नेफ्स्कून निर्वाचन अर्थात् गठबन्धन र एमालेको असलियत भिडन्त, कसको सम्भावना बलियो ?
काठमाडौं । लामो समयदेखि सहकारी क्षेत्र ठूलो समस्यामा परेको भन्दै बहस, विमर्श तथा तथा छलफल भइरहेको बेला सहकारीकर्मी भने विभाजित भएका छन् । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून) को नेतृत्वका लागि सहकारीकर्मीहरू विभाजित भएर चुनावी प्रतिस्पर्धामा उत्रिने तयारी थालेका हुन् । बचतकर्ताको बचत फिर्ता गर्न नसकेर ठूलो समस्यामा परेका सहकारीहरूको समस्या समाधानतर्फ सबैले हातेमालो गरेर अगाडि बढ्नु पर्ने अवस्थामा सहकारीकर्मीहरू भने नेफ्स्कूनको नेतृत्वको लागि आमुनेसामुनेरूपमा प्रतिस्पर्धामा उत्रिएका हुन् । आइतबार हुने नेफ्स्कूनको निर्वाचनबाट नेतृत्व हत्याउन हालसम्म दुई जना आकांक्षी प्रतिस्पर्धामा देखिएका छन् । नेफ्स्कूनका वर्तमान अध्यक्ष परितोष पौड्याल र वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालबीच भिडन्त हुने लगभग पक्का भएको छ । दुवै जनाले औपचारिक कार्यक्रमको आयोजना गरी अध्यक्षका लागि उम्मेदवारी घोषणा गरिसकेका छन् । अहिले उनीहरू आ-आफ्नो चुनावी सचिवालय बनाएर प्रचारप्रसारमा लागेका हुन् । एउटा रोचक विषयत के भने दुवै जनाले राजनीतिक दलका नेताहरूलाई कार्यक्रममा उपस्थित गराएर उम्मेदवारी घोषणा गरेका छन् । पौड्यालले नेकपा एमालेका नेताहरूलाई उपस्थित गराएर उम्मेदवारी घोषणा गरेका छन् भने ढकालले नेपाली काँग्रेसका नेताहरू बोलाएर अध्यक्षमा उम्मेदवारी घोषणा गरे । उसो त पौड्याल र ढकाल पनि राजनीतिक दलसँग आवद्ध छन् । पौड्याल नेकपा एमाले निकट सहकारीकर्मी हुन् भने ढकाल नेपाली काँग्रेस निकट मानिन्छन् । पौड्याल नेकपा एमालेको सहकारी तथा गरिबी निवारण विभागको सदस्य पनि हुन् । उनले सोही विभागका प्रमुख तथा अन्य सदस्यहरूलाई कार्यक्रममा बोलाएर उम्मेदवारी घोषणा गरेका हुन् । पौड्यालले बिहीबार उम्मेदवारी घोषणा गर्दै आफ्नो कार्यकालमा धेरै काम भएको र अधुरा केही काम पूरा गर्नका लागि पुन: नेतृत्व लिन तयार भएको बताएका छन् । उनले नेकपा एमालेका नेताहरूलाई कार्यक्रममा बोलाएर उम्मेदवारी घोषणा गर्ने विषयलाई आफ्नो सफलताकारूपमा लिएका छन् । ‘सबै सहकारी अभियानकर्मीले मलाई साथ दिएका छन्, यसले पनि मेरो अझै आवश्यकता छ भन्ने बुझ्नु पर्छ,’ उनले कार्यक्रममा भने । अर्का उम्मेदवार ढकाललाई नेपाली काँग्रेससहित अन्य राजनीति दलले पनि साथ दिएका छन् । उनलाई नेपाली कांग्रेससँगै नेकपा माओबादी केन्द्र र समाजबादीका सहकारी विभाग प्रमुखहरूले समर्थन गर्दै उम्मेदवार बनाएका हुन् । तीनै दलका सहकारी विभाग प्रमुख क्रमशः