सूर्य नेपालले १० करोडको लगानीमा अगरबत्ती उद्योग खोल्दै, यही वर्षभित्रै सञ्चालनमा
काठमाडौं । सूर्य नेपालले बारामा अगरबत्ती उद्योग खोल्ने भएको छ । विदेशी लगानीसहितको नेपालको निजी क्षेत्रको सबैभन्दा ठूलो कम्पनी सूर्य नेपालले बारामा अगरबत्ती उद्योग सञ्चालनका लागि सबै तयारी पूरा गरेको हो । कम्पनीका अनुसार नयाँ उद्योग सञ्चालनका लागि सम्भाव्यता अध्ययन, वातावरणीय प्रभाव मूल्यांकनसँगै उद्योग विभागबाट पनि उद्योग सञ्चालनका लागि अनुमति पाइसकेको छ । कम्पनीले अब यही वर्षभित्रै उद्योग सञ्चालनमा आउने बताएको छ । सूर्य नेपालले आफ्नो नाफाबाट यो उद्याग सञ्चालन गर्ने भएको हो । १० करोड रुपैयाँ लगानी रहेको यो अगरबत्ति उद्योगले वार्षिक ७० हजार बण्डल अगरबत्ति उत्पादन गर्ने कम्पनीको भनाइ । यो उद्योग स्थापनाका लागि ८१ जना जनशक्तिको आवश्यक पर्ने बताइएको छ । नेपाली बजारमा सूर्य नेपालद्वारा उत्पादित चुरोटले एकछत्र राज गरिरहेको छ । नेपाली बजारमा सूर्य नेपालबाट उत्पादित चुरोटको बजार ठूलो छ । कम्पनीको वित्तीय विवरणअनुसार सूर्य नेपालले एक वर्षमै २७ अर्ब १ करोड रुपैयाँको चुरोट व्यापार गरेको छ । रेटिङ एजेन्सी केयर रेटिङ्स नेपालका अनुसार कम्पनीले सन् २०२१/२२ मा २७ अर्ब १ करोड ४० लाख रुपैयाँको व्यापार गरेको हो । यो २०२०/२१ को तुलनामा २ अर्ब ५२ करोड २० लाख रुपैयाँ बढी हो । अघिल्लो वर्ष २०२०/२१ मा कम्पनीले २४ अर्ब ४९ करोड २० लाख रुपैयाँको व्यापार गरेको थियो भने २०१९/२० मा कम्पनीले २४ अर्ब ४७ करोड १० लाख रुपैयाँको कारोबार गरेको थियो । व्यवसायीले व्यापार घटेको बताइरहँदा सूर्य नेपालको व्यापार भने बढिरहेको छ । अहिले लगानीको वातावरण नभएको भन्दै उद्योगी व्यवसायी ‘वेट एण्ड सी’ को अवस्थामा रहँदा सूर्य नेपाल भने यतिखेर नै नयाँ उद्योग सञ्चालनको तयारी गरिरहेको छ । सूर्यको देशभर एक सयभन्दा बढी थोक बिक्रेता छन् । सूर्य नेपाल सबैभन्दा बढी कर तिर्ने उद्योगमा पर्दै आएको छ । कम्पनीमा आइटिसी इन्डिया लिमिटेडको ५९ प्रतिशत सेयर, ३९ प्रतिशत नेपालीको र २ प्रतिशत ब्रिटिस अमेरिका टोबाको लिमिटेडको सेयर स्वामित्व छ । कम्पनीले २०२१/२२ को नाफाबाट १० अर्ब ४० करोड ३० लाख रुपैयाँ लाभांश दिने घोषणा गरेको छ । कम्पनीले बारामा खोल्ने अगरबत्ती उद्योगको लगानी सूर्य नेपालको नाफाबाट हुने बताएको छ । सूर्य नेपालले अहिले पनि अगरबत्तीसँगै चुरोट, सलाई, कन्फेक्सनरीहरू उत्पादन गर्दै आएको छ । अगरबत्तिको थप नयाँ उद्योग कम्पनीले खोल्न लागेको हो । कम्पनीले विगत साढे तीन दशकदेखि नेपालमा चुरोट उत्पादन गरेर बिक्री गर्छ । कम्पनीले ५ अर्ब ७५ करोड रुपैयाँको अल्पकालीन बैंकिङ कर्जा लिएको बुझिएको छ ।
