जाइकाको ३ करोड लगानीमा बन्यो बानेश्वरमा आधुनिक लेन, थप ४३ स्थानमा बनाइने
काठमाडौं । माइतीघरबाट जाँदा होस् वा भक्तपुरबाट काठमाडौं आउँदा चारै दिशाबाट ठोक्किन आइपुगिने ठाउँ हो ‘नयाँबानेश्वर चोक’ । यो चोक आइपुगेपछि सधैं ट्राफिक अस्तव्यस्तताका कारण केही समय त्यहीँ सवारीसाधन नरोकी सुखै थिएन । त्यही रुट प्रयोग गर्ने सवारीका चालक तथा यात्रुलाई नयाँबानेश्वर चोक पुगेर बस्ने बानी नै परेको थियो । यी त भए पुराना कुरा । अब गरौं, आजको कुरा । नयाँबानेश्वर चोकको त्यो विद्रुप अवस्था अहिले एक्कासि परिवर्तन भएको छ । ‘आँधीबेहरीपछिको सन्नाटा’ भने झैं अहिले नयाँबानेश्वर चोक सुन्दर र शान्त भएको छ । यसको रूप यसरी परिवर्तन भयो कि अहिले चोक वरिपरि नै बसिरहुँजस्तो बनेको छ। न पहिलेजस्तो सडकमा गञ्जागोल छ, न ट्राफिक व्यवस्थापन अस्तव्यस्त छ । ट्राफिक प्रहरी पनि आरामसँग सहजै सवारीसाधन आवागमन गराइरहेका हुन्छन् । सडक सफा, चिटिक्क र सवारीसाधनले पनि लेन मिचेर जान नपाउने बनाइएको छ । आखिर यो कसरी सम्भव भयो त ? अहिले माइतीघरबाट बबरमहल हुँदै नयाँबानेश्वर चोक पुग्नै लाग्दा र कोटेश्वरबाट तीनकुने हुँदै सिभिल अस्पताल पुग्नै लाग्दा सडकमा ट्राफिक व्यवस्थापनका निमित्त आधुनिक लेन निर्माण गरिएको देख्न पाइन्छ । अर्थात, नयाँ लेन निर्माणपछि लेन मिचेर अर्काको लेनमा सवारीसाधन लानै मिल्दैन । तपाईंले पक्कै पनि नयाँबानेश्वर चोक पुग्दा त्यो सडकको लेनमा राखिएको सानो फुटपाथजस्तो स्पेस (खाली भाग) तथा पहेँलो रङ दलिएको बार (डिभाइडर) याद गर्नुभएको होला । आधुनिक तरिकाले तयार गरिएको लेन निर्माणसँगै अहिले नयाँबानेश्वर चोकको सडकले मुहारै फेरिएको छ । रङ लगाइएको लेनमा सानो पर्खाल, अनि फलामको आकारजस्तो बलियो प्लास्टिकबाट निर्मित पहेँलो रङको डिभाइडर (लठ्ठी) ले गर्दा एकअर्काको लेन मिच्नै सकिँदैन । जसले ट्राफिक व्यवस्थापन सहज हुनुका साथै तीनकुनेबाट आउने सवारीलाई दायाँतर्फ पुरानो बानेश्वरतिर मोडिन मद्दत पुर्याएको छ । सडकमा एकाएक आएको परिवर्तन देख्दा जो कोहीलाई लाग्न सक्छ यस्तो राम्रो सडक लेन कसले बनायो होला ? धेरैको मनमा उब्जिन सक्ने प्रश्न– काठमाडौं महानगरपालिका, सडक विभाग वा अन्य सरकारी निकाय र सडक लेन महानगर तथा सडक डिभिजनले नभई जापान सरकारले बनाइदिएको हो । जापनिज सरकारअन्तर्गतको जापान इन्टरनेसनल को–अपरेसन एजेन्सी (जाइका) को सहयोगमा अर्बन