नयाँ वर्षमा बाइक/स्कुटर किन्दै हुनुहुन्छ ? यस्ता छन् अफर

काठमाडौं । नयाँ वर्ष २०८१ को अवसरमा देशमा विभिन्न ब्रान्डका बाइक तथा स्कुटर बिक्रेता कम्पनीहरूले बम्पर अफर सार्वजनिक गरेका छन् । नयाँ वर्षको अवसरमा सवारीसाधन कम्पनी तथा डिलरहरूले धेरै किसिमका अफर सार्वजनिक गर्छन् । कम्पनीहरूले विभिन्न स्कुटर तथा मोटरसाइकल खरिदमा नगद छुटदेखि एक्सचेन्जसम्मका अफर सार्वजनिक गरेका हुन् । कुनै कम्पनीले ग्राहकलाई मर्मत सुविधा, १ लाखसम्म नगद छुट र अन्य सामानहरू उपहार पाइने योजना ल्याएका छन् । यस्ता छन् नयाँ वर्षको अवसरमा विभिन्न कम्पनीले सार्वजनिक गरेका योजनाहरू  बजाजले १ लाखसम्मको उपहार दिँदै बजाज मोटरसाइकलको नेपालका लागि अधिकृत वितरक हंसराज हुलासचन्द एण्ड कम्पनीले नयाँ वर्ष २०८१ को अवसरमा ‘नव आरम्भ’ योजना सार्वजनिक गरेको छ । बजाजले यस नयाँ वर्षमा ग्राहकहरुलाई विभिन्न आकर्षक छुट, उपहार र सुविधाहरू प्रदान गर्ने भएको छ । बजाजको ‘नव आरम्भ’ योजनाअन्तर्गत ग्राहकहरूले बजाजका कुनै पनि बाइक किन्दा आकर्षक छुट पाउनेछन् भने भाग्यशाली विजेताले १ लाखसम्मको नगद उपहार पनि जित्न सक्नेछन् । त्यसका साथै ग्राहकहरूले ३६ महिनाको इएमआई अफरमा पनि बजाज बाइक खरिद गर्न पाउनेछन् जसमा ग्राहकलाई किस्ताको रकम धेरै कम हुँन आउनेछ । त्यसैगरी ३० प्रतिशत डाउन पेमेन्टमा खरिद गर्ने विकल्प पनि ग्राहकहरुसँग उपलब्ध हुने कम्पनीले जनाएको छ । सुजुकीको ‘नयाँ वर्ष-२०८१ क्यास पाउँ एक्कासि’ योजना सुजुकी मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक आयतकर्ता तथा बिक्रेता भिजी अटोमोबमाइल्स प्रालिले नयाँ वर्षको अवसरमा नयाँ अफर ल्याएको छ । कम्पनीले मोटरसाइकल तथा स्कुटरको खरिदमा नयाँ वर्षमा, ‘नयाँ वर्ष २०८१ क्यास पाउँ एक्कासी’ योजना ल्याएको हो । यो योजनाअन्तर्गत ग्राहकहरुले प्रत्येक सुजुकी मोटरसाइकल तथा स्कुटरको खरिदमा १० हजार रुपैयाँ नगद छुट पाउने छन् । साथै, थप स्क्रयाच कार्डमार्फत एक लाख रुपैयाँसम्म नगद छुट वा कुनै पनि पुराना मोटरसाइकल तथा स्कुटरसँग नयाँ सुजुकी एक्सचेन्ज गर्दा बजार प्रचलित मुल्याङ्कनभन्दा थप मोटरसाइकलमा १५ हजार र स्कुटरमा २० हजार रुपैयाँ पाइने कम्पनीले जानकारी गराएको छ । त्यस्तै, फाइनान्समा शून्य प्रतिशत ब्याजदरमध्ये जुन ठिक लाग्छ त्यो ग्राहकहरुले आफै छनोट गर्न सक्ने कम्पनीले जनाएको छ । सुजुकीका कुनै पनि मोटरसाइकल वा स्कुटरको खरिदमा कम्पनीले ५ वर्षको इन्जिन वारेण्टीका साथै २० वटा सर्भिस कुपनको सुविधा पनि थप उपलब्ध हुने बताइएको छ । यो योजना २०८० चैत १४ गतेदेखि २०८१ जेठ १८ गतेसम्म लागु हुनेछ । बेनेली बाइक किन्दा शून्य प्रतिशत ब्याज र १ लाखसम्म छुट पाइने यो नयाँ वर्षमा बनेली बाइक ० (शून्य) प्रतिशत ब्याजमा पाइने भएको छ । केटिएम इन्टरनेसनल ट्रेडिङले नयाँ वर्ष २०८१ का