रविन्द्र चौलागाईंलाई दिएको २ अर्ब ऋणले एक दर्जन बैंकरको हातमा हतकडी
काठमाडौं । मंगलबार प्रभु बैंकका वरिष्ठ नायव प्रमुख कार्यकारी अधिृकत (डीसीईओ) मनोज न्यौपाने पक्राउ परे । उनीसँगै तत्कालीन सेञ्चुरी बैंकका सीईओ तुलसीराम गौतमसहित १० जना बैंकरलाई नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको हो । तत्कालीन सेञ्चुरी बैंकले कमजोर धितोमा ऋणीलाई ऋण प्रवाह गरेको र सो ऋण अहिले असुल हुन नसकेपछि उनीहरू अनुसन्धानमा तानिएका हुन् ।अनुसन्धानका लागि न्यौपाने, गौतमसहित १० जनालाई पक्राउ गरिएको सीआईबीका नायव उपरीक्षक शुधिरराज शाहीले बताए । उनका अनुसार थप दुई जना बैंकरको पनि प्रहरीले खोजिरहेको छ । उनीहरूलाई पक्राउ गरिसकेपछि सबै विवरण सार्वजनिक गरिने उनले बताए । सेञ्चुरी बैंक प्रभु बैंकसँग मर्ज भएपछि अहिले प्रभु बैंकको नामबाट कारोबार भइरहेको छ । प्रभु बैंकले सेञ्चुरी बैंकको उक्त कर्जा असुल गर्नका लागि पटक-पटक ताकेता र धितो समेत लिलाम गर्नका लागि सूचना जारी गरे पनि धितोको मूल्यांकन कर्जाभन्दा कम भएपछि सो धितो बिक्री हुन सकेको छैन । सोही विषयमा न्यौपाने र गौतमसहितका बैंकरहरू पक्राउ परेको बैंक उच्च स्रोतको भनाइ छ । विषय के हो ? तत्कालीन सेञ्चुरी बैंकले देउराली बहुउद्देश्यीय सहकारीका अध्यक्ष रविन्द्र चौलागाईंलाई सवा २ अर्ब रुपैयाँ ऋण लगानी गरेको थियो । बैंकले चौलागाईं र उनका परिवारको लगानीका चारवटा कम्पनीलाई २ अर्ब ४० करोड रुपैयाँ ऋण लगानी गरेको थियो । चौलागाईंले बैंकबाट पूजा मार्केटिङ प्रालि, पूजा ट्रेडिङ एन्ड मार्केटिङ कम्पनी प्रालि, श्री श्री ब्रदर्स मार्केटिङ प्रालि, अन्नपूर्ण डिस्टिलरी प्रालि र परिवारका सदस्यहरूको नाममा सो ऋण लिएका थिए । तर, उनले कर्जा लिएको लामो समय बितिसक्दा पनि ऋण तिरेनन् । समयमा नै कर्जा भुक्तानी नगरेपछि अहिले प्रभु बैंकले चौलागाईको नाममा रहेको ललितपुर जिल्ला साविकको सैबु गाबिस-४मा रहेको कित्ता नम्बर १३०९ को ४ आना, कित्ता नम्बर १३१४ को ४ आना र कित्ता नम्बर १३१६ को ४ आना जग्गा र जग्गामा रहेको घर लिलामी गन सूचना जारी गरेको थियो । यस्तै, रविन्द्र चौलागाईको नाममा झापा जिल्ला तत्कालीन शिवगञ्ज गाबिस–७ मा रहेको कित्ता नम्बर क्रमशः २२७४ १०१६७ १०१८९, १०१९०, १७८४११५९९९, २१७८४३ को क्षेत्रफल क्रमशः ६ बिघा, १० बिघा, १५ बिघा ११ कठ्ठा, ११ बिघा १७ कठ्ठा, ७ बिघा १६ कठ्ठा ५० धुर, १ बिघा १२५ कठ्ठा र ७ बिघा १४ कठ्ठा जग्गा र उक्त जग्गामा रहेको घर लिलाम गर्ने सूचना पनि सार्वजनिक गरेको थियो । यस्तै, अन्य ठाउँमा रहेका जग्गा तथा सम्पत्ति