१२ वर्षदेखि आईएसटी कलेज हाँकिरहेकी सम्झना

काठमाडौं । सपना अधिकांशले देख्छन् । कतिपयले आफ्नो सपनालाई साकार गरेरै छोड्छन् त कतिले बिचमै बाटो मोड्छन् । कतिपयले नसोचेकै क्षेत्रमा हात हालेर त्यही क्षेत्रमा सफल बनेर उदाहरणीय पात्र बन्छन् । काठमाडौंको ज्ञानेश्वरमा रहेको इन्टरनेश्नल स्कुल अफ टुरिजम एण्ड होटेल म्यानेजमेन्ट (आईएसटी) कलेजकी प्राचार्य सम्झना बस्न्यातलाई पनि म शिक्षा क्षेत्रमा लागेर काम गर्छु भन्ने सोचेकी थिइनन् । तर, उनको प्रवेश यही क्षेत्रमा भयो । अहिले उनी शिक्षा क्षेत्रमा नै जमेकी छन् । बरु उनलाई कर्पोरेट क्षेत्रमा काम गर्न रुची थियो । तर, बाटो अन्तै मोडियो । उनी शिक्षण पेसामा आवद्ध भइन् । उनी विगत १२ वर्षदेखि सोही कलेजको नेतृत्व गरिरहेकी छन् । ‘शिक्षक भएर शिक्षण पेसामा रम्छु भन्ने सोचेकी थिइनँ । तर, जब यो पेसामा आएँ, अन्त सोच्नै परेन,’ उनले भनिन् । उनले थपिन्, ‘काम गर्दै जाँदा रमाइलो लाग्ने रहेछ,’ आफूमा भएको ज्ञान र शिक्षा बालबालिकालाई बाँड्न पाउनु नै ठूलो कुरा हो, अहिले मलाई शिक्षण पेशा नै रमाइलो लागिरहेको छ, यो क्षेत्रमा २० वर्ष बित्तेको पत्तै भएन ।’ उनले पढाउन पनि यही कलेजबाट सुरु गरेकी हुन् । सम्झना शिक्षण पेसालाई डायनामिक जब रहेको अनुभव सुनाउँछिन् । ‘यो कसैको भविश्य बनाउँछु अथवा उसको जीवनमा म परिवर्तन ल्याउछु भनेर गरिने पेसा हो, शिक्षणको प्यासन नभएको मान्छेलाई यो क्षेत्रमा गाह्रो पनि छ,’ उनले भनिन् । सिंगापुरमा पढाइदेखि प्राचार्यसम्म सम्झना काठमाडौंकी रैथाने हुन् । उनी काठमाडौँको कुपण्डोलमा जन्मिइन् । अहिले काठमाडौंको विसालनगरमा बस्छिन् । उनले प्लसटुसम्म ज्ञानोदय बालबाटिकामा पढिन् । त्यसपछि पद्मकन्या क्याम्पसबाट स्नातक गरिन् । र, सिंगापुरमा गएर होटेल म्यानेजमेन्ट पढिन् । त्यहाँबाट फर्केपछि उनले काठमाडौं विश्वविद्यालयबाट मास्टर्स इन बिज्नेस एडमिस्ट्रेसन (एमबीए) गरिन् । उनका श्रीमान पूर्वबैंकर हुन् । उनी अहिले साथीहरूसँग मिलेर ट्रेनिङ इन्स्टिच्युट खोलेर आफ्नै व्यवसायमा छन् । उनका २१ वर्षका छोरा छन् । एउटा शिक्षक भएर पढाउँदा र व्यवस्थापकिय जिम्मेवारीमा रहेर काम गर्दा फरक अनुभव हुन्छ । ‘शिक्षक हुँदा कक्षामा आज के पढाउने भनेर तयारी गर्दा पुग्छ । तर, म्यानेजमेन्टमा बसिसकेपछि त्यतिले पुग्दैन,’ उनी भन्छिन्, ‘पढाउनु पनि पर्छ म्यानेज पनि गर्नुपछर्, शिक्षक र प्रिन्सिपलको रूपमा रहँदा धेरै फरक हुँदो रहेछ ।’ सम्झनाको काँधमा अहिले प्रशासन, अप्रेशन विभाग र पढाउने तीन वटा जिम्मेवारी छन् । उनी बिहान साढे ८ बजे कलेज पुगिसक्छन् । साँझ ५ बजे घर फर्किन्छिन् । ‘बिहान आउँछु, अफिसको काम गर्छु, पढाउँछु, कहिले मान्छेहरूसँग भेटघाट गर्नुपर्छ, जिन्दगी मिहिनेतका साथ चलिरहेको छ,’ मुस्कुराउँदै सम्झनाले भनिन् । आफूलाई प्रमाणि गर्नु पर्ने चुनौती नेपाली समाज अहिले पनि पितृसतात्मक छ । महिलाको काम र जिम्मेवारीलाई अहिले पनि शंकाको दृष्टिकोणले हेरिन्छ । यसले गर्न सक्छ र भन्ने भाव अझै पनि धेरैमा छ । कुनै पनि महिला नेतृत्वदायी भूमिकामा पुग्दा उसले बारम्बार आफुलाई सक्छु भन्दै प्रमाणित गर्नुपर्ने बाध्यता रहेको सम्झना बताउँछिन् । पुरुषलाई सहजै स्वीकार्ने समाजले महिलालाई विश्वास नै गर्दैन,’ ‘उनी भन्छिन्, ‘हामीले जति राम्रो काम गर्दा पनि बेला बखत म सक्षम छुभनेर प्रमाणित गराउनु पर्छ ।’ ‘नेतृत्वदायी भूमिकामा पुरुषमात्र हुनुपर्छ भन्ने मान्यता अहिले पनि छ,’ उनी थप्छिन,‘ महिलाले त्यो पदमा पुग्न बेला-बेला आफू सक्षम रहेको प्रमाण देखाउनुपर्छ, म यसमा योग्य छु भनेर प्रमाणित गर्नैपर्छ । ’ कतिपय ठाउँमा प्रत्यक्ष नभने पनि पुरुषको हाउभाउले महिलालाई स्वीकार गर्न नसकेको अनुभव सम्झनासँग छ । यस्तो मानसिकताको विरुद्ध बलियो भएर काममार्फत् देखाउनु पर्ने उनी बताउँछिन् । महिला आर्थिकरूपमा पनि सक्षम हुन थालेपछि विभेदका घटना पनि कमी हुँदै गएको उनको भनाइ छ । ‘चुनौती लिन्छु भनेर जिम्मेवारीमा बसेपछि चुनौतीको सामना गर्नैपर्छ,’ उनी भन्छिन्, ‘कुनैपनि काममा सबैजना पूर्ण हुँदैनन् । तर, आफू कमजोर पनि हुनु हुँदैन, मिहिनेत गर्नैपर्छ ।’ सम्झनालाई अहिले पनि धेरैले प्रश्न गर्छन्, ‘महिला भएर पनि यहाँ पुगेको ?’ ‘मलाई कलेजमा आउँदा धेरै अभिभावक वा अरुले पनि अचम्म लागे जस्तो गर्नुहुन्छ,’ उनी थप्छिन्, कलेजको प्रिन्सिपल भन्दा धेरै पुरुष हुन्छ भन्ने भान हुँदो रहेछ, तर जब मलाई देख्नुहुन्छ ओ हो भने जस्तै व्यवहार गर्नुहुन्छ ।’ विदेशको लहरले विद्यार्थी घट्दै आईएसटी कलेज सार्ल्जबर्ग युनिभर्सिटी अफ एप्लाइड साइन्स, अस्ट्रियाको सम्बन्धन प्राप्त हो । यस कलेजमा स्नातकमा होटेल र टुरिज्म म्यानेजमेन्टको पढाइ हुन्छ । यो तीन वर्षे कोर्स हो । यो तहमा ३४ जना शिक्षक अध्यापन गराउँछन् भने करिब चार सय विद्यार्थी अध्ययनरत छन् । अहिले आईएसटी कलेजमा पनि सिट संख्याअनुसार विद्यार्थीको संख्या छैन । भर्ना भएका विद्यार्थीहरू पनि बिचमा पढाइ छोडेर विदेश जाने संख्या बढ्दो छ । पहिले तीन वर्षे स्नातकमा १० जनाको हाराहारीमा ड्रप्टआउट हुन्थे भने अहिले २० पुगेको छ । कलेजमा पढेका दई हजार बढी विद्यार्थी ग्राजुएट बनेका छन । उनीहरूमध्ये कोही पनि खालि बस्नु परेको छैन । ग्राजुएट हुनुभन्दा अगाडि इन्र्टनसिपको दौरानमा नै धेरै विद्यार्थीले काम पाइसक्छन् । ग्राजुएट भएको भोलिपल्ट नै कामको लागि अफर आउँछ । उनका अनुसार स्नातकमा विद्यार्थी पाउन गाह्रो छ । यो एउटा कलेजको समस्या मात्र हैन, देशकै समस्या हो । यसले चुनौती थपेको उनी बताउँछिन् । बुझेर नबुझेर वा देखासिखी गरेर विदेश जाने क्रम बढेको छ । यो कलेज र शिक्षाको मात्र समस्या हैन देशकै समस्या हो । ‘पहिले कक्षा ८/९ मा कक्षमा पढ्ने विद्यार्थीलाई सोध्दा म साइन्स पढ्छु, ह्युम्यानिटिज पढ्छु भन्थे,’ उनी भन्छिन्, ‘तर, आजभोलि सोध्दा म जापान, अस्ट्रेलिया जान्छु भन्नेहरू धेरै छन् ।’ उनका अनसार छोराछोरीलाई विदेश पठाउने विषय अहिले सामाजिक दबाबसँग जोडिएको छ । ऋण काढेर पनि छोराछोरीलाई विदेश पठाउने अभ्यास पछिल्लो समय बढ्दै गएको छ । ‘२० लाखमा जग्गा बेचेर छोराछोरीलाई विदेश पठाउने र पछि त्यही जग्गा ५० लाख हालेर किनेको मैले देखेकी छु, यही अवस्था रहीरहने हो भने भोलि गाह्रो हुन्छ,’ उनी भन्छिन्, ‘विदेश जाँदा १८/१९ वर्षको बच्चाको दिमागमा पढाइ भन्दा बढी ऋणको भारी हुन्छ ।’ व्यवहारिक शिक्षा भएन उनी नेपाली शैक्षिक प्रणाली व्यवहारिक नभएको धारणा राख्छिन् । समुदाय जति शिक्षित भयो त्यति धेरै देशको विकास हुने धारणा उनको छ । तर, नेपालमा शिक्षा प्राथमिकतामा नपरेको उनको भनाइ छ । ‘अहिले विदेश गयो भने त्यो मान्छे सफल हुन्छ भन्ने सामाजिक धारणा भयो । तर, विदेश जानेवित्तिकै सफल भइँदैन,’ उनी भन्छन्, ‘देशको शैक्षिक करिकुलममा पनि दोष छ ।’ विद्यार्थीले आत्मनिर्भरमा जोड दिनु पर्ने धारणा उनको छ । ‘छोरीलाई पढाउनुपर्छ भन्ने थाहा भए पनि करिअर बनाउनुपर्छ भन्ने तर्फ जोड दिँदैनन्, आत्मनिर्भर हुन सकियो भने अरुको अगाडि हात थाप्नु पर्दैन,’ उनले भनिन् । पछिल्लो समय देशको आर्थिक अवस्था नकरात्मक हुँदा कलेजहरूको बिजनेसमा पनि असर परेको छ । विद्यार्थीलाई व्यवहारिक शिक्षामा पनि जोड दिनु पर्ने भएकोले कलेजको बढी खर्च हुने उनको भनाइ छ । उनका अनुसार अब कलेजले अन्य संकाय पनि थप्ने तयारी गरेको छ ।

बीमा बजार ठूलो छ, पुराना कम्पनीको व्यवसाय खोस्नै पर्दैन : सीईओ रिमाल

नेपाल बीमा प्राधिकरणले बीमाको दायरा र पहुँच विस्तार गर्न विभिन्न ७ कम्पनीलाई लघुबीमाको लाइसेन्स प्रदान गरेको छ । लघुबीमा कम्पनीहरूले लाइसेन्स पाएको एक वर्षभन्दा बढी समय भए पनि बीमा व्यवसाय सुरू गरेको केही समयमात्रै भएको छ । यतिबेला कम्पनीहरू देशभरि शाखासञ्जाल विस्तारमा छन् । बीमा कारोबार गरिरहेका लघुबीमा कम्पनीहरूमध्ये नेपाल माइक्रो इन्स्योरेन्सले भने उत्साहजनक व्यवसाय गरिरहेको देखिन्छ । गरिब, विपन्न वर्ग र कम आम्दानी भएका वर्गले बीमा गर्ने भएकाले सचेतनासँगै बीमा व्यवसाय गरिरहेको बीमाकर्मीहरू बताउँछन् । सुरुवाती चरणमा भएकाले लघुबीमा व्यवसाय गर्दा केकस्ता काम गरिरहेका छन् भन्ने विषयमा केन्द्रित रहेर नेपाल माइक्रो इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मृगेन्द्रनाथ रिमालसँग विकासन्युजका सीआर भण्डारीले गरेको कुराकानीको अंशः लघुबीमा कम्पनीहरूले कस्तो पर्फमेन्स गरिरहेका छन् ? सरकारले माइक्रो इन्स्योरेन्स ल्याउने भनेर २०७५ सालमै योजना बनाएको थियो । तर, एक वर्षअघि मात्रै त्यो कार्यान्वयनमा आयो । नेपाल बीमा प्राधिकरणले ४ वटा निर्जीवन बीमा र ३ वटा जीवन बीमा गरी ७ वटा लघुबीमा कम्पनीलाई लाइसेन्स प्रदान गरेको छ । लघुबीमा कम्पनीले व्यवसाय सुरु गरेको ७/८ महिना मात्रै भएको छ । ग्रामीण क्षेत्रमा सीमान्तकृत वर्गको बीमा गराउने उद्देश्यले लघुबीमा कम्पनीलाई लाइसेन्स दिइएको हो । लघुबीमाका ग्राहकहरू सहरभन्दा ग्रामीण क्षेत्रका जनता हुन् । माइक्रो इन्स्योरेन्सका लागि धेरै सम्भावना छन् । ठूला बीमा कम्पनी (१४ वटा निर्जीवन बीमा)ले पनि लघुबीमा गरिरहेका थिए । तर, वृहत रूपमा जान चाहेका कारण लघुबीमा कम्पनीलाई अनुमति दिएको हो । लघुबीमा कम्पनीहरू गाउँगाउँसम्म पुगोस् भन्ने अपेक्षा सरकारको हो । पुराना बीमा कम्पनीहरूले सम्हाल्न वा समेट्न नसकेको क्षेत्रलाई लघुबीमाले समेटोस् भन्ने हो । निर्जीवन बीमा कम्पनीले गर्ने सम्पत्ति बीमा, कृषि बीमा, उद्योग व्यवसाय लगायतलाई लघुबीमा कम्पनीले समेट्छन् । यदि ग्रामीण क्षेत्रमा जान सक्ने हो भने लघुबीमाका लागि प्रशस्त बजार छ । लघुबीमालाई ५० लाख रुपैयाँसम्मको बीमा गर्न अनुमति दिएको छ । त्यसैले ठूल्ठूला बीमा कम्पनीले समेट्न नसकेको क्षेत्र हामीले समेटिरहेका छौं । लघुबीमा कम्नीले सबै व्यवसाय गरिरहेको छ । कृषि प्रडक्ट बाहेक नेपाल बीमा प्राधिकरणबाट अनुमति पाएका सबै प्रडक्ट बजारमा