बढ्दो प्रविधिमैत्री शिक्षा, शिक्षकलाई चुनौती
काठमाडौं । एक समय थियो विद्यालयमा शिक्षक लठ्ठी बोकेर आउने र कालोपाटीमा चक डस्टरको प्रयोग गर्दै पढाउने । अनि, विद्यार्थीले त्यही अनुसार घोक्नु पर्ने । तर, अहिले समय फेरिएको छ । चक डस्टर प्रयोग घट्दै गएको छ । कतिपय विद्यालयमा विद्यार्थी किताब बोकेर विद्यालय जानुको सट्टा अहिले ल्यापटप बोकेर जाने गरेका छन् । यतिसम्म कि अब किताबमा लेखिएका कुरा घोकेर पढ्नुपर्ने अवस्था पनि रहेन । किन कि भिडिओ, अडियो मार्फत विद्यार्थी आफै हेर्दै सुन्दै मनोरञ्जनात्मक तरिकाले अध्ययन गर्न थालेका छन् । यसकारण अब शिक्षामा प्रविधि नौलो कुरा रहेन । अहिले विश्व प्रविधिमै रमाइरहेको बेला नेपाली शिक्षामा पनि प्रविधिको प्रयोग भइरहेको पाइन्छ । सामुदायिक विद्यालयदेखि निजी विद्यालय कलेजहरूमा प्रविधिको प्रयोग बढ्दो छ । अहिले आर्टिफिसियल इन्टेलिजेन्स (एआई), मेटाभर्स जस्ता प्रविधिले पनि शिक्षामा चर्चा बटुलिरहेका छन् । नेपालमा पनि ‘माइ सेकेण्ड टिचर’, ‘निमा एकेडेमी’, ‘एम्बिसन गुरु’ लगायतका विभिन्न संस्थाले प्रविधिबाटै शिक्षामा जोड दिइरहेका छन् । शिक्षालाई प्रविधिमा जोडिरहेका ‘निमा एकेडेमी’ नेपाली शिक्षामा प्रविधिको प्रयोग गरिरहेको संस्था मध्येको एक हो ‘निमा एकेडेमी’ । यो डिजिटल लर्निङ प्लेटफर्म हो । परम्परागत शिक्षा प्रर्णाली डिजिटलाइज गर्ने उद्देश्यले सन् २०१८ मा स्थापना भएकोे निमा एकेडेमीले इन्टरनेट मार्फत विद्यार्थी र शिक्षकलाई पठनपाठनमा सहयोग गरिरहेको छ । यसले विद्यार्थीले सहज तरिकाले बुझ्ने गरी शिक्षण सामाग्री प्रदान गर्नेे काम गरिरहेको छ । यो एकेडेमीमा अहिले करिब २ सय विद्यालयहरू जोडिएका छन् । एकेडेमीले पाठ्यक्रम विकास केन्द्रबाट मान्यता प्राप्त कक्षा १ देखि १० सम्मका शिक्षण सामाग्री उपलब्ध गराइरहेको छ । त्यस्तै, कक्षा ११ र १२ सँगै त्योभन्दा माथिका कोर्सलाई पनि समावेश गर्ने तयारी उक्त एकेडेमीको छ । एकेडेमीले विस्टिम र लेट्स रिड एशियाका शैक्षिक सामाग्री, कोर्स लगायतका विभिन्न सामाग्रीहरु आफ्नो वेवसाइट र एपमा निःशुल्क उपलब्ध गराएको छ । यसका कोर्समा गेम, क्वीज, टेस्ट आर्टिकल समावेश गरिएका छन् । यो एकेडेमीले पठनपाठनलाई रमाइलो र अन्तर्क्रियात्मक तरिकाले विद्यार्थीलाई सिकाउने काम गर्दै आएको छ । डिजिटल शैक्षिक प्लेटफर्म ‘एम्बिसन गुरु’ एम्बिसन गुरु एउटा डिजिटल शैक्षिक प्लेटफर्म हो । यसले आर्टिफिसियल इन्टेलिजन्स (एआई) मार्फत विद्यार्थीलाई अध्यापन गराइरहेको छ । विद्यार्थीले यसलाई पढ्ने र सिक्ने माध्यमको रूपमा उपयोग गर्न सक्छन् । एम्बिसन गुरुले छोटो समयमै विद्यार्थीको मन जितेको छ । यो प्लेटफर्ममा अहिले मासिक एक लाख २० हजार विद्यार्थी अध्ययन गर्छन् । यसले विद्यार्थीको प्रोफाइल तयारदेखि लिएर क्रियाकलापका आधारमा रिपोर्ट तयार पार्छ । त्यही रिपोर्टले विद्यार्थीलाई कसरी अध्यापन गराउने भन्ने विषय निर्धारण गरेर सिकाइन्छ । परम्परागत तरिकाको पढाइलाई परिवर्तन गर्न नयाँ प्रविधिको प्रयोग गर्न यो प्लेटफर्म तयार पारेको एम्बिसन गुरुको दाबी छ । यो प्लेटफर्ममा चिकित्सा शिक्षा आयोग र इन्जिनियरिङ अध्ययन संस्थानले प्रवेश परीक्षा सम्बन्धी प्याकेज छ । यस्तै, राष्ट्रिय परीक्षा बोर्डले तयार पार्ने पाठ्यक्रममा आधारित सामाग्री पनि यो प्लेटफर्ममा पाइन्छ । यसमा प्रयोग गरिएको एआईले पढाइको गुणस्तर सुधार्ने काम गर्छ । यसका लागि एआईले विद्यार्थीलाई पाठबाट प्रश्न सोध्छ । यसरी विद्यार्थीको क्षमता रुची पत्ता लगाएर कुन कुरामा बढी जोड दिने भन्ने सल्लाह पनि यो