ट्रान्सपोर्ट म्यानेजमेन्ट सिस्टम (यातायात व्यवस्थापन प्रणाली) कार्यक्रममार्फत उक्त लेन बनाउने काम भएको छ । काठमाडौं महानगरपालिका, सडक विभाग, नेपाल ट्राफिक प्रहरी कार्यालय र काठमाडौं उपत्यकका विकास प्राधिकरणसँग समन्वय गरेर जाइकाले उक्त लेन निर्माण गरेको हो । सडक व्यवस्थापनमा सहजता ल्याउनका लागि जाइकाको सहयोगमा लेन तयार भएको सडक विभागअन्तर्गतको सडक सुरक्षा तथा ट्राफिक इकाइका प्रमुख प्रकाश भण्डारीले बताए । ‘पहिला बानेश्वर चेकको सडकमा दायाँ मोडिने लेन थिएन, जसले गर्दा चोकको व्यवस्थापनमा समस्या हुँदै आएको थियो,’ उनले भने, त्यसलाई व्यवस्थित गर्नका लागि चोक सुधार गरेको हो ।’ चोकको दुवै ठाउँमा करिब २००/१३० मिटर परबाट लेन बनाउने काम गरिएको छ । उनका अनुसार व्यवस्थित चोक बनाउनका लागि लेनको काम गरिएको हो । जाइकाकै लगानीमा तयार भएको उक्त लेन बानेश्वरमा बनाइसक्दा करिब तीन करोड रुपैयाँ लगानी भएको काठमाडौं महानगरका सार्वजनिक निर्माण विभागका निर्देशक रामबहादुर थापाले बताए । ‘जाइकाले लामो समयदेखि बानेश्वरमा त्यो योजना अगाडि बढाउनका लागि अध्ययन गर्दै आएको थियो, सरकारी निकायसँग समन्वय गरेर काम भएको हो,’ उनले भने । थापाका अनुसार जाइकाले उक्त पाइलोट प्रोजेक्टका रूपमा अगाडि बढाएको थियो । सोही योजनाअनुरूप तयार भएको उक्त लेनपश्चात् काठमाडौंका विभिन्न चोकमा त्यस्तै प्रकारका लने बनाउने तयारी भइरहेको छ । बानेश्वरको काम सकिएता पनि त्यसले पारेको सकारात्मक तथा नकारात्मक विषय तथा ट्राफिक व्यवस्थापनमा पुर्याएको मद्दतका विषयमा अध्ययन भइरहेको थापाले बताए । अध्ययनको क्रम अन्तिम चरणमा पुगेको पनि थापाले जानकारी दिए । ‘जाइकाले काम पछिको प्रभावकारितालाई पनि उत्तिकै ध्यान दिँदो रहेछ, उक्त प्रोजेक्ट अगाडि बढाउनुअघि विभिन्न सरकारी निकायका कर्मचारीहरू पनि सोही क्रममा जापान पुगेका थिए,’ उनले भने, ‘अध्ययन सम्पन्न भएको केही महिनापछि अर्को ठाउँमा काम सुरु हुन्छ ।’ थप ४३ ठाउँमा त्यस्तै लेन बनाइने काठमाडौंभित्रका बढी ट्राफिक जाम हुने चोकहरूमा सोही प्रकारका लेन बनाउने तयारी अहिले भइरहेको छ । जसका लागि डिजाइन तयार तथा प्राविधिक कामहरू भइरहेको थापाले बताए । बानेश्वर एरियापश्चात् विभिन्न ४३ चोकमा लेन बनाउने तयारी भइरहेको हो । अध्ययनपछिको दोस्रो काम लैनचौर चोकमा हुने बताइएको छ । जसका लागि बजेट व्यवस्थापन भइसकेको इकाइका प्रमुख