उत्कृष्ट काम गरेर वर्षेनी अवार्ड पाउने हिमालयन एभरेष्टको रणनीति

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले आइतबार ३ बजे केन्द्रिय कार्यालय नजिकैको एउटा होटलमा पत्रकार सम्मेलन गर्याे । छोटो समयमा पत्रकार सम्मेलन गरिएको हुँदा निश्चित पत्रकार र बीमा कम्पनीमा कार्यरत कर्मचारी मात्रै होटलमा उपस्थित थिए । कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ)विजयबहादुर शाह किरेमिरे ढाका टोपी र कोट पाइन्टमा चिटिक्क मुद्रामा हसिला देखिन्थे । पत्रकार सम्मेलनममा गत बिहीबार इण्डियन चेम्बर अफ कमर्शले हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीलाई प्रदान गरिएका २ वटा पुरस्कारको विषयमा जानकारी गराइयो । २ सय वर्षको इतिहास बोकेको संस्था इण्डियन चेम्बर अफ कमर्शले उत्कृष्ट लघु बीमक (बेस्ट माइक्रो इन्स्योरर–नेपाल) र अतिप्रभावकारी प्रविधि अनुकुलन (मस्ट इफेक्टिभ एडप्सन अफ टेक्नोलोजी–नेपाल)अवार्ड कम्पनीले पाउँदा खुसी र गौरव लागेको सीईओले जानकारी गराए । उनका अनुसार बिमष्टेक राष्ट्रका बीमा कम्पनीहरूको व्यावसायिक वृद्धि, बीमा पहुँच विस्तार र बीमा क्षेत्रको डिजिटाइजेशनमा प्रोत्साहन गर्ने ध्येयले इण्डियन चेम्बर अफ कमर्शले उक्त अवार्ड प्रदान गर्दै आएको छ । विभिन्न विधाहरूमा नेपालका बीमा कम्पनीहरूमध्ये २ वटा विधामा पुरस्कार प्राप्त गर्ने हिमालयन एभरेष्ट इन्स्योरेन्स पहिलो कम्पनी हो । हिमालयन एभरेष्टले लघुबीमालाई बढावा दिँदै आएकाले सोही विधामा कम्पनीले पुरस्कार प्राप्त गरेको सीईओ शाहले बताए । साथै, कम्पनीले प्रविधिको प्रयोग गरेर धेरै बीमा पोलिसी बिक्री गरेको हुँदा प्रोत्साहनस्वरूप पुरस्कार प्रदान गरेको उनको भनाइ छ । ‘नेपालमा सामान्यतया १५ लाख बीमा पोलिसीहरू काटिन्छन् । तर, हिमालयन एभरेष्टले प्रविधिको सहायतामा १७ लाखभन्दा बढी मानिसलाई एउटै पोलिसीबाट बीमाको सुविधा दिइरहेका छौं, प्रविधिको प्रयोग गरेनौं भने त्यो सम्भव थिएन, प्रविधिको प्रयोग गरेको हुँदा उक्त पुरस्कार प्रदान गरिएको हो,’ उनले भने, ‘पुरस्कार राशी बढी रूपैयाँकाे नभए पनि प्रोत्साहन गर्नु ठूलाे विषय  हो ।’ उनका अनुसार विगतमा कम्पनीले जुन सूचकहरू प्राप्त गरेको थियो आगामी दिनमा त्योभन्दा बढी हासिल गर्नुपर्ने चुनौती थपिएको छ । साथै, आजभन्दा भोलि र भोलिभन्दा पर्सि राम्रो गर्दै जानु पर्ने दायित्व थपिएको उनले बताए । सम्मेलनमा नेपाल, भुटान, बर्मा, भारत, श्रीलङ्का, बङ्गलादेश लगायत देशका ८० बीमा कम्पनीहरू सहभागी थिए । कम्पनीहरूले दिएको विवरणका आधारमा ४ महिना समय खर्चेर मूल्याङ्कन गरी कम्पनी छनोट गरेको सीईओ शाहले बताए । साथै, हिमालयन एभरेष्ट इन्स्योरेन्सले गत वर्ष पनि दुइटा अवार्ड पाएको थियो । गत वर्ष