पनि बैंकले लिलामका लागि राखेको थियो । तर, सो लिलामी लामो समयसम्म पनि बिक्री हुन सकेन । कारण धितोको मूल्यांकन कर्जा रकमभन्दा कम मूल्यको थियो । यो प्रक्रियामा तत्कालीन सेञ्चुरी बैंकका सीईओ गौतम र न्यौपानेसहित अन्य बैंकरको पनि संलग्नता रहेको आशंका गरिएको छ । यस कर्जालाई लिएर एक महिनाअघि नेपाल राष्ट्र बैंकले प्रभु बैंकमा स्थलगतरूपमा विशेष अनुगमन गरेको थियो । राष्ट्र बैंकको सिफारिसमा सीआईबीले बैंकरहरूलाई पक्राउ गरेको हो । प्रभु बैंकले तीन पटक धितो लिलामीको सूचना जारी गर्दा पनि सम्पत्ति बिक्री हुन सकेको थिएन । बैंक स्रोतका अनुसार धितोमा राखिएको घरजग्गा र सम्पत्तिको मूल्य कर्जाको तुलनामा आधा पनि छैन । अहिले चौलागाईं सहकारीका बचतकर्ताको अर्बौं रकम हिनामिना गरेको आरोपमा यसअघि नै पक्राउ परिसकेका छन् । सहकारीमा सर्वसाधारणले बचत गरेको ३ अर्ब रुपैयाँ फिर्ता गर्न नसकेको आरोपमा उनलाई पक्राउ गरेकाे थियाे । चौलागाईंले विभिन्न वाणिज्य बैंकको साढे तीन अर्ब रुपैयाँ ऋण तिर्न बाँकी रहेको बुझिएको छ ।
विदेशी बैंक हाँकिरहेका नेपाली बैंकर
काठमाडौं । कुनै समय नेपालमा बैंक स्थापना गर्नु पर्यो भने विदेशीलाई प्रमुख कार्यकारी अधिकृत (सीईओ) बनाउनु पर्ने बाध्यता थियो । तर, त्यो बाध्यताको अन्त्य भएर नेपाली बैंकर विदेशी बैंकको नेतृत्व गर्ने अवस्थामा पुगेका छन् । विदेशी बैंकको नेतृत्व गर्ने मध्येका एक नेपाली बैंकर हुन् भेषराज खतिवडा । कुनै बेला खतिवडा नेपाली बैंकमै का गर्थे । तर, अहिले उनको परिचय परिवर्तन भएको छ । उनी म्यानमारको सिटिजन्स बैंकको सीईओ भएर काम गरिरहेका छन् । करिब तीन दशक नेपाली बैंकमा काम गरेर अनुभव हाँसिल गरिसकेका उनी अहिले म्यानमारको सिटिजन्स बैंकको कमाण्ड सम्हालिरहेका छन् । उनले सन् १९९३ मा आइकम पढ्दापढ्दै नबिल बैंकमा जागिर सुरु गरे । नबिल बैंकमा करिअर सुरु गरेको पाँच वर्षपछि उनी एनआईसी एसिया बैंकमा पुगे । सन् २०१० मा तत्कालीन तत्कालीन किष्ट बैंकको चिफ अपरेटिङ अफिसर बने । सन् २०१८ मा किष्ट बैंक प्रभु बैंकमा मर्ज भएसँगै उनी साविक सिभिल बैंकमा गए । तर, दुई वर्षपछि सिभिलका सहायक सीईओ बनेका उनी पुनः एनआईसी एशिया बैंक फर्किए । २७ वर्ष नेपाली बैंकिङ क्षेत्रमा काम गरेका उनले त्यसपछि विदेशी बैंकमा काम गर्ने योजना बनाए । सन् २०२१ को अगष्टमा म्यानमारको सिटिजन्स बैंकमा चिफ अप्रेटिङ अफिसर भएर काम गर्न थाले । त्यसको दुई वर्षपछि उनी सोही बैंकको सीईओ बने । म्यानमारमा बैंकको सीईओ बन्न त्यति सहज छैन । म्यानमार सिटिजन्स बैंकमा सरकारी लगानी भएका कारण झनै सीईओको