काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष रमेशकुमार हमालको कार्यकाल आगामी पुस २० गते सकिँदैछ । पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले धितोपत्र बोर्डको अध्यक्षमा नियुक्त गरेका हमाल आफ्नो २ वर्षे कार्यकाल सकेर पुस २० गते बोर्डबाट बाहिरिँदैछन् ।
तत्कालीन अध्यक्ष भिष्मराज ढुंगाना सर्वाेत्तम सिमेन्टको सेयर खरिद प्रकरणमा मुछिएपछि सरकारले निलम्बन गरेको थियो । उनको बाँकी रहेको कार्यकाल पुरा गर्न हमाललाई बोर्डको अध्यक्षमा नियुक्त गरिएको थियो । अहिले पनि दोहोरिने इच्छा रहेको बुझिएको छ । यद्यपि, हमालले भने यो विषयमा आफ्नो औपचारिक धारणा राखिसकेका छैनन् ।
छोटो अवधिका लागि अध्यक्ष बनेका हमालले यो अवधिमा धेरै काम गरेर देखाए भने उनका केही प्रयास असफल भए। विभिन्न स्वार्थ समूहकाे चेपुवामा परेका हमालको आलोचना पनि प्रशस्त भयो। तर, सेयर लगानीकर्ता भने उनको प्रशंसा नै गर्छन् ।
लगानीकर्ता राजु पौडेल हमालको कार्यकाल सेयर बजारका लागि उत्साहजनक रहेको बताउँछन् । पुराना ब्रोकर कम्पनीको सिण्डिकेट तोडेर नयाँ ब्रोकर कम्पनीलाई लाइसेन्स दिँदा लगानीकर्ताहरूलाई फाइदा भएको उनको भनाइ छ । बुक बिल्डिङ विधिमार्फत् आईपीओ जारी गर्न लगानीकर्ताहरूले लामो समयदेखि माग गर्दै आएकोमा अध्यक्ष हमालले त्यो पुरा गरेर राम्रो कामको सुरुवात गरेको उनको भनाइ छ ।
हमालले नयाँ ब्रोकर थपेर पुराना ५० वटा ब्रोकरको सिण्डिकेट तोड्न सफल भए । जुन सेयर लगानीकर्ताहरूका लागि सबैभन्दा ठूलो उपलब्धि हो । बैंकहरूले सिआश्वा शुल्क बढी भएको भनेर आलोचना पनि हुने गरेको थियो । त्यसमा हमालले हस्तक्षेप गरे र शुल्क पनि घट्यो । यसमा अध्यक्ष हमालले लगानीकर्ताबाट स्यावासी पाए ।
कुनै पनि बैंक तथा वित्तीय संस्था मर्जरमा जाँदा लामो समय कारोबार रोक्का हुन्थ्यो, लगानीकर्ताहरू खरिदबिक्री गर्नबाट बञ्चित हुन्थे, यी सबै प्रवृत्तिलाई अन्त्य गर्न अध्यक्ष हमाल केही हदसम्म सफल पनि बने ।
उनले गरेको अर्को महत्वपूर्ण काम भनेको सर्वाेत्तम सिमेन्टको आईपीओ प्रक्रियालाई अगाडि बढाए । त्यही बुक बिल्डिङका कारण यसअघिका अध्यक्ष भीष्मराज ढुंगाना र नेप्सेका सीईओ चन्द्रसिंह साउँदको जागिर चैट भएको थियो । तर, उनले सो विषयलाई सहज रूपमा अगाडि बढाए । लगानीकर्ता पौडेलले संस्थापक सेयरको लकिङ अवधि खुल्नुअघि ३० दिन अगाडि नै जानकारी दिनु पर्ने व्यवस्था लागू गरेको भन्दै अध्यक्ष हमालको प्रसंशा गरे ।
‘कतिपयलाई लकिङ पिरियड कहिले खुल्छ भनेर थाहा हुँदैन, प्रमोटरले सेयरको सप्लाइ दिने र नयाँ लगानीकर्ताहरू फस्ने सम्भावना हुन्छ, जस्तो शिवम्, माउन्टेन इनर्जीमा धेरै लगानीकर्ता फसे, त्यसैले यो पहल पनि राम्रो हो,’ उनले भने ।
उनका अनुसार नेपाल स्टक एक्सचेञ्जको सेवा गए जुग्रेको छ । हालै मात्र सिस्टम ढिला चलेर साढे ११ बजेपछि मात्रै बजार खुलेको थियो । नेप्सेले गरिरहेको मनोपोलीलाई तोडेर नेपालको पुँजी बजार अन्तर्राष्ट्रिय बजारमा पुर्याउन नयाँ स्टक एक्सचेञ्ज ल्याउन अध्यक्ष हमालले पहल गरे ।
