‘बजार घटबढ भयो भन्दैमा सेयर सप्लाइ रोक्नु हुँदैन’

<p>काठमाडौं । पछिल्लो समय पुँजी बजारमा सप्लाइ बढेको भन्दै सेयर निष्काशन प्रक्रिया केही समय रोक्नु पर्ने माग लगानीकर्ताहरूले उठाउँदै आएका छन् । नियामकले धमाधम सेयर सप्लाइ बढाउने काम गरेको भन्दै यसलाई ढिलासुस्ती गर्नु पर्ने उनीहरूको माग छ । साथै, प्रिमियम मूल्यमा आईपीओ जारी गर्दा लगानीकर्ताहरूमा निराशा बढाएको भन्दै केही समयका लागि रोक्नु पर्ने लगानीकर्ताहरूकाे तर्क [&hellip;]</p>

काठमाडौं । पछिल्लो समय पुँजी बजारमा सप्लाइ बढेको भन्दै सेयर निष्काशन प्रक्रिया केही समय रोक्नु पर्ने माग लगानीकर्ताहरूले उठाउँदै आएका छन् । नियामकले धमाधम सेयर सप्लाइ बढाउने काम गरेको भन्दै यसलाई ढिलासुस्ती गर्नु पर्ने उनीहरूको माग छ । साथै, प्रिमियम मूल्यमा आईपीओ जारी गर्दा लगानीकर्ताहरूमा निराशा बढाएको भन्दै केही समयका लागि रोक्नु पर्ने लगानीकर्ताहरूकाे तर्क छ ।

त्यसैलाई मलजल गर्दै नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष रमेशकुमार हमाल पनि आईपीओ निष्काशन प्रक्रिया नियन्त्रण गर्ने व्यवस्था खोजिरहेको बताउँछन् । आईपीओ प्रणाली धेरै छिटो भएर अफ्ठ्यारो भयो भनेर गुनासाे आएकाले नियन्त्रण गर्ने तयारी भइरहेको उनको भनाइ छ ।

‘अहिले बोर्डले केही समयका लागि आईपीओ, हकप्रद, एफपीओ, प्रिमियमका आईपीओहरूको निष्काशन कन्ट्रोल (नियन्त्रण)गर्ने व्यवस्था खोजिरहेको छ, कानुनी व्यवस्था नभए पनि लगानीकर्ताहरूको गुनासो सुनुवाई गर्न नियन्त्रण गर्ने प्रयास भइरहेको छ,’ अध्यक्ष हमालले भने ।

तर, सेयर सप्लाइ घटाउने विभिन्न उपायहररू भएकाले प्रणाली नै बन्द गर्नु उचित निर्णय नहुने सेयर विश्लेषक दिनेश आचार्य बताउँछन् । सेयर निष्काशन प्रक्रिया प्रणालीको हिस्सा भएकाले रोक्नु भनेको सिस्टम नै बन्द गर्नु सरह हुने उनको बुझाइ छ ।

‘टाउकोमा जुम्रा पर्याे भने टाउको काट्ने होइन, जुम्रा मार्ने उपाय खोज्नु पर्‍यो, आईपीओ, एफपीओलगायत सेयर सप्लाइ सिस्टमको हिस्सा हुन्, यो रोक्नु भनेको सिस्टम बन्द गर्नुजस्तै हो, सेयर प्रक्रिया रोक्दा कानुनी रूपमा कम्पनीको अधिकार हनन् हुन्छ, लगानीकर्ताको अधिकार पनि हनन् हुन्छ,’ उनले भने ।

सेयर निष्काशन गरेर संकलन भएको पुँजीबाट नयाँ प्रोजेक्ट बनाउने योजना कम्पनीको हुने भएकाले त्यसमा ठेस पुर्याउनुमात्रै हुने उनको बुझाइ छ । साथै, सेबोनमा गएर विरोध गरेर रोक्नुभन्दा कम्पनीको साधारणसभामा एजेण्डा फेल गराउनु उपयुक्त हुने उनकाे सुझाव छ ।

‘कुनै एउटा कम्पनीले आईपीओ जारी गरेर नयाँ प्रोजेक्ट अघि बढाउने योजना बनाएकाे हुन्छ, उक्त योजनालाई रोक्नु हुँदैन, साथै एफपीओ, हकप्रद सेयर ल्याउने/नल्याउने विषय कम्पनीको साधारणसभाको सर्वाेच्च अधिकार हो,’ उनले भने, ‘सेयरधनीहरु साधारणसभामा पुँजी बढाउन पैसा हाल्छौं भनेर हकप्रद जारी गर्ने एजेण्डा पारित गर्छन् भने पाउँदैनस् भनेर राज्यले रोक्न मिल्दैन, लगानीकर्ताहरू सेबोनमा गएर धर्ना दिनुभन्दा साधारणसभामा गएर ऐजेण्डा फेल गराए भैगो नी ।’

उनका अनुसार लगानीकर्ताहरूले बोल्ने ठाउँ साधारणसभा भएकाले साधारणसभाले पारित गरेको एजेण्डा रोक्नु भनेको सेयधरनीहरूको सम्पत्तिको अधिकारको हनन् हुन्छ । साथै, इकोनोमिक साइकललाई रोक्न नमिल्ने उनले बताए ।

