कर्णाली प्रदेशका शाखा टप टेनभित्र पर्छन् : महत

सिटिजन्स बैंकको कर्णाली प्रदेशको प्रमुख हुन्, प्रकाश महत । झन्डै डेढ दशक बैंकिङ अनुभव हासिल गरेका महतले २०६६ सालबाट करियर सुरु गरेका हुन् । कुमारी बैंकबाट बैंकिङमा प्रवेश गरेका उनी ३ वर्षपछि सिटिजन्स बैंकमा प्रवेश गरेका थिए । विगत १२ वर्षदेखि सिटिजन्स बैंकमा काम गर्दै आएका उनी विभिन्न शाखा हुँदै प्रदेश इन्चार्ज बनेका छन् । उनको स्थायी ठेगाना हुम्लाको सिमकोट गाउँपालिका-४ हो । व्यवस्थापनमा त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तरसम्मको शिक्षा हासिल गरेका महतसँग विकासन्युजका सीआर भण्डारीले कर्णाली प्रदेशको बैंकिङका विषयमा कुराकानी गरेका छन् । कर्णाली प्रदेशमा सिटिजन्स बैंकको उपस्थिति कस्तो छ ? सिटिजन्स बैंकले कर्णाली प्रदेशमा देशभरिकै उच्च स्थानमा रहेकाे सदरमुकाम सीमिकोटबाट पहिलो शाखा सञ्चालनमा ल्याएको हो । हुम्लामा ३ वटा शाखा, डोल्पामा २ वटा शाखा, जुम्ला, मुगु, सुर्खेत, जाजरकोट र सल्यानमा छ । जिल्लागतरूपमा बैंकको दैलेख, कालिकोट र रुकुम पश्चिममा शाखा छैन । यी तीन जिल्लामा पनि क्रमिकरूपमा शाखा सञ्जाल विस्तार गर्दै जाने योजना बनाएको छ । कर्णाली प्रदेशमा बैंकका १० वटा शाखा कार्यालयमध्ये तीन वटा शाखा गाउँपालिकामा छन् । हुम्लाको सर्केगाड गाउँपालिका र नाम्खा गाउँपालिका र डोल्पाको ठुलीभेरी (जुफाल)गाउँपालिकामा बैंकले शाखा कार्यालय विस्तार गरेको छ । यस प्रदेशमा बैंकका ६ वटा एटीएम मेसिन छन् । हुम्ला, सर्खेत, जुम्ला, जाजरोट, गमगढी र श्रीनगरमा एटीएम मेसिन सञ्चालनमा छन् । समग्रमा कर्णाली प्रदेशमा बैंकको नेटवर्क राम्रो छ । दैलेखमा हाइड्रोपावरको प्रोजेक्ट भएको हुँदा यस बैंकको पनि योगदान छ । कर्णाली प्रदेशमा बैंकको व्यवसाय कस्तो छ ? बैंकको कुल निक्षेप १ खर्ब ७५ अर्ब रुपैयाँ छ । जसमा कर्णाली प्रदेशको ३ अर्ब ५७ करोड रुपैयाँ रहेको छ । बैंकको कुल निक्षेपमा कर्णाली प्रदेशको हिस्सा २‍.०४ प्रतिशत छ । बैंकको कुल कर्जा १ खर्ब ४८ अर्ब रुपैयाँ छ भने कर्णाली प्रदेशमा २ अर्ब रुपैयाँ हाराहारीमा कर्जा प्रवाह भएको छ । जुन कुल कर्जामा कर्णाली प्रदेशको १.३६ प्रतिशत योगदान छ । निक्षेपतर्फ कर्णाली प्रदेशका १० वटा शाखामा ७८ हजार ग्राहकहरू हुनुहुन्छ भने कर्जाका ग्राहकहरू १ हजार ५ सयको हाराहारीमा हुनुहुन्छ । उद्योग व्यवसाय नभएकाले कर्णाली प्रदेशलाई प्राथमिकता दिँदैनन् । स्रोतसाधन भएको क्षेत्र र स्रोतसाधन नभएको क्षेत्रमा बैंकको व्यवसायमा कस्तो फरक पाउनुभयो ? कर्णाली प्रदेश भूगोलका हिसाबले दुर्गम छ । तर, सम्भावनाहरू अथाह छन् । यस प्रदेशमा