४ हजार डलरसम्म तलब खाने राजदूतलाई फिर्ता बोलाइँदै, महिनामै गुम्दै वर्षौंको लविङ
काठमाडौं । राजनीतिक समीकरणको बद्लावसँगै सरकारको गठबन्धन बद्लिएपछि सरकारको तर्फबाट विभिन्न देशमा नियुक्त भएका राजदूतहरू पनि फिर्ता गर्ने तयारी भएकाे छ । विगतमा पनि सरकारको नेतृत्व परिवर्तनसँगै आफ्नो अनुकुलको राजदूत नियुक्त गर्ने अभ्यास रहँदै आएकोमा यस पटक पनि सत्ता गठबन्धन नयाँ बनेसँगै राजदूत पनि नयाँ नियुक्त गर्नका लागि सरकारले तयारी थालेकाे हाे । यसअघि नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र लगायत राजनीतिक दलको गठबन्धन थियो । तर, अहिले काँग्रेस गठबन्धनबाट बाहिरिएर नेकपा एमाले गठबन्धनमा समाहित भइसकेको छ । नयाँ बनेको सरकारले काँग्रेस निकट राजदूतलाई फिर्ता बोलाउने तयारी थालेको हो । संसदीय सुनुवाइको प्रकृया पूरा गरेर गत माघ २६ गते राष्ट्रपतिबाट क्यानडा र पोर्चुगलको राजदूत नियुक्त गरिएकाे थियाे । भरतराज पौड्याल परराष्ट्र मन्त्रालयबाट अवकास लिएर क्यानडाको राजदूतमा नियुक्ति भएका थिए भने सनिल नेपाल नेपाली कांग्रेसको तर्फबाट सिफारिस भएर पोर्चुगलको राजदूतमा नियुक्त भएका थिए । सरकारबाट नेपाली काँग्रेस बाहिरिएकाले नवनियुक्त राजदूत सनिल नेपाल फिर्ता हुनसक्ने सम्भावना देखिएको छ । पहिले राजदूतावास नभएको पोर्चुगलमा कार्यालय स्थापनाको क्रम नसकिँदै राजदूत नेपाल फिर्ता आउन सक्ने सम्भावना देखिएको हाे । तत्कालीन केपी शर्मा ओलीको सरकारपछि शेरबहादुर देउबाको नेतृत्वमा बनेको सरकारले भारत, बेलायत र अमेरिकामा एकलौटी रूपमा राजदूत नियुक्त गरेको थियो । जसमा क्रमशः शंकर शर्मा, ज्ञानचन्द्र आचार्य र श्रीधर खत्री थिए । नयाँ गठबन्धनको सरकार बनेसँगै उनीहरूलाई सरकारले फिर्ता बाेलाउने तयारी थालेकाे हाे । त्यस्तै, नेपाली काँग्रेसको तर्फबाट सिफारिस भएर दक्षिण कोरियाको राजदूतमा नियुक्त भएकी ज्योति प्याकुरेल र इजरायलको राजदूतमा नियुक्त भएकी कान्ता रिजाललाई पनि सरकारले फिर्ता गर्ने स्राेतकाे भनाइ छ । तर, मलेसियाको लागि राजदूत डिल्लीराज पौडेल भने राष्ट्रपति रामचन्द्र पौडेल निकट भएकाले उनी भने फिर्ता नहुन सक्ने सम्भावना छ । चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ, दक्षिण अफ्रिकाका लागि दानबहादुर तामाङ र श्रीलंकाका लागि बासुदेव मिश्र माओवादी कोटामा राजदूत भएका हुन् । राजनीतिक समीकरण पश्चातको गठबन्धन सरकारपनि उनीहरुको अनुकुल बनेको हुँदा उनीहरूको जिम्मेवारी यथावत रहने सम्भावना छ । अष्ट्रेलियाका लागि नेपाली राजदूत कैलाश पोख्रेल र रसियाका लागि मिलनराज तुलाधार नेकपा (एकीकृत समाजवादी) पार्टीको तर्फबाट बनेका हुन् जसले गर्दा उनीहरूको