प्लेटफर्मले दिँदै आएको छ । माइसेकेण्ड टिचर नेपालको शिक्षामा परिवर्तन ल्याउने उद्देश्य सहित ई–लर्निङ प्लेटफर्म ‘माइसेकेण्ड टिचर’ सञ्चालनमा आएको छ । शिक्षामा आधुनिक प्रविधि प्रयोग आवश्यक रहेको भन्दै यसले नेपाली शिक्षामा काम गरिरहेको छ । विभिन्न विषयमा समसामयिक अवधारणा, पाठ्क्रम विषयवस्तु र दैनिक जीवनका अनुभवहरूलाई दैनिक पद्धतीसँग जोड्न यसले काम गरिरहेको छ । क्याम्ब्रीज स्कुल सिंगापुरले तयार पारेको यो प्लेटफर्म अहिले नेपालका विभिन्न विद्यालय र विद्यार्थीले प्रयोगमा ल्याएका छन् । ‘माइ सेकेण्ड टिचर’ ले उत्पादन गरेका कोर्षहरू धेरै विद्यालयले पढाइरहेका छन् । यसमा शिक्षक विद्यार्थीको रोचक संवादमा आधारित अन्तरक्रियात्मक भिडियो सामग्रीहरू राखिएका हुन्छन् । नबुझेका विषय शिक्षकसँग अनलाइन र व्यक्तिगत रूपमै सोध्न मिल्ने, सजिलै उपलब्ध अनलाइन ट्युटर सेवा, प्रत्येक विद्यार्थीको सही मू्ल्यांकन गर्न आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग गरी बनाइएको डाइगोनोस्टिक रिपोर्ट, कुनै पनि समयमा आफ्नो क्षमता परीक्षण गर्न मिल्ने टेस्ट पेपरलगायतका थुप्रै विशेषताहरू माइ सेकेण्ड टिचरमा रहेको छ । यसरी भिडियो र अडियोबाट शिक्षा ग्रहण गर्न पाउँदा विद्यार्थीलाई पनि सहज भएको छ । काठ्माडौंमा रहेको काव्य स्कुलले माइ सेकेण्ड टिचरसँग साझेदारी गर्दै उसले उत्पादन गरेका कोर्स पनि पढाइरहेको छ । कक्षा ११ र १२ मा माइ सेकेण्ड टिचरका कोर्सहरू पढाइरहेको विद्यालयको मिडिया विभागका रिजन खड्काले बताए । इन्टरनेटमार्फत मोबाइल कम्प्युटरबाट पढ्न पाउँदा विद्यार्थीलाई पनि सजिलो हुने गरेको उनी बताउँछन् । दाङको राप्ती गाउँपालिकामा रहेको आदर्श माविमा यो वर्षदेखि माइसेकेण्ड टिचरका कोर्सहरू पढाइ हुन थालेको छ । साइन्स, अंग्रेजी, गणित लगायतका कोर्सहरू भिडिओमा पढ्न पाइन्छ । सधै पाठ्क्रममा भएका विषयहरू पढिरहेका विद्यार्थीलाई भिडियो, अडियो मार्फत पढाइ हुँदा सजिलो भएको छ । भिडियो हेरेर सिक्न मिल्ने हुँदा विद्यार्थीलाई सहज भएको विद्यालयका प्रधानाध्यापक किरण पोख्रेलले बताए । पढाइमा सहज भए पनि सबै विषय यसमा समावेश नहुँदा भने समस्या भएको उनको भनाइ छ । उनी भन्छन्, ‘सम्झौता गर्दा सबै विषयवस्तु उपलब्ध गराउने कुरा थियो तर अहिलेसम्म पुरा कोर्स पाउन सकेका छैनौं, अहिले आधा प्रोजेक्ट र आधा पाठ्यक्रमको विषयहरू पढाइ रहेका छौं । उसो त विद्यालयले विगत दुई वर्षदेखि आफै प्रोजेक्टमार्फत विद्यार्थीलाई सिकाउँदै आएको थियो । यो वर्षदेखि माइ सेकेण्ड टिचरलाई ५० हजार रुपैयाँ तिरेर उसको कोर्स सुरु गरेको विद्यालयले जनाएको छ । आदर्श मावि जस्तै पालिकामा रहेका कक्षा १२ सम्म पढाइ हुने सबै माध्यामिक विद्यालयमा माइ सेकेण्ड टिचर कार्यक्रम सुरू भएको पालिकाका शिक्षा विभाग प्रमुख विश्वास विकले बताए । उनी यो कार्यक्रम लागु गरे यता विद्यार्थी र शिक्षकलाई समेत प्रविधिको विषयमा थप ज्ञान प्राप्त गर्न सहज भएको बताउँछन् । अहिले देशभरका विभिन्न विद्यालय कलेजहरूले कुनै न कुनै रुपमा शिक्षालाई प्रविधिसँग जोडेका छन् । काठमाडौंको ज्ञानेश्वरमा रहेको आइएसटी कलेजले पनि प्रोजेक्टमार्फत विद्यार्थीलाई सिकाउने गरेको छ । कलेजका प्रधानाध्यापक सम्झना बस्न्यातका अनुसार कलेजले भेडा एपमार्फत विद्यार्थीलाई शिक्षा प्रदान गरिरहेको छ । भेडा एक सफ्टवेर हो । यसले नेपालको शिक्षा क्षेत्रमा प्रविधिसहित विद्यार्थी र शिक्षकलाई पठनपाठन गर्न सहज बनाइरहेको छ । अहिले यसमा एक हजार बढी विद्यालयले यो सफ्टवेर प्रयोग गरिरहेका छन् । शिक्षालाई डिजिटलाईज गर्न शिक्षक