उद्योगधन्दा तथा कलकारखाना नहुँदा राज्यले पछि पारेको जस्तो देखिन्छ । तर, यस प्रदेशमा बैंकहरूले ट्रेडिङ (व्यापार) क्षेत्रमा लगानी गर्छन् । जलविद्युत, पर्यटन (आन्तरिक तथा बाह्य)को सम्भावना धेरै छ । अन्य क्षेत्रको तुलनमा कर्णाली प्रदेशमा गरिने बैंकिङमा त्यति धेरै फरक छैन । काठमाडौं, हुम्ला र सुर्खेत गरी बैंकिङ क्षेत्रमा १५ वर्ष काम गरेँ। आफ्नो अनुभवका हिसाबले त्यति धेरै भिन्नता पाएको छैन । तर, अन्य क्षेत्रका कर्मचारीलाई कर्णाली प्रदेशमा काम गर्न पठायो भने कारबाही गरेर पठाएको भनेर सोच बनाउँछन् । सामान्यतया बैंकको नेटवर्क भएका सर्खेत, जाजरकोट र जुम्लाको सहरी क्षेत्रमा कर्जा प्रवाह सहज छ । दुर्गममा त्यति धेरै छैन । किनभने यहाँको मान्छेहरूमा वित्तीय साक्षरता कम छ । नेपालको बैंकिङ धितोमा आधारित भएर कर्जा दिने भएकाले यहाँको धितोको मूल्याङ्कन कम हुन्छ । हामीलाई कर्जा प्रवाह गर्दा सहजरूपमा धितो स्वीकार गर्न गाह्रो छ । किनभने गाउँका घरहरू ढुंगामाटोले बनेका हुन्छन् भने जग्गाहरू सडक सञ्जालबाट टाढा हुन्छन् । नेपाल राष्ट्र बैंकले त्यस्तो ठाउँको लागि त्यस्तै किसिमका नीतिहरू बनाउने हो भने हामीलाई कर्जा प्रवाहमा पनि सहज हुनेछ । हामीले गाउँपालिकाको सिफारिस आधारमा कर्जा प्रवाह गरिरहेका छौं । कर्णाली प्रदेशका जनताहरूमा बैंकसम्बन्धी सचेतना कस्तो छ ? र, सचेतना बढाउन बैंकले के-कस्ता अभ्यास गरिरहेको छ ? दर्गम भएपछि हरेक विषयमा दुर्गम हुँदो रहेछ । कर्णाली प्रदेशको सबै स्थानीय तहहरुमा बैंकहरुको उपस्थिति पुगिसकेको छ । म सीमिकोट शाखामा हुँदा ग्राहकहरूमा बैंकिङ अभ्यास कम थियो । करोडौंको कारोबार गर्नुहुन्थ्यो तर अनौपचारिक माध्यमबाट । व्यवसाय पनि दर्ता नगर्ने परिपाटी थियो । हामीले सचेत गरायौं । व्यवसाय दर्ता गराएपछि राज्यलाई कर बढ्छ । तपाईंहरूको पनि राज्यमा योगदान पुग्छ भनेर हामीले जानकारी गरायौं । अहिले बैंकिङ च्यालनमा आएपछि उहाँहरूको सोचाईमा पनि परिवर्तन आएको छ । वित्तीय साक्षरता समय समयमा गरिरहेका हुन्छौं । डिजिटल बैंकिङलाई पनि ग्राहकहरूमा अभ्यस्त बनाउँदै छौं । पहिलाको तुलनामा अहिले धेरै अघि बढेको छ । यहाँ जनताहरू पनि सचेत भइसकेका छन् । बैंकप्रति ग्राहकहरूको प्रतिक्रिया के छ ? ग्राहकहरूको प्रतिक्रिया सकारात्मक र नकारात्मक दुवै आउँछन् । किनभने ग्राहकहरूलाई छिटो र झन्झटरहित सेवा चाहिन्छ । हामी सर्भिसमा कुनै कम्प्रमाइज गर्दैनौं । थोरै कम्प्रमाइज गर्याै भने पनि ग्राहकहरूले कम्प्रमाइज गर्नहुन्न । सिटिजन्स बैंकप्रति ग्राहकहरूको नकारात्मक प्रतिक्रिया छैन । किनभने हामीले राम्रो गरिहरेका छौं । अझै राम्रो