इन्स्योरेन्स ‘एसियाली इन्स्योरेन्स इन्क्लुजन इनिसियटिभ अफ द एअर अवार्ड’ र ‘न्यू इन्स्योरेन्स प्रडक्ट अफ द एअर नेपाल अवार्ड’ प्रदान गरेको थियो । अब कम्पनीले प्राप्त गर्ने पुरस्कार प्रत्येक वर्ष थपिँदै जाने सीईओ शाहले बताए । उनका अनुसार भारत, श्रीलङ्का र बङ्लादेशको बीमा क्षेत्र नेपालको तुलनामा विकसित छ । तर, बर्मा र भुटानको बीमा क्षेत्र भने नेपालभन्दा पछि छ । संख्यात्मक हिसाबले नेपालभन्दा अघि भए पनि गुणस्तरका हिसाबले नेपालको बीमा क्षेत्र अघि रहेको उनको दाबी छ । साथै, नेपालमा पनि बीमा कम्पनीहरूलाई हौसला प्रदान गर्न पुरस्कार वितरणको व्यवस्था हुनुपर्ने माग उनले गरे । ‘व्यवसायको अनुशासन पालनामा नेपालको बीमा क्षेत्र सबैभन्दा अघि छ, नेपालमा बीमा कम्पनीलाई पुरस्कृत गर्ने कुनै संस्था छैन। तर, इण्डियन चेम्बर अफ कमर्शले नेपालको बीमाको लागि योगदान गर्दै आएको छ, नेपालका बीमा कम्पनीहरूमध्ये कुन राम्रो छ भनेर इण्डियन चेम्बर अफ कमर्शले मूल्याङ्कन गरिदिएको छ,’  उनले भने, ‘नेपालमा पनि बीमा कम्पनीहरूलाई प्रोत्साहन गर्न यस्ता पुरस्कार वितरण गर्ने संस्था जन्मिनुपर्छ, बीमा पहुँच, शाखा, नाफा, कर्मचारी, कर्मचारी संख्यालगायत सूचकमा जुन कम्पनी उत्कृष्ट छ, ती कम्पनीलाई पुरस्कार वितरणको अभ्यास थालनी गर्नुपर्छ ।’ साथै, पछिल्लो समय बीमा कम्पनीहरूले सेयरधनीहरूलाई प्रतिफल दिनुपर्ने नाफाबाट अवार्ड खरिद गरेको आरोपका विषयमा उनले भने, ‘पुरस्कार खरिद गरेको आरोप लगाउने व्यक्तिलाई कानुन लाग्नुपर्छ, त्यस्ता व्यक्तिलाई कानुन लाग्छ की लाग्दैन ?’ उनका अनुसार कम्पनीले प्राप्त गरेका अवार्ड खरिद गरेकाे छैन । भारतीय चेम्बर अफ कमर्शले मुम्बईमा आयोजित कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ)विजयबहादुर शाहलाई उक्त अवार्ड प्रदान गरेको हो । इण्डियन चेम्बर अफ कमर्शले नेतृत्वदायी भूमिका निर्वाह गर्दै बीमाको क्षेत्रमा विशेष योगदान पुर्याएका एशियाली देशका बीमा कम्पनीहरूमध्येबाट उत्कृष्ट कम्पनीलाई विगत ४ वर्ष देखि सम्मान गर्दै आएको छ । एशियामा उदीयमान बीमा कम्पनीको कार्य सम्पादन, व्यवसाय विस्तार, प्रविधिको प्रयोगलगायत विधामा विश्व प्रतिष्ठित परामर्शदाता पीडब्लुसीले स्वतन्त्र मूल्याङ्कन गर्छ । सोही आधारमा कम्पनीले लघुबीमा क्षेत्रमा गरेको सेवा प्रवाह र प्रभावकारिता र प्रविधिको प्रयोगले बीमा सेवामा सहजता उपलब्ध गराएको र पहुँच अभिवृद्धिमा जोड दिएकोमा कम्पनीलाई उक्त पुरस्कार प्राप्त गरिएको सीईओ शाहले बताए । हिमालयन एभरेष्टले पछिल्लो समय प्रत्येक वर्ष कुनै न कुनै अन्तर्राष्ट्रिय अवार्डहरू जित्दै आएको छ । यसअघि गत वर्ष सिंगापुरमा इन्स्योरेन्स एसियाले हिमालयन एभरेष्टलाई इन्स्योरेन्स इन्क्लुजन इनिसियटिभ अफ द येअर नेपाल अवार्ड र न्यू इन्स्योरेन्स प्रडक्ट अफ द एअर नेपाल अवार्ड प्रदान गरेको थियो । कम्पनीले विगत ३० वर्षदेखि निर्जीवन बीमा सेवा प्रदान गर्दै आइरहेको छ ।

