वैदेशिक लगानी प्रतिबद्धतामा उच्च वृद्धि, फागुनमा नै साढे ६ अर्बको प्रतिबद्धता
काठमाडौं । फागुन महिनामा वैदेशिक लगानीको प्रतिबद्धतामा उच्च अंकले वृद्धि भएको देखिएको छ । उद्योग विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार फागुन महिनामा नेपालमा ६ अर्ब ४७ करोड २० लाख रुपैयाँ बराबरको नयाँ उद्योग तथा व्यवसाय स्थापना वैदेशिक लगानीको प्रतिबद्धता आएको छ । जबकी अघिल्लो माघ महिनामा जम्मा ३४ करोड ५० लाख रुपैयाँ मात्रै नयाँ लगानीको क्षेत्रमा लक्षित गरेर वैदेशिक लगानीको प्रतिबद्धता आएको थियो । विभागका अनुसार फागुन महिनामा १२ वटा विभिन्न क्षेत्रमा ६ अर्ब ४७ करोड २० लाख रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको हो । माघ महिनामा १५ वटा नयाँ लगानीको क्षेत्रमा यस्ताे प्रतिबद्धता आएको थियो । विभागका अनुसार चालु आर्थिक वर्षको भदौ महिना यता फागुनमा आएको वैदेशिक लगानीको प्रतिबद्धताको अंक सबैभन्दा धेरै हो । फागुन महिनामा सबैभन्दा धेरै पर्यटन क्षेत्रका ५८ प्रतिशत, म्यानुफ्याक्चरिङ क्षेत्रमा १७ प्रतिशत, सेवा क्षेत्रमा १७ प्रतिशत र पूर्वाधारको क्षेत्रमा ८ प्रतिशत लगानीक प्रतिबद्धता आएको विभागले जनाएको छ । फागुन महिनामा आएका वैदेशिक लगानीका प्रतिबद्धता भने साना उद्योग लक्षित मात्रै रहेका छन् । नेपालमा लगानी गरेका विदेशी कम्पनीहरुले चालु आर्थिक वर्षको फागनु मसान्तसम्ममा रोयल्टी र लाभांश वापत ८ अर्ब ५० करोड ६६ लाख ७ हजार ९१५ रुपैयाँ लगेका छन् । यस्तो रोयल्टी र लाभांश गत आवको सोही अवधिमा कम्पनीहरुले १३ अर्ब ४५ करोड ९८ लाख ७८ हजार ३२४ रुपैयाँ लगेका थिए । तथ्यांकअनुसार नेपालमा लगानी गरेका विदेशी कम्पनीहरुको रोयल्टी र लाभांश स्वीकृति गत आर्थिक वर्षको तुलनामा झण्डै अर्ब रुपैयाँले घटेको देखिएको छ । विभागको तथ्यांकअनुसार नेपालमा चालु आर्थिक वर्षको फागुन मसान्तसम्ममा गत आवको सोही अवधिको तुलनामा वैदेशिक लगानीकर्ताहरुको आकर्षणमा वृद्धि भएको देखिएको छ । चालु आर्थिक वर्षको ८ महिनामा नेपालमा १५९२ जना वैदेशिक लगानीकर्ताहरुले लगानीको प्रतिबद्धता जनाएका छन् भने अघिल्लो आवको सोही अवधिमा जम्मा १०६९ जनाले त्यस्तो प्रतिबद्धता जनाएका थिए । विभागका अनुसार अहिलेसम्म नेपालमा ६११२ वटा विभिन्न विदेशी कम्पनीहरुले ४ खर्ब ७९ अर्ब १० करोड ३४ लाख ३८ हजार ३०५ रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता जनाएका छन् ।
सीआईबीको हिरासतबाट छुटे १० जना बैंकर, सकियो अनुसन्धान
