फस्टाउँदै होम केयर व्यवसाय
बर्दियाकी गिरिजा शाही ६५ वर्षकी भइन् । उनलाई प्यारालाइसिस भएको ६ वर्ष भयो । उनको जीवन अहिले एउटा ह्वीलचियरमा गएर थन्किएको छ । श्रीमानको मृत्यु भयो । भएकी एउटी छोरी पनि बिहे गरेर गइन् । उनी दिदीसँग काठमाडौंमा बस्दै आएकी थिइन् । तर उनको एक्कासी बिपी हाइ भयो । बिपीले उनको एउटा हात खट्टा र एकापट्टीको शरीरलाई नचल्ने बनाइदियो । उनको शरीर अहिले चल्दैन । उनलाई खुवाउनेदेखि लिएर दिशापिसाब पनि अरुले गराइ दिनुपर्छ । नेपाल भारत जतिसुकै अस्पताल जाँदा पनि निको नभएपछि उनकी दिदीले उनलाई सानेपामा रहेको हेल्थ होम केयरमा राखिन् । जहाँ उमेर ढल्किँदै गरेका जेष्ठ नागरिकको उपचारसहित हेरचाह गरिन्छ । गिरिजा सात वर्षदेखि होम केयरमा बस्दै आएकी छिन् । उनको बोली पनि स्पष्ट आउँदैन । तर होम केयरमा बस्न थालेपछि पहिलेकोभन्दा स्वास्थ्यमा सुधार आएको उनी बताउँछिन् । ‘बेलाबेलामा दिदीभाई भेट्न आइरहन्छन्, पहिलेकोभन्दा सुधार पनि भइरहेको छ यहाँ बस्न पाउँदा खुसी नै छु’ उनले भनिन् । पाल्पाको तानसेनका नरेन्द्र शर्मा ९० वर्षका भए । बुढ्यौलीले छोएसँगै आफन्तहरू टाढिँदै गए । उनी अहिले अरुको साहारामा बसिरहेका छन् । ७ जना दाजुभाइ कोही स्वदेशमै छन्, कोही विदेशमा । उनका आफ्नै पाँच छोरी, एक जना छोरा छन् । एउटी छोरी र श्रीमतीको मृत्यु भइसक्यो । अरु छोराछोरी विवाह गरेर आ-आफ्नै घर व्यवहारमा लागे । बाँचुञ्जेल आफ्नै स्वासको मात्र आश हँदो रहेछ । अहिले नरेन्द्रलाई पनि यस्तै आभास भएको छ । ‘जवानीमा सबै आफ्ना थिए, कतिपयलाई आफैले जागिर खुवाइदिएँ । उमेर ढल्किँदै गएपछि आफ्नैहरूपनि टाढिँदा रहेछन्,’ नरेन्द्रले आफ्ना कुरा सुनाए । ‘छोराले बिहे गर्यो छुट्टै बस्यो, छोरीहरू बिहे गरेर गएँ,’ उनी भन्छन्, ‘म कान्छी छोरीसँग बस्थे, उसलाई पनि कहिले कता, कहिले कता जानुपर्छ । मलाई समय दिन नसकेपछि यता ल्याएर राखिदियो ।’ उनले युवा, वयस्कमा कहिले शिक्षण पेशा त, कहिले विभिन्न संघसंस्थामा आवद्ध भएर काम गरे । पाल्पा, स्याङ्जा, तनहुँ लगायतका चार जिल्लामा अध्यापन गराए । ‘बुढो भइसकेपछि आफ्नै सन्तानले पनि टाढाको सम्झँदा रहेछन्, अहिले छोरा भएपनि बोलचाल भेटघाट नै हुँदैन’ नरेन्द्रले भने । ‘बसेको छु, खाएको छु, बिरामी भए उपचार हुन्छ । यहाँ राम्रो हेरचाह भइरहेको छ’ गएको साता सानेपामा रहेको हेल्थ होम केयर नेपालमा भेटिएका नरेन्द्रले भने । कसैलाई समय नभएर त कसैलेसँगै राख्न नचाहेर अहिले वृद्धवृद्धा एक्लिँदै गएका छन् । काममा व्यस्त छोराछोरी कतिपयले पैसा तिरेर होम केयरमा राखिरहेका छन् भने कतिपय बाआमा आफै बृद्धाश्रम खोज्दै आएको भटिएका छन् । पैसा भएर पनि हेरचाह गर्ने समय नभएकाहरूलाई केन्द्रित गर्दै सञ्चालनमा आएको सानेपाको हेल्थ होम केयरमा अहिले यस्तै वृद्धवृद्धाहरूलाई भेट्न सकिन्छ । नयाँ बानेश्वरका विनोद उदासका श्रीमती र तीन जना छोरीहरू अष्ट्रेलिया छन् । नेपाल बसेर व्यापार गर्दै आएका उनलाई विगत चार, पाँच महिनादेखि प्रेसर र सुगरले सतायो । उनी अस्वस्थ भएपछि खाना पकाएर दिने मान्छे समेत भएन । उनले हेल्थ होम केयरको बारेमा थाहा पाएपछि त्यही गएर बस्न थाले । तीन महिनादेखि होम केयरमा बस्न थालेका बिनोद अस्वस्थ हुँदा कोही नहुनेको लागि यो ठाउँ साहारास्थल रहेको बताउँछन् । ‘हेल्थ होम केयरमा आउने व्यक्तिको न्यूनतम चार्ज ३३ हजारदेखि सुरु हुन्छ,’ उनी भन्छिन्, ‘तर व्यक्तिको स्वास्थ्य अवस्था अनुसार चार्ज धेर थोर हुन्छ, हामी कहाँ महिनाको ९० हजारसम्म तिरेर बस्नेहरू पनि हुनुहुन्छ ।’ ‘घरमा एक्लै समस्या थियो, खाना खाने, औषधी खाने टुंगो हुँदैनथ्यो,’ उनी भन्छन्,‘ अहिले नियमित चेकजाँच हुन्छ, औषधी खाइरहेको छु, पहिलेकोभन्दा सुधार हुँदै आएको छ, मेरो लागि यो ठाउँ राम्रो हो ।’ पहिलेको भन्दा निको हुँदै गएका उनले अब अष्ट्रेलिया जाने तयारी गरिरहेका छन् । उनले थपे, ‘अब कान्छी छोरी पनि आउँदै छिन्, मलाई पनि सञ्चो हुँदैछ । दुई/तीन महिनापछि यहाँबाट जान्छु होला ।’ उनी त्यहाँ बसे बापत मासिक ६० हजार रुपैयाँ तिरिरहेका छन् । अहिले समय फेरिएको छ । परिवारका सबै सदस्य प्राय जागिरे छन् । काम व्यस्तताले घरपरिवारलाई समय दिन नसकेपछि उनीहरू पैसा तिरेर अभिभावलाई हेरचाह गर्ने ठाउँको खोजीमा हुन्छन् । अहिलेका जागिरे पुस्ता र जेष्ठ नागरिकको पीडा बुझ्दै यो व्यवसाय सुरु गर्ने व्यक्ति हुन्, प्रोफेसर डाक्टर लोचना श्रेष्ठ । आजभन्दा १४ वर्ष अगाडि वृद्धवृद्धाको हेरचाह गर्ने सरकारी वृद्धाआश्रम र प्राइभेट होम केयरहरू थिए । तर, स्वास्थ्यलाई मध्येनजर गर्दै यस्ता हेल्थ होम केयर थिएनन् । त्यहीबेला डा.लोचनाले सुरु गरिन् ‘हेल्थ होम केयर नेपाल’ । कसरी आयो यो आइडिया ? डाक्टर लोचनाको घर काठमाडौंको सानेपा हो । उनी सन् २००२ मा मास्टर्स इन इन्टरनेश्नल पब्लिक हेल्थमा अध्ययन गर्न अष्ट्रेलिया गइन् । मास्टर गर्दा जेष्ठ नागरिक र उनीहरूको स्वास्थ्य अवस्थाका विषयमा थेसिस् लेखिन् । त्यो बेला उनले विश्वमा वृद्धवृद्धाहरूको जनसंख्यासँगै उनीहरूका समस्या पनि बढ्दै गइरहेको थाहा पाइन् । त्यहाँ घुम्दा उनीहरूलाई दिएको सुविधा पनि उनले देखिन् । त्यतिबेला उनलाई लाग्यो यो काम नेपालमा पनि गर्न पाए कस्तो हुँदो हो । उनी फर्केर घर आउँदा उनको सासुको अवस्था पनि उस्तै थियो । सासूलाई बेडमै राख्नुपर्ने अवस्था आयो । घरमै राखेर सासूको सेवा गर्दा उनलाई अष्ट्रेलियामा सोचेको कुराले फेरि याद दिलायो । वृद्धवृद्धा बिरामी हुँदा सेवा गर्दा पनि टेक्निक जानेन भने कस्तो गाह्रो पर्छ भन्ने महसुस उनलाई पनि भयो । र, आफ्नै अनुभव र बाहिर देखेको अनुभवलाई प्रयोगमा ल्याउन हेल्थ होम केयर नेपालको सुरुवात गरिएको उनी बताउँछिन् । उनले आफ्नो योजना श्रीमान्, साथीभाइसँग सेयर गरिन् । सबैबाट सकारात्मक प्रतिक्रिया आयो । ‘सबैको सल्लाहले योजना त बनाएँ तर सुरुवात कसरी गर्ने धेरै सोच्नुपर्यो,’ सुरुवाती क्षण सम्झँदै उनले भनिन्, ‘घरघरमा गएर जेष्ठ नागरिक खोजेँ, उनीहरूलाई जाँच गरे, अनि आफ्नो योजना सुनाएँ मेरो योजनाले मैले देखेको सपना पुरा गरिरहेकी छुँ ।’ हेल्थ होम केयरमा दिइने सेवा एक जना वृद्धबाट सुरु गरिएको होम केयरमा अहिले ३६ जना जेष्ठ नागरिक छन् । त्यहाँ आउने जेष्ठ नागरिकहरूको चार्ज उनीहरुको स्वास्थ्य अवस्ताअनुसार फरक फरक छ । ‘हेल्थ होम केयरमा आउने व्यक्तिको न्यूनतम चार्ज ३६ हजारदेखि सुरु हुन्छ,’ उनी भन्छिन्, ‘तर व्यक्तिको स्वास्थ्य अवस्था अनुसार चार्ज धेर थोर हुन्छ, हामी कहाँ महिनाको ९० हजारसम्म तिरेर बस्नेहरू पनि हुनुहुन्छ ।’ नेपालको संविधानले प्रत्येक नागरिकलाई आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुने व्यवस्था गरेको छ । संविधानको धारा ४१ मा जेष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हक हुने व्यवस्था छ । डाक्टर श्रेष्ठ हेल्थ होम केयरमा रहेकाहरूलाई राज्यको नीति अनुसार सेवा दिइरहेको बताउँछिन् । डाक्टर श्रेष्ठ आफै पनि जेरियाट्रिक डाक्टर हुन् । उनका श्रीमान् पनि डाक्टर हुन् । उनी र उनका श्रीमान् गरी दुईजना डाक्टर, नर्सलाई सेवा गर्ने केयर टेकर १५ जना छन् । त्यस्तै, खाना पकाउने, खुवाउने, सरसफाइ गर्ने चार जना गरी २० जनाभन्दा बढी कर्मचारी छन् । सामान्य औषधी, उपचार ल्याब टेस्टको लागि ब्लड कलेक्सन, फिजियो थेरापी, एक्सरसाइज होम केयरमै गरिन्छ । कसैलाई मुटु सम्बन्धी जाँच गर्नुपर्यो, मृगौला, नसा सम्बन्धी जाँच गर्नुपर्यो भने स्टार अस्पतालको डाक्टर ल्याएर उपचार गरिन्छ । सिटीस्क्यान गर्नुपर्यो भने स्टार अस्पतालमा पठाइने गरिएको उनको भनाइ छ । योगा र एक्सरसाइजबाट सुरु लोचनाले आफ्नो योजना अनुसार सानेपामा दुई तले घर भाडामा लिइन् । त्यहाँ उनले योगा र शारीरिक स्वास्थ्य व्यायम सिकाउने काम सुरु गरिन् । उनले एकातिर आफ्नो योजना डाक्टर, साथीभाइसँग सेयर गरिसकेकी थिइन् भने अर्कोतिर घरघरमा गएर वृद्धवृद्धाका स्वास्थ्य जाँच गर्दै आफ्ना कुरा राख्न थालिन् । सँगसँगै उनले संस्था दर्ता गर्ने योजना पनि सुरु गरिन् । उनले संस्था दर्ता गर्न उत्तिकै सकस गर्नुपर्यो । व्यक्तिगत संस्था दर्ता नहुने भएकाले उनले कम्पनी खडा गरिन् । अहिले उनको कम्पनीको नाम ‘हेल्थ होम केयर प्राइभेट लिमिटेड’ राखिन् । उनले सुरुवात गर्दा एकजना वृद्ध थिए । पछि विस्तारै, दुई, चार हुँदै होम केयरमा आउनेको संख्या बढ्दै गयो । जेष्ठ नागरिक बढ्दै गएपछि उनलाई भाडाको