गर्नु पर्छ भनेर सुझाव दिनुहुन्छ । सिटिजन्स बैंकको आफ्नै ग्राहकमैत्री संस्कार छ । सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले कस्ता काम गरिरहेको छ ? सामाजिक उत्तरदायित्वअन्तर्गतका कार्य निरन्तर गरिरहेका हुन्छौं । कर्णाली प्रदेशका जुनजुन ठाउँमा शाखा कार्यालय छन् ती ठाउँहरूमा हेल्थ क्याम्प, रक्तदान, वृद्धाश्रम तथा अनाथलय, सामुदायिक विद्यालय, विपन्न वर्गलाई डोनेसन, खाद्यान्न तथा अन्य सामाग्री सहयोग गर्दै आएका छौं । आगामी दिनमा पनि यस्ता काम गर्दै जाने योजनाहरु छन् । कर्णाली प्रदेशमा बैंकिङ व्यवसाय विकास गर्न के गर्नु पर्छ ? सबै निकायको आआफ्नो भूमिका छ । कर्णाली प्रदेशलाई सबैभन्दा दुर्गम र पिछडिएको क्षेत्र भनेर चिनिन्छ । त्यसैले यहाँ बैंकिङ लिट्रेसीको साच्चिकै खाँचो छ । किनभने बुझ्ने ग्राहकहरू पनि चासो देखाउनुहुन्न । हामीले वित्तीय साक्षरता सम्बन्धि काम गर्दै आएका छौं । तर, हामीले गरेको अझै पुगेको छैन । ग्रासरुटसम्म पुग्न सकेको छैन । यस बैंकका शाखा कार्यालय, गाउँपालिकाले पनि वित्तीय साक्षरतासम्बन्धी कार्य गर्दै आएका छन् । अझै यसलाई बढाउँदै लैजानु पर्छ । अब डिजिटल बैंकिङमा परिणत गर्दै जानुपर्नेछ । डिजिटल बैंकिङमा प्रदेशको हिस्सा कति छ ? एटीएम कार्ड, मोबाइल बैंकिङ, क्यूआर कोड, डिम्याट अकाउन्टमा अन्य प्रदेशको शाखाभन्दा सर्खेत शाखा टप टेनभित्र पर्छ । एटीएमको कारोबारमा सर्खेत शाखा कर्णाली प्रदेशको नम्बर वानमा पर्छ । अन्य बैंकको तुलनामा सिटिजन्स बैंकको व्यवसाय कस्तो छ ? स्ट्याण्डर्ड चार्टर्ड बैंक बाहेक सबै वाणिज्य बैंक, विकास बैंक, लघुवित्त वित्तीय संस्थाहरूको कर्णाली प्रदेशमा उपस्थिति छ । केही बैंकहरू मर्ज भएका कारण आकारमा ठूला भएका छन् । सरकारी बैंकहरूको पनि राम्रो उपस्थिति छ । कर्णाली प्रदेशमा सिटिजन्स बैंकको उपस्थिति पहिलादेखि नै राम्रो भएकाले टप टेन भित्र पर्छ । निक्षेप, कर्जा, बैंक खातामा मर्जर भएका केही बैंकभन्दा धेरै हाम्रो छ । मर्जर नभएका बैंकको तुलनामा त सिटिजन्सको झनै बलियो उपस्थिति छ । कर्णाली प्रदेशका बैंकरहरूले भोग्नु परेका पीडा व्यथा के-के हुन् ? कर्जाका विषयमा लिएर देशव्यापी व्यापारीहरूले आन्दोलन गर्दा त्यसको असर परेको छ । उहाँहरूसँगै समन्वय गरेर काम गर्ने हो । राष्ट्र बैंकको निर्देशनमा रहेर काम गर्ने हो । यहाँ त्यति धेरै अप्ठ्यारा छैनन् । तर, कोभिडको बेलामा परेको प्रभाव अहिले देखिँदै छ । कर्जाका ग्राहकहरूमध्ये कतिपयलाई समस्या परेको छ । उहाँहरू समस्यामा परेर समयमा किस्ता तिर्न नसकेको र ब्याज तिर्न नसकेको अवस्था छ । कतिपय ग्राहकहरू राज्यले छुटको