रमेश हमालको २ वर्षे कार्यकाल: लगानीकर्ता खुसी, स्वार्थ समूहबाट आलोचित
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष रमेशकुमार हमालको कार्यकाल आगामी पुस २० गते सकिँदैछ । पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले धितोपत्र बोर्डको अध्यक्षमा नियुक्त गरेका हमाल आफ्नो २ वर्षे कार्यकाल सकेर पुस २० गते बोर्डबाट बाहिरिँदैछन् । तत्कालीन अध्यक्ष भिष्मराज ढुंगाना सर्वाेत्तम सिमेन्टको सेयर खरिद प्रकरणमा मुछिएपछि सरकारले निलम्बन गरेको थियो । उनको बाँकी रहेको कार्यकाल पुरा गर्न हमाललाई बोर्डको अध्यक्षमा नियुक्त गरिएको थियो । अहिले पनि दोहोरिने इच्छा रहेको बुझिएको छ । यद्यपि, हमालले भने यो विषयमा आफ्नो औपचारिक धारणा राखिसकेका छैनन् । छोटो अवधिका लागि अध्यक्ष बनेका हमालले यो अवधिमा धेरै काम गरेर देखाए भने उनका केही प्रयास असफल भए। विभिन्न स्वार्थ समूहकाे चेपुवामा परेका हमालको आलोचना पनि प्रशस्त भयो। तर, सेयर लगानीकर्ता भने उनको प्रशंसा नै गर्छन् । लगानीकर्ता राजु पौडेल हमालको कार्यकाल सेयर बजारका लागि उत्साहजनक रहेको बताउँछन् । पुराना ब्रोकर कम्पनीको सिण्डिकेट तोडेर नयाँ ब्रोकर कम्पनीलाई लाइसेन्स दिँदा लगानीकर्ताहरूलाई फाइदा भएको उनको भनाइ छ । बुक बिल्डिङ विधिमार्फत् आईपीओ जारी गर्न लगानीकर्ताहरूले लामो समयदेखि माग गर्दै आएकोमा अध्यक्ष हमालले त्यो पुरा गरेर राम्रो कामको सुरुवात गरेको उनको भनाइ छ । हमालले नयाँ ब्रोकर थपेर पुराना ५० वटा ब्रोकरको सिण्डिकेट तोड्न सफल भए । जुन सेयर लगानीकर्ताहरूका लागि सबैभन्दा ठूलो उपलब्धि हो । बैंकहरूले सिआश्वा शुल्क बढी भएको भनेर आलोचना पनि हुने गरेको थियो । त्यसमा हमालले हस्तक्षेप गरे र शुल्क पनि घट्यो । यसमा अध्यक्ष हमालले लगानीकर्ताबाट स्यावासी पाए । कुनै पनि बैंक तथा वित्तीय संस्था मर्जरमा जाँदा लामो समय कारोबार रोक्का हुन्थ्यो, लगानीकर्ताहरू खरिदबिक्री गर्नबाट बञ्चित हुन्थे, यी सबै प्रवृत्तिलाई अन्त्य गर्न अध्यक्ष हमाल केही हदसम्म सफल पनि बने । उनले गरेको अर्को महत्वपूर्ण काम भनेको सर्वाेत्तम सिमेन्टको आईपीओ प्रक्रियालाई अगाडि बढाए । त्यही बुक बिल्डिङका कारण यसअघिका अध्यक्ष भीष्मराज ढुंगाना र नेप्सेका