ल्याइसकेका छन् । कृषिको प्रडक्ट आउने तर्खरमा छ । लघुबीमा कम्पनीले सम्पत्ति, घर, फायर (आगलागि), इन्जिनियरिङ, दुर्घटना लगायत सम्पूर्णको बीमा गरिरहेका छन् । साथै, बैंक वित्तीय संस्था, सहकारी, लघुवित्तसँग सहकार्य गरेर व्यवसाय गरिरहेका छौं । कृषि बीमा प्रडक्ट ल्याउन किन ढिलाइ भएको हो ? सरकारले कृषि बीमाको प्रिमियममा ८० प्रतिशत अनुदान दिएको छ । निर्जीवन बीमा कम्पनीहरूले बीमा गर्दै आएका छन् । ८० प्रतिशत अनुदानको आधारमा किसानहरू बीमा गरिहरेका छन् । बीमा कम्पनीहरूले कृषि बीमा गरेवापत २ अर्ब रुपैयाँ भुक्तानी पाएका छैनन् । यो अन्यौलको स्थिती श्रृजना भएकाले लघुबीमा कम्पनीहरू कृषि बीमा गर्नबाट हिचकिचाएका छन् । लघुबीमा कम्पनीलाई लाइसेन्स दिँदा धेरै विरोध भएको थियो । सञ्चालनमा आइसकेपछि लघुबीमा आवश्यक जस्तो लाग्छ कि नभएपनि हुँदो रहेछ भनेर महसुस भएको छ ? सीमान्तकृत वर्गलाई समेट्न ठूला कम्पनीले सकेनन् । ग्राहो समयमा लघुबीमा आएर पहुँच बढाउन ठूलो भूमिका निर्वाह गरिरहेका छन् । सीमान्तकृत वर्गमा बीमा पुर्याउन लघुबीमा कम्पनीले महत्वपूर्ण भूमिका खेलिरहेका छन् । प्रादेशिकस्तरमा लाइसेन्स पाएका भएपनि सबै लघुबीमा कम्पनीले सबै ठाउँमा काम गरिरहेका छन् । कम्पनी सञ्चालनमा आइसकेपछि सीमान्तकृत वर्ग बीमामा समेटिएका छन् । लघुबीमा आइसकेपछि बीमा बजारमा नयाँ के देख्न पायौं ? बीमा बजारमा बीमा सम्बन्धि जागरण अझै पुगेको छैन । सबै बीमा कम्पनीहरूले बीमा जागरण गर्न जरूरी छ । र, उहाँहरूलाई लघुबीमा हाम्रो लागि आएका हुन् । अन्य बीमा भन्दा सस्तो छ । हाम्रो सम्पत्तिको सुरक्षा गर्न बीमा कम्पनी आएका हुन् भनेर सन्देश दिन जरूरी छ । तुलनात्मक रूपमा ठूला बीमा कम्पनीभन्दा लघुबीमाको प्रिमियम कम छ भनेर जानकारी गराउन जरूरी छ । अझै कृषि बीमा प्रडक्ट आयो भने झनै कम प्रिमियम हुन्छ । लघुबीमा कम्पनीले कृषि बीमाको प्रिमियम अझै घटाउने तयारी गरिरहेका छन् । अधिकांशले लघुवित्त र लघुबीमा एउटै हो भन्ने धारणा बनाएका छन् । हामीले त्यसलाई चिरिरहेका छौं । लघुवित्तले लगानी गर्छ भने लगानीलाई सुरक्षित गर्ने काम लघुबीमाले गर्छ भनेर जानकारी गराइरहेका छौं । बीमाको दायरा नपुगेको क्षेत्र दूरदराजसम्म बीमाको पहुँच पुर्याउन लघुबीमालाई लाइसेन्स दिइएको थियो । तर, ठूला बीमा कम्पनी जहाँ थिए, लघुबीमा कम्पनीहरू पनि सोही क्षेत्रमा मात्रै सीमित भएका देखिन्छन् नी ? कम्पनीको जन्म भइसकेपछि हुर्किन समय लाग्छ । लघुबीमा कम्पनीहरू बामे सर्दै छन् । कम्पनीहरूले आफ्नो प्रारम्भिक लगानी (चुक्ता पुँजी ७५ करोड)लाई सुरक्षित राख्दै व्यवसाय गर्ने र ग्रामीण क्षेत्रमा रहेका सीमान्तकृत वर्गलाई बीमाको पहुँचमा ल्याउने गरी काम गरिरहेका छन् । हामीले विभिन्न ठाउँहरूमा गएर बीमा सम्बन्धि जागरण कार्यक्रमहरू गरिरहेका छौं । साथै, स्टेकहोल्डरहरूसँग सँगसँगै अघि बढेका छौं । किसान, उद्यमी, बैंकर्स, उद्योग वाणिज्य संघ, स्थानीय निकायहरूलाई सँगै राखेर जागरण अभियान चलाएका छन् । प्रारम्भिक चरणमा अवश्य पनि कठिन हुन्छ । लघुबीमा कम्पनीहरूले विभिन्न जिंगल, मेला महोत्सव, घरदैलोमा गएर बीमा सम्बन्धि सचेतना दिएका छन् । पुराना बीमा कम्पनीहरूको व्यवसाय खोसेको आरोप लघबीमा कम्पनीहरूमाथि लागेको छ नी ? हामीले