व्यवस्था गर्छ कि भन्ने सोच बनाएर किस्ता नै नतिरेर बसेका छन् । अहिले अधिकांश बैंकहरूमा रिकभरीको समस्या छ । त्यो बाहेक धेरै ठूलो समस्या भोग्नु परेको छैन । समग्र अर्थतन्त्र समस्यामा परेको बेला कर्णालीमा पनि पर्नु स्वभाविक हो । कुन क्षेत्रमा बढी कर्जा प्रवाह हुन्छ ? सहरी क्षेत्र सुर्खेत, जुम्ला, जाजरकोट र सल्यानमा एसएमई र एमएसएमई कर्जाहरु बढी प्रवाह भएको छ भने अन्य हिमाली क्षेत्रका शाखाहरुमा व्यक्तिगत कर्जा जान्छन् । भूगोललाई पनि सुहाउने भएकाले मुख्यगरी कृषिसम्बन्धी कर्जा बढी जाने गरेको छ । खेतीयोग्य जग्गालाई पनि धितोको रूपमा स्वीकार गर्छाैं । कारोबारको रकम ठूलो हुँदैन । २० लाखसम्म फर्मको नाममा दिन्छौं ।  

कोरोनाको नयाँ भेरियन्टलाई रोक्ने नीति नियमको आवश्यक

काठमाडौं । लगातार नयाँ नयाँ भेरियन्टमा देखिँदै आएको कोभिड-१९ को नयाँ भेरियन्ट ‘जेएन-१’ फेरि देखिएको छ । पछिल्लो समय भारतमा देखापरेको यो भेरियन्टबाट तीव्र रुपमा संक्रमण फैलिरहेको छ भने मृत्यु हुने क्रम पनि बढेका समाचारहरू आइरहेका छन् । अहिले फैलिरहेको भेरियन्ट विगतमा देखिएको ओमिक्रोन भेरियन्टको सन्तति हो । यसलाई अहिले ‘जेएन-१’ को रुपमा चिन्ने गरिन्छ । विश्व स्वास्थ्य संगठनले यसलाई घातकताको हिसावले न्यून घातक भनेर राखेको छ । खासगरी यो दक्षिण एशिया बाहिरतिर अगाडिबाटै देखिएको थियो । पछिल्लो समय भारतमा देखिएपछि अहिले त्रास फैलिएको छ । अहिले मृत्यु भएकाहरूमा यसको कारण के थियो ? संक्रमणभन्दा बाहिर पनि केही थियो कि ? भन्ने विषयमा अनुसन्धान भएको छैन । कोरोना संक्रमणबाट वृद्धवृद्धा दीर्घरोगी बढी जोखिममा हुन्छन् । अहिले यो भेरियन्टबाट मृत्यु भएकाहरूबारे पनि अनुसन्धान भएको छैन । मरे भन्ने विषय बाहिर आएको छ, त्यसैले पनि यो कत्तिको जोखिम छ भन्ने एकिन भइसकेको छैन । कुनैपनि भाइरस (ब्याक्टेरिया) को नयाँनयाँ स्वरुप हुन्छ । त्यसैले पनि यो नयाँ भेरियन्टलाई स्वभाविक मान्न सकिन्छ । तर, हामी किन तर्सिरहेका छौँ भने पहिले पहिले पनि थुप्रै कोरोनाका नयाँ भेरियन्ट देखिए । अहिले पनि देखिरहेका छन् । तीमध्ये कुनै नरम देखिए भने, कुनै कडा देखिए । अहिले देखिएको यो भेरियन्ट बढिरहेको पनि छ, कडा पनि देखिरहेको छ, यसले गर्दा स्वास्थ्यमा नै समस्या आउँछ कि आउँदैन भन्ने एउटा प्रश्न छ । हामीले विगतमा यस्ता समस्याहरू भोगिरहेको हुनाले फेरि नयाँ भेरियन्ट देखियो, मान्छे नै मर्न थाले भन्ने विषयले विश्व नै झसंग भएको छ । मेरो विचारमा संक्रमित हुँदैमा डराउनुपर्ने अवस्था भने छैन । तर, संक्रमित भएर एकपछि अर्को बिरामीको मृत्यु नै हुन थाल्यो भने त्यो हाम्रा लागि गम्भीर