घरमा समस्या हुन थाल्यो । त्यसपछि उनले आफ्नै घर बनाउन सुरु गरिन् । सन् २०१२ देखि सन् २०१७ सम्म भाडाको घरमा चलाएपछि उनले आफ्नो घर तयार पारिन् र आफ्नै घर बनाएर त्यतैबाट काम सुरु गरिन् । अहिले उनको पाँच तलाको घर छ । घर अगाडि खुल्ला चौर छ जहाँ वृद्धवृद्धालाई हिँडडुल गर्न फाराकिलो ठाउँ छ । सन् २०१२ मा नेपालमा जेरियाट्रीको अवस्था कस्तो छ र के गर्नुपर्छ भन्ने विषयमा उनले रिसर्च गरिन् । त्यसपछि सन् २०१९ मा उनले यही विषयमा फेलोसिप गरिन् । सेवा शुल्क छुट्टै पछिल्लो समय यस्ता केयर सेन्टर बढ्दै गएका छन् । तर १४ वर्ष अगाडि डाक्टर लोचनाको एकमात्र हेल्थ होम केयर थियो । हेल्थ होम केयरमा आउने जेष्ठ नागरिकको संख्या पनि बढेको छ । त्यहाँ बस्ने जेष्ठ नागरिकको चार्ज भने फरक फरक छ । त्यहाँ आउन चाहानेको लागि ३६ हजार न्यूनतम मूल्य हो । अक्सिजन लगाउनुपर्ने/नपर्ने, डाइपर लगाउन पर्ने/नपर्ने, व्यक्ति हेरेर पैसा निर्धारण गरिन्छ । कसैलाई ३६ हजारमा छ भने कसैलाई लाखसम्म पनि राख्ने गरेको उनको भनाइ छ । सुरुमा धेरै जसोले होम केयरलाई वृद्धाआश्रम भन्थे तर, जब पैसा तिर्नुपर्यो उनीहरुले थाहा पाए । यहाँ खल्तीमा पैसा भएर समय नभएकाहरूले आफ्ना जेष्ठनागरिकलाई ल्याइने गरिन्छ । बिजनेसको रुपमा लिन कठिन डाक्टर लोचना यसलाई बिजनेसको रुपमा गर्न नसकिने बताउँछिन् । ‘वृद्धवृद्धालाई सेवा गर्दा उनीहरूको आम्दानीको भरमा गर्ने हो, तर उनीहरूको आम्दानी भएन’ उनी भन्छिन्, ‘यसैको आधारमा सेवा गर्दा बिजनेसको रुपमा गर्न गाह्रो छ, यहाँ उनीहरूको अवस्था हेरेर सेवा गर्नुपर्छ ।’ नेपालमा पैसा हुनेहरु कतिपयले घरमै डाक्टर बोलाएर पनि सेवा दिइरहेका हुन्छन् । तर, कतिपयले उनी जस्ताको पनि खोजी गर्दै आउँछन् । लोचनाको आफ्नै जग्गा र घर भएकाले उनलाई यो व्यवसायबाट घाटा छैन । बरु आम्दानी अनुसार सेवा बढाउँदै लगेको उनको भनाई छ । आजभोली घरमा बस्ने फुर्सद सायद कमैलाई छ । प्राय सबै कामकाजमा व्यस्त हुँदा आमाबुबालाई हेरचाह गर्ने फुर्सद मिल्दैन । उनीहरूले यस्ता होम केयर खोजीरहेका हुन्छन् । अफिसबाट फर्केर आउँदा, बिदामा हुँदा भेट्न आउँछन् । अधिकांशका छोराछोरी विदेश हुँदा पनि होम केयरमा बस्न आउने गरेको डा. लोचनको भनाइ छ । हेल्थहोम केयर नेपालमा हाल ६० प्रतिशत विदेशमा छोराछोरी भएका र २० प्रतिशत अस्पतालबाट डिस्चार्ज भएका वृद्धवृद्धा छन् । र, बाँकी २० प्रतिशत नेपालमै परिवार भएकाहरु छन् ।
पैसाको लोभ छैन, रिपब्लिकबाट बाहिरिँदैनौं : शोभा ज्ञवाली
काठमाडौं । मिडिया क्षेत्रमा आईपीओ ल्याउने पहिलो कम्पनी बन्यो नेपाल रिपब्लिक मिडिया । कम्पनीले आईपीओ ल्याउँदा विभिन्न आरोप खेप्नु पर्याे । कतिपय लगानीकर्ताहरूले घाटामा रहेको कम्पनीलाई सेयर निष्काशन गर्न दिएर नेपाल धितोपत्र बोर्डमाथि आक्रोस व्यक्त गरे भने कतिपयले सर्वसाधारणलाई आईपीओ जारी गरेर संस्थापक बाहिरिन लागेको भनेर हल्ला चलाए । तर, रिपब्लिक मिडियालाई पब्लिकमा ल्याएर आफूहरू नबाहिरिने कम्पनीकी निर्देशक शोभा ज्ञवालीले बताइन् । आफूलाई समाजको चिन्ता रहेकाले कम्पनीबाट बाहिरिने कल्पना समेत नगरेको उनको भनाइ छ । मलाई पैसाको मतलब नरहेकाले मिडियाबाट बाहिरिने कुरामा आशंका नगर्न लगानीकर्तालाई उनले आग्रह गरिन् । ‘कान्तिपुरबाट बाहिरिँदा मसँग अर्बौं रुपैयाँ थियो । म मिडियाबाट बाहिरने भए त्यहीँ बेला बाहिरिन्थें । तर, मेरो परिवारमा समाज बनाउने माध्यम नै मिडिया हो । समाजको ऐना भनेको मिडिया हो भनेर हामीले रिपब्लिक स्थापना गर्याैं,’ उनले भनिन्, ‘कान्तिपुरबाट अलग भएपछि त म मिडिया क्षेत्रबाट पलायन भइनँ भने अब त त्यो कल्पना पनि गर्न सक्दिनँ । मलाई पैसाको कुनै मतलब छैन, समाजको चिन्ता छ । त्यसैले मिडियाबाट बाहिरिने कुरामा आशंका नगर्दा हुन्छ ।’ साथै, आगामी दिनमा कम्पनी डुब्न नदिन सजगता अपनाएको उनको भनाइ छ । सकेसम्म फाइनान्सियल स्टेटमेन्ट चुस्त दुरुस्त बनाएर हिसाबहरू मिलाउने गरेको उनले बताइन् । उनका अनुसार देशको अर्थतन्त्र अवस्था राम्रो बनाउन उद्योगधन्दा खोल्नुपर्छ । जब देशले कमाउन थाल्छ, व्यवसाय बढ्न थाल्छ, तब मिडियाले कमाउने उनको धारणा छ । ‘हामीले प्रत्येक त्रैमासको वित्तीय विवरण प्रकाशन गरिरहेका छौं । स्थिर सम्पत्तिको तुलना गरेर हामीले ऋण लिने हो । वित्तीय कारोबार कम्पनीको सीईओले हेर्नुहुन्छ । र, यही वित्तीय अवस्थालाई कायम राख्दै अगाडि बढ्छौं,’ उनले भने, ‘अब महामारी, भूकम्प आयो भने फरक कुरा हो । तर, सकेसम्म हामीले फाइनान्सियल स्टेटमेन्ट चुस्त दुरुस्त बनाएर हिसाबहरू मिलाउँछौं । मासिक तथा त्रैमासिकरूपमा कम्पनीको सञ्चालक समितिको बैठक पनि बस्छ । सञ्चालकहरूबाट पनि सुझाव सल्लाह लिएर हामी अगाडि बढ्छौं ।’ मिडियाको अवस्था अहिले नाजुक रहेकाले लगानीकर्तालाई यो वर्ष लाभांश नबाँड्ने घोषणा गरेको उनले बताइन् । रिपब्लिकलाई पब्लिकमा लगेपछि कम्पनीमा साढे ३ लाख सेयरधनी पुगेको उनको भनाइ छ । कम्पनीले गत जेठमा ४३ करोड ५३ लाख रुपैयाँको ४३ लाख ५३ हजार कित्ता सेयर सर्वसाधारणलाई बिक्री गरेको थियो । आईपीओ निष्काशनपश्चात् कम्पनीको चुक्ता पुँजी ९६ करोड ७५ लाख रुपैयाँ पुगेको छ । जसमध्ये संस्थापक समूहको ५५.०१ प्रतिशत अर्थात् ५३ लाख २२ हजार कित्ता र सर्वसाधारण समूहको ४४.९९ प्रतिशत अर्थात् ४३ लाख ५३ हजार कित्ता सेयर स्वामित्व छ । गत बिहीबारसम्म दोस्रो बजारमा कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३३८ रुपैयाँमा कारोबार भएको थियो ।
जोखिम हस्तान्तरण गर्न असाध्यै गाह्रो भयो, राम्रो पुनर्बीमाको खाँचो छ : विजयबहादुर शाहसँगको अन्तर्वार्ता
पुँजी वृद्धिका लागि मर्जरको विकल्प रोजेका कम्पनीहरू मर्जरपश्चात् सिनर्जी ल्याउन सफल भइसकेका छैनन् । मर्जरपश्चात् बीमा कम्पनीहरूमा देखिएका समस्याहरू सतहमा देखिन थालेका छन् । तर, हिमालयन एभरेष्ट इन्स्योरेन्सले भने आफ्नो व्यवसाय घट्न दिएको छैन । उल्टै तीन सय प्रतिशतसम्म नाफा वृद्धि गरेको कम्पनीको दाबी छ । प्रस्तुत छ यसै विषयमा केन्द्रित रहेर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) विजयबहादुर शाहसँग विकासन्युजका रामकृष्ण पौडेल र सीआर भण्डारीले गरेको कुराकानी । माइक्रो इकोनोमिमा अहिले परेको प्रभावले बीमा इण्डष्ट्रिलाई कसरी चित्रण गर्नुहुन्छ ? समग्रमा बीमाको अवस्था सन्तोषजनक छैन । गत वर्षको हाराहारीमा नै यस वर्ष व्यापार व्यवसाय भइरहेको छ । साथै, अबको बाँकी चार महिनामा पनि ठूलो फरक आउने संकेत देखेका छैनौं । यदि केही ठूला आयोजना बने, सरकारले रकम निकासा गर्याे र विकास निर्माणले गति लियो भने प्रिमियम २/४ प्रतिशत बढ्न सक्छ । होइन भने तात्विक परिवर्तन आउने देखिँदैन । बीमालाई अर्थतन्त्रको एउटा मुख्य सूचकका रूपमा लिइन्छ । हाल अर्थतन्त्र उत्साहजनक छैन । बैंक तथा वित्तीय संस्थामा प्रयाप्त तरलता हुँदा पनि लगानी भइरहेको छैन । कर्जा प्रवाह शून्य जस्तै देखिन्छ । वित्तीय प्रणालीमा भएको पैसा प्रवाह नभई त्यत्तिकै थन्किएकोले बीमा हुन सकिरहेको छैन । बीमा कम्पनीको आकार र संख्याको आधारमा बीमा कम्पनी आवश्यकभन्दा बढी भए, अस्वस्थ प्रतिस्पर्धा भयो भनेर मर्जर गराइयो । मर्जर भएको एक वर्ष बढी भइसक्दा बजारमा कस्तो परिणाम आइरहेको छ ? बीमा कम्पनीको जोखिम क्षमता बढाउन पुँजी वृद्धि गर्नुपर्छ भनेर प्राधिकरणबाट निर्देशन भयो । एकैपटक १ सय करोडको पुँजीलाई साढे २ सय करोड पुर्याउनु पर्ने भयो । पुँजीवृद्धि गर्न लगानीकर्ताले पैसा थप गर्ने की मर्जर गर्ने भन्ने विषयमा छलफल चल्यो । मर्जर गर्दा तुरुन्तै पुँजी पुग्ने र पुँजीका साथसाथै व्यवसाय आउने भएकाले हामीले मर्जरको बाटो रोज्यौं र हिमालयन एभरेष्ट इन्स्योरेन्सलाई बीमा क्षेत्रकै पहिलो मर्जर कम्पनीको रुपमा चिनाउन सफल भयौं । त्यसपछि भने निर्जीवन बीमा क्षेत्रका अन्य कम्पनी पनि मर्ज भएर २० वटाबाट १४ वटामा झरे । मर्जरअघि संख्या बढी भए र बजारलाई धेरै कम्पनी चाहिँदैनन् भन्ने चर्चा चल्यो । सोही समयमा बीमा कम्पनी सबै ठाउँ पुग्न सकेका थिएनन् । र, मर्जरपछि पनि बीमाको पहुँच सीमित क्षेत्र र बीमा सुविधा लिने व्यक्तिहरूसम्म मात्रै पुगेको देखिन्छ । कतिपय देशमा संख्या थोरै भएपनि धेरै शाखा वा प्रविधिको प्रयोग गरेर धेरैभन्दा धेरै मानिसमा बीमाको पहुँच पुर्याइएको छ भने कतिपय देशमा बीमाको संख्या धेरै भएपनि निश्चित क्षेत्रमा मात्रै सीमित भएर व्यवसाय गरिरहेका छन् । मर्जरले फाइदा