नदी तथा खनिजजन्य निर्माण सामग्री विदेश निकासी गर्न सांसदहरूको प्रस्ताव, कर निर्धारण हुनुपर्ने

काठमाडौं । सांसदहरूले नदी तथा खनिजजन्य सामग्री विदेश निकासी गर्ने कानुनी व्यवस्थाको माग गरेका छन् । निर्माणमुखी सामग्रीको व्यवस्थापन तथा नियमन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा सांसदहरूले संशोधन प्रस्ताव पेस गर्दै नदी तथा खनिजजन्य निर्माण सामग्रीहरूलाई विदेश निकासी गर्न माग गरेका हुन् । सांसदहरू रामनाथ अधिकारी, दीपक गिरी र प्रदिप पौडेलले नदी तथा खनिजजन्य निर्माण सामग्रीको निकासीका लागि विधेयकमा संशोधन प्रस्ताव पेस गरेका छन् । उनीहरूले क्रसर तथा बालुवा प्रशोधन उद्योग पनि उत्पादनमुलक उद्योग भएकाले विदेश निकासी गर्नुपर्ने विषय संशोधनमा उठाएका छन् । सांसद अधिकारीले विधेयकको दफा ४२ माथि संशोधन प्रस्ताव पेस गर्दै भनेका छन्,  ‘क्रसर तथा बालुवा प्रशोधन उद्योग उत्पादनमूलक उद्योग भएको हुँदा उक्त उद्योगबाट प्रशोधित हुने नदी तथा खनिजजन्य निर्माण सामग्रीहरूलाई विदेश निकासी गर्नु पर्दछ ।’ सांसद प्रदिप पौडेलले विधेयकमाथि संशोधन प्रस्ताव पेस गर्दै संघीय सरकारले निर्माणमुखी खनिज क्षेत्रको निर्धारण गर्ने बताएका छन् । साथै उनले विदेश निर्यात हुने सामग्रीको आम्दानीमा छुट्टै कर निर्धारण गर्नु पर्ने प्रस्ताव पेस गरेका छन् । सांसद पौडेलले निर्माणमुखी सामग्रीको विदेश निकासी सम्बन्धी थप दफा थपेर ‘संघीय सरकारले विदेश निकासी हुने निर्माणमुखी सामग्रीको उत्खनन् गर्न निर्माणमुखी खनिज क्षेत्रको निर्धाणर गर्ने, संघीय सरकारले निर्माणमुखी सामग्रीको विदेश निकासबाट हुने आम्दानीमा छुट्टै कर निर्धारण गर्नु पर्ने संशोधन प्रस्ताव पेस गरेका छन् । त्यस्तै, सांसद दीपक गिरीले पनि ‘क्रसर तथा बालुवा प्रशोधन उद्योग उत्पादनमूलक अन्य उद्योग सरह भएको हुँदा उक्त उद्योग प्रशोधित हुने नदी तथा खानीजन्य निर्माण सामग्रीहरुलाई विदेश निकासीका लागि अनुमति दिनेछ’ भन्ने संशोधन प्रस्ताव पेस गरेका छन् । तर, केही सांसदहरूले भने नदी तथा खानीजन्य निर्माण सामग्रीलाई निकासीका लागि अनुमति दिन नहुने भन्दै विधेयकमा कडाइका लागि संशोधन प्रस्ताव पेस गरेका छन् । विधेयकको दफा ४२ मा ‘निकासीमा रोक लगाउन सक्ने’ भन्ने व्यवस्था गरिएको छ । सो दफामा सरकारले राजपत्रमा सूचना प्रकाशित गरेर ‘रोक वा परिमाणात्मक बन्देज’ लगाउन सक्ने व्यवस्थाको प्रस्ताव गरिएको छ । सो व्यवस्था राख्दा निकासी खुल्ला भएको मानिने भएकाले उक्त दफा नै हटाउन सांसदहरुले संशोधन प्रस्ताव पेस गरेका छन् । सांसदहरू शेरबहादुर कुँवर, अम्बरबहादुर थापा, राजेन्द्रप्रसाद पाण्डे, मेटमणि चौधरी, रामप्रकाश चौधरी, रघुजी पन्त, गगन थापा, बद्री पाण्डे, जीवन परियार, प्रतिमा गौतम, मैना