काठमाडौं-निजगढ फास्ट ट्रयाक समयमै नबन्ने, ५२ अर्ब खर्च गरेर २८ प्रतिशत मात्रै काम

काठमाडौं । नेपाली सेनाले निर्माणको जिम्मेवारी लिएको काठमाडौं-तराई/मधेश द्रुत मार्ग सडक आयोजना तोकिएको समयमा निर्माण सम्पन्न नहुने निश्चित भएको छ । २०७४ सालमा सरकारले नेपाली सेनालाई निर्माणको लागि जिम्मेवारी दिएको ६ वर्षमा २८ प्रतिशत पनि प्रगति नभएपछि अबको समयमा बाँकी काम पूरा नहुने निश्चित भएकाे हाे । २०७४ साल बैशाख २१ गते फास्ट ट्रयाक निर्माणको काम नेपाली सेनालाई दिने सरकारको मन्त्रिपरिषदले निर्णय गरेको थियो । जसको ०७४ जेठ १४ गते प्रधानमन्त्री पुष्कमल दाहाल ‘प्रचण्ड’ले शिलान्यास गरेका थिए । लामो समयसम्म आयोजनाको अपेक्षित प्रगति नभएको चौतर्फी गुनासो आउन थालेपछि संसदको राज्यव्यवस्था तथा सुशासन समितिले बुधबार नेपाली सेनासँग सो विषयमा वृहत छलफल गर्‍यो । बैठकमा नेपाली सेनाले फास्ट ट्रयाक निर्माणको सन्दर्भमा अहिलेसम्म भएको प्रगति प्रस्तुत गरेको थियो । तथ्यांकअनुसार फास्ट ट्रयाक निर्माणमा सेनाले अहिलेसम्म २८.५६ प्रतिशत भौतिक प्रगति र २९.४४ प्रतिशत मात्रै वित्तीय प्रगति गरेको छ । ७०.९७ किलोमिटर लामो फास्ट ट्रयाक निर्माणको कामलाई नेपाली सेनाले ११ वटा प्याकेजमा विभाजन गरेर अगाडि बढाएको छ । जसमध्ये अहिलेसम्म ७ वटा प्याकेजको मात्रै काम सञ्चालन भएको, ३ वटा प्याकेज खरिद प्रकृयामा नै रहेको र काठमाडौं तर्फबाट मुख्य प्रवेशद्वार मानिने खोकना खण्डमा विवादित भएकाले कुनै प्रकृया नै अगाडि बढ्न नसकेको सेनाले जनाएको छ । फास्ट ट्रयाकमा ६ वटा सुरुङ मार्ग र ८९ वटा पुल निर्माण गर्नुपर्नेछ । जसमध्ये अहिलेसम्म ६२ वटा पुलको निर्माणको लागि ठेक्का सम्झौता भइसकेको, २३ वटा पुल निर्माणको लागि प्रकृया अगाडि बढेको र ४ वटा पुल खोकना खण्डमा पर्छ । फास्ट ट्रयाक निर्माणको प्रकृयामा ४ हजार ७ सय ६६ रोपनी जग्गाको व्यक्तिलाई मुआब्जा दिने काम सम्पन्न भएको खोकना काठमाडौं खण्डमा ४०६ रोपनीको भने बाँकी रहेको अवस्था छ । साथै, भ्याटसहित २ खर्ब ११ अर्ब ९३ करोड लागत रहेको सो आयोजनामा अहिलेसम्म ५२ अर्ब ८६ करोड मात्रै खर्च भएको छ । २०८३ सम्म सम्पन्न नहुने फास्ट ट्रयाकमा अहिले भइरहेको गतिमा काम हुँदा निर्माण सम्पन्न नहुने सांसदहरूले औंल्याएका छन् । संसदको राज्यव्यवस्था तथा सुशासन समितिमा फास्ट ट्रयाकको क्षेत्रमा अहिलेसम्म भएको प्रगतिको तथ्यांकलाई औंल्याउँदै सांसदहरूले ०८३ चैत मसान्तभित्र सो आयोजना सम्पन्न हुन नसक्ने बताएका थिए । समितिको बैठकमा बोल्ने सत्तापक्ष र प्रतिपक्षका झण्डै सबै सांसदहरूको तोकिएको समयमा काम सम्पन्न नहुने विषयमा एकमत देखिन्थ्यो । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने संसदको बैठकमा बोल्दै ‘भौतिक र वित्तीय प्रगति हेर्दा फास्ट ट्रयाक हैन कछुवा चिप्लेकिरा ट्रयाक भएको’ टिप्पणी गरे । साथै, उनले ७१ किलोमिटर सडक खण्डमा सेनाको क्षमता २२ किलोमिटर बनाउने मात्रै रहेको समेत बताएका थिए । यस्तै, सांसद गगन थापाले ‘आज हामीले जे जसरी काम गरिरहेका छौं, यसरी ०८३ मा सकिँदैन, ९२/९३ मा पुग्छ,’ भने । सांसद वुद्धीमान तामाङले ‘प्रगतिको हिसाबले अझै १० वर्ष लाग्ने’ बताए भने राजेन्द्र पाण्डेले ‘कामको गति हेर्दा ०८३ सालसम्म सकिने जस्तो नलागेको’ बताएका थिए । बैठकमा बोल्ने अन्य सांसदहरूको पनि सेनाले तोकिएको समयमा काम सम्पन्न गर्न नसक्ने टिप्पणी थियो । सांसदहरूले सेनाले समयमा काम गर्न नसक्ने टिप्पणीपछि नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले समयमा काम सम्पन्न गर्न नसकिने स्वीकार गरेका थिए । सांसदहरूको टिप्पणीपछि विभिन्न कानुनी अड्चनहरुरू देखाउँदै प्रधानसेनापति शर्माले भने, ‘यही तालले ०८३ सालसम्म पनि बन्दैन, तर हामीले सक्दैनाैं ।’ समस्याको मुख्य बाधक कानुन  फास्ट ट्रयाकको काम अपेक्षित गतिमा अगाडि नबढ्नुमा मुख्य समस्या ऐन कानुन भएको नेपाली सेनाले औंल्याएको छ । इआइए पास हुन समय लाग्नू, समयमा रुख कटान गर्न नपाउनु जस्ता समस्याले गर्दा काममा ढिलाई भएको प्रधानसेनापति शर्माले समितिको बैठकमा बताएका थिए । ‘४ वटा रुख काट्न ४ महिना लाग्ने गरेको छ’, वन सम्बन्धी कानूनतर्फ ईंगित गर्दै उनले भने, ‘१७ सालदेखिको कानून देखाउनुहुन्छ,’ इआइए पास गर्न नै लामो समय लाग्ने गरेको बताउँदै उनले भने, ‘इआइए चेन्ज भएन भने फास्ट ट्रयाक मात्रै होइन धेरै आयोजना सम्पन्न गर्न समस्या हुन्छ ।’ साथै फास्ट ट्रयाकको काम समयमा हुन नसक्नुमा चीन र भारतबाट विस्फोटक पदार्थको आपूर्तिमा भएको ढिलाइले गर्दा पनि भएको सेनाले बताएको छ । तर, सेनाको सो भनाइलाई खण्डन गर्दै सांसद रघुजी पन्तले आफूलाई चाहिने गोली बारुद र गोली गठ्ठा उत्पादन गर्न नसक्ने भन्दै सेनाको क्षमतामाथि प्रश्न गरेका थिए । लागत पनि बढ्ने फास्ट ट्रयाकको काम तोकिएको समयमा पूरा गर्न नसक्दा लागत बढ्ने भन्दै समितिमा बोल्ने सांसदहरूले चिन्ता व्यक्त गरेका थिए । तर, सेनाले आफ्नो कागजीय तथ्यांकमा भने ०८३ सालमा नै सक्ने तथ्यांक पेस गरेकाले थप लागतको विषय उठाएको छैन । सांसदहरूले आयोजना समयमा नसकिँदा देशको विकासको बजेटमा त्यसले असर पुर्याउने तर्क