पुरना बीमा कम्पनीहरूको व्यवसाय खोसेका छैनौं । बीमा कम्पनीहरूले समेट्न नसकेको ठूलो बजार छ । हामीलाई ठूला कम्पनीको व्यवसाय खोस्नै पर्ने स्थिती छैन । किनभने बीमामा नसमेटिएको बजारमा हामीले व्यवसाय गरिरहेका छौं । सहरमा गएर ठूल्ठूला बीमा गर्न लघुबीमालाई लाइसेन्स दिएको होइन । सीमान्तवर्गसम्म जाँदाखेरि विभिन्न माध्यम प्रयोग गरेको मात्रै हो । जनतालाई बीमाप्रति उत्साहित गराएर आफै ंबीमा गराउन लघुबीमाले काम गरिरहेका छन् । ठूला कम्पनीहरूको भन्दा लघुबीमा कम्पनीहरूको प्रिमियम दर पनि सस्तो छ । विभिन्न ठाउँमा गएर सस्तो प्रिमियम दरमा बीमा पोलिसी खरिद गर्नुहोस् भनिरहेका छौं । बीमा गर्दा तपाईहरूको सुरक्षा हुन्छ भनेर जनतालाई भनिरहेका छन् । साथै, बैंक तथा वित्तीय संस्थाहरूसँग पनि लघुबीमा कम्पनीहरूले सहकार्य गरेर अगाडि बढेका छन् । लघुबीमा कम्पनीहरूको प्राथमिकता पहुँच बढाउने हो की व्यवसाय विस्तार गर्ने हो ? दुईटै हो । किनभने व्यवसाय नभई कुनैपनि कम्पनी सञ्चालन हुँदैनन् । प्यारालल्ली लिएर अघि बढ्ने हो । कम्पनीले व्यवसायसँगै सेवा पनि दिने हो । सेवा नभई कम्पनीको व्यवसाय पनि हुँदैन । व्यवसायलाई छाडेर पहुँचलाई मात्रै प्राथमिकता दिने हो भने कम्पनी चलाउन सकिँदैन । त्यसैले हामी सेवासँगै व्यवसाय पनि विस्तार गर्छाैं । कम्पनी बचाउन व्यवसाय चाहिन्छ । बीमाको माध्यमबाट व्यवसाय गर्दै जाने हो । तर, लघुबीमा कम्पनीहरूले व्यवसायमा फोकस गरेको भन्ने आरोप लागेको छ नी ? जरूर होइन । किनभने लघुबीमा कम्पनीहरू प्रारम्भिक चरणमा छन् । आएको व्यवसायलाई हामीले छोड्ने कुरा हुँदैन । कोही हामीकहाँ आउनु हुन्छ भने नाई भनेर फर्काउन मिल्दैन । तर, हामी सहरी क्षेत्रमा मात्रै बसेर व्यवसाय गर्ने र ग्रामीण क्षेत्रलाई बेवास्ता गरेको भने होइन । ग्रामीण क्षेत्रका लागि कार्यक्रम तालिका बनाएर अघि बढिरहेका छौं । अभिकर्ताको आवश्यकता छ कि छैन ? निर्जीवन लघुबीमा कम्पनीहरूलाई जीवन बीमा कम्पनीको जस्तो अभिकर्ता आवश्यकता छैन । प्रत्यक्ष रूपमा हामी अघि बढिरहेका छौं । यदि अभिकर्ताको माध्यमबाट जानु पर्ने स्थिती आयो भने पनि हामी तयार छौं । जनतामा बीमाको बुझाई कस्तो पाउनु भएको छ ? स्वस्फूर्तरूपमा बीमा गर्न आउने अभ्यास कस्तो छ ? सहरिया वर्गमा बीमा सचेतना छ । जहाँ बीमा रकमको आकार पनि अनलिमिटेड, ठूला ठूला व्यवसाय, उद्योगहरू, गाडीहरूको बीमा गर्नु पर्ने हुन्छ । सहरि क्षेत्रमा बीमा गर्न त्यति धेरै गाह्रो छैन । तर, ग्रामीण क्षेत्रमा जाँदा कृषि क्षेत्र गाईपालन, भैसीपालन, बाख्रापालन गर्छन् । बैंकको लगानी भएका व्यवसायमा बीमासम्बन्धि सचेतना छ । जो नयाँ ग्राहक हुनुहुन्छ, उहाँहरूलाई कन्भिन्स गराउन प्रयासरत छौं । भर्जिन लाइनमा जाँदा प्रिमियम दर कम छ भनेर पनि जानकारी दिनु परेको छ । उहाँहरूलाई कन्भिन्स गराउन सकस छ । कतिपय त बीमा भनेर पनि आइरहनु भएको छ । लघुबीमा कम्पनीले सीमान्तकृत वर्गको बीमा गराउने हो । तर, उहाँहरूको आर्थिक अवस्था निकै कमजोर हुन्छ । आर्थिक अवस्था कमजोर भएका व्यक्तिहरू प्रिमियम कसरी तिर्नु हुन्छ ? कसरी बीमा गर्नु हुन्छ ? अहिले आर्थिक संकट छ । देशमा मन्दी आएको बेला सबैमा क्षेत्रमा समस्या देखिन्छ । व्यवसाय, कलकारखाना राम्रो चल्यो भने बीमाको व्यवसाय पनि