कार्की, कुसुमदेवी थापा, सिता मिजार, राजेन्द्रकुमार केसीले दफा ४२ हटाउन संशोधन प्रस्ताव पेस गरेका हुन् । त्यस्तै, सञ्जयकुमार गौतम, बिनिता कठायत, सोबिता गौतम, अशोककुमार चौधरी र शिशिर खनालले पनि विधेयकको दफा ४२ हटाउन संशोधन प्रस्ताव पेस गरेका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कात्तिक १७ गते प्रतिनिधिसभामा ‘निर्माणमुखी सामग्री (व्यवस्थापन तथा नियमन) विधेयक, २०८०’ दर्ता गरेको थियो । सो विधेयकमाथि ३७ जना सांसदहरुले विधेयकमा रहेका विभिन्न व्यवस्थालाई लिएर ४०२ वटा संशोधन प्रस्ताव पेस गरेका छन् । तर, सांसदहरुले पेस गरेको संशोधन प्रस्ताव सभामुखबाट स्वीकृत भने भइसकेको छैन । निर्माणमुखी सामग्रीको व्यवस्थापन तथा नियमन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा सांसदहरूको संशोधन प्रस्ताव [pdf id=473302]

चिया बगानमा चिनियाँ र पाकिस्तानी व्यवसायीको भीड, गुणस्तरमा भारतको बखेडा

काठमाडौं । दक्षिणी छिमेकी भारत नेपालमा उत्पादित चियाको प्रमुख बजार हो । नेपालमा उत्पादन हुने कुल चियाको ८५ प्रतिशत हिस्सा भारतीय बजार निर्यात हुने गर्छ । तर, दुःखद कुरा के छ भने पछिल्लो पटक भारतले नेपाली चियाको गुणस्तरमा प्रश्न गर्दै बखेडा झिकेपछि नेपाली चिया उत्पादक हच्किएका छन् । यहीबीच ‘कालो बादलमा चाँदीको घेरा’ भने झैं भारतको बखेडाबाट तर्सिएका नेपाली चिया उत्पादकलाई सुखद खबर प्राप्त भएकाे छ । उत्तरी छिमेकी चीन र पाकिस्तानमा नेपाली चिया निर्यातको आशालाग्दो हिसाबको सम्भावना देखिएको छ । पाकिस्तान र चीन दुवै देशमा कूटनीतिक पहलमार्फत नेपाली चिया निर्यात बढाउन मार्गप्रशस्त भएको छ । हालै चीनका केही दर्जन व्यवसायी नेपाली चिया खरिद गर्ने उद्देश्यले नेपाल आएका छन् । उनीहरू अहिले इलामका चियाबारीमा घुमिरहेका छन् । चीनले पनि पछिल्लो पटक नेपालमा उत्पादित अर्थोडक्स चिया राम्रै परिमाणमा आयात गरेको छ । त्यस्तै पाकिस्तानी व्यवसायीले भने नेपालमा उत्पादित सीटीसी (धुलो) चिया आयात गरिरहेका छन् । भलै चीन र पाकिस्तान जाने नेपाली चियाको परिमाण भारत जानेभन्दा कम भए पनि नेपाली चियाबारे विश्वबजारमा राम्रै सन्देश गएको नेपाली चिया उत्पादकहरू बताउँछन् । भारतले पछिल्लो पटक नेपाली चियाको गुणस्तरमा प्रश्न उठाइरहेका बेला चीन र पाकिस्तानतर्फ निर्यात बढेको र चिनियाँ व्यवसायीहरू नेपाली चिया खरिद गर्न ठूलो संख्यामा नेपाल आइरहेको नेपाली चिया उत्पादक व्यवसायीले जानकारी दिएका छन्। त्यसमाथि चीन र पाकिस्तान दुवैले अझै ठूलो परिमाणमा नेपाली चिया खरिद गर्न सकारात्मक देखिएपछि नेपाली व्यवसायीहरू उत्साहित भएका छन् । हालै पाकिस्तानले दुई टन (२ हजार टन) नेपाली सीटीसी चिया आयात गरेको छ । नेपाली चिया उद्योगमा दशकौंपछि