प्रस्तुत गरेका थिए । सांसद गगन थापा लगायत केही सांसदहरूले आयोजनालाई समयमा नै सम्पन्न गर्न समितिले सहयोग गर्ने धारणा व्यक्त गरेका थिए । सांसद थापाले सेनाले फास्ट ट्रयाकको काम समयमा सक्न क्यालेन्डर बनाउन सुझाउँदै आवश्यक सहजीकरण समितिको तर्फबाट गर्ने बताए । ‘सेनाले क्यालेन्डर बनाओस, हामी कहाँ-कहाँ सहजीकरण गर्नुपर्छ त्यहाँ गरौं, हामीले यसलाई प्रतिष्ठाको विषय बनाएर काम गरौं’, बैठकमा उनको भनाइ थियो । सांसद लिलानाथ श्रेष्ठले ‘समयमा नै काम गर्नलाई कानुन नियम संशोधन गरेर अगाडि बढ्नुपर्छ’ भन्ने भनाइ राखेका थिए भने अर्का सांसद राजेन्द्रकुमार राईले पनि ‘कसरी काम छिटो गर्न सकिन्छ भनेर बाटो निकाल्नुपर्यो’ भन्ने भनाइ राखेका थिए ।

६ दशकसम्म नथाकेका डा.पाण्डे र सपनाले दिएको त्यो सफलता

काठमाडौं । चिटिक्कको सुट पाइन्टमाथि रातो टाई । हँसिलो मुहार । मुहारको मुस्कानले बताइरहेको थियो मिहिनेत । उमेरले ६० वर्ष । तर, कल्पना पनि गर्न सकिँदैन, ६० वर्षको उमेरसम्म पनि यतिसम्मको सक्रियता रहन्छ ? यही जिज्ञासामा हामीले सुरुमा डा. चक्रराज पाण्डेसमक्ष राख्यौं । उनले जवाफमा भने, जति काम गरियो, जति आफूलाई व्यस्त राख्न सक्यो, त्यति नै जवानी भइन्छ ।’ चिकित्सा क्षेत्रमा एउटा परिचित नाम हो डा. चक्रराज पाण्डे । ३२ वर्षको उमेरदेखि अहिले ६० वर्षसम्म आइपुग्दा पनि उनी आफ्नो क्षेत्रमा सक्रिय छन् । वरिष्ठ अर्थोपेडिक सर्जनकारूपमा उनले उपत्यकाका धेरै अस्पतालमा काम गरे । उनी अहिले काठमाडौँको लाजिम्पाटमा आफ्नै अनामिवा अस्पताल सञ्चालन गरिरहेका छन् । उनको दिन बिरामी हेर्दै, अप्रेसन गर्दै बित्छ । गएको साता उनकै अनामिवा अस्पताल गएर डाक्टरलाई भेट्दा उनी बिरामीको जाँच गरिरहेका थिए । एउटा डाक्टरको दैनिकी कसरी बित्छ ? हाम्रो जिज्ञासाको जवाफ दिँदै उनले भने, ‘बिरामी हेर्दै, उपचार गर्दै,’ उनले थपे, ‘ मेरो त केही समय पढाइमा बित्छ ।’ पढाइको मतलब उनी कुनै कोर्षको तयारीमा छैनन् । आफूले उपचार गर्ने बिरामीको सफल उपचार कसरी गर्ने भन्नेमा उनी धेरैभन्दा धेरै मिहिनेत गर्छन् । उनी भन्छन्, ‘एउटा गुड डाक्टर तब बेष्ट ठानिन्छ, जब उ आफ्नो विशेषज्ञताबारे पोख्त हुन्छ ।’ डा. पाण्डे हरेक दिन बिहान सबेरै उठेर सबैभन्दा पहिले आफ्नो नित्यकर्म गर्छन । त्यसपछि आज गर्नुपर्ने काम के छ, आफ्नो दैनिकी रुटिन हेर्छन । त्यो दिन कस्तो बिरामीको अप्रेसन  गर्नुपर्छ, त्यसका लागि चाहिने औषधी, प्रविधि तथा उपकरण कस्तो छ र त्यसका लागि अक्सिजनको व्यवस्था छ या छैन भन्नेबारे हेर्छन् । त्यसपछि त्यो केशलाई सफल बनाउन कसरी काम गर्ने भनेर डाक्टर र नर्ससँग छलफल गर्छन् । आफ्नो टोलीसँगै गएर बिरामीको सल्यक्रिया गर्छन् । अस्पतालमा भर्ना भएका बिरामीहरूसँग भेटघाट गर्छन् । दिउँसोको खाना खाएर फेरि काममा लाग्छन् । अस्पतालमा अहिले दैनिक ६०/७० बिरामी आउँछन् । तीमध्ये अप्रेसन गर्नुपर्ने कमै हुन्छन् । उनले दिनभर गरेको कामको समीक्षा साँझ हुन्छ । फेरि भोलिको अप्रेसनका लागि कति जना छन्, त्यसको तयारीमा लाग्छन् । उनी आफ्नो मानसिक र शारिरीक अवस्थालाई कसरी सन्तुलन राख्ने भन्ने कुरामा ध्यान दिनुपर्ने बताउँछन् । उनी आफ्नो लागि पनि समय छुट्याँउछन् । घरमा श्रीमती छिन् । छोराछोरी विदेशमा पढ्छन् । ‘छोराछोरीसँग भीडीओमा कुरा गर्छु, धेरै समय म आफ्नो काममा बिताउँछु, मेरो मुख्य काम भनेको बिरामीको सेवा गर्ने र पढ्ने हो,’ उनले भने । उनी आफूलाई मान्छेसँग भेटघाट तथा कुराकानी गर्न मन पर्ने बताउँछन् । ‘हाउ इज दि डाक्टर्स थिंक,’ ‘मेडिकल कम्प्लिकेसन’ लगायतका किताबहरू उनी बढी पढ्छन् । अरूको अनुभवबाट पनि धेरै विषयहरू सिक्न सकिने उनी बताउँछन् । अध्ययन कति आवश्यक ? एउटा डाक्टरका लागि अध्ययन कति आवश्यक छ होला ? जवाफमा उनले भने, ‘डाक्टरलाई मात्रै होइन, हरेक क्षेत्रको मान्छेलाई अध्ययन आवश्यक छ, सबैले पढ्नैपर्छ, सबै कुरा अनुभवबाट मात्रै सिकिँदैन, अध्ययनबाट धेरै कुरा सिकिन्छ ।’ उनी पढ्ने विषय अनुसन्धानसँग जोडिएकोले सोही अनुसन्धानका आधारमा बिरामीको उपचारको निर्णय हुने बताउँछन् । २७ वर्षअघि उनले अर्थाेपेडिक पढे । २७ वर्ष अगाडिको अर्थोपेडिक्सलाई मात्र आधार मान्ने हो भने राम्रो डाक्टर भइँदैन । हरेक दिनको अपडेटले अहिलेको अर्थोपेडिक्समा आफूलाई माथि राख्न सकिएको उनी बताउँछन् । ‘म अब केही गर्दिनँ भनेर बस्नुहुन्छ भने त्यो दिन पढाइ छोड्नुपर्छ । तर, म यो काम गर्छु भनेको दिनसम्म पढ्नैपर्छ, पढाइ भन्दा अर्को विकल्प म देख्दिनँ,’ उनले भने । सपनाले दिएको त्यो सफलता डाक्टर पाण्डे दिनमै १५ वटासम्म अप्रेसन गरेको उनीसँग अनुभव छ । अहिले पनि उनी दैनिक दुई÷तीन जनाको अप्रेसन गर्छन् । अप्रेसन आफैंमा एउटा गम्भीर र जटिल विषय हो । मान्छेको मासु काटेर पुनः सिलाउनु असामान्य काम हो । कुनै माया, ममता, डर र त्रासको प्रवाह नगरी अप्रेसन गर्ने डाक्टर आफैंमा महान हुन् । दिनभर अप्रेसन गर्ने डाक्टरले राति कस्तो सपना देख्छन् होला । यो जिज्ञासा हामीले डा. पाण्डेसँग राख्यौं । जवाफमा उनले भने, ‘मैले गाह्रो अप्रेसनहरू सपनामै सामाधान गरेको छु, कहिलेकाहीँ किताबमै नपाएको प्रश्नको उत्तर मैले सपनामा पाउने