राम्रो हुने हो । अहिले मन्दीबाट माथि उठ्ने गरी विभिन्न प्रयासहरू भइरहेका छन् । पक्कै पनि यस्तो अवस्थामा हामी जुन ठाउँमा पुग्नु पर्ने त्यो ठाउँ पुग्न गाह्रो छ । जुन गतिले अगाडि बढ्नु पर्ने त्यो गतिमा गाह्रो छ । भूकम्पबाट पीडित, स्वास्थबाट पीडित भएका वर्गलाई विभिन्न निकायको सहयोगमा बीमा गरिहेका छन् । राउटे, चेपाङ जातिको स्वास्थ्य बीमा गर्ने तयारी भइरहेको छ । साथै, अन्य पिछडीएको क्षेत्रका जनताको पनि बीमा गर्ने तयारी भइरहेको छ । जसले प्रिमियम तिर्न सक्दैनन् उनीहरूलाई सरकार आफैले बीमा गर्नुपर्छ । हामीले प्रपोजल तयार बनाएका छौं । जस्तो कर्णाली प्रदेश सरकारले आफ्ना सबै नागरिकको बीमा गरेको छ । जाजरकोटमा भूकम्प जाँदा त्यहाँका नागरिकले दाबी भुक्तानी पाए । लघुबीमा कम्पनीहरू पनि त्यसैगरी अघि बढ्न खोजिरहेका छन् । एकैपटक मुलुकभरि नै बीमा गर्न सकिँदैन भने स्थानीय सरकारले आफ्नो पालिकाको कभर गर्न सकिन्छ । स्वास्थ्य, भूकम्प, कृषि लगायतको बीमा गराएर आफ्ना जनताको सुरक्षा सरकारले गर्न सक्छ । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीले के गरिरहेको छ ? आगामी तीन वर्षमा कम्पनी कस्तो हुन्छ ? नेपाल माइक्रोइन्स्योरेन्सले हालसम्म ९ वटा शाखा कार्यालय सञ्चालनमा ल्याइसकेको छ । पूर्वमा इटहरीदेखि पश्चिममा नेपालगन्जसम्म शाखा कार्यालय खोलिसकेको छ । निकट भविष्यमा महेन्द्रनगर र बिर्तामोडमा शाखा खोल्ने तयारी छ । लघुबीमा भएकाले थोरै मान्छेले धेरै सेवा दिने लक्ष्य हो । हाईफाई गरेर धेरै अफिस खोलेर धान्नै नसक्ने गरी हामी अघि बढ्दैनौं । सानो अफिसले नै चारैतिर धान्नेगरि काम गरिरहेका छौं । एकातिर जाँगरण अभियान चलाएका छौं भने अर्काेतिर व्यवसाय विस्तारमा जोड दिएका छौं । जहाँ आवश्यक छ त्यहाँ काउन्नटर विस्तार गर्ने योजना छ । एउटा बाटोमा हिडेपछि कम्पनीलाई दीर्घकालिन बनाउने गरी काम गरिरहेका छौं । हामी आफ्नै गतिमा हिडिरहेका छौं । व्यवसाय गर्दा सकारात्मक प्रतिक्रिया आएका छन् । जसले गर्दा हामी उत्साहित भएका छौं । कम्पनीका लगानीकर्तालाई पनि उच्च प्रतिफल दिने गरि व्यवसाय गरिरहेका छौं । र, सरकारको उद्देश्य पनि परिपूर्ति गर्न लघुबीमा कम्पनी लागिरहेका छन् । अहिले हामी बजार विस्तारमा छौं । ग्राहक बनाउने मात्रै नभई जोगाइराख्ने हाम्रो उद्देश्य हो । अहिलसम्मको तथ्याङ्क हेर्दा नेपाल माइक्रो इन्स्योरेन्सको अग्रस्थानमा छ । ठूला कम्पनीले पनि लघुबीमा गर्दै आएका छन् । अब लघुबीमा आईसकेपछि ठूला कम्पनीलाई लघुबीमा गर्न रोक लगाउनु आवश्यक छ ? जुन उद्देश्यले नियामकले लघुबीमालाई लाइसेन्स दिएको हो, सोही प्रयोजनामा जानुपर्छ । लघुबीमालाई ५० लाखसम्मको मात्रै बीमा गर्न दिइएको छ । तर, ठूला बीमा कम्पनलाई साना र ठूला दुइटै बीमा गर्न दिइएको छ । त्यसैले नियामकले हामीलाई जन्माइसकेपछि हुर्काउने दायित्व पनि हो । ठूलासँग प्रतिस्पर्धा गरेर हामी अघि बढ्न सक्दैनौं । जनतालाई सुविधा दिन हामीलाई जोगाउन नियामकले सोच्नुपर्छ ।

वल्फ लिण्डाको विवाह र नेपालको सत्ता गठबन्धन