आएको यो सुखद खबर रहेको व्यवसायीहरूको भनाइ छ । पकिस्तानस्थित नेपाली राजदूत तापस अधिकारीले हालसम्म डेढ लाख किलो नेपाली चिया पाकिस्तान निर्यात भएको बताएका छन् । उनका अनुसार केही आयात-निर्यात व्यवसायीले नेपाली चियाको पाकिस्तानतर्फको निर्यात परिमाण बढाउन लागिपरेका छन् । ‘नेपाली चियाको पाकिस्तान निर्यात परिमाण बढिरहेको छ,’ राजदूत अधिकारीले विकासन्युजसँग भने, ‘पाकिस्तानी व्यापारीलाई सहजीकरण, बैठक, छलफल, सूचना आदान-प्रदान, चियाको स्वाद परीक्षण लगायत गतिविधिबाट प्रोत्साहन गरेर नेपाली चिया पाकिस्तान लैजान आग्रह गरिरहेका छौं ।’ पाकिस्तानी व्यवसायीले विगतमा उल्लेख्य परिमाणमा नेपाली चिया आयात गरिरहे पनि केही दशकदेखि यो क्रम रोकिएको थियो । तर, पछिल्लो समय फेरि पाकिस्तानले नेपाली चियामा आँखा लगाउन थालेको राजदूत अधिकारीले जानकारी दिए । पाकिस्तानसँग चिया सम्बन्ध विस्तार हुँदै झापा बिर्तामोडस्थित चिया तथा कफी विकास बोर्डका क्षेत्रीय निर्देशक इन्द्रप्रसाद अधिकारी दुई कन्टेनर चिया पाकिस्तान निर्यात गरेर नेपाली व्यवसायीले पाकिस्तानी व्यवसायीसँग चिया सम्बन्ध विस्तार गरेको बताउँछन् । पाकिस्तानले झापाको गिरिबन्धु टि बगानबाट दुई कन्टेनर सीटीसी चिया आयात गरेको हो । अधिकारीका अनुसार भारतले दिने मूल्यभन्दा केही बढी दिन पाकिस्तानी व्यापारीहरू तयार देखिएका छन् । तर, चियाको गुणस्तरअनुसार मूल्य निर्धारण हुने उनी बताउँछन् । अहिले पाकिस्तान निर्यात भएको चियामा व्यवसायीले भारतले दिने मूल्यभन्दा बढी मूल्य तिरेका छन् । ‘पाकिस्तानी व्यवसायीहरू नेपाली चिया खरिद गर्न इच्छुक छन्, तर कुनै सम्झौता भने भएको छैन,’ निर्देशक अधिकारी भन्छन्, ‘पाकिस्तानका व्यापारीहरूको संस्था ‘टि एसोसिएसन’ का १०/१२ जना नेपालमा चिया भ्रमणका लागि आउन खोजिरहेका छन्, उनीहरू मे महिनामा नेपाल आउने कार्यक्रम छ, हामीले उनीहरूलाई औपचारिक आमन्त्रण गर्ने छौं ।’ उनका अनुसार पाकिस्तानी व्यापारीहरूले इलामका चिया कारखाना भ्रमण गर्ने र यहाँका व्यापारीहरूसँग छलफल तथा अन्तक्र्रिया गर्नेछन् । नेपाली चिया व्यवसायी पनि यसका लागि निरन्तर छलफल र अन्तक्रियामा अग्रसर भइरहेका छन् । नेपाली चिया भारतको ‘सेन्टर फुड ल्याबोरेटोरी’ (सीएफएल) को प्रमाणपत्र पाएपछि भन्सार ‘क्लियर’ हुन्छ । भारतबाहेक अन्य देशमा चिया निर्यात गर्न सकियो भने नेपाली व्यवसायीहरूको ‘बार्गेनिङ’ पावर बढ्दै जाने निर्देशक अधिकारी बताउँछन् । विकल्प बन्न सक्छ पाकिस्तान, दूतावास सहजीकरण गर्दै पाकिस्तानले वर्षमा १७ करोड किलो चिया खपत गर्ने गरेको तथ्यांक भेटिन्छ । जसमध्ये अधिकांश चिया केन्या, युगान्डालगायत अफ्रिकी देशहरूबाट आयात गर्छ । ‘पाकिस्तान ठूलो मात्रामा चिया खपत गर्ने देश हो, पाकिस्तान नेपाली चियाको विकल्प देश हुन सक्छ’ उनी भन्छन्, ‘पाकिस्तानमा धेरै चिया केन्या, भियतनामजस्ता देशबाटबाट आउँछ, तर पाकिस्तान नेपालको एउटा भरपर्दो बजार हुन सक्छ ।’ पाकिस्तानमा चिया निर्यातका लागि इस्लामावादस्थित नेपाली राजदूत तापस अधिकारीसँग पनि निरन्तर छलफल भइरहेको अधिकारी बताउँछन् । यसका लागि उनले सहजीकरण गरिरहेका छन् । नेपाल विश्व व्यापार संगठन (डब्लूटीओ) को सदस्य भएका कारण भारतको बाटो हुँदै पाकिस्तानमा निर्यात गर्न कुनै समस्या नहुने निर्देशक अधिकारी बताउँछन् । ‘पाकिस्तानले नेपाली चिया आयात गर्दा भारतले अवरोध गर्न मिल्दैन,’ उनी भन्छन्, ‘उहाँहरूको आफ्नो आन्तरिक समस्या होला, तर कानुनी रूपमा भने रोक्न मिल्दैन ।’ नेपाली चियाको चीन गन्तव्य  भारतबाहेक तेस्रो मुलुकमा चिया निर्यातका लागि सरकारले पनि जोडबल गरिरहेको निर्देशक अधिकारी बताउँछन् । ‘अहिले नेपाली चिया आयात गर्न चिनियाँ व्यवसायीहरू पनि आएका छन्,’ अधिकारीले भने, ‘उनीहरूले बिजनेस टु बिजनेस मिटिङ गर्ने गरिरहेका छन्, यो नेपाली चिया उद्योगका लागि सुखद खबर हो ।’ त्यसैगरी उद्योग वाणिज्य संघ इलामका अध्यक्ष चेतनाथ पौडेलका अनुसार एक महिनाअघि चिनियाँ व्यवसायीले इलाम आएर अनुगमन गरेका थिए । ‘उहाँहरू आएर हाम्रो २/४ वटा उद्योग घुम्नुभयो,’ पौडेलले भने, ‘घुम्ने क्रममा उहाँहरूले उद्योगलाई सरसफाइ र गुणस्तरमा ध्यान दिन सुझाव दिनुभएको थियो, फेरि केही दिनअघि पनि आएर त्यहाँ भ्रमण गर्नुभयो, पहिलाभन्दा उल्लेख्यरूपमा सुधार पाएपछि चिया लैजान सकारात्मक भएर जानुभएको छ ।’ आउँछु भनेर गएका चिनियाँ व्यवसायी फेरि फर्केर आएर चिया चीन लैजान सकारात्मक भएपछि एक किसिमको विश्वासको वातावरण बनेको अध्यक्ष पौडेल बताउँछन् । चियाको पहिलो टिपाइ सुरु हुन लागेका बेला चीनबाट आएका व्यवसायी टोलीले चिया माग गरेपछि नयाँ उत्साह थपिएको पौडेलको भनाइ छ । अध्यक्ष पौडेलका अनुसार चिनियाँ व्यवसायीले इलामका विभिन्न चिया उद्योगमा  ठूलै परिमाणमा  चिया माग गरेका छन् । तर, यति नै टन भन्ने तथ्यांकमा उल्लेख भएकाे छैन । ‘उहाँहरूले लैजान खोज्दा पहिलो टिपाइ नभएका कारण लैजान सक्नुभएन,’ उनी भन्छन्, ‘उहाँहरूले फेरि आएर चिया लैजान्छु भन्नुभएको छ, त्यस्तो लिखित सम्झौता त केही भएको छैन, मौखिक मात्रै हो तर हामी आशावादी छौं ।’ नेपालको उत्पादन जुनसुकै देशले लगे पनि त्यो खुसीकै कुरा हुने उनको भनाइ छ । ‘हाम्रो उत्पादन चीन, भारत, अमेरिका वा अन्य कुनै देशले लगे पनि हाम्रो तर्फबाट उत्पादन बिक्नुपर्यो भन्ने हो,’ उनी भन्छन्, ‘नेपाली चिया विश्व बजारमा निर्यात गर्न सके अर्थतन्त्रलाई नै टेवा पुग्ने हो ।’ ‘अन्तर्राष्ट्रिय चिया महोत्सव’ हुँदै कोशी प्रदेश सरकारले पनि आगामी वैशाख ७, ८ र ९ गते ‘अन्तर्राष्ट्रिय चिया महोत्सव’ आयोजना गर्न लागेको निर्देशक अधिकारीले बताए । ‘यसमा धेरै पोटेन्सियल बायरहरू (चिया क्रेता) लाई नेपालको चिया क्षेत्रको भ्रमण गराउने, अन्तरक्र्रिया, छलफल गराउने र यहाँको चियाको प्रचार/प्रसार गर्ने कार्यक्रम छ,’ उनले भने, ‘आशा गरौं, भारतबाहेक अन्य देशमा पनि नेपाली चियाले आफ्नो पहुँच बढाउने छ ।’ निर्देशक अधिकारीका अनुसार अन्य देशमा चिया निर्यात गर्न व्यवसायीहरू आफैं सक्रिय भइरहेका छन् । संघ, स्थानीय र प्रदेश सरकारले पनि पहल गरिरहेका छन् । ‘यो भनेको डिमान्ड एन्ड सप्लाइ (माग र आपूर्ति) ले निर्धारण गर्ने कुरा हो,’ उनी भन्छन्, ‘अरू भनेको नेपाली चियाको गुणस्तर, मूल्य, ढुवानी, बैंकिङ सिस्टम र मोड अफ पेमेन्टका कुरामा व्यावहारिक (प्राक्टिकल) सहमति भयो भने आशा गर्ने आधार हुन सक्छ ।’ आठ महिनामा ९८ सय टन चिया निर्यात भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८०/८१ को आठ महिनामा नेपालबाट सीटीसी र अर्थाेडक्स गरी कुल ९ हजार ८ सय २३ टन चिया निर्यात भएको छ । तथ्यांकअनुसार पछिल्लो आठ महिनामा नेपालबाट चीनले ५ टन (५ हजार किलो) अर्थाेडक्स चिया खरिद गरेको छ । यसको कुल मूल्य १० करोड ५३ लाख रुपैयाँ बराबर रहेको छ । यो परिमाण भनेको गत आवको सोही अवधिको तुलनामा ८८.३१ प्रतिशत बढी हो । भारतले नेपालमा उत्पादित चियामा खोट देखाइरहेका बेला उत्तरी छिमेकी चीन नेपाली चियाको ‘प्रिमियम’ गन्तव्य बन्न सक्ने देखिन्छ । भारतले एकाधिकार लिन झिकेको गुणस्तरको बखेडा भारतले ‘नेपाली चिया गुणस्तरीय छैन’ भनेर धेरै वर्षदेखि भन्दै आएको छ । यसको पछाडिको एउटै कारण नेपालमा उत्पादन भएको चियामा भारतले एकाधिकार बजार लिन खोजेको राष्ट्रिय चिया तथा कफी विकास बोर्डका निर्देशक डा. दीपक खनाल बताउँछन् । ‘भारतका व्यापारीले नेपालको चिया क्वालिटीको छैन भनेर झुठ फैलाएका छन्,’ उनी भन्छन्, ‘यहाँको सबै चिया सस्तो मूल्यमा किन्नका लागि यो उनीहरूको षडयन्त्रपूर्ण रणनीति हो ।’ भारत सरकारका तर्फबाट भने नेपालको चिया गुणस्तरीय छैन भन्ने कुनै प्रतिक्रिया नआएको उनी बताउँछन् । यो सबै त्यहाँका व्यापारीले भ्रम छर्ने काम गरेको उनको दाबी छ । निर्देशक खनालका अनुसार भारतका चिया दलालहरूले नेपालको चिया ‘सबस्ट्यान्डर्ड छ, क्वालिटीको छैन’ भन्नुका पछाडि हाम्रो चियालाई चार्ज गरिदिने, चार्ज गरिसकेपछि सस्तोमा सबै चिया भारत लैजाने र त्यो चियालाई रिप्याकेजिङ गरेर भारतीय चियाको ट्याग लगाएर अन्य मुलुकमा महँगो मूल्यमा बेच्छन् । नेपालमा सरकारले तयारी चियाको मूल्य निर्धारण गर्दैन । त्यो बजारले निर्धारण गर्ने हुन्छ । तर, सामान्यतया सीटीसी चिया औसत १ सयदेखि २ सय रुपैयाँ किलो बिक्री हुन्छ । भारतले त्यो मूल्य पनि दिँदैन । अर्थोडक्स