लगानी सम्मेलन : १००० लगानीकर्तालाई निमन्त्रणा गर्दा ६०ले मात्रै स्वीकारे, ज्याक माको जवाफ- ‘म आउँदिनँ’
काठमाडौं । सरकारले आगामी बैशाख १६ र १७ गते आयोजना गर्न लागेको तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा विदेशी ठूला लगानकर्ताको सहभागिता नहुने संकेत देखिएको छ । तेस्रो लगानी सम्मेलन निर्देशक समितिले विभिन्न देशका संघ, संस्था तथा व्यवसायिक समूहलाई सम्मेलनमा सहभागी हुनका लागि अनुरोध गरेपनि अधिकांश ठाउँबाट सहभागिता नहुने सन्देश आइरहेको छ । यसले पनि विदेशी ठूला उद्योगी व्यवसायीहरू सहभागी नहुने संकेत देखिएको हो । लगानी सम्मेलनमा बढी भन्दा बढी विदेशी लगानीकर्ताहरुलाई ल्याउने उद्देश्यले औपचारिक आमन्त्रण गर्ने काम पनि भइरहेको लगानी बोर्डले बताएको छ । लगानी सम्मेलनको लागि अहिलेसम्म विभिन्न देश, संस्था र लगानीकर्ता गरेर एक हजार भन्दा बढीलाई औपचारिक रूपमा निमन्त्रणा गरिसकेको लगानी बोर्डका प्रवक्ता प्रद्युमनप्रसाद उपाध्यायले बताए । उनका अनुसार आमन्त्रण गरिएका मध्ये अहिलेसम्म विभिन्न देशका ६० वटा संघ संस्था तथा व्यावसायिक समूहको तर्फबाट मात्रै सहभागिता जनाउने निश्चित भएको छ । प्रवक्ता उपाध्यायकाअनुसार विश्वको ठूलो देश मध्येको चिनियाँ लगानीकर्ता ज्याक माको फाउन्डेसनले पनि लगानी सम्मेलनमा सहभागिता जनाउन नसकिने सन्देश पठाइसकेको छ । यस्तै, भारतका ठूला लगानीकर्ता गौतम अडानी, मुकेश अम्बानी र उनीहरूको व्यावसायिक प्रतिनिधित्व पनि नहुने बुझिएको उपाध्यायले बताए । लगानी सम्मेलनमा एलन मस्क र उनको व्यावसायिक समूह पनि सहभागी हुने वा नहुने विषयको सन्देश लगानी बोर्डलाई प्राप्त भएको छैन । ‘चिनियाँ लगानीकर्ता ज्याकमा फाउन्डेसनले सहभागी हुन असमर्थ हुने जानकारी गराएको छ, मिडियामा गौतम अडानी, मुकेश अम्बानी, एलन मस्क लगायत सम्मेलनमा सहभागी हुने भन्ने विषय आइरहेको थियो । तर, हामीलाई कुनै औपचारिक जानकारी आएको छैन,’ उपाध्यायले भने, ‘हामीले ढिलो निमन्त्रणा गरेर पनि हुन सक्छ ।’ १३२ आयोजना प्रदर्शन गरिने तेस्रो लगानी सम्मेलनमा सरकारको तर्फबाट १३२ वटा विभिन्न आयोजना प्रदर्शन गरिने भएको छ । जसमध्ये तीन वटा आयोजना प्रोजेक्ट डेभलपमेन्ट एग्रिमेन्ट (पीडीए) गर्ने स्तरमा तयार भएको बोर्डका प्रवक्ता उपाध्यायले बताए । उनका अनुसार ती प्रोजेक्टमा दमक औद्योगिक पार्क, राइजिङ सोलार र मस्र्याङ्दी–२ जलविद्युत आयोजनालाई सम्मेलनमा पीडीए स्तरमा प्रस्तुत गरिनेछ । त्यस्तै, सम्मेलनमा डाबर नेपालको क्षमता विस्तार र विविधिकरणका लागि पीआईए हुनेछ । त्यसबाहेक १५ वटा आयोजना एक्प्रेसन अफ इन्ट्रेस्ट (इओआई)का लागि तयार गरिएको उपाध्यायले बताए । त्यसैगरी मार्केट साउन्डिङ प्रोजेक्ट ११ वटा, आइडिया स्तरका ३७ वटा आयोजना, २६ वटा प्रोजेक्ट लगानीको खोजीमा रहेका र २६ वटा विभिन्न आयोजनाहरु निजी क्षेत्रका रहेका छन् । स्थानीय स्तरका ४ वटा र अन्य विभिन्न ९ वटा आयोजनाहरू सम्मेलनमा प्रस्तुत गर्ने तयारी रहेको छ । प्रवक्ता उपाध्यायकाअनुसार अहिलेसम्म निजी क्षेत्रबाट ७ आयोजनाहरू सम्मेलनमा प्रस्तुत गरिने तयारी भएको छ भने १२ वटा आयोजना खनिज क्षेत्रका रहेका छन् । ‘सात वटा परियोजनाहरू निजी क्षेत्रबाट आएका छन्, १२ वटा परियोजना खनिज क्षेत्रका छन्,’ उनले भने, ‘ती क्षेत्रमा यति मात्रामा खनिज छ भन्ने अध्ययन भइसकेको छ, प्रतिस्पर्धाबाट छनौट गर्नेगरी प्रस्तुत गर्ने तयारी छ ।’ तर, सम्मेलनको अवधिसम्म आयोजनाहरूको संख्या बढ्न सक्ने प्रवक्ता उपाध्यायले बताएका छन् । अमेजिङले व्यवस्थापन गर्ने पाँच तारे सोल्टी होटेलमा हुने तेस्रो लगानी सम्मेलनमा स्टल निर्माणदेखि प्राविधिक पक्षको व्यवस्थापन अमेजिङ प्रालि ललितपुरले गने भएको छ । प्रवक्ता उपाध्यायकाअनुसार बेलायतको फरिन कमनवेल्थ डेभलपमेन्ट अफिसको फन्डिङमा हुने सो सम्मेलनमा सोही दाताले नै व्यवस्थापन पक्ष छनोट गरेको हो । ‘सम्मेलनमा प्राविधिक व्यवस्थापनको कामको लागि फन्डिङ गर्ने निकाय एफसीडीओले नै छनौट गरेको हो । तर, त्यसको सञ्चालन भने हामीले नै गर्ने हो, अमेजिङले यस भन्दा अगाडिका सम्मेलनको पनि व्यवस्थापन गर्दै आएको थियो,’ उनले भने ।
लगानीकर्ताले सेयर बेचेर सुन किनिरहेका हुन् ?
काठमाडौं । दिनप्रतिदिन सुनको मूल्य बढेर नयाँ रेकर्ड बन्दैछ । दैनिक मूल्य बढ्दा धेरैलाई सुनप्रति आकर्षण बढिरहेको छ । धेरैले अब सुनको मूल्य २ लाख पुग्ने तर्क पनि दिइरहेका छन् । यही प्रसंग कोट्याउँदै एक जना सेयर लगानीकर्ताले भने, ‘अब सेयर बेचेर सुन किन्छु,’ पछिल्लो एक सातामा सुनको मूल्य प्रतितोला साढे ६ हजार रुपैयाँ बढिसक्यो, एक वर्षअघि आजकै दिन प्रतितोला सुनको मूल्य १ लाख ९ हजार रुपैयाँ थियो, त्यतिखेर सुन किनेको थिएँ भने आज २४ हजार रुपैयाँ फाइदा हुन्थ्यो । तर, सेयर भने घटेको घट्यै छ ।’ उनले अझै हतार महसुस गरेका छैनन् । ढिलै भए पनि आफूसँग भएको सेयर बिक्री गरेर सुन खरिद गर्ने योजनामा उनी छन् । उनले बजारमा सुनको मूल्य छिट्टै २ लाख रुपैयाँ पुग्ने हल्ला रहेकोले अब सुन खरिद गर्ने योजना सुनाए । बुधबारको तथ्यांक हेर्ने हो भने सुनको मूल्य प्रतितोला १ लाख ३३ हजार रुपैयाँमा कारोबार भइरहेको छ । जुन हालसम्मकै उच्च मूल्य हो । ती सेयर लगानीकर्ताले जनेजस्तै के अहिले सेयर लगानीकर्ता आफूसँग भएको सेयर बिक्री गरेर सुनमा लगानी बढाइरहेका हुन् त ? यो जिज्ञासा हामीले सेयर लगानीकर्तासँग नै राख्यौं । अनुभवी सेयर लगानीकर्ता छोटेलाल रौनियार केहीले सेयर बिक्री गरेर सुन खरिद गरेको हुनसुक्ने भए पनि धेरैले त्यस्तो नगरेको बताए । यद्यपि, अहिले सेयर बजार घटिरहेको र सरकारले पनि यो क्षेत्र सुधारका लागि कुनै पहल नगरेकोले लगानीकर्ता अन्य क्षेत्रमा डाइभर्ट हुनु स्वाभाविक भएको बताए । ‘पुँजी बजारका समस्यै समस्या छन्, राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत कडाइ गर्छ, जो अर्थमन्त्री आएपनि लगानीकर्ताको मनोबल बढ्ने गरी काम गर्न सकेनन्, अझै पनि सुधार हुन सकेन भने हामीले पनि विकल्प सोच्नुपर्ने हुनसक्छ,’ उनले भने । उनका अनुसार अहिले सेयर लगानीकर्ता ठूलो समस्यामा छन् । लगानीकर्ताले विकल्प खोजिरहेका छन् । सेयर बजार घट्दा लगानीकर्ताले १८ खर्ब रुपैयाँभन्दा बढी गुमाइसकेको धारणा उनको