१ खर्ब ४३ अर्बमा किनिएकाे एनसेल ६ अर्ब ६६ करोडमा बेचियो
काठमाडौं । एनसेलबाट बाहिरिन लागेको आजियाटाको ८० प्रतिशत सेयर सतिशलाल आचार्यले खरिद गरेका छन् । एनसेलबाट आफ्नो ८० प्रतिशत सेयर स्वामित्व बिक्री गरेर बाहिरिने निर्णय गरेको आजियाटा र आचार्यबीच सेयर खरिदबिक्रीको सहमति भएकाे हाे । आजियाटाले आचार्यकाे स्पेकट्रलाइट युके लिमिटेडलाई ८० प्रतिशत सेयर बिक्री गरेको हो । आजियाटाले एक विज्ञप्ति जारी गर्दै सेयर बिक्री गरेको र नेपालबाट बाहिरिएको बताएको हो । आजिएटाले कुल ५ करोड अमेरिकी डलर अर्थात् ६ अर्ब ६६ करोड रुपैयाँमा शेयर बिक्री गरेको र यसमध्ये ५० लाख अमेरिकी डलर ६ महिनाभित्र भुक्त्तानी गर्नुपर्ने खरिद सम्झौता भएको उल्लेख गरेको छ । आचार्य स्पेकट्रलाइट युकेकाे सञ्चालक हुन् । नेपाल दूरसञ्चार प्राधिकरणको सहमतिबिना सेयर खरिद बिक्री नहुने भएपनि यी दुई कम्पनीबीच सेयर खरिद बिक्रीको सहमति भएको हो । सतिश र उनका भाइ सचिनलाल आचार्यले एनसेलको ८० प्रतिशत सेयर खरिद गर्ने प्रतिवद्धता आजियाटासँग गरिसकेका छन्। आचार्य गैर आवासीय नेपाली हुन् । उनी सिंगापुरमा बस्छन् । यो कम्पनीको सेयर खरिद गर्नमा उनको श्रीमती भावना सिंहको पनि ठूलो हात रहेको बुझिएको छ । आचार्य र आजियाटाबीच विगत लामो समयदेखि राम्राे सम्बन्ध छ । विज्ञप्तिमा आजियाटाका अध्यक्ष तान श्री शहरिल रिड्जा रिडजुआनले एनसेलले नेपालको अर्थतन्त्रमा महत्वपूर्ण योगदान गरेको बताएका छन् । उनले एनसेल देशमा एक उच्च करदाताको रुपमा रहेको र हालसम्म २ खर्ब ८३ अर्ब रुपैयाँ कर तिरेको उल्लेख गरेका छन् । यस्तै, उनले अब आफ्नो व्यवसायिक रणनीतिमा अगाडि बढ्ने बताएका छन् । यस्तै, आजियाटाका प्रबन्ध निर्देशक विवेक सूदले नेपालको कर नीति, लाइसेन्स नवीकरणलगायत नीतिले ठूलो चुनौती देखिएकोले बाहिरिनु परेको बताएका छन् । उनले नेपालबाट बाहिरिनु नै कम्पनीका सेयरधनीहरुको हितका लागि भएको बताएका छन् । वि.सं २०६१ मा एनसेलले जीएसएम मोबाइल सेवाका लागि अनुमति प्राप्त गरेको थियो । आजिएटा भने सन् २०१६ मा नेपालमा भित्रिएको थियो । त्यो बेला १ अर्ब ३६ करोड अमेरिकी डलर (त्यसबेलाको विनियमदरअनुसार १ खर्ब ४३ अर्ब रुपैयाँ) मा एनसेलको सेयर आजिएटाले किनेको थियो । सात वर्षको अवधिमा एनसेलले आजियटालाई २ अर्ब २ करोड रुपैयाँ लाभांश दिएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले भने आजियाटालाई सेयर खरिद बिक्री गर्नुअघि पूर्व स्वीकृति लिन पत्र काटेको छ । कम्पनीले सेयर खरिद बिक्रीको पूर्व स्वीकृति नलिएको भन्दै नेपाल दूरसञ्चार प्राधिकरणले बुधबार एनसेल आजियाटालाई पत्र