सीईओ चन्द्रसिंह साउँदको जागिर चैट भएको थियो । तर, उनले सो विषयलाई सहज रूपमा अगाडि बढाए । लगानीकर्ता पौडेलले संस्थापक सेयरको लकिङ अवधि खुल्नुअघि ३० दिन अगाडि नै जानकारी दिनु पर्ने व्यवस्था लागू गरेको भन्दै अध्यक्ष हमालको प्रसंशा गरे । ‘कतिपयलाई लकिङ पिरियड कहिले खुल्छ भनेर थाहा हुँदैन, प्रमोटरले सेयरको सप्लाइ दिने र नयाँ लगानीकर्ताहरू फस्ने सम्भावना हुन्छ, जस्तो शिवम्, माउन्टेन इनर्जीमा धेरै लगानीकर्ता फसे, त्यसैले यो पहल पनि राम्रो हो,’ उनले भने । उनका अनुसार नेपाल स्टक एक्सचेञ्जको सेवा गए जुग्रेको छ । हालै मात्र सिस्टम ढिला चलेर साढे ११ बजेपछि मात्रै बजार खुलेको थियो । नेप्सेले गरिरहेको मनोपोलीलाई तोडेर नेपालको पुँजी बजार अन्तर्राष्ट्रिय बजारमा पुर्याउन नयाँ स्टक एक्सचेञ्ज ल्याउन अध्यक्ष हमालले पहल गरे । नयाँ स्टक एक्स्चेञ्जको लाइसेन्स हात पार्न ठूला व्यवसायीहरु प्रतिस्पर्धामा आए । लाइसेन्स कसले हात पार्ने भन्ने विषयमा ठूलो शक्ति संघर्ष भयो । यो विषय मन्त्रिपरिषदमा मात्र होइन, संसद र अदालतसम्म पुग्यो । सबै निकायबाट सहमति लिएर लाइसेन्स दिने हमालको प्रयास अझैसम्म सफल भएको छैन । धितोपत्र बोर्डका एक कार्यकारी निर्देशकले हमालले दुई वर्षको अवधिमा धेरै काम गरेको बताए । ती कर्मचारीका अनुसार हमालले व्यक्तिगतभन्दा पनि संस्थागत स्वार्थका लागि धेरै काम गरेका छन् । लामो समयदेखि ब्रोकर संख्या थप्नु पर्ने र बैंकहरूले पनि ब्रोकरको लाइसेन्स पाउनु पर्ने माग उठ्दै आएको थियो । यसअघिका अध्यक्षहरूले सो कार्य गर्न सकेका थिएनन् । अध्यक्ष हमालको कार्यकालमा नयाँ ब्रोकरको संख्या थपियो । साथै, प्रतिस्पर्धात्मक माध्यमबाट जसले पनि ब्रोकर कम्पनी सञ्चालन गर्न सक्छ भन्ने वातावरण बनेको छ । यसले पारदर्शीता कायम भएको ती कर्मचारीको बुझाइ छ । ‘उहाँको कार्यकालमा प्राइभेट इक्विटी भेन्चर क्यापिटल सफलतापूर्वक कार्यान्वयनमा आएको छ, बुक बिल्डिङ्ग विधिबाट आईपीओ निष्काशन गर्न अनुमति छिटाे दिने प्रक्रियामा ब्रेक थ्रु भयो, प्रतिस्पर्धाको माध्यमबाट नयाँ ब्रोकर कम्पनीहरूले लाइसेन्स पाए, व्यक्तिगत तथा संस्थागत, बैंकले पनि सहायक कम्पनीकारूपमा ब्रोकर कम्पनीको लाइसेन्स पाए,’ ती कर्मचारीले भने । ब्रोकर कम्पनीले शाखा विस्तार गर्दा बोर्डको स्वीकृति लिनु पर्ने व्यवस्था हटाएर प्रक्रिया पुर्याउने कम्पनीले ब्रोकर शाखा थप्न पाउने व्यवस्था उनकै सक्रियताबाट भयो । प्रक्रिया पुर्याएर