नयाँ राजनीतिक समीकरण पश्चात पनि जिम्मेवारी कायमै रहने देखिन्छ । राजनीतिक समीकरणपश्चात् पनि नयाँ गठबन्धनको सरकारमा सहभागी भएकाले जनता समाजवादी पार्टीको तर्फबाट डेनमार्कको राजदूत भएका रामस्वार्थ राय र साउदी अरबको राजदूत रहेका नवराज सुवेदी कायमै रहने देखिएको छ । विगतमा सबै सरकारको पालामा पटक-पटक राजदूत हुन सफल भएकी स्पेनकी राजदूत पनि तत्काल फिर्ता हुनसक्ने सम्भावना कम देखिएको छ । किनकी विगतमा उनी एमाले, माओवादी र कांग्रेस तिनवटै नेतृत्वको सरकारले नियुक्तिमा पर्न सफल भएकी थिइन् । तर, परराष्ट्र सेवाको तर्फबाट विभिन्न राजदूतावासमा काम गर्दै आएका राजदूतहरूलाई भने सरकारले फिर्ता नगर्न सक्छ । पछिल्लो समयमा नेपालको विदेशस्थित राजदूतावासमा पोर्चुगलसमेत थपिँदा विभिन्न देशमा नेपालको तर्फबाट ३१ दूतावास, संयुक्त राष्ट्रसंघका लागि तीन वटा स्थायी नियोग र ६ वटा महावाणिज्य दूतावास गरी ४० कूटनीतिक कार्यालय रहेका छन् । केही राजदूतलाई फिर्ता बोलाउने तयारी भइरहँदा राजदूत बन्नका लागि केही व्यक्तिको लविङ पनि सुरु भइसकेको छ । राजदूतको प्रतिष्ठासँगै सेवा सुविधा पनि त्यही अनुसारके हुने भएपछि राजदूत बन्न चाहनेहरूको राजनीतिक लविङ निकै हुने गरेकाे छ । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार युरोपेली मुलुकमा खटिएका राजदूतहरुको मासिक तलब करिब ४ हजार डलरको हाराहारीमा हुन्छ । यसका अतिरिक्त आवास र सवारी सुविधा पाउने राजदूतहरुलाई थप ४० प्रतिशतसम्म पारिवारीक भत्ताको समेत व्यवस्था हुने गरेको छ । युरोप, अमेरिका, जापानलगायतका मुलुकका राजदूतहरुका पत्नी र पतिलाई १५ प्रतिशत भत्ता, दुई जना छोरा छोरीलाई २० प्रतिशत र राजदूतका बाबु आमामध्ये एक जनालाई ५ प्रतिशतका हाराहारीमा भत्ता उपलब्ध गराइन्छ ।
एफएनसीसीआईले १० अर्बको कम्पनी खोल्दै, देशभरका व्यवसायीको लगानी
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको पहलमा देशैभरका उद्यमी व्यवसायीको सहभागितामा लगानी कम्पनी स्थापना हुने भएको छ । महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले विरगंज उद्योग वाणिज्य संघको वार्षिक साधारणसभामा कम्पनी खोल्ने विषयको जानकारी दिए । अध्यक्ष ढकालका अनुसार उक्त कम्पनीमा देशैभरका सर्वसाधारण एवं व्यवसायीले लगानी गर्न सक्ने र उक्त रकम विभिन्न परियोजनामा लगानी गरिनेछ । कम्पनीको अधिकृत पूँजी १० अर्ब रुपैयाँ हुनेछ । यसमा महासंघका सदस्य बाहेकका व्यवसायीले पनि लगानी गर्न सक्ने अध्यक्ष ढकालले बताए । कार्यक्रममा अध्यक्ष ढकालले मुलुकको अर्थतन्त्रको सुधारका लागि पहल गरिरहेको पनि बताए । राजनीतिक दलहरुको आर्थिक बिषयमा एकै एजेण्डा हुन नसक्दा समन्यव