भयो की बेफाइदा ? मर्जरपछि बीमाको पहुँच वृद्धिमा तात्विक फरक आएको छैन । किनभने हिजोका दिनमा जुन शाखा थिए, ती शाखा आज पनि छन् । केही शाखा मर्ज भएका होलान् । डिजिटाइजेशन वा प्रविधिको प्रयोग गर्याैं भने बीमाको पहुँचमा वृद्धि हुन्छ । अब नेपाली बीमा क्षेत्रमा प्रविधिको प्रयोग गर्ने विषयमा छलफलमात्रै नभई लागू गर्न ढिलो भइसकेको छ । किनभने हामीले जबसम्म प्रविधिको व्यापक प्रयोग गर्दैनौं तबसम्म कस्ट इफिसेन्सी पनि हुँदैन । र, धेरैभन्दा धेरै मान्छेले त्यसको सेवा सुविधा प्रयोग गर्न पाउँदैनन् । मर्जर भएका कम्पनीमा प्रविधिले ठूलो स्रोत खोज्यो वा लगानी आवश्यक पर्ने भयो भने दुईटा कम्पनी मिलेर श्रृजना भएको क्यापिटल फण्डलाई प्रयोग गर्न सकिन्छ । तर, आजको दिनमा एकदुई वटा कम्पनी बाहेक अन्य कम्पनीले प्रभावकारी रूपमा उक्त पुँजीलाई प्रयोगमा ल्याएको देखिदैन । मर्जर भइसकेपछि तत्काल २/३ सय जना जनशक्ति थपिए । कम्पनीको आकार ठूलो भयो । ‘बिगर इज बेटर’ को सन्देश गएपछि अरूले सिको गरे । पुँजीसँगै पुँजी कोष बढी भएकाले कम्पनीहरूले क्यापिटल इन्टेन्सिभ प्रोजेक्टहरूमा लगानी गर्न सके । अब बीमाबाहके अन्य क्षेत्रमा पनि केही छ भनेर हेर्न सकिने अवस्था श्रृजना भयो । हिमालयन एभरेष्ट इन्स्योरेन्सले त्यस क्षेत्रमा नेतृत्व गरेको छ । जहाँ बीमा मात्रै होइन, बीमा बाहेक अन्य क्षेत्र पनि छ । कम्पनीले पूर्वाधार, आयोजना, जलविद्युत तथा लजिस्टिक कम्पनीमा लगानी गरेको छ । बीमितहरूको विश्वास बढाउन कम्पनीको नाममा सम्पत्ति जोडिरहेका छौं । चालु आर्थिक वर्षको अन्त्यसम्म कर्पाेरेट अफिस पूर्ण बनाएर त्यहाँ सर्छाैं । विराटनगर, ललितपुर, बुटवल र नेपालगञ्जमा प्रादेशिक कार्यालय सञ्चालनका लागि जग्गा खरिद गरिरहेका छौं । अब कम्पनीले राजधानी मात्रै नभई प्रादेशिकस्तरमा पनि पुँजी लगानी गर्दैछ । जसले बीमाप्रतिको विश्वास जगाउँदै बीमा क्षेत्रलाई सपोर्ट गर्छ । बीमा बाहिर पनि व्यवसाय छ भनेर लगानी गर्छाैं भन्नु भयो । बीमाले आफ्नो कोर व्यवसाय बढाउनमा केन्द्रित हुने की त्योभन्दा बाहिरी व्यवसायको स्कोप छ भनेर डाइभर्ट हुने ? जुन कम्पनी जुन उद्देश्यको लागि खोलिएका हुन्, त्योभन्दा बाहिर जानु हुँदैन भनिन्छ । त्यसैले हामी आफ्नो ट्रयाकभन्दा बाहिर गए जस्तो लाग्दैन ? पक्कै पनि, बीमा कम्पनीको पहिलो काम बीमा गर्नु हो । तर, बीमा बाहेक पनि दुनिया छ नि । जस्तो हिमालयन एभरेष्टले ठूला परियोजना, पुर्वाधार, स्वास्थ्य लगायत अन्य थुप्रै क्षेत्रमा लगानी गरेको छ । हामीसँग भएका स्रोत अरूलाई दिएर उसले ब्याज खानुभन्दा हामीले प्रत्यक्ष दिँदा लागत कम हुन जान्छ । जसलाई फण्ड चाहिएको छ, उसलाई सस्तोमा फण्ड उपलब्ध हुन्छ । हो, ओभर एक्साइटेड भएर आफ्नो जिम्मेवारीबाट भड्किनु हुँदैन । प्राथमिक कार्य क्षेत्रमा केन्द्रित भएर आफूसँग भएको ‘एडिसनल फण्ड’लाई प्रभावकारी प्रयोग गर्न अन्य क्षेत्र पनि उचित हुन्छ । सबै बीमा कम्पनीहरूले नियामकले तोकेको प्रतिशतभित्र रहेर विभिन्न परियोजनामा लगानी गर्छन् । हामीले पनि सोही क्षेत्रमा लगानी गर्छाैं । संस्थागत लगानीकर्ताहरू अग्रसर भएर लगानी गर्दा आमजनताको विश्वास पनि बढ्छ । कुनै सूचीकृत कम्पनी, संगठित संस्था, विषयवस्तु बुझेका व्यक्तिले लगानी गर्दा अध्ययन गरेका हुन सक्छन् । यो संस्था पारदर्शी हुन सक्छ भन्ने विश्वास जाग्छ । त्यसैले बीमा कम्पनीहरू पनि राम्रा आयोजनामा लगानी गर्न तयार छन् । यसरी लगानी गर्दा लगानीको वातावरण नबुझेको हुन सक्छन् । विज्ञता पनि आवश्यक पर्छ । बीमाकर्मीहरू बीमामै विज्ञ हुन्छन् । लगानी भनेको फरक च्याप्टर हो । लगानीको विज्ञता हासिल गरेर लगानी गरिरहनु भएको छ की छैन ? जोखिम न्यूनीकरण गर्ने औजार के प्रयोग गर्नु भएको छ ? बीमामा दुईटा पार्ट हुन्छ । एउटा बीमा र अर्काे लगानी । निर्जीवन बीमा कम्पनीहरूले बीमा गरेवापत कमाउँदैनन् । बीमामा अण्डरराईटिङ प्रफिट हुँदैन । तर, लगानीबाट आम्दानी हुन्छ । कम्पनीहरूले बीमाबाट भएको आय र लगानीबाट भएको आयलाई जोडेर नाफा देखाउँछन् । बीमा कम्पनीको कम्बाइन्ड रेसियो अध्ययन गर्ने हो भने अधिकांशको एक सयको हाराहारीमा हुन्छ । कुनै कम्पनीको ११० सम्म कम्बाइन्ड