‘कतिपय कम्पनीले यति वर्षभित्र आईपीओ, एफपीओ, हकप्रद ल्याउने र बिजनेश टार्गेट पुरा गर्ने योजना बनाएका हुन्छन्, उनीहरूको बिजनेशलाई ह्याम्पर गर्नु भनेको अर्थतन्त्रको चक्रलाई नै ह्याम्पर गर्नु हो, हकप्रद ल्याएर नयाँ बिजनेश बढाउँछ भने भोलिका दिनमा उसले रोजगारी पनि बढाउन सक्छ साथै, नयाँ प्रोजेक्ट पनि रोकिन्छ, त्यसैले केही सीमित मान्छे कराएको भरमा नीतिहरु तर्जुमा हुनु हुँदैन,’ उनले भने ।

कुनै बेला बजार धेरै घट्दा नेप्से नै बन्द गरौं भन्ने माग आएको अनुभव सुनाउँदै उनले भने, ‘यसअघि बजार १८ सयबाट ११ अंकमा झर्दा नेपालमा विज्ञ भन्नेहरू (जो सेयरको तालिम चलाउँछन्)ले तीन महिनाको लागि बजार बन्द गरौं भन्ने क्याम्पेन नै चलाए, बङ्गलादेशमा अर्थतन्त्र संकटमा पर्दा त्यहाँको स्टक एक्सचेञ्ज तीन महिना बन्द गरेको थियो, त्यसैलाई आधार मानेर नेप्से पनि तीन महिना बन्द गर्न माग गरेका थिए तर, बन्द गर्नु नै सबै उपाय होइन ।’

कुमारी क्यापिटलका सीईओ पुष्प शर्मा स-सानो पुँजीलाई एकत्रित गरेर रकम संकलन माध्यम भएको बताउँछन् । सोही माध्यम नै बन्द गर्ने हो भने कम्पनीले तयार पारेका योजनाहरू असफल हुने उनको भनाइ छ । लगानीकर्ताहरूले आईपीओ खुल्यो भन्दैमा आवेदन दिनै पर्छ भन्ने नरहेको उनले बताए ।

‘प्रमोटर ग्रुपले ७५ प्रतिशत आफै लगानी गरेर २५ प्रतिशत सर्वसाधारणबाट पुँजी संकलन गरेर प्रोजेक्ट पुरा गर्ने योजना बनाएको हुन सक्छन्, त्यो पार्टबाट हेर्ने हो भने प्रत्यक्ष असर गर्छ, कि त प्रमोटरहरु आफैंले लगानी थप्नु पर्याे कि सेयर निष्काशन प्रक्रिया बढाएर त्यसलाई पुर्ती गर्नु पर्‍याे,’ उनले भने, ‘लगानीकर्ताहरूले आईपीओ आयो भन्दैमा जुनसुकै कम्पनीमा पनि आवेदन दिनै पर्छ भन्ने छैन, १ हजार रुपैयाँ लगानी गरेको छ भने सूचीकृत भएपछि ३/४ हजार हुन्छ भन्ने लोभको आधारमा अहिले बजार चलिरहेको छ, जस्तो कम्पनीमा लगानी गरेपनि दोब्बर भइहाल्छ भन्ने हिसाबल लगानी गरिरहेका छन् ।’

प्रक्रिया नै रोक्यो भने कम्पनीले गरेको योजना अन्तिम चरणमा पुग्न नसक्ने उनको भनाइ छ । साथै, कम्पनीको लागत बढ्दै जाने र समयमा प्रोजेक्ट पुरा नभएपछि प्रमोटरहरू डुब्न सक्ने उनले बताए ।

हिमालयन क्यापिटलका सीईओ प्रमेश्वर पन्त घटबढ हुनु पुँजी बजारको नेचर भएकाले सप्लाइ नै बन्द गर्नु उपयुक्त नहुने बताउँछन् । सेयर सप्लाइलाई निरन्तर प्रक्रियामा जान दिनु पर्ने उनको भनाइ छ । बजार घटेको बेला सेयर निष्काशन प्रक्रिया रोक्ने र बढेको बेलामा ल्याउनु पर्छ भन्ने कानुनी रूपमा सही नहुने उनले बताए ।

‘बजारमा तरलता छैन, लगानीकर्ताहरुको सहभागीता छैन भने बजार तल झर्ने हो, जब बजारमा लगानी बढ्दै गयो र लगानीकर्ताहरूको सहभागिता बढ्यो भने बजार माथि जाने हो, त्यसलाई प्याक गरेर सेयर सप्लाइ प्रक्रिया रोक्ने भन्दा पनि निरन्तर हुन दिनु पर्छ, आफ्नै फ्लोमा जान दिनु पर्छ, ट्रयाक गर्नु हुँदैन,’ उनले भने, ‘बजार घटेको बेला सेयर निष्काशन प्रक्रिया रोक्ने र बढेको बेलामा ल्याउने भन्ने हुँदैन, त्यो नियमसम्मत पनि हुँदैन, प्रक्रियागत रूपमा आउने हो, बजार घटबढ जे भएको बेला पनि आउन सक्छ ।’

यदि बिक्री भएन भने अण्डराइटरले लिनु पर्ने उनले बताए । धितोपत्र बोर्डले पनि घटेको बेला रोक्ने एंगलबाट हेर्न नहुने उनको राय छ ।

Share News