बैंकमा काम नगर्ने सीसीटीभी क्यामेरा, संवेदनशील क्षेत्रमा प्रशिक्षार्थी कर्मचारी
काठमाडौं । अन्य क्षेत्रभन्दा बैंकिङ क्षेत्र पारदर्शी हुने भएकाले हरेक कारोबार विश्वसनीय हुन्छन् । ग्राहकका हरेक कारोबार चुस्तदूरूस्त हुन्छन् । साथै, ग्राहकहरूको व्यक्तिगत विवरण र कारोबार पनि गोप्य राखिएको हुन्छ । तर, नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको बैंक सुपरिवेक्षण प्रतिवेदन २०२२/२३ अनुसार कोर बैंकिङ प्रणाली वा संवेदनशील क्षेत्रमा प्रशिक्षार्थी तथा इन्टर्नहरूलाई काम गर्न खटाइएको पाइएको छ । वार्षिक रूपमा भएका घटनाहरूको अभिलेख राखेर बैंकहरूले आफ्नो व्यवसायिक योजना बनाउनु पर्ने हुन्छ । तर, यस्ता घटनाको प्रतिवेदन तयार गर्ने, आवधिक विश्लेषण गर्ने र व्यवस्थापकीय बैठकमा छलफल गरी उपयुक्त नीति निर्माणको अभाव देखिएको राष्ट्र बैंकको भनाइ छ । केही बैंकहरूले प्रमुख जोखिम सूचकहरूको पहिचान र जोखिम दर्ताका कागजातहरूका लागि उपयुक्त प्रणाली समेत विकास नगरेको राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार बैंकहरूको व्यवस्थापन टिमसँग ऋणका समस्या, ऋण प्रतिबद्धता र आकस्मिक दायित्व, माइग्रेसन लगायत प्रतिवेदन समेत उपलब्ध छैनन् । बैंकको कर्जा नोक्सान प्रावधान प्रणालीमा निष्क्रिय कर्जा (व्यवसाय सञ्चालन नभएको, कोषको दुरुपयोग, कालोसूचीमा राख्ने) गुणात्मक र अन्य मापदण्डहरू क्याप्चर गर्ने पर्याप्त प्रणाली छैन । बैंक खाता खोल्दा फारमहरू पूर्ण रूपमा भरिएका छैनन् भने पीईपी प्रमाणीकरण, स्वघोषणाका फारमहरू फारमहरू हराइरहेका छन् । साथै, लेखापरीक्षकले उठाएका मुद्दाहरूलाई समयमै सम्बोधन नगरेको, वितरण नगरिएका चेक र डेबिट कार्डहरू समयमै नष्ट नगरेको राष्ट्र बैंकको सुपरिवेक्षण प्रतिवेदनमा उल्लेख छ । गलत क्रियाकलाप, शंकास्पद कारोबार लगायतका क्रियाकलाप न्यूनीकरण गर्न भिडियो निगरानी प्रयाप्त नभएको राष्ट्र बैंकले जनाएको छ । सीसीटीभी क्यामेरामा ९० दिनभन्दा कम ब्याकअप, ब्लर भिजिबिलिटीका कारण प्याकेट र बन्डलहरू पहिचान गर्न नसकिने, क्यामेरा बिग्रिएको, एन्टिलाइट लोकेशन जस्ता समस्याहरू छन् । कर्मचारी बढुवा नीति प्रभावकारी कार्यान्वयन नभएको, धेरै बैंकहरूको कर्मचारी कार्यसम्पादन मूल्याङ्कन बैंकको मानव संसाधन विनियमले निर्देशित गरेबमोजिम समयमै सञ्चालन नभएको राष्ट्र बैंकले जनाएको छ । यस्तै, धेरै बैंकमा थोरै निक्षेपकर्ताहरूको ठूलो रकम निक्षेप रहेको छ । यी निक्षेपकर्ताहरूबाट अचानक रकम निकासी हुँदा बैंकहरूमा चरम तरलता तनाव निम्त्याउन सक्ने राष्ट्र बैंकको भनाइ छ । साथै, राष्ट्र बैंकको एकीकृत निर्देशन बमोजिम आकस्मिक कोष योजना तयार नहुँदा तरलता अभाव हुने गरेको प्रतिवेदनमा उल्लेख छ । राष्ट्र बैंकका अनुसार कतिपय बैंकले व्यवसाय निरन्तरता गर्ने योजना समेत बनाएका छैनन् । साथै योजना बनाएका बैंकले व्यवसाय निरन्तरता गर्न डिल गर्न सकेका छैनन् ।