काटेको हो । एनसेल आजियाटाको होल्डिङ कम्पनीको सेयर बिक्री तथा हक हस्तान्तरण गर्न लागिएको भनि जारी विज्ञप्तिप्रति ध्यानाकर्षण गराउँदै उक्त पत्र काटेको हो । पत्रमा सेयरधनीको सेयर खरिद बिक्री वा नामसारी गर्नुपूर्व प्राधिकरणको स्वीकृति प्राप्त गर्नुपर्ने व्यवस्था रहेको बताइएको छ । ‘दूरसञ्चार नियमावली, २०५४ को नियम १५ (ट) बमोजिम चुक्ता पुँजीको पाँच प्रतिशतभन्दा बढी सेयर खरिद वा विक्री गर्नु अघि प्राधिकरणको स्वीकृति लिनुपर्ने व्यवस्था उल्लेख भएको र नेपाल दूरसञ्चार प्राधिकरण (अनुमतिपत्र प्राप्त व्यक्तिको शेयर खरिद बिक्री) विनियमावली, २०७६ को विनियम ४ (क) बमोजिम अनुमतिपत्र प्राप्त व्यक्तीले आफ्ना शेयरधनीको सेयर खरिद बिक्री वा नामसारी गर्नुपूर्व प्राधिकरणको स्वीकृति प्राप्त गर्नु पर्ने व्यवस्था रहेकोले सो अनुरूप गर्न गराउन जानकारी गराइन्छ’, प्राधिकरणले काटेको पत्रमा उल्लेख छ । [pdf id=449560]
सुन किन्ने कि सेयर ?
काठमाडौं । पछिल्लो केही महिनायता मुलुकमा दुईथरी बजारको चर्चा चुलिएको छ । एक, सेयर बजार र अर्कोे सुन बजार । सेयर बजारको चर्चा यसकारण चुलिएको छ कि यो पछिल्लोपटक खर्लप्पै ओरालो लागेको छ । अनि, सुन बजारको चर्चाचाहिँ नेपालको इतिहासमै उच्च मूल्यमा कारोबार भएकाले चुलिएको हो । सेयर बजार निरन्तर ओरालो लाग्दा ६० लाख लगानीकर्ताको पोर्टफोलियो नकारात्मक भएको छ । अर्थात् सेयर घटेर पुर्पुरोमा हात लगाउनु पर्ने बाध्यता सिर्जना भएको छ । सिडिएससीको पछिल्लो तथ्यांकअनुसार हालसम्म ६० लाख ३ हजार ७ सय १३ डिम्याट खाता खुलिसकेका छन् । तर, निरन्तर ओरालो लागेको सेयर बजारमा लगानीकर्ताको लगानी कहिले उठ्छ भन्ने टुंगो छैन । अब कुरा सुनको । दसैंतिहार बिदापछि नेपाली बजारमा सुनको मूल्य निरन्तर उकालो लागिरहेको छ । शुक्रबार प्रतितोला १ लाख १९ हजार रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत साउन १ गते सुनको मूल्य प्रतितोला १ लाख १२ हजार २ सय रुपैयाँ थियो । यस्तै, भदौ १ गते सुनको मूल्य १ लाख १० हजार ४ सय रुपैयाँ थियो । असोज १ गते आइपुग्दा प्रतितोला १ लाख १२ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो भने कात्तिक १ गते १ लाख १३ हजार २ सय रुपैयाँ कायम भएको थियो । मंसिरसम्म आइपुग्दा सुनको मूल्य प्रतितोला १ लाख १९ हजार रुपैयाँ कायम भएको छ । चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो महिना अर्थात साउनको तुलनामा मंसिरमा सुनको मूल्य ६.