देवेन्द्रराज कँडेल, लिलामणि पोख्रेल र नवराज अर्यालले संयुक्तरूपमा गठबन्धनको म्मेदवार घोषणा गरेका हुन् । अध्यक्षका उम्मेदवार चन्द्रप्रसाद ढकालले उम्मेदवारी घोषणा गर्दै आफूले हाल भएको कानूनी तथा नीतिगत गाँठाहरू फुकाउने, नेफ्स्कूनलाई बलियो र समावेशी बनाउने बताएका छन् । उनले प्रदेश र जिल्लासंघहरुलाई साथमा साथ लिएर हिड्ने बताउँदै नेफ्स्कूनप्रति गुमेको विश्वास आफूले फर्काउने धारणा राखे । विनियम अनुसार नेफ्स्कूनमा १९ सदस्यीय सञ्चालक समिति र तीन सदस्यीय लेखा तथा सुपरीवेक्षण समिति रहने व्यवस्था छ । कसको सम्भावना बलियो ? यस पटक हुने नेफ्स्कूनको निर्वाचनलाई ठूलो महत्वका साथ हेरिएको छ । वर्तमान अध्यक्ष र वरिष्ठ उपाध्यक्षबीचको प्रतिस्पर्धा रोचक हुने विश्लेषण गरिएको छ । नेफ्स्कूनको नेतृत्व कसले गर्ला भन्ने विषयलाई पनि चासोका साथ हेरिएको छ । दुइटै उम्मेदवार उतिकै बलियो छन् । हाल अध्यक्षकोरूपमा नेतृत्व गरिरहेका पौड्यालाई नदोहोर्याउनका लागि अभियान भित्रैबाट दबाब आएपनि अन्ततः उनी नै उम्मेदवार बनेको बुझिएको छ । उनको नेतृत्वमा नेफ्स्कूनमा प्रभावकारी काम नभएको भनेर आलोचना गर्नेहरू पनि धेरै छन् । ‘हुन त पौड्याललाई सहकारीका धेरै नेताहरूलाई साथ दिएका छन्, त्यसले पनि बाहिरीरूपमा उनको सम्भावना धेरै देखिन्छ । तर, उनको यो दोस्रो इनिङ्स भएकोले पनि उनलाई चुनौती देखिन्छ, उनको पहिलो कार्यकाल सुखद नभएकोले पनि विकल्प खोज्ने पक्षमा धेरै छन्,’ एक सहकारी अभियानकर्मीले विकासन्युजसँग भने । अर्का उम्मेदवार ढकाललाई पनि बलियो उम्मेदवारकारूपमा हेरिएको छ । विगत तीन महिनादेखि चुनावी प्रचारप्रसारमा रहेका ढकालले आफू अध्यक्ष बन्नका लागि राम्रो वातावरण निर्माण गरेको बुझाइ अधिकांशको छ । उनले वरिष्ठ उपाध्यक्ष हुँदा पनि प्रभावकारी भूमिका खेलेको हुनाले उनलाई अबको अध्यक्षकोरूपमा लिने अभियानकर्मी धेरै छन् । तर, दुवै जनाबीच प्रतिस्पर्धा भने हेर्न लायक हुनेछ । को-कोे बने उम्मेदवार ? आइतबार हुने नेफ्स्कूनको निर्वाचनका लागि नेकपा एमालेले पदाधिकारीका लागि उम्मेदवार छनोट गरिसकेको छ । तर, औपचारिकरूपमा सार्वजनिक भने गरेकाे छैन । एमालेको तर्फबाट पौड्याल अध्यक्षका उम्मेदवार छन् भने वरिष्ठ उपाध्यक्षमा दामोदर अधिकारी, उपाध्यक्षमा शान्ति अधिकारी, कोषाध्यक्षमा जिवसराज खड्काको नाम टुङ्गो लागेको छ । यस्तै, महासचिवमा केशव प्रसाद पोख्रेल, उद्धव सापकोटा र घनश्याम अधिकारी मध्ये एक जना उम्मेदवार बन्ने विषय बाहिरिएको छ । यस्तै, ढकालको टीमबाट भने उम्मेदवार फाइनल भइसकेको छैन । तर, राजनीतिक दलबीच भागवण्डा भने भइसकेको बुझिएको