क्यूआर कोडमा बाह्र बाजा, प्रवर्द्धनमा लक्ष्मी सनराईज
काठमाडौं । नेपाल कला, साहित्य, भेषभूषा र संस्कृतिमा धनी छ । जात, भाषा, वर्ग, भेष, संस्कृति र संस्कारका हिसाबले एक खुला संग्रहालय हो नेपाल । यहाँ जातीय, भेगीय र भूगोलअनुसार भाषा बोलिन्छ, भेष देखिन्छ, संस्कार पाइन्छ र संस्कृति अपनाइन्छ । यी र यस्ता संस्कृति झल्किने माध्यम झनै मनमोहक र अब्बल छन् । अर्थात्, हाम्रा मौलिक बाजाहरूले आफ्नै विशेषता झल्काउँछन् । तर, पछिल्लो समय हाम्रा गाउँघरमा घन्किने र विभिन्न जातजातीले बजाउने बाजा पनि लोप हुँदै जान थालेका छन् । अहिले तिनै लोप हुन लागेका बाजागाजा विभिन्न संघसंस्थाले संरक्षण र सम्बर्द्धन गर्दै पनि आइरहेका छन् । यस्तै परम्परागत सांस्कृतिक बाजागाजा प्रवर्द्धन गर्ने उद्देश्यले ‘क’ वर्गको लक्ष्मी सनराईज बैंकले बाजागाजासहितको २०८१ सालको क्यालेन्डर सार्वजनिक गरेको छ । ‘नेपाल बहुसांस्कृतिक, बहुभाषिक, आफ्नै मौलिक परम्परा र सांस्कृतिक विविधताले भरिपूर्ण र समृद्ध छ, युगौंदेखि हाम्रो दैनिक जीवनमा गुञ्जिने मनोरञ्जनको साधन, मेलापात, विशेष संस्कारसहित अन्य विभिन्न पलहरूमा घन्किँदै आएको गीत–संगीत नेपाली पहिचानको अभिन्न अंग हो,’ बैंकले सार्वजनिक गरेको क्यालेन्डरमा उल्लेख छ, ‘हाम्रो कला र संस्कृति विश्वसामु देशको चिनारी बनेको छ । यही विविधताको सुन्दर पक्षलाई निरन्तरता दिनु हरेक नेपालीको दायित्व हो ।’ लक्ष्मी सनराईज बैंकले विगतदेखि नै विभिन्न मौलिक विषयवस्तुलाई आफ्नो क्यालेन्डरमा समावेश गर्दै आएको छ । नेपालका संस्कृतिसँग सम्बन्धित विषयवस्तुलाई संरक्षण एवं सम्बर्द्धन गर्नका लागि यस्ता कार्यहरू गर्दै आएको बैंकले बताएको छ । बैंकका अनुसार क्यालेन्डरमा समावेश गरिएका यी बाजाहरूले संस्कृतिको पहिचान दिन्छ । बैंकले क्यालेन्डरमा समावेश गरेका लोकबाजाका बारेमा नेपाल लोकबाजा संग्राहलय, त्रिपुरेश्वरसँग सहकार्य गरेको हो । यहाँ समावेश गरिएका बाजामध्ये कतिपय हामीले सुनिरहेका छन् भने कतिपय हामीले नसुनेका बाजा पनि छन् । बैंकका अनुसार देशको कला, संस्कृति र मौलिकतासँगसँगै आधुनिक प्रविधि अपनाउने र आफ्नो मूल्–मान्यता नबिर्सिने ‘थिम’ क्यालेन्डरमा