र सुधार नभएको बताउँदै अध्यक्ष ढकालले महासंघको चैत्र अन्तिम साता आयोजना हुने बार्षिक साधारणसभामा सबै दलहरुको एक्यवद्धता खोजिने जानकारी पनि गराए । महासंघले सुधारका लागि निरन्तर प्रयास गरिरहेको र गत असोजमा आयोजित बृहत् आर्थिक बहस यसको कोशेढुंगा भएको जानकारी पनि उनले गराए । त्यसपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सर्वपक्षीय भेला आयोजना गरेको स्मरण गराउँदै अध्यक्ष ढकालले त्यसपछि वित्तिय क्षेत्रमा सुधार भएको बताए । ‘अझै हामीले प्रयास गर्नुपर्छ,’ अध्यक्ष ढकालले भने, ‘बजार चलायमान बनाउन सबैको सहकार्य आवश्यक छ ।’
भ्रामक भजन, महँगो मृत्यु
घर नजिकै सप्ताह चलिरहेको थियो । धर्ममा आस्था राख्ने भएकाले धार्मिक कार्यमा समय मिलाएर सहभागी हुने गर्छु । साँझको समय भजन बजाउने र नाच्ने कार्य चलिरहेको थियो । घाटमा जाँदा रित्तो हात… बोलको भजन ठूलो स्पिकरमा बजाइएको थियो । त्यही गीतमा भक्तजनहरू नाच्दै थिए । भजनको शब्दहरूमा मेरो ध्यान केन्द्रीत भयो । नाङ्गै जन्मियौं, नाङ्गै जान्छौं । घाटमा जाँदा रित्तो हात जाने हो । मरेर जाने खाली हात हो । मरेर लानु केही छैन…। भजन सुन्दा मैले घरी-घरी यस्ता शब्द सुन्दै आएको छु, तपाईंले जस्तै । अध्यात्ममा लागेका मानिसहरू यही भन्दछन् । धार्मिक प्रवचनहरूमा यो विषय धेरै सुनाइन्छ । वृद्धवृद्धाको समूहमा यही कुरा बढी सुन्छु । दीर्घरोग लागेका मानिसहरू यस्तै तर्क सुनाउँदछन् । र, सुन्नेहरूले पनि यस्ता तर्क तर्कनामा ‘हो मा हो’ लगाएको देख्छु । म पनि धेरै पटक मलामी गएको छु । शव अन्त्यष्टि गरेको खुला आँखाले देखेको छु । मलामी बनेर घाटमा पुगेका जो कोहीले नाङ्गो आँखाले देखेकै छन् कि विसर्जन गर्नुपूर्व शव नाङ्गो बनाइन्छ । मन शान्त राख्ने उद्देश्यसहित सुनिने भजनहरूमा यस्ता शब्द जरूरी छ ? ठूलो संख्यामा मानिसहरू भेला भई सुन्ने धार्मिक प्रवचनहरूमा उत्प्रेरक सम्बोधनहरूमा यस्ता भनाइ राख्न जरूरी छ ? ‘नाङ्गै जन्मियाैं, नाङ्गै जान्छौं, घाटमा जाँदा रित्तो हात जाने हो, मरेर जाने खाली हात हो, मरेर लानु केही छैन’ भन्ने तर्कहरू, प्रवचनहरू, भजनहरू मलाई सुन्न मन छैन । किनकी यी तर्कहरूले मानिसको उर्जा नास गरेको हुन्छ । मानिसलाई बैरागी बनाउन खोजेको छ । मानिसलाई निराश बनाउन खोजेको छ । मानिसलाई दिग्दार बनाउन खोजेको छ । मान्छेलाई कर्मबाट विचलित बनाउन खोजेको छ । यी तर्कले सारमा मानिसलाई सन्यासी/सन्यासिनी बनाउन खोजेको छ । हजारमा २/४ जना सन्यासी बन्दा पनि मानव संसार चल्छ । तर, सबै मानिस सन्यासी/सन्यासिनी बन्न थाले भने मानव संसार यसरी चल्दैन । अर्को शब्दमा भन्दा यस्ता विचारले गरिब मानिसलाई गरिब मै चित्त बुझाउन