नियुक्तिलाई सरकारले समेत अनुमोदन गर्नु पर्ने हुन्छ । तर, खतिवडा सो बैंकको सीईओ बन्न सफल भए । ‘बैंकको बोर्डले निर्णय गरेर मात्रै हुँदैन, केन्द्रिय बैंकले पनि अनुमोदन गर्नुपर्छ, सरकारको पनि लगानी भएकाले सरकारले पनि स्वीकृति दिनुपर्छ, यी सबै प्रक्रियाका बाबजुद पनि सिटिजन्स बैंकको सीईओ बनेँ,’ खतिवडाले विकासन्युजसँग खुसी साँटे । उदयपुरको भिमाङ र कटारीको बिचमा नेपालटार भ्याली छ । भेषराज खतिवडाको त्यही नेपालटारमै जन्म भयो । एउटा सामान्य कृषकको परिवार । उपत्यका बाहिरै बसेर उनले एमबिएसम्मको अध्ययन गरे । उनी रोजगारीको सिलसिलामा सन् २००८ मा काठमाडौंका छिरेका हुन् । ‘खान लगाउन दुख थिएन । तर, आफैंले काम गर्नुपर्छ भन्ने लाग्थ्यो, परिवारका सबै सदस्यले काम गर्थ्यौ,’ पारिवारिक माहोल सुनाउँदै उनले भने, ‘म यहाँसम्म पुग्नुमा मेरो परिश्रम र परिवारको योगदान छ ।’ ‘त्यो बेलामा अधिकांश विद्यार्थीलाई जागिर खान पाए हुन्थ्यो भन्ने लाग्थ्यो, बैंकर नै बन्छु भन्ने पनि थिएन, जुन क्षेत्रमा पहिलो पटक जागिर गर्याे त्यही क्षेत्रमै स्थापित हुने थियो योजना थियो, मेरो पनि बैंकिङ क्षेत्रमै करिअर बनाउँछु भन्ने पनि थिएन,’ उनले विद्यार्थी जीवन सुनाउँदै भने । उमेरले पाँच दशक पुरा भएका उनले वि.सं २०४५ सालमा एसएलसी (हालको एसईई) पास गरे । सरकारी विद्यालयमा पढेको विद्यार्थीले विदेशी बैंकको नेतृत्व गर्नु आफैंमा ठूलो संघर्ष गर्नुपर्छ । त्यो संघर्ष खतिवडाले पनि गरे । त्यसैले त उनी अहिले विदेशी बैंक हाँकिरहेका छन् । साढे चार हजारदेखि लाखौं तलब नबिल बैंकमा असिस्टेन्ट पदबाट बैंकिङ करियर सुरु गरेका उनको सुरुवाती तलब मासिक ४ हजार ६ सय रुपैयाँ थियो । त्यसपछि उनी अनुभव बटुल्दै गए । बैंकिङ बुझ्दै गए । पदसँगै पैसा पनि बढ्यो । एकपछि अर्को बैंकबाट कामका लागि अफर आउन थाल्यो । नबिल बैंकमा ५ वर्ष काम गरेपछि उनी एनआईसी एशिया बैंकमा गए । ‘नबिलबाट एनआईसी एशिया बैंकमा प्रवेश गर्दा जुनियर असिस्टेन्ट बनेँ, बैंक अनुसारको पद सिर्जना गरिएको हुनाले एनआईसी एशियामा दुई पद बढुवा भएर गएँ, पढाइलाई पनि निरन्तरता दिएँ,’ उनले सुनाए । उनले काम र पढाइसँगै अगाडि बढाए । हेटौंडाको मकवानपुर बहुमुखी क्याम्पसबाट आइकम र बिरगन्जको हरि बोधन क्याम्पसबाट बिकम पास गरे । एमबिए विराटनगरको डिग्री क्याम्पसबाट पुरा गरे । काम र पढाइलाई एकैपटक अगाडि बढाउँदा चुनौती थपिने धारणा राख्छन् उनी । ‘सबैलाई २४ घण्टाको समय हुन्छ । तर, समय कसरी व्यवस्थापन गर्ने आफूमा निर्भर हुन्छ,’ उनी भन्छन् । २०५६ सालमा एमबिए पढ्दै गर्दा उनको