गरेको छु,’ उनी रोकिए । सपनामा अप्रेसन कसरी सम्भव भयो ? हाम्रो जिज्ञासामा थप उत्सुकता थपियो । उनले सुस्त गतिमा त्यो दिन स्मरण गर्दै भने, ‘म ग्राण्डी अस्पतालमा कार्यरत थिएँ, तीन खुट्टा भएको बच्चाको अप्रेसन गर्नुपर्ने थियो, बच्चाको तीन खुट्टामध्ये कुन खुट्टा निकाल्ने भन्ने अन्योलता मनमा रहिरह्यो, अन्योलताकाबीच सुतें,’ त्यो कहानी सुनाउँदै डा. पाण्डेले अगाडि बढ्दै भने, ‘राति यो खुट्टा निकाल्दा राम्रो हुन्छ, बच्चा स्वस्थ हुन्छ भन्ने सपना देखें, भोलि बिहान सपनाले निकाल भनेको खुट्टा निकालें, अप्रेसन सफल भयो ।’ त्यो अप्रेसन उनको जीवनको अविस्मरणीय पल बनेको छ । उनी थप्छन्, ‘जब कुनै विषय समाधान हुँदैन, तबसम्म दिमाखमा खेलिरहन्छ, मेरो दिमाखमा बिरामीको विषय बाहेक अन्यले खासै स्पेस पाउँदैन ।’ बिरामीप्रतिको व्यवहार भनिन्छ नि, ‘मुस्कान एउटा औषधी हो ।’ कुनैपनि मान्छेसगँ हामी मुस्कुराएर बोल्दा हामीप्रति उसको धारणा सकारात्मक हुन जान्छ । अझ यो कुरा बिरामीको हकमा बढी लागू हुन्छ । एउटा बिरामीलाई नर्स अथवा डाक्टरले गर्ने व्यवहारले धेरै फरक पार्छ । हरेकसँग पृथक क्षमता हुन्छ । त्यो क्षमता डाक्टरले पनि देखाउनु पर्ने उनको भनाइ छ । ‘म मेरो बिरामीलाई जाँच्दा मनबाट जाँच्छु, मेरो जीवनभरको मिहिनेत बिरामीका लागि हो, बिरामी बिनाको म केही पनि हैन,’ उनी भन्छन्, ‘एउटा डाक्टरले बिरामीलाई व्यापारका रुपमा मात्र हेर्नु हुँदैन, यसरी हेर्दा त्यहाँ समस्या हुन्छ ।’ डा. पाण्डेलाई बिरामीसँग भेटेर कुराकानी गर्दा धेरै खुसी लाग्छ । ‘उहाँहरूको दुःखलाई हटाएर सफल बनाउन सक्यो भने एक साता मलाई ‘रिल्याक्स फिल’ हुन्छ, यसले मलाई थप काम गर्ने हौसला दिन्छ, यही हौसलाको कारण पनि अहिलेसम्म काम गर्न सकेको छु,’ उनले भने । उनी डाक्टरको केन्द्रबिन्दु बिरामी भएको धारणा राख्छन् । ‘बिरामीले सिकाएर डाक्टरलाई डाक्टर बनाएको हो, उनीहरू बिना डाक्टर हुन गाह्रो छ, उनीहरूले आफ्नो शरीरमा अप्रेसन गर्न दिएर डाक्टरको सीप र क्षमता बढेको हो, बिरामीहरूले औषधी खाइदिएर डाक्टरले साइड इफेक्टहरू पत्ता लगाएको हो,’ उनी भन्छन्, ‘उनीहरूले दुई पैसा तिरेर आज डाक्टरले राम्रो लुगा लगाउन पाएको हो ।’ साढे दुई दशक काम गरेपछि आफ्नै अस्पताल डाक्टर चक्रराज पाण्डेको घर सिन्धुपाल्चोकको जरायटार हो । उनी ६ वर्ष गाउँमै बसे । त्यसपछि उनलाई काकाले पढाउन काठमाडौं ल्याए । उनी कीर्तिपुरमा रहेको लेबोरेटरीमा पढे । पढाइ राम्रै थियो । पढाइ राम्रो भएकै कारण उनी छात्रवृतिमा पढ्न पाए । त्यही स्कुलबाट उनले २०३६ सालमा एसएलसी पास गरे । एसएलसीमा राम्रो अंक ल्याएर उनी बोर्ड छैटौं भए । त्यसपछि उनी अमृत साइन्स कलेजमा भर्ना भए । त्यहाँ पनि उत्कृष्ट अंक ल्याएर प्लसटु पास गरे । त्यो बेला पनि उनी छात्रवृतिमै पढे । त्यसपछि नेपाल सरकारको स्कलरसीपमा उनी टर्की गए । त्यहाँ उनले मेडिकल स्कुल गरे । ७ वर्ष मेडिकल स्कुल पाँच वर्ष हाडजोर्नीको विशेषज्ञता हासिले गरे । त्यसपछि उनले हाडजोर्नीमा अर्थोपेडिक्स ट्रमाटोलोजीमा विशेषज्ञता गरे । टर्कीमा पढिसकेपछि सन् १९९७ पछि उनी नेपाल फर्के । उनी नेपाल फर्किसकेपछि काठमाडौँ नर्सिङ अस्पतालमा काम गरे । त्यसपछि बिएण्ड बी अस्पतालमा काम गरे । ११ वर्ष मेडिकियर अस्पतालमा काम गरे । त्यसपछि उनलाई लाग्यो नेपालमा मल्टिपल डिपार्टमेन्टको जरूरी छ । बिरामीलाई तत्काल रेस्क्यू गर्न सक्ने संस्था आवश्यक परेको देखेपछि उनले ग्राण्डी अस्पतालको सुरूवात गरेको बताउँछन् । दुई वर्ष अगाडिमात्र पाण्डे ग्राण्डी अस्पतालबाट निस्केका हुन् । त्यसपछि उनले नर्भिक अस्पतालमा काम गरे । नर्भिकपछि उनी फ्रन्टलाईन अस्पतालमा गए । तर, अहिले उनी आफ्नै अस्पताल अनामीवा सञ्चालन गरिरहेका छन् । ‘धेरै ठाउँको अनुभव लिइयो, जहाँ भएपनि नेपाललाई स्वास्थ्य क्षेत्रमा राम्रो गर्नुपर्छ भन्ने नै लाग्यो, करिब तीन दशक यही क्षेत्रमा बिताएँ, अब आफ्नै अस्पतालबाट सकेको सेवा दिन्छु,’ उनले भने । सकुञ्जेल काम गर्छु डाक्टर पाण्डेको इच्छा सकुञ्जेल यही क्षेत्रमा काम गर्नेछ । उनलाई जुन दिन सबैभन्दा अप्ठ्यारो अप्रेसन सफल भयो, जुनदिन बिरामीलाई भेटेर सल्लाह दिन पायो, त्यही दिन धेरै खुसी मिल्ने बताउँछन् । यस्ता किसिमका खुसीले आफुलाई ६० वर्षमा पनि तन्नेरी देखाएको उनी मुसुक्क मुस्कुराएर बताउँछन् । ‘म मान्छे बुढो देखिन्छु होला । तर, मेरो जोश जाँगर र काम गर्ने रूचि आज पनि त्यही २८ वर्षअघिको जस्तो छ, उनी थप्छन्, ‘अब बाँकी जीवनलाई कसरी गुणस्तरीयमा कन्भर्ट गर्ने, कसरी मानिसलाई प्रभावित बनाउन सक्छु भन्नेतर्फ नै रहन्छ ।’ उमेर ६० भयो भन्दैमा पाण्डे आँतिएका छैनन् । उमेर बढेसँगै अनुभवी भएको र थप मिहिनेत गर्नु पर्ने जोश आएको उनी बताउँछन् । ‘कतिपयले डाक्टर कति काम गरेको, आराम गर्नु पर्दैन भनेर प्रश्न गर्छन्, के गर्नु मेरो जीन नै यस्तै छ त्यत्तिकै बस्न मान्दैन भनेर जवाफ फर्काउन्छु,’ उनले आफ्नो अनुभव सुनाउँदै भने ।

नेपालमै बन्छन् करोडसम्म पर्ने हस्तकलाका सामग्री, यी हुन् महँगा ९ वस्तु