छ । औपचारिकरूपमा जानकारी भने शनिबार बिहान दिइने बताइएको छ । गठबन्धनबीच नेपाली कांग्रेसले अध्यक्ष, उपाध्यक्ष र लेखा समिति संयोजक पाउने सहमति भएको छ भने माओवादी केन्द्रले वरिष्ठ उपाध्यक्ष, महासचिव, लेखा समिति सदस्य पाउने विषयमा सहमति भएको छ । यस्तै, नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) ले कोषाध्यक्ष, लेखा समिति सदस्य र तीन जना सञ्चालक पाउने विषयमा टुङ्गो लागेको छ । को उम्मेदवार बन्ने विषय भने शनिबार नै सार्वजनिक हुनेछ ।
६ प्रतिशत घट्यो बैंकहरूको आधारदर, यी दुई बैंकबाट ऋण लिँदा सस्तो पर्ने
काठमाडौं । बैंकहरूले निक्षेपतर्फको ब्याजदर घटाउन थालेपछि कर्जाको ब्याजदर पनि स्वतः घटिरहेको छ । वाणिज्य बैंकहरूले सार्वजनिक गरेको तथ्याङ्क अनुसार एक वर्षको अवधिमा आधारदर औसत ६ प्रतिशत घटेको हो । २०७९ को मंसिरमा बैंकहरूको आधारदर औसत १०.४८ प्रतिशत थियो । यस वर्षको मंसिरमा बैंकहरूको आधारदर औसत ९.९ प्रतिशतमा झरेको छ । गत मंसिरको औसत आधारदबाट गत वर्ष २०७९को मंसिरमा कायम औसत आधार दरलाई घटाउँदा बैंकहरूको आधारदर औसत ०.६२ विन्दुले घटेको हो । जसलाई प्रतिशतमा परिणत गर्ने हो भने एक वर्षको अवधिमा बैंकहरूको आधार दर औसतमा ६ प्रतिशत घटेको हो । एक वर्षको अवधिमा आधारदर धेरै घटाउनेमा माछापुच्छ्रे बैंक रहेको छ । माछापुच्छ्रेको ११.७५ प्रतिशत घटेर ९.९१ प्रतिशतमा झरेको छ । यस्तै, प्रभु बैंकको १०.२८ प्रतिशत घटेर ९.९४ प्रतिशतमा झरेको छ । यस्तै, सिद्धार्थ बैंकको १०.२५ प्रतिशत घटेर ९.६३ प्रतिशत, सानिमा बैंकको १०.१२ प्रतिशत घटेर ९.५९ प्रतिशत, स्ट्याण्डर्ड चार्टर्ड बैंकको ११.६१ प्रतिशत घटेर ८.२२ प्रतिशत र ग्लोबल आइएमई बैंकको ९.७६प्रतिशत घटेर ९.८ प्रतिशतमा झरेको छ । यस्तै, सिटिजन्स बैंकको ७.८० प्रतिशत घटेर १०.३९ प्रतिशत, एनएमबि बैंकको ८.१४ प्रतिशत घटेर ९.८१ प्रतिशत, नेपाल एसबिआई बैंकको ७.७१ प्रतिशत घटेर ९.९३ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगा (एनआईएमबि) बैंकको ७.२९ प्रतिशत घटेर ९.६६ प्रतिशत, एभरेष्ट बैंकको ५.९५ प्रतिशत घटेर ९.३१ प्रतिशत, प्राइम बैंकको ४.९८ प्रतिशत घटेर १०.६८ प्रतिशत र नेपाल बैंकको ४.७३ प्रतिशत घटेर ९.०५ प्रतिशतमा झरेको छ । यस्तै, कुमारी बैंकको ३.६६ प्रतिशत घटेर १०.७८ प्रतिशत, लक्ष्मी सनराइज बैंकको २.१८ प्रतिशत घटेर १०.७५ प्रतिशत, एनआईसी एशिया बैंकको १.८३ प्रतिशत घटेर १०.७ प्रतिशत, नबिल बैंकको १.५८ प्रतिशत ९.३ प्रतिशत र हिमालयन बैंकको ०.०१ प्रतिशत घटेर १०.८६ प्रतिशतमा आधारदर झरेको छ । तर, राष्ट्रिय वाणिज्य बैंक र कृषि विकास बैंकको भने बढेको देखिन्छ । राष्ट्रिय वाणिज्य बैंक ०.