क्लासमेटसँगै प्रेम बस्यो । त्यसपछि उनले विवाह गरे । चार हजार रुपैयाँबाट बैंकिङ करिअर सुरु गरेका भेषराज अहिले विदेशी बैंकको नेतृत्व गरेर लाखौं तलब खान्छन् । उनी यसलाई परिश्रमको फलका रूपमा बुझ्छन् । तर, म्यानमारमा सीईओको तलब भने सार्वजनिक हुँदैन । ‘नेपालमा पारदर्शी छ, कुन सीईओले कति तलब लिएका छन् भनेर वार्षिक प्रतिवेदनमा उल्लेख हुन्छ, तर, म्यानमारमा कुन बैंकका सीईओको तलब कति हुन्छ भनेर जानकारी हुँदैन,’ उनी भन्छन्, ‘नेपालका सीईओ र म्यानमारका सीईओहरूको तलब उस्ताउस्तै हुन्छ होला ।’ विदेशी बैंकमा काम गर्ने अवसर नेपाली बैंकिङ क्षेत्रमा करिब तीन दशक काम गरेपछि उनले विदेशी बैंकमा काम गर्ने योजना बनाइरहेका थिए । जतिबेला उनी एनआइसी एसिया बैंकमा कार्यरत थिए । हाल कृषि विकास बैंकका सीईओ गोविन्द गुरूङ त्यतिबेला म्यानमार सिटिजन्स बैंकका सीईओ थिए । गुरूङसँग कुराकानी भएपछि उनी म्यानमार पुगेका हुन् । गुरूङसँग सिभिल बैंकमा काम गर्दा उनको राम्रै सम्बन्ध थियो । त्यसकारण पनि उनले विदेशी बैंकमा काम गर्ने अवसर पाएको सुनाउँछन् । ‘आवश्यकता तथा योग्यताका हिसाबले म्यानमारमा सीईओ हुनु र नेपालमा सीईओ हुनु एउटै हो, जस्तो भारत, अमेरिकाका बैंकमा सीईओ हुनका लागि अझै बढी अनुभव खोज्छ । तर, म्यानमार र नेपालमा हुनु उस्ता उस्तै हो,’ उनले भने । उनी आफ्नो पदभन्दा पनि परिश्रमलाई सर्वोपरि ठान्छन् । ‘म सीईओ बन्छु भनेर बैंकमा प्रवेश गरेको होइन, आफूले बेस्ट दिने हो, बेष्ट दिने क्रममा सीईओको जिम्मेवारी पाएको हुँ,’ उनले भने । उनले बैंकमा जागरि सुरु गरेपछि धेरै देश घुमिसकेका छन् । चीन, सिंगापुर, मलेसिया, बैंकक, दुवई, भारत लगायतका देश घुम्ने अवसर उनले पाएका छन् । नेपाली बैंकको पनि नेतृत्व गर्ने चाहना बैंकर खतिवडालाई फेरि देशमै फर्किएर नेपाली बैंकको नेतृत्व गर्ने चाहना पनि छ । ‘अहिले म्यानमारमै काम गरिरहेको छु, त्यताको अवधि सकिएपछि स्वदेशमै फर्किन्छु, त्यतिबेला कुनै नेपाली बैंकबाट अवसर आयो भने काम गर्न तयार हुन्छु,’ उनले आफ्नो योजना सुनाए । उनको सिटिजन्स बैंकको सीईओको रूपमा अवधि सकिएपछि एक वर्षको कुलिङ पिरियड लाग्छ । उनी भन्छन्, ‘सायद त्यसपछि म स्वदेशमै फर्किन्छु ।’
यस कारण नेपाली बैंक डुब्दैनन्- गभर्नर अधिकारीको विचार