बोर्डमा आवेदन दिने सबै कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिने काम उनकै कार्यकालमा भएको ती कर्मचारीको भनाइ छ । जबकी आईपीओ निष्कानमा उनको कार्यकालमा धेरै कम्पनीले निष्काशन गरेर ऐतिहासिक रकेर्ड नै ब्रेक भएको उनको दाबी छ । तर, धमाधम आईपीओ निष्कानशका लागि अनुमति दिँदा सप्लाइ बढेका कारण पछिल्लो समय बोर्डले स्वीकृत प्रक्रियामा ढिलासुस्ति गरेको उनले बताए । ती कर्मचारीका अनुसार हमालले २ वर्षमा थुप्रै काम गरेपनि कार्यकाल भने विवादरहित भने बन्न सकेन । तर, काम गर्दै जाँदा सामान्य विवाद हुनु स्वभाविक हुने उनी बताउँछन् । ती कर्मचारीका अनुसार हमालसँग काम गर्न पनि सहज भएको अनुभव सुनाए । ‘उहाँमा सकेसम्म छिटो काम सक्नुपर्छ भन्ने सोच छ, निजी क्षेत्रबाट आउनु भएकाले काम नरोकेर फटाफट गर्नुपर्छ,’ उनले भने, ‘उहाँले कर्मचारीहरुको भत्ता बढाउनु भयो, पहिलाका अध्यक्षहरुले बढाउन नसकेको भत्ता उहाँले बढाउनु भयो, ४० प्रतिशतसम्म भत्ता वृद्धि भयो, कर्मचारीले पाउने तलब भने नेपाल सरकारले तोके सरह नै पाउने हो ।’ उनको कार्यकालमा कम्पनी तथा व्यक्तिलाई कारवाही पनि बढे । सूचीकृत कम्पनी, ब्रोकर कम्पनी लगायतलाई कारवाही भएको छ । इन्साइडर ट्रेडिङ गर्नेहरू पहिलाे पटक कारवाहीमा परे । यस्ता काराेबारी विरूद्ध उनको पालामा मुद्दा दायर भएको छ । हमालले आफ्नो कार्यकालमा एसएमईज र नयाँ स्टक एक्सचेञ्ज सञ्चालनमा ल्याउन खोजेका थिए । तर, त्यो पुरा हुन सकेन । कहाँ चुके हमाल ? हमालले धेरै कामहरूमा सफलता प्राप्त गरेपनि केही काममा भने उनी चुकेका छन् । सेयर बजार प्यानिक तथा चरम बियरिसबाट गुज्रिरहेको बेला धमाधम प्रिमियममा आईपीओ निष्काशन गर्न अनुमति दिएर ध्वस्त पारेको आरोप लगानीकर्ता पौडेलले लगाए । ‘बजार बुलिसमा भएको भए सप्लाई पचाउँथ्यो तर, बियरिसमा धेरै आईपीओ आए, जलविद्युत कम्पनीले धमाधम हकप्रद सेयरको अनुमति पाए, फण्डामेन्टल कमजोर भएका कम्पनी रिपब्लिक मिडिया, सोना कम्पनी, रेटिङमा नै चलखेल गरेको घोराही सिमेन्टमा बढी चलखेल भएको कुरा पनि सुनियो तर त्यसमा उनले प्रष्ट पार्न सकेनन्, उनी मौन बसे,’ उनले भने । सर्वसाधारणको रकम फस्ने गरी कमजोर कम्पनीलाई समेत आईपीओ निष्काशन गर्न स्वीकृति दिएको आरोप ब्रोकर व्यवसायीको छ । ‘प्रिमियम थप्नका लागि नियमावली संशोधन गरे, नयाँ कम्पनी सूचीकृत हुँदा कडाइ हुनु पर्नेमा उल्टै भइरहेको नियम खुकुलो बनाए, उद्यमीका लागि त्यो ठिकै होला तर, पब्लिकको