छ । सेयर लगानीकर्ता राधा पोखरेल पनि सेयर बजारमा ठूलो गिरावट आइरहँदा लगानीकर्ताले विकल्पको रूपमा सुन खरिद गरिरहेको धारणा राखिन् । ‘सुन र सेयरमा आकाश पातालको फरक छ, सेयर बजारमा सुधार हुन सकियो भने राम्रो हुन्थ्यो, तरकारीभन्दा सेयर सस्तो छ । तर, बजार घट्दै जाँदा प्यानिक भएर लगानीकर्ताको मनोबल घटेपछि सुनमा लगानी गरेका हुन सक्छन्, सुनले अहिले लगानीकर्तालाई आकर्षित गरेको छ,’ उनले भनिन् । लगानीकर्ताहरू सेयर बिक्री गरेर सुनमा लगानी गरेको एथेष्ट तथ्यहरू भने भेटिँदैनन् । तर, बजारमा सुनको माग भने केही बढेको बैंकरहरू बताउँछन् । सरकारले बैंकहरूलाई दैनिक २० केजी सुन ल्याउन पाइने व्यवस्था गरेको छ । अहिले व्यवसायीबाट त्यो परिमाणको सुन माग भइहरेको बताउँछन् । भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको पहिलो ८ महिनामा १५ अर्ब २३ करोड ४१ लाख रुपैयाँको सुन आयात भएको छ । यसबाट सरकारले २ अर्ब २८ करोड ५१ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । गत वर्ष भने २२ अर्ब ३५ करोड ४५ लाख रुपैयाँको २९ लाख १६ हजार ५८६ किलो आयात भएको थियो । यो तथ्यांकले भने सुनमा लगानीकर्ताको आकर्षण बढेको देखाउँदैन । नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिकरत्न शाक्य पनि सेयर लगानीकर्ता सुनको मार्केटमा छिरेको बताउँछन् । ‘पुँजी बजारमा लगानी असुरक्षित छ, त्यसैले आफ्नो लगानी सुरक्षित गर्न सेयर लगानीकर्ताहरू सुनमा लगानी गर्न खोजिरहेका छन्, सुनमा लगानी गर्दा सुरक्षित हुन्छ, आफ्नो लगानी सुरक्षित गर्न विभिन्न विकल्प खोज्नु स्वाभाविक हो,’ उनले भने । तर, सुनको खरिदबिक्री भने सोचेजस्तो नभएको उनको भनाइ छ । सुनको मूल्य बढेको भए पनि कारोबार भने घटेको उनले बताए । ‘सुनको मूल्य बढ्दैमा कारोबार बढेको भन्ने हुँदैन, गत वर्षको तुलनामा सुनको कारोबार र आयात घटेको छ,’ उनले भने । किन बढिरहेको छ मूल्य ? सेयर बजार घटेर सुनको मूल्य बढिरहँदा पनि लगानीकर्ताको आकर्षण सुनको बजारमा भएको धारणा धेरैको छ । किनकि लगानीकर्ता जहाँ फाइदा हुन्छ, सोही बजारमा छिर्छन् । छोटो अवधिमा लगानी गरेर सीमित नाफा असुलेर जाने लगानीकर्ताहरूले अहिले सेयर बजारभन्दा पनि सुन रोजिरहेका छन् । किनकि सुनको मूल्य दैनिक बढिरहेको छ । सुनको मूल्य बढ्नुमा भने स्वदेशी कारणभन्दा पनि अन्तर्राष्ट्रिय कारणहरू बढी छन् । बजारमा वस्तुको माग र आपुर्तिको कारणले नै सुनको मूल्यमा उतारचढाव हुन्छ । जब अन्तर्राष्ट्रिय कमोडिटी बजारमा सुनको माग बढी हुन्छ, त्यसपछि मूल्य पनि बढ्ने गर्छ । आपूर्ति कम र माग बढी हुँदा सुनको मूल्य बढिरहेको हो । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूका अनुसार सुनको मूल्य बढ्नुको मूख्य कारण भनेको उच्च माग, अमेरिकी केन्द्रीय बैंक (फेड) को ब्याजदर, अमेरिकी डलरको प्रभुत्व कमजोर बनाउन चीनले सुनलाई महत्व दिनु र विश्वका केन्द्रीय बैंकहरूले विगतमा उच्च दरले खरिद बढाउनुले पनि सुनको मूल्य बढिरहेको हो ।
राष्ट्र बैंकका गभर्नर थप शक्तिशाली