हो । यहाँनेर अलिकति चाँसो दिनुपर्छ । पहिलेको अवस्था र अहिलेको अवस्थामा फरक छ । अहिले खोपहरू प्रशस्त छन् । तर, धेरै मान्छेले लगाइरहेको अवस्था छैन । एउटा बुस्टर पक्कै पनि तपाईं हामी सबैले लगाएकै हौँला, त्यही डोजले पनि धेरै हदसम्म काम गरिरहेको छ भन्ने बुझिएको छ । किनभने कोरोना निमिट्यान्न भएको हैन । एक पटक तीव्ररुपमा फैलिने र कम हुने अवस्था मात्र छ । सबैभन्दा पहिले सन २००३ मा सर्स कोरोना भाइरस देखिएको थियो । त्यो एक डेढ वर्ष देखियो त्यसपछि देखिएन । त्यसपछि सर्स कोप २ आयो । कोरोना निरन्तर नयाँ भेरियन्टमा देखिनुले यसले पूर्णरुपमा छोडेको छैन भन्ने बुझिन्छ । हामीले विगतको अवस्था हेर्ने हो भने, यो विषयमा झस्कने र ध्यान दिनुपर्ने बेला आएको छ । खुल्ला सीमाका कारण जोखिम पछिल्लो समय नेपालको सम्बन्ध विश्वमै विस्तार भएको छ । अहिले नेपालीहरू विश्वका कयौँ देशमा पुगेका छन् । यो सम्बन्धले अब विश्वको जुनसुकै कुनामा देखिएको रोगको जोखिम नेपालमा रहन्छ । यो भेरियन्ट अहिले भारतमा देखिएको भनिएको छ । नेपाल र भारतको जुन खुल्ला सीमाना छ, त्यसैले झन् जोखिमपूर्ण छ । पहिले पनि थुप्रो लहर उत्पन्न हुँदा भारतबाट नेपालमा आएको थियो । अहिले पनि यस्तै खालको समस्या निम्तन्छ कि भन्ने हो । यसका लागि हामी चनाखो हुनुपर्ने देखिन्छ । हुन त यसमा ध्यान दिनुपर्ने भनेर मात्र हुँदैन । हामीले पहिले पनि सीमामा आवतजावत नै रोक लगाएका थियौँ । त्यो बेला पनि लुकिछिपी, नदीमा पौडी खेल्दै नेपालीहरू घर आएको समाचार पनि आएका थिए । त्यसैले पनि हामीले जोखिम कम गर्न कसरी लाग्ने भन्नेमा समयमै ध्यान दिन आवश्यक छ । कसरी सर्तक हुने ? हामीले पहिले पनि धेरै विषयमा सतर्कता अपनाएका थियौँ । यो उपाय अहिले धेरैले बिर्सिसक्नुभयो होला । जुन हामीले एउटा सिस्टम बसालेका थियौँ , त्यो अहिले सायद सबै निष्कृय भएको होला । अहिले तुरुन्तै गरिहाल्ने भन्ने पनि नहोला । त्यो कुन अवस्थामा छ म भन्न सकिँदैन । यसका लागि स्थानीय रुपमै यसमा बढी सजग हुनुपर्ने देखिन्छ । पहिले खुल्ला सीमानामै एन्टिजेन परिक्षण गर्ने थियो, अहिले त्यस्तो छैन । कोभिड १९ भन्दा अगाडिको अरु पनि विभिन्न रोगहरू छन् । तिनीहरू पनि वारपार भएकै हुन् । हामी पूर्णरुपमा रोक्न त्यो बेला पनि सफल भएनौँ । अहिले रुघाखोकीको जस्तो लक्षणहरू छ भने, त्यसलाई चेक गराउन सक्नुहुन्छ । यसलाई कसरी रोक्ने, कसरी सतर्कता अपनाउने भन्ने विषयमा नीति नियम बनाउन आवश्यक देखिन्छ । कुनैबेला कोरोना भाइरसको ओमिक्रोन अफ्रिकामा पहिलो पटक पत्ता लाग्यो । त्यो बेला हामी धेरै रुघाखोकी लाग्यो भनेर बसिरहेका थियौँ । त्यो बेलामा