पूर्वपतिहरूको फोटो देखाउँदै वल्फ लिण्डा काठमाडौं । कहिले एउटा र कहिले अर्कै राजनीतिक दलसँग गठबन्धन गरेर सत्ता सम्हाल्ने विषय नेपाली राजनीतिक दलका लागि नयाँ होइन । यसमा उनीहरू आफू पनि अभ्यस्त भइसकेका छन् भने अब सर्वसाधारणले पनि त्यसलाई सहजरूपमा लिन थालिसकेका छन् । यहाँ सिद्धान्त, मूल्य, मान्यता, राष्ट्रिय आवश्यकता, देशको मुलभुत समस्या समाधान केन्द्रीत नभई मात्र केवल नेतृत्वको आकांक्षा र व्यक्तिगत सुविधाका नयाँ सम्बन्ध वा सम्बन्ध विच्छेद भइरहेका छन् । सत्ता गठबन्धनमा फेरवदल आउँदा सत्ताबाट बाहिरिएकाे मुख्य पार्टी नेपाली काँग्रेसको कार्यकर्ता पंक्तिमा व्यापक निराशा देखियो । तर, सत्तामा भित्रिएको नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र एकीकृत समाजवादीका कार्यकर्ता पंक्तिमा कुनै उत्साह देखिएन । नयाँ गठबन्धनमा सरकार बन्दै गर्दा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, प्रधानन्यायधीश, प्रधानसेनापति लगायत सरकारको मुल नेतृत्व यथावत रहनेछ । राज्य सञ्चालनको लागि महत्वहीन रहेको राष्ट्रिय सभाको अध्यक्षमात्र फेरिँदैछ, जुन परिवर्तनको समय नै भएको हो । नयाँ गठबन्धनसँगै केही मन्त्रीहरू फेरिएका छन् तर प्रवृतिमा कुनै परिवर्तन छैन । सरकारको नीति, कार्यक्रम, बजेटमा खास परिवर्तन हुने छैन । एउटा सम्भावना निश्चित छ, जेठ १५ गते सार्वजनिक गरिने बजेटमा करका दर वृद्धि गरिनेछ । करका दर वृद्धि हुनुपूर्व सातै प्रदेश सरकारहरूमा टुटफुट निश्चित छ, त्यसको सुरुवात पनि भैसकेको छ । केन्द्रमा झै प्रदेशमा पनि मन्त्रिपरिषद् फेरबदल हुँदैछ । अबको करिब एक महिनासम्म राजनीतिक विधाका पत्रकारहरू दलहरूले मन्त्री पदका लागि गर्ने दावी र मन्त्रीहरूको फेरबदलका समाचार छिनछिनमा ब्रेक्रिङ गर्न व्यस्त हुनेछन् । रुखको पात झर्ने र पलाउने जस्तै मन्त्री खुस्कने र बन्ने महत्वहीन विषयमा सञ्चारकर्मीहरूले धेरै समय बिताउने छन् । सरकार बन्नु र भत्कनु नेपाली समाजको लागि नौलो विषय बन्न छोडेको छ । जनसरोकारको विषयमा सरकारको भूमिका देखिन छोडेसँगै सरकार गठन, विघटन, एउटा दल सरकारबाट बहिर्गमन, अर्को दल सरकारमा आगमनले सर्वसाधारणमा कुनै फरक पार्न छोड्दै गएको छ । सरकार परिवर्तन केवल सरकारी सेवामा दलाली गरेर अबैध आर्जनको पेशामा रहेका दलाल र राजनीतिक विचौलियाको लागि मात्र चासोको विषय बन्दैछ । र, राजनीतिक विधामा समाचार लेख्ने पत्रकारको लागि समाचारको विषय बन्ने गरेको छ । अरुको लागि सरकार परिवर्तन घाम उदाउनु र अस्ताउनु बराबर हुँदैछ । सत्ता गठबन्धन परिवर्तनपछि थोरै मानिसको अनुहारमामा खुशी देख्न सकिन्छ । आम मानिसहरू बेचैन छ । बेचैन हुनुमा केही आधारहरू छन् । राजनीतिक अस्थिरता झनै बढ्यो । नयाँ संविधानले राजनीतिक स्थायित्व दिन सकेन । राजनीतिक नेतृत्वले बारबार गल्ती स्वीकार गर्छ तर सच्चिनेतर्फ कुनै संकेत समेत दिएन । २०४७ सालको परिवर्तनको १२ वर्षमा धेरै राजनीतिक अस्थिरता भएको थियो । त्यसको अपजस दलहरूले राजा र दरवारियालाई दिन्थे । त्यतिबेला भन्दा गणतन्त्र आएपछिको राजनीतिक अस्थिरता झनै बढेको छ । मुल कारणबारे सचेत नागरिक जानकार छन् कि -राजनीतिक दलका नेताहरू चरम स्वार्थी हुनु, व्यक्तिवादी हुनु, राष्ट्रिय आवश्यकता नबुझ्नु, दूरदर्शीता नहुनु, विचारको राजनीति छोड्नु । नेतृत्वले इमान, जमान, अडान सबै लत्याउँदै जानु । सरकारले दिने न्यायिक सेवाप्रति सर्वसाधारणको विश्वास गुम्दो छ । प्रहरीले दिने सुरक्षाप्रति सर्वसाधारणको विश्वास