काठमाडौं । नेपाल राष्ट्र बैंकले ‘नेपाल राष्ट्र बैंक निरीक्षण तथा सुपरिवेक्षण विनियमावली, २०७४’ लाई संशोधन गर्दै गभर्नरलाई थप शक्तिशाली बनाएको छ । राष्ट्र बैंकले सो विनियमावलीलाई संशोधन गर्दै राष्ट्र बैंकका गभर्नरको भूमिका, जिम्मेवारी र अधिकार दिएर बढाएर थप शक्तिशाली बनाएको हो । सो विनियमावलीलाई संशोधन गर्दै राष्ट्र बैंकले कुनै बैंक तथा वित्तीय संस्थाको कारवाही बाधा अड्काउ फुकाउमा गभर्नरको आदेशले नै कार्यान्वयनमा लैजान सक्ने व्यवस्था गरेको छ । सो संशोधित विनियमावलीको परिच्छेद ९ को दफा ४७ मा थपिएको छ, ‘यस विनियमावलीमा लेखिएका कुनै कुरा कार्यान्वयन गर्न कुनै बाधा अड्काउ परेमा गभर्नरले बाधा अड्काउ फुकाउन आवश्यक आदेश जारी गर्न सक्नेछ ।’ सोही दफाको उपदफा (१) मा भनिएको छ, ‘बाधा अड्काउ फुकाउने आदेश जारी गर्दा सो को कारण र औचित्य समेत खुलाउनु पर्नेछ ।’ राष्ट्र बैंकले यो व्यवस्था थप गरेको हो । नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ८४ को उप-दफा (१) को प्रयोजनको लागि दफा ११० को उप-दफा (२) को खण्ड (झ) ले दिएको अधिकार प्रयोग गरी नेपाल राष्ट्र बैंकको सञ्चालक समितिले यो नयाँ व्यवस्था लागू गरेको हो । विगतमा राष्ट्र बैंकको सञ्चालक समितिले यो निर्णय लिन्थ्यो । यस्तै, सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी गतिविधिमा वित्तीय लगानी निवारण सम्बन्धी विषयको विशेष निरीक्षण प्रतिवेदन, गैर-स्थलगत सुपरिवेक्षण इकाइले तयार गरेको वार्षिक प्रतिवेदन, सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी गतिविधिमा वित्तीय लगानी निवारण सम्बन्धी विषयको कार्यान्वयन प्रतिवेदन, महाशाखाको प्रतिवेदन कार्यान्वयन इकाइले तयार गरेको वार्षिक प्रतिवेदन, वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाले तयार गरेको प्रतिवेदनको समष्टिगत स्थलगत निरीक्षण प्रतिवेदन, विशेष निरीक्षण प्रतिवेदन र गैर-स्थलगत सुपरिवेक्षण इकाइले तयार गरेका वार्षिक प्रतिवेदनलाई पनि गभर्नरले स्वीकृतिका लागि अख्तियारी दिन सक्ने व्यवस्था गरिएको छ । विनियमावलीको परिच्छेद १ को (न) मा सम्पत्ति शुद्धीकरण निवारण सुपरिवेक्षण महाशाखा र वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखा स्थापनाको विषय उल्लेख छ । परिच्छेद २ को दफा ५ को (ख) मा वित्तीय बजार आचरणसम्बन्धी निरीक्षण तथा सुपरिवेक्षणको व्यवस्था थप गरिएको छ । ‘वित्तीय समावेशिता, वित्तीय साक्षरता, बजार आचरण तथा वित्तीय ग्राहक संरक्षणसम्बन्धी विषयको निरीक्षण तथा सुपरिवेक्षणको कार्य तोकिएको कार्य विवरण र कार्यविधिको अधिनमा रही वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाले गर्नेछ, त्यससँगै उक्त कार्यको लागि महाशाखाले छुट्टै कार्यविधि बनाई लागू गर्न सक्नेछ, महाशाखाले प्रुडेन्सियल सुपरभिजनसँग जोडिएका विषयमा सम्बन्धित सुपरिवेक्षण विभागसँग समन्वय गर्नेछ,’ संशोधित विनियमावलीको परिच्छेद १ को (न) मा भनिएको छ । परिच्छेद ७ को दफा ३३ को उपदफा ३ मा सम्बन्धित सुपरिवेक्षण विभाग हेर्ने डेपुटी गभर्नर नतोकिएको अवस्थामा बरिष्ठतम डेपुटी गभर्नरले समितिको अध्यक्षता गर्ने व्यवस्था थपिएको छ ।