वा भौतिक प्रगतिको लागि लम्किरहेको मानिसलाई बाटो परिवर्तन गर्न प्रेरित गरेको छ । यसले उत्पादनको प्रक्रियालाई निरूत्साहित गरेको छ । मानिसलाई धनी बनाउन निरुत्साहित गरेको छ । समाजलाई सम्वृद्ध बनाउन बाधा पुर्याएको छ । धार्मिक प्रवचकहरूले धनका कुँवेरहरू पनि मरेर जाँदा रित्तो हात लिएर गएको तर्कहरू धेरै ठाउँमा दिँदै आएको सुनिन्छ । तर, तिनै धार्मिक प्रवचकहरु सप्ताहा वा नवाहा लगाउनु जानुपूर्व यज्ञ आयोजकसँग बढीभन्दा बढी दक्षिणाको लागि मोलमोलाई गर्दछन् । नाम चलेका प्रवचकहरूले महँगो भनेर ल्याउन सकिएन भनेर आयोजकहरूले भनेको मैले धेरै ठाउँमा सुनेको छु । यो सत्य हो, तपाईंले कमाएको धन मर्दा छोडेर नै जाने हो । तर, धन मात्र होइन, मानिसले मरेर जाँदा उसले आर्जन गरेको शिक्षा पनि छोडेर जान्छ । उनले जीवनभर गरेका कर्महरू पनि छोडेर जाने हो । अनुभव पनि छोडेर जाने हो । उसले कमाएको ख्याती पनि छोडेर जाने हो । उसले गरेका प्रेम, उपकार सबै छोडेर जान्छ । उसले गरेका इमान, बेइमान सबै छोडेर जाने हो । मरेर जाँदा रित्तो हात जान्छौं भनेर सम्पत्तिप्रतिको वितृष्णा फैलाउनु ठूलो भ्रम हो । यस्तो भ्रम नेपाली समाजमा व्यापक छ । महाकवी लक्ष्मीप्रसाद देवकोटाले पनि यस्तै कविता लेखेका छन्- ‘हातका मैला सुनका थैला, के गर्नु धनले साग र सिस्नु खाएको बेस छ आनन्द मनले ।’ कविताको यो पंक्ति मलाई जस्तै धेरै नेपालीलाई कण्ठ छ । हामीलाई स्कूल, कलेजमा यही पढाइयो, यही सिकाइयो । अहिले पनि प्रशंग, वेप्रशंग शिक्षकहरूले सुनाउने भाका पनि यही हुन्छ । नेपालको परम्परागत शिक्षा र आधुनिक शिक्षा दुवैमा धनप्रतिको मोह नजगाउनु पनि नेपाली गरिब हुनुको एउटा महत्वपूर्ण कारण हो । संसारमा मानिसको औषत आयु बढ्दै गएको छ । जन्म र मृत्युबीचको दूरी टाढिँदै गएको छ । तर, धन र मृत्युको सम्बन्ध नजिँकिदै गएको छ । जतिबेला धार्मिक ग्रन्थहरू लेखिए त्यतिबेला मानिसको मृत्युसँग धनको सम्बन्ध थिएन । त्यतिबेला एम्बुलेन्स थिएनन्, अस्पताल थिएनन् । आईसीयू र भेन्टिलेटर पनि थिएनन् । शव बहान थिएनन् । घाटमा दाउरा किन्नु पर्दैन थियो । पैसा तिरेर किरियापुत्री राख्ने अभ्यास थिएन, किरियापुत्री घरको भाडा तिर्नु पर्दैन थियो । एक वर्षअघिको सामाजिक सञ्जालमा भाइरल भइरहेको एउटा भिडियो हेर्दै थिएँ । त्यो पूर्वी नेपालको दृश्य थियो । खेताला किरियापुत्री रहेछन् । जाडो मौसममा बढो कष्टपूर्वक नुहाइधुवाई गर्दै १३ दिनको काम सकाएछन् । मृतकको परिवारले ५० हजार पारिश्रमिक दिएछन् । पैसा कमाउन बसेका किरियापुत्रीले ५० हजार रुपैयाँ कम भयो भन्दै लिन माननेन् । मृत्यु कति महँगो बन्दै छ भन्ने एउटा उदाहरण मात्र हो यो । आधुनिक समाजमा पैसा