लागि विषेश फाइनान्स योजना ल्याएको छ । यो योजनाअन्तर्गत १८० सिसि बाइक तथा स्कुटरमा २० मिनेटमा नै ० प्रतिशत ब्याजदरमा किस्ताबन्दीमा साधन खरिद गर्न सकिने छ । साथै, अरु मोडलका बाइकमा विशेष छुटको व्यवस्था पनि मिलाइएको छ । कम्पनीले मोडल हेरेर १५ हजारदेखि १ एक लाख रुपैयाँसम्मको छुट दिने भएको छ । क्रसफायर मोटरसाइकल किन्दा ३० हजारसम्म नगद छुट र एक्सचेन्ज बोनस क्रसफायर र इटालिका मोटोको नेपालका लागि आधिकारिक वितरक क्लासिक ह्विल्स एक्सपोर्ट एण्ड इम्पोर्ट प्रालिले नयाँ वर्ष अफर ल्याएको छ । कम्पनीले नयाँ वर्ष २०८१ मा ‘जोसिलो उमंग, क्रसफायर र मोटोलिकासँग’ स्लोगनसहित यो अफर ल्याएको हो । यस अफरअन्तर्गत यी दुई ब्राण्डका मोटरसाइकल र स्कुटर खरिद गर्दा ग्राहकले ३० हजासम्म नगद छुट र त्यत्ति नै रकम एक्सचेन्ज बोनस पाउनेछन् । साथै, लक्कि ड्रमार्फत हरेक साता डिस्काउन्ट भौचर र अन्य सुविधासमेत पाउन सकिने कम्पनीले जनाएको छ । यसैगरी इटालिका मोटोको नभडा र स्टालियन मोटरसाइकलमा ३० हजार नगद छुट र त्यत्ति नै रकम एक्सचेन्ज बोनस तथा फर्मूला स्कुटरमा २० हजार छुट र त्यत्ति नै रकम एक्सचेन्ज वोनस प्रदान गरिने जनाइएको छ । अफर क्रसफायरको नेपालभर सञ्चालनमा रहेका शोरुमममा उपलब्ध हुनेछ । १ रुपैयाँ खर्चमा २ वर्षसम्म होण्डा बाइक मर्मत गर्न पाइने होण्डा मोटरसाइकल र स्कुटरको नेपालका लागि आधिकारिक वितरक स्याकर ट्रेडिङ कम्पनीले नयाँ वर्ष अफर ल्याएको छ । उक्त अफरअन्तर्गत ग्राहकले तीनवटा प्याकेजबाट आफूलाई मनपर्ने स्किम छान्न पाउनेछन् । नयाँ वर्षमा होण्डा मोटरसाइकल र स्कुटर किन्दा ग्राहकले मात्र १ रुपैयाँको खर्चमा २ वर्षसम्म मर्मत सेवा पाउनेछन् । यसमा सर्भिसिङ, इन्जिन आयल र स्पेयर पार्ट्स निःशूल्क उपलब्ध हुनेछ । यो स्किम लिन नचाहने ग्राहकले स्क्र्याच र ५ वर्षसम्मको आकर्षक एएमसी प्याकेज छनोट गर्न सक्नेछन् । स्क्र्याच कार्डमार्फत १ लाखसम्मको नगद उपहार पाउन सकिने कम्पनीले जनाएको छ । अफर होण्डाको सबै सोरुममा उपलब्ध रहने जनाइएको छ । सेगवेका इ–स्कुटर किन्नदा नगद छुट र क्लब हिमालय नगरकोटमा बस्न पाउने सेगवे–नाइनबोटको नेपालका लागि आधिकारिक वितरक आइहब प्रालिले नयाँ वर्ष २०८१ को अवसरमा सेगवेका इ–स्कुटरहरूमा विशेष अफर ल्याएको छ । १९ चैतदेखि १८ वैशाखसम्म रहने यस योजना अवधिभित्र खरिद गरिने सेगवेका विभिन्न मोडलहरूमा ग्राहकहरूले विशेष नगद छुटको मजा लिन सक्नेछन् । साथै क्लब हिमालय नगरकोटमा एक रातको बसाई जित्ने शानदार मौका पाउने छन् । विशेष गरी ई१२५ र ई११०एल मा रु.२५,००० सम्म, ई१०० मा रु.२०,००० सम्म र एन१०० मा रु.