास्करका बुवालाई छोराले जागिर खाइदिए हुन्थ्यो भन्ने लाग्यो । उनलाई पनि अब आफैं काम गर्नुपर्छ भन्ने लाग्यो । तर, त्यो बेला जागिर पाउन त्यति सहज थिएन । ‘पढाइ सकेपछि जागिर खानुपर्छ भन्ने सबैलाई लाग्छ,’ उनले थपे, ‘मलाई पनि त्यस्तै लाग्यो । र, पढाइ सकेपछि कामको खोजीमा लागें ।’

इन्स्पेक्टर बन्न सोर्स

भास्करलाई यत्तिको पढेलेखेको मान्छेले जागिर खान पाए हुन्थ्यो भन्ने हुटहटीले सताइरहन्थ्यो । उनलाई जागिर त सरकारी नै खानुपर्छ भन्ने पनि लाग्न थाल्यो । ‘त्यो समय प्राइभेटभन्दा सरकारी काम गर्नेहरूको छुट्टै सान हुन्थ्यो,’ उनी भन्छन्, ‘त्यही भएर मैले नेपाल प्रहरीमा जागिर खाने निर्णय गरें ।’

नेपालमा हरेक काम गर्न भनसुन चाहिन्छ भन्दा अन्यथा नहोला । पहिलेदेखि चलिआएको भनुनसुन प्रथा अहिलेसम्म पनि कायमै छ । कुरा २०४६ तिरको हो । भास्कर नेपाल प्रहरीको इन्सपेक्टर पदका लागि तयारीमा लागे । नाम निकाल्न जानेर मात्रैले पनि हुँदैनथ्यो । पावर लगाउनुपथ्र्यो । उनी एउटा काका नाता पर्नेलाई भेट्न गए । काका त्यो बेलाका आईजीपी अच्युत खरेलको आफन्त थिए ।

ती दिनहरू सम्झदै भास्करले विकासन्युजसँग भने, ‘इन्सपेक्टरमा नाम निकाल्नका लागि भनसुन गर्न गएँ, मलाई जसरी हुन्छ जागिर लगाइ दिनुपर्‍यो, जे गर्नुपर्छ म तयार छु के भनेको थिएँ उनले मलाई सीए पढ्न सल्लाह पो दिएर पठाए ।’

भास्कर भेट्न गएका व्यक्ति नेपाल राष्ट बैंकमा काम गर्दा रहेछन् । उनले जागिरको कुरा गर्ने बित्तिकै भास्करलाई उल्टै पश्न गरे, पढाइ सक्यौँ ? भास्करले आफ्नो पढाइबारे सबै कुरा भने । उनको पढाइ र उनको दक्षता देख्दा उनी रिसाए, ‘यस्तो मिहिनेत गर्ने क्षमता भएको व्यक्तिले यस्तो जागिर खाने ? बरु तिम्रो भविष्य अझै राम्रो बन्छ, तिमी सीएको तयारी गर,’ ती व्यक्तिले भनेको कुरा स्मरण गर्दै भास्करले विगत सम्झिए ।

यति भनिसकेपछि उनलाई दोमन भयो, के गर्ने ? के नगर्ने ? जागिरको सपना बोकेर गएका उनी फेरि पढ्नुपर्छ भन्ने सल्लाह पाइसकेपछि उनको मनमा लाग्यो सीए पढ्ने कि नपढ्ने ? रातभर उनलाई छटपटी भयो । उनले त्यो बेलाका बैंकिङ क्षेत्रमा प्रख्यात रत्नराज बज्रचार्यसँग भेट्न निधो गरे । जो अहिले ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत भएर काम गरिरहेका छन् । बजाचार्यसँग भेटेर सीएको बारेमा जानकारी लिइसकेपछि लालाले सीए पढ्ने योजना बनाए ।

आइकम र बिकम गरिसक्दा पनि सीएको बारेमा लालालाई केही थाहा थिएन । पहिले पढ्दै गर्दा एकाउन्टेन्टको प्रश्नहरू सल्भ गर्ने क्रममा सीए १९८२, १९५० लेखेको हुन्थ्यो । ‘त्यो बेला त्यति वास्ता गरिएन जब सीएको बारेमा थाहा पाएँ पछि बुझें। त्यो त सीए पढ्ने विद्यार्थीका लागि यति सालमा सोधिएको प्रश्न रहेछ,’ उनले त्यो बेलाको रमाइलो किस्सा सुनाए ।