७२ प्रतिशत बढेर ८.३९ प्रतिशत र कृषि विकास बैंकको १.४७ प्रतिशत बढेर १०.३ प्रतिशत आधारदर कायम छ । अहिले अधिकांश वाणिज्य बैंकहरूको आधार दर एकल अंकमा छ । एकल अंकमा आधारदर भएका बैंकबाट ऋण लिँदा लागत कम लाग्ने गर्छ । यी बैंकहरूले अधिकतम ४ प्रतिशतसम्म प्रिमियम जोड्दा कर्जाको ब्याजदर १४ प्रतिशतभन्दा कम हुन आउँछ । साथै, केही बैंकहरूले आधारदरसँगै प्रिमियम पनि घटाइरहेका छन् ।
२ खर्ब ४४ अर्ब सहुलियतपूर्ण कर्जा प्रवाह हुँदा साढे २२ अर्ब ब्याज अनुदान, कुन बैंकले कति दिए ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले गत कार्त्तिक महिनासम्म साढे २२ अर्ब रुपैयाँ ब्याज अनुदानमा प्रदान गरेको छ । सहुलियतपूर्ण कर्जाका लागि कर्जा स्वीकृत गर्दा २२ अर्ब ३९ करोड ८ लाख रुपैयाँ ब्याज अनुदान दिएको हो । ब्याज अनुदानको सहुलियत कर्जा कार्यक्रम अन्तर्गत १० प्रकारका कर्जा लिन सकिने व्यवस्था गरेको छ । सोही अनुसार गत कार्त्तिकसम्म सहुलियत कर्जामा २२ अर्ब ३९ करोड रुपैयाँ ब्याज अनुदान दिएको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार व्यवसायिक कृषि तथा पशुपन्छी कर्जा, बिना धितो, धितो सहितको, शिक्षित युवा स्वरोजगार कर्जा, विदेशबाट फर्केका युवा परियोजना कर्जा, महिला उद्यमशील कर्जा, दलित समुदाय व्यवसाय विकास कर्जा, उच्च र प्राविधिक तथा व्यवसायिक शिक्षा कर्जा, भूकम्प पीडितहरूको निजी आवास निर्माण कर्जा, कपडा उद्योग सञ्चालनका लागि, प्राविधिक तथा व्यवसायिक तालिम परिषदबाट मान्यताप्राप्त संस्थाबाट दिइने तालिम, युवा वर्ग स्वरोजगार कर्जा लगायत शिर्षकमा दिइने कर्जामा ब्याज अनुदान दिने गरेको छ । गत कात्तिक मसान्तसम्म कूल १ लाख ४१ हजार ३६९ जना ऋणीलाई २ खर्ब ४४ अर्ब ९२ करोड ९९ लाख रुपैयाँ कर्जा स्वीकृत गरेको छ । जसमा वाणिज्य बैंकहरूले १ लाख २१ हजार ३०३ ऋणीलाई २ खर्ब १४ अर्ब ५८ करोड ९१ लाख रुपैयाँ, विकास बैंकहरूले १८ हजार १०८ ऋणीलाई २७ अर्ब १२ करोड ७७ लाख रुपैयाँ, फाइनान्स कम्पनीहरूले १ हजार ८६६ ऋणीलाई ३ अर्ब १३ करोड ५४ हजार रुपैयाँ र लघुवित्त संस्थाहरूले ९२ ऋणीलाई ८ करोड २९ लाख ७० हजार रुपैयाँ कर्जा स्वीकृत गरेका हुन् । राष्ट्र बैंकका अनुसार कूल ५८ हजार ४३ जना ऋणीलाई १ खर्ब ५६ अर्ब ४ करोड रुपैयाँ बराबरको व्यवसायिक कृषि तथा पशुपन्छी कर्जा स्वीकृत गरेको छ । यस्तै, बिना धितो ४ हजार २५७ ऋणीलाई २ अर्ब ९५ करोड ३२ लाख रुपैयाँ, धितो सहितको ५३ हजार ७८६ ऋणीलाई १ खर्ब ५३ अर्ब ९ करोड ४३ लाख रुपैयाँ, शिक्षित युवा स्वरोजगार कर्जा १६३ ऋणीलाई ७ करोड ८१ लाख