१५,००० सम्म विशेष नगद छुट प्राप्त गर्न सकिने कम्पनीको भनाइ छ । यज्डी स्क्रयाम्ब्लर मोटरसाइकलको ‘जीवनमा एकपटक मात्र पाइने’ अफर यज्डी मोटरसाइकलको एक मात्र आधिकारिक विक्रेता अग्नि मोटोइंकले नयाँ वर्ष २०८१ को अवसरमा ‘जीवनमा एकपटक मात्र पाइने’ अफर ल्याएको छ । उक्त अफरमा हरेक राइडरले अविश्वसनीय क्यास ब्याक र सबैभन्दा ठूलो छुट पाउने कम्पनीको भनाइ छ । ग्राहकको उत्सुकतालाई साथ दिन नयाँ वर्षमा यज्डी स्क्रयाम्ब्लरमा अविश्वसनीय क्यास ब्याक र सबैभन्दा ठूलो छुट दिने योजना कम्पनीको छ । कम्पनीका अनुसार अन रोड र अफ रोड सबैतिर चलाउन सकिने यो शक्तिशाली यज्डी स्क्र्याम्ब्लर उत्कृष्ट राइडको अनुभव चाहनेलाई लक्षित गरी ल्याइएको हो । यस मोटरसाइकलमा बीएससिक्स इन्जिन, परिष्कृत स्लिपर क्लच र अधिकतम सुरक्षाका लागि स्विच गर्न मिल्ने डुअल च्यानल एबीएस राखिएको कम्पनीले बताएको छ ।

ब्याजदर घटाएर रिकभरीमा लागे विकास बैंक, कुनको ब्याज कति घट्यो ?

काठमाडौं । विकास बैंकहरूले बैशाख महिनाका लागि ब्याजदर घटाएका छन् । बैंकिङ क्षेत्रमा तरलता सहज हुँदै गएपछि विकास बैंकहरू पनि निरन्तर ब्याजदर घटाइरहेका छन् । निरन्तर घटिरहेको ब्याजदरलाई बैशाखमा पनि निरन्तरता दिएका हुन् । विकासन्युजलाई प्राप्त तथ्यांकअनुसार १५ वटा विकास बैंकहरूले मुद्दती निक्षेपमा औसत व्यक्तिगततर्फ ०.२४ प्रतिशत घटाएका छन् भने संस्थागततर्फ भने ०.०९ प्रतिशत ब्याजदर घटाएका छन् । बैशाखमा विकास बैंकहरूको औसत ब्याजदर व्यक्तिगततर्फ ७.०५ प्रतिशत छ भने र संस्थागततर्फको ७.०५ प्रतिशतमा झरेको छ । सप्तकोशी डेभलपमेन्ट बैंकका नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) कुमार खड्का बैंकहरूमा तरलता सहज भएकाले ब्याजदर घटाइएको बताउँछन् । उनका अनुसार अहिले ब्याजदर घटाएर बैंकरहरू रिकभरीमा जोड दिइरहेको उनको भनाइ छ । ‘विकास बैंकहरूमा प्रयाप्त तरलता छ । कर्जा निक्षेप अनुपात (सीडी रेसियो) कम्र्फटेबल छ । कर्जा प्रवाह खासै छैन । कर्जाको माग नै आएको छैन । त्यसैले बैंकहरूले ब्याजदर घटाएर रिकभरीमा फोकस भएका छन्,’ उनले भन् । एक्सलडेभलपमेन्ट बैंकका कम्पनी सचिव श्याम बहादुर बोहोराका अनुसार बैंकमा पैसा थुप्रिएर बसेको र जम्मा भएको पैसा लगानी हुन सकिरहेको छैन । एक्सलको सीडी रेसियो ८०/८१ प्रतिशतमा रहेको उनले बताए । कर्जाको माग पहिलाको तुलनामा कम भएकाले ब्याजदर घटाउनु परेको उनको भनाइ छ । ‘प्रादेशिक स्तरका विकास बैंकलाई व्यवसाय गर्न गाह्रो छ । प्रादेशिक बैंकलाई राम्रो व्यवसाय नै आउँदैन । राम्रो राम्रो व्यवसाय ठूला बैंकले लिन्छन्,’ उनले भने, ‘अर्थतन्त्र सुस्त रहेकाले व्यापारीहरू पनि गाह्रो अवस्थामा छन् । उद्योगी व्यवसायीहरूले पनि बैंकको ब्याज तिरेर लगानी गर्न सक्ने वातावरण बनेको छैन ।’ घरजग्गा र सेयर बजारमा बहार आएपछि अन्य क्षेत्र पनि चलायमान हुने गरेको उनले सुनाए । उनका अनुसार घरजग्गा र पुँजी बजार अहिले सुस्ताएका कारण उत्साह छाएको छैन । ग्रीन डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरि बहादुर खड्का सीडी रेसियो सहज भएकाले निक्षेपको ब्याजदर घटाएको बताउँछन् । अहिले बैंकहरूले ब्याजदर घटाएर रिकभरीमा जोड दिइरहेको उनले बताए । ब्याजदर घट्दा नयाँ ऋणीलाई कर्जा प्रवाह गर्न सहज हुने उनको भनाइ छ । ‘ब्याजदर घट्दा नयाँ ऋणीलाई कर्जा प्रवाह गर्न सजिलो हुन्छ । र, पुराना ऋणीलाई पनि राहत हुन्छ,’ उनले भने, ‘निक्षेपको ब्याजदर घट्दा बैंकको लागत पनि घट्न पुग्छ । लागत घटेपछि आधार दर पनि घट्छ । त्यसपछि कर्जाको ब्याजदर पनि घट्दा ऋणीलाई सहज हुन्छ । नयाँ उद्योग व्यवसाय खुल्न सकछन् ।’ सिन्धु विकास बैंकले व्यक्तिगततर्फ स्थिर राखेर ८.५१ प्रतिशत र संस्थागततर्फ ०.४० प्रतिशत घटेर ६.८१ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । यस्तै, सप्तकोशी डेभलपमेन्ट बैंकले व्यक्तिगततर्फ ०.५५ प्रतिशत घटाएर ८.५ प्रतिशत र संस्थागततर्फ ०.६० प्रतिशत घटेर ७.५ प्रतिशत ब्याजदर तोकेका छन् । महालक्ष्मी विकास बैंकले व्यक्तिगततर्फ ०.३५ प्रतिशत घटाएर ७.७५ प्रतिशत र संस्थागततर्फ ०.७० प्रतिशत घटेर ६.७५ प्रतिशत, कामना सेवा विकास बैंकले व्यक्तिगततर्फ ०.१५ प्रतिशत घटाएर ८ प्रतिशत र संस्थागततर्फ ०.३ प्रतिशत घटाएर ६.७५ प्रतिशत ब्याजदर तोकेका छन् । एक्सल डेभलपमेन्ट बैंकले व्यक्तिगततर्फ ०.१५ प्रतिशत घटाएर ८.२५ प्रतिशत र संस्थागततर्फ ०.२० प्रतिशत घटेर ७.२५ प्रतिशत, कर्पाेरेट डेभलपमेन्ट बैंकले ०.११ प्रतिशत घटाएर व्यक्तिगततर्फ ९ प्रतिशत र संस्थागततर्फ ८ प्रतिशत ब्याजदर तोकेका छन् । लुम्बिनी विकास बैंकले व्यक्तिगततर्फ ०.३० प्रतिशत घटाएर ७.७५ प्रतिशत र संस्थागततर्फ स्थिर राखेर ७.५ प्रतिशत, ज्योति विकास बैंकले व्यक्तिगततर्फ ०.३० प्रतिशत घटाएर ७.७५ प्रतिशत र संस्थागततर्फ ०.७० प्रतिशत घटाएर ६.७५ प्रतिशत, सांग्रिला डेभलपमेन्ट बैंकले व्यक्तिगततर्फ ०.३० प्रतिशत घटाएर ७.७५ प्रतिशत र संस्थागततर्फ ०.८० प्रतिशत घटाएर ६.२५ प्रतिशत ब्याजदर तोकेका छन् । गरिमा विकास बैंकले व्यक्तिगततर्फ ०.३० प्रतिशत घटाएर ७.७५ प्रतिशत र संस्थागततर्फ ०.१० प्रतिशत घटाएर ६.५० प्रतिशत, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले व्यक्तिगततर्फ ०.५५ प्रतिशत घटाएर ८.५ प्रतिशत र संस्थागततर्फ ०.६० प्रतिशत घटेर ७.५ प्रतिशत ब्याजदर तोकेका छन् । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक र मुक्तिनाथ विकास बैंकले ०.३० प्रतिशत घटाएर व्यक्तिगततर्फ ७.७५ प्रतिशत र संस्थागततर्फ ६.७५ प्रतिशत र कर्णाली डेभलपमेन्ट बैंकले ०.५ प्रतिशत ब्याजदर घटाएर व्यक्तिगततर्फ ९ प्रतिशत र संस्थागततर्फ ८ प्रतिशत ब्याजदर तोकेका छन् । विकास बैंकहरूले घटाएको ब्याजदर चैत १ गतेदेखि लागू हुनेछ ।

पैसा थुप्रिएपछि थप घट्यो बैंकहरूको ब्याज