समावेश गरिएकाे छ । बाजा कस्तो बज्छ भनेर सुन्नका लागि बैंकले धुनसहितको क्यूआर कोड पनि उपलब्ध गराएको छ । यी लोकबाजाको धुनका लागि बैंकले काठमाडौंलगायत बाहिर जिल्लाबाट पनि कलाकार झिकाएर धुन रेकर्ड गरेकाे हाे । सनराईज बैंकले प्रवर्द्धन गरेका नेपाली मौलिक बाजा यस्ता छन्: गोपाल डन्डी गोपाल डन्डी थारु समुदायले सामूहिक ‘रास नृत्य’ गर्दा एकापसमा ठोक्काएर बजाइने बाजा हो । यो बाजा कडा काठबाट बनेको एक जोडी डन्डी हो । यो बाजा बजाउँदा ट्याक–ट्याक आवाज आउँछ । यसको आवाज निकै मनमोहक सुनिन्छ । यो बाजाको प्रयोग ‘सय थरी बाजा एउटै ताल, सय थरी गोडा एउटै चाल, मेची काली सिंगै ढिक्का, साझा हाम्रो ज्यान नेपाल…’ बोलको गीतमा प्रयोग गरिएको छ । यस गीतमा तारा थापाको स्वर रहेको छ भने शब्द दुर्गालाल श्रेष्ठ र संगीत न्ह्यु बज्राचार्यको छ । केन (ढोलक) किराँत समुदायको यो केन (ढोलक) बाजा काठको ठूलो ढुंग्रोलाई छालाले मोरेर बनाइन्छ । यसको एकातिर भित्रबाट खरी लगाइएको हुन्छ । यसलाई हातले कुटेर बजाइ नाचगानका लागि ताल निकालिन्छ । यो ढोलकको प्रयोग ‘सोई ढोले सोई…’ बोलको (चण्डी गीत) मा प्रयोग गरिएको छ । यो गीतमा स्वर राजन राई, बेदना थुलुङ, भीषण मुकारुङ र आभा मुकारुङले दिएका छन् भने संगीत राजन राईको हो । गीतको शब्द संकलन पनि राजनकै छ । उर्नी उर्नी धिमाल समुदायको मौलिक लोकबाजा हो । उर्नी नरिवलको गट्टामा छालाले मोरी, एक हात लामो काठमा तार जोडेर बनाइन्छ । यो काजाको तारमा धनुले रेट्दै औंलाले थिचेर सुमधुर धुन निकालिन्छ । यो बाजाको प्रयोग ‘काफल गेडी कुटुक्कै…’ बोलको गीतमा प्रयोग गरिएको छ । यस गीतमा सिन्धु मल्ल र महेश बुढाथोकीको स्वर रहेको छ भने शब्द संगीत पनि महेश बुढाथोकीकै छ । टुङ (यलम्बर) यलम्बर एक प्रकारको बाजा हो । यो हेर्दा बाँसको ढुंग्रो जस्तो हुन्छ । यो बाजा भालुबाँसका दुवै आँख्ला (जोर्नीको गाँठो) नफुटेको गिँडबाट बनाइएको हुन्छ । यो बाजाको बीच भागमा एक अङ्गुल लामो र एक अङ्गुल चौडाइको प्वाल पारिएको हुन्छ । प्वालको दुवैतिर दुइटा तार निकालिएका हुन्छन् । प्वालको ठिकमाथि तारमा बाँसको पातलो पाता अड्याइएको हुन्छ । यो यलम्बर ताल बाजाअन्तर्गत पर्छ । यसको नाम प्रथम किराँत राजा यलम्बरको नामबाट रहन गएको हो भनिन्छ । यो किराँत समुदायमा प्रचलित छ । मुरली मुरली निगालो वा गोपीबाँसको आँख्लाबाट बनाइने, ओठले च्यापी फुकेर बजाइने सुरबाजा हो । मुखले फुक्दै यसको ६ वटा प्वालमा हातका औंलाले चलाइ सुमधुर धुनहरू निकालिन्छ । यो सुरबाजाको प्रयोग प्रायः सबै गीतमा प्रयोग