बैंगलोरमा सबैभन्दा धेरै ईभी दर्ता, मुम्बई र दिल्लीलाई उछिन्यो
काठमाडौं । भारतको बैंगलोर विद्युतीय सवारीसाधन (ईभी) दर्तामा शीर्ष स्थानमा पुगेको छ । यो दक्षिण भारतीय सहरले सन् २०२३ मा मुम्बई, नयाँदिल्ली र पुणेलाई उछिनेको छ । यसको प्राविधिक उन्मुख जनशक्ति, बढ्दो स्वीकार्यता, शून्य सडक कर, ईभी चार्ज गर्न सहुलियतपूर्ण बिजुली र चार्जिङ स्टेसनहरूको ठूलो नेटवर्कका कारण बैंगलोरमा ईभी प्रयोगकर्ता संख्या उल्लेख्य बढेको हो । जाटो डाइनामिक्सको तथ्यांकअनुसार कर्नाटकको राजधानी बैंगलोरमा विद्युतीय कार दर्ता २०२३ सम्ममा तीन गुणाले बढेर ८ हजार ६ सय ९० पुगेको छ । जुन देशका तीन प्रमुख महानगमा देखिएको वृद्धिभन्दा धेरै बढी हो । भारतीय सञ्चारमाध्यम बिजनेस स्ट्यान्डर्डका अनुसार यसबाहेक बैंगलोरका मानिसहरूले विद्युतीय कार मात्र होइन, विद्युतीय दुई पाङ्ग्रे सवारीसाधनहरू पनि अपनाइरहेका छन् । तथ्यांकअनुसार चार वर्षदेखि विद्युतीय दुई पाङ्ग्रे सवारी दर्तामा कर्नाटकको राजधानी देशकै नम्बर एक सहर बनेको छ । टाटा प्यासेन्जर इलेक्ट्रिक मोबिलिटी (टीपीईएम) का प्रमुख वाणिज्य अधिकृत विवेक श्रीवात्सवले विभिन्न कारण भारतको टेक्नोलोजी राजधानी भनेर चिनिने बैंगलोर सहर विद्युतीय कार दर्तामा शीर्ष स्थानमा रहेको बताए । उनले भने, ‘नीतिको दृष्टिकोणबाट कर्नाटकको विद्युतीय सवारी नीतिले यी सवारी साधनहरूलाई अपनाउनमा ठूलो भूमिका खेलेको छ, सडक कर शून्य, विद्युतीय सवारीसाधन चार्ज गर्नका लागि सहुलियत दर, सरकारी पब्लिक चार्जिङ स्टेसनको निरन्तर वृद्धि र विद्युतीय सवारी साधनलाई अवलम्बन गर्ने उद्योगको निरन्तर बढ्दो सहभागिताका कारण पनि सर्वसाधारणले ईभी खरिद गरिरहेका छन् ।’ सहरमा विभिन्न चार्जिङ पोइन्ट अपरेटर (सीपीओ) द्वारा सञ्चालित सार्वजनिक चार्जिङ पूर्वाधारका कारण मानिसहरूलाई ईभीबारे थप बुझ्न मद्दत गरिरहेको उनको भनाइ छ । जाटो डाइनामिक्सको तथ्यांकअनुसार २०२३ मा भारतमा ८७ हजार ९ सय २७ विद्युतीय कार बिक्री र दर्ता भएका छन् । टाटा मोटर्सको सहायक कम्पनी टीपीईएमले गत वर्ष बिक्रीमा ७१.७ प्रतिशत सेयरको साथ भारतीय इलेक्ट्रिक कार बजारमा आफ्नो प्रभुत्व कायम राखेको छ । हुन्डाई मोटर इन्डियाका प्रमुख अपरेटिङ अफिसर तरुण गर्गले कम्पनीको ईभी बिक्रीमा बैंगलोरले ११ प्रतिशतभन्दा बढी योगदान गरेको बताए । यो सहर इलेक्ट्रिक वाहन पोर्टफोलियोका लागि दोस्रो प्रमुख बजार हो । कोरियाली कार निर्माता कम्पनीले हाल भारतमा आफ्ना दुईवटा इलेक्ट्रिक कारहरू आयनिक ५ र कोना इलेक्ट्रिक बिक्री गरिरहेको छ । गर्गले भने, ‘धेरै टेक्नोलोजी कम्पनी, स्टार्टअप र युवा जनशक्तिको उपस्थितिले ईभीप्रति चेतना र स्वीकृति बढाएको छ। यो उल्लेखनीय छ कि बैंगलोरमा आयनिक ५ खरिददारमध्ये ७२ प्रतिशत व्यापारीहरू हुन्, जसले बहुराष्ट्रिय कम्पनीहरू र स्टार्टअपहरूका लागि हबको रूपमा सहरको स्थिति झल्काउँछ । यसबाहेक, बैंगलोरमा आयनिक ५ का खरिददारहरूमा २२ प्रतिशत महिलाहरू छन् ।’ एजेन्सी