विद्यार्थीहरूबीच ज्ञान बाँडफाँडमा यसले सुधार गर्ने प्रयास गर्छ । यही एपको प्रयोग मार्फत आइएसटी कलेजले अध्यापन गराइरहेको बस्नायतले बताइन् । उसो त अहिले सबै जसो कलेजले यस्ता विभिन्न प्रविधिको प्रयोग गरिरहेका छन् । नेपाली विद्यार्थी आफै पनि अहिले थेसिस् लेख्नदेखि अरु विषयहरु सिक्न च्याट जीपीटी र एआईको प्रयोग गर्ने गरेका छन् । प्रविधिमैत्री अबको शिक्षा काठमाडौंको मदन भण्डारी कलेजमा एआईको विषयमा अध्यापन गराउँदै आएका रविराज बराल प्रविधि विद्यार्थीहरूका लागि अहिलेको सबैभन्दा अति महत्वपूर्ण हुने बताउँछन् । किताबी ज्ञान जति विद्यार्थीका लागि आवश्यक हो त्योभन्दा बढी अब प्रविधि सम्बन्धीको ज्ञान हुनु आवश्यक रहेको उनको भनाइ छ । अहिले नेपालका सरकारी तथा निजी कलेजमा प्रविधिबाट पढाइ हुने क्रम बढेको बताउँदै उनले यस्तो शिक्षाले नेपाली विद्यार्थीलाई विश्वका जुनसुकै क्षेत्रमा गएर काम गर्न सहज हुने दावी गरे । शिक्षाका जानकारहरू पनि अहिलेको युगमा विद्यार्थीका लागि प्रविधि निकै आवश्यक रहेको बताउँछन् । शिक्षाविद् विद्यानाथ कोइराला अब प्रविधिसँग जोडिन नसकेका विद्यार्थीको काम नभएको बताउँछन् । अहिले विश्व प्रविधिमा च्याट जीपीटी, एआई लगायतका प्रविधि आइसकेको बताउँदै उनले यस्तो बताए । प्रविधिको प्रयोगविना बजारमा प्रतिस्पर्धा गर्न विद्यार्थी र शिक्षक दुवैलाई उत्तिकै चुनौती छ । साथै, अहिलेको युगका विद्यार्थीलाई पढाउन सक्नु शिक्षक सामु पनि ठूलो चुनौति देखिएको उनको भनाइ छ । विद्यालयमा ल्यापटप विद्यार्थीहरूलाई आधुनिक शिक्षामा जोड्न एक ताका ल्यापटप वितरणको लहर नै चल्यो । कतिपय स्थानीय सरकार अहिले पनि ल्यापटम वितरणसम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गरिरहेका छन् । कतिपयले शिक्षकलाई ल्यापटप दिएका छन् भने कतिपय पालिकाले विद्यार्थीहरूको लागि नै प्रविधि हस्तान्तरण गरेका छन् । सानै उमेरदेखि विद्यार्थीलाई कम्प्युटर चलाउन सिकाउने, लेख्न सिकाउने काम विद्यालयमा भइरहेका छन् । २०७८ सालमा कर्णाली प्रदेशको सुर्खेतमा रहेको विरेन्द्रनगर नगरपालिकाले पालिकाभित्र रहेका ६४ वटा सामुदायिक विद्यालयलाई ल्यापटप वितरण गरेको थियो । विद्यालयको पठनपाठनलाई प्रविधिसँग जोड्दै कागजबिहीन शिक्षापद्धतीको विकासलाई टेवा पुर्याउन भन्दै ७ सय ५३ वटै स्थानीय सरकारले आ–आफ्नो पालिकाका सामूदायिक विद्यालयलाई ल्यापटप वितरण गरेका थिए । तर, समस्या प्राय शिक्षकहरू अहिले पनि ल्यापटप चलाउन जान्ने अवस्थामा छैनन् । शिक्षाविद् कोइराला त्यस्ता पुराना शिक्षकले पनि अहिलेको प्रविधि सिक्न आवश्यक रहेको बताए । शैक्षिक गुणस्तर र शिक्षण सिकाइ फलदायी बनाउन शिक्षामा प्रविधिको उच्चतम प्रयोग गर्नुपर्ने उनी बताउँछन् । प्राथमिक वा आधारभुत तहबाटै प्रविधिमा आधारित शिक्षा प्रदान गर्न सुरू गर्ने हो भने शिक्षाको गुणस्तरमै सहयोग पुग्ने विज्ञहरू बताउँछन् । शिक्षकलाई नै चुनौती अहिले च्याट जीपीटी आक्रामक रूपमा विश्व बजारमा छाइरहेको छ । विद्यार्थीले पढ्नै नपर्ने गरी सबै उत्तर त्यही भेटिन्छ । यस्तो अवस्थामा कतिपय शिक्षकहरूलाई नै पढाउन हम्मे पर्ने गरेको छ । पढाउन नसक्ने शिक्षकसामु पनि प्रविधिले उत्तिकै चुनौती थपेको छ । कि विद्यार्थीबाट आफुले सिक्नुपर्ने, कि जागिर छोड्ने पर्ने अवस्था नेपालका सामुदायिक विद्यालयमा आएको जानकारहरू बताउँछन् ।
चैत मसान्तको रिपोर्ट खराब निस्कँदै, एनबीएले खाने भयो बैंकको नाफा