गरिन्छ । सहनाई सहनाई पञ्चेबाजा समूहको प्रमुख जोडी बाजा हो । भाले सहनाईलाई फुक्दै सुर दिइन्छ भने पोथी सहनाईलाई फुक्दै भाखा हालेर बजाइन्छ । यो बाजा निकै परिश्रमी लोक कलाकारहरूले मात्र बजाउन सक्छन् । विशेष गरी एलुमिनियम (सिलाबर) र पित्तलबाट निर्मित सहनाईले आठ वटा प्वालको भाखा निर्माणबाट छत्तीस राग रागीनीयुक्त धुनहरू प्रस्फुटन गर्दछ । सहनाई नौमती बाजाको प्रमुख आकर्षण हो । मादल मादल नेपालको एक प्रसिद्ध ताल बाजा हो । यो नेपाली समाजको मुख्य बाजा हो । नेपाली समाजका सबै सांस्कृतिक कार्यहरूमा यसको प्रयोग हुन्छ । यो बाजा मगर (नाग) जातिको बाजा मानिन्छ । सबैभन्दा पहिले मादल बजाउने मगर समुदाय हो । यसलाई दुई हातले कुटेर बजाउनुपर्छ । मादल कम्मरमा भिरेर बजाइन्छ । छतिउन, दार तथा खमारीको काठबाट मादल बनाइन्छ । काठमा ढुङ्ग्रो पारेर दुवैपट्टी छालाले मोरेर खरी (मसला) लगाइएको हुन्छ । खरी बनाउँदा काँस र किटको धूलो मिसाइन्छ । यसको एकापट्टी केही सानो, अर्कापट्टी अलिक ठूलो पारेर बनाइएको हुन्छ । ठूलो भागलाई भाले र सानो भागलाई पोथी भनिन्छ । मादल दुई खाले हुन्छन् । पूर्वेली मादल र पश्चिमेली मादल । पूर्वेली मादल आकारमा अलिक ठूलो र पश्चिमेली मादल अलिक सानो हुन्छ । टुङ्ना टुङ्ना काठ र बाँसबाट बनेको हातले बजाउने एक नेपाली तारवाद्य लोकबाजा हो । टुङ्ना बनाउने काठ भने गुराँसको बढी प्रयोग हुन्छ । यो सुरबाजा हो । यो नेपालको हिमाली क्षेत्रमा बसोबास गर्ने शेर्पा र तामाङ जातिमा बढी लोकप्रिय छ । यो बाजा झन्डै डेढदेखि दुई हातसम्म लामो हुन्छ । यसको शिर भागमा शार्दूलका टाउकाको आकृति कुँदिएको हुन्छ । टुङ्नामा ४ देखि ६ वटा तार जडिएका हुन्छन् । यो बाजा काँधमा भिरेर दाहिने हातले नख्खी र देब्रे हातले तार थिचेर बजाइन्छ । डम्फु डम्फु तामाङ समुदायमा प्रचलित बाजा हो । ठेट तामाङ भाषामा यसको नाम ‘डाम्बा’ भए पनि ‘डम्फु’ यसको नेपालीकरण भएको नाम हो । डम्फुको आकार गोलो हुन्छ । अनुमानित एक हातको गोलाकार डम्फु काठको घेराको एकापट्टी भेडा–बाख्राको छालाले बेरेर खिल मारेको हुन्छ । अर्कापट्टी खुला रहन्छ । यो देब्रे हातले समाती दाहिने हातका औंलाले पिटेर बजाउने बाजा हो । प्राचीनकालमा पेङ दोर्जेले आफ्नी प्रेमिकालाई खुसी बनाउनका लागि कोइरालोको रुखको घेरामा मृगको छालाले मोरेर ३२ किला ठोकेर डम्फु बनाएका हुन् भन्ने किंवदन्ती तामाङ समाजमा प्रचलित छ । त्यसैले हरेक डम्फुमा बाँसलाई चिरेर बनाएको सानो सानो ३२ किला ठोकेमा मात्र राम्रो स्वर दिन्छ भन्ने मान्यता अहिले पनि छ । धिमे