काठमाडौं । बैशाख महिनाका लागि अधिकांश बैंकहरूले मुद्दती निक्षेपको ब्याजदर घटाएका छन् । पछिल्लो समय तरलता सहज हुँदै गएपछि निरन्तर ब्याजदर घटाउँदै आएका वाणिज्य बैंकहरूले बैशाखमा पनि घटाएका हुन् । बैंकहरूले घटाएको ब्याजदर २०८० बैशाख १ गतेदेखि लागू हुनेछ । पछिल्लो समय बैंकिङ क्षेत्रमा प्रयाप्त तरलता भएपछि बैंकहरूले ब्याजदर निरन्तर घटाइरहेका छन् । नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसी ५ खर्ब बढी लगानीयोग्य रकम रहेको र कर्जाको माग नभएपछि ब्याजदर घटाउनु परेको बताउँछन् । बैंकहरू पैसा थुप्रिएको र कर्जाको माग नआउँदा ब्याजदर घटाउन बाध्य छन् । बैंकहरूले सार्वजनिक गरेको ब्याजदर अनुसार मुद्दती निक्षेपमा औसत व्यक्तिगततर्फ ०.१ प्रतिशत घटेर औसत ७.१ प्रतिशतमा झरेको छ भने संस्थागततर्फ भने ०.१५ प्रतिशत घटेर ५.९ प्रतिशतमा झरेको छ । यसअघि चैतमा औसत ब्याजदर व्यक्तिगततर्फ ७.२५ प्रतिशत थियो भनेर संस्थागततर्फ ६.०५ प्रतिशत थियो । बैशाखमा २ बैंकले भने ब्याजदर बढाएका छन् । बैंशाखमा एभरेष्ट बैंक र एनएमबि बैंकले भने ब्याजदर बढाएका हुन् । एभरेष्ट बैंकले ०.५ प्रतिशत ब्याजदर बढाएर व्यक्तिगततर्फ ७ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । यसअघि चैतमा व्यक्तिगततर्फ ६.५ प्रतिशत र संस्थागततर्फ ५.५ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो । यस्तै, एनएमबि बैंकले ०.९७ प्रतिशत बढाएर व्यक्तिगततर्फ ७.९७ प्रतिशत र संस्थागततर्फ ६.९७ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । यसअघि चैतमा बैंकले व्यक्तिगततर्फ ७ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत ब्याजदर तोकेको थियो । बैशाखमा कृषि विकास बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी), स्ट्याण्डर्ड चार्टर्ड बैंक, हिमालयन बैंक, नबिल बैंक र प्रभु बैंकले ब्याजदर स्थिर राखेका छन् । कृषि विकासले व्यक्तिगततर्फ ५.६६६१ प्रतिशत र संस्थागततर्फ ४.५१ प्रतिशत, एनआईएमबीले व्यक्तिगततर्फ ७ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत, स्ट्याण्डर्ड चार्टर्डले व्यक्तिगततर्फ ७ प्रतिशत र संस्थागततर्फ ५.२५ प्रतिशत, हिमालयनले व्यक्तिगततर्फ ७.५ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत र, नबिलले व्यक्तिगततर्फ ७.२५ प्रतिशत र संस्थागततर्फ ६.२५ प्रतिशत र  प्रभु बैंकले व्यक्तिगततर्फ  ७.५ प्रतिशत र संस्थागततर्फ ६.५ प्रतिशत ब्याजदर तोकेका हुन् । यी बैंकहरूले चैतमा पनि सोही ब्याजदर नै तोकेका थिए । प्राइम बैंकको ०.१५ प्रतिशत ब्याजदर घटाएर व्यक्तिगततर्फ ७.१ प्रतिशत तोकेको छ भने संस्थागततर्फ ६.१ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । यसअघि चैतमा संस्थागततर्फ ७.२५ प्रतिशत र व्यक्तिगततर्फ ६.२५ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो । नेपाल एसबिआई बैंकले ०.४८ प्रतिशत घटाएर व्यक्तिगततर्फ ६.५३ प्रतिशत र संस्थागततर्फ ५.