होटलमा हरियाली, मनग्य कमाउन र पोर्टफोलियो बलियो बनाउन लागे लगानीकर्ता
काठमाडौं । आइतबार सेयर बजारको परिसूचक नेप्से ४.५९ अंकले घटेर २०७३.१९ बिन्दुरमा कायम हुँदा होटल तथा पर्यटन समूह भने एकैदिन २.९२ प्रतिशतले बढेको छ । सो समूह १५५ अंकले बढेर ५४५७ बिन्दुमा पुगेको छ । आइतबार सेयर बजारमा ५ कम्पनीको सेयर सकारात्मक सर्किट लेवलमा बढेको छ । जसमध्ये सिटी होटलको सेयर मूल्य १० प्रतिशतले बढेको छ । त्यति मात्रै होइन आज कारोबार रकमका आधारमा पनि उच्च तीन कम्पनीमध्ये सिटी होटल नै रहेको छ । आज कम्पनीको १३ करोड ९७ लाख रुपैयाँबराबरको कारोबार भएको छ । हाल नेप्सेमा होटल तथा पर्यटन समूहमा ६ वटा कम्पनी सूचिकृत छन् । आज सबै कम्पनीको सेयर मूल्य बढेको नेप्सेको तथ्याङ्कले देखाउँछ । सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ मा १६ लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य राखेकाे छ । सोही लक्ष्यलाई ध्यानमा राख्दै निजी तथा सरकारी क्षेत्रले पनि होटल तथा पर्यटन क्षेत्रमा लगानी उल्लेख्य मात्रामा बढाउन थालेका छन् । देशका विभिन्न स्थानमा पाँच तारे होटलहरू पुगिसकेको र सबै हाेटलकाे क्षमता ३५ लाख पर्यटक राख्न सक्ने भएकाे नेपाल होटल संघका अध्यक्ष विनायक शाह बताउँछन् । सरकारको लक्ष्य अनुसार आ-आफ्नो क्षेत्रबाट प्रर्यटन भित्र्याउन प्रयास भइरहेको उनको भनाइ छ । कोरोना भाइरसका कारण शिथिल बनेको होटल तथा पर्यटन क्षेत्र पुरानै लयमा फर्किसकेको छ । ‘हाल सरकारले प्रयास गरेअनुसार पर्यटकहरू आइरहेका छन् । तरपनि सरकारको लक्ष्य अझै कम भयो, किनभने अहिलेको संरचनाले नै करिब ३५ लाख पर्यटकलाई राख्न सक्ने अवस्था छ ।’ उनी भन्छन्, ‘होटल तथा पर्यटन क्षेत्र सुधारको बाटोमा छ क्रमश: पर्यटकहरू थप हुँदै गएका छन्, त्यसैले लगानीकर्ताहरू पनि यस क्षेत्रप्रति आकर्षित छन् ।’ उनका अनुसार पर्यटकको चहलपहल बढ्न थालेसँगै होटल व्यवसायमा पनि सुधार हुँदै गएको छ । ‘पर्यटकहरूको चहलपहल बढ्न थालेसँगै होटलको व्यवसाय सकारात्मक त हुने नै भयो,’ उनी भन्छन्, ‘यसै कारण आफ्नो लगानी सुरक्षित हुन्छ भन्ने सोचले पनि हुन सक्छ यो क्षेत्र सेयर बजारका लगानीकर्ताहरूको पनि आकर्षणमा परेको ।’ होटल तथा पर्यटन क्षेत्रलाई अझै माथि लैजान हाल सरकारको नीतिलाई परिवर्तन गर्न आवश्यक रहेको शाह बताउँछन् । अहिलेकै प्रयासलाई मात्रै सीमित राख्ने हो भने सरदर भन्दा धेरै पर्यटक नेपाल नआउने उनी बताउँछन् । अहिले नेपालमा बार्षिक करिब १० देखि ११ लाख पर्यटक आउने गरेका छन् । आफ्नो लगानी सुरक्षित हुने आशमा र भोलिको दिनमा अझै राम्रो मुनाफा कमाउने आशामा सेयर लगानीकर्ताको रोजाइमा होटल तथा पर्यटन समूह परेको लगानीकर्ता तारा फुलेल बताउँछन् । ‘अहिले प्राय: सबै लगानीकर्ताहरू जान्ने बुझ्ने नै हुनुहुन्छ साथै दैनिक समाचारमा के आइरहेको छ भन्नेर जानकारी राख्नुहुन्छ, त्यसैले बजारमा के कुराको माग भइरहेको छ आफै मूल्याङ्कन गर्नुहुन्छ,’ उनी भन्छन्, ‘लगानी गर्ने कुरा आफ्नो रोजाइको विषय हो, जुन क्षेत्र राम्रो लाग्छ त्यसैमा लगानी गर्ने हो ।’ नेपालको होटल तथा पर्यटन क्षेत्रलाई सुधार गर्न तथा १६ लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य पुरा गर्न निजी क्षेत्रले पनि सल्लाह र सुझाव दिइरहेका छन् । हवाई टिकटमा लगाएको भ्याट हटाउन, हाल पूर्णरुपमा सञ्चालनमा नरहेको गौतम बुद्ध अर्न्तराष्ट्रिय विमानस्थल तथा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पूर्णरुपमा सञ्चालनमा ल्याउन लगायतका विभिन्न माग निजी क्षेत्रले अघि सारेका छन् ।
काठमाडौंमा फेरि अर्को ठूलो सहकारी ठगी, अध्यक्ष र सचिवको हातमा हतकडी
काठमाडौं । काठमाडौंमा फेरि अर्को ठूलो सहकारीको बचतकर्ताको रकम अपचलन गरेको विषय बाहिरिएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले स्क्वायर सहकारीको रकम हिनामिना गरेको भन्दै संस्थाका केही पदाधिकारीलाई पक्राउ गरेको हो । काठमाडौंको मखनमा सञ्चालनमा रहेको उक्त सहकारीले बचतकर्तालाई उच्च ब्याज दिन्छु भनेर अन्ततः रकम अपचलन गरेपछि उजुरीका अधारमा प्रहरीले पक्राउ गरेको हो । सहकारीका संचालकहरुले निक्षेपकर्ताहरुलाई आर्कषक ब्याजदर दिन्छु भनि प्रलोभन देखाई निक्षेपकर्ताको रकम सहकारी मुद्दती, निक्षेप, आवधिक बचत, शेयर तथा विभिन्न बचत खातामा जम्मा गर्न लगाई मासिकरत्रैमासिकरवार्षिक रुपमा ब्याज पाउने र निर्धारित अवधि नाघेपछि निक्षेपको सम्पूर्ण साँवा, ब्याज फिर्ता पाउने विश्वासका साथ उक्त संस्थामा बचतकर्ताहरुले जम्मा गरेको रकमको साँवा, ब्याज फिर्ता नदिई पटक(पटक ताकेता गर्दा पनि फिर्ता नदिएकोले उजुरीका आधारमा पक्राउ गरिएको सीआईबीको भनाइ छ । सीआईबीले संस्थाका अध्यक्ष बाशु देव मान जोशी, संस्थाका सचिव सुवर्ण सेलालिक र सदस्य धर्म रत्न पाछैंलाई पक्राउ गरेको हो । उनीहरुले बचतकर्ताको ७ करोड ४० लाख ८७ हजार रुपैयाँ अपचलन गरेको प्रहरीको आरोप छ । आफ्नो निक्षेप जोखिममा रहेको ठानी सम्बन्धीत संस्थाका कर्मचारी तथा पदाधिकारीहरुलाई लामो समय देखि ध्यानाकर्षण गराउँदा समेत नियमानुसार पाउनु पर्ने निक्षेप तथा सोको ब्याज रकम उपलब्ध गराईदिने तर्फ आवश्यक पहल नगरी संस्था नै बन्द गरि बचतकर्ताहरुको आरोप छ । उनीहरुमाथि काठमाडौं जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको बताइएको छ ।