भण्डारीले बताए । उनका अनुसार लैनचौरमा लेन निर्माणको लागि जाइकाको अनुमानमा ९० लाख रुपैयाँ रकम लाग्ने देखिएको छ । अब भने लेनको काम गर्दा सरकार आफैंले लगानी गर्नुपर्ने भण्डारीले बताए । ‘अबको बन्ने योजनामा सरकारको लगानी हुन्छ, यसमा सकारकारी कार्यालयले पनि रकम हाल्नुपर्ने हुनसक्छ,’ उनले भने, ‘योजनामा कति खर्च हुन्छ भन्ने विषयका लागि त्यसको डीपीआर भएपछि मात्र थाहा हुन्छ । अन्य आयोजनाका लागि बजेट व्यवस्थापन भइसकेको छैन ।’ निर्देशक थापाका अनुसार बाँकी ४२ वटाको काम क्रमिकरूपमा हुने छ । कुन–कुन ठाउँमा कस्ता लेन बनाउने हो त्यसको निर्णय भने भइसकेको छैन । बजेटको व्यवस्थापन गर्दै लेनको काम अगाडि बढाउन सकिने थापाको भनाइ छ । जाइकासँग प्रविधि तथा डिजाइनको सहयोग भने निःशुल्क लिन सकिने पनि थापाले बताए ।
दुर्गा प्रसाईं र ज्ञवालीको अराजक अभियानले लघुवित्त व्यवसाय धरापमा
काठमाडौं । पछिल्लो समय लघुवित्त वित्तीय संस्थाविरुद्ध सडकदेखि सदनसम्म आवाज उठ्यो । लघुवित्त संस्थाविरुद्ध अराजक गतिविधिसम्म भए । मनीराम ज्ञवाली र दुर्गा प्रसाईंले अभियान नै चलाएर लघुवित्त संस्थाका कर्मचारीमाथि हातपात र कालोमोसो दल्ने अभियान नै चलाए । लघुवित्तका कर्मचारी भन्ने बित्तिकै उनीहरूमाथि हातपात र अभद्र व्यवहार हुन थाल्यो । ज्ञवाली र प्रसाईंको अभियानले लघुवित्तको कर्जा नतिर्न आह्वान गर्याे । साथै, उनीहरूले लघुवित्त संस्था खारेज र कर्जा मिनाह गर्न सरकारसँग माग राखे । जसकारण ज्ञवाली र प्रसाईंको लहलहैमा लागेर लघुवित्तका ऋणीहरूले कर्जा नै तिर्न मानेनन् । जसको प्रत्यक्ष असर गत वर्षदेखि नै परिरहेको थियो । तर, चालु आर्थिक वर्षको पहिलो त्रैमासमा भने लघुवित्तमा ठूलो असर परेको देखिन्छ । लघुवित्त संस्थाहरूले सार्वजनिक गरेको असोजसम्मको वित्तीय विवरणअनुसार संस्था धान्न गाह्रो परेको तथ्यांकले देखाउँछ । गत असोजसम्म डेढ दर्जन लघुवित्त नोक्सानीमा छन् भने अधिकांश लघुवित्तको नाफामा गिरावट आएको छ । चालु आर्थिक वर्ष २०८०/८१को असोजसम्म लघुवित्त संस्थाहरूको खुद नाफा ६५.१० प्रतिशत घटेर ५३ करोड २१ लाख रुपैयाँमात्रै आर्जन गरेका छन् । जबकि, गत वर्षको सोही अवधिमा १ अर्ब ५२ करोड ५१ लाख रुपैयाँ नाफा गरेका थिए । समीक्षा अवधिमा ९ लघुवित्तको नाफा बढेको छ । जसमध्ये सबैभन्दा धेरै विपिडब्लु लघुवित्तको ४२८ प्रतिशत बढेर ६६ लाख ८८ हजार रुपैयाँ, सपोर्ट लघुवित्तको २५९ प्रतिशत बढेर १५ लाख ९८ हजार रुपैयाँ, उन्नति सहकार्यको १९३.