काठमाडौं । परम्परागत शैलीमा तयार गरिने हस्तकलाका सामग्री धेरैको रोजाइमा पर्छन् । मौलिकता झल्किने र विशेष महत्व बोकेका हस्तकलाका सामग्री नेपालबाट विश्वका धेरै मुलुकहरूमा पनि निर्यात हुन्छन् । घर सजाउन होस् वा अन्य कुनै प्रयोजनको लागि पनि सबैभन्दा बढी प्रयोग हुने वस्तु हो हस्तकला । नेपाल हस्तकला महासंघका अनुसार नेपालबाट विश्वका विभिन्न ६० भन्दा बढी देशहरूमा वार्षिक १२ अर्ब रुपैयाँ बराबरको हस्तकलाका वस्तुहरू निर्यात हुन्छ । विभिन्न धातुले निर्माण भएका वस्तु, बाँसका सामग्री, मूर्तिकला, पोस्टरकला, चित्रकला, सेरामिक, हाते कागज, वेतबास, थान्का र रेशाजन्य कपडालगायतका हस्तकलाका सामग्री नेपालमा उत्पादन हुन्छन् । महासंघका अध्यक्ष प्रचण्ड शाक्यले हस्तकला उद्योगकमा करिब ११ लाख व्यक्तिहरू प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा संलग्न रहेको जानकारी दिए । हस्तकलाका सामग्री धार्मिक आस्थासँग पनि जोडिएले धेरैको माग हुने उनको भनाइ छ । शाक्यले देशको अर्थतन्त्रमा हस्तकलाको पनि ठूलो योगदान रहेको बताउँदै ठूलो परिमाणमा निर्यात हुने वस्तुमध्ये हस्तकला पनि एक रहेको बताए । हस्तकला सामग्रीका विषयमा विकसित राष्ट्र र विकासोन्मुख देशबिच बुझ्ने शैलीमा फरक छ । नेपालमा विदेशीहरू घुम्न आउँदा हस्तकलाका सामग्री उपहार स्वरुप लैजाने अभ्यास पनि छ । मनै लोभ्याउने हस्तकलाका सामग्री सजावटको लागि धेरैले प्रयोग गर्ने गरेका छन् । नेपालमा लाखौं रुपैयाँसम्म पर्ने हस्तकलाको सामग्रीहरू उत्पादन हुँदै आएका छन् । हस्तकलाका कलकारहरूले पुराना तथा महत्वकांक्षी विषयलाई समेटेर तयार गरेको हस्तकलाका सामग्री प्रायः विदेश निर्यात हुने व्यवसायीहरू बताउँछन् । कलाकार शङ्कर नारायण श्रेष्ठ धेरै मूल्य पर्ने सामग्रीहरू प्रायः विदेश निर्यात हुने बताउँछन् । ‘हामीले बनाएका सबै सामग्री नेपालभित्रै खपत हुँदैनन्, विदेशबाट आएको अर्डरअनुसार सामग्री तयार पार्छौं,’ उनी भन्छन्, ‘लाखौं पर्ने सामान तयार हुन्छन् ।’ कुनै सामग्रीहरू तयार गर्दा धेरै समय लाग्ने श्रेष्ठले सुनाए । ‘कुनै–कुनै सामग्री बनाउन एक वर्ष समय लाग्छ, वर्षौं लगाएर बनाएको वस्तु महँगो नैपर्छ,’ उनले भने । बजारमा हस्तकलाका सामग्री लाखौं रुपैयाँसम्म पाइन्छन् । आकाश भैरव आकाश भैरव ( नेवारीः आजु) भैरवको विभिन्न रूपमध्ये एक रूप हो । आकाश भैरवको घेरालाई नेपालको नेको प्रतिकका रूपमा येन भनिन्छ । हस्तकलाकार कपिल शाक्यले तयार गरेको आकाश भैरवको रिपाउसे आर्टले धेरैको मन लोभ्याउँछ । हेर्दा आकर्षक र विशेष महत्व बोकेको आकाश भैरवको मूल्य शाक्यले २१ लाख रुपैयाँ निर्धारण गरेका छन् । चतुर्भुज महाकाल एक नजर हेर्दै धेरै अर्थ दिने