५३ प्रतिशत ब्याजदर तोकेको छ । यसअघि चैतमा बैंकले व्यक्तिगततर्फ ७.०१ प्रतिशत र संस्थागततर्फ ६.०१ प्रतिशत ब्याजदर तोकेको थियो । कुमारी बैंकले ०.२५ प्रतिशत ब्याजदर घटाएर व्यक्तिगततर्फ ७.२६ प्रतिशत र संस्थागततर्फ ६.२६ प्रतिशत ब्याजदर तोकेको छ । यसअघि चैतमा व्यक्तिगततर्फ ७.५१ प्रतिशत र संस्थागततर्फ ६.५१ प्रतिशत ब्याजदर निर्धारण थियो । लक्ष्मी सनराइज बैंकले ०.५० प्रतिशत घटाएर व्यक्तिगततर्फ ७ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । यसअघि चैतमा व्यक्तिगततर्फ ७.५ प्रतिशत र संस्थागततर्फ ६.५ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो । सानिमा बैंकले ०.१५ प्रतिशत ब्याजदर घटाएर व्यक्तिगततर्फ ७.१० प्रतिशत र संस्थागततर्फ ६.१० प्रतिशत ब्याजदर निर्धारण गरेको छ । यसअघि बैंकले चैतमा व्यक्तिगततर्फ ७.२५ प्रतिशत र संस्थागततर्फ ६.२५ प्रतिशत ब्याजदर निर्धारण थियो । राष्ट्रिय वाणिज्य बैंकले व्यक्तिगततर्फ ०.४५ प्रतिशत घटाएर ६.५५ प्रतिशत र संस्थागततर्फ ५.३५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । यसअघि चैतमा बैंकले व्यक्तिगततर्फ ७ प्रतिशत र संस्थागततर्फ ५.३५ प्रतिशत ब्याजदर निर्धारण थियो । नेपाल बैंकले ०.२५ प्रतिशत घटाएर व्यक्तिगततर्फ ६.७५ प्रतिशत र संस्थागततर्फ ४.७५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । यसअघि चैतमा व्यक्तिगततर्फ ७ प्रतिशत र संस्थागततर्फ ५ प्रतिशत ब्याजदर तोकेको थियो । ग्लोबल आइएमई बैंकले ०.६ प्रतिशत घटाएर व्यक्तिगततर्फ ७ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । चैतमा बैंकले व्यक्तिगततर्फ ७.६ प्रतिशत र संस्थागततर्फ ६.६० प्रतिशत ब्याजदर तोकेको थियो । मछापुच्छ्रे बैंकले ०.५ प्रतिशत घटाएर व्यक्तिगततर्फ ७.२५ प्रतिशत र संस्थागततर्फ ५.५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । यसअघि चैतमा व्यक्तिगततर्फ ७.२५ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो । सिद्धार्थ बैंकले व्यक्तिगततर्फ ०.२५ प्रतिशत घटाएर ७.२५ प्रतिशत र संस्थागततर्फ ०.५ प्रतिशत घटाएर ६ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । यसअघि चैतमा बैंकले व्यक्तिगततर्फ ७.५ प्रतिशत र संस्थागततर्फ ६५ प्रतिशत ब्याजदर तोकेको थियो । सिटिजन्स बैंकले व्यक्तिगततर्फ ०.२५ प्रतिशत घटाएर ७.५ प्रतिशत र संस्थागततर्फ ६.५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । यसअघि चैतमा बैंकले व्यक्तिगततर्फ ७.७५ प्रतिशत र संस्थागततर्फ ६.५ प्रतिशत ब्याजदर तोकेको थियो । एनआईसी एशिया बैंकले व्यक्तिगततर्फ ०.८ प्रतिशत घटाएर ७.७५० प्रतिशत र संस्थागततर्फ ०८४८ प्रतिशत घटाएर ६.७० प्रतिशत ब्याजदर निर्धारण गरेको छ । यसअघि चैतमा बैंकले व्यक्तिगततर्फ ८.५४८ प्रतिशत र संस्थागततर्फ ५.५४८ प्रतिशत ब्याजदर तोकेको थियो ।