गुम्दो छ । शिक्षा र स्वास्थ्य सेवाको गुणस्तर खस्कदै गएको छ । सहरका सडक भत्कदै गएका छन् । गाउँमा सडक पूर्वाधार बन्न छोडेका छन् । बनेका विमानस्थलमा जहाज आउँदैन । बनेका धारामा पानी झर्दैन । जहाँ सरकारको उपस्थिति छ, त्यहाँ अस्तव्यस्तता चरम छ । कतिसम्म भने सरकारी कर्मचारीहरूले तलब नपाएकाे गुनासो पत्रकारसँग गर्न थालेका छन् । कलेज पास गर्नेले काम पाउँदैनन् । रोजगारी पाउनेले पनि नियमित तलब पाउन छोडेका छन् । उद्योग व्यवसायमा लगानी गर्नेले प्रतिफल पाउने छोडेका छन् । सेयर र घरजग्गामा लगानी गर्नेहरू गुमेको सम्पत्तिको हिसाव गरेर बसिरहेका छन् । ऋण प्रवाह गर्ने बैंकहरूले कर्जाका किस्ता फिर्ता पाउन छोडेका छन् । सहरमा घर बनाउनेले भाडा पाउन छोडेका छन् । गोलभेडा वा उखु वा अन्य बाली लगाउने किसानले उत्पादनको उचित मूल्य पाउँदैनन् । दुध किसानले भुक्तानी पाउँदैनन् । अर्थतन्त्र डामाडोल भएको छ । उद्योगहरू ४० प्रतिशतभन्दा कम क्षमतामा चलेका छन् । व्यापारमा उच्च गिरावट भएको छ । सहरका सटरहरू भटाभट बन्द भैरहेका छन् । निजी क्षेत्र नियमित रूपमा कर्मचारीको तलब खुवाउन र बैंकको किस्ता तिर्न असफल हुँदै गएको छ । सरकार आफ्नै कर्मचारीलाई नियमित तलब खुवाउन, सार्वजनिक ऋणको किस्ता तिर्न र सामाजिक सुरक्षा भत्ता खुवाउन नसक्ने अवस्थामा फस्दैछ । सरकारी बजेटमा आधारित निर्माणको काम ठप्प नै भएको छ । देशको अवस्था बिग्रदै जाँदा काम गरिखाने वर्ग कि देशबाट पलायन भएको छ कि निराश भएर, विरक्तिएर बसेको छ । उत्पादनमुलक उद्योगहरू क्रमशः बन्द हुदै गएका छन् । अन्तर्राष्ट्रिय व्यापार घाटा बढ्दै गएको छ । युवा पुस्ता गुणस्तरीय शिक्षा र रोजगारीका लागि देश छोड्न बाध्य भईरहेको छ । विदेश पलायन र नैराश्यता देशको लागि सबैभन्दा ठूला समस्याको रूपमा फैलिएको छ । वल्फ लिण्डा यी यावत समस्या समाधान गर्नेतर्फ राजनीतिक नेतृत्वको सिर्जनात्मक सोच, छलफल, योजना केही छैन । एउटा नेताले अर्को नेतालाई गाली गर्न जानेको छ । विपक्षीमा हुनेले सत्ता पक्षलाई धम्क्याउन जानेको छ । समाजलाई पुरै निराश तुल्याउने गरी संसदमा वा सार्वजनिक मञ्चमा समस्याको चाङ देखाउन राजनीतिक नेतृत्व माहिर छ । तर, उसँग समास्याको समाधान छैन । मात्र सत्ता चाहिएको छ, मात्र पद चाहिएको छ, मात्र कुर्सी चाहिएको छ, मात्र निजी स्वार्थ र आसेपासेको स्वार्थ पूर्ति गर्नु परेको छ । नेपालको सत्ता गठबन्धनको नयाँ श्रृंखलाले वल्फ लिण्डाको विवाहलाई स्मरण गराएको छ । गिनिज वल्ड रेकर्डका अनुसार लिण्डाले २३औं पटक विवाह गरेर विश्वको सबैभन्दा बढी विवाहको रकर्ड कायम गरेकी रहिछन् । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार अमेरिकी नागरिक लिण्डाको निधन ८७ वर्षको उमेरमा सन् २०२२ मा भयो । २४औं विवाह गर्न नपाएकोमा उनी मर्नुअघि पनि असन्तुष्ट थिइन् । वल्फ लिण्डा पत्रकार एवं लेखक हुन् । चरम यौन इच्छा भएकी लिण्डाले धेरै पुरुषसँग विवाह गरिन् । उनका पतिहरूको सूचीमा अदालतबाट दोषी ठहर भएका व्यक्तिदेखि मेकानिक, प्रचारक, बारमेन, प्लम्बर, संगीतकारसम्म थिए । र, विवाहित पुरुषसँग उनको सम्बन्ध कम्तिमा ३६ घण्टा र बढीमा ७ वर्ष रहेको थियो । शुभेच्छा व्यक्त गरौं नेपालको सत्ता गठबन्धन वल्फ लिण्डाको विवाहको लहड जस्तो नबनोस् ।