चित्रकला हो ‘चतुर्भुज महाकाल’ । बालकृष्ण महर्जनले तयार गरेको यो महाकाल लोकप्रिय चित्रकलाभित्र पर्छ । चतुर्भुज महाकालको मूल्य महर्जनले १० लाख ५० हजार रुपैयाँ तोकेका छन् । हालाल भैरव कलाकार काजी रत्न शाक्यले तयार गरेको उक्त भैरवको मूर्तिले पनि इतिहास बोकेको छ । शाक्यले उत्पादन गरेको रिपाउसे आर्ट श्रेणी अन्तर्गतको सो भैरव आफैंमा महत्पूर्ण कलाका रूपमा लिन्छ । जसलाई नेपाली बजारमा १२ लाख ६० हजार रुपैयाँ मूल्यपर्छ । चक्रसंवर चक्रसंवरले एउटा छुट्टै इतिहास बोकेको छ । मौलिक संस्कृतिलाई झल्काउने चक्रसंवर धेरैको आकर्षणको केन्द्रमा पर्छ । चक्रसंवर धेरैले खरिद गर्नेमध्येको मुर्तिमा पर्छ । फिलिगिरी आर्ट श्रेणीमा पर्ने चक्रसंवर कलाकार दीपेन्द्र शाक्यले तयार गरेका हुन् । शाक्यले चक्रसंवरको मूल्य ८९ लाख २५ हजार रुपैयाँ राखेका छन् । सन्दुका (खजाना बक्स) सन्दुका बक्स निकै रोचक छ । चलचित्रमा खजाना राखिएजस्तै देखिने उक्त बक्स झट्ट हेर्दा पुरानो पुस्ताको सामान राख्ने भाँडो जस्तो देखिन्छ । यो बक्स धेरैको रोजाइमा पर्नेगर्छ । सिभर फिलिगिरी श्रेणी अन्तर्गतको यो बक्स बहुमूल्य सामग्री राख्न पनि प्रयोग गरिएको पाइन्छ । कलाकार खेम मुनि बज्राचार्यले तयार गरेको यो बक्सको मूल्य १२ लाख ६० हजार रुपैयाँ तोकिएको छ । मिलारेपा मिलारेपा बौद्ध धर्मप्रति लक्षित रहेका बताइएको छ । काठ शिल्प अन्तर्गतको यो मूर्तिले मानवमा भएका अंगहरूलाई झल्काउँछ । हेर्दा बुढो मानिसले कान कमजोर सुनेर ध्यान दिएर सुनिरहेको जस्तो देखिन्छ । कलाकार प्रथम राज बज्राचार्यले बनाएको यो मूर्तिको मूल्य २६ लाख २५ हजार रुपैयाँ राखिएको छ । मैत्री बुद्ध यो नयाँ डिजाइनमा तयार गरिएको मैत्री बुद्ध नाम मूर्ति हो । विशेष धातुले तयार गरिएको मैत्री बुद्ध रिपाउसे आर्टको श्रेणीमा पर्ने बताइएको छ । सन्तरत्न बज्राचार्यले तयार गरेको यो मूर्तिको मूल्य २७ लाख ३० हजार रुपैयाँ निर्धारण गरिएको छ । उग्रतारा उग्रतारा चित्रकला धार्मिक आस्थामा लक्षित छ । पाउभा चित्रकला श्रेणी अन्तर्गतको यो चित्रकालाई सजावटको लागि प्रयोग गरिँदै आएको छ । उग्रतारा कलाकार प्रिया शाक्यले तयार पारेकी हुन् । उग्रताराको मूल्य शाक्यले १० लाख ५० हजार रुपैयाँ निर्धारण गरेकी छन् । शाक्यमुनि बुद्ध लाइफ कलाकार निरोज महर्जनले तयार गरेको गौतम बुद्धको शाक्यमुनि बुद्ध लाइफ नामक मूर्ति हेर्दा निकै आकर्षक देखिन्छ । यो मेटल क्राफ्ट श्रेणी अन्तर्गत पर्छ । फरक र आकर्षक लुक्समा रहेको शाक्यमुनि बुद्धको मूल्य १० लाख ५० हजार रुपैयाँ तोकिएको छ ।