ओमिक्रोन व्यापक रुपमा फैलिसकेको थियो । तर, त्यो बेला धेरैले परिक्षण गरेका थिएनन् । स्वाद, गन्ध, तितो, मिठो थाहा नपाउने अक्सिजनको मात्र घट्ने कुरा थियो । त्यो बेलामा खासै देखिएन । यो अरू भेरियन्टभन्दा कम घातक पनि मानिन्छ । त्यसकै अहिले सन्तति ‘जेएन-१’ बढी चर्चामा छ । यो नेपालमा छ कि छैन ? भन्नलाई परिक्षण नगरि थाहा हुँदैन । नेपाल सरकारकाले पक्कै पनि परिक्षण गरिरहेको होला भन्ने मेरो अनुमान छ । यी सबैका बाबजुद पनि डराउनुपर्ने अवस्था म देख्दिँन । तर, पनि कहिलेकाँही सोचेभन्दा फरक पनि हुनसक्छ । त्यसैले सतर्कता अपनाउनु पर्छ । ओमिक्रोन सुरुमा आउँदा पनि जाडोको बेला थियो । सबैजना रुघाखोकी भनेर बसेका थिए । अहिले पनि यो कोभिड १९ महामारी फैलेको धेरै भइसकेको छ । मलाई जहाँसम्म लाग्छ उहाँहरू अस्पताल जानुहोला भन्ने लाग्दैन । पछिल्लो समय कोभिडकै लागि भनेर अस्पतालमा जाँच गराउन आउनेको संख्या पनि न्यून छ । सबैजसोले कोरोनाको टेस्ट गर्न नै छोडिसके । मास्क लगाउन नछोडौँ नेपालमा एकपटक यस्तो पनि थियो कि, स-साना बालबालिकादेखि वृद्धवृद्धासम्मले मास्क लगाउनु पर्ने बाध्यकारी व्यवस्था थियो । तर, आजभोलि सबैजनाले मास्क लगाउन छोडेको देखिन्छ । मास्क लगाउँदैमा कोरोना लाग्दैन भन्ने हैन, तर मास्क लगाउँदा श्वासप्रस्वासका संक्रमणबाट बच्न सजिलो हुन्छ । मास्क लगायो भने कोरोनाबाट मात्र बच्ने हो भन्ने एउटा जुन मान्छेको सोच छ यो गलत हो । तर मास्कलाई निरन्तरता दिइरह्यो भने राम्रो हुन्छ । पछिल्लो समय खोप लगाउनेको संख्या पनि घटेको देखिन्छ । तर, लगाउनु पर्ने आवश्यकता पनि छैन । र, लगाउँदैमा बेफाइदा पनि छैन । (संक्रामक रोग विशेषज्ञ डाक्टर पुनसँग विकासन्युजले गरेको कुराकानीमा आधारित)

सेयर कर्जाको ब्याज निरन्तर घट्दै, सबैभन्दा सस्तो एभरेष्टमा, कसको कति ?

काठमाडौं । निक्षेप संकलन बढ्दै गएको र कर्जाको ब्याजदर घट्दै गएपछि बैंकहरूले कर्जा लगानी बढाउन थालेका छन् । बैंक तथा वित्तीय संस्थाहरूको कर्जाको ब्याजदर घटेपछि ऋणीहरू पनि थप ऋण लिन उत्साहित हुन थालेका हुन् । विशेष गरेर घटेको सेयर बजार बढ्न थालेपछि लगानीकर्ताहरूले बैंकबाट ऋण लिएर सेयरमा लगानी गर्न खोजिरहेका छन् । बैंकहरू पनि लगानीकर्ताहरूलाई सेयर कर्जा लिन आग्रह गरिरहेका छन् । राष्ट्र बैंकले पनि ५० लाख रुपैयाँसम्मको सेयर कर्जामा जोखिमभार घटाएर १२५ प्रतिशतमा झारेको छ । जसले गर्दा पनि लगानीकर्ताहरू थप कर्जा लिन उत्साहित हुन थालेका हुन् । गत वर्ष सेयर घटेका कारण बैंक तथा वित्तीय संस्थाहरूले कर्जा पनि घटाएका थिए । तर, चालू आर्थिक वर्षमा सो सेयर कर्जा बढ्न थालेको छ । गत कात्तिकसम्म बैंक तथा वित्तीय संस्थाहरूले सेयर धितो कर्जा ६.