पछिल्लो समय अर्थतन्त्रमा एक किसिमको सिथिलता सिर्जना भएको छ । कोरोना महामारी र अन्तर्राष्ट्रियस्तरमा सप्लाइमा ठूलो परिवर्तन आएको छ । यही बेला धेरै किसिमका असरहरू भोग्नु परेको छ । सन् २०२२ मा विश्वमा मूल्यवृद्धि धेरै भयो । तर, उत्पादन ग्रोथ धेरै तल रह्यो । सन् २०२३ मा भने केही सुधार भयो । सन् २०२४ मा थप सुधार हुन सुक्ने अनुमान विभिन्न निकायहरूले गरेका छन् । अहिले उत्पादन बढ्दै र मूल्यवृद्धि घट्दै जाने भइरहेको छ । केही सीमित देशहरू जस्तै, अर्जेन्टिना र टर्कीमा धेरै सुधार भइसकेको अवस्था छ । नेपालको आर्थिक स्थिति सबल देखिन्छ । तर, जनभावना बेग्लै किसिमको छ । हामीसँग १४ महिनाको आयातलाई कभर गर्न सक्ने विदेशी मुद्राको सञ्चिति छ । यो देशको अर्थतन्त्रका लागि बलियो आधार हो । राज्यले चाहेको बेलामा जहाँसुकै खर्च गर्न सक्ने अवस्था सिर्जना भएको छ । बैंक तथा वित्तीय संस्थाहरूलाई लगानी गर्ने ठाउँ खुला गरिदिएको छ । यो धेरै ठूलो स्ट्रेन्थ हो । यसलाई हामीले उपयोग गर्नका लागि रोकिरहेका छैनौं । आर्थिक सिथिलता भयो । अर्थतन्त्र चलायमान भएन भनेर समुदायमा धेरै ऋणीहरूको गुनासो छ । ऋण र वस्तुको माग पनि घटेको अवस्था छ । उद्योगहरू पूर्ण क्षमतामा चलिरहेका छैनन् । यसको असर अन्य क्षेत्रमा परिरहेको छ । मैले पहिले नै ओभर फाइनान्सिङ भयो भनेर भनेको थिएँ । तर, धेरैले प्रश्न गरे । अहिले धेरैलाई त्यो कुरा महसुस भएको छ । अब यसमा कसलाई दोष दिने ? बैंकलाई दिने कि ऋणीलाई ? अब आफैले लिनु पर्ला । कर्जा दिने बैंकका सीईओहरूले हो । यहाँ बैंकरको पनि दोष देखियो । हाम्रा ऋणीहरूले पनि आफ्नो घाँटी अनुसारको काम गरिदिएको भए, बैंकहरूले पनि उहाँहरुको क्षमता यति हो, यो भन्दा माथि जानु हुँदैन भनेर सोचिदिएको भए अहिले उहाँहरूलाई समस्या पर्ने थिएन । त्यसैले उहाँहरू (ऋणी वा ग्राहक)लाई समस्या पर्नुमा हामी पनि दोषी छौं । अहिले केही ठूला उद्योगहरूमा समस्या परेको हुन सक्छ । उसको क्षमता घट्दै गएपछि हिजोको तुलनामा आज फरक पर्न सक्छ । उसको टर्म लोन, फिक्स्ड एसेटहरूमा लगाइएको फिक्स नै थियो । तर, वर्किङ क्यापिटल तलमाथि नै हुने भयो । उसै पनि अहिले कर्जाको माग घटिरहेको कारण पनि त्यही नै हो । एउटा उद्योग ४० प्रतिशत क्षमतामा चल्छ भने उसको वर्किङ क्यािपटल रिक्वायरमेन्ट ६० प्रतिशतले घट्छ । उसले त्यो ६० प्रतिशत पाउन मात्रै ऋण खोज्छ । किन ब्याज र ऋण बोकेर मात्रै बस्छ ? पछिल्लो समय ऋणको माग आएन भनिरहेका छौं । ठूला ऋणीहरूले ऋण माग गर्न सक्ने स्थिती सिर्जना भइसकेको छैन । अब बढाउन हामीले अन्य विषय पनि छुन पर्छ की जस्तो लाग्छ । सहकारी क्षेत्रको समस्या पनि त्यस्तै छ । हाम्रो अर्थतन्त्र सहकारी र अनौपचारिक अर्थतन्त्रले निकै असर पारेको छ । अधिकांश सटरहरू सहकारीबाट फाइनान्समा आउँछौं । अधिकांश साना पसलले दैनिक ४/५ वटा सहकारीमा रकम जम्मा गरेका हुन्छन् । उहाँहरू सानो कर्जा त्यही