नेपालमा आउने लगानीकर्ता भारत डाइभर्ट, लगानी सम्मेलनको उपलब्धि नगण्य

काठमाडौं । उद्योगी व्यवसायीहरूले सरकारले व्यवसायीमैत्री कानुनको निमार्ण नगर्दा र भएका नीति पनि सहजरूपमा कार्यान्वयन नगर्दा लगानीकर्ताहरूमा निराशा छाएको गुनासो गरेका छन् । उनीहरूले सरकारले गर्नु पर्ने काम समयमै नगर्दा र अनेक तबरबाट व्यवसायीलाई दुःख दिने काम गर्दा लगानीकर्ता निराश हुँदै पलायन भएको गुनसो गरेका हुन् । आइतबार अर्थमन्त्रालयमा लगानी सम्मेलनका लागि गठित निर्देशक समितिको बैठकपछि भएको पत्रकार सम्मेलनमा बोल्दै अधिकांश उद्योगी व्यवसायीहरूले सरकारले समयमै काम नगर्दा र भएको नीति पनि कार्यान्वयनमा चासो नदिँदा व्यवसायीहरूमा एक किसिमको निराशा सिर्जना भएको गुनासो गरेका हुन् । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले विदेशी लगानीकर्ताहरूले नेपालमा लगानीका लागि चासो देखाए पनि यहाँको वातावरणले तत्काल आउन नचाहेको जानकारी गराए । उनका अनुसार त्यसका लागि सरकारले समन्वयको भूमिका निर्वाह गर्नु पर्नेछ । ‘लगानीमैत्री वातावरणका लागि सबैले हातेमालो गरौं, आगामी बैशाखमा हुने लगानी सम्मेलनका लागि पनि प्रि सम्मेलन गरौं, नेपालमा बिप्पा गरौं, विदेशी लगानीकर्ता नेपालमा आउने चासो देखाइरहेका छन्, त्यसतर्फ हामीले ध्यान दिनु पर्छ,’ उनले भने । यस्तै, उद्योगी तथा नेपाल उद्योग परिसंघका पूर्व अध्यक्ष हरिभक्त शर्माले विगतका लगानी सम्मेलनमा गरिएका बाचाहरू पूरा नभएको बताउँदै सरकारले त्यसको पनि कार्यान्वयन गर्नतर्फ ध्यान दिनु पर्ने बताए । उनले विदेशी लगानीकर्ताहरूले नेपालमा लगानी गर्न चाहेको भए पनि यहाँ लगानीमैत्री वातावरण नहुँदा अन्तै डाइभर्ट भएको जानकारी गराए । ‘विदेशी लगानीकर्ताहरू नेपालभन्दा अन्तको बजारमा प्रवेश गरेका छन्, भारतमा लगानीमैत्री वातावरण छ, उनीहरू भारततर्फ पनि डाइभर्ट भएका छन्, यसका लागि हामीले सुधार गर्नु पर्ने विषयहरू अध्ययन गरेर काम अगाडि बढाउनु पर्छ,’ उनले भने । बैठकमा उनले नेपालमा जग्गा सम्बन्धि समस्या बढी भएको र एउटा कामका लागि विभिन्न मन्त्रालय धाउनु पर्ने बाध्यता रहेकोले त्यो समस्या समाधानका लागि काम गर्नु पर्ने बताए । ‘नेपालमा जग्गाको समस्या ठूलो छ, एउटा कामको लागि विभिन्न मन्त्रालय धाउनु पर्ने बाध्यता छ, लगानी सम्मेलनका लागि चार महिना छोटो समय हो, यसका लागि अब तीव्ररूपमा काम गर्नुपर्छ,’ उनले भने । यस्तै, कार्यक्रमा नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष कमलेश अग्रवालले पनि लगानी सम्मेलनका लागि तयारी