धिमे रुखको बेलनाकार टोड्कोलाई भित्रपट्टि पूरै खोक्रो बनाई दुवैतिर छालाले मोरेर बनाइएको ताल बाजा हो । यो बाजा काठमाडौं उपत्यकाका नेवारहरूको सबैभन्दा प्रचलित परम्परागत बाजा हो । बिनायो बिनायो किराँतहरूको परम्परागत बाजा हो । जुन छिप्पिएको मालिङ्गोबाट बनाइन्छ । बाँसको सानो (लगभग ६ इन्च) भाटाको बीचमा खोपेर जिब्रो निकाली दुई छेउमा धागो बाँधेर तथा सुन्दर बुट्टा खोपेर बिनायो बनाइएको हुन्छ । यसरी बनाइएको बिनायोलाई जिब्राको अगाडिपट्टि लामो डोरीलाई झड्कारेर बजाइन्छ । यसरी बजाउँदा विभिन्न भाका निकाल्न बिनायोलाई मुखको दुवै ओठमा राखी भित्रबाट हावाको धक्काद्वारा आएको कम्पनलाई जिब्रोबाट प्रभावित गरिन्छ । यो बाजा किराँत महिलाले आफ्नो चोलोको तुनामा झुण्डाएर बोक्छन् । यसरी बोकेको बिनायोलाई मेलापात वा हाटबजार जहाँ पनि बजाउने गरिन्छ । यो बिनायो बाजामा दुइटा जिब्रो भएको बनाउन छाडिएको छ । सारङ्गी सारङ्गी एक तारवाद्य हो जसलाई बजाउन एक धनु प्रयोग गरिन्छ । सारङ्गी नेपाल, भारत तथा पाकिस्तानको स्थानीय बाजा हो । भारत र पाकिस्तानमा यसलाई हिन्दुस्तानी शास्त्रीय संगीतमा प्रयोग गरिन्छ भने नेपालमा यो मुख्यरूपले लोकगीतसँग प्रयोग गरिन्छ । यसको आवाज मानिसको स्वरजस्तो हुने भएकोले संगीतमा स्वरलाई आलंकारिक रूपले प्रस्तुत गर्न पनि प्रयोग गरिन्छ । लक्ष्मी सनराईज बैंकको चुक्ता पुँजी २३ अर्ब १८ करोड रुपैयाँ छ । साथै, बैंकले २५० सय भन्दा धेरै शाखा कार्यालयबाट सेवा दिइरहेको छ ।
यातायात क्षेत्रमा विदेशीलाई ५० प्रतिशत अनुदान प्रस्ताव
काठमाडौं । सार्वजनिक यातायत क्षेत्रमा लगानी गर्ने नेपाली व्यवसायीलाई कुनै पनि प्रकारको सुविधा दिन नमानिरहेको नेपाल सरकारले विदेशी लगानीकर्तालाई भारी छुटसहित सार्वजनिक यातायातमा लगानीको प्रस्ताव गर्न लागेको छ । आगामी लगानी सम्मेलनमा सरकारले सार्वजनिक यातायत क्षेत्रमा लगानी गर्ने विदेशी लगानीकर्ताको लागि विभिन्न तीन शीर्षकमा ५० प्रतिशतसम्म अनुदान दिने प्रस्ताव गरेको छ । सरकारले सुदूरपश्चिम प्रदेशमा सञ्चालन हुने सार्वजनिक यातायातमा विदेशी लगानीकर्ता खोजेको छ । यस प्रदेशमा व्यवस्थित सार्वजनिक यातायात आयोजना सञ्चालन गर्न कूल ३१ अर्ब १३ करोड रुपैयाँ खाँचो हुने भन्दै लगानी सम्मेलनमा सुदूरपश्चिम सार्वजनिक यातायात परियोजनालाई शोकेसिङ गर्न लागेको छ । ३१ अर्ब १३ करोड रुपैयाँ अनुमानित लागत रहेको यस परियोजनाको लागत लाभ अनुपात २.