काठमाडौं । पछिल्लो समय बैंकिङ क्षेत्रमा प्रयाप्त तरलता र ब्याजदर निरन्तर घट्दा पनि व्यवसाय भने खासै बढ्न नसकेको बैंकरहरू बताउँछन् । विगतमा बैंकिङ प्रणालीमा तरलता अभाव हुँदा ब्याजदर उच्च भएको थियो । उच्च ब्याजदरमा कर्जा लगानी नहुँदा व्यवसाय वृद्धिमा ब्रेक लागेको थियो भने खराब कर्जा (एनपीएल) बढेको थियो । तर, यतिबेला बैंकिङ प्रणालीमा पर्याप्त लगानीयोग्य रकम र ब्याजदर एकल अंकमा हुँदा पनि व्यवसाय उत्साहजनक हुन नसकेको बैंकहरू बताउँछन् । चालु आर्थिक वर्ष २०८०/८१ तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्ने अन्तिम तयारीमा रहेका बैंकरहरू धितो बिक्री नहुँदा बैंकमा गैर बैंकिङ सम्पत्ति (एनबीए) थुप्रिएको बताउँछन् । चालु आर्थिक वर्ष ९ महिनाको अवधिमा बैंकको एनपीएल अझै बढ्ने र नाफामा असर गर्ने बैंकरहरूको भनाइ छ । अर्थतन्त्रमा देखिएको समस्या र उच्च ब्याजदरका कारण ऋणीहरूले समयमा कर्जा तिर्न सकेनन् । ऋणीहरूले समयमा कर्जाको साँवा ब्याज तिर्न नसकेपछि धितोका रूपमा राखिएको घरजग्गा, सुन लगायत बैंकहरूले लिलामीमा राखे । उक्त धितो लिलामी बिक्री नहुँदा बैंकहरू आफै सकार्न बाध्य भएपछि तेस्रो त्रैमासको वित्तीय प्रतिवेदनमा गैर बैंकिङ सम्पत्तिको पोर्टफोलियो बढ्ने हिमालयन बैंकका बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सुनिल गोर्खाली बताउँछन् । बिक्री नभएपछि बैंकहरू लिलामीमा राखिएको धितो आफै सर्कान बाध्य भएको उनको भनाइ छ । उनका अनुसार खराब कर्जा (एनपीएल) घटे पनि एनबीए बढ्दा सेयरधनीहरूले पाउने (वितरणयोग्य) नाफा घटाउँछ । ‘ऋणीहरूले पैसा नतिरेपछि बैंकहरूले धितो लिलामी गर्नुपर्याे, लिलामीमा राखेको धितो कसैले नकिनेपछि बैंकहरू आफैंले सकार्नुपर्छ, अहिले बैंकहरूमा यस्तो सम्पत्ति थुप्रएको छ,’ उनले भने, ‘गैर बैंकिङ सम्पत्ति बढ्दा वितरणयोग्य नाफामा असर गर्छ, जबसम्म त्यो सम्पत्ति बिक्री हुँदैन तबसम्म उक्त पैसा वितरण गर्न मिल्दैन, त्यसलाई नाफाबाट घटाउनुपर्छ, जस्तो १ अर्ब नाफा र एनबीए ५० करोड रुपैयाँ छ भने त्यो ५० करोड रुपैयाँ नाफाबाट घटाउनुपर्छ ।’ उनका अनुसार बैंकहरू धमाधम गैर बैंकिङ सम्पत्ति बेचिरहेका छन् । तेस्रो त्रैमासको वित्तीय विवरणमा बैंकहरूको एनपीएल सामान्य बढ्ने उनको भनाइ छ । अहिले अर्थतन्त्रको बाह्य क्षेत्र सुधारोन्मुख भए पनि आन्तरिक सूचक कमजोर रहेको उनले बताए । ‘दोस्रो त्रैमासको तुलनामा तेस्रो त्रैमासमा सुधार भएको देखिन्छ, बाह्य क्षेत्रतर्फ रेमिट्यान्स, विदेशी मुद्रा बढेको छ, आन्तरिक अर्थतन्त्रलाई सुधार गर्ने हो भने राम्रो हुने देखिन्छ,’ उनले भने, ‘एनपीएल प्वाइन्ट एक/दुई प्रतिशतले बढ्न सक्छ, अहिले नै कुनै पनि बैंकको एनपीएलमा ठूलो सुधार भएको छैन, एनपीएल बढ्दा नाफामा केही असर पर्छ ।’ खराब कर्जा अनुसारको रकम प्रोभिजिङ गर्नुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ । जसका कारण नाफामा स्वतः असर पर्छ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत (सिनियर डीसीईओ) महेश शर्मा ढकाल तेस्रो त्रैमासमा बैंकहरूको ब्यालेन्ससिट दोस्रो त्रैमास जस्तै आउने बताउँछन् । तेस्रो त्रैमासबाट सुधार हुने अपेक्षा गरेको भए पनि खासै सुधार हुन नसकेको उनको भनाइ छ । ‘चैतमा सहज हुने अपेक्षा थियो, तर खासै सहज अवस्था छैन, यसपटक बैंकहरूको खराब कर्जा सामान्य बढ्ने देखिन्छ, एनपीएल बढेपछि स्तवः बैंकको नाफामा असर गर्छ, किनभने एनपीएल बढ्दा प्रोभिजन राख्नुपर्छ,’ उनले भने, ‘अघिल्लो २ क्वार्टरलाई पनि भाग लगाउने हो भने तेस्रो त्रैमास खासै उत्साहजनक छैन ।’ बैंकहरूले बाध्य भएर गैर बैंकिङ सम्पत्ति सकार्नुपरेको उनको भनाइ छ । गैर बैंकिङ सम्पत्ति बिक्री भएपछि मात्रै कर्जा असुल भएको मानिने उनले बताए । ‘लिलामीमा राखेको धितो बिक्री नभएर आफैं सकार्दा यस्तो सम्पत्ति बढ्यो, गैर बैंकिङ सम्पत्तिका रूपमा सकार्नु समस्याको समाधान होइन, बाध्यात्मक व्यवस्था भएर लिनु परेको हो, किनभने पैसा नउठेपछि गैर बैंकिङमा भएपनि लिनुपर्छ,’ उनले भने, ‘गैर बैंकिङ सम्पत्ति बिक्री भएपछि कर्जा नगदमा असुल भए सरह हो, ऋण दिँदा नगद पैसा दिनुपर्छ, त्यसैले बिक्री भएर नगद पछि मात्रै प्रभावकारी रूपमा कर्जा उठेको मानिन्छ ।’ राष्ट्रिय वाणिज्य बैंकको कायमुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ) देवेन्द्ररमण खनाल बैंकको ब्याजदर घटिरहेकाले आगामी दिनमा सुधार हुने बताउँछन् । तर, अघिल्लो क्वार्टरबाट तेस्रो क्वार्टरमा आउँदा बैंकहरूको उत्साह ब्यालेन्ससिट नआउने उनले बताए । ‘अहिले कर्जा पुनरसंरचना गरेको हुँदा एनपीएल त्यति धेरै बढ्दैन, नाफा राम्रो पोजिसनमा आउने अवस्था छैन, १० प्रतिशत ब्याज तिरेर पुनर्संरचना गर्दा नाफामा स्वतः असर गर्छ,’ उनले भने, ‘जबसम्म ब्याज असुल हुँदैन तबसम्म नाफा बढ्न सक्ने स्थिति छैन । तर, समग्रमा गति लिने अपेक्षा छ ।’ अर्थतन्त्र सुधारको संघारमा रहेकाले बैंकिङ क्षेत्र पनि सुधार हुँदै जाने आशा रहेको उनले बताए ।
चकलेटको भाउले कीर्तिमान कायम गर्नुमा जलवायु परिवर्तन जिम्मेवार छ ?
काठमाडौं । चकलेट शताब्दीयौंदेखि विश्वभरि मनपर्ने चीज हो । तर, फेब्रुअरी २०२४ मा चकलेटको मूल्यले कीर्तिमान हासिल गरेको छ । अर्थात्, मूल्यवृद्धि भएको छ । चकलेटमा प्रयोग हुने कोकोको मूल्य अमेरिकी बजारमा प्रतिटन दोब्बर बढेर ५ हजार ८ सय ७४ डलर पुगेको छ । त्यसयता निरन्तर भाउ बढ्दै गएको छ । यो वृद्धिका कारण कोको उत्पादनमा गिरावट हुन सक्छ । विश्वमा आपूर्ति हुने अधिकांश कोको दुई पश्चिमी देशहरूमा उत्पादन गरिन्छ, जहाँ किसान जलवायु परिवर्तनको प्रभावसँग संघर्ष गरिरहेका छन् । त्यहाँको मौसम परिवर्तनले कोको उत्पादनमा निकै नराम्रो प्रभाव पारेको छ । तर, यसबाहेक ती किसानले अन्य चुनौती पनि सामना गर्छन् । चकलेटको इतिहास इङ्गल्यान्डको रिडिङ विश्वविद्यालयमा पुरातत्व विज्ञान इतिहासका प्राध्यापक डा. केटी साम्पेकले चकलेटको इतिहासबारे अनुसन्धान गरिरहेकी छिन् । उनी भन्छिन्, ‘करिब चार हजार वर्षअघि उत्तरी अमेजन अर्थात इक्वेडर र भेनेजुएलाको क्षेत्रमा कोकोका रुख भेटिएका थिए । पछि यी रूख मेक्सिको र मध्यअमेरिकामा बढ्न थाले । कोको रूखका नयाँ प्रजाति हुर्किए ।’ सुरुमा कोको फलको रसलाई फर्मेन्ट गरी खाना र पेय पदार्थमा प्रयोग गरिन्थ्यो । पुरातत्वविद्ले धेरै पुरातन बोतलहरू फेला पारेका छन् जसमा कोकोको रासायनिक निशान फेला परेका थिए । पछि मानिसले यो फलको बीउ प्रयोग गरेर खाद्यान्न बनाउन थाले । यो मन्दिर र पूजास्थलहरूमा भेटीका रूपमा प्रयोग हुन थाल्यो । कोकोका फाइदाहरू माया सभ्यताका केही शिलालेखहरूमा पनि उल्लेख गरिएको छ । कोकोलाई प्रजनन क्षमतासँग पनि जोडिएको देखियो । चौथो शताब्दीका केही प्रमाणका अनुसार कोकोआ बीउहरू लेनदेनका लागि मुद्राका रूपमा पनि प्रयोग गरिन्थ्यो र पछि कोको एल साल्भाडोरमा पनि उब्जाउन थालियो । डा. केटी साम्पेक भन्छिन्, ‘यस क्षेत्रका किसानले कोकोको उत्पादकता बढाउने तरिकाहरू आविष्कार गरे ।’ एल साल्भाडोर चाँडै एक प्रमुख कोको उत्पादन क्षेत्र बन्यो । कोको उत्पादनका लागि हावापानी उपयुक्त नभएका क्षेत्रमा पनि उनीहरूले कोको निर्यात गर्न थाले । स्पेनिस डुङ्गाहरू सोह्रौं शताब्दीमा त्यहाँ पुगेका थिए । तिनीहरूले यो क्षेत्र कब्जा गरे । स्पेनी उपनिवेशहरूले पनि मुद्राका रूपमा कोकोको बीउ प्रयोग गर्न थाले । डा. केटी साम्पेकका अनुसार एल साल्भाडोरमा कोकोबाट पेय वा जुस पनि बनाइएको थियो । यसलाई चकलेट भनिन्थ्यो । सोह्रौं शताब्दीमा स्पेन र अन्य धेरै क्षेत्रमा चकलेट पेयको प्रयोग सामान्य भयो र मानिसले बिहान चकलेट पिएर सुरु गर्न थाले । सोह्रौं शताब्दीको मध्यतिर चियाको खपत सुरु भएको थियो र सत्रौं शताब्दीको मध्यतिर कफीको खपत बढेको थियो तर त्यसअघि बिहानको खाजासँगै चकलेट पेयको सेवन सुरु भएको थियो । जसरी आजकल कफी र चिया घरहरू छन्, सोह्रौं शताब्दीको मध्यतिर लन्डनमा चकलेट घरहरू खोलिएका थिए । त्यतिबेलासम्म युरोपमा चकलेट र कोकोको खपत निकै लोकप्रिय भइसकेको थियो । युरोपमा चकलेटको बढ्दो मागले धेरै परिवर्तन ल्यायो । पहिलो सय वर्षसम्म चकलेट उत्पादनसम्बन्धी निर्णय स्थानीय जनताको हातमा थियो । जब स्पेनी उपनिवेशवादीहरूले त्यहाँ कोको खेती कब्जा गरे, उत्पादनमा उल्लेखनीय कमी आयो किनभने कोको एक संवेदनशील बोट हो । यसलाई आर्द्रता र गर्मीको सही मात्रा चाहिन्छ । यसको विशेष ख्याल राख्नुपर्छ, जुन कुरा स्थानीय जनतालाई राम्ररी थाहा थियो । त्यसैले उनीहरू यस कार्यमा निकै सफल भएका छन् । डा. केटी साम्पेक भन्छिन्, ‘यसका कारण सुरुमा स्पेनीहरूले यसमा हस्तक्षेप गरेनन् तर कोकोको माग बढ्न थालेपछि उनीहरूले ठूला(ठूला कोकोको बिरुवा रोप्न थाले । स्थानीय दासहरूले त्यहाँ काम गर्न थाले ।’ त्यसपछि १८९० मा पोर्चुगलका राजालाई ब्राजिलको उपनिवेश आफ्नो हातबाट चिप्लिन्छ कि भनेर चिन्ता लाग्न थाल्यो । उनले ब्राजिल र अफ्रिकामा कोको खेती सुरु गरे । १८औं शताब्दीमा सबैभन्दा बढी कोको उत्पादन अफ्रिकामा भइरहेको थियो । आज धेरै देशहरूमा कोको खेती गरिन्छ । डा. केटी साम्पेक भन्छिन् कि ब्राजिल, इक्वेडर र भेनेजुएला अझै पनि ल्याटिन अमेरिकामा कोको उत्पादन गर्ने प्रमुख देशहरू हुन् । तर, अहिले एसियामा थाइल्यान्ड, मलेसिया र भारतमा पनि कोको उत्पादन तीव्र गतिमा बढिरहेको छ । यद्यपि, पश्चिम अफ्रिका अझै पनि कोको उत्पादनमा हावी छ । कठिन कोको खेती घानाको क्वामे एनक्रुमाह युनिभर्सिटीका पर्यावरण विज्ञानका सहयोगी प्राध्यापक फिलिप एन्ट्वी अग्येया घाना आइभरी कोस्टपछि विश्वको दोस्रो ठूलो कोको उत्पादन गर्ने देश भएको बताउँछन् । विश्वमा आपूर्ति हुने कुल कोकोको २० प्रतिशत घानाबाट आउँछ । जलवायु परिवर्तनले घानाको कोको उत्पादनमा नकारात्मक असर परेको उनको भनाइ छ । जलवायु परिवर्तनका कारण कोको उत्पादनको सिजन छोटो हुँदै गएको छ । उनले देशका उत्तरी क्षेत्रका धेरै किसानले ५० वर्षअघि फेब्रुअरीमा कोकोको बिरुवा रोप्ने गरेको बताउँछन् तर अहिले जेठसम्म कुर्नुपर्ने बताए । पछिल्ला केही दशकमा घानाले बाढी र खडेरीजस्ता धेरै प्राकृतिक समस्याहरूको सामना गरेको छ । यसका साथै कीराका कारण कोको बाली र रुखहरू नष्ट हुने भएकाले देशमा कीराका कारण पनि कठिनाइ बढेको छ । घानामा विभिन्न कृषि क्षेत्र छन् । कोको खेती हुने उत्तरी क्षेत्रमा वर्षमा एकपटक मात्रै खेती गर्ने सिजन हुने र सिजन छोटो भएकाले किसानले आफ्नो काम राम्ररी गर्न पाएका छैनन् । फिलिप एन्ट्वी अग्येया यी कुराले घानाको कोको र अन्य बालीमा पनि नकारात्मक असर परेको विश्वास गर्छन् । आगामी वर्षहरूमा अझ ठूलो खडेरी हुने अनुमान गरिएको छ, जसले देशका लाखौं किसानहरूको जीविकोपार्जनलाई असर गर्ने छ । घानामा कोकोको बगैंचा सरकारी स्वामित्वको होइन तर साना किसान परिवारहरूको हो । एक अनुमानअनुसार घानामा ८ लाख ६५ हजार किसानले कोको खेती गर्छन् । ‘कोको किसानहरूले सिजनको अन्त्यसम्म पैसाको लागि कुर्नुपर्छ,’ फिलिप एन्ट्वी अग्येया भन्छन्, ‘बाली बेच्दा त्यो पैसा वर्षभरिको खर्च धान्न प्रयोग हुन्छ । कोको खेती गर्ने क्षेत्रमा धेरै गरिबी छ । मुलुकको अर्थतन्त्रको प्रमुख खम्बा भएकाले सरकारले यो समस्यालाई गम्भीरतापूर्वक लिएको छ । यस दिशामा सरकारले धेरै कदम चालेको छ ।’ घानाको कोको उद्योग नियन्त्रण बोर्ड सरकारको हातमा छ । कोको कन्ट्रोल बोर्डले किसानलाई कोको बिरुवा र मल निःशुल्क उपलब्ध गराउँछ । किसानले आफ्नो कोको बाली यस बोर्डलाई बेच्न कानुनीरूपमा बाध्य छन् र बोर्डले यसको मूल्य पनि निर्धारण गर्दछ ताकि उनीहरूलाई शोषणबाट जोगाउन सकियोस् । यससँगै किसानले जलवायु परिवर्तनको असरबाट आफ्नो बाली जोगाउन धेरै कदम चालिरहेका छन् । यी किसानले कोको उत्पादनमा निर्भरता कम गर्न अन्य काम पनि गर्न थालेका छन् । चकलेट अर्थव्यवस्था क्यानडाको इन्टरनेसनल इन्स्टिच्युट अफ सस्टेनेबल डेभलपमेन्टका नीति सल्लाहकार स्टेफनी बर्मुडेजका अनुसार कोको उद्योगले विश्व अर्थतन्त्रमा ठूलो भूमिका खेल्छ किनभने यस क्षेत्रले विशेष गरी विकासशील देशहरूमा ५ करोड मानिसलाई रोजगारी प्रदान गर्दछ । जलवायु परिवर्तनका कारण कोको उत्पादनमा नराम्ररी असर परिरहेको छ किनभने धेरै देशमा बढ्दो गर्मी र खडेरीका कारण कोको उत्पादन गर्न गाह्रो भइरहेको छ र कोको उत्पादन घट्दै गएको छ । पश्चिम अफ्रिकामा कोको उत्पादन २०१८ र २०१९ को बीचमा पाँच प्रतिशतले घटेको छ । कतिपय देशमा कोको उब्जाउन पनि गाह्रो हुँदै गएको छ भने धेरै देशमा मौसम परिवर्तनका कारण कोको उब्जाउन असम्भव हुने अवस्था छ । यो समस्या पश्चिम अफ्रिका र ल्याटिन अमेरिकाको ब्राजिल र पेरुमा सुरु भएको छ । त्यहाँको बढ्दो गर्मीका कारण या त कोकोको बिरुवा मर्ने वा राम्ररी फल फलाउन नसक्दा कोकोको गुणस्तर पनि खस्किँदै गएको र मूल्यमा समेत असर परिरहेको छ । नेदरल्यान्ड, जर्मनी र अमेरिका कोकोका सबैभन्दा ठूलो खरिदकर्ता हुन् । स्टेफनी बर्मुडेजले संयुक्त राष्ट्रसंघको प्रतिवेदनअनुसार २० अर्ब डलरको कोकोको व्यापार हुने गरेको बताइन्, जसमा भुटेको कोकोबाट बनेको पाउडर र तरल पदार्थ समावेश छ । कुल कोको उत्पादनको ५० प्रतिशत चकलेट उद्योगमा प्रयोग गरिन्छ र चकलेट उद्योगको बजार मूल्य १ खर्ब डलर बराबर छ। सन् २०२६ सम्ममा यो १ खर्ब ८९ अर्ब डलर पुग्ने अनुमान गरिएको छ । कोकोको बिक्री र खरिद विश्व कमोडिटी बजार वा सामग्री बजारमा हुन्छ जहाँ यसको मूल्य माग र आपूर्ति अनुसार घटबढ हुन्छ । स्टेफनी बर्मुडेजले भनिन्, ‘कोको उत्पादनमा आएको गिरावटका कारण यसको मूल्य रेकर्ड उच्च भएको छ। अहिले यसको मूल्य प्रतिटन ७ हजार डलर पुगेको छ । यसको मतलब पछिल्लो एक वर्षमा कोकोको मूल्य १६३ प्रतिशतले बढेको छ ।’ कोको बिन्सबाट चकलेट बनाउने प्रक्रियामा धेरै गुट संलग्न छन् । केही समूहले अरूको तुलनामा धेरै नाफा कमाउँछन् । स्टेफनी बर्मुडेज भन्छिन्, ‘कोको उत्पादनबाट हुने नाफाको ७० प्रतिशत चकलेट उत्पादन गर्ने कम्पनीहरूको खल्तीमा जान्छ । यी कम्पनीहरूले प्रायः कोको बीन्स किन्छन् र बजार मूल्य कम भएको समयमा राख्छन्, तर कोको किसानहरूलाई उनीहरूको बालीबाट तत्काल आम्दानी चाहिन्छ, त्यसैले तिनीहरू मूल्य बढ्ने समयसम्म पर्खन सक्दैनन् ।’ मलको मूल्यवृद्धि, आर्थिक सहयोगको अभाव र खराब मौसमका कारण किसानको समस्या बढ्दै गएको छ । यसले कोको उत्पादनलाई असर गरिरहेको छ। त्यसोभए भविष्यमा चकलेटको माग पूरा गर्न कोकोको पर्याप्त आपूर्ति हुने छैन ? ‘यो हुन सक्छ। पहिले अमेरिका र पश्चिमी युरोपेली देशहरू चकलेटको मुख्य उपभोक्ता थिए तर अहिले चीन, मेक्सिको, टर्की, इन्डोनेसिया लगायत एसियाली मुलुकमा चकलेटको माग बढ्दै गएको छ । एसिया चाँडै नै चकलेट उत्पादनको दोस्रो ठूलो बजार बन्ने अनुमान गरिएको छ,’ स्टेफनी बर्मुडेज विश्वास गर्छिन् । उत्पादन बढाउने चुनौती आईसीसीओ कोको व्यापारमा संलग्न ५२ सदस्य राष्ट्रहरूको संगठन हो । यसको उद्देश्य वातावरणलाई हानि नगरी दिगोरूपमा यस उद्योगलाई निरन्तरता दिनु हो । आइभरी कोस्टमा रहेको इन्टरनेसनल कोको अर्गनाइजेसन (आईसीसीओ) को प्रोजेक्ट म्यानेजर युन्सा अबु बकर कोको उद्योगमा कोको किसानहरू सबैभन्दा महत्त्वपूर्ण तर कमजोर रहेको भएको बताउँछन् । उनी भन्छन्, ‘हाम्रा सामु दुईवटा चुनौती छन् । सर्वप्रथम, हामी यो सुनिश्चित गर्न चाहन्छौं कि कोको किसानहरूले उनीहरूको कडा परिश्रम र फसलको उचित मूल्य पाउँछन्। दोस्रो उद्देश्य भनेको कोकोको गुणस्तर उच्चतम स्तरमा रहन्छ भन्ने सुनिश्चित गर्नु हो ।’ त्यसैले पहिले कोको उद्योगलाई कसरी दिगो र नाफामुखी राख्न सकिन्छ भन्ने कुरा गरौं । किसानको अवस्था कसरी सुधार हुन्छ ? युनुसा अबु बकर भन्छन्, ‘धेरैजसो किसानले कोकोको खेती विरासतमा पाएका छन् । उनीहरूलाई परम्परागत रूपमा प्रयोग गर्छन् र जे पाउँछन् त्यसैमा सन्तुष्ट हुनुपर्छ भन्ने सोच्छन् । हामी उनीहरूलाई कोको उत्पादनका नयाँ विधिहरू अपनाउन र यसमा लगानी गर्न आवश्यक छ भनेर बुझाउँछौं । साथै, बालबालिकालाई उचित शिक्षा दिन र उनीहरूको जीवनस्तरमा सुधार गर्न पनि महत्त्वपूर्ण छ । त्यसकारण, हामी कोकोआ किसानहरूको नयाँ पुस्तालाई यस उद्योगमा आकर्षित गर्ने प्रयास गरिरहेका छौं, जसले यसलाई परम्परागत खेतीलाई मात्र नभई व्यवसायको रूपमा हेर्छन् ।’ कोकोको गुणस्तर सुधार गर्न धेरै चकलेट कम्पनीहरूले किसानलाई नयाँ प्रविधि उपलब्ध गराउँछन् र उत्पादन क्षमता बढाउन लगानी गर्छन् । आईसीसीओको अगाडि दोस्रो ठूलो चुनौती भनेको कोको उद्योगले वातावरणलाई हानि नगर्ने कुरा सुनिश्चित गर्नु हो । यो उद्देश्य हासिल गर्न आईसीसीओले कोको किसानलाई सहकारी समूहहरू गठन गरेर काम गर्न र आधुनिक खेती विधिहरू अपनाउन प्रोत्साहित गर्छ । कोको खेतीमा करिब ५० लाख कृषक संलग्न रहेको युनुसा अबु बकर बताउँछन्, तर तीमध्ये धेरैजना कुनै पनि सहकारीको हिस्सा नभएकाले उनीहरूसम्म पुग्न कठिन भएको छ । कोकोआको गुणस्तरसँगै यसले वातावरणलाई हानि नगर्ने कुरा सुनिश्चित गर्न पनि महत्त्वपूर्ण छ । युरोपेली संघको कानुनअनुसार कोको उत्पादनका लागि कुनै क्षेत्रमा जंगल काटिएको भए त्यस क्षेत्रबाट आउने उत्पादनलाई प्रतिबन्ध लगाइन्छ । युनुसा अबु बकरले भने, ‘कोको उत्पादनले वातावरणलाई हानि नहोस् भन्ने हाम्रो मान्यता छ तर त्यसो गर्दा किसानले बेहोर्नुपर्ने अतिरिक्त लागत तिर्नु आवश्यक छ । किसानले उचित मूल्य पाउन पनि जरुरी छ । भविष्यमा बजारबाट चकलेट हराउने चिन्ता व्यक्त गरिएको छ । म आशा गर्छु कि यो हुनेछैन। यदि कुनै भयानक प्राकृतिक प्रकोप देखापर्दैन भने, कोको उत्पादन भविष्यमा लामो समयसम्म जारी रहने छ ।’ के जलवायु परिवर्तनले चकलेट उत्पादनलाई असर गरिरहेको छ ? जलवायु परिवर्तनका कारण कोको किसानको आम्दानीमा नकारात्मक असर परेको छ । त्यसैले जलवायु परिवर्तनले चकलेट उत्पादनमा प्रभाव पारिरहेको छ । मौसममा आएको ठूलो परिवर्तन र कीराको फैलावटका कारण कोकोका बिरुवाहरू प्रभावित भइरहेका छन् । तर, योबाहेक अर्को समस्या पश्चिमी देशका कोको उत्पादक र आयातकर्ताको आम्दानी वा नाफामा ठूलो असमानता रहेको छ । तर, पश्चिमी आयातकर्ताहरूसँग प्रशस्त स्रोत छन् । हाल तिनीहरू अग्रिम खरिद गरेर चकलेट कारखानाहरूमा कोको आपूर्ति जारी राख्न सक्छन् । बीबीसी