कम भएकोले सबैले हातेमालो गरेर छिटो काम गर्नु पर्ने बताए । उनले अहिले विदेशी लगानी कसरी भित्र्याउने भन्ने चिन्ता रहेको बेला लगानी सम्मेलन हुनु सकारात्मक विषय रहेको सुनाए । यस्तै, ग्लोबल आइएमई बैंकका सञ्चालक तथा लगानी बोर्डका पूर्व अध्यक्ष राधेश पन्तले सरकार ‘रिजल्ट ओरिन्टेड’ हुनु पर्ने धारणा राखे । उनले लगानीको सुरक्षणका लागि हेजिङको व्यवस्था हुनुपर्ने बताए । उनले प्रशासन प्रणालीको सुधारका लागि पनि सरकारले काम गर्नु पर्ने उनको भनाइ छ । अर्थमन्त्री भन्छन् : लगानीकर्ताको प्रतिफल सुनिश्चित हुन्छ बैठकमा बोल्दै अर्थमन्त्री तथा तेस्रो लगानी सम्मेलनका संयोजक डां प्रकाशशरण महतले लगानीकर्ताको प्रतिफल सुनिश्चित हुने गरी काम गरिने बताएका छन् । अर्थमन्त्री डा. महतले स्वदेशी, गैरआवासीय नेपाली (एनआरएनए) र विदेशी लगानीकर्तालाई आकर्षित गर्न लगानी सम्मेलन आयोजना गर्न लागिएको पनि बताए । ‘यसपटक हामीले विगतमा जस्तो औपचारिकताभन्दा पनि वास्तविक लगानीकर्तालाई आकर्षित गर्न सम्मेलन आयोजना गर्न लागेका हौं, यसपटक सम्मेलन आयोजना हुनुअघि सम्भावित लगानीकर्तासँग दुईपक्षीय बैठक गर्ने योजना बनाएका छौं,’ उनले भने । सम्मेलनमा धेरै जनालाई सहभागी गराउनेभन्दा पनि सम्भावित लगानीकर्तालाई समेट्ने योजना रहेको मन्त्री डा. महतले बताए । ‘सरकारले दुईपक्षीय लगानी प्रवर्धन तथा संरक्षण सम्झौता (बिप्पा) कार्यान्वयन गर्दै विदेशी लगानीलाई संरक्षण गर्न चाहेको छ, यसपटक सम्मेलनकै लागि सम्मेलन हुँदैन, यसको उद्देश्य सक्षम लगानीकर्तासमक्ष प्रस्ताव राख्ने, त्यस्तो लगानीकर्ताको लगानी सुनिश्चित गर्ने तथा लगानी प्रतिबद्धतालाई फलोअप गर्ने र रियलाइजेसन गर्ने हो,’ उनले भने । यस्तै, बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री सुधन किराँतीले ऐन कानुन र काम गर्ने शैली नै बाधक भएको स्पष्ट पारे । भूराजनीतिक स्वार्थले पनि लगानी आउने र मध्यपूर्वी राष्ट्रलाई प्राथमिकतामा राख्नेमा जोड उनको छ । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले सम्मेलनका लागि कम समय भएकोले सबैले मिलेर रातदिन काम गर्नु पर्ने बताए । उनले ऊर्जा क्षेत्रमा मात्रै अध्ययन भएका परियोजना भएको तर अन्य क्षेत्रमा अध्ययन कम भएको बताए । बैठकमा राष्ट्रिय योजना आयोगका सदस्य रामकुमार फुयालले विगतका लगानी सम्मेलनका समीक्षा गर्नुपर्ने बताए । उनले आयोगले पनि अध्ययन गरेको र त्यसलाई आधारका मानेर कुनै देशलाई केन्द्रित गर्नुभन्दा हाम्रो आवश्यकता हेर्नपर्नेमा जोड दिए । वाणिज्य सचिव नारायण दुवाडीले सरकारले दिने सुविधा बारे बढी तयारी गर्नु पर्नेे बताए । उनले ऐनले दिएको सुविधाले पूर्ण विश्वास आर्जन गर्न नसकेको भन्दै लगानीकर्तालाई विश्वस्त पार्न अनुसन्धानमुलक हिसाबले आयोजनाको अध्ययन गर्न जोड दिए ।