३२ प्रतिशतले बढेको छ । साउन महिनामा मात्रै सुनमा लगानी गर्नेले तोलाको ७ हजार १ सय रुपैयाँ फाइदा गरे । यो तथ्यांक केलाउँदा साउनमा एक तोला सुन खरिद गर्नेले मंसिरमा ७ हजार १ सय रुपैयाँ कमाएको देखियो । यदि कुनै लगानीकर्ताले गत साउनमा १ करोड रुपैयाँको सुन खरिद गरेको थियो भने यो चार महिनाको अवधिमा उसले ६ लाख ३२ हजार रुपैयाँ नाफा गर्यो । फेरि, सेयर बजारमै फर्किऔं । गत साउन १ गते सेयर बजार पुँजीकरण ३१ खर्ब ५० अर्ब ९१ करोड रुपैयाँबराबर थियो । भदौ ३ गते बजार पुँजीकरण ३० खर्ब १० अर्ब २० करोड रुपैयाँमा ओर्लियो । साउन महिनामा लगानीकर्ताले १ खर्ब ४० अर्ब ७० करोड रुपैयाँ गुमाए । लगानीकर्ताको पोर्टफोलियोमा ४.४६ प्रतिशतले नकारात्मक प्रभाव पर्यो । यस्तै, असोज २ गते बजार पुँजीकरण २९ खर्ब ९२ अर्ब २५ करोड रुपैयाँ थियो । भदौ महिनामा लगानीकर्ताले १७ अर्ब ९५ करोड रुपैयाँ गुमाए । यसले लगानीकर्ताको लगानीमा ०.५९ प्रतिशतले नकारात्मक प्रभाव पर्यो । त्यसैगरी कात्तिक १ गते बजार पुँजीकरण २९ खर्ब २७ अर्ब ९३ करोड रुपैयाँ थियो । यस आधारमा लगानीकर्ताले असोजमा ७४ अर्ब ३२ करोड रुपैयाँ गुमाए । सो महिना २.१९ प्रतिशतले लगानीकर्ताको पोर्टफोलियो घट्यो । लामो समय चाडपर्व बिदापछि मंसिर ४ गते बजार खुलेको थियो । उक्त दिन बजार पुँजीकरण २८ खर्ब ९७ अर्ब ७५ करोड रुपैयाँ थियो । यस आधारमा लगानीकर्ताले कात्तिक महिनामा मात्रै ७० अर्ब १७ करोड रुपैयाँ गुमाए । यस महिनामा लगानीकर्ताको लगानीमा २.४५ प्रतिशत प्रभाव पर्यो । पछिल्लो एक साता अवधि (मंसिर १३ गते) बजार पुँजीकरण २८ खर्ब ९३ अर्ब ४० करोड रुपैयाँबराबर छ । यस आधारमा लगानीकर्ताले ३५ अर्ब ६४ करोड रुपैयाँ गुमाएका छन् । लगानीकर्तामा यसले १.२३ प्रतिशतले प्रभाव पर्यो । गत साउनको तुलनामा हालसम्म सेयर मार्केटका लगानीकर्ताले ८.१७ प्रतिशतले पोर्टफोलियो घटेको छ । अर्थात् यो आधारमा गत साउनमा कुनै लगानीकर्ताले १ करोड रुपैयाँको सेयर खरिद गरेको थियो भने पार्टफोलियो ९१ लाख ८३ हजार रुपैयाँमा झरेको छ । उसको पोर्टफोलियो ८ लाख १७ हजारले घटेको छ । ००० सुनको मूल्य ह्वात्तै उकालो लागिरहनुमा के कारण हुन सक्ला, छोटो अवधिमा किन सुनको मूल्य आकासिएको होला ? सुन व्यापारी के भन्छन् ? नेपाल सुनचाँदी व्यवसायी महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यले प्यालेस्टाइन (हमास) र इजरायल युद्धका कारण विश्वबजारमा सुनमा लगानी बढेको बताउँछन् । यो युद्धले तेस्रो विश्वयुद्धको रूप लिन्छ कि भन्ने त्रासमा अरू सेक्टर त्यति सुरक्षित नभएको हुँदा सुनमा लगानी बढेको उनको भनाइ छ । करिब एक वर्ष अगाडि अन्तर्राष्ट्रिय विज्ञहरूले पनि ३ हजार अमेरिकी डलर प्रतिऔससम्म पुग्छ भनेर प्रक्षेपण गरेको महासचिव बज्राचार्य बताउँछन् । ‘विज्ञले भनेअनुसार अहिले त्यति पुगिसकेको त छैन,’ बज्राचार्यले विकासन्युजसँग भने, ‘तर, जुन युद्धहरू अहिले भइरहेका छन्, त्यसलाई हेर्दा यसले नै टेवा पुर्याएर अझै बढ्ने संकेत देखिएको छ ।’ सुनको मूल्य बढ्नुमा कुनै पनि नेपाली कारण नभएको उनी बताउँछन् । ‘नेपालमा सुनको मूल्य जुन कायम छ, त्यो सबै अन्तर्राष्ट्रिय कारणबाट भइरहेको छ,’ उनी भन्छन्, ‘यसमा चाहिँ हिजो पनि नेपालको कारण थिएन र भोलि पनि हुँदैन ।’ नेपाली बजारमा सुनको व्यापार पहिलाको तुलनामा अहिले धेरै कम भएको बज्राचार्य बताउँछन् । ‘अहिले मंसिर आधाआधी भइसक्यो, त्यति धेरै सुन बिक्री हुन सकेको छैन,’ काठमाडौं अर्नामेन्ट्सका सञ्चालकसमेत रहेका बज्राचार्य भन्छन्, ‘लगनका बेला भनेर पहिला–पहिलाको वर्ष यो समय दिनको ५० देखि ६० किलोसम्म सुन खपत हुन्थ्यो । अहिले मुस्किलले २० किलोमात्रै खपत भइरहेको अवस्था छ ।’ मान्छेले मूल्य घटेको बेला सुन किन्ने र बढेको बेला सुन बेच्ने नौलो कुरा होइन । अहिलेको अवस्थामा नेपालमा घरमा भएको सुन बेच्ने ‘ट्रेन्ड’ चलेको बज्राचार्य बताउँछन् । ‘कतिपय मान्छेले सुनको भाउ अझै माथि पुग्ला भनेर राखेको अवस्था पनि छ,’ उनी भन्छन्, ‘अहिले विस्तारै नेपालीको क्रय शक्ति पनि घटेको छ । सुनको भाउ बढेको बेलामा यसलाई नै बेचेर अरू नै काममा प्रयोग गरौं भनेर सुन बेच्ने पनि हावी भएको अवस्था छ ।’ एक वर्षअघि नै विज्ञले भनेअनुसार नेपालमा सुनको मूल्य २ लाख रुपैयाँसम्म बढ्ने अनुमान रहेको र ठ्याक्कै यही समयमै पुग्छ भनेर भन्न नसकिने अवस्था रहेको बज्राचार्य बताउँछन् । ‘सुनको मूल्य २ लाख रुपैयाँसम्म पुग्ने अनुमान गरिए पनि अहिले तत्कालको अवस्थामा १ लाख २५ हजार रुपैयाँसम्म पुग्ने अनुमान गरिएको छ,’ उनी थप्छन् । पछिल्लो समय सुनको मूल्य उकालो लाग्दै गएको र सेयर बजार ओरालो लाग्दै गएको छ । नेपालको सन्दर्भमा हेर्ने हो भने सुनको मूल्य र सेयर बजारको त्यति धेरै ‘कनेक्सन’ नहुने बज्राचार्य बताउँछन् । विदेशमा जस्तै नेपालमा यी क्षेत्रमा धेरै लगानी गर्ने लगानीकर्ता हावी नभएको उनको भनाइ छ । अन्तर्राष्ट्रिय बजारमा बुधबार चाँदी प्रतिऔंस २४.९८ डलर भएको छ । गत साउनमा १ करोड रुपैयाँको सुन खरिद गरेका लगानीकर्ताले ४ महिनामा करिब साढे ६ लाख रुपैयाँ नाफा गरेका छन् भने सेयर किन्नेले ८ लाख १७ हजार रुपैयाँ गुमाएका छन् । ००० आखिर सेयर बजार यसरी ओरालो लागेको लाग्यै हुनुका कारण के होलान् ? सेयर बजार किन माथि उठ्न सकेको छैन ? सेयर लगानीकर्ता के भन्छन् ? नेपाल पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेल नीति राम्रो नबन्नु, सहजै