रेसियो हुन्छ । कम्बाइन्ड रेसियो भनेको बीमा गरेर एक सय रुपैयाँको प्रिमियममा एक सय रुपैयाँभन्दा बढी खर्च गरेको हो । त्यसैले बीमाबाट कम्पनीहरूलाई नोक्सानी छ । बीमा सामाजिक उद्योग हो । कथमकदाचित बीमाबाट धेरै नाफा कमाइ भयो भने रेटलाई घटाउनुपर्छ । किनभने त्यसबाट अकुत नाफा कमाउन मिल्दैन । कम्पनीले क्यापिटल र रिजर्भ श्रृजना गरेका हुन्छन् । त्यसलाई प्रभावकारी रूपमा लगानी गर्न सकियो भने त्यसबाट आउने प्रतिफल सेयरधनीहरूलाई लाभांशका रूपमा बाँड्न मिल्छ । त्यसैले बीमा र लगानी सँगसँगै हुनुपर्छ । हिमालयन एभरेष्टले विज्ञ चार्टर्ड एकाउन्टेन्ट राखेर लगानी गरिरहेको छ । साथै, बाह्य परामर्शदाता राखेर प्रपोजलमा सम्भाव्यताका बारेमा राय सुझाव माग्छौं । साथै, कुनै फरक प्रकृतिको कम्पनी आयो भने सो विषयको ज्ञाता लिएर पनि सुझाव सल्लाह माग्छौं । उहाँहरूले अध्ययन गरेर राय सुझाव दिनु हुन्छ । सबै डकुमेन्ट अध्ययन गरेर मात्रै लगानी गर्नु हुन्छ । त्यसपछि सञ्चालक समिति अन्तर्गत रहेको उपसमितिमा पठाएर छलफल गरेर निर्णय भएपछि मात्रै कार्यान्वयन गरिन्छ । कतिपय केसमा त बीमा प्राधिकरणबाट स्वीकृति लिनुपर्छ । अन्ततः बीमा राम्रो भयो भने त्यसको जस प्राधिकरणले पाउँछ । तर कम्पनीले आफ्नो बाटो बिर्से भने पनि प्राधिकरणले अपजस पाउँछ । त्यसैले प्राधिकरण पनि यसप्रति उत्तिकै चिन्तत छ । हिमालयन एभरेष्ट इन्स्योरेन्सले मुख्य कुन-कुन क्षेत्रमा लगानी गरेको छ ? हामीले प्राधिकरणले तोकेका क्षेत्रमै लगानी गरेका छौं । कम्पनीले ७० प्रतिशत रकम वाणिज्य बैंकहरूको मुद्दती निक्षेपमा लगानी गरेको छ । विकास बैंक, फाइनान्स कम्पनीको मुद्दती, संस्थाहरूले जारी गरेका ऋणपत्र, म्युचुअल फण्ड, आईपीओ र दोस्रो बजारमा गरी कूल २५ प्रतिशत लगानी गरेका छौं । बचेको ५ प्रतिशत रकम पुर्वाधार, राष्ट्रिय प्राथमिकता प्राप्त कम्पनी जलविद्युत क्षेत्र, लजिस्टिक कम्पनीमा लगानी गरेका छौं । मर्जरपछि कम्पनीको आकार र जनशक्ति बढी हुँदा त्यसलाई विशिष्टिकृत गर्दै जाने अभ्यास भएका देखिन्छन् । यस कम्पनीमा पनि त्यस्ता अभ्यास भएका छन् ? मर्जरपछि संरचनागत परिवर्तन कति आयो ? बीमा कम्पनी ठूला संस्था होइनन् । बैंकमा ४/५ हजार कर्मचारी छन् । तर, बीमा कम्पनीमा थोरै छन् । मर्जरपछि हिमालयन एभरेष्टमा ४१० जना मात्रै कर्मचारी, ८१ वटा शाखा कार्यालय र ६ वटा थर्डपार्टी काउन्टर छन् । तर पनि दुईटा कम्पनी एक हुँदा संरचना डबल बन्यो । एउटा सीईओ चाहिने ठाउँमा २ वटा सीईओ भए । तल्लो तहमा पनि एउटाको ठाउँमा दुइटा भए । तर, हामीले कर्मचारीहरूलाई उचित स्थान दिँदै व्यवस्थापन गरेका छौं । केही चार्टर्ड एकाउन्टेन्ट र स्वास्थ्य पढेका मान्छेलाई विभिन्न विभागमा पदस्थापन गर्याैं । लगानीका प्रस्ताव आए भने विश्लेषण गर्नुपर्ने हुन्छ । त्यसैले चार्टर्ड एकाउन्टेन्टको टिम बनाएर त्यसमा व्यवस्थापन गर्याैं । बीमा कम्पनीको लागि सबैभन्दा जरूरी कम्प्लायन्स हो । नियामकले तोकेकोभन्दा बाहिर कोही पनि नजाओस् भनेर रिस्क कम्प्लायन्स डिपार्टमेन्ट खोलेर व्यावसायिक व्यक्ति राखेका छौं । त्यसैले कोही पनि निराश हुनुपर्ने अवस्था आएको छैन । मर्जरपछि सबै जना एकआपसमा मिलिसकेका छन्, कोही असन्तुष्टि छैनन् । आर्थिक मन्दी छ । पछिल्ला वर्षहरूमा बीमा कम्पनीका शाखा विस्तार कार्य रोकिएका छन् । साथै, मर्जरपछि सशक्त कम्पनी बन्दा नयाँ प्रडक्ट आउँछन् की भन्ने अपेक्षा थियो । हाम्रो बुझाइ कम भएर हो की यसका कारणहरू छन् ? मर्ज हुने बित्तिकै सम्पूर्ण क्षेत्रनै एकैपटक ‘अप एण्ड डाउन’ हुँदैन । मर्जर आवश्यकताले आएको हो, स्वस्फूर्तरूपमा होइन । चुक्ता पुँजी बढाउन की पैसा थप्नु पर्याे । तत्कालिन समयमा पैसा थप्न नदिने व्यवस्था थियो । दुईटा कम्पनी एक भएपछि नराम्रो विषय तत्काल छाड्ने हो । र, राम्रा कुरालाई संस्थागत गर्न वर्षाैं लाग्न सक्छ । यदि कसैले मर्ज भएकै वर्ष सिनर्जी ल्याउँछु भन्यो भने त्यो महत्वकाक्षा हुनसक्छ । हिमालयन एभरेष्टले शाखा बन्द गरेन र कर्मचारीलाई बिदा गरेन । मर्जरपछि कम्पनीको व्यवसाय पनि वृद्धि भएको छ । ठूला कम्पनीको व्यवसाय घटेको अवस्थामा हिमालयन एभरेष्टको नाफामा तीन सय प्रतिशत वृद्धि