८६ प्रतिशत बढेर २२ लाख ५४ हजार रुपैयाँ, महुली लघुवित्तको १६६.६४ प्रतिशत बढेर १ करोड ५५ लाख रुपैयाँ खुद नाफा कमाएका छन् । यस्तै, विजय लघुवित्तको १२६.२५ प्रतिशत बढेर १ करोड ४९ लाख रुपैयाँ, मिथिला लघुवित्तको ७४.६१ प्रतिशत बढेर ७४ करोड ४४ लाख रुपैयाँ, साना किसान विकासको २९.४८ प्रतिशत बढेर ३० करोड १४ लाख रुपैयाँ, ग्लोबल आइएमईको २७.१४ प्रतिशत बढेर ३ करोड ४० लाख रुपैयाँ र आरएसडीसी लघुवित्त ६.६५ प्रतिशत बढेर ४ करोड ७ लाख नाफा कमाएका हुन् । गत वर्ष नोक्सानीमा रहे पनि विभिन्न ५ वटा लघुवित्तले यस वर्ष भने नाफा गरेका छन् । लक्ष्मी लघुवित्त ९५ लाख ३२ हजार रुपैयाँ, सबैको लघुवित्त १४ लाख ७७ हजार रुपैयाँ, गुराँस लघुवित्त ९ लाख ३३ हजार रुपैयाँ, ग्रामीण विकास लघुवित्त ३ करोड ४५ लाख रुपैयाँ र युनिक नेपाल लघुवित्त १५ लाख ५३ हजार रुपैयाँ नाफा गरेका हुन् । असोजमसान्तसम्म २० वटा लघुवित्तको नाफामा गिरावट आएको छ । जसमध्ये सबैभन्दा धेरै नाडेप लघुवित्तको ९५.८३ प्रतिशत घटेर ५ लाख १० हजार रुपैयाँ मात्रै नाफा गरेको छ । यस्तै, हिमालयन लघुवित्त ८५ प्रतिशत घटेर १० लाख ८६ हजार रुपैयाँ, सिवाईसी नेपालको ८७.४३ प्रतिशत घटेर १९ लाख २ हजार रुपैयाँ, सूर्याेदय वोमीको ७३.४० प्रतिशत घटेर १ करोड १७ लाख रुपैयाँ, कालिका लघुवित्तको ५८.३२ प्रतिशत घटेर ५४ लाख ८७ हजार रुपैयाँ, गणपति लघुवित्तको ५८.१९ प्रतिशत घटेर २८ लाख ८१ हजार रुपैयाँ, स्वाबलम्बन लघुवित्तको ५७.४८ प्रतिशत घटेर ३ करोड १८ लाख रुपैयाँ र नेष्डो समृद्धको ५२.७५ प्रतिशत घटेर २ करोड ६६ लाख रुपैयाँ नाफा गरेका छन् । यस्तै, डिप्रोक्स लघुवित्तको १०.९६ प्रतिशत, आरम्भ चौतारी लघुवित्तको ११.२९ प्रतिशत, फर्स्ट माइक्रोफाइनान्सको २०.५२ प्रतिशत, जीवन विकासको २१.३६ प्रतिशत, स्वरोजगार लघुवित्तको २९ प्रतिशत, एनआईसी एसियाको ३१.८४ प्रतिशत, महिला लघुवित्तको ३१.९८ प्रतिशत, छिमेक लघुवित्तको ३२.८० प्रतिशत, साधना लघुवित्तको ३८.६१ प्रतिशत, इन्फिनीटी लघुवित्तको ४३.७० प्रतिशत, नेरूडे लघुवित्तको ४३.९३ प्रतिशत, नेशनल लघुवित्तको ४६.