रुपैयाँ, विदेशबाट फर्केका युवा परियोजना कर्जा ८६१ ऋणीलाई ७० करोड ६१ लाख रुपैयाँ, महिला उद्यमशील कर्जा ८० हजार ७७६ ऋणीलाई ८५ अर्ब ६ करोड ५९ लाख रुपैयाँ र दलित समुदाय व्यवसाय विकास कर्जा ९८८ ऋणीलाई ६९ करोड ४९ लाख रुपैयाँ कर्जा स्वीकृत गरेको छ । यस्तै, उच्च र प्राविधिक तथा व्यवसायिक शिक्षा कर्जा १२१ ऋणीलाई ४ करोड २७ लाख रुपैयाँ, भूकम्प पीडितहरूको निजी आवास निर्माण कर्जा १७४ ऋणीलाई ४ करोड ९७ लाख रुपैयाँ, कपडा उद्योग सञ्चालनका लागि १९३ ऋणीलाई २ अर्ब २१ करोड ५८ लाख रुपैयाँ, प्राविधिक तथा व्यवसायिक तालिम परिषदबाट मान्यताप्राप्त संस्थाबाट दिइने तालिम २ ऋणीलाई ४ लाख रुपैयाँ र युवा वर्ग स्वरोजगार कर्जा ४८ ऋणीलाई २ करोड ८४ लाख रुपैयाँ कर्जा स्वीकृत गरेको हो । गत कात्तिकसम्म ५१ बैंक तथा वित्तीय संस्थाहरूले सहुलियतपूर्ण कर्जा प्रवाह गरेको राष्ट्र बैंकले जनाएको छ । जसमध्ये सबैभन्दा धेरै कृषि विकास बैंकले १५ हजार १२५ ऋणीलाई २४ अर्ब ६० करोड रुपैयाँ कर्जा स्वीकृत गरेको हो । यस्तै, सिटिजन्स बैंकले ३ हजार ६०२ ऋणीलाई ५ अर्ब ७१ करोड रुपैयाँ, एभरेष्ट बैंकले २ हजार ९८६ ऋणीलाई ४ अर्ब ६१ करोड रुपैयाँ, ग्लोबल आइएमई बैंकले ७ हजार ८३४ ऋणीलाई १६ अर्ब १४ करोड रुपैयाँ, हिमालयन बैंकले ३ हजार ६११ ऋणीलाई ५ अर्ब ८८ करोड रुपैयाँ, कुमारी बैंकले ५ हजार १५१ ऋणीलाई ११ अर्ब ९० करोड रुपैयाँ कर्जा स्वीकृत गरेका छन् । यस्तै, लक्ष्मी सनराइज बैंकले ९ हजार २९९ ऋणीलाई १२ अर्ब १९ करोड रुपैयाँ, माछापुच्छ्रे बैंकले २ हजार २५० ऋणीलाई ३ अर्ब ५० करोड रुपैयाँ, नबिल बैंकले ८ हजार २६८ ऋणीलाई १४ अर्ब ४७ करोड रुपैयाँ, नेपाल बैंकले ६ हजार ८२८ ऋणीलाई ९ अर्ब ८९ करोड रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ११ हजार ७४७ ऋणीलाई १४ अर्ब ६४ करोड रुपैयाँ कर्जा स्वीकृत गरेका हुन् । यस्तै, नेपाल एसबिआई बैंकले २ हजार ५६५ ऋणीलाई ५ अर्ब १९ करोड रुपैयाँ, एनआईसी एशिया बैंकले ४ हजार १५६ ऋणीलाई २० अर्ब ५१ करोड रुपैयाँ, एनएमबि बैंकले ६ हजार ४४६ ऋणीलाई ११ अर्ब ८० करोड रुपैयाँ, प्रभु बैंकले ६ हजार ४८९ ऋणीलाई ८ अर्ब ८७ करोड रुपैयाँ, प्राइम बैंकले ४ हजार १ सय ऋणीलाई १० अर्ब ५९ करोड रुपैयाँ सहुलियतपूर्ण कर्जा स्वीकृत गरेका हुन् । यस्तै, राष्ट्रिय वाणिज्य बैंकले १२ हजार ९ ऋणीलाई १४ अर्ब ७१ करोड रुपैयाँ, सानिमा बैंकले ४ हजार ५४० ऋणीलाई ८ अर्ब ६३ करोड रुपैयाँ, सिद्धार्थ बैंकले ३ हजार ७९३ ऋणीलाई ९ अर्ब ५ करोड रुपैयाँ र स्ट्याण्डर्ड चार्टर्ड बैंकले ५०४ ऋणीलाई १ अर्ब ६० करोड रुपैयाँ कर्जा स्वीकृत गरेका हुन् । [pdf id=453962]