भएको छ । यो भनेको सिनर्जीले नै हो । त्यसैले हामीले ‘इनोभेटिभ’लाई रोकेका छैनौं । बीमाको अबको भविष्य भनेको डिजिटलाइजेशन हो । अबपनि प्रविधिको प्रयोग गरेनौं भने पछाडि पर्छाैं । मर्जरको बेलामा पनि भन्नु भएको थियो, डिजिटलाइजेशन पहिलो प्राथमिकता हो । अहिलेसम्म डिजिटलाइजेशनमा ल्याइएको परिवर्तन के के हुन् ? जुन कम्पनीका ग्राहकले महसुस गरिरहेका छन् ? ग्राहकले अहिले बीमा कम्पनीमा नधाई, अभौतिक रूपमानै डिजिटलबाट पोलिसी बिक्री किन्न सक्नु हुन्छ । अब बीमालेख खरिद गर्न शाखा कार्यालय जानु पर्दैन । स्वास्थ बीमा, मोटर बीमा अनलाइनबाटै उपलब्ध छन् । कोरोना महामारी अघि नियामकले अनलाइन कारोबार रोकेको थियो । लकडाउनले पनि बीमालाई डिजिटलमा जान सहयोग गर्याे । कोरोनाले नेपालको बीमा क्षेत्रमा पुर्याएको फाइदा भनेको अनलाईन पोलिसी बिक्री गर्न दिएको स्वीकृति हो । निर्जीवन बीमा कम्पनीहरूले २० लाख पोलिसी बिक्री गर्छन् । तर, हिमालयल एभरेष्टले अनलाइनबाट थप २० लाख डिजिटल पोलिसी बिक्री गरेको छ । त्यो इनोभेसन भएरै डिजिटल पोलिसी बिक्री भएका छन् । दाबी भुक्तानी भयो भने अफिस आउनु पर्दैन । बैंक खातामार्फत ग्राहकको खातमा पैसा जम्मा गर्छाैं । त्यस्तै, मोबाइल वालेटबाटै प्रिमियम तिर्न सकिन्छ । लघुबीमा कम्पनी सञ्चालनमा आएपछि बीमा क्षेत्रमा प्रभाव छाड्ने गरी कुनै काम भएको देखिन्छ ? लघुबीमाहरूलाई लाइसेन्स दिँदा दूरदराजसम्म दरिलो उपस्थिति हुनुपर्छ भन्ने अपेक्षा थियो । र, बीमाको पहुँचभित्र नपरेका व्यक्तिको बीमा गराउनु पर्छ । अहिले लघुबीमा कम्पनीहरू आफ्नो पूर्वाधार तयार गर्ने क्रममा छन् । यदि आगामी दिनमा ठूला बीमा कम्पनीले सेवा दिन नसकेको क्षेत्रमा लघुबीमा गएर व्यवसाय गर्याे भने बीमा उद्योगलाई मद्दत गर्छ । किनभने आजको लघुबीमा ग्राहक भोलिका दिनमा ठूला बीमा कम्पनीमा रूपान्तरण हुन्छन् । आजको दिनमा बीमा गरिरहेको व्यक्ति भोलिको दिनमा बीमाबिनाको कल्पना गर्न सक्दैन । कहीँ न कहीँ लघुबीमाले ठूला बीमा कम्पनीलाई फिडर इन्स्योरेन्सको रूपमा काम गर्नुपर्ने हो । नयाँपन ल्याउन नसकेपनि पहुँच नपुगेका ठाउँमा गएर सेवा दिन सक्नुपर्छ । तर आजको दिनसम्म लघुबीमाले इनोभेसन गरेको देखिएको छैन । नेपालमा दुईटा पुनर्बीमा कम्पनी भएपछि निर्जीवन बीमा कम्पनीहरूलाई कस्तो प्रभाव परेको छ । त्यसको फाइदा पाएकी पाएनन् ? आफ्नै देशभित्र भएका दुईटा पुनर्बीमा कम्पनीमा पुनर्बीमा गर्दा जति सहजता हुनुपर्ने हो, त्यो सहजतामा कमी छ । पुनर्बीमाको एउटा हिस्सा दुईटै कम्पनीलाई दिनुपर्छ । बाँकी रहेको हिस्सा विदेशी पुनर्बीमालाई दिँदा नेपाली बीमा उद्योगको आकार ठूलो नभएकाले उत्साहित भएका छैनन् । नेपालको भूगोलको बनावटका कारण जलविद्युत आयोजना, सडक, हवाई जहाजहरू अति जोखिमको क्याटागोरीमा पर्छन् । त्यो अवस्थामा उनीहरूलाई बीमाको आकार सानो लागेर खासै उत्साहित छैनन् । पुनर्बीमा गर्दा क्रेडिट रेटिङ भएको कम्पनी हुनुपर्ने नियामकीय प्रावधान छ । रेटिङ भएका कम्पनीका लागि बजार सानो र रेटिङ नभएका कम्पनीले व्यवसाय गर्न नपाउने भएकाले आजको दिनमा बीमा कम्पनीलाई राम्रो पुनर्बीमा कम्पनीको खाँचो छ । बीमा कम्पनीको जोखिम धेरै एक्सपोजर छन् । विशेषगरी जलविद्युत र निर्माणसँग सम्बन्धित व्यवसायमा एक्सपोजर ठूलो छ । यो जोखिम यहाँ सञ्चालित पुनर्बीमा कम्पनीले लगिदिए सजिलो हुन्थ्यो । उहाँहरूले नाइ भनेपछि विदेशी बजारमा त्यो जोखिम बेच्न जाँदा तिम्रो देशमा भएका पुनर्बीमा कम्पनीले अस्वीकार गरेको जोखिमलाई मैले कसरी लिन सक्छु भनेर प्रतिप्रश्न गर्छन् । त्यसैले निर्जीवन बीमा कम्पनीहरूलाई जोखिम हस्तान्तरण गर्न असाध्यै गाह्रो भएको छ । निष्कर्षमा पुनर्बीमा कम्पनी आएर बीमा कम्पनीलाई एक किसिमको दबाव, तनाव भएको जस्तो देखियो नी ? हो । आजको दिनमा जसरी पुनर्बीमाको व्यवसाय भइरहेको छ । जसरी जोखिम बाँडफाँट गरिरहेका छौं त्यसलाई पुनरावलोकन गर्न जरूरी छ । के हुन सक्छ यसको विकल्प ? पुनर्बीमा कम्पनीलाई क्षमता बढाउन र व्यावसायिक बनाउनु पर्छ भनेरै पुँजी वृद्धिको निर्देशन दिइएको छ । पुनर्बीमा कम्पनीले ट्रिटीमा भाग लिइसकेपछि थप जोखिमहरूलाई पनि लिनुपर्ने व्यवस्था गर्नुपर्छ । जुन अहिलेको व्यवस्थाको विपरित हुन आउँछ । अहिले उहाँहरूले अस्वीकार गर्नु भयो भने मात्र विदेशमा जान्छौं । देशकै पुनर्बीमा कम्पनीले नाइ भनेपछि बाहिरकोले लिने कुरै भएन । त्यसलाई उल्टो गरेर उहाँहरूलाई हामीले अनिवार्य दिनुपर्ने हिस्सा दिइसकेपछि बाँकी रहेको हिस्सा आन्तरिक र बाह्य दिन सक्छौं । यदि बाह्य कम्पनीले किनेन भने नेपाली कम्पनीले लिनु पर्याे । पछिल्लो समय नेपाल पुनर्बीमाको संस्थापक सेयर धमाधम बिक्रीमा छन् । निजी ग्रुपले पनि बिक्रीमा राखेका छन् । किन यसरी बिक्रीमा राखिएका हुन् ? ठूलो कारण केही पनि छैन । लगानीको निर्णय हो । लगानीले उचित प्रतिफल दिनुपर्छ । उचित प्रतिफल कति भन्ने विषय कम्पनी अनुसार फरक हुन सक्छ । हिमालयन एभरेष्ट मर्ज भइसकेपछि ४० लाख कित्ता भयो । एउटै कम्पनीमा त्यति धेरै सेयर राख्नभन्दा केही लगानी राखेर बाँकी लगानी विविधिकरण गर्दा फाइदा हुन्छ की भनेर बिक्रीमा राखेका हौं । २० लाख कित्ता बेचेर आउने ५० करोड रुपैयाँ अन्य क्षेत्रमा लगानी गर्छाैं । त्यसपछि कम्पनीको नाफा बढ्छ र जोखिम घट्छ । भोलिका दिनमा नेपाल पुनर्बीमाले लाभांश दिएन भने अन्य कम्पनीले दिन सक्छ नि । हिमालयन एभरेष्टले अन्य कम्पनीभन्दा धेरै लाभांश दियो । यसका आधार के-के हुन् ? कसरी धेरै लाभांश दिन सफल हुनु भयो ? कम्पनीले राम्रो नाफा कमायो । नोक्सानमा रहेका पोर्टफोलियो बन्द गर्यो । खर्च कम गर्यो । जसकारण कम्पनीको नाफामा बढोत्तरी भएपछि धेरै लाभांश दियौं । अन्य कम्पनीको तुलनामा हिमालयन एभरेष्टले सम्पत्ति र दायित्वलाई उचित व्यवस्थापन गर्दै आएको हुँदा एनएफआरएस लागू भएपछि वितरणयोग्य नाफा बाँड्न पायो । विदेशमा बैंकभन्दा बढी लाभांश दिन सक्ने क्षेत्ररुपमा बीमालाई चिनिन्छ । के अब नेपालमा पनि बीमा क्षेत्र बढी प्रतिफल दिने क्षेत्रका रूपमा उदाउन लागेको हो ? कुनै पनि क्षेत्रमा लगानीकर्ताको आकर्षण त्यो बेलासम्म रहन्छ, जुन बेलासम्म उसले निरन्तर लाभांश दिन सक्छ । त्यसैले बैंक, बीमा, म्यानुफ्याक्चरिङ लगायत अन्य सबै क्षेत्रले राम्रो गर्नुपर्ने हुन्छ । सीईओको लाइफ लाइन नै त्यही हो । सीईओले आफ्नो कार्यकालमा कम्पनीलाई उचाइमा पुर्याउन प्रयास गरिरहन्छ । र, त्यसपछि पनि त्यो उचाइबाट कम्पनी तल नझरोस् भन्ने चाहना राख्छ । देशको अर्थतन्त्रको एउटा सूचक रुपमा हेरिने बीमा क्षेत्रले बैंकिङको तुलनामा धेरै राम्रो गर्न सक्ने आधार छन् । तर, सामाजिक उद्योग भएकाले कमाएको नाफाबाट कर तिरिसकेपछि बाँकी रहेको नाफाबाट ५० प्रतिशत बीमा कोषमा र १० प्रतिशत महाविपत्ति कोषमा जम्मा गर्नु पर्छ । बाँकी रहेको ४० प्रतिशतबाट सेयरधनीहरूलाई लाभांश बाँड्ने हो । यदि बीमा कोषमा पैसा जम्मा गर्न नपर्ने वा त्योभन्दा कम जम्मा गर्नु पर्ने प्रावधान भयो भने पक्कै पनि बीमा क्षेत्रले बैंककोभन्दा राम्रो लाभांश दिन सक्छन् । बैंक र बीमा रेगुलेटेड कम्पनी हुन् । त्यसकारण नियामकको व्यवस्था विपरित बीमा कम्पनी जान सक्दैनन् । कम्पनीको लाभांश एउटा पार्ट हो । तर, कम्पनीको नेटवर्थ कति छ भन्ने दोस्रो पार्ट हो । त्यसकारण नेटवर्थका हिसाबले पनि रेगुलेटरी रिजर्भमा गएको पैसा पनि कम्पनीको वित्तीय स्वस्थतामा सुधार गर्ने भएकाले बीमा कम्पनीहरू बलिया छन् । त्यसकारण प्रतिफलको हिसाबले बीमा कम्पनीहरू प्रतिस्पर्धा गर्न सक्ने अवस्थामा छन् । बीमा उद्योगमा छुट्टै पहिचान र प्रभाव छाड्न हिमालयन एभरेष्टले के गरिरहेको छ ? आगामी योजनाहरू के-के छन् ? हिमालयन एभरेष्टमा बीमा गर्दा ग्राहकलाई सहजता र अपनत्वको अनुभूति हुनेगरी सेवा दिइरहेका छौं । ह्यासल फ्री सेवा पाउन् भन्ने हिसाबले सबैभन्दा पहिला हामीले पूर्वाधारमा लगानी गर्न लागेका छौं । केही प्रदेशमा जग्गा र भवन खरिद गरेर सेवा दिएर ग्राहकमा विश्वास जगाउन लागेका छौं । यस्तै, हामीले प्रविधिमा जोड दिएका छौं । ग्राहकहरूले के खोजिरहनु भएको छ भन्ने विषयलाई श्रृजना गर्दैछौं । भोलि ग्राहकले के खोज्नु हुन्छ भनेर आज मैले थाहा पाएर काम गरिरहेको छु । पछि मात्रै थाहा पाए भने त्यो अपेक्षा ग्याप हुन्छ । त्यसैले हामीले अनुसन्धानमा पनि लगानी बढाउँदैछौं । केही काम सुरु भइसकेका छन् भने केही प्रक्रियामा छन् ।