२० प्रतिशत नाफा घटेको छ । गत वर्षको असोजसम्म ११ वटा लघुवित्त नोक्सानीमा थिए भने यस वर्ष उक्त संख्या बढेर १८ पुगेको छ । साथै, यी १८ वटा लघुवित्त संस्थाले ६६ करोड ५८ लाख रुपैयाँ नोक्सानी बेहोर्न परेको तथ्यांकले देखाउँछ । गत असोजसम्म सबैभन्दा धेरै निर्धन उत्थान लघुवित्तले १४ करोड ३० लाख रुपैयाँ नोक्सानी बेहोर्नु परेको हो । यस्तै, फरवार्ड लघुवित्त ११ करोड ९ लाख रुपैयाँ, मेरो माइक्रोफाइनान्स ६ करोड २५ लाख रुपैयाँ, एनएमबि लघुवित्त ४ करोड ७३ लाख रुपैयाँ, किसान लघुवित्त ४ करोड ७३ लाख रुपैयाँ, मिर्मिरे लघुवित्त ३ करोड ९९ लाख रुपैयाँ, उपकार लघुवित्त ३ करोड ३७ लाख रुपैयाँ, सामुदायिक लघुवित्त २ करोड ९४ लाख रुपैयाँ ऋणात्मक छन् । यस्तै, अभियान लघुवित्तको २ करोड ८३ लाख रुपैयाँ, आशा लघुवित्तको २ करोड ६४ लाख रुपैयाँ, धौलागिरी लघुवित्तको २ करोड ९ लाख रुपैयाँ, स्वाभिमान लघुवित्तको १ करोड ९८ लाख रुपैयाँ, जाल्पा सामुदायिक लघुवित्तको १ करोड ६४ लाख रुपैयाँ, जनउत्थान सामुदायिक लघुवित्तको १ करोड २६ लाख रुपैयाँ, मानुषी लघुवित्तको १ करोड १२ लाख रुपैयाँ, समता घरेलु लघुवित्तको ४७ लाख ९५ हजार रुपैयाँ, विन नेपाल लघुवित्तको १५ लाख ४८ हजार रुपैयाँ र मनकामना स्मार्ट लघुवित्तको १ करोड ४२ लाख रुपैयाँ नाफा ऋणात्मक छ । [pdf id=448566]
मातापिताले छोराको पेन्सन पाउन थालेपछि…
काठमाडौं । विगत दुई वर्षदेखि बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरूले सामाजिक सुरक्षा कोषको विरोध गर्दै आएका छन् । सामाजिक सुरक्षा कोषमा आबद्धताका लागि स्वेच्छिक हुनुपर्ने माग राख्दै सर्वाेच्च अदालतसम्म पुगे । सर्वाेच्च अदालतले पनि बैंक तथा वित्तीय संस्थाहरूको पक्षमा अन्तरिम आदेश जारी गर्याे । कोषमा आबद्ध हुने श्रमिक वा कर्मचारीको सुविधा र सेवा कटौती हुनेगरी बाध्यकारीरूपमा समावेश गराउन नमिल्ने अदालतले व्याख्या गर्याे । सोही कोषले आज मंसिर ११ गते छैठौं सामाजिक सुरक्षा दिवस २०८० मनायो । कोषले सामाजिक सुरक्षा दिवसका अवसरमा विभिन्न रोजगारदता, स्वास्थ संस्था, स्थानीय तहलाई विभिन्न आधारमा छनोट गरी प्रसंशापत्र प्रदान गर्याे । कोषमा सूचीकृत रोजगारदाताहरूमध्ये आर्थिक वर्ष २०७९/८०मा योगदानकर्ताको संख्या र योगदान रकमको आधारमा लक्ष्मी सनराइज बैंकले प्रसंशापत्र प्राप्त गर्याे । बैंकका तर्फबाट मानव संशाधन विभाग प्रमुख अमित शर्माले उक्त प्रसंशापत्र बुझे । साथै, सम्पूर्ण पुरस्कृत रोजगारदाता र सेवा प्रदायक संस्थाहरूका तर्फबाट मन्तव्य राख्ने अवसर पनि शर्माले पाए । २०७६ सालमा तात्कालीन लक्ष्मी बैंक (हाल लक्ष्मी सनराइज बैंक)का