लागि गलत हो किनभने कर्पाेरेट गभर्नेन्स नभएका कम्पनीमा जोखिम र म्यानुपुलेसन गर्ने ठाउँ रहन्छ, त्यसमा ओभरलुक भयो, यो सबै बुकबिल्डिङ बाट गरेको भए राम्रो हुने थियो,’ ती ब्रोकरले भने । उनका अनुसार जलविद्युत कम्पनीको हकप्रद सेयरमा पनि नियन्त्रण हुन सकेन । नेगेटिभ नेटवर्थ भएका कम्पनी, जसमा लगानी गरेकै दिन भ्यालू घट्ने कम्पनीले पनि राइट सेयरको अनुमति पाएको उनको भनाइ छ । उनका अनुसार नेप्सेको प्रतिस्पर्धी बनाउन नयाँ स्टक ल्याउने तयारी गरे । तर, नाफा कमाइरहेको संस्थालाई निजीकरण गरेर नयाँ स्टक ल्याउने तयारी गरेको भए राम्रो हुने उनको भनाइ छ । राज्यको सम्पत्ति जोगाउनु पनि नियामकको दायित्व हो । तर, त्यसलाई नजरअन्दाज गरेर सिधैं निजी कम्पनी ल्याउन तिर लागेको आरोप उनको छ । अर्का ब्रोकर व्यवसायीले उनको कार्यकाललाई बजार इन्डेक्ससँग जोडे । हमालको कार्यकालमा बजार इन्डेक्स घटेकोले उनको कार्यकाल सफल भएको मान्न नसकिने उनको बुझाइ छ । ‘इण्डेक्स राम्रो भएको भए उहाँले राम्रो काम गर्नु भयो भन्ने देखिन्थ्यो, उहाँको कार्यकालमा सेयरको सप्लाइ अत्यधिक बढ्यो, लगानीकर्ता जुनरूपमा बढाउनु पथ्र्याे त्यो भन्दा बढी सप्लाइको फ्लो बढ्यो, बजारलाई यो राम्रो होइन, बजारको इण्डेक्स खासै नबढेको हुँदा त्यहि अनुरुपमा उहाँको कार्यकाल लिने हो,’ ती ब्रोकर व्यवसायीले भने । उनका अनुसार हमालले बजार विस्तारमा भने प्रभावकारी काम गरे ।
पौने ७ खर्बको सम्पत्ति निरीक्षण गरिरहेका इन्जिनियर
काठमाडौं । कतिपय मानिस उनीहरू जीवनमा के गर्न चाहन्छन् भन्ने विषयमा स्पष्ट हुन्छन् । केही व्यक्तिहरू निरन्तर समयसँग चलिरहन्छन् । यस्तै एक व्यक्ति हुन्, ताहिर बादशाह । जसले इलेक्ट्रोनिक इन्जिनियरिङ पढेका छन् र उनी फाइनान्स क्षेत्रका विश्वविज्ञ हुन् । इलेक्ट्रोनिक इन्जिनियरिङ पढ्दा बादशाहलाई आफ्नो करियरले ३६० डिग्रीको मोड लिन्छ भन्ने कल्पना थिएन । ताहिरले सन् १९९१ मा इन्जिनियरिङको डिग्री पूरा गरेका थिए । त्यतिबेला भारत आर्थिक संकटबाट गुज्रिरहेको थियो । यसले उनलाई आफ्नो क्षमता विस्तार गर्न र एमबीए गर्न प्रेरित गर्यो। कसैले भन्न सक्छ यो कदमले उनको जीवन परिवर्तन भयो भनेर । बादशाहले आफ्नो करियर अनुसन्धानकर्ताका रूपमा सुरु गरेका थिए । उनको निर्देशक इक्विटी मार्केटका दिग्गज रामदेव अग्रवाल थिए । त्यसपछि बादशाह मोतीलाल ओसवाल सम्पत्ति व्यवस्थापनमा इक्विटी प्रमुख भए । आज उनी इन्भेस्को म्युचुअल फण्डमा मुख्य लगानी