चिया किलोको ४ सयदेखि ५ सय रुपैयाँसम्म बिक्री हुन्छ । खनालका अनुसार चिनियाँ बजारमा सीटीसी चिया जाँदैन किनभने उनीहरूले धुलो चिया खाँदैनन् । धेरै जाने अर्थोडक्स चिया हो । भारतले ५ सय रुपैयाँमा किनेको चिया चिनियाँ बजारमा नेपालले किलोको ३ हजारदेखि ३५ सय रुपैयाँसम्ममा बेच्न सक्छ । ‘भारतीय व्यापारीले चिनियाँ बजारले नेपाली चियालाई राम्रो मूल्य दिन्छ भन्ने बुझेका छन्,’ बोर्ड निर्देशक खनाल भन्छन्, ‘त्यसैले उनीहरूले नेपाली चिया गुणस्तरहीन छ भनेर दोषारोपण गरिरहेका छन् ।’ व्यक्तिगत सम्बन्धले चीनमा चिया निर्यात अहिलेसम्म सरकारी तहबाबाट कुनै सन्धि, सम्झौता र समझदारी भएर चीनमा चिया निर्यात भएको छैन । विगतदेखि नै नेपालका चिया उत्पादक व्यापारीहरूले चिनियाँ चिया व्यापारीसँगको व्यक्तिगत सम्बन्धका कारण चीनमा चिया बेचिरहेका छन । ‘सरकारले आयात निर्यातको बजार सञ्जाल तयार गरेर चिया पठाउन सकेको छैन,’ निर्देशक खनाल भन्छन्, ‘र, त्यसको काम अहिले बोर्डले गरिरहेको छ, अब छिट्टै चिनियाँ बजारमा सरकारकै तहबाट छलफल गरेर पठाउनुपर्छ भनेर काम भइरहेको छ ।’ चिनियाँ टोली इलाम भ्रमणमा आएर १ लाख किलो चिया अर्डर दिइसकेको भन्ने जुन समाचार मिडियामा आएका छन् त्यो कुरा बोर्डलाई औपचारिक जानकारी नभएको खनाल बताउँछन् । ‘पाँच जनाको चिनियाँ टोली इलाम आएर त्यहाँका मेयर र वाणिज्य संघका अध्यक्षसँग भेटघाट र छलफल गरेका हुन्,’ उनी भन्छन्, ‘त्यहाँका चिया व्यवसायी चीरञ्जीवी दाहालले सहजीकरण गरेर आएका उनीहरू अहिले पनि इलाम घुम्दै छन्, तर उनीहरूले यति नै परिमाणमा चिया लैजाने भनेर कुनै समझदारी गरेका छैनन् ।’ भारतले नेपाली चियाको गुणस्तरमा प्रश्न उठाइरहेका बेला नेपाली चिया चिनियाँ बजारमा बेच्न सके नेपाललाई धेरै फाइदा हुने बोर्डले जनाएको छ । बोर्डका अनुसार नेपालको चियाले भारतको विकल्प खोजिरहेको छ । नेपालका लागि चीन एकदमै उत्तम विकल्प हो । यसका लागि परराष्ट्र मन्त्रालय, उद्योग वाणिज्य मन्त्रालय र बोर्डले समन्वय गरिरहेका छन् । नेपाली चिया निर्यातका समस्या नेपालले चियाको राम्रो ‘मार्केटिङ’ र ‘ब्रान्डिङ’ गर्न नसकेको निर्देशक खनाल बताउँछन् । ‘भारतले हाम्रो डिएसटीक्यूसीले दिने ल्याब रिपोर्टलाई भ्यालिड मान्दैन, उनीहरूले कोलकातामा रहेको सेन्ट्रल फुड ल्याबबाट परीक्षण गराएर ल्याउन भन्छन्,’ उनी भन्छन्, ‘त्यस कारण नेपाली ल्याब बलियो बनाउनुपर्ने देखिन्छ ।’ खनालका अनुसार भारतबाहेक तेस्रो मुलुकमा चिया निर्यात गर्दा लाग्ने सिपिङ कस्ट महँगो हुन्छ । ढुवानी महँगो हुँदा लागत उठ्दैन र चिया डम्पिङ हुन्छ । नेपालमा डेढ लाख किलो चिया डम्पिङ हुने व्यवसायीहरू बताउँछन् । नेपालले चिया व्यापारका लागि ‘अल्टर्नेटिभ मार्केट’ खोज्न जति पनि कूटनैतिक निकाय छन्, उनीहरूले पनि त्यसमा चासो नदेखाउनु हो । त्यो आर्थिक कूटनीति बलियो हुन सकेको छैन । सरकार के गरिरहेको छ ? बोर्डले वाणिज्य मन्त्रालय, परराष्ट्र मन्त्रालयमार्फत विभिन्न देशमा सरकारी तवरबाट चिया निर्यात गर्नुपर्छ भनेर ‘जिटुजी एग्रिमेन्ट’ गर्नका लागि पहल गर्ने खनाल बताउँछन् । ‘यो हामीले विगतदेखि नै गर्दै आएका छौं, तर देखिने गरी उपलब्धी हासिल गर्न सकेका छैनौं । यसमा पनि अहिले सबैभन्दा ठूलो पहल चीनसँग गरिरहेका छौं,’ निर्देशक खनाल भन्छन् । यसमा नेपालमा भएको चिया तिब्बत पुर्याउने, क्वारेन्टिन व्यवस्थापन गर्ने कुरा एजेन्डाका रूपमा उठान गरिदिन पनि तिब्बत सरकारलाई पत्राचार गरिएको बोर्डले जनाएको छ । चियामा आत्मनिर्भर नेपाल चियामा आत्मनिर्भर बनेको बोर्ड निर्देशक खनाल बताउँछन् । खनालका अनुसार नेपालले अहिले वार्षिक १२ देखि १३ हजार टन चिया निर्यात गरिरहेको छ । नेपालको उत्पादन क्षमता २६ हजार ३ सय टन हो । ‘हामीले उत्पादन गरेको ४५ प्रतिशत बढी चिया निर्यात गरिरहेका छौं, बाहिरबाट हामी २ देखि ३ टन मात्रै आयात गर्छौं,’ उनी भन्छन्, ‘यसलाई हामी आत्मनिर्भर भएकै भन्छौं, वार्षिक ४ अर्ब रुपैयाँ बराबरको चिया बेच्छौं ।’ नेपाली चिया गुणस्तरमा एकदमै राम्रो भएको खनाल बताउँछन् । समग्रमा सरकारले व्यवसायीलाई सहयोग गर्न नसकेको उनी स्वीकार्छन् चियालाई सरकारले ८ प्रतिशत निर्यात अनुदान दिइरहेको छ । आन्तरिक रूपमा भइरहेका व्यवसायलाई जुन रूपमा प्रवर्द्धन गर्नुपर्ने हो, त्यो सरकारको तर्फबाट आशाजनक नभइरहेको खनाल बताउँछन् ।

अर्थसचिव बनिसकेका तोयम रायालाई महालेखा परीक्षेक बनाउन सिफारिस

काठमाडाैं । महालेखा परीक्षकमा तोयम राया सिफारिस भएका छन् । संवैधानिक परिषद्को आइतबार बिहान बसेको बैठकले रायालाई महालेखा परीक्षकमा सिफारिस गर्ने निर्णय गरेको हो । उनलाई ६ वर्षे कार्यकालका लागि महालेखा परीक्षकमा सिफारिस गरिएको हाे । हाल उनी राष्ट्रिय तथ्यांक कार्यालयका सचिवकाे रूपका कार्यरत छन् । उनी पूर्व अर्थसचिव हुन् । राया २०७६ भदौमा सचिवमा बढुवा भएका थिए । उनीसँग अर्थ प्रशासनमा लामो समय काम गरेको अनुभव छ । विभिन्न कर कार्यालयको नेतृत्व गरेका उनीसँग त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार कार्यालयमा पनि काम गरेकाे अनुभव छ । गत जेठ ८ गते टंकमणि शर्मा सेवानिवृत्त भएपछि यो पद रिक्त रहेको थियो । संवैधानिक परिषदको सचिवालयले साउन २० गते महालेखा परीक्षक नियुक्त हुन इच्छुकहरुसँग आवेदन मागेको थियो। रायासहित १६ जनाले महालेखा परीक्षक बन्न दाबेदारी प्रस्तुत गरेका थिए। आवेदन दिनेहरूमा पूर्वसचिव शिशिरकुमार ढुंगाना, राममाया कुँवर, रामशरण पुडासैनी, गोपीनाथ मैनाली, हरि बस्याल, रामप्रसाद थपलिया, शंकर खरेल, बाबुराम गौतम थिए।