सीए पढ्न भारत हानिँदा

सीए पढ्ने योजना अनुसार भास्कर वि.सं २०४७ सालमा काठमाडौँबाट भारततर्फ लागे । भारतको कोलकत्ता हुँदै मद्ररास पुगे । त्यसपछि उनले बुवालाई फोन गरेर आफू पढ्न त्यहाँ पुगेको कुरा सुनाए ।

राष्ट्र बैंकबाट अरु पनि पढ्न चेन्नेई गइसकेका थिए । अहिलेका गभर्नर महाप्रसाद अधिकारी उनको कोठामा सँगै बस्ने साथी थिए । महाप्रसादले राष्ट्र बैंकमा काम गर्न सुरु गरिसकेका थिए ।

‘सबै चिनेका साथी थिए, भारत बस्दा गाह्रो भएन,’ भास्करले सुनाए, ‘केही साथीहरूले कोर्स पूरा गर्न सकेनन् । त्यो बेला अहिलेको जस्तो प्लसटु पास गरिसकेपछि पढ्न पाइँदैनथ्यो ।’

त्यो बेला ग्रेजुएट गरेरमात्र सीए पढ्न पाइन्थ्यो । अहिलेको जस्तो तीन तह थिएन । पहिलो र दोस्रो तहमात्र पढ्नुपथ्र्यो । साढे ४ वर्षमा सीए गरेर वि.सं २०५१ सालमा उनी नेपाल फर्के । नेपाल फर्किसकेपछि भास्करले महालेखा परिक्षकको कार्यालयबाट लाइसेन्स लिए ।

त्यसपछि उनी एसआर एण्ड कम्पनीमा काम गर्न सुरु गरे । त्यो बेला जागिर पनि खान पाइन्थ्यो, बाहिर काम पनि गर्न मिल्थ्यो । नेपाल फर्किसकेपछि भास्करले ११ महिना राष्ट्र बैंकमा काम गरे भने विभिन्न संघसस्थामा पनि आबद्ध भए । उनले लामो समय नेपाल चार्टर्ड एकाउन्टेन्ट्सको अध्यक्षका रूपमा समेत काम गरिसकेका छन् ।

जन्म थलो पुगेरै बिहे

सीए बनिसकेपछि भास्करले बिहे गर्ने योजना बनाए । उनी बिहे गर्न आफ्नै गाउँ फर्के । परिवारले दार्चुलाकै सितोलाबाट केटी तयार पारेका थिए । भास्करले वि.सं २०५१ सालमा बिहे गरेपछि उनको बसाइँ पनि आजभोलि काठमाडौंमै छ । अहिले उनका एक छोरा र एक छोरी छन् ।

अहिले उनका छोरा पढाइको सिलसिलामा अमेरिकामा छन् । छोरीले भने नेपालमै पढ्दै छन् । ‘श्रीमती घर व्यवहारमै व्यस्त, म आफ्नै काममा व्यस्त छु । अहिले मेरो जिन्दगी गज्जबले चलिरहेको छ,’ भाष्करले छाङरुदेखि भारत हुँदै काठमाडौँसम्मको कथा सुनाए, ‘मिहिनेत खुब चाहिन्छ । तर, यो पढिसकेपछि त्यत्तिकै बस्न मिल्दैन । हामी काम गर्ने पैसाको लागि हो, पढ्न पैसा पनि कम लाग्ने भएकाले म अहिलेका भाइबहिनीलाई यही पढ्न सल्लाह दिन्छु ।’

याद आउने बालापन

भास्कर जन्मेको छाङरुमा बाहै्र महिना गाउँमा बस्न सकिँदैन । ६ महिना सदरमुकाम खलंगा र ६ महिना गाउँमै बस्नु पर्ने बाध्यता त्यहाँका नागरिकको छ । हिउँद याममा गाउँ हिउँले ढाकिदिन्छ, ६ महिना फेरि गाउँ उक्लनुपर्छ । छाङरुबाट सदरमुकाम आउनभन्दा सहज चीनको तिब्बत पुग्न हुन्छ । तर, कोभिड १९ पछि भने अहिले त्यो नाका बन्द छ ।

भारतसँगको सीमा नाका, चीनसँगको व्यापारिक केन्द्रमा बालापन बिताएका भास्करलाई अहिले पनि चीनको तिब्बत पुगेको याद आउँछ । उनी भन्छन्, ‘कडा मिहिनेत र परिश्रम भए गाउँठाउँ विकट भएर पछि परिँदैन । बस्, लगनशील भएर काम गर्नुपर्छ, मैले इन्स्पेक्टरको जागिर खान भनसुन लगाउन गएजस्तो कसैले जागिर खान सोर्सफोेर्स लगाउन पर्दैन ।’

Share News