सहकारीबाट लिनु हुन्छ र सानो बचत पनि त्यही सहकारीबाट लिनु हुन्छ । बैंकको पहुँच त्यो ग्रास रूटमा धेरै कम पुगेको छ । सहकारीमा समस्या आइसकेपछि बैंकतिरको रिपेमेन्टमा पनि समस्या आएको हामीले देखेका छौं । मैले आफ्नो तर्फबाट समाधान उपाय, आफ्ना प्रस्तावहरू सम्बन्धित ठाउँमा राखिसकेको छु । सहकारीभित्र बचतकर्ताको कम्पोजिसन कस्तो छ, बचतकर्ताहरू कस्ता किसिमका छन्, साना कति, ठूला कति छन् ? सानालाई रकम सेटल गर्न कति रकम लाग्ला ? अरु बचतकर्ता आफैं चुप लागेर बस्ने स्थिति देखिन्छ । सुधारका केही प्रतिवेदन बनेका छन् । सहकारी संस्थाको नियमनका लागि सेकेण्ड टायर इन्स्टिच्युट आवश्यक छ । जुन विषय सरकारको बजेटमा पनि उल्लेख छ । सहकारी संस्था नियमनका लागि नियामक निकाय बनाउने । त्यो संस्था स्थापना गरेपछि मात्रै सहकारीलाई थप व्यवस्थित गर्न सकिन्छ । त्यो व्यवस्थित भइसकेपछि अर्थतन्त्रमा अहिलेको समस्या टर्दै जान्छ । निजी क्षेत्रबाट पनि निर्माण कम छ । निर्माण क्षेत्र सुस्त छ । सरकारको तर्फबाट हुने निर्माणका ठूला आयोजना पनि प्रभावकारीरूपमा अगाडि बढ्न सकेका छैनन् । निर्माण क्षेत्रलाई ‘पूस’ गर्नु पर्नेछ । यसको लिंक सिमेन्ट तथा स्टिल उद्योगमा पनि छ । ती उद्योग गतिशिल हुन सक्यो भने आर्थिक गतिविधिहरू बढ्छन् भन्ने राष्ट्र बैंकको बुझाइ छ । वास्कविकता र फिलिङमा फरक छ । सहकारी क्षेत्रमा पनि समस्या पर्दा अर्थतन्त्रमा केही असर परेको छ । यो वर्ष नर्मल भए पनि खराब कर्जा बढेको छ । यो बढेको भन्दा पनि यो वर्ष रियालिस्टिक पिक्चर बाहिर आइरहेको वर्ष हो । रिफर्म गर्दा केही समय पेनफुल हुन्छ नै । अहिले खुद खराब कर्जा १.१३ हाराहारीमा छ । बैंकिङ प्रणालीले ठूलो मात्रामा प्रोभिजनिङ गरेको छ । अहिले लाभांश कम भएपनि संस्था बलियो हुनुपर्छ भन्ने मान्यता हाम्रो हो । त्यसैले आत्तिहाल्नु पर्ने अवस्था छैन । त्यसैले पनि हामीलाई स्ट्रेस छैन । अहिलेको समस्या भनेको समुदायको मनोविज्ञान हो । बैंकिङलाई बुझ्ने सोसाइटी हाम्रो छैन । अधिकांशले बैंकर सामन्ती, साहु र मिटरब्याजी बने भन्ने अभिव्यक्ति दिइरहेका छन् । वित्तीय अराजकता बढिरहेको छ । मैले नम्बर हेर्दा कुनै पनि समस्या देख्दिनँ । म गभर्नरमा नियुक्त हुँदा ३२ खर्बको पोर्टफोलियो थियो, नाफा ७० अर्बको हाराहारीमा थियो । आज त्यो पोर्टफोलियो बढेर ५० खर्ब बढी पुगेको छ । अनि बैंकहरू कसरी नाफाखोर भए ? कसरी नाफा बढ्यो ? पहिले बैंकहरूले चार प्रतिशतसम्म शुल्क लिन्थे । अहिले हामीले ०.