८४ प्रतिशत घटेर ८१ अर्ब १६ करोड ७ लाख रुपैयाँ प्रवाह गरेका छन् । गत वर्षको सोही अवधिमा ७५ अर्ब ९६ करोड १० लाख रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेका थिए । गत कात्तिकसम्म वाणिज्य बैंकहरूले मात्रै ६ प्रतिशत सेयर धितो कर्जा बढाएर ६३ अर्ब ६० करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् । गत वर्षको सोही अवधिमा ५९ अर्ब ९१ करोड २० लाख रुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेका थिए । बैंकिङ्ग क्षेत्रमा तरलता अभाव भएपछि गत वर्ष राष्ट्र बैंकले सेयर धितो कर्जामा कडाई गरेको थियो । अब, तरलता हुँदै गएपछि राष्ट्र बैंकले सेयर धितो राखेर दिने कर्जा बढाउन चाहेको देखिन्छ । साथै, बैंकहरूले पनि सेयर धितोमा प्रवाह हुने कर्जा क्रमिक रुपमा घटाइरहेका छन् । बैंकहरूको पछिल्लो तथ्याङ्क हेर्ने हो भने सेयर धितोमा प्रवाह हुने कर्जाको प्रिमियम दर पनि घटाएको देखिन्छ । बैंकहरूले आधार दरमा प्रिमियम जोडेर कर्जाको ब्याजदर निर्धारण गर्दछन् । जसको आधार दर र प्रिमियम दर कम छ सो बैंकको कर्जाको ब्याज पनि सस्तो हुन्छ । राष्ट्रिय वाणिज्य बैंकले ११.६४ प्रतिशतसम्म ब्याजदर तोक्नेछ । बैंकको आधारदर ८.३९ प्रतिशत छ भने प्रिमियम दर ३ देखि ३.२५ प्रतिशतसम्म तोकेको छ । यस्तै, एभरेष्ट बैंकले ११.८१ प्रतिशतसम्म ब्याज लिएर सेयर धितो कर्जा दिनेछ । बैंकको आधारदर ९.३१ प्रतिशत छ भने सेयर कर्जाको प्रिमियम न्यूनतम ०.५ देखि २.५० प्रतिशतसम्म तोकेको छ । यस्तै, कृषि बैंकले आधारदर १०.३ प्रतिशतमा प्रिमियम दर २.५ प्रतिशतसम्म तोक्नेछ । जसआधारमा बैंकको सेयर कर्जाको लागत १२.८ प्रतिशत मात्रै हुन्छ । यस्तै, सानिमा बैंकले १३.०९ प्रतिशतसम्म ब्याज लिन सक्नेछ । बैंकको आधारदर ९.५९ प्रतिशत छ भने अधिकतम प्रिमियम दर ३.५ प्रतिशत तोकेको छ । यस्तै, स्ट्याण्डर्ड चार्टर्ड बैंकले आधारदर ८.२२ प्रतिशतमा प्रिमियम दर ५ प्रतिशत तोकेर कर्जा दिनेछ । सो आधारमा बैंकको लागत १३.२२ प्रतिशत हुनेछ । नबिल बैंकले ५० लाखसम्मको सेयर कर्जामा १२.३ प्रतिशत र ५० करोडभन्दा माथिको सेयर कर्जामा १३.३ प्रतिशतसम्म ब्याजदर तोक्नेछ । बैंकको आधारदर ९.३ प्रतिशत छ । बैंकले ५० लाख रुपैयाँसम्मको कर्जामा १ देखि ३ प्रतिशत प्रिमियम र ५० लाखभन्दा बढीको कर्जामा २ देखि ४ प्रतिशतसम्म प्रिमियम तोकेको छ । ग्लोबल आइएमई बैंकले सेयर धितो कर्जामा १३.३ प्रतिशतसम्म ब्याज लिनेछ । बैंकको आधार दर ९.८ प्रतिशत छ भने प्रिमियम दर ३.५ प्रतिशत तोकेको छ । यस्तै, सिद्धार्थ बैंकले ९.