५ रहेको छ । लागत लाभ अनुपात १ भन्दा माथि रहेको परियोजनालाई व्यवसायिक लाभका हिसावले राम्रो मानिन्छ । यस परियोजनाका लागि बस किन्दा लागतमा २५ प्रतिशत अनुदान दिने, बसपार्क भवन बनाउदा लागतमा १० प्रतिशत अनुदान दिने, ब्याजमा १५ प्रतिशत अनुदान दिने प्रस्ताव लगानी सम्मेलनमा लैजाने लगानी बोर्डले जनाएको छ । परियोजना लागतमा ३० प्रतिशत सेयर पुँजी र ७० प्रतिशत बैंक कर्जा सुविधाको प्रस्ताव गरिएको छ । सुदूरपश्चिमको कमजोर सहरी पूर्वाधार, ट्राफिक जाम, अप्रयाप्त यातायात प्रणाली लगायतका चुनौतीलाई सामाना गर्दै यातायात पूर्वाधारमा विकासका लागि यो परियोजना प्रस्तुत गर्न लागेको हो । सन् २०२३ मा गरिएको पूर्व सम्भाव्यता अध्ययन अनुसार उक्त प्रदेशमा दैनिक ४८ हजार २१५ यात्रुको माग रहेको देखाएको छ । उक्त मागलाई विद्युतीय तथा सुविधा सम्पन्न सार्वजनिक यातायातका साधन तथा पूर्वाधारको खाँचो रहेको छ । यस क्षेत्रमा कम्तिमा १७२ वटा सार्वजनिक बस सञ्चालन गर्न सकिन्छ । त्यसमा १०४ वटा विद्युतीय र बाँकी ६८ वटा डिजेल बस रहेका छन् । त्यस्तै, ४७ वटा बस स्टप (अर्थात बस बिसौनी) राख्न आवश्यक छ । जसमा धनगढीदेखि चिसापानीसम्म २१ वटा, टिकापुरदेखि लम्कीसम्म ४ वटा, गड्डाचौकीदेखि अतरियासम्म १० वटा र अतरियादेखि डोटीसम्म १२ वटा आधुनिक बस स्टप आवश्यक हुन्छ । उक्त क्षेत्रमा लामो, मध्यम र छोटो दुरीमा चल्ने बसहरु सञ्चालन गर्न सकिन्छ । धनगढीदेखि काठमाडौंसम्म तथा महेन्द्रनगरदेखि काठमाडौंसम्म चल्ने गाडीलाई लामो दुरीमा समावेश गरिएको छ । त्यस्तै, महेन्द्रनगरदेखि नेपालगञ्ज र धनगढीदेखि डोटीसम्मलाई मध्यम दुरी र महेन्द्रनगरदेखि धनगढी, धनगढीदेखि टिकापुर, धनगढीदेखि अतरिया, धनगढी एयरपोर्टदेखि धनगढी बसपार्क र धनगढी एयरपोर्टदेखि अतरिया बसपार्कसम्म छोटो दुरीका यातायात सेवा खाँचो रहेको प्रस्तावित परियोजनामा उल्लेख गरिएको छ । सार्वजनिक यातायात परियोजनासँग आधुनिक सपिङ सेन्टर, होटल, रेष्टुरेन्ट, मेकानिकल वर्कशप, चार्जिङ स्टेशन जस्ता व्यवसाय पनि सञ्चालन गर्न सकिनेछ । यो आयोजना बनेपश्चात सार्वजनिक यातायातको माग आपूर्ति पुरा हुने, पूर्वाधार र आर्थिक विकास हुने, पर्यटन प्रर्वद्धन र राजश्व उत्पादन हुने, रोजगारीको अवसरहरु सिर्जना हुने तथा स्वच्छ उर्जाको प्रवर्द्धन हुने लगानी बोर्डले जनाएको छ । सार्वजनिक निजी साझेदारी मोडलमा बनाउन प्रस्ताव गरिएको यो आयोजनाको निर्माण अवधि तीन वर्ष अनुमान गरिएको छ । उक्त आयोजना निर्माण भइसकेपछि निर्माणकर्ताले ३० वर्षसम्म सञ्चालन गर्न पाउने छ । उक्त ३० वर्षको सञ्चालन अवधि सकिएपश्चात भने निर्माणकर्ताले सो आयोजना सरकारलाई हस्तान्तरण गर्नुपर्छ ।