नयाँ स्टक एक्स्चेञ्जको लाइसेन्स हात पार्न ठूला व्यवसायीहरु प्रतिस्पर्धामा आए । लाइसेन्स कसले हात पार्ने भन्ने विषयमा ठूलो शक्ति संघर्ष भयो ।
यो विषय मन्त्रिपरिषदमा मात्र होइन, संसद र अदालतसम्म पुग्यो । सबै निकायबाट सहमति लिएर लाइसेन्स दिने हमालको प्रयास अझैसम्म सफल भएको छैन ।
धितोपत्र बोर्डका एक कार्यकारी निर्देशकले हमालले दुई वर्षको अवधिमा धेरै काम गरेको बताए । ती कर्मचारीका अनुसार हमालले व्यक्तिगतभन्दा पनि संस्थागत स्वार्थका लागि धेरै काम गरेका छन् । लामो समयदेखि ब्रोकर संख्या थप्नु पर्ने र बैंकहरूले पनि ब्रोकरको लाइसेन्स पाउनु पर्ने माग उठ्दै आएको थियो । यसअघिका अध्यक्षहरूले सो कार्य गर्न सकेका थिएनन् । अध्यक्ष हमालको कार्यकालमा नयाँ ब्रोकरको संख्या थपियो । साथै, प्रतिस्पर्धात्मक माध्यमबाट जसले पनि ब्रोकर कम्पनी सञ्चालन गर्न सक्छ भन्ने वातावरण बनेको छ । यसले पारदर्शीता कायम भएको ती कर्मचारीको बुझाइ छ ।
‘उहाँको कार्यकालमा प्राइभेट इक्विटी भेन्चर क्यापिटल सफलतापूर्वक कार्यान्वयनमा आएको छ, बुक बिल्डिङ्ग विधिबाट आईपीओ निष्काशन गर्न अनुमति छिटाे दिने प्रक्रियामा ब्रेक थ्रु भयो, प्रतिस्पर्धाको माध्यमबाट नयाँ ब्रोकर कम्पनीहरूले लाइसेन्स पाए, व्यक्तिगत तथा संस्थागत, बैंकले पनि सहायक कम्पनीकारूपमा ब्रोकर कम्पनीको लाइसेन्स पाए,’ ती कर्मचारीले भने ।
ब्रोकर कम्पनीले शाखा विस्तार गर्दा बोर्डको स्वीकृति लिनु पर्ने व्यवस्था हटाएर प्रक्रिया पुर्याउने कम्पनीले ब्रोकर शाखा थप्न पाउने व्यवस्था उनकै सक्रियताबाट भयो । प्रक्रिया पुर्याएर बोर्डमा आवेदन दिने सबै कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिने काम उनकै कार्यकालमा भएको ती कर्मचारीको भनाइ छ । जबकी आईपीओ निष्कानमा उनको कार्यकालमा धेरै कम्पनीले निष्काशन गरेर ऐतिहासिक रकेर्ड नै ब्रेक भएको उनको दाबी छ ।
तर, धमाधम आईपीओ निष्कानशका लागि अनुमति दिँदा सप्लाइ बढेका कारण पछिल्लो समय बोर्डले स्वीकृत प्रक्रियामा ढिलासुस्ति गरेको उनले बताए । ती कर्मचारीका अनुसार हमालले २ वर्षमा थुप्रै काम गरेपनि कार्यकाल भने विवादरहित भने बन्न सकेन । तर, काम गर्दै जाँदा सामान्य विवाद हुनु स्वभाविक हुने उनी बताउँछन् । ती कर्मचारीका अनुसार हमालसँग काम गर्न पनि सहज भएको अनुभव सुनाए ।
‘उहाँमा सकेसम्म छिटो काम सक्नुपर्छ भन्ने सोच छ, निजी क्षेत्रबाट आउनु भएकाले काम नरोकेर फटाफट गर्नुपर्छ,’ उनले भने, ‘उहाँले कर्मचारीहरुको भत्ता बढाउनु भयो, पहिलाका अध्यक्षहरुले बढाउन नसकेको भत्ता उहाँले बढाउनु भयो, ४० प्रतिशतसम्म भत्ता वृद्धि भयो, कर्मचारीले पाउने तलब भने नेपाल सरकारले तोके सरह नै पाउने हो ।’
उनको कार्यकालमा कम्पनी तथा व्यक्तिलाई कारवाही पनि बढे । सूचीकृत कम्पनी, ब्रोकर कम्पनी लगायतलाई कारवाही भएको छ । इन्साइडर ट्रेडिङ गर्नेहरू पहिलाे पटक कारवाहीमा परे । यस्ता काराेबारी विरूद्ध उनको पालामा मुद्दा दायर भएको छ । हमालले आफ्नो कार्यकालमा एसएमईज र नयाँ स्टक एक्सचेञ्ज सञ्चालनमा ल्याउन खोजेका थिए । तर, त्यो पुरा हुन सकेन ।
कहाँ चुके हमाल ?