तरलता उपलब्ध नहुनु, लामो समयदेखि बैंकको ब्याजदर पनि एकल अंकमा झर्न नसक्नु र जोखिम भार पनि १ सय प्रतिशतबाट १ सय ५० प्रतिशत पुर्याइनुको परिणाम सेयर बजार ओरालो लाग्नुका प्रमुख कारण रहेको बताउँछिन् । ‘जबसम्म बजार उठ्दैन, तबसम्म सेयर बजारमा डुबेको लगानी पनि उठ्ने कुरै भएन,’ पोखरेल दाबीका साथ भन्छिन्, ‘३२ सय पुगेको सेयर बजार १७ देखि १८ सयको हाराहारीमा झरेको छ । त्यसैले सेयर बजार जबसम्म उकालो लाग्दैन, तबसम्म लगानीकर्ताको लगानी पनि डुब्छ ।’ उनका अनुसार बजार घटेको समयमा सेयर किन्नु उपयुक्त हो । तर, भोलिका दिनमा बजार उकालोमात्रै लागिरहन्छ भन्ने कुनै ‘ग्यारेन्टी’ भने छैन । भोलि बजार २० अंकले घट्यो वा त्योभन्दा माथिकै अंकले घट्यो भने पनि त्यसको परिणामका लागि तयार हुनुपर्छ । ‘बढेको बजारमा भन्दा घटेको बजारमा लगानी गर्नु उपयुक्त नै मानिन्छ । ऋण खोजेको पैसा सेयर बजारमा लगानी गर्ने हो भने अवश्य नै त्यसको कुनै फाइदा छैन,’ उनी भन्छिन्, ‘सेयर बजार घट्दै जाने र ऋणको ब्याज बढ्दै जाने हो भने उसले गरेको लगानी डुब्ने नै भयो । आफूसँग पैसा भएर बजार घटे पनि मैले होल्ड गर्न सक्छु भन्ने लाग्छ भने यो क्षेत्र उपयोगी नै छ ।’ जब सेयरबजार घट्दै जान्छ तब मान्छेले अन्य क्षेत्रमा लगानी गर्न थाल्ने उनी बताउँछिन् । ‘अहिले सुनको मूल्य बढिरहँदा र सेयर बजार घटिरहँदा मान्छेले सेयर बेचेर सुनमा लगानी गरिरहेका छन् । सुन आज किने भोलि १ हजार रुपैयाँले बढिरहेको छ,’ पोखरेल भन्छिन्, ‘अहिले सुनमा लगानी गर्दा त्यसको प्रतिफल भोलि नै लिन पाइने अवस्था छ । तर, सेयर बजार निरन्तर घटेकाले भन्न सकिने अवस्था छैन ।’
नाफासँगै बीमा कम्पनीहरूको प्रतिसेयर आम्दानी बढ्यो
काठमाडौं । बीमा कम्पनीहरूको व्यवसाय वृद्धिसँगै प्रतिसेयर आम्दानी पनि उल्लेख्य बढेको छ । चालु आर्थिक वर्ष २०८०/८१को पहिलो त्रैमासमा बीमा कम्पनीहरूको नाफासँगै प्रतिसेयर आम्दानी बढेको हो । गत असोजसम्म निर्जीवन बीमा कम्पनीहरूको प्रतिसेयर आम्दानी औसत ५.११ रुपैयाँ बढेर १७.८ रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा निर्जीवन बीमा कम्पनीहरूको प्रतिसेयर आम्दानी औसत १२.६८ रुपैयाँ थियो । गत असोज मसान्तसम्म निर्जीवन बीमा कम्पनीहरूको खुद नाफा ११.६७ प्रतिशत बढेर ८९ करोड १२ लाख ३९ हजार रुपैयाँ आर्जन गरेका छन् । निर्जीवन बीमाको प्रतिसेयर आम्दानी उच्च बढेको भएपनि जीवन बीमा कम्पनीहरूको भने सामान्य बढेको छ । गत असोजसम्मको तथ्याङ्क अनुसार जीवन बीमा कम्पनीहरूको प्रतिसेयर आम्दानी ०.२० रुपैयाँ बढेर ११.८० रुपैयाँ रहेको छ । गत वर्षको सोही अवधिमा जीनव बीमा कम्पनीहरूको प्रतिसेयर आम्दानी ११.