काठमाडौं । प्रभु बैंकका वरिष्ठ डेपुटी सीईओ मनोज न्यौपानेसहित १० जना हाजिरी जमानीमा छुटेका छन् । अनुसन्धानको कामहरू सकेपछि उनीहरूलाई बैंकर एशोसिएसन, प्रभु बैंकका सीईओ र परिवारको जिम्मा लगाइएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बताएको छ । जिल्ला अदालत काठमाडौंले उनीहरूलाई थप ५ दिन हिरासतमा राख्न अनुमति दिएको थियो । सीआईबीले १५ माघमा न्यौपानेसहित तत्कालीन सेञ्चुरी बैंकका पूर्वसीईओ तुलसी गौतम, कर्मचारी राजेश भण्डारी, दिलिप बराल, सुवासबहादुर श्रेष्ठ, अनुपमा श्रेष्ठ मानन्धर, सविन घिमिरे, रमन श्रेष्ठ, दिपेश प्रधान र सुनिल बस्नेतलाई पक्राउ गरेको थियो । उनीहरूले सेन्चुरी बैंकमा रहँदा कमसल धितोमा दुई अर्ब ११ करोड ६५ लाख ५५ हजार रुपैयाँ बराबरको कर्जा प्रवाह गरेको अनुसन्धानबाट देखिएको थियो ।
फागुनमा झिनो अंकले बढ्यो घरजग्गा कारोबार
काठमाडौं । चालु आर्थिक वर्षको माघ महिनाको तुलनामा फागुन महिनामा झिनो अंकले घरजग्गा कारोबारमा वृद्धि भएको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले बिहीबार सार्वजनिक गरेको तथ्यांकअनुसार माघ महिनाको तुलनामा फागुन महिनामा घरजग्गाको कारोबारमा झिनो अंकले वृद्धि भएको देखिएको हो । विभागको तथ्यांकअनुसार फागुन महिनामा ५० हजार ९९८ वटा लिखत पारित भएका छन् । जुन अघिल्लो महिनामा भने ५० हजार ९२१ वटा संख्यामा मात्रै भएको थियो । माघ महिनामा ५ हजार ४८० वटा नामसारी भएकोमा फागुन महिनामा ५ हजार ६९९ वटा नामसारी भएको विभागको तथ्यांकले देखाएको छ । माघ महिनामा २५ वटा अपार्टमेन्टको लिखत पारित भएकोमा फागुन महिनामा थोरै मात्रै अंकले सुधार भएर २९ वटा अपार्टमेन्टको लिखत पारित भएको छ । फागुन महिनाको घरजग्गा कारोबारमार्फत सरकारले १ अर्ब २८ करोड ५० लाख ५८ हजार १७७ रुपैयाँ पुँजीगत लाभकर आम्दानी गरेको छ । माघ महिनामा सरकारले यस्तो आम्दानी १ अर्ब १९ करोड ९६ लाख ७३ हजार ३ सय ८३ रुपैयाँ आर्जन गरेको थियो । चालु आर्थिक वर्षको साउन महिनामा लिखत पारित ३९ हजार दुई सय ६३ र नामसारी तीन हजार एक सय ५९, भदौ महिनामा लिखत पारित ३५ हजार छ सय ८६ र नामसारी दुई हजार आठ सय ४३ वटा भएको थियो भने असोज महिनामा ३९ हजार आठ सय ८१ लिखत पारित र तीन हजार दुई सय ३७ वटा नामसारी भएको थियो । त्यस्तै, कात्तिक महिनामा २६ हजार र मंसिर महिनामा ४१ हजार ८ सय ५१ र पुस महिनामा ४५ हजार २७७ संख्यामा घरजग्गाको लिखत पारित भएको थियो । कोरोना महामारीपछि लामो समयसम्म मन्दी छाएको घरजग्गाको कारोबार चालु आर्थिक वर्षसँगै निरन्तर सुधारोन्मुख हुँदै गएको कारोबार तथ्यांकले देखाएको छ ।