र मृत्युको सम्बन्ध नजिकिँदै गएको छ । मानिस जति मृत्युको नजिक पुग्छ, त्यति धेरै धनको खाँचो हुन्छ । दुर्घटनस्थलमा नै मृत्यु हुँदा वा हृदयघात जस्ता गम्भीर विरामी भई अस्पताल पुग्नुअघि नै हुने मृत्यु महँगो हुँदैन । दीर्घरोग लाग्दा, लामो समय अस्पताल बस्नुपर्दा वा पूर्ण अशक्त भई मृत्यु कुरेर बसेका मानिसलाई वा तिनका आफन्तलाई थाहा छ कि मृत्युपूर्व कति खर्च हुन्छ भन्ने । वृद्ध अवस्थामा मानिसहरूलाई सेवा दिइरहेको हेल्थ होम केयर नेपालको बारेमा एउटा स्टोरी फागुन २० गते विकासन्युजमा प्रकाशित भएको थियो । त्यहाँ आश्रम लिन पुगेका दीर्घरोगीहरूमा मासिक १ लाख रुपैयाँसम्म शुल्क तिर्नुपर्ने रहेछ । अरु कुरा छोडौं, जीवनभर सित्तै पाइने अक्सिजन पनि मृत्यूपूर्व सिकिस्त अवस्थामा किन्नुपर्छ । अबको दुनियाँमा मृत्यूपूर्व किनेको अक्सिजन सेवन नगर्ने मानिस बिरलै हुनेछन् । अस्पतालमा मात्र होइन, घर-घरमा अक्सिजन मेसिन राखिन थालिएको छ । जुन घरमा वृद्धवृद्धाहरू छन्, दीर्घरोगी छन्, तिनका घरमा किनिएको अक्सिजन वा अक्सिजन उत्पादन गर्ने मेसिन किनेर राखिएका छन् । वृद्धवृद्धाको हेरचाह कति कठिन छ र कति महँगो छ नबुझेका, बुबाआमा, हजुरबा हजुरआमाप्रति जिम्मेवारी पुरा नगरेको मान्छेहरूले मात्र भन्न सक्छन्- पैसा केही होइन, मर्दा रित्तो हात जाने हो । गैरकानुनी रूपमा आर्जन गरेर सम्पत्ति नकमाऔ, अरु मानिसलाई रुवाएर सम्पत्ति नकमाऔं, आफ्नै अंग बेचेर पैसा नकमाऔं भनेर प्रेरित गर्ने सन्दर्भमा ‘मरेर जाने रित्तो हात’ भन्ने तर्क सन्देशमूलक नै होला । अधिक भ्रष्टाचार हुने नापी कार्यालयमा वा मालपोत कार्यालयमा, कर कार्यालयमा, कम्पनी रजिष्ट्रार कार्यालयमा, राजनीतिक पार्टीको केन्द्रीय कार्यालयमा यस्ता सन्देशमूलक प्रचार सामाग्री राख्नु उपयुक्त नै होला । तर, मानिसलाई मनमा शान्ति दिलाउन गरिने धार्मिक यज्ञ वा भजन यस्ता तर्क/तर्कना उपयुक्त हुन्न । आम मानिसमा धन सम्पत्तिप्रतिको मोह बढाउने, उत्पादन वृद्धितर्फ प्ररित गर्ने कार्य नगर्दासम्म आधुनिक समाजमा समृद्धि हाँसिल हुँदैन । हाम्रा प्रयास नेपाललाई सन्यासी भूमि बनाउनेतर्फ होइन, नेपाललाई समृद्ध भूमि बनाउनेतर्फ केन्द्रीत हुनुपर्छ । धनप्रतिको मोह गर्ने व्यक्तिलाई स्वार्थी, लोभी भनेर गिज्याउने अल्पज्ञानीहरूको समाजमा मानिसहरू धनार्जनको इच्छा खुलेर व्यक्त नगर्नु अलग्गै पाटो हो । तर, सन्यासी बन्ने कि धनी बन्ने ? भन्ने विषयमा जनमत गर्ने हो भने ९९.९९ प्रतिशत नेपालीले धनी बन्ने मत व्यक्त गर्नेछन् । यो सत्य र तथ्यलाई धार्मिक प्रवचक वा भजनमण्डलीहरूले आत्मबोध गर्न जरुरी छ । र, आफ्ना प्रवचन र भजनहरूमा समय सापेक्ष सुधार गर्न जरुरी छ ।