कर्मचारीहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराइएकाे थियो । शर्माका अनुसार तत्कालिन समयमा विभिन्न अन्यौलता, सेवा सुविधाका बारेमा गरिएका तुलना, टिकाटिप्पणीबीच पनि सामाजिक सुरक्षासम्बन्धी अध्ययन र कर्मचारीहरूले खाइपाई आएको सुविधामा कुनै कमी हुन नदिइ वित्तीय क्षेत्रबाट कोषमा आबद्ध हुने पहिलो संस्था लक्ष्मी सनराइज बैंक थियो । साथै, अहिले नै किन आबद्ध हुनुपर्यो भन्ने प्रश्नको सामना आहफूहरूले पनि गरेको उनको भनाइ छ । ‘कोषका पेन्सन गणना विधि र औषधि उपचारसम्बन्धी विषयमा बैंकले रचनात्मक सुझाव दिएको हो, नेपाल जस्तो विकासशील देशमा सामाजिक सुरक्षा प्रणाली सुरु हुनु राष्ट्रको दीर्घकालीन हितमा रहेको कुरामा हामी प्रष्ट नै थियौं,’ उनले भने, ‘साथै, हामीले चाहेको जस्तो सबै सेवा सुविधाहरू कोषले स्थापनाको दिनमा दिन नसके पनि समयक्रमा उपलब्ध गराउँदै जाने विश्वासमा अडिग नै छौं र प्रारम्भदेखि नै कोषलाई लगानीको अवसरभन्दा अप्ठेरो पर्दा बढी काम लाग्ने सुरक्षा प्रणाली हो भन्ने नै हाम्रो बुझाइ रह्यो ।’ उनका अनुसार कोरोना महामारीकालमा पहिलो परीक्षाको सामना गर्नुपर्याे । सरकारले पैसा मासिदिन्छ भन्ने भाष्य निर्माण हुँदा दुई महिनाको योगदान रकम सरकार आफैंले व्यहोर्दा खुसीको सीमा नरहेको उनको भनाइ छ । ‘महामारीले देश नै आक्रान्त रहेको अवस्थामा सहायक संस्था लक्ष्मी लघुवित्तमा कार्यरत सहकर्मीको दुखद निधन हुन पुग्यो, परिवारको एकमात्र सहारा रहेका आर्थिकरूपमा कमजोर उनका बृद्ध मातापिता खोटाङ्गको दुर्गम गाउँमा बस्थे, उनी कोषमा आबद्ध नभएको भए मातापिताको कहालीलाग्दो अवस्था हुने थियो,’ उनले भने, ‘तर, कोषको परिवार सुरक्षा योजनाअन्तर्गत आजीवन पेन्सनको भरथेग हुने भएपछि हाम्रा अरु सहकर्मी र कोषमा आबद्ध नभएका मित्रहरूले समेत तपाईंहरूले ठिक गर्नुभएछ भन्दा एउटा ठूलो परिक्षाबाट पास भए झैँ मनै हलुंगो भएको अनुभव सुनाउन पाउँदा सन्तोष लाग्छ नै ।’ तर, कोषले आफ्ना योजनालाई सरोकारवालहरूको सुझावअनुसार परिस्कृत गर्दै जाने र सरकारले पनि योगदानमा आधारित कोषमा आफ्नो तर्फबाट सहयोग र योगदान बढाउँदै गयो भने सबै रोजगारदाता र कर्मचारीहरू आबद्ध हुने उनको सुझाव छ । सरकारले जनसांख्यिक लाभ रहेको अवस्थामा नै बलियो सामाजिक सुरक्षा प्रणाली बनाई विभिन्न सामाजिक सुरक्षाका कार्यक्रमअन्तर्गत हुने आर्थिक बोझ कम गर्न उचित नीति लिनुपर्ने उनले बताए ।