अधिकारीका रूपमा ६ खर्ब ७० अर्ब रुपैयाँभन्दा बढीको सम्पत्तिको निरीक्षण गर्छन् । रामदेव अग्रवालसँगको त्यो भेट ‘सन् १९९४–९५ मा इक्विटी रिसर्च एकदमै राम्रो थियो । इक्विटी रिसर्च गर्ने कम्पनीहरू थोरै थिए । तर, सीमित भए पनि मैले विकल्प खोजिरहेको थिएँ। त्यसपछि संयोगवश, मलाई मोतीलाल ओसवालमा अनुसन्धान विश्लेषकका रूपमा अवसर प्राप्त भयो,’ फाइनान्सको दुनियाँमा आफ्नो सुरुवातबारे बादशाह भन्छन्, ‘मोतीलाल ओसवालका तत्कालीन अनुसन्धान निर्देशक रामदेव अग्रवाललाई भेट्ने सौभाग्य मिलेको थियो। हाम्रो डेढ घन्टाको कुराकानीमा उनले मलाई धेरै प्रश्नहरू सोधे, जसमध्ये धेरैजसो उत्तर मसँग थिएन तर जे होस्, मैले उनलाई इक्विटी अनुसन्धान भनेको मेरो जीवनमा गर्न चाहन्छु भनेर विश्वस्त पार्न सक्षम भएँ ।’ केही दिनपछि रामदेव अग्रवालले बादशाहलाई जुनियर रिसर्च एनालिस्टको कामको प्रस्ताव गरे । ‘अग्रवालको निर्देशनमा भएकाले पहिलो ५ वर्ष म भाग्यमानी थिएँ । उनी आफैं एक महान विश्लेषक हुन्,’ उनले भने । यस अवधिमा ताहिर एक अटो विश्लेषकका रूपमा हिरो होन्डा एक आकर्षक लगानी विकल्पका रूपमा पहिचान गर्न सक्षम भए । अर्को १० वर्षमा स्टकले धेरै राम्रो प्रदर्शन गर्यो । जसका कारण उनलाई र कम्पनीलाई धेरै फाइदा भयो । यो घटना उनको करियरको जाँतो साबित भयो । आफ्नो कामबाट ताहिरलाई कुन कुराले आकर्षित गर्छ भन्ने बारे उनी भन्छन्, ‘वर्षौंदेखि मेरो भूमिका पनि रिसर्चबाट पोर्टफोलियो व्यवस्थापन र अब व्यवसाय सञ्चालनमा परिवर्तन भएको छ । यो रोमाञ्चक र तनावपूर्ण पनि छ । जे होस्, यो त्यो ठाउँ हो जहाँ तपाईं सिक्ने सबैभन्दा धेरै अवसर पाउनुहुन्छ । हामी पछिल्ला ६–७ वर्षमा उद्योगमा उल्लेखनीय रूपमा अगाडि बढेका छौं ।’ इन्भेस्कोको बारेमा उनी भन्छन्, ‘यद्यपि, नयाँ रूप दिनका लागि यो पर्याप्त छैन र हामीले अर्को स्तरमा पुग्न आफूलाई धकेल्न फरक तरिकाले काम गर्नुपर्ने छ ।’ ताहिरले साढे ६ खर्बभन्दा बढीको सम्पत्तिको निरीक्षण गर्छन् । यस्तो अवस्थामा काम र जीवन सन्तुलन कायम गर्न गाह्रो हुने उनी बताउँछन् । ‘मैले आफ्नो समयलाई काम र जीवनबीच विवेकपूर्ण रूपमा बाँड्न सिकेको छु । कोभिडले त्यो परिवर्तन सम्भव बनायो । हाम्रो काम २४–७ हो, तर त्यसबाट अलग रहनु पनि महत्त्वपूर्ण छ । पछिल्ला तीन वर्षमा योग मेरो साप्ताहिक तालिकाको अभिन्न अंग बनेको छ । समयसँगै म अझ आध्यात्मिक र धार्मिक पनि भएको छु। यसले मलाई शान्ति दिन्छ,’ उनी भन्छन् । एजेन्सी