हमालले धेरै कामहरूमा सफलता प्राप्त गरेपनि केही काममा भने उनी चुकेका छन् । सेयर बजार प्यानिक तथा चरम बियरिसबाट गुज्रिरहेको बेला धमाधम प्रिमियममा आईपीओ निष्काशन गर्न अनुमति दिएर ध्वस्त पारेको आरोप लगानीकर्ता पौडेलले लगाए ।
‘बजार बुलिसमा भएको भए सप्लाई पचाउँथ्यो तर, बियरिसमा धेरै आईपीओ आए, जलविद्युत कम्पनीले धमाधम हकप्रद सेयरको अनुमति पाए, फण्डामेन्टल कमजोर भएका कम्पनी रिपब्लिक मिडिया, सोना कम्पनी, रेटिङमा नै चलखेल गरेको घोराही सिमेन्टमा बढी चलखेल भएको कुरा पनि सुनियो तर त्यसमा उनले प्रष्ट पार्न सकेनन्, उनी मौन बसे,’ उनले भने ।
सर्वसाधारणको रकम फस्ने गरी कमजोर कम्पनीलाई समेत आईपीओ निष्काशन गर्न स्वीकृति दिएको आरोप ब्रोकर व्यवसायीको छ । ‘प्रिमियम थप्नका लागि नियमावली संशोधन गरे, नयाँ कम्पनी सूचीकृत हुँदा कडाइ हुनु पर्नेमा उल्टै भइरहेको नियम खुकुलो बनाए, उद्यमीका लागि त्यो ठिकै होला तर, पब्लिकको लागि गलत हो किनभने कर्पाेरेट गभर्नेन्स नभएका कम्पनीमा जोखिम र म्यानुपुलेसन गर्ने ठाउँ रहन्छ, त्यसमा ओभरलुक भयो, यो सबै बुकबिल्डिङ बाट गरेको भए राम्रो हुने थियो,’ ती ब्रोकरले भने ।
उनका अनुसार जलविद्युत कम्पनीको हकप्रद सेयरमा पनि नियन्त्रण हुन सकेन । नेगेटिभ नेटवर्थ भएका कम्पनी, जसमा लगानी गरेकै दिन भ्यालू घट्ने कम्पनीले पनि राइट सेयरको अनुमति पाएको उनको भनाइ छ ।
उनका अनुसार नेप्सेको प्रतिस्पर्धी बनाउन नयाँ स्टक ल्याउने तयारी गरे । तर, नाफा कमाइरहेको संस्थालाई निजीकरण गरेर नयाँ स्टक ल्याउने तयारी गरेको भए राम्रो हुने उनको भनाइ छ । राज्यको सम्पत्ति जोगाउनु पनि नियामकको दायित्व हो । तर, त्यसलाई नजरअन्दाज गरेर सिधैं निजी कम्पनी ल्याउन तिर लागेको आरोप उनको छ ।
अर्का ब्रोकर व्यवसायीले उनको कार्यकाललाई बजार इन्डेक्ससँग जोडे । हमालको कार्यकालमा बजार इन्डेक्स घटेकोले उनको कार्यकाल सफल भएको मान्न नसकिने उनको बुझाइ छ । ‘इण्डेक्स राम्रो भएको भए उहाँले राम्रो काम गर्नु भयो भन्ने देखिन्थ्यो, उहाँको कार्यकालमा सेयरको सप्लाइ अत्यधिक बढ्यो, लगानीकर्ता जुनरूपमा बढाउनु पथ्र्याे त्यो भन्दा बढी सप्लाइको फ्लो बढ्यो, बजारलाई यो राम्रो होइन, बजारको इण्डेक्स खासै नबढेको हुँदा त्यहि अनुरुपमा उहाँको कार्यकाल लिने हो,’ ती ब्रोकर व्यवसायीले भने । उनका अनुसार हमालले बजार विस्तारमा भने प्रभावकारी काम गरे ।