७५ प्रतिशतभन्दा बढी लिन नपाइने भनेर तोकिदिएका छौं । बैंकहरूको आम्दानी घटेको छ । यो विषय कसैले भन्दिदैनन् । बैंकलाई चौतर्फीरूपमा पेलेर उपलब्धि हाँसिल गरेजस्तो व्यवहार धेरैले गर्छन् । बैंक बिग्रनु भनेको समुदाय बिग्रिनु हो । एउटा बैंक बिग्रियो भने अन्य संस्था पनि बिग्रन्छन् । सानो झिल्कोले पनि संसारमै समस्या आएको उदाहरण देखेका छौं । केही समस्याले बैंक डुब्न सक्छ । तर, नेपाली बैंकहरूमा त्यो अवस्था छैन । बैंक डुब्नुमा धेरै कारणहरू हुन्छन् । त्यहाँको मेगानिज्म के छ ? बीमाको अवस्था के कस्तो छ ? इन्टरभेन्सन के कस्तो छ ? यस्ता विविध विषयहरू हेर्नु पर्ने हुन्छ । तर, हाम्रोमा त्यस्तो अवस्था छैन । नेपाली बैंक डुब्ने अवस्था छैन । बैंकिङ प्रणालीलाई मजबुद बनाउने प्रयास हामीले गरिरहेका छौं । एउटा संस्था समस्यामा पर्दा अर्को संस्था खुसी हुने प्रवृति पनि नेपालमा छ । तर, अरुलाई खाने बाघले आफूलाई पनि खान्छ भन्ने कुरा भुल्नु हुँदैन । संस्था बिग्रियो भने अर्थतन्त्रलाई असर गर्छ । अर्थतन्त्रलाई असर गर्यो भने हामी सबैको चुलोलाई असर गर्छ । त्यसैले सबैले ख्याल गरेर अगाडि बढ्नुपर्छ । राष्ट्र बैंकले अम्ब्रेला पोलिसी ल्याइरहेको छ । वित्तीय क्षेत्र संवेदनशील छ । केही समय राष्ट्र बैंकले गरेको नीतिगत व्यवस्थामा पनि निकै प्रहार भयो । कर्जा निक्षेप अनुपात (सिडी रेसियो) लाई धेरैले फरक ढंगबाट बुझे । धेरै कर्जा प्रवाह भइरहेको बेला आएको नीतिलाई धेरैले विरोध गरे । अहिले धेरै बैंकलाई त्यो सीडीले काम गर्यो । अहिले एनआईसी एसिया बैंकलाई पनि त्यो सीडी रेसियोले काम गर्यो । एनआईसी एसियाको गलत हल्ला बाहिर आएपछि २७ अर्ब रपैयाँ विथड्र भएको छ । सीडी रेसियो ९५ गरेको भए अहिले हामी अर्कै किसिमको व्यवस्थापनमा लाग्नु पथ्र्यो । राष्ट्र बैंकका नीतिहरू पछाडि मात्रै थाहा हुन्छ । यसको प्रभाव पछि मात्रै थाहा हुन्छ । त्यो कति महत्वपूर्ण रहेछ भन्ने आज मात्रै थाहा भएको छ । हाम्रो वित्तीय प्रणाली धेरै हदसम्म राम्रा छन् । हामी कुनै पनि बैंक वित्तीय संस्थालाई ढल्न दिँदैनौं । यसमा राष्ट्र बैंक प्रतिवद्ध छ । सबै बैंकहरूको पुँजी धेरै तल गयो भने फेल हुन सक्छन् । तर, त्यसको असर प्रणालीमा कस्तो पर्छ भन्ने विषय बुझ्न सक्नुपर्छ । अमेरिकामा एउटा बैंक डुबेपछि अन्य बैंकमा पनि समस्या बढ्दै गयो । यो पनि हाम्रो लागि महत्वपूर्ण पाठ हो । नेपाली बैंक डुब्ने स्थितिमा छैनन् । डुबिहाले पनि त्यो संस्था र निक्षेपकर्तालाई प्रोटेक्ट गर्ने मेकानिज्म हामीसँग छ । बचतकर्ताको बचत पनि कुनै हालतमा डुब्ने अवस्था छैन । (सोमबार नेपाल बैंकर्स संघले आयोजना गरेको कार्यक्रममा गभर्नर अधिकारीले राखेको विचार)