चीनका बैंकहरूले पनि भोग्दैछन् नेपालको जस्तै समस्या, घरजग्गा लिलाम नहुँदा ऋण असुलमा दबाब

काठमाडौं । पछिल्लाे समय ठूलाे  अर्थतन्त्र भएकाे देश चीनकाे आर्थिक अवस्था नाजुक बन्दै गएकाे छ । लामाे समयदेखि घरजग्गा व्यवसायकाे संकटक सामना गरेकाे चीनकाे उक्त असर अहिले बैंक तथा  वित्तीय क्षेत्रमा सरेसँगै अर्थतन्त्र नाजुक बनेकाे हाे । विश्वको दोस्रो ठूलो अर्थतन्त्रबारेमा जुन चिन्ता व्यक्त गरिँदै आएको थियो, त्यो अहिले देखिएको छ । चीनको रियल इस्टेट (घरजग्गा) संकटको असर अहिले बैंकिङ क्षेत्रमा पनि देखिएको छ । चीनको ठूलो सम्पत्ति व्यवस्थापन कम्पनीले लगानीकर्ताहरूलाई बिल तिर्न सक्ने अवस्थामा नरहेको समेत बताएको छ कि यसमा ६४ अर्ब अमेरिकी डलरसम्मको दायित्व छ र आफूलाई टाट पल्टिएको घोषणा गरेको छ । चिनियाँ कम्पनीको यस्तो घोषणाले देशको सम्पत्ति ऋण संकट अन्य वित्तीय क्षेत्रमा फैलिने चिन्ता थपिएको छ । रोयटर्सको रिपोर्टअनुसार चीनको कोष व्यवस्थापन कम्पनी झोङझी इन्टरप्राइजेज ग्रुप (जेडइजी) ले तीन दिनअघि आफ्नो अवस्था खुलासा गर्दै कम्पनीसँग ४ खर्ब २० अर्ब युआन वा ६४ अर्ब डलरबराबर दायित्व रहेको बताएको छ, जबकि योसँग २ खर्बको कुल सम्पत्ति छ । लामो समयदेखि ऋण र सम्पत्तिमा फसेको कम्पनीले जनाएको छ । कम्पनीमा तरलता पनि सकिएको छ । कम्पनीले आफ्नो अवस्था पूरै बिग्रिएको जनाएको छ । कम्पनीमा यसको असर भदौदेखि नै देखिन थालेको थियो । जब कम्पनीले अडिटका लागि बिग फोर लेखा फर्महरूमध्ये एकलाई काममा राखेर रणनीतिक लगानीकर्ता खोजेको थियो। त्यो अवधिमा ट्रष्ट कर्पोरेट लगानीकर्ताहरूको भुक्तानीमा चुक्यो । यस कम्पनीले ८७ अर्ब डलरबराबर कुल कोष व्यवस्थापन गर्दछ। यो चीनको ठूलो सम्पत्ति व्यवस्थापन कम्पनी हो र यसले लगानीकर्ताहरूलाई उच्च प्रतिफल दिन्छ। यो कम्पनी छाया बैंकिङ क्षेत्रसँग आबद्ध छ । यो ठूलो कम्पनीको ‘दिवालिया’ घोषणापछि छाया बैंकिङ क्षेत्रमा संकट गहिरिएको छ । यसमा देशका मध्यम तथा उच्च मध्यम वर्गीय जनताको लगानी छ, जसले डिफल्ट भए ग्राहकको विश्वास घट्ने र लगानी घट्नुका साथै ठूलो संख्यामा रकम झिक्न पनि सकिन्छ । केही लगानीकर्ताहरू संक्रमणकालमा झोङ्झीको बिग्रिँदै गएको अवस्थाबारे पुनः चिन्ता जागेको छ । यद्यपि, केही विश्लेषकहरू आशावादी छन् कि नियामकहरूले व्यापक परिणामहरू रोक्नका लागि कदम चाल्नेछन् । उल्लेखनीय छ कि चीनको घरजग्गा क्षेत्र केही वर्षदेखि गहिरो संकटमा छ। चीनको अर्थतन्त्रमा यसको २५ प्रतिशत हिस्सा छ, जसका कारण चीनको अर्थतन्त्रमा ठूलो गिरावट आउने अनुमान गरिएको छ । धेरै विज्ञहरू भन्छन् कि यो घरजग्गा संकट अन्य धेरै क्षेत्रमा फैलिन सक्छ । एजेन्सीकाे सहयाेगमा ।