६३ प्रतिशत आधारदरमा ४ प्रतिशतसम्म प्रिमियम तोकेर ब्याजदर निर्धारण गर्नेछ । सो आधारमा बैंकको सेयर कर्जाको लाग १३.६३ प्रतिशतसम्म पुग्नेछ । एनआइसी एशिया बैंकले १०.७ प्रतिशत तोक्नेछ । बैंकको आधारदर १०.७ प्रतिशत छ भने ३ प्रतिशत प्रिमियम तोकेको छ । तर, बैंकले सेयर लोन–प्राइम शिर्षकमा शुन्यदेखि २ प्रतिशत प्रिमियम र सेयर लोन–स्ट्याण्डर्ड शिर्षकमा १ प्रतिशतदेखि ३ प्रतिशतसम्म प्रिमियम तोकेको छ । एनएमबि बैंकले १३.८१ प्रतिशतसम्म ब्याजदर तोक्न सक्नेछ । बैंकको आधारदर ९.८१ प्रतिशत छ भने प्रिमियम दर ४ प्रतिशत तोकेको छ । माछापुच्छ्रे बैंक बैंकले ५० लाख रुपैयाँसम्मको सेयर कर्जामा १ देखि ३ प्रतिशत र ५० लाखभन्दा बढीको कर्जामा २ प्रतिशतदेखि ४ प्रतिशतसम्म प्रिमियम तोकेको छ । बैंकको आधारदर ९.९१ प्रतिशत छ । यस आधारमा बैंकले सेयरधितो कर्जामा अधिकतम १३.८ प्रतिशत ब्याज तोक्न सक्नेछ । नेपाल एसबिआई बैंकले १३.९३ प्रतिशतसम्म ब्याजदर तोक्न सक्नेछ । बैंकको आधारदर ९.९३ प्रतिशत छ भने ४ प्रतिशतसम्म अधिकतम प्रिमियम दर तोकेको छ । नेपाल बैंकबाट सेयर कर्जा लिँदा १४.०५ प्रतिशतसम्म लागत लाग्नेछ । बैंकले आधारदर ९.०५ प्रतिशतमा अधिकतम प्रिमियम दर ५ प्रतिशत तोकेर ब्याजदर निर्धारण गर्नेछ । कुमारी बैंकले १४.२८ प्रतिशतसम्म ब्याजदर लिनेछ छ । बैंकको आधारदर १०.७८ प्रतिशत छ भने अधिकतम प्रिमियम दर ३.५ प्रतिशत तोकेको छ । सिटिजन्स बैंकले आधारदर १०.३९ प्रतिशतमा प्रिमियम दर ४ प्रतिशत तोकेर ब्याजदर निर्धारण गर्नेछ । सो आधारमा बैंकले १४.३९ प्रतिशत ब्याज लिनेछ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले १४.६६ प्रतिशतसम्ममा सेयर कर्जा प्रवाह गर्नेछ । बैंकको आधारदर ९.६६ प्रतिशत छ भने प्रिमियम दर अधिकतम ५ प्रतिशत तोकेको छ । लक्ष्मी सनराइज बैंकले आधारदर १०.७५ प्रतिशतमा ४ प्रतिशतसम्म प्रिमियम तोक्नेछ । सो आधारमा सेयर धितो कर्जाको लागत १४.७५ प्रतिशतसम्म पर्नेछ । प्रभु बैंकले १२.९४ प्रतिशतदेखि १४.९४ प्रतिशतसम्म तोक्न सक्नेछ । बैंकको आधारदर ९.९४ प्रतिशत छ भने ३ प्रतिशतदेखि ५ प्रतिशतसम्म प्रिमियम दर तोकेको छ । दुई वटा वाणिज्य बैंकको सेयर धितो कर्जाको ब्याजदर १५ प्रतिशतभन्दा माथि जाने देखिन्छ । बैंकको आधारदर र अधिकतम प्रिमियम दरलाई हिसाब गर्दा १५ प्रतिशतभन्दा बढी लागत पर्न जान्छ । प्राइम कमर्सियल बैंकको आधारदर १०.५२ प्रतिशत छ भने प्रिमियम दर ५ प्रतिशत तोकेको छ । सो आधारमा बैंकले सेयर कर्जामा अधिकतम १५.५२ प्रतिशतसम्म ब्याजदर तोक्नेछ । यस्तै, हिमालयन बैंकले सेयर कर्जामा १५.६१ प्रतिशत तोक्नेछ । बैंकको आधार दर १०.६१ प्रतिशत र प्रिमियम दर ५ प्रतिशत तोकेको छ ।