७८ रुपैयाँ थियो । गत असोजसम्म जीवन बीमाको खुद नाफा ३६.६३ प्रतिशत बढेर १ अर्ब ७१ करोड ९९ लाख ९७ हजार रुपैयाँ आर्जन गरेका छन् । ८ निर्जीवन बीमाको ईपीएस बढ्यो पुँजी बजारमा सूचीकृत कम्पनीहरुमध्ये विभिन्न ८ कम्पनीको ईपीएस बढेको छ भने ४ कम्पनीको घटेको छ । जसमध्ये सबैभन्दा धेरै राष्ट्रिय बीमा कम्पनीको बढेको छ भने सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको घटेको छ । राष्ट्रिय बीमा कम्पनीको ३१.४३ रुपैयाँ बढेर ५१.६३ रुपैयाँ प्रतिसेयर आम्दानी गरेको छ । नेपाल इन्स्योरेन्सको २१.१२ रुपैयाँ बढेर ३९.१२ रुपैयाँ, नेको इन्स्योरेन्सको ९.४३ रुपैयाँ बढेर १७.५० रुपैयाँ, एनएलजी इन्स्योरेन्सको ३.०९ रुपैयाँ बढेर १४.११ रुपैयाँ प्रतिसेयर आम्दानी गरेका छन् । यस्तै, युनाइटेड अजोडको २.७५ रुपैयाँ बढेर ८.१३ रुपैयाँ, प्रभु इन्स्योरेन्सको २.५९ रुपैयाँ बढेर १४.७३ रुपैयाँ, हिमालयन एभरेष्टको १.४१ रुपैयाँ बढेर ९.३० रुपैयाँ र शिखर इन्स्योरेन्सको ०.२३ रुपैयाँ बढेर १६.९४ रुपैयाँ प्रतिसेयर आम्दानी गरेका हुन् । गत असोजसम्म सगरमाथा लुम्बिनीको ०.१८ रुपैयाँ घटेर ८.७० रुपैयाँ, आइजिआई प्रूडेन्सियलको ०.४० रुपैयाँ घटेर ६.७५ रुपैयाँ, सानिमा जिआईसीको ४.१० रुपैयाँ घटेर ६.७६ रुपैयाँ र सिद्धार्थ प्रिमियरको ५.९५ रुपैयाँ घटेर १९.९६ रुपैयाँमा प्रतिसेयर आम्दानी सीमित भएका हुन् । जीवन बीमामा ८ कम्पनीको बढ्दा ५ कम्पनीको घट्यो दोस्रो बजारमा सूचीकृत कारोबार भइरहेका जीवन बीमा कम्पनीहरूमध्ये विभिन्न ८ कम्पनीको प्रतिसेयर आम्दानी बढेको छ भने ५ कम्पनीको घटेको छ । जसमध्ये सबैभन्दा धेरै सन नेपाल लाइफको वृद्धि हुँदा सिटिजन लाइफको घटेको हो । सन नेपाल लाइफको ९.०७ रुपैयाँ बढेर २०.६७ रुपैयाँ, सूर्यज्योति लाइफको ५.९२ रुपैयाँ बढेर ११.६२ रुपैयाँ, एलआईसी नेपालको ४.२३ रुपैयाँ बढेर ९.०१ रुपैयाँ, हिमालयन लाइफका ३.१५ रुपैयाँ बढेर १२.०४ रुपैयाँ प्रतिसेयर आम्दानी गरेका छन् । यस्तै, एशियन लाइफको २.६३ रुपैयाँ बढेर २१.०७ रुपैयाँ, सानीमा रिलायन्सको ०.८८ रुपैयाँ बढेर १०.६० रुपैयाँ, नेपाल लाइफको ०.७० रुपैयाँ बढेर ७.७० रुपैयाँ र राष्ट्रिय जीवन बीमाको ०.१४ रुपैयाँ बढेर ८.३० रुपैयाँ प्रतिसेयर आम्दानी गरेका हुन् । समीक्षा अवधिमा प्रभु महालक्ष्मीको २.४८ रुपैयाँ घटेर ९.३५ रुपैयाँ, नेशनल लाइफको २.४३ रुपैयाँ घटेर १०.४० रुपैयाँ, रिलायबल नेपालको ४.९५ रुपैयाँ घटेर ११.९४ रुपैयाँ, आइएमई लाइफको ८.१० रुपैयाँ घटेर १३.०४ रुपैयाँ र सिटिजन लाइफको ८.४५ रुपैयाँ घटेर ७.६३ रुपैयाँमा प्रतिसेयर आम्दानी सीमित भएको छ ।